निर्णय नं. २३७६ - ज्यान

निर्णय नं. २३७६ ने.का.प. २०४२ अङ्क ५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको डि.फौ.पु.नं. ४९४
सम्वत् २०४१ सालको डि.फौ.सा.नं. १२४
मुद्दा : ज्यान ।
पुनरावेदक/प्रतिवादी: जि. डोटी तिखान्तर गा.पं.वडा नं.४ गणेश कांडा घर भै हाल डोटी कारागारमा थुनामा रहेको प्रेम बहादुर मगर ।
विरूद्ध
विपक्षी/वादी:नर बहादुरको जाहेरीले श्री ५ को सरकार ।
फैसला भएको मिति:२०४२।५।२१।६ मा
आफ्नी स्वास्नीसँग रातमा सँगै बसेको अवस्थामा देखी रिस थाम्न नसकी मारेको देखिएकोले सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को हुने देखिएकोले अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायँ नै पर्याप्त हुने ।
(प्रकरण नं.६५)
पुनरावेदक प्रतिवादी तर्फबाट :विद्वान अधिवक्ता श्री सीताराम तिवारी र विद्वान वैतनिक अधिवक्ता श्री पुण्य प्रसाद अर्याल
विपक्षी वादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.पृथ्वी बहादुर सिंह: सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. २०३७।१२।११ गते हाम्रा गाई हेर्ने बालकहरूले गणेश काँडा गाउँदेखि १ माइल जति टाढा भीरमा मानिस मरेको भनेकाले गई हेर्दा मानिस मरेको देखी जाहेर गर्न आएको भन्ने समेतको नर बहादुरको जाहेरी दर्खास्त ।
३. मेरादाजु तेज बहादुरको लाश भनी मृतकको सहोदरभाइ हर्कबहादुरले गरेको ०३७।१२।१५ को सनाखतकागज ।
४. तपबहादुर कार्की समेत १३ जनाले घटनास्थल तथा लाश प्रकृति मुचुल्का कागज गरिदिएको ।
५. मेरो छोरा तेज बहादुर चैत्र २ गते ससुराली जान्छु स्वास्नीलाई घरमा पठाई दिन्छु र मालावारीमा जग्गा किन्छु भनी घरबाट रु. १२०००। लिई गएको हुँदा सो रूपैयाँ कसैले लुटी लिई मारेमा शंका लाग्छ भन्ने मृतकको आमा पार्वतीले गरेको कागज ।
६. ०३७।१२।१५ गते रगत लागेको नाइलनको झोला १ खागी रंगको रगत लागेको कट्टु १ रगत लागेको भोटो १ टोपी १ फुटेका मर्फी रेडियो १ समेत हामीहरूको रोहवरमा बरामद गरेको भन्ने भीमबहादुर कार्की समेत ९ जनाले गरेको बरामदी मुचुल्का ।
७. १४, १५ दिन अगाडी भाइ तेज बहादुर मेरा घरमा खाना खाई स्वास्नी भेट्न भनी सात फेरी तर्फ गएको हो । निजसँग कति पैसा थियो थाहा छैन भन्ने समेतको काली कठायतनीको प्रहरीमा भएको कागज ।
८. मृतकलाई कर्तव्य गरी मारी फाले जस्तो लाग्छ कसको कर्तव्यबाट मरेको हो भन्न सकिँदैन भन्ने समेतको हर्कबहादुर समेत २५ जना र भीरबाट लडी मरेको हो कि जस्तो लाग्दछ भन्ने रुद्रबहादुर शाही समेतका ३१ जनाले गरेको सरजमीन मुचुल्का ।
९. ०३७।१२।१७ गते सूरतबहादुर मगरको घरको उत्तरपट्टि गोठमा रगतको छिटा बरामद भएको भन्ने समेतको ३१ जनाले गरेको मुचुल्का ।
१०. तेज बहादुर मेरा घरमा रक्सी नभएकोले गाउँतिर गएको थियो राति मेरी जेठी श्रीमती भएको ठाउँमा गुनगुन गरेको सुनी स्वास्नीलाई करणी गर्न लागी रहेको जस्तो लागि खुकुरी खोज्दा बाबुले थाहा पाई सो कुरा बताई मारिदिन्छु भनी भित्र पसी खुकुरीले हिर्काउँदा हातमा लागी कराउँदा स्वास्नी भागी निजलाई घाँटीमा १ चोट हान्दा ढलेको र २, ३ चोट हिर्काउँदा मर्यो । मुखिया काहाँ गई भन्दा भोलि सल्लाह गरौंला भनी घर आएँ । भोलिपल्ट मुखियासँग सल्लाह गर्दा भीर मुनि फाली दिने निधो भयो । ४ गते राति म र मेरा बाबु धनबहादुर, राम बहादुर रामी मगर, भीमबहादुर, प्रतापसिंह, नैनसिंह, नन्ना, तेज बहादुर मगर, राजु, लाल बहादुर, नाक्चे लुहार, भक्तराज, गा.पं.स. नर बहादुर समेतले गोठबाट लाश बोकी लगी भीर मुनि लाश राखी दियौं चप्पल भीरमा राखी ढाका टोपी रेडियो नजिक राखी १, १ को २ थान नोटनिर मुनि छरी दियौं भन्ने समेतको प्रेम बहादुरको प्रहरीमा भएको कागज ।
११. बुहारीलाई बिगारेकोले यो बदमासलाई गोठमा हुली राख भन्दा छोराले खुकुरीले तेज बहादुरलाई हिर्काउँदा मरेछ भन्ने र अरु प्रेम बहादुरको प्रहरीमा भएको बयानको मिलानको हर्कबहादुरको बयान ।
१२. म पनि लाश फाल्न गएको भन्ने समेत सूरतबहादुरको प्रहरीमा भएको कागज ।
१३. ०३७ साल चैत्र २ गते तेज बहादुरले मलाई लिई भीमबहादुर मगरको घरमा गई रक्सी, खाँदै थियो । म ६।३० बजे आफ्नो घरमा जान हिँडे, निज रक्सी खाँदै थिएँ । भोलिपल्ट बिहानै हर्कबहादुर, सूरतबहादुर मेरा घरमा आई घटनाको कुरा गर्दा चैत्र ४ गतेको राति ८, ९ बजे लाश फाल्न गएको हुँ भन्ने तेज बहादुरको बयान ।
१४. ०३७ साल चैत्र २ गते बेलुका ५ बजे म हर्कबहादुरको दोकानमा थिएँ, तेज बहादुरले मलाई लिई ऐ. गाउँ बस्ने भीमबहादुरको घरमा गई रक्सी खाँदै थिएँ भोलिपल्ट बिहान हर्कबहादुर, सूरतबहादुर मेरो घरमा आई घटनाको कुरा गर्दा चैत्र ४ गते राति ८, ९ बजे लाश फाल्न गएको हुँ भन्ने तेज बहादुरको बयान ।
१५. ०३७।१२।२४ मा हर्क बहादुर मगरको घर खानतलासी हुँदा पद्म बहादुर शाही समेतका ८ जनाले गरिदिएको खुकुरी बरामती मुचुल्का ।
१६. ०३७।१२।२४ गते प्रेम बहादुरले फालेको कमेज फेला नपरेको भन्ने पद्म बहादुर शाही समेत ८ जनाको मुचुल्का ।
१७. तेज बहादुर कार्कीले प्रेम बहादुरको स्वास्नीसँग अनुचित सम्बन्ध राखेको देख्दा प्रेम बहादुरले खुकुरीले काटी मार्यो भन्ने घटनाको भोलिपल्ट सुनेको हुँ, ४ गते राति लाश फाल्न म र भक्तराज पनि सँगै थियौं भन्ने नाक्चे लुहारको बयान ।
१८. ०३७।१२।२ गते राति प्रेम बहादुर मेरो घरमा आई स्वास्नी कलुसँग तेज बहादुरलाई सुतेको देख्दा रिस थाम्न नसकी खुकुरीले हानी मारे भनी भनेको र ४ गते म समेत भई लाश फालेको हुँ भन्ने समेत रामसिंह मगरको बयान ।
१९. तेज बहादुर मगर मेरो घरमा आई रक्सी खाई फर्केका हुन् प्रेम बहादुरले तेज बहादुरलाई मारेको कुरा ३ गते सुनेँ लाश फाल्न गएको हुँ भन्ने मिनबहादुरको बयान ।
२०. चैत्र २ गते राति तेज बहादुर कोठमा आई सँगै सुत्यो र करणी लिनु दिनु गर्यो । लोग्नेले थाहा पाई दुबै जनालाई मारी दिन्छु भनी तेज बहादुरलाई हिर्काउन थाल्यो । म डरले भागी माइत गएँ । ४ दिनपछि घर आउँदा तेज बहादुरलाई मारेको थाहा पाएँ भन्ने समेतको कलु मगरनीको बयान ।
२१. चैत्र २ गते राति प्रेम बहादुर र हर्कबहादुर तेज बहादुरलाई मारेको भनेका ४ गते राति म समेतले लाश फालेको भन्ने समेत नर बहादुरको बयान ।
२२. वारदातका दिन तेज बहादुर मर्नु भन्दा अगाडि म माइत गएकी थिएँ । रु. १६,०००। मा जग्गा बिक्री गरी सो रकमले कैलालीमा जग्गा किन्ने विचार थियो । लोग्ने अरु स्वास्नी मान्छेसँग लागेको मैले सुनेको छैन सो कारणबाट मारेको पनि होइन । पैसा लुटी दिने उद्देश्यले मारेका हुन् भन्ने समेत मृतकको स्वास्नी तुल्सी कार्कीले गरेको बयान ।
२३. प्रेम बहादुरले आफ्नो श्रीमतीसँग तेज बहादुरले अनुचित सम्बन्ध राखेको देखी, रिस उठी खुकुरी जस्तो जोखिमी हतियारले तेज बहादुरलाई हानी कर्तव्य गरी मारेको देखेको हुँदा निजलाई मु.ऐन ज्या.सं.को १३ नं. को देहाय दफा १ बमोजिम र लाश जाँच नहुँदै लाश फाल्ने मारेको कुरा चाल पाई जाहेर नगर्ने कसूरदारलाई दबाउने गा.पं.स.नर बहादुर मगर, रामसिंह मगर, भीमबहादुर मगर, प्रतापसिंह मगर, नैनसिं मगर, नन्ना मगर, तेज बहादुर मगर, राजन मगर, लाल बहादुर कठायत, नाक्चे लोहार, भक्तराज उपाध्याय समेतलाई मु.ऐन ज्यानसम्बन्धी ४ र २५ नं. बमोजिम सजायँ हुन र हर्कबहादुर मगर, प्रेम बहादुरको बाबु नाता र सूरतबहादुर जेठा बाबु नाता पर्ने धनबहादुर मगर माइला बाबु नाता पर्ने राम बहादुर घर्ती मगर भिनाजु नाता पर्ने हुँदा निजहरूलाई लाश फाले तर्फ मात्र ज्यानसम्बन्धीको ४ नं. अनुसार सजायँको माग गरिएको प्रतापसिं मगर ऐ. बस्ने नैनसिं मगर, राजन मगर १, लाल बहादुर कठायत १, भक्तराज उपाध्याय धनबहादुर १ रोमबहादुर घर्तिमगर १ नन्ना मगर फरार रही फेला नपरेको हुँदा निजहरूको नाममा वारेण्ट जारी हुनुपर्ने माग गर्दै दसीका सामान र प्र.प्रेम बहादुर, भीमबहादुर, रामसिं, नाक्चे, तेज बहादुर, सुरतबहादुर, हर्कबहादुर, नर बहादुर मगरलाई मिसिलसाथ राखी पेश गरेको छु भन्ने प्रहरी प्रतिवेदन ।
२४. ०३७।१२।२ गते म घरमा छैन ऐ. १ गते बेसार खोज्न सात बजेको समयमा मेरो गाउँको राजन मगर, बल बहादुर, लाल बहादुर समेतले बेसार खोज्न भनी चनुकाँडा भन्ने ठाउँमा बास बसी माष्टर भन्नेसँग चामल किनी भात पकाई सुतें, भोलिपल्ट धौलावस्ती गाउँमा ऐ. २ गते पुगी माष्टर भनी बोलाउनेको घरमा बास बसी ४ जना त्यही सुत्यौं, ३ गते सोही गाउँमा बास बसी मकै किनी ४ गते चनुकाँडा गाउँमा बास बसी भोलिपल्ट ६ गते घरमा पुगी सुती रहँे, तेज बहादुर मगरसँग भेटघाट भएको छैन मेरो स्वास्नीको राम्रो चालचलन छ केही शंका छैन तेज बहादुर भीरबाट लडी मरेको छ, उजूर गर्न सदस्य गएको छ भन्ने ०३७।१२।११ गते हल्ला सुनी सोही राति देखि सदस्यले लाश कुर्नु भनी उजूर गर्न गएको हो, प्रहरीले मलाई कुटी बयान गराएका हुन् मैले कुनै अन्याय गरेको छैन, पसलबाट मृतकले सामान किने नकिनेको थाहा छैन मैले ज्यान मारेको छैन देखाएको खुकुरी मेरै हो, कट्टु मेरो होइन भन्ने प्रेम बहादुरको बयान ।
२५. ०३७।१२।२ गते म घरमै छु । प्रेम बहादुर घरगाउँमा छैन । सोही दिन ११/१२ बजे समयमा तेज बहादुर कार्की आएको र दोकानबाट १ पुरिया बिँडी किनी लगेको । प्रेम बहादुर ०३७।१२।१ गते बेसार खोज्न घरबाट रु. ५०। लगी गएका र ४/५ गते समयमा मकै ल्याएको हो। ०३७ चैत्र ११ गते भीरबाट मानिस मरेको छ भनी सुनी लाश कुर्न छोरा प्रेम गयो । मैले टाढाबाट देखें । घोप्टो परेको हुँदा चिनेन । तेज बहादुर भन्ने पछि थाहा पाएको हुँ । तेज बहादुर मेरो घरमा आउने र बास बस्ने गथ्र्यो । बुहारीसँग हाँसखेल बोलचाल गरेको थिएन । प्रहरीले मलाई कुटपीट गरी बयान गराएको हो राजीखुशीले गरेको होइन । तेज बहादुर कार्की मैले र छोराले काटी मारेको र लाश दबाउने काम गरेको छैन, भीरबाट लडी मरेको होला, देखाएको खुकुरी मेरो हो, कट्टु कसको हो थाहा छैन भन्ने हर्कबहादुर मगरको बयान ।
२६. ०३७।१२।२ गते म आफ्नै घरमा छु प्रेम बहादुर बेसार खोज्न भनी ऐ. १ गते बिहान घरबाट हिंडी ६ गते तिर घर आएको थियो, २ गते तेज बहादुरलाई देखिन, भीरबाट फाल्नमा समेत म सरिक भएको छैन । प्रहरीमा मैले कागज खुशीराजीले गरेको नभई प्रहरीले डराई कागज गराएको हो । ०३७।१२।११ गते मानिस लडी मरेको छ भनी गोठालाहरूले भनेको हो। मैले कुनै अन्याय गरेको छैन भन्ने रामसिं मगरको बयान ।
२७. ०३७।१२।२ गते काँडा भन्ने ठाउँमा छु, अरु अरु कहाँ छन्, थाहा छैन । तेज बहादुर मरेको सम्म सुनें, के भई मर्यो सो पनि मलाई थाहा छैन । प्रहरीमा भएको कागज मैले राजीखुशीले गरेको होइन, प्रहरीले कुटी लेखाएका हुन् । मैले अन्याय गरेको छैन भन्ने नाक्चे लुहारको बयान ।
२८. ०३७।१२।११ गते केटाकेटीहरूले मानिस मरेको छ भनी सुनी हेर्दा गाउँका सबै मानिसले कुरुवा गर्नु, म उजूर गर्न जान्छु भनी मेरै गाउँका रामसिं मगर साथमा लिई ०३७।१२।१२ का दिन जाहेर गरी डोर गएको हो । तेज बहादुर कसैको कर्तव्यबाट मरेको नभई आफैं भीरबाट खसी मरेको कुरा विश्वास छ । प्रेम बहादुरले म समेत मिली भीरमा लडाएको र लाश दबाउने गरेको समेत केही हैन प्रहरीले मलाई नराम्रोसँग कुटपीट गरी डर धाक देखाई कागज गराएको हो। खुशी राजीसँग गरिदिएको होइन । लाश दबाउने भए उजूर गर्न नपर्ने हुनाले म उपरको प्रहरीको प्रतिवेदन दावीबाट सफाई पाउँ देखाएको खुकुरी कसको हो थाहा छैन । प्रेम बहादुर ०३७।१२।१ गतेमा बेसार खोज्न भनी गएको भन्ने सुनेको, घरमा देखेको थिएन, कहिले आयो थाहा छैन भन्ने नर बहादुर मगरको बयान ।
२९. ०३७ साल चैत्र २ गते आफ्नो घरमा छु, भतिजा प्रेमलाई घरमा देखेको थिएन । बेसार खोज्न भनी बोगटार तिर गयौं भन्ने नदेखेकोले थाहा छैन । तेज बहादुर भीरमा लडी मरेको भन्ने सुनेको र लाश कुर्न जाउँ भनी सदस्य नर बहादुरले भनी गएको र म बिरामी हुँदा गएको थिएन, तेज बहादुरलाई प्रेम भतिजाले काटी मारेको र सो लाश दबाउन म समेत सल्लाहमा पसेको होइन, प्रहरीमा मैले राजीखुशीले कागज गरिदिएको छैन । प्रहरीले कुटपीट गरी कागज गराएको हो । देखाइएको खुकुरी, कट्टु कसको हो थाहा छैन भन्ने सुरतबहादुरको बयान ।
३०. प्रहरीको कागज राजीखुशीले गरेको नभई प्रहरीले कुटपीट गरी गराएको हो । म समेत भई लाश दबाएको फालेको होइन भन्ने तेज बहादुर मगरको बयान ।
३१. प्रेम बहादुरले खुकुरीले काटी मारी म समेत लाश दबाउन गई भीरमा फालेको होइन सो झुठ्ठा हो भन्ने समेत धनबहादुर मगरको बयान ।
३२. ०३७।१२।२ र ३ गते घरमा छैन, ऐ. १ गते बेसार खोज्न चनुकाँडा भन्ने गाउँमा पुगी २ गते त्यही बसी भोलिपल्ट गाउँमा गई खोज तलास गरी मकै भारी १ किनी ६ गते घरमा पुगेको हुँ, ११ गते मानिस मरेको भन्ने सुनेको हुँ, प्रेम बहादुरले काटी मारी म समेतले लाश फालेको होइन भन्ने राजेन्द्र मगरको बयान ।
३३. ०३७।१२।२ गते म घरमा छैन, ०३७ साल फाल्गुण २५ गते खुरसेनमा र २७ गते वछेन गाउँतिर घुम्दै ऐ. २ गते नंगदुने गाउँमा पुगी २ गोरु १०५०। मा मोल यकीन भई ४ गते त्यहाँबाट हिंडी ८ गतेमात्र घरमा पुगेको हुँ । प्रेम बहादुरले तेज बहादुर कार्कीलाई काटी मारी म समेत भई लाश दबाएको छैन । किन मलाई पोले थाहा छैन मैले कुनै अन्याय नगरेकोले साक्षी बुझी फुर्सद पाउँ भन्ने नन्ना मगरको बयान ।
३४. तेज बहादुरको लाश फाल्ने गाड्ने काम मैले गरेको छैन । यस मुद्दामा कुनै कुरा थाहा छैन भन्ने राम बहादुर मगरको बयान ।
३५. तेज बहादुरको लाश फाल्ने गाड्ने काम मैले गरेको छैन । यस मुद्दामा कुनै कुरा थाहा छैन झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने भक्तबहादुरको बयान ।
३६. ०३७।११।२८ गतेदेखि चैत्र ७ गतेसम्म पुष्कर शाहीको घरमा झारफुक गर्न गएको थिएँ । मलाई लाश फाल्ने भनी मेरो नाममा दिएको पोल उजूरी सब झुठ्ठा हो भीरबाट लडी मरेको भन्ने सम्म सुनेको हुँदा त्यतिमात्र थाहा छ भन्ने प्रतापसिं मगरको बयान ।
३७. ०३७।१२।२ गते घरमा छैन । ०३७।८।२८ गतेदेखि धनगढीमा चामल पसल थापी बसेको । ०३७।१२।९ गते घरमा पुगेको हुँदा, २ गतेको सो गाउँको घटनाबारे केही थाहा छैन भन्ने लाल बहादुर कठायतको बयान ।
३८. तेज बहादुर कार्कीलाई देखे चिनेको छैन मलाई किन पोले, हाल घरमा आई सो कुरा बुझे मैले कुनै अपराध गरेको छैन । भीरबाट लडी मरेको वा कर्तव्य गरी मरेको मलाई थाहा छैन भन्ने नन्ना मगरको बयान ।
३९. ०३७।१२।२ गते म नर बहादुरको घरमा छु लाल बहादुर धनगढी चौमालागाउँमा दोकान गर्न ०३७ सालदेखि त्यही छ, गाउँमा चैत्र ७ गते मात्र आएको भन्ने सुनेको हुँ भन्ने प्र.नर बहादुरको साक्षीले गरेको बकपत्र ।
४०. मेरो लोग्ने २ रात घरमा छैन । ०३७।१२।२ गते रातमा मेरो घरमा कुनै मानिस सुत्न आएको छैन । सोही १ गते बोगटानतिर मेरो लोग्ने बेसाह खोज्न गएको थियो । ६ गते म कैलाली आएको हुँ, तेज बहादुर भन्ने भीरबाट लडी मरेको भन्ने सुनेको हुँ, प्रहरी कागजमा डर धम्कीबाट सही गरेकी हुँ भन्ने कलु मगर्नीको बकपत्र ।
४१. चैत्र २ गते प्र.नन्ना र प्र.प्रेम बहादुर घर गाउँमा थिएनन् । ०३७ साल चैत्र गते घरबाट बेसाह खोज्न भनी गएको र नन्ना भारतमा थिए । प्रेम बहादुर बोगतानतिर गएको थियो भन्ने वीर बहादुरको बकपत्र ।
४२. ०३७।११।२७ गतेदेखि चैत्र ७ गतेसम्म प्रताप सिंह मेरो घरमा छ भन्ने प्रताप सिंहको साक्षी पुष्कर शाहीको बकपत्र ।
४३. ०३७।१२।२ गते महेन्द्रनगरमा धनबहादुरलाई भेटेर घरबाट कहिले आएको भन्दा फाल्गुण २२ गते आएको हुँ भनेर निजले भने । कहिले घर जाने भन्दा २, ४ दिनको वाद जान्छु भनेर भनेका हुन् भन्ने प्र.धनबहादुरको साक्षी हिकमत शाहीको बकपत्र ।
४४. प्र.नन्ना मगर ०३७।११।२५ गते बोगटानतिर बेसाह खोज्न गएका थिएँ । चैत्र ७ गते बेसाह खोजी आउँदा फुडसिलमा भेटाएका हुन् भन्ने प्र.नन्नाको साक्षी चक्रबहादुर बोगटीको बकपत्र ।
४५. ०३७ साल फाल्गुण ३० गते राम बहादुर कहाँ छ भनी निजको बुबासँग सोध्दा घर छैनन्, महेन्द्रनगर गएको छ भनी सुनेको र हर्कबहादुर, राम बहादुर राम्रो चालचलनको मानिस हुन् भन्ने राम बहादुर समेतको साक्षी धोजबहादुर शाहीको बकपत्र ।
४६. रामसिंह घरमा थियो म साँझतिर घर फर्कें मलाई उसले कुनै कुरा भनेन् । मलाई यस बारेमा कुनै कुरा थाहा छैन भन्ने समेत रामसिंहको साक्षी जगतबहादुरले गरेको बकपत्र ।
४७. प्रेम बहादुर ०३७।१२।१ गते बेसाह खोज्न गएको थियो, ६ गते घर आएको देखेको हुँ भन्ने प्रेम बहादुरको साक्षी रामसिंह मगर समेत २ जनाले गरेको बकपत्र ।
४८. ०३७।१२।१ गते राजेन्द्र कहाँ छ भनी निजको श्रीमतीलाई सोद्धा बोगटान तिर बेसाह खोज्न गयो भनी भनेकोले म घर फर्कें भन्ने राजेन्द्रको साक्षी सुरतबहादुर शाहीको बकपत्र।
४९. प्र.मध्येको तेज बहादुर भाङग्राको थैला बिक्री गर्छु भनी मेरो घरको मूलबाटो भई गएको हो भन्ने तेज बहादुरको साक्षी रुद्रबहादुर शाहीको बकपत्र ।
५०. प्र.सुरत बहादुर घरैमा थियो, ०३७।१२।२ गते हाम्रो गाउँमा कुनै घटना घटेको छैन भन्ने समेत सुरतबहादुरको साक्षी नरा मुलले गरेको बकपत्र ।
५१. ०३७।१२।२ गते घरैमा छु । १ गते प्रेम बहादुर, लाल बहादुर, राजन बली १ समेत ४ जना बोगटानतिर गएको देखेको हुँ भन्ने हर्कबहादुरको साक्षी नर बहादुर बमले गरेको बकपत्र ।
५२. प्र.राम बहादुर ०३७।१२।३ गते हाम्रो घर कञ्चनपुरमा थियो, त्यसपछि घर जान्छु भनी गएका हुन् भन्ने राम बहादुरको साक्षी भक्तबहादुर मगर समेत दुई जनाको बकपत्र ।
५३. ०३७।१२।२ गते नन्ना मगर मेरो घरमा पुगी ४ गते १०२५ मा मेरो गोरु किनी फर्की गएको हो भन्ने प्र.नन्ना मगरको साक्षी पदमसिंह मगरको बकपत्र ।
५४. ०३७।१२।१७ गतेको सरजमीन मुचुल्कामा भएको व्यहोरा लेखाई दिएको छु । लाश सडेगले जस्तो थियो घाउ चोट थियो । कसले मारी फाली देखेको नहुँदा खुलाउन सक्दैन भन्ने सरजमीनको मानिस धौले समेत जना ४ गरी जम्मा २० जनाको बकपत्र । प्र.प्रेम बहादुरले ज्यान मारेको ठहरेकोले निजलाई ज्या.सं. को १३ को देहाय दफा १ बमोजिम सजायँ हुने र लाश जाँच नभई लाश फालेको ठहरेकोले प्र.रामसिंह मगर समेत जना १० लाई ज्या.सं.को ४ नं. र २५ नं. बमोजिम जनही ६ महिना कैद र रु. २०। जरिवाना र प्र.नर बहादुर गा.पं.स.भई ज्यान मारी सकेको कुरा चाल पाई जाहेर नगरेकोमा निजलाई ज्या.सं.को ४ र २५ नं. बमोजिम २ वर्ष कैद हुन्छ । लाश फाले तर्फ प्र.हर्कबहादुर समेतका ४ जनालाई ज्या.सं.को ४ नं. बमोजिम ।६ महिना कैद हुने ठहर्छ भन्ने समेत डोटी जि.अ.को ०३९।६।१९ को फैसला ।
५५. शुरू जि.अ.को फैसलामा चित्त बुझेन भन्ने प्रेम बहादुरको पुनरावेदन ।
५६. विपक्षीवादी श्री ५ को सरकारतर्फबाट सु.पश्चिमान्चल क्षेत्रीय अदालतलाई झिकाई पेशगर्नु भन्ने २०४०।१।१५ को आदेश ।
५७. पु.वे.राम बहादुर समेत कसूर गरेमा अदालत समक्ष इन्कार रहेपछि के कति कारणले निजले कसूर गरेको हो सो कुराको विवेचना डो.जि.अ.को फैसलामा देखिएन र पु.वे.लाई जरिवाना रु. २०। र कैद महिना ६ गर्ने गरी तपसील खण्डमा उल्लेख गरेको मिलेको नदेखिएकोले बदर गरिएको छ ज्या.सं.को ४ नं. र २५ नं. अनुसार सजायँ पाउने अभियुक्तहरूका हकमा पुनः कानुन बमोजिम निर्णय ठहर गरी पुनरावेदन परे पुनरावेदन साथ र नपरे म्याद नाघेपछि पुनरावेदन किनारा गर्न मिसिल यस अदालतमा पठाउनु भन्ने सुदूर पश्चिमाञ्चल क्षे.अ.को ०४०।३।२६ को आदेश ।
५८. ज्या.सं.को १३(१) नं. अनुसार अभियोग लागेको प्र.प्रेम बहादुरको हकमा डो.जि.अ.बाट ०३९।६।१९ मा फैसला नै ठहर भइसकेको हुँदा सु.पश्चिमान्चल क्षेत्रीय अदालतले निजको हकमा केही नबोलेको हुँदा निजको हकमा केही गर्नु परेन अरु प्र.जाहेर नगरी लाश फालेको ठहरेकाले प्र.रामसिंह मगर समेत जना १० लाई ज्या.स.को ४।२५ नं. बमोजिम कैदमहिना ।६ र जरिवाना रु. २०। गर्नेगरेको अरु प्र.नर बहादुर मगरले लाश दबाउने नियत गरेकोमा निजलाई ज्यानसम्बन्धीको ४।२५ नं. अनुसार कैद वर्ष २ र प्र.हर्कबहादुर समेतका ४ जना नाता पर्ने भई निजलाई सफाई तर्फ ज्यानसम्बन्धीको ४ नं.बमोजिम कैदमहिना ६ समेत हुनेठहर्छ भन्ने डोटी जि.अ.को फैसला ।
५९. शुरू जि.अ.ले गरेको फैसला त्रुटिपुर्ण हुँदा सो फैसला बदर गरी सफाई पाउँ भन्ने प्रताप मगर समेतको एउटै पुनरावेदन पत्र ।
६०. शुरू इन्साफ मनासिव ठहर्छ भन्ने समेतको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।
६१. उक्त फैसलामा चित्त बुझेन भन्ने समेतको प्रेम बहादुरको यस अदालतमा पुनरावेदन पत्र ।
६२. नियम बमोजिम पेशीसूचीमा चढी पेश हुनआएको प्रस्तुतमुद्दामा पुनरावेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री सीताराम तिवारी र वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्यालले गर्नु भएको बहससमेत सुनियो ।
६३. प्रस्तुतमुद्दामा सु.पश्चिमान्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव वा बेमनासिव केरहेछ सोकुराको निर्णय दिनुपरेको छ ।
६४. निर्णयतर्फ विचार गर्दा यसमा मृतक तेज बहादुरको मृत्यु भएकोमा विवाद देखिँदैन। निज मृतकको मृत्यु पुनरावेदक प्रेम बहादुरको कर्तव्यबाट भएको हो वा होइन त्यसतर्फ विचार गर्दा प्र.प्रेम बहादुर अधिकारप्राप्त अधिकारी समक्ष कसूर गरेमा सावित देखिन्छ । यस्तै प्र.को बाबु हर्कबहादुरले छोरा प्रेम बहादुरले तेज बहादुरलाई मारेकोमा प्रहरी समक्ष कागज गरिदिएको देखिन्छ । प्रहरी समक्ष कागज गर्दा प्र. की श्रीमती कलुले मृतकलाई लोग्ने प्रेम बहादुरले पिट्दै गरेको अवस्थामा आफू भागेको भनी र अन्य प्रतिवादीहरूले लाश फाल्नमा सहयोग गरेकोमा सावित भएका देखिन्छन् । कसूर गरेमा निज पुनरावेदक प्र.प्रेम बहादुर अदालतमा बयान गर्दा इन्कारी रहेको देखिन्छ तापनि त्यसको विश्वास लायक सबूद दिन सकेको पाइँदैन । मृतकको लासको तलतिर रहेको माटो घटनास्थलको भित्ताको माटो तथा बरामद भएका कपडाका टुक्रामा लागेको रगत तथा प्र.को घरबाट बरामद हुन आएको खुकुरी खुर्केको वस्तुमा भएको रगत समेत रसायन जाँच गर्दा मानिसको रगत भएको र एउटै ग्रुप (ग्रुप ए) को रगत देखिएको भन्ने प्रतिवेदन प्राप्त भएकोले समेत प्रहरीमा प्र.प्रेम बहादुरको साविती बयान कागज समर्थित हुन पुगेको छ । त्यसरी घटनास्थलबाट लाश रहेको ठाउँ सम्ममा प्रमाणको लागि प्राप्त भएका विभिन्न वस्तुमा लागेको रगतको परीक्षणबाट एकै किसिमको प्रतिवेदन प्राप्त हुन आएको देखिएकोले प्र.प्रेम बहादुरले मृतक तेज बहादुरलाई कर्तव्य गरी मारेको रहेनछ भन्ने स्थिति देखिँदैन । अतः निजलाई सर्वस्वसहित जन्म कैद गर्ने गरेको सु.पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदक प्र.प्रेम बहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
६५. तर प्रस्तुत मुद्दामा मृतक तेज बहादुरले प्र.प्रेम बहादुरकी श्रीमतीसँग रातमा एकान्तमा कोठाभित्र पसेको र करणी गर्न लागेको अवस्थामा प्र.प्रेम बहादुरले मारेको देखिन आएको छ । आफ्नो श्रीमतीसँग अन्य लोग्ने मान्छेले रातमा आएर करणी गरेको तथा सँगै बसेको कुनै पनि लोग्नेले देख्दा निजलाई रिस उठ्नु अस्वाभाविक देखिँदैन । अतः त्यस्तो आफ्नी स्वास्नीसँग रातमा सँगै बसेको अवस्थामा प्र.तेज बहादुरलाई देखी रिस थाम्न नसकी मारेको देखिएकोले सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को हुने देखिएकोले अ.बं. १८८ नं. बमोजिम प्र.प्रेम बहादुरलाई १० वर्ष कैदको सजायँ नै पर्याप्त हुने हुँदा कैद वर्ष १० (दश) सजायँ हुने ठहर्छ । पुनरावेदन तहबाट निर्णय भएकोले साधकको लगत कट्टा गरिदिनु । पुनरावेदक प्र.प्रेम बहादुरलाई १० वर्ष मात्र कैदको सजायँ हुने भएकोले निजलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको लगत कट्टा गर्ने गरेको गरी १० वर्ष कैदको लगत कायम गर्नु भनी शुरु डोटी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ. त.मा लगत दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल भाद्र २१ गते रोज ६ शुभम् ।