शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३४७ - उत्प्रेषण

भाग: २७ साल: २०४२ महिना: श्रावण अंक:

निर्णय नं. २३४७    ने.का.प. २०४२            अङ्क ४

 

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

सम्वत् २०४१ सालको रि.नं.  १३५१

विषय : उत्प्रेषण ।

 

निवेदक      :तेर्‍हथुम ओयाकजुङ गा.पं.वडा नं. २ बस्ने धर्मानन्द ढकाल ।

विरूद्ध

विपक्षी : भूमि सुधार कार्यालय तेर्‍हथुमका का.मु.भूमि सुधार अधिकारी, तेर्‍हथुम ।

समेत गा.पं. सावला वडा नं.६ बस्ने ज्ञाननाथ सुवेदी ।

ऐ. वडा नं. ५ बस्ने भीमलाल दुलाल ।

आदेश भएको मिति:२०४२।४।२४।५ मा

     ऋण निश्चित भएपछि निवेदकले भोगबन्धकी लिने साहूलाई कुत बाली बुझाउनु पर्ने होइन। कुत बाली भराउने गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

 (प्रकरण नं.८)

निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा ।

विपक्षी तर्फबाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा र विद्वान अधिवक्ता श्रि वैधनाथ उपाध्याय

उल्लेखित मुद्दाःX

आदेश

न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४१।५।२० मा रिट निवेदन दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् । उल्लिखित ४ किल्ला भित्रको रैकर खेत खला १, रैकर घरबारी समेत २, कित्ता जग्गा तेर्‍हथुम मालबाट ०१८।७।१८।६ मा निवेदकसँग भोगबन्धकीमा पास गरिलिएको र लिखतमा धान मुरी ३२।१० बुझाउनु पर्नेमा ०४० सालको धान नबुझाएको नगदी जम्मा रु. ६५००। दिलाई भराई मोहीबाट समेत निष्काशन गरिपाउँ भन्ने व्यहोराको विपक्षीहरूले निवेदन भू.सु.का. तेर्‍हथुममा दिएको, मिति ०१८।७।१८।६ को भोगबन्धकी विपक्षीहरूले लिएकोमा ०१९ सालदेखि सालिन्दा धान मुरी ३२।१० बुझाई आएको छु । भोगबन्धकीमा जग्गा दिँदा रु. ३२६३। मा दिएकोले ऋण साधन भइसकेकोले ऋण निश्चित गरिपाउँ भन्ने व्यहोराको निवेदन विपक्षी भू.सु.का. समक्ष दिएकोमा भू.सु.का.बाट ऋण साधन भइसकेको छ भनी मिति ०४०।३।१९ मा निर्णय भएको छ । डाँडो भन्ने रैकर खेत र रैकर टार बारीको ०४० सालको कुत ३२।१० धान मुरी प्र.हरूले नबुझाएकोले दिलाई भराई पाउँ भन्ने वादी र बाली बुझाएको तर भर्पाई नपाएको भन्ने प्र.भएको देखिएकोमा भर्पाई नभएको सम्बन्धमा ऐनका म्यादभित्र उजूर गरेको नदेखिएको र ३२।१० धान मुरी आयस्ता बुझाएको छ भन्न मिलेन वादीले दावी गरेको बमोजिमको कुत बिगो भू.सं.ऐन, २०२१ को दफा २९(३) बमोजिम प्र.हरूबाट भराई लिन पाउने ठहर्छ भनी मिति ०४१।३।२९ मा नै भू.सु.का.ले निर्णय गरेको छ । मिति ०४१।३।२९ को भू.सु.का.को निर्णयले विवादित जग्गाको ऋण साधन भइसकेबाट मैले कुत तिर्न पर्ने होइन । भू.सं.ऐन, २०२१ बमोजिम ऋण निश्चित गरेको अवस्थामा ऐनको दफा ४५ र ५० को प्रतिकूल भई प्रतिवादीबाट कुत भराई लिन पाउने निर्णय बदरभागी छ । भू.सं.ऐनको दफा २९(३) विवादित प्रश्नमा आकर्षित हुन नसक्ने भूमिसम्बन्धी ऐन, २०२१ को दफा  २(ख) को अवस्थामा मात्र दफा २९ को प्रावधान आकर्षित हुन्छ । प्रस्तुत विवाद दफा २(ख) को   होइन । भू.सु.अ.ले ०४१।३।२९ मा गरेको निर्णयले मौलिकहकबाट बञ्चित हुनु परेकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने व्यहोरा उल्लेख गरी रिट निवेदकले जिकिर लिएको रहेछ ।

२.    यस अदालत सिं.बे.को मिति ०४१।५।२२ को आदेशानुसार प्राप्त हुन आएको लिखित जवाफ यस प्रकार छन् ।

३.    ऋण साधन गर्दा अपनाइएको कार्यविधिमा ०४०। सालसम्मको साहूले खाएको आयस्तालाई ऋण तालिकाबाट देखाइएको हुँदा जग्गाधनीलाई ०४० सालको बाली भराई दिने निर्णय कानुनसंगत छ । भू.सु.ऐन दफा ४५ र ५० को कार्यविधि कार्यालयले नअपनाए सम्म ऋण साधन भइसकेको भन्ने दावी पुग्न नसक्ने कुरामा मैले बाली तिरेर ऋण साधन भइसकेको भन्ने तथ्य पुष्टि हुन नसक्ने हुँदा झुठ्ठा दावीको रिट निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको भूमि सुधार शाखा तेर्‍हथुमको लिखित जवाफ रहेछ ।

४.    भूमिसम्बन्धी ऐनको दफा ४५, ५० को त्रुटि भएको छैन । उक्त दफाको त्रुटि कसरी भयो भन्ने कुराको जिकिर विपक्षी रिट निवेदकले प्रष्ट गरी दावी लिन सकेको छैन । विपक्षी रिट निवेदकको झुठ्ठा रिट निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको ज्ञाननाथ सुवेदी र भीमलाल दुलालको संयुक्त लिखित जवाफ रहेछ ।

५.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा भोगबन्धकी नै साहु ज्ञाननाथ सुवेदी र भीमलाल दुलालले निवेदकको डाडो भन्ने रैकर खेत र रैकर घरबारी मिति ०१८।७।१८ मा रु. ३२६३। मा भोगबन्धकी पास गरिलिएकोमा ०१९ सालदेखि साल साल सालको ३२।१० धान मुरी बुझाई आएकोमा ऋण साधन भइसकेको भनी मिति ०४१।३।२९ मा भू.सु.का. ले गरेको निर्णय उपर साहुको कुनै उजूर वाजूर परेको नहुँदा ०४० सालको कुत बाली पनि बुझाई सककोले भू.सं.ऐन, ०२१ को दफा ४५ र ५० बमोजिम कुत तिर्न पर्ने होइन भनी रिट निवेदकको तर्फबाट विद्वान अधिवक्ता श्री शम्भु थापाले बहस गर्नु भयो ।

६.    ०४० सालको कुत बाली तिरेको भर्पाई रसिद निवेदकबाट पेश गर्न नसकेकोले भू.सु.का.ले ०४१।३।२९ मा प्रतिवादीबाट वादीलाई भराउने गरेको निर्णयमा कुनै त्रुटि छैन भनी भू.सु.का. तेर्‍हथुमको तर्फबाट खटी उपस्थित हुनुभएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्माको बहस र विपक्षी ज्ञाननाथ सुवेदी समेतको तर्फबाट विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्यायको बहस समेत सुनियो ।

७.    प्रस्तुत रिट निवेदनमा रिट निवेदकको माग बमोजिम आदेश जारी हुने नहुने के रहेछ निर्णय गर्नु परेको छ ।

८.    यसमा वादीले दावी गरे बमोजिमको बिगो भू.सं.ऐन, ०२१ को दफा २९(३) बमोजिम प्रतिवादीबाट भराई पाउने ठहर्छ भनी भू.सु.शाखा तेर्‍हथुमले ०४१।३।२९ मा गरेको निर्णय उपर मिति ०४१।३।२९ गते विवादित जग्गाको ऋण साधन भइसकेको भनी भूमि सुधार शाखाले निर्णय गरी सकेपछि मैले २०४० सालको कुत तिर्नुपर्ने होइन भनी रिट निवेदकले जिकिर लिएको देखिन्छ । ऋण साधन अपनाइएको कार्यविधिमा ०४० साल सम्मको साहुले खाएको आयस्तालाई ऋण तालिकाबाट देखाइएको भन्ने भू.सु.शाखा तेर्‍हथुमको लिखित जवाफमा उल्लेख भएको र साहूले खान पाउने थैलीको १०µ भन्दा बढी खाएको आयस्ता रु. २६,९००।८५ देखिएकोले जग्गामा परेको साहू भोगबन्धकी थैलीमा रु. ३२६३। को रु. ४७३१।३५ स्रोत साधन हुने ठहर्छ भनी मिति ०४१।३।२९ मा उसै भू.सु.शाखा तेर्‍हथुमले निर्णय गरेको देखिँदा ऋण निश्चित भएपछि निवेदकले भोगबन्धकी लिने साहु ज्ञाननाथ सुवेदी तथा भीमलाल दुलाललाई ०४० सालको कुतबाली बुझाउनु पर्ने होइन । प्रतिवादीले वादीलाई ०४० सालको कुत बाली भराउने गरेको उही मिति ०४१।३।२९ को भू.सु.शाखा तेर्‍हथुमको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । पुनः कानुनबमोजिम निर्णय गर्नु भनी भूमि सुधार शाखा तेर्‍हथुमको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाई नियम बमोजिम फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

प्र.न्या.नयन बहादुर खत्री

 

इतिसम्वत् २०४२ साल श्रावण २४ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु