शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०२५ - वकसपत्र, लिखत बदर दर्ता बदर दर्ता कायम

भाग: ३७ साल: २०५२ महिना: असोज अंक:

निर्णय नं. ६०२५    ने.का.प. २०५२ अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने

सम्वत २०५० सालको दे.पु.नं. १६९६

फैसला मिति : २०५१।१२।२१।३

मुद्दा : वकसपत्र, लिखत बदर दर्ता बदर दर्ता कायम ।

 

पुनरावेदक/प्रतिवादी:जि. सप्तरी बरमझिया गा.प. वडा नं. २ बस्ने शारदा देवी थरुनी ।

विरुद्ध

प्रत्यर्थी/वादी:ऐ घोधनपुर गा.पं. वडा नं. ५ शीतली देवी थरुनी ।

ऐ. ऐ. बस्ने धनेश्वर चौधरी थारु ।

ऐ. ऐ. भुपेन्द्रनाथ चौधरी थारु ।

ऐ. ऐ. पशुपतिनाथ चौधरी थारु ।

 

    अंशवण्डाको १९(१) नं. मा भएको व्यवस्था हेर्दा अंश नलिएका स्वास्नी छोरा वा विधवा बुहारी हुने मानिसलाई पिता पूर्खाका पालाको चल सम्पत्तिको हकमा सबै र अचलमा आधी सम्म व्यवहार चलाउनलाई मन्जुरी नभएपनि आफूखुस गर्नपाउने गरी अधिकार प्रदान गरेको पाइन्छ । रिझ वापत भनी गरी दिएको वक्सपत्रबाट व्यवहार चलाउन हक छाडी दिएको भनी अर्थ गर्न नमिल्ने ।

(प्र.नं. १८)

    व्यवहार चलाउनभन्ने शब्दाँशबाट त्यसको प्रतिफल सबै सगोलका अंशियारले पाउनुपर्ने हुन्छ र त्यस्तो प्रतिफल लिने सगोलका अंशियारले त्यसको परिणाम समेत भोग्नुपर्ने ।

 (प्र.नं. १८)

    निजी सन्तुष्टिको प्रतिफल सबै अंशियारले भोग्नुपर्ने प्रश्न नै आउदैन । विवादको सम्पत्ति बेचविखन भएको नभई वक्सपत्र भएको छ । वक्सपत्र भएको विषयमा दानवक्सको १ नं. को व्यवस्थालाई हेर्नुपर्छ । दानवक्सको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दान वा वक्स गरिदिन हुन्छ । आफ्नो खुस गर्न पाउने बाहेक अरुमा अंशियार र हक पुग्नेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दानवकस गरी दिन हुँदैन भन्ने व्यवस्था रहेको पाइन्छ । दान वक्सको महलमा अंशवण्डाको १९(१) को व्यवस्था जस्तो कुनै व्यवस्था रहेको पाइदैंन । दान वक्सको प्रकृति बेचविखनको प्रकृतिसँग पनि मिल्दैन । दुवैको प्रकृति भिन्ना भिन्नै छ । बेच विखनबाट अर्थ प्राप्ति हुन्छ, जसबाट पारिवारिक व्यवहार चलाउने हुन्छ भन्ने दान वक्सबाट आत्मसन्तुष्टी मात्र प्राप्त हुन्छ । त्यसैकारण दान बक्सको महलमा अंशवण्डाको १९(१) मा गरेको व्यवस्था जस्तो व्यवस्था रहेको पाइदैंन । दानबक्सको कुरामा दावी गर्नेको अंश हक पुग्छ, पुग्दैन, सो विषय नै महत्वपूर्ण हुन्छ । उमेरको प्रश्नले महत्व नराख्ने ।

(प्र.नं. १८)

पुनरावेदक तर्फबाट:विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने

प्रत्यर्थी तर्फबाटःX

अवलम्बित नजीरःX

फैसला

न्या. केशव प्रसाद उपाध्याय: तत्कालिन पूर्वाञ्चल क्षेत्रीय अदालतको पुनरावेदनको अनुमती प्रदान नगरिएको आदेश उपर न्याय प्रशासन सुधार ऐन (संशोधन सहित), २०३१ को दफा १३(५)(ख)(ग)(घ) तथा १३(७) अन्तर्गत पुनरावेदनको अनुमति पाउन यस अदालतमा निवेदन परी यस अदालतबाट पुनरावेदन गर्ने अनुमति प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.   प्र. भोला प्रसादको एकमात्र स्वास्नी म वादी शितली र छोरा तीनमा जेठा म बादी पशुपतिनाथ माहिला धनेश्वर, कान्छा भुपतेन्द्रनाथ हुँ हामी सबै साझा सगोलमा रही वसी आएको र पूख्र्यौली जग्गा जमिन सबै प्र. भोला प्रसादको नाउँमा रहेको, निज भोला प्रसाद चौधरीले ०४१/१२/११ मा हामीहरुको अंश हक हटक गर्न पूख्र्यौली जग्गा मध्ये निजको नाउँमा दर्ता रहेको जि.स.गा.पं. धोधनपुर वडा नं. ४ कि.नं. ५१ को ०७ जग्गा प्र. शारदा देवीलाई हालको बकसपत्र भनी संज्ञा दिई लिखत गरी सोही मितिमा र.नं. ३०१५ बाट रजिष्ट्रेशन पारित गराई लिएको कुरा तत्काल हामीलाई थाहा भएन, सो ०४३ साल मंसिर १५ गते सो जग्गाको वाली विपक्षी शारदा देवीले कटाउन आएकोमा थाहा पाई गाउँको हरि प्रसाद मार्फत ०४३//२६ मा प्रमाणित नक्कल सराई लिई थाहा हुन आएको छ, भोला प्रसादको एकमात्र स्वास्नी सितली र छोरा तीन हामी वादी नै भएकोले भोला प्रसादको सम्पत्ति ५ हिस्सेदार भै सो ५ हिस्सेदार मध्ये ४ हिस्सेदारको ४ खण्डको अर्थात ०१७३५  मा हाम्रो अंशहक भएको प्रष्ट भइरहेकोले सो चार खण्डको उक्त बकसपत्र लिखतबदर गरी निज शारदाको नाउँको उक्त जग्गाको दर्ता बदर भै हाम्रो नाउँमा दर्ता कायम गरी माग्न दानबकसको १ नं. अन्तर्गत ५ नं. म्याद भित्र नालेस गर्न आएका छौं, अतः दिने भोला प्रसाद वकस लिने शारदा देवी भएको मिति २०४१/१२/११ को ०७ जग्गाको र.नं. ३०१५ बकसपत्र लिखत बदर गरी सो लेखतको ०७ मध्ये उत्तर तर्फको ०१७३५  जग्गाको विपक्षी शारदा देवीको दर्ता वदर गरी उक्त जग्गा हाम्रो नाउँमा दर्ता कायम गरी पाउँ भन्ने समेत व्यहोराको सितली देवी थरुनी, धनेश्वर चौधरी थारु, भुपेन्द्रनाथ चौधरी थारु र पशुपतिनाथ चौधरीको फिराद दावी ।

३.   मलाई लिखत गरी दिएको विवादित जग्गा पुख्र्यौली हो भन्ने कुराको वादीले कुनै ठोस सबूद दिन नसकेको, सिर्फ पुख्र्यौली हो भन्नेसम्म लेखेको यो जग्गा दिने दाता र यो बादीको समक्ष जग्गा दिने लिने कुरा हुँदा निजी आर्जनको हो भनी वादीहरु समेतको मञ्जुरीबाट मलाई दिए लिएको हो, दाता बादीहरुको घरको मुख्यकार व्यवहार चलाउने व्यक्ति हो, त्यस्तो व्यक्तिले गरेको व्यवहार मध्येमा आधा सम्ममा कसैको मञ्जुरी लिइ रहनु पर्ने अवस्था छैन । सो व्यवहार सदरै हुने भन्ने अंशवण्डा महलको १९ नं. मा प्रष्टै व्यवस्था भएकोले त्यसबाट बादीहरुको मञ्जुरी लिन नपर्ने, त्यस्तोमा वादीहरुको उजुर दावी लाग्न नसक्ने खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी शारदा देवी थरुनीको प्रतिउत्तर जिकिर ।

४.   वादी दावा सत्य साँचो छैन, वादी लेखदावाको जग्गा पुख्र्यौली हो तर यो वादीले मलाई सेवा टहल नगरेकोबाट प्र. शारदालाई बकस गरी दिएको हुँ भन्ने समेत व्यहोराको प्र. भोला प्रसाद चौधरीको प्रतिउत्तर जिकिर ।

५.  बकसपत्रको महल १ नं. अनुरुप आफ्नो हक नपुग्ने र अन्य अंशियारको बाध्यात्मक मञ्जुरी लिनु पर्ने जग्गाको बकसपत्रको लिखत गर्दा सो मञ्जुरी लिएको नदेखिँदा वादीहरुको हक पुग्ने सम्म लिखत बदर भै सो लिखतबाट भएको दर्ता बदर भै बादीहरुको नाउँमा दर्ता समेत हुने ठहर्छ भन्ने समेतको सप्तरी जिल्ला अदालतको मिति २०४४//२५ को फैसला ।

६.   उक्त फैसलामा चित्त बुझेन, सप्तरी जिल्ला अदालतको फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी शारदादेवी थरुनी तत्कालिन सगरमाथा अञ्चल अदालत राजविराज वेञ्चमा परेको पुनरावेदन पत्र ।

७.  बकसपत्रको लिखतलाई अंशवण्डाको १९ नं. को व्याख्या अनुसार घर व्यवहार चलाउनेभित्र बकसपत्र पनि पर्दछ भनी भन्न नसकिने हुँदा शुरुले वादी अनुसार बकसपत्र लिखत बदर हुने ठहर्‍याएको इन्साफ मिलेकै देखिँदा परिवर्तन गरिरहनु परेन, बकसपत्र लिखत बदर हुनु पर्ने होइन भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको तत्कालिन सगरमाथा अञ्चल अदालत राजविराज वेञ्चको मिति २०४६//२९ को फैसला ।

८.   विवादित वकसपत्रबाट पाएको जग्गा र वादी र प्रतिवादीहरु समेतसँग के कति जग्गा कायम छ मालपोत कार्यालय सप्तरी बुझी अंशवण्डाको १९ नं. लाई अँगाली इन्साफ गर्नु पर्नेमा उल्टै अंशवण्डाको १९ नं. लाई अँगाली इन्साफ गर्नु पर्नेमा उल्टै अंशवण्डाको १९ नं. को गलत व्याख्या गरी मलाई हराउन न्यायोचित भएन, पुनरावेदनको अनुमति प्रदान गरी शुरु जिल्ला अदालत र सगरमाथा अञ्चल अदालतको त्रुटीपूर्ण फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्र. शारदा देवी थरुनीको तत्कालिन पू.क्षे.अ. मा परेको निवेदन ।

९.   दाबी बमोजिमको लिखत बदर दर्ता समेत बदर भै बादीहरुको नाउँमा दर्ता हुने ठहराएको शुरुको सदर गर्ने गरेको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको फैसलामा न्याय प्रशासन सुधार ऐन, ०३१ (संशोधन सहित) को दफा १३(४) अन्तर्गत कुनै त्रुटी भएको नदेखिँदा अनुमति प्रदान हुन सक्ने देखिएन, कानून बमोजिम गर्नु भन्ने समेतको तत्कालीन पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४७//११ को आदेश ।

१०.  फिरादीहरुले मिथ्या फिराद गरेकोले अनियमितरुपले मेरो लिखत बदर गरिएको फैसला उपर पुनरावेदनको अनुमति प्रदान नगरिएको आदेशमा गम्भीर कानूनी त्रुटी भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्र. शारदा देवी थरुनीको यस अदालतमा परेको निवेदन ।

११.  उमेर नपुगेका वादीहरुको हकको भाग समेतको वकसपत्र वदर गर्ने गरेको शुरु इन्साफलाई सदर गर्ने गरेको सगरमाथा अञ्चल अदालत राजविराज वेञ्चको इन्साफलाई नै सदर गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४७//११ मा अनुमति नदिएको आदेश नि.नं. ४४२२, ने.का.प. २०४८ को पृष्ठ संख्या ७८१ मा प्रतिपादित सिद्धान्तको विपरीत देखिँदा तत्कालीन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ग) को आधारमा प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छभन्ने समेतको यस अदालतको मिति २०५०//२१ को आदेश ।

१२.  नियम बमोजिम पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्रा श्री वालकृष्ण न्यौपानेले अंशवण्डाको १९ नं. ले नावालकको मञ्जुरी लिने व्यवस्था गरेको छैन, मेरो पक्षले घरको मुख्य व्यक्तिबाट गरी लिएको बकसपत्र बदर हुन सक्ने अवस्था छैन, वकस गरी लिएको जग्गा भन्दा बढी नै जग्गा बाँकी नै रहेको अवस्थामा वादी दावी बमोजिम बकस पत्र लिखत बदर गरी वादीहरुको नाउँमा दर्ता समेत हुने ठहराएको शुरु जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको तत्कालिन सगरमाथा अञ्चल अदालत राजविराज वेञ्चको फैसला कानूनी त्रुटीपूर्ण हुँदा हुँदै पुनरावेदन गर्ने अनुमति प्रदान नगरेको तत्कालिन पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश ने.का.प. २०४८, अंक ११, नि.नं. ४४२२ पृष्ठ ७८१ मा प्रकाशित सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको विपरित छ, अतः नावालकको भाग समेतलाई गणना गरी मेरो पक्षले गरी लिएको वकसपत्र लिखत वादी दावी बमोजिम वदर गर्ने गरेको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको तत्कालिन सगरमाथा अञ्चल अदालत राजविराज वेञ्चको त्रुटीपूर्ण फैसला र पुनरावेदन गर्ने अनुमति प्रदान गनरेको तत्कालिन पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश वदर गरी वादी दावी नपुग्ने गरी पाउँ भनी वहस जिकिर प्रस्तुत गर्नु भयो ।

१३.  विद्वान अधिवक्ताको वहस जिकिरलाई मनन गरी मिसिल अध्ययन गर्दा तत्कालिन सगरमाथा अञ्चल अदालत राजविराज वेञ्चको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान नगरेको तत्कालिन पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश मिलेको छ, छैन ? भन्ने विषयमा निर्णय दिनु परेको छ । निर्णयतर्फ विचार गर्दा वादी दावी बमोजिम प्रतिवादी शारदा देवी थरुनीले गरी लिएको बकसपत्र वदर भई वादीहरुको नाउँमा दर्ता हुनुपर्ने अवस्था विद्यमान छ, छैन ? यस अदालतबाट ने.का.प. २०४४, अंक ४, नि.नं. ३०७४, पृष्ठ ४७८ मा प्रतिपादित सिद्धान्त र ने.का.प. २०४८, अंक ११, नि.नं. ४४२२, पृष्ठ ७८१ मा प्रतिपादित सिद्धान्त मध्ये कुन सिद्धान्त अवलम्बन गर्नु उपयुक्त छ र अवलम्बन गरिएको सिद्धान्तसँग रुलिङ बाझिएको अवस्था छ, छैन ? भन्ने प्रश्नमा विचार गर्नु पर्ने हुन आएको छ ।

१४.  यसमा हाम्रा पति पिता भोला प्रसादले हाम्रो समेत हक लाग्ने पुख्र्यौली सम्पत्ति शारदा देवीलाई मिति ०४१/१२/११ मा ०७ जग्गा वकसपत्र गरिदिएको लिखत बदर गरी हाम्रो अंशको ०१७३५ जग्गा शारदा देवीको दर्ता वदर गरी हाम्रा नाउँमा दर्ता गरी पाउँ भन्ने वादीको दावी रहेको पाइन्छ ।

१५.  वादीहरु भोला प्रसादका सगोलका स्वास्नी छोरा हुन् र भोला प्रसादले शारदा देवीलाई गरी दिएको बकसपत्रको जग्गा पुर्ख्र्यौली हो भन्नेमा विवाद देखिएन ।

१६.  सगोल अंश हकको अचल सम्पत्ति बेच विखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुसी गर्न पाउने अरुको मञ्जुरी लिनु नपर्नेमा बाहेक सगोलको अंशियारको मञ्जुरी लिनुपर्ने कानूनी प्रावधान रहेको पाइन्छ । प्रस्तुत विवादको सम्पत्ति बेचविखन गरेको नभई पति पिता भोला प्रसादले शारदा देवीलाई बकसपत्र गरिदिएको देखिन्छ ।

१७.  प्रस्तुत लिखत वदर मुद्दामा भोला प्रसादले शारदा देवीलाई वकस दिएको अचल सम्पत्ति अंश वण्डाको १९(१) अनुसार घरको मुख्य भोला प्रसादले व्यवहार चलाउन आधीसम्म आफ्नो खुस गर्न पाउने र नि.नं. ४४२२, ने.का.प. २०४८ पृष्ठ संख्या ७८१ (वादी केशव प्रसाद नेपाल समेत वि. निलकण्ठ नेपाल समेत मुद्दा वकसपत्र बदर) मा प्रतिपादित सिद्धान्त समेतको विपरित भएकोले वकसपत्र लिखत वदर हुनु नपर्ने भन्ने मुख्य जिकिर देखिन आएको छ ।

१८.  अंशवण्डाको १९(१) नं. मा भएको व्यवस्था हेर्दा अंश नलिएका स्वास्नी छोरा वा विधवा बुहारी हुने मानिसलाई पिता पूर्खाका पालाको चल सम्पत्तिको हकमा सबै र अचलमा आधी सम्म व्यवहार चलाउनलाई मन्जुरी नभएपनि आफूखुस गर्नपाउने गरी अधिकार प्रदान गरेको पाइन्छ । रिझ वापत भनी गरी दिएको वक्सपत्रबाट व्यवहार चलाउन हक छाडी दिएको भनी अर्थ गर्न मिल्ने देखिँदैन । व्यवहार चलाउनभन्ने शब्दाँशबाट त्यसको प्रतिफल सबै सगोलका अंशियारले पाउनुपर्ने हुन्छ र त्यस्तो प्रतिफल लिने सगोलका (साविक पेज नं. ५१५) अंशियारले त्यसको परिणाम समेत भोग्नु पर्दछ । निजी सन्तुष्टिको प्रतिफल सबै अंशियारले भोग्नुपर्ने प्रश्न नै आउँदैन। विवादको सम्पत्ति बेचविखन भएको नभई वक्सपत्र भएको छ । वक्सपत्र भएको विषयमा दानवक्सको १ नं. को व्यवस्थालाई हेर्नुपर्छ । दानवक्सको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दान वा वक्स गरिदिन हुन्छआफ्नो खुस गर्न पाउने बाहेक अरुमा अंशियार र हक पुग्नेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दानवकस गरी दिन हुँदैन भन्ने व्यवस्था रहेको पाइन्छ। दान वक्सको महलमा अंशवण्डाको १९(१) को व्यवस्था जस्तो कुनै व्यवस्था रहेको पाइदैंन । दान वक्सको प्रकृति बेचविखनको प्रकृतिसँग पनि मिल्दैन । दुवैको प्रकृति भिन्ना भिन्नै छ । बेच विखनबाट अर्थ प्राप्ति हुन्छ, जसबाट पारिवारिक व्यवहार चलाउने हुन्छ भन्ने दान वक्सबाट आत्मसन्तुष्टी मात्र प्राप्त हुन्छ । त्यसैकारण दान बक्सको महलमा अंशवण्डाको १९(१) नं. मा गरेको व्यवस्था जस्तो व्यवस्था रहेको पाइदैंन । दानबक्सको कुरामा दावी गर्नेको अंश हक पुग्छ, पुग्दैन, सो विषय नै महत्वपूर्ण हुन्छ । उमेरको प्रश्नले महत्व राख्ने हुँदैन । ने.का.प. २०४८ नि.नं. ४४२२ पृष्ठ संख्या ७८१ (वादी केशव प्रसाद नेपाल समेत वि.प्र. निलकण्ठ नेपाल समेत मुद्दा बकस पत्र बदर) मा सर्वोच्च अदालत संयुक्त इजलासबाट दान बकसको कुरामा अंशवण्डाको १९(१) नं. अनुसार नावालखको मञ्जुरी लिन नपर्ने, ने.का.प. २०४४ अंक ४ पृष्ठ ४७८ को नजीर प्रस्तुत मुद्दाको तथ्यसग मिल्दो नभएकोबाट लाग्ने स्थिति भएन भनी वकसपत्र लिखत वदर निर्णय नहुने गरी निर्णय भएको पाइन्छ ।

१९.  बकसपत्रको लिखतको सम्बन्धमा दान बकसको महलको व्यवस्था लाग्ने अंशवण्डाको १९(१) नं. आकर्षित नहुने भनी माथि नै उल्लेख भैसकेको छ । वादीहरु बकसपत्र गरी दिने भोला प्रसादका स्वास्नी छोरा हुन् र बकसपत्र गरिदिएको सम्पत्ति पुख्र्यौली भन्नेमा विवाद नभएपछि भोला प्रसादले शारदा देवीलाई गरिदिएको बकसपत्रमा निजहरुको मञ्जुरी नरहेको वा सहीछाप नगरी दिएको अवस्थामा वादी दावी बमोजिम लिखत बदर गरी वादीहरुको नाउँमा दर्ता हुने ठहर्‍याएको शुरु सप्तरी जिल्ला अदालतको फैसलालाई सदर गरी तत्कालिन सगरमाथा अञ्चल अदालत राजविराज वेञ्चले गरेको फैसला उपर पुनरावेदनको अनुमति प्रदान नहुने गरी भएको पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश मिलेको देखिँदा सदर हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन।

२०.  निवेदकका वादी केशव प्रसाद नेपाल समेत वि.प्रत्यर्थी प्रतिवादी निलकण्ठ नेपाल समेत भएको वकसपत्र वदर मुद्दामा भएको रुलिङ (ने.का.प. २०४८ नि.नं. ४४२२ पृष्ठ संख्या ७८१) सँग सहमत नभएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेश गर्नु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. नरेन्द्र बहादुर न्यौपाने ।

 

इति सम्वत् २०५१ साल चैत्र २१ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु