शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०९४ - डांका, ज्यान मार्ने उद्योग

भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक:

निर्णय नं. ५०९४    ने.का.प. २०५२   अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्व्त २०५१ सालको फौ.पु.नं. ९०१

फैसला मिति:२०५१।१२।२९।४

मुद्दा : डाका, ज्यान मार्ने उद्योग ।

 

पुनरावेदक/प्रतिवादी:जिल्ला वैतडी वासुलिङ्ग गा.पं. वडा नं. ९ हाल कारागार बैतडीमा थुनामा रहेको नारद सिंह ऐरी ।

विरुद्ध

प्रत्यर्थी/वादी:रण बहादुरको चन्दको जाहेरीले श्री ५ को सरकार ।

   

    शुद्ध ज्यान मार्ने उद्योग मात्र नभई डाँका समेतको बारदात भएको, सोही वारदातको सिलसिलामा ज्यान मार्ने उद्योगको घटना घटेको भन्ने पाइन्छ । डांका भएको नदेखिएपछि ज्यान मार्ने उद्योग ठहर्नका लागि प्रतिवादीले हानेको गोली लाग्ने भनिएको नैन बहादुर चन्दसँग रिसइवी नभएको अवस्थामा रण बहादुरसँग रिसइवी भएको भनी रिसइवी नभएका मानिसलाई रिस इवी साधनार्थ ज्यान मार्नका लागि गोली प्रहार गरेको भन्ने कुरा ज्यान मार्ने उद्योगको लाक्षणिक चरित्रसँग मेल खाने देखिन नआउने ।

(प्र.नं. ३१)

    मारौं भन्ने मनसाय लिई यस मानिसलाई नै हान्छु भनी गोली चलाएको अवस्थामा ज्यान मार्ने उद्योग नै हुन्छ ।

(प्र.नं. ३१)

    रण बहादुर सम्झेर गोली हान्दा नैन बहादुर चन्दलाई लागेको भन्ने भनाई ज्यान मार्ने उद्योगको अपराधको विशिष्टताले गर्दा स्वीकार्य हुन सक्ने नदेखिने ।

(प्र.नं. ३१)

    ज्यान मुद्दामा उजुर परी सकेपछि प्रतिवादीले ६ दिन पछि रिसइवी परे भनेको बाहेकको मानिसलाई रातको बखत सुतेको अवस्थामा कुमको भागमा मात्र छरसिम्म लाग्ने गरी मार्ने सम्मको कार्य गरेको भन्ने कुराको ठोस, प्रत्यक्ष एवं निश्चयात्मक प्रमाणका अभावमा मुख्य ज्यान मुद्दामा सफाई पाई सकेको अवस्थामा कसूरदार ठहराउन नमिल्ने ।

(प्र.नं. ३१)

पुनरावेदक प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा ।

प्रत्यर्थी वादी तर्फबाट:विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री रामजी प्रसाद त्रिपाठी ।

अवलम्बित नजीरःX

फैसला

न्या. लक्ष्मण प्रसाद अर्यालः तत्कालिन सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर यस अदालतमा परेको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा तत्कालिन न्याय प्रशासन सुधार (संशोधन सहित) ऐन, २०३१ को दफा १३(५) अन्तर्गत पुनरावेदन गर्न अनुमति प्रदान भएको प्रस्तुत मुद्दा यसै अदालतको अधिकार क्षेत्र भित्रको हुँदा उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.   समेतलाई २०४३।१२।२४ गते गस्ती गर्न खटाई पठाएकोमा सोही राती वासुलिङ्ग गा.पं. वडानं. ७ बस्ने नैन बहादुर चन्दको घरमा अपरिचित्त मानिसहरुले गोली हानी नैन बहादुर चन्दलाई घाइते पारी नगद धनमाल लगेको बुझिएको भन्ने समेत व्यहोराको प्र.ज. रामसिंह साउदको मिति २०४३।१२।२५ को प्रतिवेदन । ०४३।१२।२४ गते राती अपरिचित मानिसहरु आई दाजु नैन बहादुर चन्दलाई ज्यान मार्ने उद्योगले फायर गरी धनमाल डाँका गरी लगेको खबर पाई घरमा जाँदा घाइते दाजु नैन बहादुरलाई सोध्दा डुगरी नारद सिंह ऐरी र हरजित सिंह ऐरीलाई बोलीबाट चिने अरु चिन्न सकिन मेरो घरबाट समेत गरी विगो रु. १३३,९६०। को धनमाल लगेकोर घाइतेलाई उपचार गराउन पिथोरागढ लगेको हुँ भन्ने समेत व्यहोराको मिति २०४३।१२।२७ को रण बहादुर चन्दको जाहेरी ।

३.   नैन बहादुरको घर जाने मुल ढोकाको पश्चिम पट्टी ५ वटा छर्रा लागेको दक्षिण ढोका खोलिएको घर उत्तर पट्टिको झ्यालमा पुग्ने गरी २ वटा काठको भित्तामा खडा गरेको सो झ्यालमाथि छर्रा लागेको ३ वटा दाग देखिएको सोही झ्यालको तलतिर काठमा बार बोर बन्दुकको सेठाको सिध पित्तलको हिस्सा केपमा वारपार प्वाल परेको अंग्रेजीमा के.एफ स्पेशल बार लेखिएको नैन बहादुर सुत्ने कोठाको टिनको वारेसको कब्जा तोडिएको खाटको डण्डामा ८ वटा छर्राको दाग देखिएको १२ वटा छर्रा फेला परेको रण बहादुरको कोठामा रहेको वारेसको कब्जा तोडिएको र फेला परेको छर्रा प्रहरीले आफ्नो कब्जामा लिएको भन्ने समेत व्यहोराको ०४३।१२।२७ को घटनास्थल प्रकृति मुचुल्का ।

४.   ०४३।१२।२४ गतेको राती मेरो श्रीमती र बच्चा समेत साथमा राखी सोही कोठाको भुईमा सुतेको राती अं. १२।१ बजे सो कोठाको खिडकी तर्फ बन्दुक पड्केको आवाज सुन्नासाथ मेरो दाँया नाडी दुख्न थाली रगत आएको र शरिरको बाँया भागमा समेत अत्यन्त पिडा हुन थालेको र पसिना आई खाटवाट तल आउँदा बेहोस भएको केही छिनपछि मेरो श्रीमतीले पश्चिम पट्टीको झ्यालबाट डाँका लाग्यो गुहार भनी कराउँदै थियो, म पनि विस्तारै उठी को हो किन गोली हानेको भनी कराउँदा तेरो एक खुन खतम गरेको त पनि खतम भइस भनेको त जिउँदै रहेछस भनी म भए तर्फ अर्को फायर गरी बोलेको सो आवाज नारद सिंह ऐरीको हो । निज नारद सिंह ऐरीलाई आँखाले देखेन, फायर गरी सकेपछि गवर सिंह यता आइज भनी फेरी नारदको आवाजले बोल्दा हामी दुवै आउँदै छु भनी अर्को आवास आयो, सो आवाज हरजित सिंह ऐरीको हो, प्रष्ट चिने १५।१६ जना हुनुपर्छ फेरी पुनः वेहोस भई विहानी पख होस आएको भाई र गाउँले जम्मा भै मेरो र भाईको कोठामा हेर्दा बाकसमा राखेको सुन चाँदी नभएको श्रीमतीलाई सोध्दा मेरो घाँटीमा खुकुरी राखी मेरो गहना समेत लगेको भनेकीले सो सम्बन्धमा भाईको उजुरीबाट कारवाही गरी मेरो जेठा बाबुको छोरा कृत बहादुरलाई सैन धारा भन्ने ठाउँमा कुटपिट गरेको सोही चोटबाट निजको मृत्यु भएको, रण बहादुर नारद समेतको नाउँमा उजुरी गरेको कारण मेरो ज्यान मार्ने उद्योग गरेकोले सो तर्फ समेत कारवाही गरि पाउँ भन्ने समेत ०४४।१।२० को घाइते भनिएका नैन बहादुरले प्रहरीमा गरेको कागज ।

५.  २०४३।१२।२४ गतेको राती लोग्ने कृत बहादुरको कृया गर्ने ठाउँमा म मेरो घरमा थिए सुतेको अवस्था अं. १२।१ बजे गोली पडेकेको आवाज सुने विपक्षी हेर्दा पल्लो कोठाबाट जेठाज्यू नैन बहादुरलाई गोली लाग्यो भनी दिदिले भनिन् बाहिरबाट मानिस गुन गुनाएको आवाज सुने म डरले बच्चा लिई कोठाको कुनामा गए ५ मिनेट पछि जेठाजु नैन बहादुरले को हो भनी कराएपछि बाहिरबाट ठूलो स्वरले एक खुन त गरे तलाई पनि खतम गरे भनेको जिउँदै रहेछस भनी कराएको आवाज आउनासाथ अर्को फायर गरेपछि गब्बर सिंह भन्ने आवाज आयो । कसले बोलेको चिनिन केही समयपछि ढोका खोल भनी मेरो ढोका घचघच्याउन थाले मैले खोलिन पछि चुक्कुल खुलेछ र पछि कहाँ छस भनी लाइट वाली हेर्न थाले, मेरो गहना लैजा मलाई र मेरो बच्चालाई केही नगर भनी भन्दा तँ सत्ग रिसइवी केही छैन हाम्रो मानिसलाई पक्राउ गराउने तेरो लोग्नेलाई खतम गर्ने हाम्रो उद्देश्य पूरा भएन तापनि धन सम्पती लग्छौं भनी एकले मेरो घाँटीमा खुकुरी गहना फूकाल भने र फुकाली दिए अर्कोले वाली गहना पैसा राखेको बाकस कहाँ छ भनी मलाई भन्दा मैले बाकस देखाए, एउटाको हातमा छोटो बन्दुक जस्तो थियो, अर्कोले खुकुरीले बाकस तोडी सुन सहितका चिज लिइ गए। बाहिर १५।१६ जना गुन गुनाए जस्तो लाग्दथ्यो डाँका गर्नेलाई चिन्दीन, बोलेको आवाज चिन्दछु भन्ने राजु चन्दले ०४४।१।२२ मा प्रहरी डोरमा गरेको  कागज ।

६.   ०४३।१२।२४ गते रात सुतेको अवस्था अं. १२।१ बजेको समयमा गोलीको आवाज सुनी विउझी हेर्दा श्रीमान नैन बहादुर खाटबाट भैमा आए निजको शरिर छाम्दा हातबाट रगत आएको र बेहोस भएका, मैले डाँका आए गुहार भनी भने बैनी राजु उठी के भो भन्दा तेरो जेठाजूलाई खतम गरे भने, घर बाहिर मानिस गुनगुनाई रहेका थिए, किन गोली हानेको भन्दा बाहिरबाट एक खुन खतम गर्‍यो तलाई पनि खतम ग¥यौं भनेको जिउँदै रहेछस भनी अर्को फायर गर्‍यो पछि गब्बर सिं भन्ने आवाज आयो, मैले पुनः डाँका लागे गुहार भनी कराउपछि डाँकाहरु भित्र पसे, तीन जना थिए एकको हातमा सानो बन्दुकजस्तो अर्कोको हातमा खुकुरी थियो, निजहरु मध्ये एकजनाले घाँटीमा खुकुरी राखी हल्ला गरिस भने सबै परिवार खतम गरी छाड्छौं भन्दा म केही बोलिन बाकसको कब्जा तोडी धनमाल डाँका गरी लगेपछि बहिनीको घरमा पसे तीनिहरुलाई पहिले देखेको थिइन, निजहरुलाई देखेमा चिन्न सक्छु, मेरो श्रीमानले डाँका मध्येका नारद सिंह ऐरी, हरजित ऐरीलाई बोलीबाट चिने भनेको थिए ती समेतका १५।१६ जना पर्दछ भन्ने हिरा चन्दले ०४४।१।२२ मा गरेको कागज ।

७.  कृत वहादुर चन्दलाई मरणासन्न अवस्थामा पारी नैनधारा भन्ने ठाउँमा छाडी म समेत व्यक्ति जङ्गलमा लुटी बसेका, ०४३।१२।२४ गतेमा मेम्बरको घरमा गए, एक छिनपछि नैन सिंह, सेर सिंह पनि आए, हामी चार जना नारदको घरमा गयौं र नारद सिंह ऐरीले रण बहादुर चन्दको गराइबाट हाम्रो यो गती भयो जङ्गलमा लुठी बसी केही भएन निजलाई खतम गर्नुपर्‍यो भन्दा हामीसँग धन पैसा छैन, निजको घरबाट धन पैसा पनि लुटनै पर्छ भन्नेसहमती गरी नारदले आफ्नो घरबाट कटुवावार बोकी १ बजे जङ्गलमा पुग्यौं, त्यहाँबाट हामी पाँच जना रण बहादुरको घर गयौं, निजको उत्तर पश्चिमको खुल्ला झ्यालबाट हेर्दा लोग्ने मानि खाटमा सुतिरहेको अवस्थामा देखि नारदलाई इसाराबाट बोलाई सुतेको मानिसको निसाना ताकी नारदले फायर गर्दा को हो किन गोली हानेको भन्ने आवाज आयो, तत्काल अर्को फायर गरे, भित्रबाट रण बहादुरको जस्तो आवाज आएन भनी नारदले भनेपछि जो भए पनि होस भनी म र नारद भित्र बसी मैले खुकुरी घाँटीमा राखी गरगहना र बाकसको कब्जा तोडी नगद डाँका गरी लगेका हो, जङ्गलमा बाँडफाँड गर्दा नगद रु. ३,००० नारदले २५०० हामी चारजनाले लियो सुन सान्त भएपछि बाडौँला भनी उसको जिम्मा दियौं भन्ने प्र. हरजितले ०४४।१।२८ मा प्रहरीमा गरेको कागज ।

८.   कुटपिटबाट कृत बहादुरको मृत्यु भएपछि म समेतलाई प्रहरीमा पोलेको छ भन्ने कुरा सुनी जङ्गलमा लुठी बसेको हरिजित ऐरीले हामीसँग पैसा छैन रण बहादुरलाई मारी धनमाल लुटनुपर्छ भनेकोले जनक सिंहले सो काम गर्न सल्लाह दिएकाले ०४३।१२।२४ को रात मैले आफ्नो कटुवा समेत बोकी ? हरजित, सेर सिं, नैन सिं ऐरी रणबहादुरको घरमा पुगी फायर गरी निजको घरमा डाँका गरी बाँडफाँड गरी सुन जति सान्त भएपछि बाडौंला भनी सेर सिंका जिम्मामा दियौं भन्ने नारद सिं ऐरीले ०४४।१।२८ मा प्रहरी समक्ष गरेको कागज ।

९.   मरणासन्न अवस्थमा फेला परेका कृत बहादुर चन्दको मृत्यु भएकोमा म समेत पक्राउमा पर्ने, हत्या भएपछि ०४३।१२।२४ गते म र शेर सिंह जनक सिं ऐरी समेत चार जना नारदको घरमा गयौं नारदले रणबहादुरले गराइबाट यसो भएको भयो भनी निजलाई खतम गरौं भन्दा हामीसँग पैसा छैन, सम्पत्ति पनि लिनुपर्‍यो भनी हरजितले भने म समेतले हुन्छ भनी सल्लाह गरी राती रण बहादुरको घरमा गै बन्दुकले फायर गरी हरजित नारद भित्र पसी नगद समेतको धनमा डाँका गरी नगद जङ्गलमा बाडी सुन सेर सिंका जिम्मा दिई सान्त भएपछि बाडुँला भन्ने सल्लाह भयो भन्ने नैन सिंह ऐरोले ०४४।१।३१ मा प्रहरी समक्ष गरेको कागज ।

१०.  नारदको घर भित्र सुटकेसमा राखेको कपडा भित्र खरले बाँधेको फाइरिंग लिभर नभएको बन्दुक फेला परेको भन्ने ०४४।१।३१ को बरामदी मुचुल्का ।

११.  ०४३।१२।२४ गते राती नैन बहादुर चन्दलाई घाइते गरी डाँका गरी लगे भन्ने र बोलीबाट नारद सिं र हरजित हुन भनी चिने भन्ने नैन बहादुर चन्दबाट सुनेको हो भन्ने समेत व्यहोराको सर्जमीन मुचुल्का ।

१२.  घाइते नैन बहादुर, राजु र हिरा चन्दको कागज र अभियुक्तहरुको साविति वयान समेतका संकलित प्रमाणबाट अभियुक्त नारदसिंह, हरजित, नैन सिं, मेम्बर भन्ने जनक सिं, शेर सि ऐरी समेतले ज्यान मार्ने उद्योगले नैन बहादुर चन्दलाई गोली हानी घाइते बनाई जिन्सी समेतको धनमाल डाँका गरी लगेको सिद्ध हुँदा ज्यान मार्ने उद्योगको तर्फ मु. ऐन ज्यान सम्बन्धीको १५ नं. बमोजिम र जाहेरवाला रण बहादुरको घरबाट विगो रु. ९०,१०० नैन बहादुरको घरबाट विगो रु ४३,८६० समेत जम्मा रु. १३३,९६० नगदी जिन्सी डाँका गरे तर्फ चोरीमा १४(४) बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको ०४४।२।१७ को प्रहरी प्रतिवेदन ।

१३.  मैले कुनै कसूर गरेको छैन, प्रहरीमा भएको बयान मलाई सुनाइएको होइन, कुटपिट गरी सही गराएका हुन । छोरी विरामी हुँदा ०४३।१२।८ देखि ऐ २९ गते सम्म छोरीको हेरचाहमा छु भन्ने समेत व्यहोराको प्र. हरजित ऐरीले ०४४।२।१० मा अदालतमा गरेको बयान ।

१४.  ०४३।१२।१३ गते देखि आउँ पर्ने विरामी भै ऐ. २२ गते उपचार गर्न डडेल्धुरा पोखरा गै ऐ २८ गते मात्र घरमा पुगेको हुँ मैले कुनै कसूर गरेको छैन, प्रहरीबाट मलाई कुटपिट गरी खुट्टा बाँधी महाकाली नदीमा लगी पानीमा डुवाए जवरजस्ती गरी कागजमा सही गराएका हुन प्रहरीमा गरेको बयान मेरो राजीखुसीको होइन भन्ने ०४४।२।१८ मा प्र. नारद सिं ऐरीले अदालतमा गरेको वयान ।

१५.  म दार्चुला रोडमा काम गर्ने मानिस हुँदा २०४३।१२।११ देखि २६ गते दिउँसो काम गरी त्यही बसी ऐ २९ गते मात्र घरमा आएको हुँ घरमा खेती पातीको काम गरी रहेको अवस्था १५ गते प्रहरीले पक्राउ गरी लगी लात मुक्काले कुटपिट गरे ११ दिन सम्म कोठामा बन्द गरी कृत बहादुरलाई मारेको सम्बन्धमा के थाहा छ भनी यस मुद्दाका सम्बन्धमा केही सोधेको थिएनन् मेरो मौकाको कागजमा मैले भने बमोजिम लेखेका थिएनन् । थानेदारले घर जाने कि यही बस्ने भनेका थिए । घर जाने भन्दाको कागजमा सही गर भनी नसुनाई सही गराएका हुन, कसूर मैले गरेको होइन भन्ने प्र. नैन सिंह ऐरीले २०४४।२।१८ मा अदालतमा गरेको बयान ।

१६.  मैले रोडको ठेक्का लिएकोले सडक बनाउने काममा छु, २०४३।१२।२२ गते सडक विभागबाट रु. १८,००० को विल भपाई ऐ २३ गते भू.पु. प्रधानमन्त्रीको घरमा बसी ऐ २६ गते बेलुकी घरमा आएको छु । प्रहरी पक्राउ गर्न आएकोले जंगलमा लुटी बसेकोमा मेरा नाउँमा वारेण्ट जारी भएको थाहा पाई हाजिर हुन आएको छु जाहेरी अनुसार कसुर गरेको छैन भन्ने प्र जनक सिंह ऐरीले २०४४।३।३० मा अदालतमा गरेको बयान ।

१७.  वारदातको दिन कञ्चनपुर कृष्णपुर गा.पं. वडा नं. १ वण्डाको घरमा छु, डुगरीको घर जग्गा पहिले नै छाडी कञ्चनपुरमा बसेको हुँ, जाहेरवाला समेतलाई चिनेको छैन, मैले कुनै अपराध गरेको छैन भन्ने प्र. शेर बहादुरले ०४४।४।२० मा अदालतमा गरेको बयानमा ।

१८.  प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्र नारद सिं ऐरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नं. बमोजिम ५ वर्ष कैद हुने ठहर्छ, हरजित सिं, शेर सिं, नैन सिं, जनक सिं ऐरी समेतले सफाई पाउने ठहर्छ, प्र. हरु सबैले डाँका गरेको ठहर्दैन भन्ने वैतडी जिल्ला अदालतको फैसला ।

    १९.  घाइतेको भनाई र वारदात स्थलमा रहेको हिरा चन्दको भनाइमा अमिल्दो भएको स्थितिमा शुरु बैतडी जिल्ला अदालतबाट मलाई ज्यान मार्ने उद्योग गरेको ठहर्‍याएको गैर कानूनी निर्णय बदर गरी अभियोगबाट सफाई पाउँ भन्ने प्र. नारद सिं ऐरीको तत्कालिन महाकाली अंचल अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

२०.  बैतडी जिल्ला अदालतले एक जनाले मात्र ज्यान मार्ने उद्योग गरेको र डाँका वारदात हुँदै नभएको भनी गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाउने प्रतिवादीको हकमा समेत प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने तत्कालिन महाकाली अंचल अदालतमा परेको वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।

२१.  प्र. नारद सि ऐरीले बन्दुक चलाई घाइते नैन बहादुरलाई ज्यान मार्ने उद्योग गरेको हुँदा १० वर्ष कैद र प्र. हरजित सिले वारदातमा उपस्थित भई मद्दत गरेको देखिंदा ५ वर्ष कैद हुन्छ, अन्य प्र. नैन सिं, जनक सिं र शेर सिंले ज्यान मार्ने उद्योगबाट सफाई पाउने ठहर्छ, डकैती गरेको नठर्‍याई गरेको बैतडी जिल्ला अदालतको फैसला मुनासिव छ भन्ने तत्कालिन महाकाली अंचल अदालतको फैसला ।

२२.  प्र. मध्ये नैन सिं ऐरी, शेर सिं ऐरी समेतलाई ज्यान मार्ने उद्योग गरेको नठहर्‍याई प्रतिवादी सबैलाई डाँका गरेतर्फ सफाई दिई गरिएको महाकाली अंचल अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीहरुलाई सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारतर्फबाट तत्कालिन सु.प.क्षे.अ. मा परेको पुनरावेदन पत्र ।

२३.  मेरा सबुद प्रमाणहरुको मुल्यांकन नगरी न्यायिक मनको अभावमा गरिएको कानून र तथ्यको सम्बन्धमा गम्भीर त्रुटिपूर्ण शुरु बैतडी जिल्ला अदालत फैसलालाई सदर गरिएको महाकाली अंचल अदालतको ज्यान मार्ने उद्योगको पुनरावेदन फैसला त्रुटिपूर्ण भएकोले वदर गरी मलाई आरोपित कसूरबाट फूर्सद गरी हक इन्साफ पाउँ भन्ने थुनामा रहेको प्रतिवादी नारद सिं ऐरीको तत्कालिन सु.प.क्षे.अ. मा परेको पुनरावेदन पत्र ।

२४. अदालतमा गरेको इन्कारी समर्थन हुने कुनै प्रमाण पेश गर्न नसकेको हुँदा महाकाली अंचल अदालतले प्र. नारद सि र हरजित सिंहलाई ज्यान मार्ने उद्योगमा ठहर गरेको फैसला मनासिवै छ, अन्य सफाई पाउने नैन सिं ऐरी जनक सिं ऐरीको हकमा यी प्र. हरुले ज्यान मार्ने उद्योगमा कस्तो भूमिका निभाएका थिए भनी सप्रमाण दावी गर्न नसकेको हुँदा प्रहरी समक्ष सावित भएकै भरमा कसूरदार ठहर्‍याउने नमिल्ने हुँदा निजहरुका हकमा सफाई दिने गरेको मनासिव छ बसी स्वरुप कुनै सामान बरामद हुन सकेको नदेखिंदा वारदातमा अरु पनि १५।२० जना मानिसहरु थिए भनी गरिएको अनुमानको आधारमा मात्र डाँका गरेको भनी निर्णय गर्न न्यायोचित नहुँदा डकैती तर्फ सबै अभियुक्तहरुलाई सफाई दिने समेतको इन्साफ महाकाली अंचल अदालतको मुनासिव छ भन्ने समेतको सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।३।४ को फैसला ।

२५. कानून र तथ्यका सम्बन्धमा गम्भिर त्रुटी गरी गरेको महाकाली अंचल अदालतको फैसला मुनासिव ठहर्‍याएको सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनको व्याख्या तथा तथ्यगत त्रुटी भएकोले न्याय प्रशासन सुधार ऐन, (संशोधन सहित) २०३१ को दफा १३ बमोजिम पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्र. नारद सिं ऐरीको यस अदालतमा परेको निवेदन ।

२६.  वादी दावी अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखिन नआएको स्थितीमा ठोस प्रमाणको अभावमा अदालतको इन्साफमा ने.का.प. २०४९, अंक ८ पृष्ठ ७६१ मा प्रतिपादित नजीरको त्रुटिका साथै न्याय प्रसाशन सुधार (संशोधन सहित) २०३१व को दफा १३ (५) को खण्ड (ख) र (ग) को त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्न अनुमति प्रदान गरिएको छ भन्ने समेतको यस अदालतको मिति २०५१।१।२८ को आदेश ।

२७. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्माले प्रहरीमा भएको बयान कुटपिट गरी जवरजस्ती तवरबाट गराइएको प्रष्ट भएको छ, प्रहरीमा भएको साविती बयानलाई समर्थन हुने कुनै प्रमाण वादीबाट प्रस्तुत हुन सकेको छैन, घाइतेलाई गोली प्रहार गरेको देख्न प्रत्यक्षदर्शीको अभाव रहेको छ, रातको समयमा प्रतिवादीको बोलीबाट चिनेको भनेको आफैमा संदिग्ध छ, प्रतिवादी नारद सिंह ऐरी समेतले डाँका गरेको भनेको वारदात क्षेत्रीय अदालत समेतबाट ठहराएको छैन, कृत बहादुर चन्दलाई कर्तव्य गरी मारेको भन्ने अभियोगमा प्रतिवादी नारद सिंह ऐरी समेतले यस सम्मानीत अदालतको मिति २०५०।६।६ को फैसलाबाट सफाइ पाइसकेको अवस्था छ, प्रतिवादी नारद सिंह ऐरीले घाइते पारिएको भनिएको नैन बहादुर चन्दलाई ज्यान मार्ने उद्देश्यले गोली प्रहार गरेको कुरा कुनै पनि प्रमाणबाट पुष्टि नभएको र ठोस प्रमाणको अभाव रहेको अवस्थामा प्रतिवादी नारद सिंह ऐरीलाई ज्यान मार्ने उद्योगको अपराधमा कसुरदार ठहराई सजाय गर्ने गरेको तत्कालिन महाकाली अंचल अदालतको फैसलालाई मनासिव ठहराइको तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला नमिलेको हुँदा बदर गरी प्रतिवादी नारद सिंह ऐरीले सफाई पाउनुपर्छ भनी गर्नु भएको बहस र वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री रामजी प्रसाद त्रिपाठीले प्रतिवादी नारद सिंह ऐरी र हरजित सिंह ऐरीलाई निजहरुको बोलीबाट चिनेको र प्र. नारद सिंह ऐरीले रिस इविबाट घाइते नैन बहादुर चन्लाई मार्ने नै उद्देश्यले गोली प्रहार गरेको भनी किडानी जाहेरी छ, निज प्रतिवादी नारद सिंह ऐरी अधिकार प्राप्त अधिकारी समक्ष सावित रहेको र सो सावितीलाई जाहेरी दरखास्त, घाइते नैन बहादुर चन्दको कागज, घा जाँच केश फारम समेतबाट समर्थन गरेको छ, कृत बहादुर चन्दलाई कर्तव्य गरी मारेकोमा निज प्रतिवादीलाई समेत जाहेरी दिएको रिसइविले घाइते नैन बहादुर चन्दलाई मार्ने नै उद्देश्यले गोली फायर गरेको पुष्टि भएको छ, यस स्थितिमा निज प्रतिवादीलाई ज्यान मार्ने उद्योगको कसूरमा कसुरदार ठहराई सजाय गर्ने गरेको तत्कालिन महाकाली अंचल अदालतको फैसला सदर गरेको तत्कालिन सुदर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कुनै परिवर्तन गर्नुपर्ने अवस्था नहुँदा सदर गरी पाउँ भनी गर्नु भएको वहससमेत सुनियो ।

२८.  विद्वान वरिष्ठ अधिवक्ताहरुको वहसलाई मनन् गरी मिसिल अध्ययन गर्दा तत्कालिन महाकाली अंचल अदालतको फैसलालाई सदर गर्ने गरेको तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादी नारद सिंह ऐरीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२९.  यसमा २०४३।१२।१५ मा दाजु कृत बहादुर चन्दलाई कर्तव्य गरी मारेको भनी प्रस्तुत ०४३।१२।२४ गतेको ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिने रण बहादुर चन्दले नै जाहेरी दरखास्त दिएको र दुवै मुद्दाको ठाडो कागज २०४४।१।२८ मा भएको देखिन्छ । उक्त ज्यान मुद्दामा सर्वोच्च अदालतबाट मिति २०५०।६।६ मा प्रतिवादीको कागज कुटपिट गरी गराएको भन्ने समेतका आधारमा प्रतिवादीलाई सफाइ दिने गरी फैसला भएको देखिन आयो । प्रस्तुत मुद्दामा पनि सोही मितिको कागजलाई मुख्य आधार बनाई पुनरावेदक समेतले कसूर गरेको ठहर गरिएको देखिन्छ सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले फैसला गर्दा पुनरावेदक प्रतिवादीको रण बहादुरसँग रीसइवि परेको भन्ने कुरालाई समेत आधार बनाएको देखिन आउँछ । उक्त मुद्दामा सफाइ पाए पछि रीसइविको तथ्य पनि सारयुक्त भएन ।

३०.  ज्यान मार्ने उद्योग साथै डाँका मुद्दा समेत चलेकोमा क्षेत्रीय अदालतले डाँका तर्फ सफाई दिने गरेकोमा श्री ५ को सरकारको पुनरावेदन परेको देखिएन ।

३१.  शुद्ध ज्यान मार्ने उद्योग मात्र नभई डाँका समेतको वारदात भएको, सोही वारदातको सिलसिलामा ज्यान मार्ने उद्योगको घटना घटेको भन्ने पाइन्छ । डाँका भएको नदेखिएपछि ज्यान मार्ने उद्योग ठहर्नका लागि प्रतिवादीले हानेको गोली लाग्ने भनिएका नैन बहादुर चन्दसँग रिसइवी नभएको अवस्थामा रण बहादुरसँग रिसइवी भएको भनी रिस इवी नभएका मानिसलाई रिसइवी साधनार्थ ज्यान मार्नका लागि गोली प्रहार गरेको भन्ने कुरा ज्यान मार्ने उद्योगको लाक्षणिक चरित्रसँग मेल खाने देखिन आएन । मारी भन्ने मनसाय लिई यस मानिसलाई नै हान्छु भनी गोली चलाएको अवस्थामा ज्यान मार्ने उद्योग हुन्छ । रण बहादुर सम्झेर गोली हान्दा नैन बहादुर चन्दलाई लागेको भन्ने भनाई ज्यान मार्ने उद्योगको अपराधको विशिष्टताले गर्दा स्वीकार्य हुन सक्ने देखिएन । ज्यान मुद्दामा उजुर परी सकेपछि प्रतिवादीले ६ दिनपछि रिसइवी परे भनेको वाहेकको मानिसलाई रातको वखत सुतेको अवस्थामा कुमको भागमा मात्र छरसिम्म लाग्ने गरी मार्ने सम्मको कार्य गरेको भन्ने कुराको ठोस, प्रत्यक्ष एवं निश्चयात्मक प्रमाणका अभावमा मुख्य ज्यान मुद्दामा सफाई पाई सकेको अवस्थामा कसूरदार ठहराउने मिल्ने नदेखिंदा तत्कालिन महाकाली अंचल अदालतको फैसला सदर गर्ने गरेको सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुन्छ । प्रतिवादी नारद सिंहले सफाई पाउने ठहर्छ यसरी बन्दुक चलाई घाइते नैन बहादुरलाई ज्यान मार्ने उद्योग गरेको भनी ठहर भएको मुख्य प्रतिवादी नारद सिंह ऐरीले प्रहरी प्रतिवेदन अभियोगबाट सफाई पाएको अवस्थामा ज्यान मार्ने उद्योगको कार्य गर्न वारदात स्थलमा उपस्थित रही मद्दत गरेमा सजाय पाएको प्रतिवादी हरजित सिंह ऐरीले ज्यान मार्ने उद्योगको कार्यमा मद्दत गरेको स्थापित हुन सक्ने अवस्था नदेखिंदा पुनरावेदन नगर्ने निज प्रतिवादी हरजित सिंह ऐरीका हकमा समेत अ.वं. २०५ नं. बमोजिम तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।३।४ को फैसला उल्टी भई प्रतिवादी हरजित सिंह ऐरीले सफाई पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम तत्कालिन महाकाली अंचल अदालतको फैसला सदर गर्ने गरेको तत्कालिन सुदूर पश्चिमाञ्चल क्षे.अ. को मिति २०४७।३।४ को फैसला उल्टी भै प्र. नारद सिंह ऐरीले सफाई पाउने ठहरेकाले तत्कालिन महाकाली अ.अं. को मिति २०४६।८।९ को फैसलाको प्र. नारद सिंह ऐरीबाट असुल गर्न राख्ने गरेको कैद वर्ष १० (दश) को लगत र तत्कालिन सुदूर प.क्षे.अ. को मिति २०४७।३।४ को फैसलाले प्र. नारद सिंह ऐरीबाट असूल गर्न राखेको कैद महिना ६ को लगत कट्टा गर्नु भनी शुरु बैतडी जि.अ. मा लेखी पठाउनु ...........१

थुनामा रहेका पुनरावेदक प्र. नारद सिंह ऐरीलाई अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए प्रस्तुत मुद्दाको थुनाबाट मुक्त गरी दिनु भनी सम्बन्धित कारागार शाखामा लेखी पठाई दिनु भनी मिति २०५१।१२।२९ मा भएको आदेशानुसार थुनाबाट छाडी दिन सम्बन्धित कारागार शाखालाई पत्र पठाई सकेको देखिंदा सो सम्बन्धमा केही गरी रहन परेन ...................................२

माथि इन्साफ खण्डमा लेखिए बमोजिम तत्कालिन महाकाली अं. अ. को फैसला सदर गर्ने गरेको तत्कालिन सुदुर पश्चिमाञ्चल क्षे.अ. को मिति २०४७।३।४ को फैसला उल्टी भै प्र. हरजित सिंह ऐरीले सफाई पाउने ठहरेकोले तत्कालिन महाकाली अं.अ. को मिति २०४६।८।९ को फैसलाले निज प्र. हरजित सिंह ऐरीबाट असूल गर्न राखेको कैद वर्ष ५ (पाँच) को लगत कट्टा गर्नु भनी शुरु बैतडी जि.अ. मा लेखी पठाउनु .............................................. ३

जानकारी लागि प्रस्तुत फैसलाको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ............................... ४

 

उक्त रायमा म सहमत छु ।

 

न्या. केदारनाथ उपाध्याय

 

इति सम्वत् २०५१ साल चैत्र २९ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु