निर्णय नं. ५०९३ - उत्प्रेषण

निर्णय नं. ५०९३ ने.का.प. २०५२ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
२०५० सालको रिट नं. २६७८
आदेश मिति:२०५१।७।८।३
विषय : उत्प्रेषण ।
रिट निवेदक:सिन्धुपाल्चोक जिल्ला कदमवास गा.वि.स. वडा नं. ६ बस्ने ज्ञान बहादुर तामाङ्ग ।
विरुद्ध
विपक्षी :सिन्धुपाल्चोक जिल्ला अदालत ।
सिन्धुपाल्चोक जिल्ला कदमवास गा.वि.स.वडा नं.६ बस्ने सन्तमाया तामाङ्ग ।
निवेदकले उल्लेख गरेको मुद्दामा स्वयं निवेदक अदालतमा उपस्थित भई निवेदन दिने व्यक्तिलाई मौकैमा थाहा भएन भनी अनुमान गर्न नमिल्ने ।
(प्र.नं. ७)
निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री यादव खरेल ।
विपक्षी तर्फबाटःX
अवलम्बित नजीरःX
आदेश
न्या. केशव प्रसाद उपाध्याय: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।
२. विपक्षी सन्तमायाले म समेत उपर पति अम्बर बहादुर भुजेल २०३२ सालमा परलोक भएका २०४६ साल जेष्ठमा राती ज्ञान बहादुरसँग लोग्ने स्वास्नी भई तत्पश्चात पनि पटक पटक करणी लिनुदिनु भएकोले २०४६ साल फागुन २८ गते छोरीको जायजन्म भयो । २०४७ सालमा लोग्ने तथा सौताले कुटपिट गरी निकाला गरेकोले अंश देउ भन्दा अंश दिने सम्पत्ति सबै छोरा रुद्र बहादुरलाई दिएको कुरा वण्डापत्रको नक्कल हेरी सार्दा थाहा पाएकोले ४ भागको १ भाग लिखत बदर गरी पाउँ भनी विपक्षले दिनु भएको फिराद अनुसार म प्रतिवादीले शुरु म्याद गुजारी बसेको भनी ४ भागको १ भाग लिखत बदर भई वादीको हक कायम हुने गरी सिन्धुपाल्चोक जिल्ला अदालतबाट मिति २०४८।३।५ मा फैसला भएको कुरा मिति २०५० साल भाद्र ९ गते सिन्धुपाल्चोक जिल्ला अदालतबाट नक्कल सारी हेर्दा थाहा पाए उक्त तामेली म्याद बेरितपूर्वक तामेल गरी मलाई प्रतिवादको मौकाबाट वंचित गरेकोले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १७ द्वारा प्रदत्त मेरो मौलिक हकमा आघात परेकोले रिट निवेदन गर्न आएको छु । उक्त मिति २०४७।४।७ को तामेली म्याद र सो म्यादका आधारमा २०४८।३।२५ को फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः म्याद तामेल गर्नु भनी सिन्धुपाल्चोक जिल्ला अदालतका नाममा परमादेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदकको मुख्य निवेदन माग दावी।
३. यसमा के कसो भएको हो निवेदकको माग अनुसारको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएको मितिले १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भनी विपक्षीहरुका नाउँमा सूचना पठाई लिखत जवाफ आएपछि वा अवधि नाघेपछि सूचना पठाई लिखत जवाफ आएपछि वा अवधि नाघे पछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको ०५०।५।२२ को आदेश ।
४. विपक्षी र विपक्षीका छोरा रुद्र बहादुरका नाममा जारी भएको म्याद कानूनको रित पुर्याई तामेल भएको र उक्त म्यादमा विपक्षीको प्रतिउत्तर नपरेपछि विपक्षको श्रीमती मेरो सौता केवि तामाङ्गलाई अ.वं. १३९ नं. बमोजिम बुझ्दा निजको नाउँमा जारी भएको ७ दिने म्याद रितपूर्वक तामेल भै सकेपछि विपक्षीले २०४८।२।२८ मा केवि तामाङ भन्ने व्यक्ति नभएकोले उपस्थित गराउन असमर्थ भनी निवेदन समेत दिएकोले विपक्षीलाई मौकैमा थाहा भएको कुरा प्रष्ट हुन्छ । विपक्षीको नाउँमा जारी भएको म्याद रितपूर्वक तामेल नभएको भए अ.वं. २०८ नं. बमोजिम अन्य बमोजिम अन्य उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा रिट क्षेत्रमा प्रवेश गरेकोले प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको सन्तमाया तामाङको लिखित जवाफ।
५. विपक्षीको नाउँमा जारी भएको म्याद रितपूर्वक तामेल भएकोले विपक्षीको माग अनुसार फैसला बदर हुने होइन साथै २०५०।५।२३ मा मात्र विपक्षीको रिट निवेदन परेकोले विलम्बको सिद्धान्त समेतको आधारमा प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको सिन्धुपाल्चोक जिल्ला अदालतको लिखित जवाफ ।
६. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री यादव खरेलले मेरो पक्षको नाउँमा सिन्धुपाल्चोक जिल्ला अदालतबाट जारी भएको म्याद बेरितसँग तामेल भएकोले मेरो पक्षले प्रतिवाद गर्ने मौकाबाट वंचित हुनु परेकोले उक्त तामेली म्याद र सो (साविक पेज नं. ३४८) म्यादको आधारमा भएको फैसला समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः मेरो पक्षका नाउँमा म्याद जारी गर्नु भनी परमादेश जारी गर्नु भनी परमादेश जारी गरी पाउँ भनी गर्नु भएको बहस समेत सुनी मिसिल अध्ययन गरी हेर्दा यसमा निवेदकको माग अनुसारको रिट जारी हुनुपर्ने हो होइन भन्ने कुरामा निर्णय दिनु पर्ने देखियो ।
७. यसमा सिन्धुपाल्चोक जिल्ला अदालतबाट निवेदक समेतका नाउँमा जारी भएको म्याद वेरितसँग तामेल गरी विपक्षीको दावी अनुसार लिखत बदर गरी भएको फैसला समेत बदर गरी पुनः म्याद जारी गर्नु भन्ने परमादेश जारी गरी पाउँ भन्ने समेतको निवेदन माग दावी भएकोमा विपक्षी बीच रिट निवेदकका नाउँमा सिन्धुपाल्चोक जिल्ला अदालतबाट जारी भएको म्याद रितपूर्वक तामेल भएको र विपक्षीको जेठी श्रीमती केवी तामाङका नाउँमा जारी भएको म्यादमा निज केवी तामाङ्ग भन्ने व्यक्ति यस गाउँमा नै नभएकोले उपस्थित गराउन असमर्थ भनी मिति २०४८।२।२८ मा सिन्धुपाल्चोक जिल्ला अदालतमा विपक्षी आफैंले निवेदन दिएकोले विपक्षीलाई मौकैमा थाहा भएकोले रिट खारेज गरी पाउँ भन्ने समेतको लिखित जवाफ देखिन्छ । निवेदक समेतको नाउँमा सिन्धुपाल्चोक जिल्ला अदालतबाट जारी भएको म्याद तामेल भई निजहरुका प्रतिउत्तर पत्र नपरेको कुरामा विवाद देखिंदैन । निवेदक ज्ञान बहादुर तामाङको श्रीमती केवी तामाङको नाउँमा अ.वं. १३९ नं. बमोजिम बुझ्नको लागि ७ दिने म्याद जारी भएकोमा उक्त म्याद अनुसारका व्यक्ति यस कदमवास गा.वि.स मा छँदै छैन भनी यिनै निवेदक ज्ञान बहादुर तामाङले निवेदन दिएको देखिन्छ । निवेदकले उल्लेख गरेको मुद्दामा स्वयं निवेदक अदालतमा उपस्थित भई निवेदन दिने व्यक्तिलाई मौकैमा थाहा भएन भनी अनुमानसम्म गर्न नमिल्ने भएकोले प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । जानकारीको लागि यो आदेशको एक प्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरि प्रसाद शर्मा
इति सम्व्त २०५१ साल कार्तिक ८ गते रोज ३ शुभम् ।