शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६००६ - भ्रष्टाचार

भाग: ३७ साल: २०५२ महिना: भाद्र अंक:

निर्णय नं. ६००६   ने.का.प. २०५२ अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

२०५० सालको फौ.पु.नं. ६९५

फैसला मिति : २०५१।१२।७।३

मुद्दा : भ्रष्टाचार ।

 

पुनरावेदक/वादी: विशेष प्रहरी विभागको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी: धनुषा जिल्ला, जनकपुर न.पा. वडा नं. १ बस्ने भुवन प्रसाद ढुंगाना ।

ऐ.ऐ.बेंवाडावर गा.वि.स. वडा नं.८ लालगढ बस्ने युग प्रसाद पुडासैनी ।

 

    अदालतमा उपस्थित भई बकपत्र नगर्ने जाहेरवाला र बरामदी मुचुल्काका मानिसको भनाईलाई प्रमाणित आधार मान्न नमिल्ने ।

 (प्र.नं. १४)

    प्रतिवादीको कसुर प्रमाणित हुने स्वतन्त्र एवं भरपर्दो प्रमाण केही छैन । स्वतन्त्र एवं भरपर्दो प्रमाणकौ अभावमा विशेष प्रहरीमा भएको कागजको आधारले मात्र भ्रष्टाचार जस्तो गम्भिर प्रकृतिको अपराधमा कसुरदार ठहर्याउन नमिल्ने ।

 (प्र.नं. १४)

निवेदक तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ

विपक्षी तर्फबाटःX

अवलम्बित नजीरःX

फैसला

न्या. उदयराज उपाध्यायः पुनरावेदन अदालत जनकपुरको शुरु फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.  मैले तिनथाना गा.प. र अन्य केही उद्योगहरुमा दाउराको आवश्यकता पर्ने ईटा उद्योगको प्रतिनिधिको हैसियतले इन्धन संस्थान केन्द्रिय कार्यालयबाट आदेश लिई जनकपुर शाखाबाट दाउरामाग्दा सागरनाथ वन विकास परियोजनाले काटेको दाउरा दिने गरेकोले त्यहाँ जाँदा फिल्डमा रहेका युग प्रसाद पुडासैनी र भुवन ढुंगाना समेतले हामीलाई प्रतिट्रक १,२००।दिने भए राम्रो दाउरा दिन्छौ नत्र छैन भनी जवाफ दिएकोले साह्रै मार्का परेको हुँदा कारवाही गरी पाउँ भन्ने राम प्रसाद उपाध्यायको उजुरी ।

३.  सागरनाथ वन विकास परियोजनाका युग प्रसाद र भुवन प्रसाद ढुंगानालाई घुस रिसवत दिनको लागि विभिन्न दर नम्बरको रु. ७५०० वि.प्र.वि. डोरबाट राम प्रसादले बुझी दिई गरिदिएको भरपाई ।

४.  भुवन प्रसादको जिउ खानतलासी गर्दा पाइन्टको बगलीबाट रु. ७५०० बरामद भएको भन्ने कृष्ण प्रसाद समेतले गरी दिएको खानतलासी बरामदी मुचुल्का ।

५.  सागरनाथ वन विकास परियोजनाको सुपरभाइजर पदमा कार्यरत हुँ मेरो रोहवरमा भएको बरामदी मुचुल्कामा भएको सही मेरो हो प्रतिटिप ५००।ले १५ टिपको रु. ७५०० कृष्ण प्रसादसँग लिएको हुँ । उक्त रकम युग प्रसादको भनाई अनुसार लिएको हुँ । घुस लिंदा कै अवस्थामा विशेष प्रहरीले पक्राउ गरेको हो भन्ने समेत भुवन प्रसादले वि.प्र. विभाग समक्ष गरेको बयान कागज ।

६.  मेरो मातहतको कर्मचारीले गरेको अनैतिक कार्यमा पनि सहमति रहेको र फरार भै बसेको कानून विपरित हो भन्ने समेत युग प्रसादले वि.प्र. विभाग समक्ष गरेको बयान कागज ।

७.  युग प्रसादलाई कारवाहीबाट बच्ने बारेमा सल्लाह दिई भगाउने काम मैले गरेको छैन भन्ने अन्जनी कुमारले गरेको बयान ।

८.  यसमा बरामद भएको रुपैया घुस रिसवत स्वरुप राम प्रसादसँग रु. ७५०० लिएको कुरा सावित रही युग प्रसादको आदेशानुसार लिएको भनी भुवन प्रसाद सावित भएको, आफ्नो मातहतको कर्मचारी भएको कारण निजको अनुचित कार्यमा आफू  जिम्मेवार रही फरार रहेको कुरा स्वीकार गरी युग प्रसादले बयान गरेको समेत आधारमा निजहरुले भ्र.नि. ऐन, विपरित कार्य गरेको प्रमाणित हुँदा भ्र.नि. ऐन, २०१७ को दफा ५, ७(२) अन्तर्गत सजाय गरी पाउँ भन्ने समेत विशेष प्रहरी अधिकृतको अभियोग पत्र ।

९.  राम प्रसादले भने बमोजिम दाउरा नदिएको रिसले उजुर गरेका हुन । बरामद भएको नोट मेरै बगलीबाट बरामद भएको हो । युग प्रसादको बयान झुठ्ठा हो । राम प्रसाद समेतले मेरो दुवै हात समाती खल्तीमा पैसा हाली वि.प्र. समेत गै मेनेजरको सामुन्ने लगी बरामद भएको भनी मुचुल्का गराएको हो मैले घुस वापत रुपैया मागेको र लिएको होइन । मलाई कुनै अधिकार पनि छैन भन्ने समेत व्यहोराको भुवन प्रसाद ढुंगानाले बागमती विशेष अदालत समक्ष गरेको बयान ।

१०.  अभियोग बमोजिम मैले कसुर गरेको छैन । सागरनाथले दाउरा बेच्ने नभै इन्धन संस्थानको आधारमा दिने भएकोले कसैसँग रुपैया माग्ने प्रश्न उठदैन वि.प्र. ले मलाई जवरजस्ती कागज गराएको हो । बरामद भएको नोट मेरो सामुन्नेमा बरामद नभएकोले त्यस सम्बन्धमा मेरो भन्नु केही छैन । राम प्रसादको निवेदनको आधारमा मलाई कारवाही चलाएको होला भन्ने समेत प्र. युग प्रसादले विशेष अदालत समक्ष गरेको बयान ।

११.  प्रतिवादीहरुले घुस रिसवत मागेको भन्ने केवल निवेदक राम प्रसादको अपुष्ट भनाई सम्म रहेको सो भनाई कानूनी तवरले प्रमाणित हुन नसकेको स्थितिमा केवल विशेष प्रहरी विभागको डोरबाट योजनावद्धरुपमा रामप्रसाद अधिकारीले दिएको रकम प्रतिवादी भुवन प्रसाद ढुंगानाको बगलीबाट बरामद भएकै कारणले प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गतको कसुरदार ठह्याउन न्यायोचित नहुँदा प्रतिवादीहरु युग प्रसाद पुडासैनी र भुवन प्रसाद ढुंगाना दुवैले निषेधित कसुरबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको २०५०।५।६ को फैसला ।

१२.  प्रतिवादीहरुले आरोपित कसुरमा साविति भै विशेष प्रहरी समक्ष बयान गरेको र विशेष प्रहरीले दिएको रकम समेत बरामद भएको स्थितिमा प्रतिवादीहरुलाई सफाई दिने कुरा भएको पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटीपूर्ण भएकोले उक्त फैसला बदर गरी प्रहरी प्रतिवेदन भए अनुसारको सजाय गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकार विशेष प्रहरी विभागको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।

१३. नियम बमोजिम पेशिसूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठले यसमा प्रतिवादीहरु आफूले कसूर गरेमा सावित भएका छन । मौकामा निजहरुबाट नम्बर टिपिएका नोटहरु रु ७,५०० बरामद भएको छ । त्यसरी प्रमाण पुगेको अवस्थामा प्रतिवादीहरुले भ्रष्टाचार गरेकोमा निजहरुलाई सजाय गर्नु पर्नेमा प्रतिवादीहरुलाई सफाई दिने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला बदर गरी प्रहरी प्रतिवेदन माग दावी अनुसार प्रतिवादीहरुलाई सजाय हुनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको छ, छैन भन्ने कुरामा निर्णय दिनुपर्ने देखियो ।

१४. यसमा प्रतिवादीहरु अधिकार प्राप्त अधिकारी विशेष प्रहरी समक्ष कसुर गरेमा सावित भएको र प्रतिवादी भुवन प्रसाद ढुंगाना रुपैया बरामद समेत भएकोले निजहरुलाई सफाई दिएको नमिलेको भनी वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन परेको देखिन्छ । विशेष प्रहरी समक्ष युग प्रसादको भनाई अनुसार राम प्रसादसँग रकम लिएको हुँ भनी भुवन प्रसादले र कर्मचारीले गरेको अनैतिक कार्यमा मेरो पनि सहमति रहेको भनी युग प्रसादले बयान गरी बा.वि.अ. मा बयान गर्दा राम प्रसाद अधिकारीले योजनावद्धरुपमा प्रतिवादी भुवन प्रसाद ढुंगानाको बगलीमा जर्वजस्ती पैसा राखी दिएको हो भनी आरोपित कसुरमा इन्कार भएको देखिन्छ । प्रतिवादीको साथीहरुले पनि सोही इन्कारीको पुष्टि हुने गरी बकपत्र गरी प्रतिवादी जिकिरको समर्थन गरेको पाइन्छ । वादी श्री ५ को सरकार तर्फबाट जाहेरबाला र बरामदी मुचुल्काका मानिस उपस्थित गराई बकवत्र गराउन सकेको पाइदैन । अदालतमा उपस्थित भई बकपत्र नगर्ने जाहेरवाला र बरामदी मुचुल्काका मानिसको भनाइलाई प्रमाणित आधार मान्न मिलेन । प्रतिवादीको कसुर प्रमाणित हुने स्वतन्त्र एवं भरपर्दो प्रमाण केही छैन । स्वतन्त्र एवं भरपर्दो प्रमाणको अभावमा विशेष प्रहरीमा भएको कागजको आधारले मात्र भ्रष्टाचार जस्तो गम्भिर प्रकृतिको अपराधमा कसुरदार ठह्याउन नमिल्ने हुन्छ । तसर्थ वि.प्र.वि. को डोरबाट योजनावद्ध रुपमा राम प्रसाद अधिकारीले दिएको रकम प्रतिवादी भुवन प्रसाद ढुंगानाको बगलीबाट बरामद भएकै कारणले प्रतिवादीहरुले घुस रिसवत लिएको भनी भ्रष्टाचार निवारण ऐन अन्तर्गतको कसुरदार ठहर्याउन न्यायोचित नहुने भनी प्रतिवादीहरुलाई आरोपित कसुरबाट सफाई दिने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको एक प्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. केशव प्रसाद उपाध्याय

 

इति सम्वत् २०५१ साल चैत्र ७ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु