निर्णय नं. २३५२ - कर्तव्य ज्यान

निर्णय नं. २३५२ ने.का.प. २०४२ अङ्क ४
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
सम्वत् २०४० सालको फौ.पु.नं.७७१
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/वादी:लक्ष्मण तेलीको जाहेरीले श्री ५ को सरकार ।
विरूद्ध
विपक्षी/प्रतिवादी:जि.नवलपरासी तिलकपुर गा.पं.वा.नं. १८ बस्ने लालचन तेली ।
ऐ.ऐ बस्ने गुलावचन तेली ।
फैसला भएको मिति : २०४२।३।२५।३ मा
जाहेरवाला तथा निजका दाजु तथा आमाको विवादास्पद गवाही बाहेक यी प्रतिवादीहरूले नै जाहेरवालाको बाबुलाई कर्तव्य गरी मारेको भन्ने कुनै ठोस सबूद प्रमाण मौजूद भएको मिसिलबाट देखिँदैन । यस स्थितिमा प्रतिवादीले सफाई पाउने ।
(प्रकरण नं.१६)
पुनरावेदक तर्फबाटःX
विपक्षी तर्फबाट :विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा
उल्लेखित मुद्दाःX
फैसला
न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. ०३७।८।१५ गतेका दिन साँझको खानपिन गरी हामी सबै परिवार सुत्न गएका मेरो बुबा रघु तेली र म समेत भई एउटै खाटमा सुती निदाएको अवस्था रातको अं. १२ बजे समयमा बदमासहरू आई मेरो बाबुलाई एकजनाले नमालुम के चिजले हान्दा मरे बाबा भनी बाबु कराएको आवाजले निद खुल्न गई हेर्दा लालचन तेली, गुलावचन तेली समेतलाई चिने बुबालाई मारपीट गर्दै घरबाट बाहिर लतार्दै लगेर लालचनले मलाई समेत प्रहार गर्दा मेरो बायाँ हातको नाडीमा लाग्न गई म बाहिर भागेँ आँगनमा ४–५ जनालाई देखेँ । हल्ला गर्दा निजहरू गाउँ देखि उत्तरतर्फ भागी गए र बुबाको नजिक गई हेर्दा मृत्यु भइसकेको रहेछ लालचन तेली र गुलाव तेलीलाई प्रहरीद्वारा पक्राउ गरी कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत लक्ष्मण प्रसाद तेलीको जाहेरी दर्खास्त।
३. छातीमा दूध देखि तल अं. २ इन्च लम्बाई दुई इन्च गहिरो घाउ र सो देखि अं. चार इन्च तल अर्को घाउ, दायाँ गोडाको घुँडा माथि साप्रामा दुई इन्च गोलाई साढे एक इन्च गहिरो घाउ सो देखि तल ४ इन्च र माथि कम्मर सम्म आगोले पोलेको घाउ, दाहिने गोडाको साँप्रोमा अं. डेढ इन्च गोलाई ७ इन्च गहिरो तिखो हतियारले घोचेको घाउ भएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।
४. ०३७।८।१५ को दिनभरि म आफ्नो घर र खेतमा खाद बोकेको र धानको भारी बोक्ने काममा थिएँ । मैले रघु तेलीलाई कर्तव्य गरी मारेको समेत होइन भन्ने समेत गुलावचन तेलीले गरेको बयान ।
५. ०३७।८।१५ गतेको रात दिन म आफ्नै घरमा छु । मेरो ससुरा नाता पर्ने रघु तेलीलाई कर्तव्य गरी मारेको छैन । को कसले परिबन्द मिलाई किन मारे थाहा छैन भन्ने समेत लालचन तेलीले गरेको बयान ।
६. लालचन र गुलावचन तेली समेतले रघु तेलीलाई कर्तव्य गरी मारेमा शंका लाग्छ भन्ने समस्त सरजमीनको व्यक्तिहरूको लेखाई दिएको सरजमीन मुचुल्का ।
७. संकलित सबूद प्रमाणबाट रिसइवी साधन गर्नको लागि प्रतिवादीहरूले रघु तेलीलाई भाला आदि धार भएको हतियारले घोची रोपी कर्तव्य गरी मारेको सिद्ध हुन आएकोले प्र.लालचन तेली र गुलावचन तेलीलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सजायँ हुन माग दावी गरिएको प्रहरी प्रतिवेदन ।
८. म र लालचन समेत रघु तेली मरेको भन्ने राति आफ्नो घरमा नै बसेका छौं जाहेरवालाका घरमा गएको होइनौ रघु तेलीलाई मैले मारे मराएको समेत होइन झुठ्ठा जाहेरी दिएका हुन् मृतकसँग कुनै रिसइवी छैन भन्ने समेत व्यहोराको गुलावचन तेलीको अदालतमा भएको बयान ।
९. रघु तेलीलाई को कसले मारे थाहा छैन वारदात भएको राति म मेरै घरमा सुतेको छु जाहेरवालाको घरमा गएको होइन । मर्ने रघु तेलीसँग कुनै रिसइवी थिएन र छैन भन्ने समेत लालचन तेलीले अदालतमा गरेको बयान ।
१०. २०३७।८।१५ गतेका रात बाबुसँग सुती निदाएको अवस्था कताबाट आई लालचनले लाइट देखाउने गुलावचनले भालाले हानेछन् बाबुले चिच्चाएपछि बिउँझे, बिउँझे पछि गुलावले भालाले मेरो बायाँ हातमा घोची दिएका थिए । लाइट र लालटेनको उज्यालोबाट देखेको हुँ भन्ने समेत जाहेरवाला लक्ष्मण तेलीको बकपत्र ।
११. पाँच वर्ष अगाडि पोइल गएकी स्वास्नीको रिसमा पाँच वर्ष पछि उसको बाबुलाई प्रतिवादीहरूले मारे भन्ने जाहेरवालाको भनाई विश्वास पर्दो भएन । घटनास्थलको कुनै चस्मदिद गवाह उपस्थित भएको देखिएन । कुनै सबूद प्रमाण गवाह समेतको अभावमा केवल आरोप मात्रकै आधारले अपराधी ठहराउन नमिल्ने हुँदा प्रतिवादीहरूले सफाई पाउने ठहर्छ भन्ने समेत नवलपरासी जिल्ला अदालतको फैसला ।
१२. उक्त निर्णय उपर श्री ५ को सरकारको पश्चिमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
१३. मृतक र जाहेरवाला बाबु छोरा भएको त्यस्तोमा जाहेरवालाको कथन होशियारीपूर्वक केलाउनु पर्ने हुन्छ । लखराजीले प्रतिवादीको एक हातमा लाइट र एक हातमा बन्दूक थियो भनी लेखाई दिएको पत्यार लायक देखिएन । जाहेरीकै आधारमा कसूरदार ठहराउन नमिल्ने हुँदा वादी दावीबाट सफाई दिने गरेको शुरू इन्साफ मनासिव ठहर्छ भन्ने समेत पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।
१४. उक्त फैसला निर्णय उपर श्री ५ को सरकारको सर्वोच्च अदालतमा परेको पुनरावेदन
१५. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान विरिष्ठ अधिवक्ता श्री केदार प्रसाद शर्माको बहस समेत सुनियो ।
१६. यसमा निर्णयतर्फ हेर्दा जाहेरवाला लक्ष्मण तेलीले आफ्नो जाहेरीमा प्र.लालचन र गुलावचन दुवैलाई देखेको र लालचनले आफूलाई भालाले हिर्काएको बाबुलाई मारपीट गर्दै लतार्दै घरबाट बाहिर लगी भालाले घोचेका बाबुलाई मार्ने भए भन्ने ठानी हल्ला गर्दा भागेका भन्ने समेत व्यहोरा लेखाएको पाइन्छ । जाहेरीमा निजले वारदातको कुरा निजकी आमा लखराजी तथा दाजु गंगाप्रसादले समेत देखेको भनी खुलाउन सकेको छैन । सरजमीनमा पनि निजहरू आउन सकेको छैनन् । जाहेरवालाको अदालतमा भएको बयानबाट मात्र निजकी आमा तथा दाजु गंगाप्रसाद बुझिएको छ, निजहरूले प्रस्तुत गरेको वारदातको विवरण र जाहेरवालाले लेखाएका विवरण धेरै नै फरक देखिन्छ । यसबाट पनि निजहरूको भनाईमा भर गर्न मिल्ने देखिएन । जाहेरवालाले जाहेरीमा लालचनले भालाले आफूले हानेको भनेका छन् भने अदालतमा बकपत्र गर्दा गुलावचनले हानेको भनेका छन् । त्यस्तै गरी गुलावचनको एक हातमा बन्दूक र एक हातमा भाला थियो एक हातले बन्दूक र एक हातले भाला चलायो भन्ने जाहेरवालाको अदालतको बकपत्र छ जुन पत्यार लाग्दो पनि देखिँदैन । प्र.लालचन तथा गुलावचनले प्रहरी तथा अदालतमा समेत अभियोगमा इन्कार रही बयान गरेको देखिन्छ । जाहेरवाला तथा निजका दाजु तथा आमाको विवादास्पद गवाही बाहेक यी प्रतिवादीहरूले नै जाहेरवालाको बाबु रघु तेलीलाई कर्तव्य गरी मारेको भन्ने कुनै ठोस सबूद प्रमाण मौजूद भएको मिसिलबाट देखिँदैन । यस स्थितिमा यी प्रतिवादीहरू लालचन तथा गुलावचनले वादी दावी बमोजिमको अपराध गरेको भन्ने शंकारहित तवरबाट प्रमाणित हुन सकेको नदेखिँदा निजहरूलाई सफाई दिने गरेको शुरु नवलपरासी जिल्ला अदालतको इन्साफ सदर गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
प्र.न्या.नयन बहादुर खत्री
इतिसम्वत् २०४२ साल आषाढ २५ गते रोज ३ शुभम् ।