शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३७५ - ज्यान मार्ने उद्योग

भाग: २७ साल: २०४२ महिना: भाद्र अंक:

निर्णय नं. २३७५    ने.का.प. २०४२      अङ्क ५

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको फौ.पु.नं. ४४३

मुद्दा : ज्यान मार्ने उद्योग ।

 

पुनरावेदक/प्रतिवादी: जि.धनकुटा भेडेटार गा.पं. वडा नं.१ घर भै हाल कारागार शाखा धनकुटामा रहेका कर्मसिं राई।

विरूद्ध

विपक्षी/वादी:पृथ्वीबल राईको जाहेरीले श्री ५ को सरकार  ।

फैसला भएको मिति:२०४२।५।२।१ मा

     ज्यान मार्ने सम्मको मनसायको अभावमा ज्यानसम्बन्धीको १५ नं. बमोजिम प्रतिवादीलाई १० वर्ष कैदको सजायँ गरेको जिल्ला अदालतको इन्साफलाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती हुँदा उल्टी हुने ।

(प्रकरण नं.१३)

पुनरावेदक प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री शम्भु थापा

विपक्षी वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट

उल्लेखित मुद्दाःX

फैसला

न्या.बब्बर प्रसाद सिंहः पूर्वान्चल क्षेत्रीय अदालतको मिति ०४०।१।१८ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    मिति ०३९।५।३१ गतेका दिन प्रतिवादी कर्मसिं राईले म र मेरो परिवार समेतलाई मार्ने नियत गरी नाति बिजे राई समेतको टाउकोमा तरवारले काटी मार्ने सूर गरेकाले प्रहरी समेतको मद्दतबाट पक्राउ गरी ल्याएका छौं, कानुन बमोजिम प्र.कर्मसिं राईलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको पृथ्वीबल राईको जाहेरी दर्खास्त ।

३.    लाल बहादुर राई समेतले मेरो ४ कित्ता जग्गा बन्धकी खाएकोमा सो जग्गा उकास गरिदिन्छु सहिछाप मात्र गरिदिनुहोस् भनी जाहेरवालाले भन्दा सहिछाप गरिदिएको थिएँ । सो जग्गा कुल बहादुरलाई बिक्री गरी मेरो थातवास नै उठाएको हुँदा सो रिस थाम्न नसकी जाहेरवालालाई तरवारले काट्न लाग्दा निजको नातिलाई चोट लागेछ, मार्ने नियतले काटेको होइन भन्ने समेत व्यहोराको प्र.कर्मसिं राईले प्रहरीमा गरेको बयान ।

४.    जाहेरवाला र निजको नाति बिजे राईलाई प्र.कर्मसिंह राइले ज्यान मार्ने नियतले काटेको हो भन्ने एकथरी र होइन भन्ने अर्कोथरीको भनाई समेत भएको मिति ०३९।६।६।४ को सरजमीन मुचुल्का ।

      ५.    कर्मसिंह राईले तरवार प्रहार गरी ०३९।५।३१ गते दिउँसो भातखाँदै गरेको अवस्था पानी खान आउँदै गर्दा मेरो टाउकोमा काटेको र बाजे पृथ्वीबललाई पनि काटेको हो भन्ने बिजे राईले प्रहरीमा गरेको सनाखत कागज ।

      ६.    सङ्कलित सबूद प्रमाणबाट प्र.कर्मसिंह राइले पृथ्वीबल राईलाई बिजे राईलाई धार भएको हतियारले काटी ज्यान मार्ने उद्योग गरेको देखिँदा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम सजायँ गरिपाउँ भन्ने समेत स.सर्वोच्च अदालत तथा प्रहरीको संयुक्त प्रतिवेदन ।

      ७.    जाहेरवालासँग मेरो अगाडि कुनै रिसइवी थिएन । म कान राम्रोसँग नसुन्ने लेखपढ गर्न नजान्ने सोझो मानिसलाई जाहेरवालाले झुक्याई एउटा कुरा भनी अर्को काम गरी मेरो घरबास नै उठाउने गरी अत्याचार गरेको हुँदा मैले त्यसको रिस थाम्न नसकी घरको पुरानो राम्रो धार नभएको तरवार लगी जाहेरवालाको टाउकोमा हानेको हुँ, कसैले सिकाएर गरेको होइन र मार्ने विचारबाट हानेको होइन भन्ने समेत व्यहोराको प्र.कर्मसिंह राईले अदालतमा गरेको बयान ।

      ८.    प्र.कर्मसिंह राई तरवारले हाने काटेको कुरामा सावित भएको, केश फाराम हेर्दा चोट कडा देखिएको जोखिमी हतियारले टाउकोमा हान्दा मर्न सक्ने सम्भाव्यता देखिएकोले ज्यानसम्बन्धी महलको   १५ नं. बमोजिम १० वर्ष कैद हुन्छ भन्ने समेत व्यहोराको धनकुटा जि.अ.को मिति ०३९।६।१० को फैसला ।

      ९.    शुरू जिल्ला अदालतको फैसला कानुनसंगत नभएकोले चित्त बुझेन सो इन्साफ बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्र.कर्मसिंह राइले पूर्वान्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदन ।

      १०.    जग्गाको विषयमा रिस थाम्न नसकी घरबाट तरवार लगी काटेको कुरामा सावित भएको कुरालाई अस्पतालबाट जाँच भएको घा जाँच केश फारामबाट सिद्ध हुन आएकोले अन्य प्रमाण बुझिरहन नपर्ने हुँदा जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने पूर्वान्चल क्षेत्रीय अदालतको मिति ०४०।१।१८ को फैसला ।

      ११.    पूर्वान्चल क्षेत्रीय अदालतको उक्त फैसला अ.बं. १८४क नं. विपरीत त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने कर्मसिंह राईको यस अदालतमा परेको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा घाउको चोट गहिरो नदेखिएको तथा मार्ने नियत भए एक पटक प्रहार गरी सकेपछि त्यसै छाड्नु पर्ने अवस्था नहुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजन बेञ्चको आदेश ।

      १२.   साप्ताहिक तथा दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शम्भु थापाले ज्यान मार्ने मनसाय थियो भन्ने कुरा मिसिलबाट देखिँदैन, मार्ने मनसाय भएको भए एकपटक घातक हतियार प्रहार गरेपछि त्यसै छाड्नु पर्ने अवस्था थिएन त्यसैले उद्योग गरेको छैन भनी गर्नु भएको बहस तथा सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्टले तरवार जस्तो जोखिमी हतियारले टाउकोमा हानेकोलाई मनसाय नभएको भन्ने अवस्था छैन भनी गर्नु भएको बहससमेत सुनी पूर्वान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको छ छैन भन्ने कुराको निर्णय दिनुपर्ने देखियो ।

      १३.   यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादी कर्मसिंह राई हतियार प्रयोग गरेकोमा प्रहरी तथा अदालतमा सावित छन् तापनि ज्यान मार्ने सम्मको रिसइवी थियो भन्ने कुरामा इन्कार देखिन्छन् । यसमा अपराधिक कार्य (Actus Rea) देखिए पनि मनसाय (Means Rea) को समयोजना देखिँदैन । मनसायले उद्देश्यतर्फ संकेत गरेको हुन्छ जबकि उद्योगले कार्यान्वित गर्ने प्रयत्नलाई जनाउँछ । प्रस्तुत मुद्दामा ज्यानसम्बन्धी महलको १५ नं. को व्यवस्था अनुसार प्रतिवादीले ज्यान मार्नका लागि उद्योग गरेका हुन् भन्ने कुराको प्रमाण मिसिलबाट देखिन नआएको र जग्गा लेखाई लिएको सम्बन्धमा रिस उठी तरवारले एकचोटि हानेको भन्ने देखिन्छ। ज्यान मार्नेसम्मको, मनसायको अभावमा ज्यानसम्बन्धीको १५ नं. बमोजिम प्रतिवादी कर्मसिं राईलाई १० वर्ष कैदको सजायँ गरेको जिल्ला अदालतको इन्साफलाई सदर गरेको पूर्वान्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती हुँदा उल्टी हुन्छ ।

१४.   अतः स.मु.स.ऐन, २०१७ को दफा ७(क) अनुसार जाहेरवालाले कुटपीटमा मुद्दा चलाउन सकार गरेमा यसै मुद्दाबाट कानुन बमोजिम कारवाई चल्न सक्ने हुँदा सम्बन्धित मिसिल कानुन बमोजिम कारवाईको निमित्त धनकुटा जि.अ.मा पठाई दिने ठहर्छ । तपसील बमोजिमका कलममा तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक (प्रतिवादी) कर्मसिं राईके माथि इन्साफ खण्डमा लेखिए बमोजिम कुटपीटमा परिणत भएकोले ज्यानसम्बन्धीको १५ नं. बमोजिम ज्यान मार्ने उद्योग ठहराई १० वर्ष कैद गर्ने गरेको शुरू जि.अ.को फैसलालाई सदर गरेको पूर्वान्चल क्षेत्रीय अदालतको मिति २०४०।१।१८ को फैसलाले पुनरावेदन गरे वापत १ वर्ष कैद थप गरी गर्ने गरेको कैद वर्ष ११ असूल गर्न परेन । लगत कट्टा गरिदिनु भनी शुरू धनकुटा जि.अ.तमा लगत दिन  का.जि.अ.त.मा लगत दिनु......१       पुनरावेदक (प्रतिवादी) कर्मसिं राईके माथि इन्साफ खण्डमा लेखिए बमोजिम कुटपीटमा परिणत भई ज्यान मार्ने उद्योगबाट सफाई पाउने ठहरेकोले निज मिति ०३९।६।३ बाट कैदमा बसेको देखिएकोले अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभई यस मुद्दाबाट थुनाबाट छाडी दिनु भनी जि.का. कारागार शाखा धनकुटामा लेखी पठाई दिनु...२

शुरू मिसिल कानुन बमोजिम कारवाईको लागि धनकुटा जि.अ.तमा पठाई रेकर्ड मिसिल नियमानुसार बुझाई दिनु................................................३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४२ साल भाद्र २ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु