निर्णय नं. ९१६९ - सवारी ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
फैसला मिति : २०७१।२।२७।३
०७०–CR–०९३४
मुद्दा : सवारी ज्यान ।
पुनरावेदक/प्रतिवादी : जिल्ला पाल्पा, पालुङ मैनादी गा.वि.स. वडा नं. ६ बस्ने टेकबहादुरको छोरा कृष्णबहादुर कुँवरसमेत
विरूद्ध
प्रत्यर्थी/वादी : कृष्णबहादुर थापाको जाहेरीले नेपाल सरकार
§ व्यक्ति विशेषबाट मृतकको हत्या भएको भए वा मृतक बाटोमा दैवी परी लडी मरेको भए एउटै चोटबाट त्यसकिसिमले टाउको क्षतविक्षत हुने कुरा सामान्यतया सम्भव हुँदैन । मृतकउपर कसैबाट हतियार प्रहार भएको थियो भन्ने कुरा शव परीक्षण प्रतिवेदनलगायतका लिखतबाट खुल्न सकेको छैन । तमाम मिसिल र स्वयम् प्रतिवादीहरूको बयानमा मृतकको मृत्यु अरू कसैबाट भएको वा मृतक आफैं लडी मरेको कुरा उल्लेख हुन नसक्नु र उक्त दिनसमयमा वारदातस्थल हुँदै ना. ३ ख ६९० नं. को ट्रक चलाएको कुरालाई स्वीकार गर्नु जस्ता परिस्थितिहरू (circumstances) र स्वतन्त्र प्रमाणहरूको रोहमा र प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) को देहाय (१) अनुसार मौकामा बयान गर्दा प्रतिवादीहरू होशमा नरहेका वा देहाय (२) वा (३) अनुसारको प्रलोभन, यातना, आदि दिएको वा कुटपीट आदि भएको कुरा प्रमाणित हुन नसकेबाट प्रतिवादीहरूको प्रहरी साबितीलाई अमान्य गर्न मिल्ने नदेखिने ।
§ प्रतिवादीले गरेको कुकृत्यबाट आक्रोशित भै तत्काल समाज वा प्रहरीले प्रतिवादीलाई कुटपीट आदि गरी वा अड्डीवाल प्रतिवादीलाई फकाई फुल्याई साबित गराएको भए पनि प्रतिवादीले कसुर गरेको कुरा अन्य प्रमाणले पुष्टि गरेको अवस्थामा उक्त दफा ९(२)(क) को देहाय (२) वा (३) को अवस्था रहेको भनी प्रतिवादीलाई सफाइ दिनु न्यायसम्मत नहुने ।
(प्रकरण नं.६)
§ अनुसन्धानको हरेक कमीकमजोरीको प्रतिवादीले फाइदा पाउन थालेमा समाजमा दण्डहीनताले प्रश्रय पाउने, पीडित र समाजले न्यायको अनुभूति गर्न नसक्ने र न्याय पराजित हुने अवस्था आउँछ । यस सन्दर्भमा प्रमाण ऐन, २०३१ को दफा ५४ ले कुनै प्रमाण बुझिएको वा नबुझिएको कारणबाट मात्र कुनै फैसला वा आदेश बदर हुने छैन । तर त्यसबाट निर्णयमा असर पर्न गएको रहेछ भने त्यस्तो फैसला वा आदेश बदर हुनेछ भनी गरेको व्यवस्थालाई न्यायमूर्तिले विचार गर्नैपर्ने ।
(प्रकरण नं.७)
§ खतरनाक हँकाईबाट मानिस मरेमा चालकलाई अधिकतम् १४ वर्षसम्म कैद र जरिवानासमेत हुन सक्छ भने मानिस नमरेमा अधिकतम् २ वर्ष कैद वा जरिवाना वा दुबै तथा कम्तीमा १ वर्षका लागि सवारी चलाउन नपाउने सजाय हुने देखिन्छ । लापरवाहीपूर्ण हँकाईबाट मानिस मरेमा चालकलाई बढीमा ५ वर्षसम्म कैद वा जरिवाना वा दुबै र मानिस नमरेमा ५ स्तरसम्मको जरिवाना र सवारी अनुमतिपत्रमा पेनाल्टी प्वाइण्ट जनाउने वा निश्चित अवधिको लागि सवारी चलाउन नपाउने सजाय हुन सक्ने ।
§ त्यस अतिरिक्त कठोर दायित्वको कसुर भन्न नमिले पनि प्रतिवादीउपरको प्रमाण आदिको भारले गर्दा कठोर दायित्वकै समकक्षी सरहको causing death by careless or inconsiderate driving when under the influence of drink or drugs कसुरमा अधिकतम् १४ वर्षसम्म कैद हुने ।
(प्रकरण नं.१३)
पुनरावेदक/प्रतावदीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ तथा विद्वान् अधिवक्ता राज्यलक्ष्मी बज्राचार्य
प्रत्यर्थी/वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
- नेकाप २०६६ को पृष्ठ ४७८, ऐ.२०४६ को पृ.११५५ समेत
- सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२)
- मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं.
सुरू तहमा फैसला गर्ने न्यायाधीश :
मा.जि.न्या.श्री हरिप्रसाद बगाले
पुनरावेदन तहमा फैसला गर्ने न्यायाधीश :
मा.न्या.श्री बलराम विष्ट
मा.न्या.श्री शारङ्गा सुवेदी
फैसला
न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छ :
मिति २०६५।१२।१५ गते बिहान जिल्ला पाल्पा, कुसमखोला गा.वि.स.वडा नं. ८ बस्ने वर्ष ४० को रामबहादुर थापाको ऐ. कुसुमखोला गा.वि.स. वडा नं. ३ स्थित, बाटो मुनि मृत अवस्थामा लास फेला परेकाले कानूनबमोजिम गरिपाउँ भन्ने व्यहोराको मिति २०६५।१२।१५ को कृष्णबहादुर थापाको जाहेरी दरखास्त ।
जिल्ला पाल्पा, कुसुमखोला गा.वि.स. वडा नं. ३ स्थित पाल्पाबाट अर्घाखाँची जाने कच्ची मोटर बाटोको मोडमा पश्चिमतर्फको कुनामा चारवटा ढुङ्गा रहेको, सो ढुङ्गामध्ये एकवटा ढुङ्गामा रगत जस्तो पदार्थ लागेको, जमिनमा केही रगत जस्तो पदार्थ भई सोमाथि माटो तथा बालुवा छरेको अवस्थामा भएको, उक्त बाटोभन्दा पूर्वतर्फ मोटरबाटो भन्दा तल माटोको भागमा पश्चिम टाउको, पूर्व खुट्टा गरी घोप्टो अवस्थामा मृतक रामबहादुर थापाको लास रही उक्त लासको टाउकाको भाग फुटी क्षत विक्षत भएको भन्ने व्यहोराको मिति २०६५।१२।१५ गतेको घटनास्थल तथा लास प्रकृति मुचुल्का ।
मिति २०६५।१२।१५ गते बिहान जिल्ला पाल्पा, कुसुमखोला गा.वि.स. वडा नं. ३ स्थितमा ऐ. वडा नं. ८ बस्ने वर्ष ४० को रामबहादुर थापाको मृत अवस्थामा लास फेला परेको सम्बन्धमा घटनास्थल तथा वरपर उक्त वारदात सम्बन्धमा गोप्यरूपमा बुझ्दा मिति २०६५।१२।१५ गते राति पालुङ मैनादीतर्फबाट ना. ३ ख ६९० नं. को ट्रक हार्थोक बजारतर्फ आएको भन्ने बुझी उक्त नं. को ट्रकलाई गोप्यरूपमा खानतलासी गर्दै जाँदा जिल्ला पाल्पा, पालुङ मैनादी गा.वि.स. अन्तर्गत बतासे बजारमा उक्त ट्रक चालकलाई फेला पारी सोधपुछ गर्दा मिति २०६५।१२।१४ गते राति हार्थोकतर्फ जाने क्रममा कुसुमखोला बजारमा ट्रकले निज रामबहादुरलाई ठक्कर दिई गएको र फर्कने क्रममा टाउको समेतमा चोट लागि बाटोमा रामबहादुरको मृतक लास देखी मैले र गणेश बस्यालले कसैले थाहा पाउँछन कि भनी उक्त लास उठाई बाटोबाट तल फालिदिएको हो भनी बताएकाले निजसमेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि पेश गरेको छु भन्नेसमेत व्यहोराको मिति २०६५।१२।१६ गतेको प्र.नि.दिपककुमार शाहको प्रतिवेदन ।
मैले केही वर्ष पहिलादेखि ना. ३ ख ६९० नं. को ट्रक चलाउँदै आएकोमा मिति २०६५।१२।१४ गते जिल्ला पाल्पाको अर्घाखाँची सिमानामा पर्ने तिनगिरेबाट भैँसी लोड गरी पाल्पा भैरवस्थानसम्म ल्याउन भनी आउँदै गर्दा बाटोमा पर्ने जिल्ला पाल्पा, कुसुमखोला गा.वि.स. वडा नं. ३ स्थितको घुम्तिबाटोमा राति २२.३० बजे आईपुग्दा हेल्परले सडकमा मानिस छ गुरूजी भन्दा हो भन्दै गाडी अगाडि बढाउँदा गाडी बाटोको खाल्टोमा परी घद्राक्क गरेजस्तो गरेको, मैले उक्त ट्रक चलाई भैरवस्थान पुगी सोही राति भैँसी झारी सो ट्रकलाई पालुङ मैनादीमा राख्ने भनी जाँदै गर्दा कुसुमखोला गा.वि.स. वडा नं. ३ मा आईपुग्दा निज रामबहादुरको टाउको समेत किची मृतक अवस्थामा लास देखी हामी जाँदा ट्रकले किचेको देखी रातको समयमा कसैलाई थाहा छैन, यो लास बाटोबाट फाली दिनुपर्छ भनी हेल्पर तथा मैले उक्त लास उठाई बाटोबाट तल फालेको र घटनास्थलमा भएको रगतमा माटो तथा ढुङ्गासमेतले पुरी हामी उक्त स्थानबाट भएको हो भन्नेसमेत व्यहोराको अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी कृष्णबहादुर कुँवरले मिति २०६५।१२।१९ गते गरेको बयान कागज ।
मैले केही समयअघिदेखि ना. ३ ख ६९० नं. को ट्रकमा हेल्पर काम गर्दै आएकोमा उक्त ट्रकमा सामान ओसार पसार गर्ने क्रममा मिति २०६५।१२।२४ गते साँझ तिनगिरेबाट उक्त ट्रकमा भैँसी लोड गरी पाल्पा भैरवस्थानतर्फ चालक कृष्णबहादुर कुँवरले चलाई ल्याउँदै गर्दा बाटोमा पर्ने जिल्ला पाल्पा, कुसुमखोला गा.वि.स. वडा नं. ३ मा आइपुग्दा बाटोको बाँया साइडमा मानिस देखी मैले तथा उक्त ट्रकमा बसी आएका भैँसीवालासमेतले गुरूजी मानिस छ बाटोमा भनी भन्दाभन्दै चालकले गाडी अगाडि बढाउँदा गाडी बाटोमा खाल्टोमा परी घद्राक्क गरेको जस्तो भई चालकले कतै मानिसलाई त लागेन भनी भन्दा मैले मानिस त थियो तर लागेन होला गुरूजी भनी भनेकाले चालकले उक्त ट्रक लिई भैरवस्थान पुगी सोही राति भैँसी झारी सो ट्रक लिई पालुङ मैनादीमा बस्न भनी हामी दुबैजनामात्र भई फर्कदै गर्दा कुसुमखोला गा.वि.स. ३ स्थितमा पुग्दा निज रामबहादुरको टाउको समेत किची मृत अवस्थामा बाटोमा लास देखी हामी जाँदा ट्रकले किचेको हो । रातको समय कसैलाई थाहा छैन यो लास बाटोबाट फालिदिनुपर्छ भनी चालकले मलाई भनेकाले मैले तथा चालकले उक्त लास उठाई बाटोबाट तल फालेको हो र घटनास्थलमा भएको रगतमा माटो तथा ढुङ्गा समेतले पुरी हामी उक्त स्थानबाट गएको हो । पालुङ मैनादी बतासेमा पुगी ट्रक रोकी ट्रकको बायाँतर्फ पछिल्लो टायरमा रगत लागेको होला भनी पानीले उक्त टायर पखालेको हो भन्ने व्यहोराको अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी गणेश बस्यालले मिति २०६५।१२।१९ गते गरेको बयान कागज ।
मिति २०६५।१२।१ गते बेलुका पाल्पाको सिमानामा पर्ने तिनगिरेबाट भैँसी लोड गरी मसमतेले पाल्पा भैरवस्थान ल्याउने क्रममा ना. ३ ख ६९० नं. को ट्रकमा आउँदै गर्दा राति जिल्ला पाल्पा, कुसुमखोला गा.वि.स.वडा नं. ३ स्थितमा आईपुग्दा बाटोमा बायाँ साइडमा मानिस देखी मैले तथा हेल्परले चालकलाई जानकारी गराएको र चालकले गाडी अगाडि बढाउँदा घद्राक्क आवाज आएको र चालकले हेल्परलाई मानिस त होइन भन्दा हेल्पर होइन होला भनेको र हामी उक्त राति भैरवस्थान पुगी भैँसी झारी चालक तथा हेल्पर बतासेमा बस्न भनी गएका हुन् । मिति २०६५।१२।१५ गते बिहान जिल्ला पाल्पा, कुसुमखोला गा.वि.स. वडा नं. ३ मा मानिस मृत अवस्थामा फेला परेको भन्ने थाहा पाएको हो पछि बुझ्दा उक्त दिन राति ना. ३ ख ६९० नं. को ट्रकले निज रामबहादुर थापालाई किचेको र फर्कने क्रममा चालक तथा हेल्परले देखी उक्त लास उठाई बाटोबाट तलतिर फालेको थाहा पाएको हो भन्नेसमेत व्यहोरा सुजित नेपालीको कागज तथा हामी उक्त दिन सो ट्रकमा भैँसी लोड गरी आउने क्रममा बाटोमा गाडीमा निदाएकोले सो घटना सम्बन्धमा केही जानकारी भएन भन्नेसमेत व्यहोराको बुझिएको अमर नेपाली, सचिन श्रेष्ठसमेतले मिति २०६५।१२।२० गते गरेको कागज ।
ना. ३ ख ६९० नं. को ट्रकको मेकानिकाल चेक जाँच गर्दा सही हालतमा रहेको भन्नेसमेत व्यहोराको प्र. ज. रामदास उपाध्यायको मिति २०६५।१२।२० गतेको मेकानिकल जाँच प्रतिवेदन ।
टाउको चोटको कारण मृत्यु भएको हो भन्नेसमेत व्यहोराको जिल्ला अस्पताल, पाल्पाबाट प्राप्त मृतकको पोष्टमार्टम रिपोर्ट ।
मेरो पति वर्ष ४० को रामबहादुर थापाको मिति २०६५।१२।१५ गते बिहान जिल्ला पाल्पा, कुसुमखोला गा.वि.स. वडा नं. ३ स्थित सडकमा मृत लास फेला परेको र निज श्रीमान्को मृत्यु सम्बन्धमा बुझ्दा मिति २०६५।१२।१४ गते राति पाल्पाको सिमाना तिनगिरेबाट पाल्पा भैरवस्थान गा.वि.स. अन्तर्गतमा चालक कृष्णबहादुर कुँवरले ना. ३ ख ६९० नं. को ट्रकमा भैँसी लोड गरी लिई आउँदै गर्दा मेरो श्रीमान्लाई किची भैरवस्थानबाट पालुङ मैनादीतर्फ फर्कदै गर्दा बाटोमा श्रीमान्को लास देखी चालक तथा हेल्पर गणेश बस्यालसमेतले उक्त लास उठाई बाटोबाट फालेको भनी खुल्न पत्ता लाग्न आएकोले कानूनबमोजिम गरी मृतकको किरियाखर्च तथा क्षतिपूर्तिबापतको रकम दिलाई पाउँ भन्नेसमेत व्यहोराको मिति २०६६।१।३ गतेको धनकुमारी कुँवर थापाको दरखास्त ।
किरियाखर्च तथा क्षतिपूर्तिबापतको रकम रू.३,२५,०००।– मृतकको श्रीमतीले यातायात मजदूर भलाई कोषको प्रतिनिधिसमेतबाट बुझी लिएको भरपाई कागज ।
निज प्रतिवादी पहिला पनि गाडी चलाउँदा लापरवाही तरिकाले चलाउने गर्थे । निज प्रतिवादीले के कारणले उक्त कार्य गरे सो कुरा थाहा भएन भन्नेसमेत व्यहोराको एकै मिलानमा वस्तुस्थितिमा बुझिएका वेणिमाधव आचार्यसमेतले मिति २०६६।१।८ गते गरेको वस्तुस्थिति कागज ।
मिति २०६५।१२।१४ गते बेलुकी प्रतिवादीमध्येका चालक कृष्णबहादुर कुँवरले हाँकेको ना. ३ ख ६९० नं. को ट्रकमा पाल्पा तिनगिरे भन्ने स्थानबाट भैँसी लोड गरी पाल्पा भैरवस्थानतर्फ आउँदै गर्दा कुसुमखोला गा.वि.स. वडा नं. ३ स्थित सडकमा राति ११.३० बजेको समयमा मृतक रामबहादुरलाई सो ट्रकले किची मृत्यु भएको र भैरवस्थानमा भैँसी झारी पुनः सोही बाटो फर्कदा यी प्रतिवादीहरूले आपसमा सल्लाह गरी मृतकको लास सडकबाट उठाई बाटो तल फालेका र वारदात स्थलको रगतको दाग छोप्न माटो बालुवासमेत राखी वारदातको जानकारी नगराई वारदात तथा लास दबाउने छिपाउने प्रयास गरेको हुँदा निज प्रतिवादीहरूमध्ये चालक कृष्णबहादुर कुँवरले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) र मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. को कसुर गरेकाले निजलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) नं. र ज्यानसम्बन्धीको महलको ४ नं. अनुसार सजाय हुन र अर्का प्रतिवादी ट्रकका हेल्पर गणेश बस्यालले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. को कसुर गरेकाले निजलाई सोही महलको ४ नं. अनुसार सजाय गरीपाउँ भन्नेसमेत व्यहोराको अभियोग माग दावी ।
जाहेरीमा उल्लेख भएबमोजिम मैले कोही कसैलाई किची लाससमेत उठाई फालेको होइन । मैले चलाएको गाडीले कसैलाई ठक्करसमेत दिएको जस्तो लाग्दैन । राति मैले सोही बाटो ट्रक चलाई भैँसी लोड गरी भैरवस्थान आई भैरवस्थानमा भैँसी छाडी बतासेतर्फ आएको हुँदा ममाथि शङ्काको भरमा जाहेरी दिएका होलान् । मैले गाडी सरासर भैरवस्थान लिइ आएको हो । मृतक भनेका रामबहादुर थापाको मृत्यु के कसरी भयो मलाई थाहा छैन । मैले गाडीबाट कोही कसैलाई बाटोमा देखेको होइन । मैले कोही कसैको ज्यान मार्नसमेत कुनै काम नगरेको र मैले मानिसलाई किची मारी फालेको नहुँदा अभियोग माग दावीबमोजिम सजाय पाउनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्णबहादुर कुँवरले सुरू अदालतमा गरेको बयान ।
हामीले गाडी लिई आउँदा जाँदा कसैलाई किचेको होइन, जाहेरीमा उल्लेख भएबमोजिम हामीले कुनै काम गरेको होइन । मृतक रामबहादुर थापालाई को को मिली मारी फालेको हो मलाई केही थाहा छैन । मैले मृतक रामबहादुर भन्ने व्यक्तिलाई चिनेकोसमेत छैन । हाम्रो ट्रकले कोही कसैलाई किचेको होइन । हामीले आउँदा जाँदा कसैको लास देखिएन हामीले बाटोमा माटो हाली रगत पुरेको भन्नेसमेत केही होइन । लास देखेको होइन र फाल्ने काम पनि नपरेकोले अभियोग माग दावीबमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी गणेश बस्यालले सुरू अदालतमा गरेको बयान ।
जाहेरवाला धनकुमारी कुँवर, कृष्णबहादुर थापा, प्रहरीमा कागज गर्ने सचिन श्रेष्ठ, वस्तुस्थिति मुचुल्काका बेणीमाधव आचार्य, कृष्णबहादुर थापा र प्रतिवादीका साक्षी कमल थापा र कृष्ण कुँवरले गरेको बकपत्र मिसिल सामेल रहेको ।
मृतक रामबहादुर गाडीको अगाडी साइडमा आएको तथा चालकले वारदात घट्नुपूर्व निजलाई देखेको स्थिति पनि पुष्टि भएको पाइँदैन । यस्तो अवस्थामा रातिको समयमा अचानक घुम्ती सडकको मोडमा गाडी मोड्दा वारदात घट्न गएको अवस्थामा प्रतिवादीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) अनुसार सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने सम्भावना छ भन्ने कुरा जानीजानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना भै मानिस मरेको भन्ने तथ्य पुष्टि हुन आएको भन्न मिल्ने स्थिति देखिएन । तसर्थ उपरोक्त वर्णित आधार प्रमाणहरूबाट कसैको ज्यान मर्न सक्तछ भन्ने जस्तो नदेखिएको अवस्थामा अचानक दुर्घटना हुन गई सवारी बाहिर सडकमा रहेका रामबहादुर थापाको मृत्यु हुन गएको अवस्था विद्यमान देखिन्छ । यी प्रतिवादी चालकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ का दफा १६१(३) नं. को कसुर अपराध गरेको पुष्टि हुन आयो । उक्त कसुर गरेमा निज प्रतिवादी कृष्णबहादुर कुँवरलाई सोही ऐनको दफा १६१(३) नं. बमोजिम रू.२,०००।– जरिवाना र १ महिना २५ दिन कैदसमेत हुने ठहर्छ । निज प्रतिवादीलाई सोही ऐनको दफा १६१(२) नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग माग दावी पुग्न सक्तैन । यी प्रतिवादीहरूले लास घटनास्थलबाट उठाई सडक किनाराको ढिक मुनि फाल्नेसम्मको क्रिया गरी आधिकारिक निकायमा वारदात घटेको जाहेर नगरी ऐ. ज्यानसम्बन्धीको महलको २५ नं. अनुसारको कसुर गरेकाले निज प्रतिवादीहरू चालक कृष्णबहादुर कुँवर र खलासी गणेश बस्याललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. बमोजिम जनही १०।– जरिवाना र ऐ. महलको २५ नं. बमोजिम जनही रू.२०।– समेत थप जरिवाना हुने ठहर्छ भन्नेसमेत पाल्पा जिल्ला अदालतबाट मिति २०६६।१०।२४ मा भएको फैसला ।
प्रतिवादीहरूले मौकामा गरेको बयानलाई घटनास्थल तथा लास प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनले समर्थन गरेको भन्ने आधार उल्लेख गरी रामबहादुर थापाको मृत्यु प्रतिवादी कृष्णबहादुर कुँवरले चलाएको ट्रकको ठक्करबाटै भई सो लासलाई उक्त ट्रकका चालक खलासीसमेतले सडकको ढिकमुनि फाली घटनास्थलको प्रमाण लोप गराउनको लागि प्रतिवादीहरूले बालुवा र माटोद्वारा घटनास्थलमा रहेको रगत छोपछाप गरेको तथ्यमा सुरू फैसलाले समेत सहमत गरेको अवस्था सो वारदातमा निज प्रतिवादीहरूको लापरवाही भएको थिएन भनी गरेको सो फैसला कानूनसम्मत छैन । प्रतिवादी चालकले सो दुर्घटना आफूबाट भएपनि आफूले गाडी लापरवाहीपूर्ण तरिकाले नचलाएको अवस्थामा सो वारदात भएको हो भनी स्पष्टरूपले अदालतमा भएको बयानमा उल्लेख गर्न सकेको देखिँदैन । यस्तो अवस्थामा प्रतिवादी चालकले ट्रक अत्यन्तै लापरवाहीपूर्ण तरिकाले चलाएको अवस्थामा सडकमा हिँडिरहेका रामबहादुर थापालाई ठक्कर दिई घाइते तुल्याई सकेपछि तत्काल निजको उपचार गराउनेतर्फ लाग्न पर्नेमा सो नगरी गाडी सरासररूपले गन्तव्य स्थान पुगी पुनः फर्की घटनास्थलमा आईपुग्दा आफूले चलाएको ट्रकको ठक्करबाट मृत्यु भएका निज रामबहादुर थापाको लासलाई निज प्रतिवादी चालक र खलासी मिली सडकको ढिकमुनि फाली घटनास्थलमा रहेको रगतसमेतका प्रमाण नष्ट गरेको अवस्थामा सो वारदातमा प्रतिवादी चालकको गम्भीर लापरवाही थिएन भनी गरिएको फैसलामा न्यायिक मनको अभाव रहेको र प्रतिवादी चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) नं. को कसुर कायम गरी कम सजाय गर्ने गरी अभियोग दावीलाई परिवर्तन गरी भएको फैसला गम्भीररूपले त्रुटिपूर्ण छ । उक्त ट्रकका चालक निज प्रतिवादी कृष्णबहादुर कुँवर र खलासी गणेश बस्यालले मृतक लासलाई सडकबाट उठाई सडकको ढिकमुनि फालेको तथ्य मिसिल संलग्न कागजबाट खुलेका अवस्थामा लासलाई जलाएको वा गाडेको नदेखिएको भन्ने असान्दर्भिक आधार खडा गरी प्रतिवादीहरूलाई रू.१०।२० जरिवाना गर्ने गरी भएको फैसला त्रुटिपूर्ण रहेको छ । यसरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय हुने आधार हुँदाहुँदै अभियोग दावीलाई परिवर्तन गर्दै अत्यन्तै न्यून सजाय गर्ने गरी भएको सुरू फैसला गम्भीर कानूनी त्रुटिसमेत हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम नै सजाय गरी पाउँ भन्नेसमेत वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज स्वतन्त्र प्रमाणबाट पुष्टि हुनुपर्छ भन्ने कानूनी मान्यता भएको र उक्त बयान मेरो इच्छाविरूद्धको भएबाट सो अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानलाई प्रमाणमा लिन मिल्दैन । जाहेरवाला र वस्तुस्थिति मुचुल्काका व्यक्ति प्रत्यक्षदर्शी नभएकोले निजहरूको बकपत्रलाई आधार लिन मिल्दैन । उक्त घटना गाडीबाट घटेको हो भन्न मिल्ने स्थिति छैन । घटनास्थलमा १ मोबाइल फेला परेको र अर्को मोबाइल मृतकसँग भएको अवस्थामा कसको मोवाइल हो भन्ने सम्बन्धमा अनुसन्धान भएको छैन । ट्रकमा बसेका अन्य व्यक्तिहरूले सो वारदात घटेको हो भन्ने प्रष्ट पुष्ट्याइँ नगरेको अवस्था मलाई सजायको भागी गराएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गराई सफाइ पाउँ भन्नेसमेत प्रतिवादी कृष्णबहादुर कुँवरको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीमध्येका कृष्णबहादुर कुँवर तथा वादी नेपाल सरकारका तर्फबाट समेत दोहोरो पुनरावेदन पर्न आएकोले प्रस्तुत मुद्दामा पाल्पा जिल्ला अदालतबाट मिति २०६६।१०।२४ मा भएको फैसला प्रमाण मूल्याङ्कनका आधारमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रतिवादी कृष्णबहादुर र वादी नेपाल सरकारको पुनरावेदन व्यहोरा परस्परमा सुनाई अर्का प्रत्यर्थी प्रतिवादी गणेश बस्याललाई समेत छलफलको लागि झिकाई निज उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०६८।१।१३ मा पुनरावेदन अदालत, बुटवलबाट भएको आदेश ।
प्रतिवादी सवारी चालकले बाटोमा मानिस हिडेको देखी लापरवाहीपूर्वक गाडी चलाएकोमा घद्राक्क आवाज सुनेपछि र मानिसलाई ट्रकले लागेको हो भन्ने आशङ्का भएपछि पनि गाडी नरोकी अगाडि बढाई गएको पछि फर्की आउँदा आफ्नो ट्रकले किची मारेको व्यक्तिको लासलाई देखेपछि पनि कानूनबमोजिम जाहेर नगरी आफूबाट भएको अपराध दबाउन प्रयास गरेको देखिन आएकोले पाल्पा जिल्ला अदालतबाट प्रतिवादी कृष्णबहादुर कुँवरलाई सवारी तथा व्यवस्था ऐन, २०४९ को दफा १६१(३) नं. बमोजिम एक महिना २५ दिन कैद रू.२०००।– जरिवाना र ज्यानसम्बन्धीको महलको २५ नं. बमोजिम रू.२०।– थप जरिवाना हुने र प्रतिवादी गणेश बस्याललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको २५ नं. बमोजिम रू.२०।– जरिवाना हुने ठहराई मिति २०६६।१०।२४ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भै अभियोग दावीबमोजिम प्रतिवादी कृष्णबहादुर कुँवरलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) नं. बमोजिम दुई वर्ष कैद र मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. बमोजिम थप ६ महिना कैदसमेत हुने र प्रतिवादी गणेश बस्याललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. बमोजिम ६ महिना कैद हुने ठहर्याएको मिति २०६८।३।२८ को पुनरावेदन अदालत, बुटवलको फैसला ।
अधिकारप्राप्त अधिकारीसमक्ष भएको प्रतिवादीको बयान अन्य स्वतन्त्ररूपमा प्रमाणबाट पुष्टि हुनुपर्छ भन्ने कानूनी व्यवस्था भएको र उक्त बयान हाम्रो इच्छाविरूद्धको भन्ने व्यहोरा उल्लेख गरी सत्य व्यहोरा पाल्पा जिल्ला अदालतमा गरेको र सवारी ज्यान जस्तो मुद्दामा अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानलाई इन्कार गर्न पर्ने कुनै अवस्था नहुँदा इच्छा विरूद्धको बयानलाई प्रमाणमा लिई भएको फैसला त्रुटिपूर्ण छ । साथै घटनास्थल प्रकृति मुचुल्का हेर्दा उक्त घटना गाडीबाट घटेकै हो भन्ने स्थिति छैन सो स्थानमा एक मोवाइल फेला परेको र अर्को मोवाइल मृतकसँग भएको अवस्थामा उक्त स्थलमा फेला परेको चालु हालतको मोवाइल कस्को हो भन्ने सम्बन्धमा अनुसन्धान नै गरिएको छैन । प्रवीण कार्की र मृतक ९:३० तिर सँगै निस्केको भन्ने जाहेरी दरखास्तमा उल्लेख भएबाट अनुसन्धानको क्रममा प्रवीण कार्कीलाई बुझ्नपर्ने सोसमेत बुझिएको छैन । त्यसैगरी हामीले लास फालेका होइनौं दुर्घटनासमेत गराएका होइनौ भन्ने अदालतसमक्ष गरेको बयान र सो बयानलाई माथि उल्लेख भएका कारणबाट पुष्टि भएको अवस्थामा पनि हामीलाई सजाय गर्ने गरी गरिएको फैसला त्रुटिपूर्ण भएको प्रष्ट छ । ज्यानसम्बन्धीको महलको ४ नं. बमोजिमको कसुर हामीले नगरे तापनि सो नं. को व्याख्या गर्ने क्रममा सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति २०४५।२।४, नि.नं. ३४३८, ने.का.प. २०४५, पृष्ट ३६९ मा ज्यानसम्बन्धीको महलको ४ नं. को व्याख्याविपरीत हामीलाई थप ६ महिना कैद गर्ने गरेको फैसलामा सर्वोच्च अदालतबाट भएको नजिरको गलत व्याख्या भएकोले पुनरावेदन अदालत, बुटवलले गरेको फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाउँ भन्ने प्रतिवादीहरूको तर्फबाट परेको मिति २०६८।११।१ को मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवेदनपत्र ।
मिसिल संलग्न घटनास्थल, लास जाँच मुचुल्का हेर्दा घटनास्थल भन्दा पूर्वतर्फ मोटरबाटोको छेउमा एक थान नोकिया मोवाइल रहेको र मृतक रामबहादुर थापाको शरीरमा लगाइएको पाइन्टको दाहिने खल्तीमा समेत नोकिया मोवाइल एक थान रहेको भन्ने उल्लेख भएको देखिन्छ । उक्त दुई थान मोवाइलमध्ये मोटरबाटोको छेउमा रहेको मोवाइल कसको हो भन्ने सम्बन्धमा अनुसन्धान नै भएको देखिँदैन । पाल्पाबाट अर्घाखाँची जाने मोटरबाटोमा घटना घटेको राति ना. २ ख. ४६६३ नं. को मिनि ट्रक र लु.१ज. १७२१ नं. को जीपसमेत चलेको भन्ने जाहेरी दरखास्तमा उल्लेख भएकोमा उक्त सवारी साधनहरूको सम्बन्धमा समेत अनुसन्धान भएको पाइएन । कुसुमखोला बजारमा रहेको होटलमा नास्ता खाई राति ९:३० बजेतिर मृतक रामबहादुर थापा र प्रवीण कार्की भन्ने व्यक्ति सँगसँगै निस्केको भन्ने जाहेरी दरखास्तमा उल्लेख भएकोमा प्रवीण कार्कीलाई समेत बुझिएको देखिँदैन । लास जाँच मुचुल्का हेर्दा मृतकको टाउको र अनुहारमा मात्र चोट देखिएको र शरीरको अन्य भागमा कुनै पनि चोट नदेखिएको अवस्था हुँदा सवारी दुर्घटनाबाट नै मृत्यु भएको हो भन्नेसमेत शङ्कास्पद अवस्था रहेको छ । जाहेरी दरखास्तसमेत अनुसार अनुसन्धान गरी प्रमाण सङ्कलन गर्ने कार्य नै नगरिएको अवस्थामा अदालतमा इन्कारी बयान गरी अधिकारप्राप्त अधिकारीसमक्ष आफूहरूले लास उठाई बाटोबाट तल फालेको र घटनास्थलमा भएको रगत माटो तथा ढुङ्गाले पुरेको भनी भनेको तर अदालतमा यो कथनलाई पनि इच्छाविरूद्ध भनेकोतर्फ विचार नगरी यस कथनलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टिसमेत नगरेको अवस्थातर्फ पनि ध्यान केन्द्रित नगरी प्रहरी साबितीसम्मका आधारमा प्रतिवादी कृष्णबहादुर कुँवरलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम दुई वर्ष कैद र ज्यानसम्बन्धीको महलको ४ नं. बमोजिम ६ महिना कैद गर्ने गरेको पुनरावेदन अदालत, बुटवलको मिति २०६८।३।२८ को फैसलामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने मिति २०७०।९।५ को यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेसीसूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ तथा विद्वान् अधिवक्ता राज्यलक्ष्मी बज्राचार्यले प्रतिवादीले चलाएकै गाडीको ठक्करबाट मृतकको मृत्यु भएको भनी यकिनसाथ भन्न सकिने अवस्था छैन प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान स्वेच्छाविपरीत भएको हो भनी अदालतसमक्ष इन्कारी बयान गरेको अवस्था छ । घटनास्थलको रेखाचित्रण नगरिनु, घटनास्थलमा भेटिएको मोवाइल कसको हो भन्नेसम्बन्धमा अनुसन्धानसमेत नगरिनु, त्यसैगरी हामीले लास फालेका होइनौं भन्ने अदालतसमक्ष गरेको बयानबाट स्पष्ट भइसकेको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. बमोजिम थप ६ महिना कैद गर्ने गरेको फैसलामा सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति २०४५।२।४, नि.नं. ३४३८, ने.का.प. २०४५, पृष्ठ ३६९ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल व्याख्या गरिएकोले सुरू तथा पुनरावेदन अदालतबाट भएको फैसला उल्टी गरी अभियोग मागदावीबाट सफाइ पाउनुपर्छ भनी गर्नुभएको बहससमेत सुनी प्रतिवादी कृष्णबहादुर कुँवर तथा गणेश बस्यालको आरोपित कसुरमा संलग्नता छ छैन र निजहरूलाई आरोपित कसुरमा सजाय गर्ने गरेको सुरू र पुनरावेदन अदालतको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
हेल्पर गणेश बस्याल र यात्री संजित नेपालीले सडकमा मान्छे छ भनी चालकलाई जानकारी गराउँदागराउँदै पनि चालकले ट्रक नरोकी र मान्छे जोगाउने प्रयाससमेत नगरी लापरवाहीपूर्ण तरिकाले ट्रक चलाई रामबहादुर थापालाई ठक्कर दिई किची घद्र्याक्क आवाज आएको थाहा पाउँदापाउँदै पनि उपचारको लागि मानवीय व्यवहारसमेत नदेखाई भैरवस्थान गै भैँसी झारी घटनास्थलमा फर्की आई लास दबाउने छिपाउने हेतुले चालक र हेल्परले लासलाई तल फाली रगतसमेतको प्रमाण नष्ट गर्नका लागि ढुङ्गा, बालुवा र माटोसमेतले पुरी चालक कृष्णबहादुरले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) र मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. को कसुर गरेकोले सोही कानूनबमोजिम सजाय र थप सजायसमेत गरिपाउन र प्रतिवादी गणेश बस्याललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. को कसुरमा सजाय गरिपाउनका लागि प्रतिवादीहरू विरूद्ध अभियोगपत्र दायर भएको देखियो ।
प्रतिवादी कृष्णबहादुरले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) को कसुर गरेको ठहराई निजलाई सोही दफाबमोजिम रू २ हजार जरिवाना र १ महिना २५ दिन कैद र मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. अनुसार जनही रू १०|- र २५ नं. अनुसार जनही रू २०|- जरिवाना तथा प्रतिवादी गणेश बस्याललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. अनुसार जनही रू १०|- र २५ नं अनुसार जनही रू २०|- जरिवाना हुने ठहराई सुरू अदालतबाट फैसला भएको पाइयो ।
सुरू फैसला उल्टी गरी प्रतिवादी कृष्णबहादुरले अभियोग दावीबमोजिम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसुर गरेको ठहराई निजलाई सोही दफाबमोजिम २ वर्ष कैद र मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. अनुसार थप ६ महिना कैदसमेत तथा प्रतिवादी गणेश बस्याललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. अनुसार ६ महिना कैद हुने ठहराई पुनरावेदन अदालत, बुटवलबाट फैसला भएको देखियो ।
त्यसमा चित्त नबुझाई सफाइ पाउँ भनी दुबै प्रतिवादीहरूले मुद्दा दोहोर्याई पाउँ भनी दिएको निवेदनमा निस्सा प्रदान भएको पाइयो ।
2. अब प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्ने नपुग्ने र पुनरावेदन अदालतको फैसला मिले नमिलेको के हो भनी निर्णयतर्फ विचार गर्दा कुसुमखोलाको घुम्तिमा हेल्पर र ट्रकमा रहेका मानिससमेतले गुरूजी बाटोको छेउमा मान्छे जस्तो छ भनी भनेको, बाटोको खाल्टोमा गाडीको पछाडिको टायरले ओत लागे जस्तो भै घद्र्याक्क भएकोले मानिसलाई त लागेन भनी हेल्परलाई भन्दा लागेको छैन होला मानिस त थियो भनेकाले मैंले केही वास्ता नगरी भैरवस्थान बजारमा गाडी लगेको, पुनः फर्की कुसुमखोला पुग्दा रामबहादुरको टाउकोको भाग थिच्चिएको मृत अवस्थामा बाटोको दाहिने खण्डमा लास देखेकोले ट्रक रोकी झरी हेर्दा किचिएको व्यक्ति हो रातको समयमा कसैले थाहा पाउँदैन कसले कसले हो भन्ने गराउनुपर्छ भनी मैंले तथा हेल्परले समेत सल्लाह गरी लास उठाई तलतिर फाली घटनास्थलमा भएको रगतमा हामीले माटो, बालुवा र ३।४ वटा ढुङ्गासमेत राखेको हो टायरसमेतमा रगत लागेको सोची टायरलाई पानीले पखालेको हो भनी र हेल्पर प्र. गणेश बस्यालले पनि करिबकरिब सोही मिलान मौकामा बयान गरेको भए पनि प्रतिवादी कृष्णबहादुरले अधिकारप्राप्त अधिकारीसमक्ष मलाई गाली गर्ने, थर्काउनेसमेत गरेकाले सहीछाप गरेको हो भनी र प्र. गणेशले गाउँलेहरूको दबाबमा परी सहीछाप गरेको हो । प्रहरीले गाली गर्ने, थर्काउने गरेकाले सहीछापसम्म गरेको हो व्यहोरा मैंले भनेबमोजिमको होइन झुट्ठा हो भनी कसुर गरेमा इन्कार भै अदालतमा बयान गरेको देखिन्छ ।
3. यस स्थितिमा प्रतिवादीहरूको प्रहरी साबिती कत्तिको भरपर्दो छ भनी हेर्नुपर्ने देखियो । सर्वप्रथम यससम्बन्धी नजिर र कानूनबारे विचार गर्दा नेकाप २०३३ भदौको पृष्ठ ६० मा प्रकाशित कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत फुलबेञ्चले प्रतिवादीहरू कसुर गरेमा मौका र अदालतमा इन्कार भए पनि सजाय गरेको देखिन्छ । ऐ.२०३८ फागुन को पृष्ठ ८ मा प्रकाशित ज्यान मुद्दामा सर्वोच्च अदालत फुलबेञ्चले प्रहरी साबितीलाई मान्यता दिएको देखिन्छ । २०६३ जेठको पृष्ठ १८३ मा प्रकाशित लागु औषध मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ दफा १५(३) को व्यवस्थाले प्रहरीबाट हुन सक्ने गैरकानूनी बलप्रयोगबाट अभियुक्तलाई सुरक्षाको प्रत्याभूति प्रदान हुनुका साथै प्रमाण ऐनको दफा ९(२)(क) सँग सार्थकसम्बन्ध रहेको हुँदा सो दफा १५(३) बमोजिम प्रतिवादीले शारीरिक वा मानसिक यातनाको जिकिर वा शारीरिक जाँचको निवेदन दिन नसकेको र प्रमाण ऐन, २०३१ को दफा २७ (१) बमोजिमको जिकिरसमेत लिन नसकेको अवस्थामा प्रहरीले सरकारी वकिलसमक्ष गराउने बयानलाई इच्छाविरूद्ध बयान भनी अदालतले स्वतः अनुमान गर्न नसक्ने भनी, ऐ.२०६६ को पृष्ठ १८५ मा प्रकाशित ज्यान मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले प्र.आश्विनले मौकामा बयान गर्दा यी प्र.सचेत अवस्थामा रहेको, सो बयान स्वेच्छाविरूद्ध दिन बाध्य बनाइएको तर्फ कुटपीट आदि प्रमाण पेश गर्न नसकेको र चिकित्सकको जाँचबाट पनि सो पुष्टि नभएको र दर्ता प्रक्रियामा यी प्र.संलग्न रहेको कुरा मालपोतको मिसिलबाट देखिएको अवस्थामा सो बयान स्वेच्छाको होइन भनी अदालतमा इन्कार गर्दैमा सो बयानको प्रामाणिक मूल्यमा प्रमाण ऐनको दफा ९(२)(क) बमोजिम प्रश्न उठाउन नमिल्ने । निजको सो साबिती घटनास्थलको प्रकृति, लासको प्रकृति, घटनामा प्रयोग भएका भनिएका वस्तु र बरामदी मुचुल्का तथा विशेषज्ञको राय र बकपत्रसमेतका प्रमाणहरूबाट समर्थित हुनुका साथै जग्गा दर्तामा निजको प्रत्यक्ष संलग्नता रहेको परिस्थितिजन्य प्रमाणबाट पुष्टि हुन्छ भनी, ऐ.२०६७ को पृष्ठ ८१४ मा प्रकाशित ज्यान मुद्दामा सर्वोच्च अदालतको संयुक्त इजलासले रातिको समयमा निर्जन स्थानमा हत्या भएकोले प्रत्यक्ष प्रमाणको विद्यमानता नहुनु स्वाभाविक भएकोले यस्ता फौजदारी मुद्दामा न्याय सम्पादन गर्दा अपराधीको उद्देश्य (motive), अपराधको पद्धति वा शैली (modus operandi), घटनास्थलको दृश्य, त्यँहा पाइएको चीज वा दशी, अभियुक्तको पूर्व आपराधिक इतिहास र निजले अन्यत्र गरेको आपराधिक कार्यसँग तादात्म्यता, घटना भएको स्थान वा सो को वरिपरि निजको उपस्थिति व्यवहार आदि अप्रत्यक्ष प्रमाणलाई आधार मानी सत्यको उद्घाटन गरी अपराधीलाई सजाय र पीडितलाई न्याय दिनु जटिल र कठिन अवस्था र दोहरो दायित्व अदालतउपर हुन्छ । साबिती वा इन्कारीले मात्र प्रतिवादीको पक्ष वा विपक्षमा स्वतः प्रमाणको स्थान ग्रहण नगर्ने बरू त्यसलाई आधारभूत, तथ्यपरक एवम् निश्चयात्मक प्रमाणबाट समर्थित गराउनुपर्ने हुन्छ । प्रमाणबिनाको इन्कारी अर्थहीन र प्रयोजनहीन हुने भनी, ऐ.२०६८ को पृष्ठ ४०४ मा प्रकाशित कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले प्रहरीले कुटपीट गरी बयान गराएको भनी प्रतिवादी अदालतमा इन्कार भए पनि प्रहरीले सो गर्नुपर्ने कुनै कारण र प्रयोजन नरहेको । कुटपीट भएको भए म्याद थप हुँदा निवेदन दिनुपर्ने वा अदालतमा बयान गर्दा घाचोट देखाउन सक्नुपर्ने । ती लिखतहरूलाई शव परीक्षण प्रतिवेदनमा उल्लेख भएका घाखतहरू र मृत्युको कारण भनी व्यक्त रायसहितका वस्तुनिष्ठ प्रमाणले समर्थन गरेको देखिन्छ भनी र ऐ.२०७० को पृष्ठ ७७७ मा प्रकाशित ज्यान मुद्दामा प्रमाण ऐन, २०३१ को दफा ९(२) को परिपालनकै सन्दर्भमा म्याद थपका लागि अदालतमा पेश गरिँदा अभियुक्तलाई सशरीर न्यायाधीशसमक्ष उपस्थित गराउनुपर्ने र अभियुक्तसँग सोधपुछ गर्दा आवश्यकता महसुस गरिएमा तत्कालै घा जाँच वा स्वास्थ्य परीक्षण गराउन अस्पताल पठाइने कार्यविधि सुनिश्चित् अदालतबाहेक अन्यत्र अभियुक्तले व्यक्त गरेका कुरा प्रमाणमा ग्रहण गर्दा सतर्कता अपनाउनु अवश्य पर्दछ । तर अन्य स्वतन्त्र प्रमाणले पुष्टि गरेको अवस्था र प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्षको आफ्नो कथन इच्छाविरूद्धको हो भनी लिएको जिकिरलाई विश्वास गर्न सकिने आधार नदेखाएको अवस्थामा सो कथन प्रमाणशून्य हुन्छ भन्न सकिन्न । अधिकारप्राप्त अधिकारीसमक्षको कथनलाई इन्कार गरिएको अवस्थामा त्यसका आधार र कारण पनि व्यक्त गर्नु पर्दैन भन्ने प्रमाण ऐन, २०३१ को दफा २५ को मनसाय होइन भन्ने महत्वपूर्ण सिद्धान्तहरू प्रतिपादन गरेको देखिन्छ ।
4. उल्लिखित नजिरहरूबाट स्वतन्त्र प्रमाणहरूबाट समर्थित प्रतिवादीको प्रहरी साबिती निजलाई कसुरदार ठहराउनका लागि पर्याप्त हुन्छ । स्वतन्त्र प्रमाणहरूको मात्रा प्रत्येक मुद्दामा भर पर्ने कुरा हुन्छ । कतिपय अवस्थामा प्रतिवादी मौका र अदालत दुबै ठाउँमा इन्कार भए पनि अथवा प्रमाण ऐन २०३१ को दफा ९(२) को अवस्था विद्यमान रहे पनि अन्य प्रमाणको आधारमा निजलाई कसुरदार ठहर गर्न सकिन्छ । साबिती वा इन्कारीलाई मात्र आधार बनाउँदा त्यसले अन्य प्रमाणहरूको संकलन र अनुसन्धानलाई प्रभावित गर्ने सम्भावनालाई बल प्रदान गर्ने र वास्तविक अपराधी उम्किने र निर्दोषले दण्डित हुने अवस्था पनि आउन सक्छ । जे होस यस मुद्दामा त्यस प्रकारको जटिलता रहेको देखिँदैन ।
5. उक्त परिप्रेक्ष्यमा हेर्दा पाल्पाबाट अर्घाखाँची जाने मोटरबाटोको कुसुमखोला भन्ने स्थानको चारकिल्लाभित्रको मोडमा पश्चिम कुनामा सबै भन्दा ठूलो ढुङ्गामा केही रगत जस्तो पदार्थ लागेको र जमिनमा केही रगत जस्तो पदार्थ रहेको सोमाथि बालुवा छरेको सो भन्दा पूर्वतर्फ मोटरबाटोको छेउमा नोकिया मोबाइल रहेको जसको दूरी २४ फिटमा रहेको र त्यसदेखि ७ फिट ५ इन्ची उत्तरतर्फ रातो सेतो गिदी जस्तो पदार्थ रहेको सोदेखि पूर्वतर्फ बाटो भन्दा तल माटो रहेको स्थानमा मृतक रामबहादुरको लास घोप्टो अवस्थामा रहेको टाउकोको भागमा चोटहरू रहेको लागेको भनी तयार भएको लासजाँच मुचुल्का, ट्रकमा रहेका सजित नेपालीले वारदातस्थलमा हेल्पर तथा मैले मानिस देखी चालकलाई जानकारीसमेत गराएको हो भनी गरेको मौकाको कागज र whole skull fractured…brain matter protruding out of the wound लगायतका विशाल भारी वस्तुको ठक्कर भनी उल्लेख भएको शव परीक्षण प्रतिवेदन, सवारीधनी पोसलबहादुर रायमाझी र यातायात मजदूर तथा भलाइ कोषका प्रतिनिधि ठानेश्वर बस्यालले मृतककी पत्नीलाई २०६६।१।४ मा घाखर्च, किरियाखर्च र क्षतिपूर्ति राहतस्वरूप रू.३ लाख २५ हजार बुझाउँदा यस मुद्दाको उल्लेख गर्दै ना. ३ ख ६९० नं. को ट्रकले २०६५।१२।१४ गते राति किची रामबहादुर थापाको मृत्यु भएको भनी उल्लेख भएको मिसिल संलग्न कागज, वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले प्रतिवादी कृष्णबहादुरले लापरवाही तरिकाले गाडी हाँक्ने गरेको, यात्रीलाई ठक्कर दिने जस्ता धम्की दिने गरेको निजले नै मारेको निजबाहेक अरूउपर शङ्का नरहेको भनी लेखाएको र तीमध्ये बुझिएका व्यक्तिहरूले सो कागजलाई समर्थन गरी अदालतमा बकपत्र गरिदिएको देखिन्छ ।
6. व्यक्ति विशेषबाट मृतकको हत्या भएको भए वा मृतक बाटोमा दैवी परी लडी मरेको भए एउटै चोटबाट त्यसकिसिमले टाउको क्षतविक्षत हुने कुरा सामान्यतया सम्भव हुँदैन । मृतकउपर कसैबाट हतियार प्रहार भएको थियो भन्ने कुरा शव परीक्षण प्रतिवेदनलगायतका लिखतबाट खुल्न सकेको छैन । तमाम मिसिल र स्वयम् प्रतिवादीहरूको बयानमा मृतकको मृत्यु अरू कसैबाट भएको वा मृतक आफैं लडी मरेको कुरा उल्लेख हुन नसक्नु र उक्त दिनसमयमा वारदातस्थल हुँदै ना. ३ ख ६९० नं. को ट्रक चलाएको कुरालाई स्वीकार गर्नु जस्ता परिस्थितिहरू (circumstances) र स्वतन्त्र प्रमाणहरूको रोहमा र प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) को देहाय (१) अनुसार मौकामा बयान गर्दा प्रतिवादीहरू होशमा नरहेका वा देहाय (२) वा (३) अनुसारको प्रलोभन, यातना, आदि दिएको वा कुटपीट आदि भएको कुरा प्रमाणित हुन नसकेबाट प्रतिवादीहरूको प्रहरी साबितीलाई अमान्य गर्न मिल्ने देखिँदैन । प्रतिवादीले गरेको कुकृत्यबाट आक्रोशित भै तत्काल समाज वा प्रहरीले प्रतिवादीलाई कुटपीट आदि गरी वा अड्डीवाल प्रतिवादीलाई फकाई फुल्याई साबित गराएको भए पनि प्रतिवादीले कसुर गरेको कुरा अन्य प्रमाणले पुष्टि गरेको अवस्थामा उक्त दफा ९(२)(क) को देहाय (२) वा (३) को अवस्था रहेको भनी प्रतिवादीलाई सफाइ दिनु न्यायसम्मत हुँदैन । तथापि सो अवस्था विद्यमान नरहेको यस मुद्दामा प्रतिवादीहरूको मौकाको साबिती निजहरू विरूद्ध प्रमाण लाग्ने नै देखियो ।
7. जहाँसम्म मृतकको टाउको र अनुहारमा मात्र चोट देखिएबाट सवारी दुर्घटनाबाट मृत्यु भएको नै शङ्कास्पद रहेको, प्रतिवादीहरूको मौकाको बयानलाई स्वतन्त्र प्रमाणहरूले पुष्टि गर्न नसकेकोले सो बयान इच्छाविरूद्ध भएको भन्ने प्रतिवादीहरूको अदालतको इन्कारीमा ध्यान नदिएको भनी यस अदालतले निस्सा प्रदान गर्दा लिएका आधारहरूबारे माथि प्रशस्त विवेचना भैसकेकै छ । मोटरबाटोको छेउमा रहेको मोवाइलका सम्बन्धमा अनुसन्धान नभएको, सो बाटोमा वारदातको रात लु. १ ज १७२१ नं. को जीपसमेत चलेकोमा त्यसतर्फ अनुसन्धान नभएको, मृतकसँगै निस्केका प्रवीण कार्कीलाई नबुझिएको भन्ने निस्साका अन्य आधारहरूले अनुसन्धानको कमीकमजोरी देखाएको स्वागतयोग्य भए पनि वादीको त्यसप्रकारको लापरवाहीको फाइदा प्रतिवादीले पाउने गरी वादीले प्रतिवादीको कसुरलाई शङ्कारहित तवरबाट प्रमाणित गर्न नसकेको भन्नलाई मिसिलका प्रमाणहरूले अनुमति दिएको देखिँदैन । अनुसन्धानको हरेक कमीकमजोरीको प्रतिवादीले फाइदा पाउन थालेमा समाजमा दण्डहीनताले प्रश्रय पाउने, पीडित र समाजले न्यायको अनुभूति गर्न नसक्ने र न्याय पराजित हुने अवस्था आउँछ । यस सन्दर्भमा प्रमाण ऐन, २०३१ को दफा ५४ ले कुनै प्रमाण बुझिएको वा नबुझिएको कारणबाट मात्र कुनै फैसला वा आदेश बदर हुने छैन । तर त्यसबाट निर्णयमा असर पर्न गएको रहेछ भने त्यस्तो फैसला वा आदेश बदर हुनेछ भनी गरेको व्यवस्थालाई न्यायमूर्तिले विचार गर्नैपर्छ ।
8. उल्लिखित प्रमाणहरूले प्रतिवादी कृष्णबहादुरले चलाएको ट्रकले मृतकलाई ठक्कर दिएको र त्यसको चोटबाट निजको मृत्यु भएकोमा विवाद हुन सक्तैन ।
9. सवारी तथा यातायातसम्बन्धी बेलायती कानूनको सन्दर्भमा विद्वान् स्मिथ र होगानको क्रिमिनल ल, तेह्रौं संस्करण २०११ को पृष्ठ ११३८ मा There are at least six ways that a person might be held liable for causing a death by driving. At the most extreme it is possible for D to be liable for murder, as where he drives at V with intent to kill or do grievous bodily harm. Secondly, there is the possibility of manslaughter. There are then four statutory offences involving death by driving: causing death by dangerous driving, causing death by careless driving, causing death by careless driving while intoxicated, causing death while driving unlawfully – being disqualified, or having no licence or insurance भनी उल्लेख भएको पाइन्छ ।
10. सवारी दुर्घटनालगायतका मुद्दा दायर गर्ने अधिकार पाएको बेलायतको Crown Prosecution Service (CPS) ले प्रकाशित गरेको मुद्दा दायरसम्बन्धी नीतिगत प्रतिवेदन Policy for Prosecuting Cases of Bad Driving मा यसलाई अझ सशक्तरूपमा
1.2 Bad driving resulting in death or injury has devastating consequences for victims and their families and friends, and it is important that justice is seen to be done in cases where this has happened.
1.3 The CPS is committed to ensuring that in such cases our prosecutors reach the correct charging decisions, so that the right person is prosecuted for the right offence in the right court.
1.4 For this to be achieved these decisions must be in line with current law, but also, where it is just and lawful to do so, they should reflect changing public attitudes to bad driving and the desire of victims, or their families, friends and the public, to see that justice is done in these cases.
5.21 . . . Section 1, Section 2B or Section 3A of the Road Traffic Act 1988. . .
5.22 . . . are objective in the sense that the defendant’s state of mind is not normally a relevant consideration in determining whether the defendant drove dangerously or carelessly. The fact that a defendant genuinely believed that in the circumstances his or her driving was not dangerous is irrelevant.
5.23
• To be dangerous, the driving must fall ‘far below’ the required standard;
• To be careless, the driving need only fall ‘below’ the required standard.
5.41 Driving that may simply fall below the standard to be expected of a competent and careful driver in certain conditions may fall far below the required standard in other conditions and become dangerous. For example, there may be evidence of poor visibility, adverse weather conditions or difficult geography, such as a blind corner.
5.44 The responses to our 2007 public consultation have shown how seriously society views the potential dangers of the use of mobile phones and other hand-held devices, while driving. In cases where the driver was avoidably and dangerously distracted by that use, a charge of dangerous driving will be the starting point for our charging decisions भनी उल्लेख भएको पाइन्छ ।
11. सन् २०१३ को Driving Serious Offences को प्रतिवेदनमा The Guidelines state that reading or composing text messages over a period of time whilst at the wheel will be likely to result in an offence being in the higher level of seriousness and offenders should serve up to seven years in prison.
The Sentencing Guidelines Council recommends that prolonged, persistent and deliberate bad driving and consumption of substantial amounts of drugs or alcohol should put offenders into the most serious category of causing death by dangerous driving and be given jail terms of at least seven years. A combination of these features of dangerous driving – particularly if accompanied by aggravating factors, failing to stop or a very bad driving record - should attract sentences towards the maximum of 14 years.
The Council recommends that where death follows careless driving, a custodial sentence of up to 3 years is likely, with higher sentences where there is a combination of aggravating factors. However, where the driving involved “momentary inattention” and there were no aggravating factors, an offender should be given a community sentence, which could include a curfew requirement.
Where death results from an offence involving driving unlicensed, disqualified or uninsured, the maximum sentence possible is two years. The level of seriousness will be based on why the offender should not have been on the road, with driving while disqualified being the most serious when the starting point is set at 12 months imprisonment.
In all cases fines are not likely to be appropriate and where non-custodial sentences are considered appropriate, a community order should be used. Introducing the new offence in Committee, the then Justice Minister, Crispin Blunt, said: The Government believe that it is vital to ensure that the criminal law is fully effective in addressing dangerous driving and its all too often appalling consequences.
For the vast majority of other dangerous driving cases, the maximum penalty of two years imprisonment provides the court with sufficient and proportionate powers to punish offenders. The Government do not agree with those who consider that the maximum penalty for dangerous driving should be raised at large. However, we are aware of the strong feelings about sentencing for dangerous driving cases that cause very severe injuries.
12. उल्लिखित बेलायती कानून अनुसार सवारी कसुर भए नभएको कुराको निर्धारण चालकले असल नियतका साथ उसको क्षमता बल बुद्धिले भ्याएसम्म इमानदारीपूर्वक सवारी चलाए नचलाएको आदि उसको शुद्ध मनसाय जस्तो आत्मनिष्ठ मापदण्डबाट होइन कि सवारी, सडक र मौसमको अवस्था आदि पृष्ठभूमिको आधारमा एउटा competent and careful चालकले चलाउने भन्दा धेरै तल्लो स्तरमा चलाए नचलाएको कुरामा भर पर्ने देखिन्छ । धेरै तल्लो स्तरमा चलाएको हँकाई खतरनाक हँकाई र तल्लो स्तरमा चलाएको हँकाई लापरवाहीपूर्ण हँकाईको कसुर हुने देखिन्छ ।
13. धनजनमा कुनै क्षति नभए पनि खतरनाक हँकाई तथा लापरवाहीपूर्ण हँकाई आफैंमा कसुर हुने देखिन्छ । खतरनाक हँकाईबाट मानिस मरेमा चालकलाई अधिकतम् १४ वर्षसम्म कैद र जरिवानासमेत हुन सक्छ भने मानिस नमरेमा अधिकतम् २ वर्ष कैद वा जरिवाना वा दुबै तथा कम्तीमा १ वर्षका लागि सवारी चलाउन नपाउने सजाय हुने देखिन्छ । लापरवाहीपूर्ण हँकाईबाट मानिस मरेमा चालकलाई बढीमा ५ वर्षसम्म कैद वा जरिवाना वा दुबै र मानिस नमरेमा ५ स्तरसम्मको जरिवाना र सवारी अनुमतिपत्रमा पेनाल्टी प्वाइण्ट जनाउने वा निश्चित अवधिको लागि सवारी चलाउन नपाउने सजाय हुन सक्ने देखिन्छ । त्यस अतिरिक्त कठोर दायित्वको कसुर भन्न नमिले पनि प्रतिवादीउपरको प्रमाण आदिको भारले गर्दा कठोर दायित्वकै समकक्षी सरहको causing death by careless or inconsiderate driving when under the influence of drink or drugs कसुरमा अधिकतम् १४ वर्षसम्म कैद हुने देखिन्छ ।
14. नेपालमा विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३३ मा सवारी दुर्घटना भै कुनै मानिसको जीउज्यानमा कुनै किसिमको खतरा वा चोटपटक पर्न गएमा सवारीको चालक आदिले त्यस्तो मानिसको उपचारको लागि तुरून्त व्यवस्था गर्नुपर्ने व्यवस्था छ भने दफा १६१ को उपदफा (१) ज्यान मार्ने मनसायका साथ कुनै मानिसलाई किची, ठक्कर दिई वा दुर्घटना गराई मानिस मार्ने वारदातसँग सम्बन्धित देखिन्छ । उक्त १६१ दफाको उपदफा (२) कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भै सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलमा उल्लेखित म्यादभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानीजानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई त्यसैको कारणबाट कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ भनी तथा ऐ. को उपदफा (३) मा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुईहजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ भनी उल्लेख भएको पाइन्छ । उक्त ऐनको दफा १६७ मा दफा १६१ र १६२ मा लेखिएको अवस्थामा बाहेक अन्य अवस्थामा चालकको काबुबाहिरको परिस्थितिबाट दुर्घटना भई कुनै हानि नोक्सानी पुग्न गएको रहेछ भने त्यस्तो सवारी चलाउने चालकलाई कुनै सजाय हुनेछैन भनी उल्लेख भएको पाइन्छ । बेलायतको कानूनले सवारी हँकाईको परिणामस्वरूप हुने मृत्युको वारदातमा कायम हुन सक्ने murder; manslaughter; causing death by dangerous driving; causing death by careless or inconsiderate driving; causing death by careless and inconsiderate driving when under the influence of drink or drugs लगायतका कसुरलाई नेपालको कानूनमा उपरोक्त दफा १६१ खासगरी सो को उपदफा (१) र उपदफा (२) ले समेटेको देखिन्छ । दफा १६१ को उपदफा (३) मा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा भन्ने वाक्यांशले चालकको कसुरलाई इङ्गित गर्न नसकेकोले चालकको हँकाईमा लापरवाही वा हेलचक्र्याइँलगायतको दोष वा कमी देखिएमा दफा १६१ को उपदफा (३) आकर्षित हुन सक्ने देखिँदैन । समान तथ्यमा समेत अनुसन्धानकर्ता र न्यायकर्ताको व्यक्तिगत बुझाई र सोचाईमा ज्यान मार्नेको महल, दफा १६१ को उपदफा (१), उपदफा (२) र उपदफा (३) को अभियोगदावी पर्ने र अदालतहरूबाट पनि फैसलाहरू भैरहेको देखिन्छ । दफा १६१ को उपदफा (३) ले के भन्न खोजेको हो यसलाई कानूनले स्पष्ट नगर्दा यो उपदफा कस्तो अवस्थामा लागू हुने, यसको समकक्षी अन्तर्राष्ट्रिय कानून कहाँ खोज्ने बडो अन्योल छ । यो उपदफा (३) लाई कठोर दायित्व कसुर मान्ने हो भने दफा १६७ सँग कसरी तालमेल गर्ने समस्या छ । सम्भवतः competent and careful चालकले थाहा नपाउने latent defect को कारणबाट अर्थात ब्रेक स्टियरिंग आदि यान्त्रिक उपकरणले काम गर्न नसकी अचानकबाट भएको दुर्घटनामा यसको प्रयोग गर्न सकिने वा त्यस्तै त्यस्तै परिस्थितिमा चालकको हँकाईबाट कसैको ज्यान मर्न गएको causation को कुरालाई उक्त दफा १६१ को उपदफा (३) ले समेटेको मान्नुपर्ने एउटा सम्भावना हुन सक्ला । यसलाई कानूनले प्रष्ट गर्न नसक्नु कानूनको कमजोरी देखिन्छ । अर्कोतिर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा दफा १६७ राख्नुपर्ने कुनै तुक देखिँदैन । कसुर भनेको कानूनले तोक्ने हो । सवारी चालकको सवारी हँकाईलाई उक्त ऐनले कसुरभित्र पार्न नसकेको अवस्थामा चालकले स्वतः उन्मुक्ति पाउने अवस्था रहँदारहँदै दफा १६७ को निर्माणले ऐनको कार्यान्वयनमा जटिलता थप्नु बाहेक अरू कुनै गाँठो फुकाएको पाइँदैन ।
15. यस सम्बन्धमा सर्वोच्च अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६(२) नं., ऐ. को १३ नं र सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (१), उपदफा (२) र उपदफा (३) लगाई भएका फैसलाहरूले पनि एउटा निश्चित मार्गदर्शन गरेर कानूनको प्रयोगलाई सहज बनाउन सकेको देखिँदैन ।
16. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६(२) नं. प्रयोग भएका फैसलाहरूमा नेकाप २०४२, को पृष्ठ ३३६ मा चालकको लापरवाहीले बस दुर्घटना भै २९ जना यात्रु मरेकाले १३(३) नं बमोजिम सजाय गरी पाउँ भन्ने दावी पुग्नका लागि प्र. को आपराधिक मनसाय र ज्यान लिने नियत प्रमाणित हुनुपर्छ । तर ५० गज परबाटै सडकमा ट्रक अडाएको देखेपछि गति कम गरी साइड लिनुपर्ने । होशियारीसाथ नहाँकेमा दुर्घटना हुने कुरा चालकलाइ थाहा हुँदाहुँदै स्पष्टतः लापरवाही एवम् हेलचक्र्याइँ गरी बस चलाएको देखिएकोले आपराधिक दायित्वबाट पन्छिन नपाउने । ज्यानसम्बन्धीको महलको ६(२) बमोजिम १ वर्ष ६ महिना कैद र सवारी ऐनको दफा ४५(१) अनुसार २९ जवानको जनही रू. ५००० का दरले किरिया खर्च भराएको क्षेअ मनासिब भनी, ऐ. २०४२ को पृष्ठ ६२८ साइड नै नपाइ ६०–६५ किमी प्रति घण्टाको रफ्तारमा सवारी ऐन, २०२० को दफा ५१ विपरीत बस हाँकी दुर्घटना गरी मानिस मारेमा ज्यानसम्बन्धीको महलको ६ नं. अनुसार १० महिना कैद हुन्छ भनी, ऐ. २०४६ को पृष्ठ ५८७ मा अनुमति नपाएको खलासीले चलाएको ट्रयाक्टरको ब्रेकफेल भै मरेको । मार्ने नियत नभएको । हेलचक्र्याइँबाट मरेकोले ज्यानसम्बन्धीको महलको ६(२) अनुसार २ वर्ष कैद हुने । सवारी ऐन, २०२० को दफा ५१ अनुसार नियतको अभावमा पनि ज्यानसम्बन्धीको महलको १३ नं. को सजाय गर्नुपर्ने भन्न नहुने भनी, ऐ. २०५७ को पृष्ठ २५८ मा सडकको छेउमा रहेको ट्रयाक्टरलाई प्रतिवादीले चलाएको बसले ठक्कर दिई मानिस मारेको कार्य लापरवाहीयुक्त । बसलाई नियन्त्रणमा राख्नु र आवश्यक परेको बखत रोक्नु चालकको दायित्व हुन आउँछ । यान्त्रिक गडबडी वा अन्य काबुबाहिरको परिस्थिति परी दुर्घटना भएको भन्न नसकेको भन्नेसमेतका फैसलाहरू उल्लेखनीय छन् ।
17. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. प्रयोग भएका फैसलाहरूमा नेकाप २०४३, को पृष्ठ ७१८ मा सडकको उत्तरपट्टि घासमा १० फिटसम्म ब्रेकको डाम देखिएबाट नियन्त्रणभित्रको रफ्तारमा गाडी चलाएको भन्न नसकिने । भारी बोकेको मानिस आएको देख्दादेख्दै नियन्त्रणमा नरहने रफ्तारमा दायाँ साइडबाट गाडी चलाएको सवारी ऐन, २०२० को दफा ५१ विपरीत । ज्यानसम्बन्धीको महलको १३(३) को सजाय गरेको मनासिब । रिसइबि नदेखिई बचाउने उद्देश्यसमेत राखेकाले रायबाट ६ वर्ष भनी, ऐ. २०४३ को पृष्ठ ९४३ मा चालक अनुमतिपत्र नभएको खलासीले रातको समयमा टन्न रक्सी खाई क्षमता भन्दा बाहिरको गतिमा गाडी चलाई पिलरमा ठोकाई गाडी घरभित्र पसी ज्यान मारेकाले १३(३) सदर । तजवीजी ५ वर्ष कैद हुन्छ । २ वर्ष लगाएको मिलेन भनी, ऐ. २०४६ को पृष्ठ ७७१ मा अनुमति नपाएको प्र. ले हेडलाइट ठीक नभएको ब्रेक ठीक अवस्थामा नरहेको सवारी चलाई ज्यान मारेमा १३(३) को सजाय गरेको सदर । रिसइबिबाट मारेको नदेखिँदा रायबाट १० वर्ष भनी, ऐ. २०५६ को पृष्ठ ३७८ मा प्र. सिकारू चालक । बेसाइडबाट ट्रक चलाइ मारेकोले १३(३) बमोजिम सजाय गरी ५ वर्षको राय लगाएको सदर भनी, ऐ.को २०६३ को पृष्ठ ९५८ मा माइक्रोबसको ठक्करबाट मोटर साइकल चालकको मृत्यु भएकोमा दफा १६१(१) बमोजिम चालकलाई ४ वर्ष कैद भनी तथा ऐ. २०६३ को पृष्ठ ११५० मा ब्याक गरी मारेको भनी जाहेरवाला र प्रत्यक्षदर्शीहरूको किटानी बकपत्र र यू टर्न गर्दा पनि ट्रकको गति २५–४० किमी रहेको कुरा प्र.ले स्वीकार गरेको र ब्याक गरी मारेकोमा इन्कार भए पनि मानिस पल्टेपछि ट्रक अगाडि बढाउँदा चक्काले किचेकोलाई स्वीकार गरेकैले सर्वस्वसहित जन्मकैद गरेको पु.वे.अ. मनासिब भन्नेसमेतका फैसलाहरू उल्लेखनीय छन् ।
18. सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा (२) आकर्षित भएका फैसलाहरूमा नेकाप २०५५ को पृष्ठ ३९५ मा पहिलो मोटर साइकलले किचेकोलाई लगत्तै पछाडिबाट आइरहेको मोटर साइकलले समेत किची मारेको देखिँदा दुबैलाई सवारी ऐन को दफा १६१(२) बमोजिम २ वर्ष कैद गरेको पुवेअ सदर भनी तथा नेकाप २०६८ को पृष्ठ १२३५ मा सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा (१) को कसुरलाई ज्यान मार्ने मनसायका साथ गरिने हत्याको कसुर कायम गरिएको छ । यसमा कसुरदारलाई सामान्य समझको व्यक्तिले अनुमान गर्न सक्ने वा इच्छित परिणाम predictable result को पूर्वज्ञान भै निजले त्यस्तो परिणामको अपेक्षा willingness of the expected result गरेको हुन्छ । यसलाई आपराधिक मनसायको उच्चतम् तहको रूपमा लिइन्छ । मनसाय तत्त्वको दोस्रो तत्त्वको रूपमा लापरवाही recklessness लाई उपदफा (२) मा व्यवस्था गरिएको देखिन्छ । यसमा प्रतिवादीलाई निषेध गरिएको परिणाम अर्थात् मानिस मर्न सक्छ भन्ने कुराको जानकारी भएको हुनुपर्छ । यसमा सो परिणाम नआओस् भनी प्रतिवादीले इच्छा राखेको पनि हुन्छ तथापि आफ्नो कार्यलाई निरन्तरता दिन अनुचित जोखिम लिन्छ । यसलाई मनसायको दोस्रो तहमा राखिएको छ । यसको तल्लो तहको रूपमा हेलचक्र्याइँ negligence लाई उपदफा (३) ले समेटेको छ । यसमा प्रतिवादीलाई परिणामको पूर्वज्ञान र परिणामको इच्छा दुबै हुँदैन । तर प्र. बाट हुन गएको कार्य सामान्य समझको मानिसले त्यस्तै अवस्थामा गर्ने वा गर्नुपर्ने कार्यको सामान्य स्तर भन्दा निम्नस्तरको हुन्छ । यो भनेको समाजले अपेक्षा गरेको स्तरभन्दा तल्लो स्तरबाट गरिएको कार्य हो । कतिपय अवस्थामा पूर्ण सचेत रही होशियारीका साथ कुनै काम गर्दा पनि निषेधित परिणाम आउन सक्छ । यस्तो अवस्थालाई रोक्न नसकिने दुर्घटना unavoidable accident कोरूपमा लिई त्यस्तो व्यक्तिलाई दोषी मानिंदैन । सापेक्षित अपराध relative crime मा आपराधिकताको blameworthiness निर्धारण अपराधका सन्दर्भमा प्रतिवादीमा रहेको मनसाय तत्त्वले गर्नेगर्छ । प्र. ले चलाएको जीपले विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिएबाट सवारी ज्यानको कसुर भएको देखिन्छ । उक्त घटना बुटवल नपाको नाङ्ग्लो रेस्टुरेन्टदेखि दक्षिण सडकमा भएको र सो समयमा केटाकेटीहरू भैलो खेलिरहेको भन्नेसमेत देखिएबाट बाटोमा धेरै मानिसहरूको उपस्थिति र साँझको समयसमेत भएकोले प्र.ले नै स्वीकार गरेको ३५ कि.मि. को गति सामान्य नभै अत्यधिक नै देखियो । यी प्र. ले रक्सी सेवन गरी सवारी चलाएको कुरा शारीरिक परीक्षणबाट समेत प्रमाणित भएको छ । यस्तो गतिबाट सो समय र क्षेत्रमा रक्सी खाई सवारी चलाएमा मानिसलाई ठक्कर लाग्न सक्ने र निज मर्न सक्ने कुरा सामान्य समझ भएको मानिसले जान्ने र बुझ्ने कुरा हो । निवेदक सवारी चलाउने अनुमति पाएका ट्राफिक नियम, सङ्केतहरू जस्ता यावत कुराको जानकारी प्राप्त व्यक्तिसमेत भएकाले पूर्ण होशियारीका साथ नियन्त्रित गतिमा सावधानीपूर्वक सवारी चलाउनु निजको दायित्व हो । निजले सोबमोजिम सवारी नचलाई सवारीउपर नियन्त्रण कायम गर्न नसकी जीपलाई गलत साइडमा लगी स्कुटरलाई ठक्कर दिएको कार्य दफा १६१(२) भित्र पर्ने देखिँदा सुरूले दफा १६१(३) बमोजिम सजाय गरेको उल्टी गरी सो (२) बमोजिम २ वर्ष कैद गरेको पु.वे.अ. सदर भन्ने समेतका फैसलाहरू उल्लेखनीय छन् ।
यो नजिरले negligence लाई mens rea भित्र पारेको सिद्धान्तसम्मत देखिँदैन ।
19. त्यस्तै सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा (३) लगायतका सामान्य सजाय आकर्षित भएका फैसलाहरूमा नेकाप २०४३ को पृष्ठ ४२५ ट्रयाक्टरको ट्रलिपछाडि घटेको घटना सम्बन्धमा ड्राइभरले जानी जानी दुर्घटना गरी बच्चालाइ किचेको भन्न नसकिने भनी, ऐ.२०४६ को पृष्ठ ११५५ मा वारदातस्थल स्पीड लिमिट क्षेत्र नदेखिएको । अड्याएको ट्रलिबसपछाडिबाट मृतक दगुर्दै सडक काटेको अकस्मात् भएको र सो अवस्थामा मृतक गाडीको ज्यादै नगीच हुँदा ब्रेक हान्दा पनि नभ्याई ठक्कर लागी मृत्यु भएको यसमा प्र. को मृतकसँग रिसइबि नभएको र नियत पनि नदेखिएको । यस्तो घटना घटी मानिस मर्न सक्छ भन्ने कुरा सोच्न पनि नसकिने हुँदा सवारी ऐन, २०२० बमोजिम जरिवाना र क्षतिपूर्ति भराएको मनासिब । केवल घाइतेको उपचारमा ध्यान नदिएको लापरवाही भएको । १३(३) को सजाय गरी पाउँ भन्ने जिकिर नपुग्ने भनी, ऐ. २०६४ को पृष्ठ ९७५, पू.इ. मा मर्नेले बाटो काटेको र पुनः फर्केको, ३०–३५ किमी गति रहेको, ब्रेक लगाउँदालगाउँदै ठक्कर लागेकोले आफ्नो लापरवाही नरहेको भनी चालकले मौका र अदालतमा इन्कारी बयान गरेको सोको समर्थन निजका साक्षी खलासी र यात्रुहरूको बकपत्रबाट भएको । जाहेरवालाको बकपत्र नभएको एवम् सवारीको अवस्था दुरूस्त रहेको । चालकको लापरवाहीलाइ वस्तुगत तथ्यबाट प्रमाणित गर्ने भारलाइ वादीले प्रमाणित गर्न नसकेकोले दफा १६१(२) को दावी पुग्न सक्तैन दफा १६१(३) बमोजिम सजाय गरेको पूर्व फैसलाहरू मिलेकै भनी स.इ. निश्चित निष्कर्षमा पुगेकोले तत्सम्बन्धमा थप विचार गर्नु नपर्ने भनी तथा ऐ. २०६६ को पृष्ठ ४७८ मा मृतक मोटर साइकल चालकले प्र. ले चलाएको टैंकर ओभरटेक गर्दा प्र. ले सो थाहा नपाई टैंकर दाँयातर्फ मोड्दा मृतक टैंकरको चक्कामुनि पर्न गै तत्काल ब्रेक लगाएबाट सडकमा टायरको ६ फिटसम्मको डाम बसेको वारदातमा ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने जानीजानी प्र. ले लापरवाहीसाथ टैंकर चलाएको भन्न नमिल्ने हुँदा दावीबमोजिम दफा १६१(२) को सजाय नगरी दफा १६१(३) बमोजिम २४ दिन कैद र रू.२००० जरिवाना गरेको मनासिब भनी भएका फैसलाहरू उल्लेखनीय छन् ।
20. उक्त देशी विदेशी कानूनको पृष्ठभूमिबाट मानिस मर्नासाथ कानूनको दृष्टिकोणमा परिवर्तन हुने देखिन्छ जुन कुरा This is a particularly conspicuous example of the importance attached to harm done. . . When no fatality is involved, the sentence for these offences are relatively low, but a death will have a dramatic effect on the gravity of the offence भनी विद्वान् स्मिथ र होगानको उक्त पुस्तकको उक्त अध्यायमा उल्लेख भएको उक्त उद्धरणबाट स्पष्ट हुन्छ ।
21. प्रतिवादी कृष्णबहादुरले चलाएको सवारी साइकल वा बयलगाडा न भै ट्रक जस्तो भारी गाडी हो जसको सामान्य ठक्कर मात्र प्राणघातक हुन सक्छ । हलुका सवारीको चालक अनुमतिपत्र भन्दा यसको चालक अनुमतिपत्र पाउनका लागि कानूनले थप योग्यता निर्धारण गरेको हुन्छ । रातको समयमा घुमाउरो कच्ची बाटोमा ट्रक जस्तो ठूलो र जोखिमपूर्ण सवारी चलाउने चालकसँग सोही अनुपातमा होशियारी, सावधानी र दक्षताको अपेक्षा गरिन्छ । गाडीको अवस्था ठीक नरहेको वा अचानक हावा हुरी आएको जस्ता मौसम गडबड रहेको समेतको कुनै कुरा रहेको देखिँदैन । त्यस्तो रहेको अवस्थामा competent and careful चालकसँग झन बढी स्तरको आशा गरिन्छ । त्यसैगरी कमिला, अरिंगाल, माउरी आदिले चालकलाई चिलेको वा कसैले हुत्याएको, ढुङ्गा आदि हानेको वा चालक अचानक बेहोश भएको वा कान्तिपुर दैनिकको २०७१।३।११ को अङ्कमा बेलायतको अदालतले हाच्छिउँबाट भएको दुर्घटनालाई चालकको गल्ती नमाने जस्तो शारीरिक वा मानसिक समस्यासमेतका दैवी वा काबु भन्दा बाहिरको अवस्था छैन । प्रतिवादीको ट्रकलाई कतैबाट कसैले छेकेको अवस्था पनि छैन न त त्यहाँ सवारीहरूको चाप नै छ । यस अवस्थामा बाटोमा यो यस्तो छ, बाटोको छेउछाउमा अचानकबाट कोही दौडेर आउन सक्छन् वा बाटोमा हिँड्न सक्छन् यसर्थ यो गाडीको यत्तिको गतिलाई यति मीटरको दूरीमा नियन्त्रित गर्न सकिन्छ र मैले यति दूरीसम्मको सडकलाई सजिलै हेरेर सवारीलाई नियन्त्रणमा लिन सक्छु भनी कानूनले competent and careful सक्षम र सतर्क चालकसँग अपेक्षा राखेको हुन्छ । यी सबको पूर्वानुमान गर्न नसक्ने, बाटो र त्यस छेउछाउको परिदृश्य हेर्न नसक्ने र सवारीलाई त्यसअनुरूप आफ्नो नियन्त्रणमा राख्न नसक्ने चालकलाई competent and careful चालक मान्न सकिँदैन । कसुरको रोकथाम गर्नु र कसुरदारलाई कडा सजाय गरी थप कसुर गर्ने कसुरदार सतर्क रहोस् भन्ने सजायको निरोधात्मक सिद्धान्तको प्रयोग गर्नु फौजदारी न्यायको एउटा महत्त्वपूर्ण उद्देश्य हुन्छ । यसमा सजायको सुधारात्मक सिद्धान्तको कुनै गुन्जाइस छैन । सवारी दुर्घटनाको दुष्परिणाम जनधनको ठूलो क्षति भएको र जीवनको रक्षा राज्य तथा फौजदारी न्यायको मूल दायित्व भएकोले यसमा माथि उल्लिखित काबु भन्दा बाहिरको परिस्थिति नदेखिएसम्म दयामाया गर्नु भनेको जीवनरक्षाको दायित्वबाट पन्छिनु हो । जति ज्यान लिए पनि फरक पर्दैन, न सवारी अनुमतिपत्र रद्द हुन्छ न खासै आर्थिक भार पर्छ, सजाय पनि साङ्केतिक वा आलङ्कारिक मात्र हुन्छ भन्ने सन्देश प्रवाहित हुनु भनेको अराजकता र दण्डहीनताको सूत्रपात हुनु हो । नेपालमा हवाई दुर्घटना र सडक दुर्घटनाको कहालीलाग्दो अवस्थाले नेपालको अन्तर्राष्ट्रिय छवि पूरै धुमिलिएको छ । कानून र फौजदारी न्यायको सही प्रयोग गरेर यसलाई दुरूत्साहन गर्नु अदालतको दायित्व हो ।
22. चालकले मृतकलाई हेर्नसमेत असमर्थ भएको, घद्र्याक्क आवाज आएपछि पनि ट्रक नरोकी चरम अक्षमता र गैरजिम्मेवारी देखाएको, निजको हँकाईको स्तरसक्षम र सतर्क चालकको हँकाईको स्तर भन्दा निक्कै तल्लो रहेको भन्ने निष्कर्षमा यो इजलास पुगेकोले यसरी दायाँबायाँ नहेरी बाटोको विचार नगरी सवारी चलाउँदा यस्ता व्यक्ति र केटाकेटी आदिको ज्यान मर्न सक्ने ठूलो सम्भावना नरहेको भनी मान्न मिल्दैन । उल्लिखित दुर्घटना जानीजानी भएको होस् वा लापरवाही गरी सवारी चलाएको कारणबाट भएको होस् उक्त दुईमध्ये कुनै एक कारणबाट सवारी दुर्घटना हुन गई त्यसैको कारणबाट कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ भन्ने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ दफाको उपदफा (२) आकर्षित नहुने कुनै कारण छैन । पुनरावेदक प्रतिवादी कृष्णबहादुरलाई उक्त दफा १६१ को उपदफा (३) लाग्ने वा निजले सफाइ पाउने कानूनसम्मत आधार रहेको पाइएन ।
23. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. को निर्माण प्रतिवादीले निज विरूद्धको प्रमाण लोप गर्न नसकोस् र त्यसमा tamper नहोस् भन्ने उद्देश्यका साथ अनुसन्धान प्रयोजनका लागि भएको देखिन्छ । मृतकको मृत्यु सवारी दुर्घटनाबाट भएको होइन भनी देखाउनका लागि प्रतिवादीहरूले मृतकको लासलाई सडकबाट तल फालेको र माथि सडकमा समेत रगतमाथि बालुवा छरेको कुरा मिसिलबाट पुष्टि भएको प्रतिवादीहरूको यो कार्य उक्त ४ नं. विपरीतको हुँदा प्रतिवादीहरूलाई उक्त ४ नं. बमोजिम थप सजाय र प्र.गणेशप्रसाद बस्याललाई सजाय गरेको पुनरावेदन अदालतको फैसलासँग असहमत हुनुपर्ने अवस्था देखिएन ।
24. तसर्थ प्रतिवादी कृष्णबहादुर कुँवरलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) नं. बमोजिम दुई वर्ष कैद र मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. बमोजिम थप ६ महिना कैदसमेत र प्रतिवादी गणेश बस्याललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. बमोजिम ६ महिना कैद हुने ठहर्याएको पुनरावेदन अदालत, बुटवलको मिति २०६८।३।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा करी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.बैद्यनाथ उपाध्याय
इति संवत् २०७१ साल जेठ २७ गते रोज ३ शुभम् ।
इजलास अधिकृत : रामप्रसाद बस्याल