निर्णय नं. २३३८ - ज्यान

निर्णय नं. २३३८ ने.का.प. २०४२ अङ्क ४
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
सम्वत् २०४१ सालको फौ.पु.नं. ६२३
मुद्दा : ज्यान ।
पुनरावेदक/वादी: प्रहरी चौकी मैना पोखरीको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : बर्दिया जिल्ला जमुनी गा.पं.वडा नं. ३ बस्ने देवी लामिछानेसमेत
फैसला भएको मिति :२०४२।४।२०।१ मा
बालक जन्माई होससम्म नपुर्याएकोबाट नवजात शिशुको ज्यान मर्न गएकोमा ज्यानसम्बन्धीको ६ नं. बमोजिम प्र.लाई सजायँ गर्ने गरेको इन्साफ मनासिव हुँदा सदर हुने ।
(प्रकरण नं.२४)
पुनरावेदक वादी तर्फवाट:विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा
विपक्षी प्रतिवादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
प्र.न्या.नयन बहादुर खत्री: मध्य पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त नबुझी वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा मिति ०४१।२।१५ मा दर्ता हुन आएको पुनरावेदन, फौजदारी पुनरावेदन लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् :
२. जमुनी गा.पं. २ मा भेटिएको बच्चाको लाश ऐ. गा.पं.को सचिव कृष्णराज अधिकारी र देवी लामिछानेको अनुचित शारीरिक सम्बन्धबाट जन्मेको र सुत्केरी हुँदा देवी लामिछानेको आमाले स्याहार गरी, बच्चा जन्मी सकेपछि मारी फालेको भन्ने बुझिएकोले जाहेर गरेको हुँ भन्ने प्रहरी चौकी मैनापोखरीको का.प्र.स.नि. बल बहादुरको जाहेरी पत्र ।
३. जन्मिएको जातकको लाश हेर्दा बायाँ आँखाको गेडी र मासु समेत नभई हड्डी मात्र देखिएको १० महिना पूरा भई जीवितै अवस्थामा जन्मिएको देखिने भन्ने लाश प्रकृति मुचुल्का ।
४. धेरै रगत बगेकोले वेहोस भएछु । कुन समयमा मेरो बच्चा जन्मियो म वेहोस भएकोले केही थाहा पाइन आमा हिमकला र कृष्णराज समेतले बच्चा उठाई मारी फाले वा मैले नै बेहोसमा फालें केही थाहा भएन भन्ने समेत प्र.देवी लामिछानेले प्रहरीमा गरेको बयान कागज ।
५. दुवै जनाको मञ्जूरीले मेरो करणीबाट निजलाई गर्भ रहन गएकोबाट बालक जन्मेपछि बालक मार्ने मराउनेमा मेरो सहमति छैन भन्ने समेत व्यहोराको प्र.कृष्णराज अधिकारीले प्रहरीमा गरेको कागज ।
६. छोरी देवी लामिछाने नछुनी भएको भनी बुहारीले भन्दा माथिबाट ओछ्याउने कपडा फाली दिएको, चनावारीमा मरेको बच्चा हेर्न गई लाश देखेको हुँ, देवी लामिछाने भागी गएकीले निजैले बच्चा जन्माई मारी फालेको शंका लागेको, छोरी सुत्केरी हुँदा मैले स्याहार संभार गरेकी छैन बच्चालाई मैले मारी फालेको पनि छैन भन्ने समेत प्र.हिमकली लामिछानेले प्रहरीमा गरेको बयान कागज ।
७. मृतक बच्चाको लाश अरहरबारीमा देखेको हुँ, म सो लाश देखेपछि देवी घरबाट भागेकीले इज्जतबाट बच्नको लागि निजैले बच्चा जन्माई मारेको हुनुपर्छ भन्नेसमेत बसुन्धरा जैसिनीले प्रहरीमा गरेको बयान कागज ।
८. प्र.देवी लामिछाने र सचिव कृष्णराज अधिकारीको अवैध सम्बन्ध भई देवीलाई गर्भ रहन गएकोबाट जन्मेको बालक इज्जत जाने डरले निजै देवी लामिछानेले कर्तव्य गरी मारेको शंका लाग्छ घरमा अन्य परिवार र कृष्णराज अधिकारी समेतको बच्चा मार्नमा सहमति भए लाशलाई गाड्न पनि सक्ने थिएँ त्यसो नगरेकोले तिनीहरूको सहमति भएको जस्तो लाग्दैन भन्ने समेतको व्यहोराको सरजमीन मुचुल्का ।
९. प्र.देवी लामिछानेले बच्चा जन्माई कर्तव्य गरी बालक मारी फालेको सिद्ध हुन आएको र निजको उमेर १५ वर्ष देखिएकोले दण्ड सजायँको १ नं. को सहुलियत पाउने हुँदा प्र.देवी लामिछानेलाई ज्यानसम्बन्धीको १३(३) ले हुने सजायँको आधी सजायँ र प्र.कृष्णराज अधिकारी, हिमकला लामिछाने बच्चालाई मार्नमा मुख्य भई षडयन्त्र गरेको देखिन आएकोले निज दुवैलाई ज्यानसम्बन्धीको १६ नं. बमोजिम तथा प्र.चुडामनि लामिछाने, भोला लामिछानेले ऐ. को २६ नं. को अपराध गरेको देखिएकोले सोही २६ नं. बमोजिम निज दुवै जनालाई सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी भएको ।
१०. प्र.देवीले बच्चा जन्माई वा कसले मारे मलाई थाहा छैन देवीले पर सरें भनी भनेकीले सासुलाई भन्दा कपडा दिनु भएको हो अरु मलाई केही थाहा छैन भन्ने प्र.बसुन्धराले अदालतमा गरेको बयान ।
११. किन झुठ्ठा कुरा जाहेर गरे मलाई थाहा छैन प्रहरीमा मैले भने बमोजिम बयान लेखिएको हैन भन्ने समेत व्यहोराको प्र.हिमकला लामिछानेको अदालतमा गरेको बयान ।
१२. प्र.देवी लामिछाने र मेरो बीच करणी लेनदेन ०३७ सालमा भएको, ०३८ सालमा ज्येष्ठ देखि करणी लेनदेन नभएको हुँदा गर्भ मेरै हो भन्न सक्दिन । प्रहरीमा डर त्रास देखाई मेरो इच्छा विरुद्ध बयान लेखी सहिछाप गराएको हो चनावारीमा मरेको बच्चाको लाश कुकुर वा स्यालले खाएको थियो सो बच्चा कसबाट मारेको हो थाहा छैन भन्ने समेत प्र.कृष्णराज अधिकारीले अदालतमा गरेको बयान ।
१३. म राति एक्लै अं.८ बजे बच्चा पाएकी थिएँ, व्यथा लागी बच्चा जन्मिएछ, मलाई होस् थिएन । होस् आएपछि बच्चा रोइरहेकी सुनें, बच्चा खेतमा छाडी टाढैबाट भाउजू म पर सरें कपडा दिनुहोस् भन्दा आमाले कपडा Çयाँकी दिनु भयो र कोठामा गई सुतें, बच्चालाई कसले मार्यो मलाई थाहा छैन, अन्य प्रतिवादीहरूले पनि मारेको होइन भन्ने समेत व्यहोराको प्र.देवी लामिछानेले अदालतमा गरेको बयान ।
१४. मौकामा थाहा पाई जाहेर नगरेको भन्ने प्रहरी प्रतिवेदन झुठ्ठा हो भन्ने समेत प्र.भोला लामिछानेले अदालतमा गरेको बयान ।
१५. प्र.देवी लामिछाने र निजको आमा मिली जन्मेको बालकलाई मारेका भनी गाउँमा भनेकोले प्रतिवेदन गरेको । प्र.देवीको भाउजू र चुडामणी समेतको बालक मार्नेमा सहमति थिए वा थिएनन् थाहा छैन भन्ने समेत जाहेरवाला बल बहादुर शाहीले अदालतमा गरेको बयान ।
१६. मिति ०३८।१०।१ देखि ।२।३ गतेसम्म लाश कुरी बस्दा प्र.देवी भागेकोले शंका लागेको हो बालक जन्माएको देवीले नै हो कसको सहमतिले कसको कर्तव्यबाट बच्चा मारिएको हो हामीले नदेखेकोले भन्न सक्दैनौं भन्ने समेत व्यहोराको सरजमीनका मानिसको बकपत्र ।
१७. बच्चा कसले कसरी मारे र फाले थाहा छैन भन्नेव्यहोराको प्र.भोला लामिछानेको साक्षी जना २ को बकपत्र ।
१८. प्र.देवी लामिछानेले नछुनी भएको भनी घरका परिवारलाई ढाँटी जिउँदो बालक फाली मरेकोले निज देवीलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुनेमा निज देवी कसूर गर्दा १२ वर्ष माथि र १६ वर्ष मुनिको नाबालक भएकोले १३(३) को आधा सजायँ हुने ठहर्छ र तर अहर वारीमा बालक जन्माई छाडी आएकीबाट बालकको मृत्यु भएकोले ज्यानसम्बन्धीको १३(३) को आधा सजायँ गर्दा निजलाई अति नै चर्को हुन जाने हुँदा हालसम्म थुनी भोगी सकेको सजायँ हुनुपर्ने अ.बं. १८८ नं. बमोजिम राय जाहेर ठहराएको र अन्य प्र.हरूले दावी बमोजिम कसूर गरेको प्रमाण पुग्न नआएकोले प्र.कृष्णराज, हिमकला, बसुन्धरा, चुडामणि समेतले सफाई पाउने ठहर्छ भन्ने बर्दिया जिल्ला अदालतलको फैसला ।
१९. शुरू जिल्ला अदालतले गरेको इन्साफमा चित्त नबुझी श्री ५ को सरकार तर्फबाट म.प.क्षे.सर्वोच्च अदालत कार्यालयको पुनरावेदन पत्र ।
२०. कृष्णराज समेतका अरु प्रतिवादीहरूले प्रहरी अभियोग बमोजिम गरे बिराएको प्रमाण पुगेको मिसिलबाट देखिन नआएकोले निजहरूलाई सफाई दिने ठहर्याएको शुरूको इन्साफ मनासिवै छ । प्र.देवी लामिछानेको हकमा निज थुना परे देखि नै निजको प्रकृति विक्षिप्त देखिन आएको भन्ने जेलरको प्रतिवेदन भएकोले निज उपर ज्यानसम्बन्धीको १३(३) बमोजिमको अभियोग हुँदा नवजात शिशु अनुचित सम्बन्धबाट देवी लामिछानेको गर्भबाट जन्मिएको भन्ने कुरामा विवाद नदेखिएको र सो जन्मिएको शिशुलाई निजले मारेको वा मार्न उद्योग गरेको भन्ने कुराको तथ्ययुक्त प्रमाण भएको मिसिलबाट देखिँदैन । नवजात शिशु अरहर बारीमा जन्मेको र डोको परालले छोपी छाडेको भन्ने देखिएकोले मार्ने मनसाय वा आकांक्षा भएको भन्न नहुने कुरा बालकलाई दबाएको, थिचेको, निमोठेको मिसिलबाट देखिन नआएको र बच्चा जन्माई छोडेकोलाई मार्ने मनसाय भएको भन्न मिलेन । होससम्म नपुर्याएको देखिन आउँदा निज देवी लामिछानेलाई ज्यानसम्बन्धीको ६ नं. अन्तर्गत २ वर्ष कैद हुने ठहराई शुरूले १३(३) अन्तर्गत सजायँ हुने ठहराएको फैसला मिल्न आएन भनी मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।
२१. मध्य पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ उपर चित्त नबुझी पुनरावेदक वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
२२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत ज्यान मुद्दामा श्री ५ को सरकारको तर्फबाट खटीई उपस्थित हुनुभएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्माले कृष्ण प्रसादको नाजायज यौन सम्पर्कबाट देवी लामिछानेलाई गर्भ रही जन्मेको बच्चालाई मार्नेमा देवी लामिछाने आफैं मुख्य भई अन्य प्रतिवादी हिमकला, बसुन्धरा, कृष्ण प्रसाद, चुडामणि र भोला समेतको सहयोग र सहमति भएको र प्र.स.नि. बल बहादुरको अदालतमा भएको बकपत्रबाट समर्थन भएको र जन्मिएको बालकको मुखको बायाँतर्फ मासु र हड्डी च्यातिई बंगारा अलग भई हड्डी देखिएको भन्ने समेत लाश जाँच मुचुल्कामा उल्लेख भएकोबाट जन्मिएको बालकलाई कर्तव्य गरी देवी लामिछाने समेतले मारेको कुरा मिसिल प्रमाणबाट देखिँदा देखिँदै मध्य पश्चिमान्चल क्षेत्रीय अदालतले प्रतिवादीहरूलाई कम सजायँ र सफाई दिने गरेको मिलेको नदेखिँदा दावी बमोजिम सजायँ गरिपाउँ भनी बहस गर्नुभयो ।
२३. प्रस्तुत ज्यानमुद्दामा मध्य पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ निर्णय दिनु परेको छ ।
२४. यसमा कृष्णराज अधिकारीको र देवी लामिछानेको नाजायज शारीरिक सम्बन्धबाट जन्मेको र सुत्केरी हुँदा निज देवीकै आमाले स्याहार सम्भार गरी बच्चा जन्मी सकेपछि सो बच्चालाई मारी Çयाँकेको भन्ने बुझिएकोले जाहेर गरेकी छु भन्ने प्र.स.नि. बल बहादुर शाहीको जाहेरीमा उल्लेख भएको र कृष्णराजको करणीबाट मलाई गर्भ रहन गई अरहर बारीमा गई बस्दा सो बखत मेरा रगत धेरै बगेकोले म वेहोस भएछु कुन समयमा बच्चा जन्मियो मलाई होस् भएन कसले मारी फाले सो पनि थाहा भएन भनी प्रहरीमा र बच्चा जन्मिदा मलाई होस् थिएन, होस् आएपछि हेर्दा बच्चा रोइरहेको देखें खेतमा छाडी घर फर्केको बच्चालाई कसले मारे थाहा छैन भनी अदालतमा प्र.देवी लामिछानेले बयान गरेको पाइन्छ । निज देवी लामिछानेको प्रकृति र अवस्था पागलको जस्तो लक्षण देखिएको व्यहोरा उल्लेख गरी बर्दिया जिल्ला अदालतको नाममा जिल्ला कार्यालय कारागार शाखा बर्दियाले ०४०।५।२१ मा पत्र पठाएको देखिन्छ । प्र.देवी लामिछानेको मानसिक सन्तुलन अस्वस्थ देखिएबाट यस स्थितिमा ज्यानसम्बन्धीको १३(३) को आधा सजायँ गर्दा पनि चर्को हुन जाने भएकोले हालसम्म थुनिई भोगी सकेको सजायँ नै निजलाई पर्याप्त हुने हुँदा अ.बं. १८८ नं. बमोजिम राय जाहेर गर्ने भनी लेखिएको र अन्य प्र.कृष्णराज समेतलाई सफाई पाउने ठहराई शुरू जिल्ला अदालतले गरेको निर्णयमा प्रतिवादी कृष्णराज समेतका प्रतिवादीहरूलाई सफाई दिने ठहराएको शुरूको इन्साफ मनासिव र प्र.देवी लामिछानेको हकमा नवजात शिशुलाई निजले मारेको वा मार्ने उद्योग गरेको भन्ने कुराको तथ्ययुक्त प्रमाण मिसिलबाट देखिन नआएको र अरहर बारीमा नवजात शिशु जन्माई छोडेको भए पनि मार्ने मनसाय वा आकांक्षा नभएको भन्ने कुरा बालकलाई दबाएको, थिचेको, निमोठेको भन्ने प्रमाण कतैबाट देखिन नआएकोबाट होससम्म नपुर्याएकोबाट ज्यानसम्बन्धीका ६ नं. अन्तर्गत २ वर्ष सजायँ गर्ने ठहर गरेको र शुरू जिल्ला अदालतले ज्यानसम्बन्धीको १३(३) अन्तर्गत सजायँ गर्ने गरेको फैसला मिलेन भनी मध्य पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफलाई विचार गर्दा मिति ०३८।१०।१ गते शिव शक्तिपुर प्लट नं. २ को जग्गामा भेटिएको बच्चाको लाश कृष्णराज अधिकारीको र देवी लामिछानेको नाजायज शारीरिक सम्बन्धबाट जन्मिएको बालक भन्ने कुरा प्र.स.नि. बल बहादुर शाहीको जाहेरीमा उल्लेख भएको र शुरू मिसिल संलग्न फा.नं. १२० को श्री सरस्वती नि.मा.विद्यालय शिव शक्तिपुर बर्दियाले जिल्ला अदालत बर्दियाको २०४०।२।२३।२ को आदेश बमोजिम लेखी पठाएको पत्रमा देवीकुमारी शर्माको जन्म मिति २०२५।११।६ उल्लेख भएबाट करिव १३ वर्ष पुगेको प्र.देवी लामिछानेले बालक जन्माई होस् सम्म नपुर्याएकोबाट नवजात शिशुको ज्यान मर्न गएकोमा ज्यानसम्बन्धीको ६ नं. बमोजिम प्र.देवी लामिछानेलाई सजायँ गर्ने गरेको र अन्य प्रतिवादी कृष्णराज समेतलाई सफाई दिने ठहराएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा उल्लिखित बुँदा प्रमाण समेतबाट मध्य पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव हुँदा सदर हुने ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्र प्रसाद सिंह
इतिसम्वत् २०४२ साल श्रावण २० गते रोज १ शुभम् ।