शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४७६१ - जग्गा हक सफा

भाग: ३५ साल: २०५० महिना: असोज अंक:

निर्णय नं. ४७६१     ने.का.प. २०५० (ख)        अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

सम्वत २०४९ सालको दे.पु.नं. ५००

फैसला मिति: २०५०।३।२२।३

पुनरावेदक/प्रतिवादी: जिल्ला खोटाङ राजापानी गा.पं. हाल परिवर्तित गा.वि.स. वडा नं. ३ बस्ने मिश्रमाया कार्की ।

विरुद्ध

विपक्षी/वादी: ऐ. ऐ. बस्ने ललित बहादुर कार्की ।

मुद्दा : जग्गा हक सफा ।

(१)    लेनदेन व्यवहारको ११ नं. को व्यवस्था हेर्दा कसैले आफ्नो हक पुग्ने अचल सम्पत्ति विक्री गरेकोमा यसै महलको १० नं. बमोजिम साक्षी बस्ने, मन्जुरी दिने बाहेक सो विक्री भएको सम्पत्ति सन्धीसर्पन परेको निजको ऐन बमोजिमको कुनै हकवालाले निखनी लिन चाहेमा सो किने बेचेको लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिनासम्ममा थाहा पाएको पैंतीस दिन भित्र निखनी लिन पाउँछ भन्ने समेत व्यवस्था भएको पाइन्छ । यसबाट किने बेचेको लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिना भित्र निखनी लिन चाहनेले थाहा पाएको हुनुपर्ने स्पष्ट देखिन्छ । थाहा पाउने कार्य रजिष्ट्रेशन पास भएको लिखतको नक्कल सारी लिएकोबाट मात्र हुने नभई थाहा पाएको कार्य अन्य जरिया, कारणबाट पनि हुन सक्ने उक्त कानूनी व्यवस्थाबाट देखिन्छ । अन्य जरिया कारणबाट थाहा हुन नसकेकोमा रजिष्टे«शन भएको लिखतका नक्कल सारी लिएकोबाट थाहा पाउने कारण मध्ये एक हुन सक्तछ । उक्त कानूनी प्रावधानले थाहा पाउन नक्कल सारी थाहा पाउने भनी थाहा पाउने अन्य जरिया कारणलाई सीमित गर्न नमिल्ने ।

(प्र.नं. १२)

पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री रामजी विष्ट

फैसला

न्या. केशव प्रसाद उपाध्याय

१.     पुनरावेदन अदालत राजविराजको मुकाम ओखलढुंगा बेन्चको मिति २०४६।७।५ को फैसला उपर पर्न आएको पुनरावेदनको मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    मेरा ३ पुस्ता भित्रका भाई नाता पर्ने पे्रम बहादुर कार्की हुन् निजको दर्ताको राजापानी गा.पं. वडानं. ७ मा पर्ने कि.नं. ८१४ को जग्गा विपक्षी मिश्रमायाले मिति ०४६।१।५ गते यसै मालपोत कार्यालयबाट पारित गरी लिएछन उक्त जग्गाको पूर्वपट्टि मेरो कि.नं. ८१३ र पश्चिम पट्टी कि.नं. ८१६ उत्तर तर्फ कि.नं. ८१२ को जग्गा मेरो दर्ताका हुन उक्त जग्गामा वस्तु लान पानी खुवाउन चराउन लाने समेत समेत सोही कि.नं. ८१४ बाटै लान ल्याउन पर्ने मलाई नभै नहुने हुँदा विक्री गर्न भएन सन्धी सर्पन पर्ने हकवाला पनि हुँ मलाई नै देउँ भन्दा हुन्छ भनेका थिए जग्गा मलाई सन्धीसर्पन पर्ने थाहा हुँदा हुँदै पे्रम बहादुर दिने र मिश्रमाया लिने भै रु. २०,००० मा यसै मालपोत कार्यालयबाट २०४६।१।५ गते पारित गरी लिनुदिनु गरेछन सो कुरा मलाई थाहा थिएन । ०४६।६।२८ गते उक्त खेतको डिलमा विपक्षीका परिवार घाँस काट्ने गरेका देखि मेरा भाई प्रेम बहादुरको जग्गामा किन घाँस काटेको भनी सोधनी गर्दा उक्त जग्गा प्रेम बहादुरबाट राजिनामा गरी लिएको छु भनी भनेकाले उक्त कि.नं. ८१४ को जग्गा म सन्धीसर्पत पर्ने हकवाला हुँ । थैली देखाई हक सफा गर्न दिनुहोस् भन्दा थैली बुझी हक सफा गरी दिन मन्जुर छैन जो गर्नुपर्छ गर भनी जवाफ दिएकाले ०४६।७।६ गते यसै कार्यालयबाट नक्कल सारी लिई थाहा पाएको मिति ०४६।६।२८ गतेबाट ६ महिना भित्र थैली रु. २०,००० र पारित दस्तुर रु. १४०० समेत रु. २१,४०० धरौट राख्नलाई लगाएको छु हक निखनाई पाउँ भन्ने मिति ०४६।७।१० को उजुरी रहेछ ।

३.    वादी दावीको राजापानी गा.पं. वडानं. ७ मा पर्ने कि.नं. ८१४ को जग्गा रु. २०,००० र अर्को कि.नं. ८३७ को जग्गा रु. ४०,००० मा पारित गरी लिएको हुँ । उक्त जग्गा राजिनामा लिएको कुरा वादीलाई उसै वखत थाहा थियो । उक्त जग्गामा हिउँदे वर्षे गरी २ वाली धान लाग्छ वैशाख महिनामा वर्षे धान श्रावण महिनामा हिउँदे धान वाली लगाउँदा पनि निजले थाहा पाएकोले सम्पूर्ण कुरा गुम गरी ०४६।१।५ गते पारित भएको लिखत ०४६।७।६ गते मात्र नक्कल सारी लिई २०४६।६।२८ गते घाँस काट्न जाँदा थाहा पाएको भनी झुठा उजुरी गरेको र पारित भएको लेखत ६ महिना भित्र थाहा पाई सक्नुपर्ने र सो मितिले ३५ दिन भित्र धरौट राख्नुपर्ने कानूनी व्यवस्था हुँदा म्याद नघाई राखेको थैली बुझन् मन्जुर छैन मैले राजिनामा लिएको जग्गा सिमाना जोडिएर  पनि सन्दी सर्पन पर्ने समेत होइन भन्ने समेत व्यहोराको मिति २०४६।१०।९ को प्रतिउत्तर पत्र रहेछ ।

४.    वादी दावीको जग्गा प्र. मिश्र मायाले लिएको भन्ने कुरा मिति २०४६।६।२८ गते घाँस काट्दै गर्दा थाहा पाएको भन्ने ठोस प्रमाण वादीबाट पेश हुन नसकेको २०४६।७।५ अगावै थाहा पाई सक्नुपर्ने ०४६।७।६ गते नक्कल सारी लिएको हुँदा खारेज हुने ठहर्छ भन्ने समेत शुरु खोटाङ्ग मालपोत कार्यालयको निर्णय ।

५.    शुरु निर्णय त्रुटिपूर्ण हुँदा चित्त बुझेन लेनदेन व्यवहारको ११ नं. मा रजिष्टे«शन भएको मितिले ६ महिना सम्ममा थाहा पाएको ३५ दिन भित्र निखनी लिन पाउने भन्ने व्यवस्था भएकोमा सोहि बमोजिम मैले ६ महिना भित्रै थाहा पाएको व्यहोरा उल्लेख गरी थैली धरौट राखी सकेपछि थाहा पाएको थिएनौं भनी निर्णय दिन मिल्ने हैन भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

६.    हक सफा सम्बन्धमा भैरहेको कानूनी व्यवस्था हेर्दा लेनदेन व्यवहारमा ११ नं. मा लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिना सम्ममा थाहा पाएको ३५ दिन भित्र निखनी लिन पाउँछ भन्ने छ । उक्त वाक्याँशलाई यथार्थमा ६ महिनाको ३५ दिन भित्र उजुर परेको भन्ने निखनी लिन पाउने गरी सर्वोच्च अदालतबाट सिद्धान्त समेत कायम भै रहेको छ मालपोत कार्यालयले निर्णय गर्दा २०४६।७।५ गते अगावै थाहा पाउन पर्ने भन्दै २०४६।६।२८ मा थाहा पाएको भन्ने वादी दावीलाई अस्वीकार गरी नक्कल सारी लिएको मिति २०४६।७।६ लाई थाहा पाएको मिति कायम गरी सो मितिले ३५ दिन भित्र छैन भनी कानुनको त्रुटिपूर्ण अर्थ लगाई मुद्दा खारेज गरेको देखिन आयो । मिति २०४६।६।२८ भन्दा धेरै अगावै जग्गा सुक्रि विक्री भएको वादीलाई थाहा हुन पर्ने ठोस आधार देखिदैंन भन्ने मिति २०४६।१।५ मा लिखत पारित भएको र मिति २०४६।७।२७ मा थैली धरौट राखि उजुर गरेकोलाई ऐनको म्याद भित्रको उजुरी पर्ने भएकोले मालपोत कार्यालयको मिति २०४६।११।१५ को निर्णय बदर गरी दिएको छ । कानून बमोजिम निर्णय कारवाही गर्न मिसिल मालपोत कार्यालय खोटाङ पठाई दिनु भन्ने पुनरावेदन अदालत ओखलढुंगा बेञ्चको फैसला । उक्त फैसलाको चित्त बुझेन पुनरावेदन अदालत राजविराजको मुकाम ओखलढुंगा बेन्चले निर्णय गर्दा मालपोतको निर्णय बदर गर्ने आधार लेनदेन व्यहोराको ११ नं. लाई लिएको छ । त्यसमा सम्मानित अदालतबाट सिद्धान्त प्रतिपादन भै फैसला समेत भएको छ भनी मालपोतले गरेको निर्णय बदर गरी कारवाही गर्न पठाउने गरेको निर्णय गैर कानूनी भएकोले सो बदर गरिपाउँ किन भने मिति २०४६।१।५ मा राजीनामा पारित गरी लिई सकेपछि २०४६।६।२८ मा मात्र वादीलाई थाहा हुन सक्ने भन्ने लेखिएको छ वादीले २०४६।७।६ मा नक्कल सारी लिएपछि मात्र नै थाहा पाउने हो अगाडि मात्र थाहा भयो भनी निवेदन लेख्दैमा म्याद कायम हुने होइन आफ्नो लेखबाट समेत २०४६।७।६ मा थाहा पाएकोलाई म्याद नाघी आएको उजुरीबाट कारवाही गर्न नमिल्नेमा कारवाही गरेको फैसला बदर गरिपाउँ भन्ने पुनरावेदन जिकिर ।

७.    नियम बमोजिम साप्ताहिक तथा दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री रामजी विष्टले राजिनामा मिति २०४६।१।५ मा पास भएको छ विपक्षीले थाहा पाएको मिति २०४६।६।२८ देखिएको छ । नक्कल चाहि ०४६।७।६ मा सारी लिएको पाइन्छ । नक्कल सारी लिएको मितिले ६ महिना ३५ दिन नाघिसकेपछि प्रस्तुत उजुरी पर्न आएको छ । म्याद नाघेकोबाट नीखनाई लिन पाउने होइन लेनदेन व्यवहारको ११ नं. मा कुनै हक वालाले निखनी लिन चाहेमा सो किने बेचेको लिखत रजिष्टे«शन भएको मितिले ६ महिना सम्ममा थाहा पाएको ३५ दिन भित्र निखनी लिन पाउँछ भन्ने लेखिएको छ । नक्कल सारेको मिति २०४६।७।६ नै ६ महिना नाघी सकेकोले मालपोत कार्यालयको निर्णय मिलेको देखिंदा पुनरावेदन अदालतको फैसला बदरभागी छ भन्ने बहस प्रस्तुत गर्नुभयो ।

८.    पुनरावेदन अदालत राजविराजको मुकाम ओखलढुंगा बेन्चले विपक्षी वादीको उजुरी लेनदेन व्यवहारको ११ नं. बमोजिमको म्याद भित्रको देखिएको भनी मालपोत कार्यालयको निर्णय बदर गरी कारवाही निर्णय गर्न मालपोत कार्यालय खोटाङ्गमा पठाउने गरेको फैसला मिलेको छ, छैन निर्णय दिनुपर्ने देखिन आयो ।

९.    वादीले निखनी पाउँ भनी दावी लिएको राजिनामा ०४६।१।५ मा पास भएको २०४६।६।२८ मा थाहा पाएकोले ०४६।७।६ मा नक्कल सारी लिई ०४६।७।१७ मा थैली सहित मालपोत कार्यालय खोटाङ्गमा निखनाई माग्न दर्खास्त दिएको देखिन्छ ।

१०.    प्रस्तुत मुद्दामा थाहा पाएको मितिले मान्यता पाउने हो वा नक्कल सार्नु पूर्व थाहा पाएको भए पनि नक्कल लारी लिएको मितिलाई नै थाहा पाएको मिति मान्नुपर्ने के हो ? निरुपण गर्नुपर्ने विवादको मुख्य विषय यही नै रहेको पाइन्छ ।

११.    मालपोत कार्यालय खोटाङ्गले ०४६।१।५ मा पास भएको लिखतको नक्कल २०४६।७।६ मा सारी लिएकोले सो नक्कल सारेको मितिले ६ महिना नाघी सकेकोले लेनदेन व्यवहारको ११ नं. ले ६ महिना भित्र थाहा पाउनु पर्ने ६ महिना नाघी नक्कल सारी थाहा पाएकोले उजुरी खारेज गरेको पाइन्छ ।

१२.   लेनदेन व्यवहारको ११ नं. को व्यवस्था हेर्दा कसैले आफ्नो हक पुग्ने अंचल सम्पत्ति विक्री गरेको मा यसै महलको १० नं. बमोजिम साक्षी बस्ने, मन्जुरी दिने बाहेक सो विक्री भएको सम्पत्ति सन्धिसर्पन परेको

निजको ऐन बमोजिमको कुनै हकवालाले निखनी लिन चाहेमा सो किने बेचेको लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिना सम्ममा थाहा पाएको पैंतीस दिन भित्र निखनी लिन पाउँछ भन्ने समेत व्यवस्था भएको पाइन्छ । यसबाट किने बेचेको लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिना भित्र निखनी लिन चाहनेले थाहा पाएको हुनुपर्ने स्पष्ट देखिन्छ । थाहा पाउने कार्य रजिष्ट्रेशन पास भएको लिखतको नक्कल सारी लिएकोबाट मात्र हुने नभई थाहा पाएको कार्य अन्य जरिया, कारणबाट पनि हुन सक्ने उक्त कानूनी व्वस्थाबाट देखिन्छ । अन्य जरिया कारणबाट थाहा हन नसकेकोमा रजिष्ट्रेशन भएको लिखतको नक्कल सारी लिएकोबाट थाहा पाउने कारण मध्ये एक हुन सक्तछ । उक्त कानूनी प्रावधानले थाहा पाउन नक्कल सारी थाहा पाउने भनी थाहा पाउने अन्य जरिया कारणलाई सीमित गर्न मिल्दैन ।

१३.   वादीले आफ्नो उजुरीमा ०४६।६।२८ मा राजिनामा भएको खेतको डीलमा विपक्षीका परिवार घाँस काट्ने गरेको देखि सोधनी गर्दा उक्त जग्गा राजिनामा गरी लिएको छु भनी भनेकाले सोहि मितिमा थाहा पाए भनी २०४६।७।१७ मा थैली सहित मालपोत कार्यालय खोटाङ्गमा उजुरी दिएको देखिन्छ । वादीले निखनी माग्न दावी लिएको जग्गाको राजिनामा ०४६।१।५ मा पारित भएको सो पारित भएको मितिले वादीले थाहा पाएको मिति ०४६।६।२८ रजिष्ट्रेशन भएको मितिले ६ महिना भित्रको भई सो थाहा पाएको मिति ०४६।६।२८ ले ३५ दिन भित्रै ०४६।७।१७ मा उजुर परेको देखिंदा मालपोत कार्यालय खोटाङ्गको निर्णय बदर गरी कारवाही निर्णय गर्न मालपोत कार्यालय खोटाङ्गमा पठाउने गरेको पुनरावेदन अदालत राजविराजको मुकाम ओखलढुंगा बेन्चले गरेको फैसला मिलेको देखिंदा सदर हुन्छ । विपक्षी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियम बमोजिम गरि बुझाई दिनु ।

उक्त रायमा मेरो सहमति छ ।

न्या. लक्ष्मण प्रसाद अर्याल

 

इति सम्वत २०५० साल आषाढ २२ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु