शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३५० - हरहिसाब

भाग: २७ साल: २०४२ महिना: श्रावण अंक:

निर्णय नं. २३५०    ने.का.प. २०४२      अङ्क ४

 

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री

माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको दे.पु.नं.      ५४८

मुद्दा : हरहिसाब ।

 

पुनरावेदक/वादी: काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल इटोल बस्ने दामराज श्रेष्ठको मु.स.गर्ने ऐ.ऐ.बस्ने माधव राज श्रेष्ठ ।

विरूद्ध

विपक्षी/प्रतिवादी:श्री ५ को सरकार गृह मन्त्रालय, सिंहदरबार ।

फैसला भएको मिति:२०४२।३।१०।२ मा

     अनिश्चित वादी दावीबाट अदालतले इन्साफ गर्न नमिल्ने हुँदा दावी खारेज हुने ।

(प्रकरण नं.१३)

फैसला

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः मध्यमान्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर वादीले पुनरावेदनको अनुमतिका लागि दिएको निवेदनमा अनुमति प्राप्त भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.    चामल मन २९१७ कटारीबाट ओखलढुङ्गा ल्याउन ०२३ सालमा ढुवानीको ठेक्का सगरमाथा  अञ्चलाधीश कार्यालयबाट लिई पेश्की स्वरूप ५१,४४५।५ पाई ढुवानी काम पूरा भएको, चामल पुर्‍याए पछि बिक्रीको ठेक्का लिई कबुलियत बमोजिम चामल बिक्री गरिआएको रूपैयाँ बुझाई आएको । ०३६।५।१० को पत्रबाट चामल मन २९१७ मध्ये सोलु जिल्लालाई छुट्याइएको मन ८०० कटाई बाँकी २११७ मध्ये चामल बिक्री भएको १९६४ मनको रुपैयाँ बुझाई सकेको हुँदा चामल मन १५३ बाँकी छ भन्ने प्रष्ट छ त्यसपछि पटकपटक गरी बाँकी चामलको रु. १०७१०। पनि चुक्ता बुझाई सकेको भई सोलु जिल्लालाई छुट्याएको चामल मन ३५५। बाहेक अरु हिसाब फछर्योट भइसकेकोमा चामल मन ६३० बाँकी भनी ०२६।६।१२ मा लेखिएको पत्रमा र मसँग बाँकी छैन भनी ०२६।७।१० गते जवाफ दिएको पनि छ । चामल मन ९५५ को रु. गहना समेत जबरजस्ती झिकी घरबाट निकाली सो घर धुलिखेलको घर समेत ०२६।७।१३ मा रोक्का राखी दिएबाट मैले निवेदन गरी कारवाही हुँदा पनि बाँकी नै छ भन्ने ०२८।१।१० गते सूचना पाएकोले फिराद गरेको छु । सोलुलाई छुट्याएको चामल मन ३५५ बाहेक अरु बाँकी नभएको हुँदा सक्कल श्रेस्ता हेरी जाँची हिसाब गरी बुझाई सकेको कायम गरी रोक्का राखेको अचल जेथा खुलाई बिक्री गर्न राखेको कपडा समेतको रु. २५,०००। पर्ने कपडा समेतका मालसामानहरू र घर समेत बिगारी नोक्सान पारेकोले हर्जाना क्षतिपूर्ति रु. १०,०००। समेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको ०२८।७।१७।४ को फिराद दावी ।

३.    चामल मन २९१७ ढुवानी ठेक्का लिई रु. ५१,४८५।५ पेश्की लिई चामल बिक्रीको पनि निज दामराजले ठेक्का लिएकोमा ओखलढुङ्गामा पटकपटक गरी चामल मन १४८७ को रु. १०४०९०। दाखिल गरेको ओखलढुङ्गा मालको जवाफबाट देखिन्छ । सोलुलाई छुट्याएको चामल मन ८०० र ओखलढुङ्गाको निमित्त चामल मन २११७ मध्ये दाखिल भएको १४८७ मा कटाउँदा चामल मन ६३० र सोलुको चामल मन ८०० मध्ये पहिलो पटक ३०० मन र दोश्रो पटक १४५ मन पठाएको भन्ने दामराजको निवेदन भए पनि चामल मन, ३०० मात्र पुगेको र चामल मन १४५ सोलु पुगे नपुगेको खबर आएको छैन सो कटाउँदा पनि चामल मन ३५५ बाँकी नै छ । चामल मन २९१७ ढुवानी गर्नुपर्ने, सोलु र ओखलढुङ्गामा बिक्री वितरण गरी बाँकी भएको चामलको जाँच गर्दा चामल बाँकी नदेखिएकोले कटारीबाट पूरा चामल नल्याएको भन्ने प्रष्ट भयो । चामल मन ९८५ को रु. ६८,९५०। ढुवानी पेश्की मध्येको बाँकी रु. १७,३८५।२५ बोराको रु. २४००। समेत जम्मा रु. ८८७३५।२५ ठे.दामराजसँग बाँकी हुँदा बुझाउन ल्याउनु भनी सूचना दिएकोमा पनि बुझाउन नल्याएकोले कबुलियतमा उल्लिखित जेथा रोक्का रहेको, ०२६।६।२९।४ को मुचुल्का बमोजिमको माल सामान र घर समेत लिलाम गर्दा ३१९४३। आएको कटाउँदा रु. ५६७९२।२५ ठे.दामराजसँग बाँकी नै हुँदा वादीको झुठ्ठा दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर ।

४.    ०३६।५।१० को पत्रमा चामल मन १५३ बाँकी भनी लेखिएको भूलबाट लेखिएको ०२६ साल आश्विन १२ गते संशोधन भई विपक्षीलाई सूचना दिएकोछ भन्ने समेत टेक बहादुरको ०३५।२।२२ गतेको बयान ।

५.    फिरादपत्रको रूपबाटै घर समेत जाँच्नु पर्ने हुँदा प्रस्तुत मुद्दामा वादीलाई सगरमाथा अञ्चल अदालत ओखलढुङ्गा बेञ्चको तारिख तोकी मिसिल समेत पठाई दिनु भन्ने बा.अं.अ.को ०३६।१।२३ को आदेश ।

६.    सो आदेशमा चित्त बुझेन भन्ने वादीको मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

७.    फिराद दावीमा कबुलियतमा ओखलढुङ्गा भैरवटोल भन्ने लेखिएको आधारमा मुद्दा सारेको गल्ती देखिँदा बदर हुन्छ । वादी दावीमा जो बुझ्नु पर्ने बुझी निर्णय गर्नु भनी तारेखमा रहेका पुनरावेदकलाई तारेख तोकी मिसिल बा.अं.अ.मा पठाई दिनु  भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको मिति ०३८।६।८।५ को आदेश ।

८.    वादीले बुझी लिएको जम्मा चामल मन २९१७ मध्ये निज जिम्मा देखिएको चामल मन ९८५ वापत हिसाबबाट देखिन आएको रु. ८६३३५।२५ वादीले बुझाउन बाँकी देखिँदा क्षतिपूर्ति दिलाई पाउँ भन्ने समेतको वादी दावी पुग्न नसक्ने ठहर्छ, कबुलियतमा जर्ति माग्ने छैन भन्ने शर्त देखिँदा जर्ति मिनाहा नपाउने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ.को मिति ०३९।१।३ को फैसला ।

९.    सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादीको मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

१०.    सगरमाथा अञ्चलाधीश कार्यालयको पत्रबाट चामल मन १५३ बाँकी रहेको उल्लेख भएको देखिँदा सो पत्रलाई भूलको संज्ञा दिई अमान्य गर्न मिल्ने नदेखिँदा बा.अं.अ.को फैसला नमिली फरक पर्ने देखिएकोले विपक्षी झिकाई पेश गर्नु भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको मिति ०४०।३।२२ को आदेश ।

११.    वादीदावी नपुग्ने ठहर्‍याएको बा.अं.अ.ले गरेको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

१२.   उक्त मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने वादीको यस अदालतमा निवेदन पर्न आएकोमा ०२६।५।२१ को खाद्य बोर्डको निर्णय तथा निवेदक वादीले चामल मन १५३ बुझाएको प्रमाणको मूल्याङ्कन नगरी मध्यमान्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि देखिनाले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने मिति ०४०।१०।२३।२ को डिभिजन बेञ्चको आदेश ।

१३.   आज निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट विद्वान विरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नु भएको बहस समेत सुनियो । यसमा वादी दावी नपुग्ने ठहराएको बा.अं.अ.को इन्साफ मनासिव ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन ? हेर्नु परेको छ । निर्णयतर्फ हेर्दा यसमा वादीको फिरादपत्रको प्रकरण नं. १० मा दोहोर्‍याई हर हिसाब गरी विपक्षी तर्फबाट हिसाबको श्रेस्तामा गडबडी गरी सच्याई मबाट बढी लिने गरिएको रहेछ भने पनि सम्बन्धित सक्कलै श्रेस्ता हेरी यथार्थ हिसाब गरी तिरी बुझाई सकेको कायम गरी मलाई पक्राउ गरेकोमा छुटकारा दिलाई पाउँ र ठेक्का सम्बन्धको कुरालाई लिएर विपक्षीले उजूर फिराद गरी अदालतबाट मैले तिर्न बुझाउन पर्ने हो भनी ठहर्‍याएको फैसला हुनु बेगर घर जेथा चल अचल सम्पत्ति जम्मै रोक्का राखी ओखलढुङ्गाको घरमा बिक्रीको समेत लागि रहे राखिएको २५०००। पच्चीस हजार मूल्य पर्ने कपडा समेतका माल सामानहरू र घर समेत बिगारी नोक्सान पारी व्यापार गर्न समेत नदिई अन्याय गरेकोले तुरुन्तै खुलाई सोको हर्जाना क्षतिपूर्ति रु. १०,०००। दश हजार समेत विपक्षीबाटै दिलाई भराई सुफत न्याय पाउँ भन्ने दावी गरेको देखिन्छ । यसबाट वास्तवमा यो वादीले कुन किसिमले कुन कुराको कति नोक्सानी परेको भन्ने कुरा किटानी भन्न सकेको देखिँदैन । मबाट बढी लिने गरेको रहेछ भने पनि सम्बन्धित सक्कलै श्रेस्ता हेरी यथार्थ हिसाब गरी तिरी बुझाई सकेको कायम गरी मलाई पक्राउ गरेकोमा छुटकारा दिलाई पाउँ भनी उल्लेख गरेबाट वादीले आफूले दावी गरेको अङ्क किटानी गर्न नसकी अदालतले नै सक्कल श्रेस्ता हेरी दावीको अङ्क यकीन गरी कायम गर्नु पर्ने भन्ने दावी गरेको देखिन्छ । दावी गरेको क्षतिपूर्तिको अङ्क पनि कुन हिसाबले त्यति हुन आउने हो भन्ने कुरा स्पष्ट उल्लेख हुन सकेको देखिएन । यस्तो स्थितिमा वादीको दावी निश्चित रूपको देखिन आएन । यस्तो अनिश्चित वादी दावीबाट अदालतले इन्साफ गर्न नमिल्ने हुँदा वादी दावी खारेज हुने  ठहर्छ । वादी दावी खारेज गर्नु पर्नेमा इन्साफ गरी वादी दावी नपुग्ने ठहर्‍याएको बा.अं.अ.को इन्साफलाई सदर गरेको सम्म मध्यमान्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिएन । तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक वादीबाट कोर्टफी दाखिल भइसकेको देखिएकोले केही गर्नु परेन...१,    मध्यमाञ्चलक्षे.अ.को मा.न्या.श्री जनार्दनलाल मल्लिक र मा.न्या.श्री केशवप्रसाद मुडभरीले गर्नु भएको फैसला केही उल्टी हुने ठहरेकोले त्यसको रेकर्ड राख्नु भनी सर्वोच्च अदालतप्रशासन शाखामा लेखेर पठाउनु....२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु....................३

 

उक्त रायमा म सहमत छु ।

 

प्र.न्या.नयन बहादुर खत्री

 

इतिसम्वत् २०४२ साल आषाढ १० गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु