शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३८८ - लिखत पास

भाग: २७ साल: २०४२ महिना: असोज अंक:

निर्णय नं. २३८८     ने.का.प. २०४२            अङ्क ६

 

फुल बेञ्च

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको दे.फु.नं.      ५५

मुद्दा : लिखत पास ।

 

निवेदक/प्रतिवादी:बाँके जिल्ला ईन्द्रपुर गा.पं.वडा नं. १ बस्ने सैफु तेली ।

विरूद्ध

विपक्षी/वादी:ऐ.ऐ. वार्ड नं. ३ बस्ने नारायण सिंह च्यामजुङ ।

फैसला भएको मिति:२०४२।६।२५।६ मा

     अदालतको आदेश बमोजिम विशेषज्ञ जाँच हुँदा समेत बोल्न समर्थ देखिएको भन्ने  विशेषज्ञको राय भएको वीर अस्पतालको पत्रबाट देखिएकोले अ.बं. २५ नं. को विपरीत कागज भएको भन्न मिल्ने अवस्था नदेखिने ।

 (प्रकरण नं.१४)

निवेदक/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

विपक्षी/वादी तर्फवाट:विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी

उल्लेखित  मुद्दाःX

फैसला

न्या.बब्बर प्रसाद सिंहः प्रतिवादी सैफु तेलीले डिभिजन बेञ्चबाट मिति ०३९।८।२७।१ मा भएको फैसला दोहर्‍याई पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएको बिन्तिपत्रमा व्यहोरा साँचो भए फुल बेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हु.प्र.बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ आज यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.    प्रतिवादीले रु. ३५,०००। लिई इन्द्रपुर गा.पं.वा.नं. १(क) कि.नं. १४४, १४६, १८७, २४१, २५१ को ज.वि. ११३ र घरबास मिन्हा ऐ. पञ्चायत वार्ड नं. १ को भगौती चिडीभार सो पश्चिम बच्चु तेली सो उत्तर भगौती तेली सो पूर्व सडक सो दक्षिण पूर्व पश्चिम १४ हात र उत्तर दक्षिण ९ हात माटोको देवाले खपडाको छानो गोठ घर १, गोठ देखि उत्तरको उत्तर दक्षिण २० हात पूर्व पश्चिम १३ हात भएको दुबारा जग्गा दुबारा र गोठ घर सो पश्चिम उत्तर दक्षिण १३ हात पूर्व पश्चिम ७ हात माटोको देवाल खपराको छानो भएको भूइँतले बैठक घर एक गोठ घर सो पूर्व उत्तर दक्षिण लम्बा १७ हात पूर्व पश्चिम ९ हात माटाको देवाल खपडाको छानो भएको तरवाहदार बस्ने घर एक भगौती तेलीका घर सो पश्चिम ओटीलाल खटिकको घर सो पूर्व बच्चु तेलीको बारी सो उत्तर दुवारा जग्गा सो दक्षिण ०६ घडेरी बारी जग्गा १ समेत २०३३ साल फाल्गुण २१ गते राजीनामा गरिदिई म्यादभित्र पारित गरिदिनुहोस भनी प्र.सँग भन्दा आलटाल गरी ६ महिना म्याद गुजारी दिनु भएकोले रजिष्ट्रेशनको ४ नं. का म्याद ३५ दिनभित्र फिराद गर्न आएको छु भन्ने समेत नारायण सिंहको फिरादपत्र ।

३.    ०३४।६।१९ गतेको इतलायनामा म्याद प्र.सैफु तेलीले गुजारेको ।

४.    वादी नारायण सिंहलाई विकाता गरेको घर जग्गा घरसारको राजीनामाबाट लेखिदिएको उक्त राजीनामा जुनसुकै अवस्थामा साहू आसामी मिली लेखी लेखाई दिने र बच्चु तेलीको अंश मुद्दाको फिराद ०३४।४।३२।४ मा परेपछि घरसारको आडले ०३४।६।६ मा नारायण सिंहले सैफु तेली उपर पास गरिपाउँ भनी दिएको नालेशमा अंश मुद्दा पर्दा पर्दैको अवस्थामा भएको र बच्चु तेलीको अंश मार्नको लागि मिलोमतो गरेको समेत देखिनाले वादीदावीबमोजिमको राजीनामा लिखतरजिष्ट्रेशन पारित हुनेठहर्छ भन्नेसमेत बाँ.जि.अ.को फैसला ।

५.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी नारायण सिंहको पुनरावेदन ।

६.    पुनरावेदकले जुन जग्गा आफूलाई राजीनामा पास गरिपाउँ भन्ने फिराद गरेको छ सो नै जग्गा प्रमाणको रूपमा आएको अंश मुद्दाको तायदातीमा पुनरावेदकलाई बिक्री गरेको भनी देखाई तायदातीमा दिएको देखिएको र सो मुद्दामा वादी बच्चु तेलीले अंश पाउने ठहरी फैसला गरेकोमा प्रस्तुत मुद्दाको विपक्षी सैफु तेलीले यस अदालतमा पुनरावेदन गरेकोमा निजले सो तारेख गुजारी ०३६।९।२४ मा सो पुनरावेदन डिसमिस गराएको देखिन आएकोले पास गरिपाउँ भनेको जग्गा तायदाती  भित्र पारी बच्चु तेलीले अंश पाउने गरी भएको जिल्ला अदालतको फैसला अन्तिम रूपमा भएको देखिएकोले सोही मुद्दाको तायदाती भित्र यो दावीको जग्गा परेको देखिन आएको र सो तायदातीमा परेको यो दावी जग्गामा यो यति कारण अंश दिन नपर्ने भनी उल्लेख नगरेको र राजीनामा दिने व्यक्तिले इतलायनामाको म्याद गुजारी बसेको कारणबाट शुरू जिल्ला अदालतले पास नहुने ठहर्‍याएको मनासिव ठहर्छ शुरू जिल्ला अदालतले अंश मार्नको लागि मिलोमतो गरेको समेत देखिनाले भनी लेखेको सो बढी बूँदा लेखेको सम्म बदर हुने ठहर्छ भन्ने समेत सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।

७.    उक्त फैसलामा चित्त बुझेन भन्ने पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादीको निवेदन ।

८.    ०३३।११।२१ मा घरसारमा गरिदिएको लिखत पास गरिपाउँ भनी वादीले उजूर गरेकोमा सो जग्गामा बच्चु तेलीको हक कायम भएको पनि वादीको दाता सैफु तेलीको हुन आएको हकसम्म पास गरिदिनु पर्नेमा सो बमोजिम नगरी लिखत पास नहुने ठहराई सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा रजिष्ट्रेशन ५ नम्बर त्रुटि देखिन आएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।

९.    प्रस्तुत लिखतको सम्बन्धमा सो लिखत पास हुन नपर्ने भन्ने कारण समेत उल्लेख गरी कसैको प्रतिवाद परेको देखिँदैन । प्र.सैफु तेलीले इतलायनामा म्याद गुजारी बसेको देखिन्छ । सो लिखतबाट कसैको हक हितमा असर पर्ने भए कानुन बमोजिम उजूरी गरी त्यसलाई बदर गराउन पर्ने कुरा हुन्छ । लिखत पास गराई पाउँ भन्ने प्रस्तुत मुद्दा भएको र त्यसमा कसैको प्रतिवादी समेत परेको देखिँदैन । जुन कुरामा प्रतिवाद छैन त्यस्तो कुरामा अदालत स्वयंले तर्क उठाउने अवस्था हुँदैन । वादी दावीको लिखत कानुनको रीत पुगेकै देखिएकोले अन्य कुरामा विचार गरी रहनु पर्ने अवस्था परेन । यस्तो अवस्थामा उक्त लिखत पास गर्न नपर्ने कुनै कानुनी अड्चन नहुँदा सो लिखत पारित हुने ठहर्छ । लिखत पास नहुने ठहर्‍याएको बाँके जिल्ला अदालतको इन्साफ मनासिव ठहर्‍याएको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन भन्ने मिति ०३९।८।२७।१ को डिभिजन बेञ्चको फैसला ।

१०.    उक्त फैसला फुल बेञ्चबाट दोहर्‍याई हेरिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमप्रमाङ्गी बक्स भइआएको ।

११.    कम्तिमा तीन जना सम्बन्धित विशेषज्ञ चिकित्सकहरूको बोर्ड बसी निज सैफु तेली बक्क लाटो छ छैन परीक्षण गरी, छ भने कहिले देखि भएको हो परीक्षणको आधार समेतहरू खुलाई १५ दिनभित्र प्रतिवेदन पठाउनु भनी वीर अस्पतालमा सुपरिटेन्डेटका नाउँमा लेखी पठाई प्रतिवेदन आएपछि पेश गर्नु भन्ने मिति ०४१।९।११।३ को फुल बेञ्चको आदेश ।

१२.   उक्त आदेश बमोजिम वीर अस्पतालबाट विशेषज्ञ जाँची आएको ०४१।१०।१८ को पत्र मिसिल सामेल रहेछ ।

१३.   निवेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले बच्चु तेलीसँग अंश मुद्दा परी सकेपछि मात्र विवादको लिखत पारित मुद्दा परेकोले उक्त मुद्दामा तायदातीमा परेको जग्गा हुँदा पारित हुने ठहर्‍याएको डिभिजन बेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नुभयो । विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले प्रतिवादीले जिकिर नलिएको कुरामा अदालतबाट विवाद उठाउन मिल्दैन । सैफु तेलीले अंश मुद्दामा तायदाती दिँदा मेरो पक्षलाई बिक्री गरेको भनी उल्लेख गरेको छ । तसर्थ रीत पुगेको लिखत पारित हुने ठहराएको डिभिजन बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

      १४.   आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा प्रतिवादीले मसँग  रु. ३५,०००। लिई जिल्ला बाँके इन्द्रपुर गा.पं.वा.नं. १(क) कि.नं. १४४, १४६, १८७, २४१, २५१ को ज.वि. ११३ र घरबास मिन्हा र ऐ. वा.नं. १ को गोठ घर १, बैठक घर १, तरवाहदार बस्ने घर १ र घडेरी बारी ०६ समेत ०३३।११।२१ मा राजीनामा लेखिदिएकोमा पारित गरी नदिएको हुँदा पारित गरिपाउँ भन्ने समेत दावी लिई वादीको ०३४।६।६ मा फिराद परेको देखिन्छ । लिखत पारित गरिदिनु नपर्ने कुनै कारण भएमा सो समेत खुलाई प्रतिवाद गर्नु पर्नेमा प्र.सैफु तेलीले निजका नाउँमा तामेल भएको ०३४।६।१९ को म्याद गुजारी बसेको देखिन्छ । वादीको लिखत कानुनको रीत पुगेको र त्यसमा कसैको प्रतिवाद समेत नभएको स्थितिमा त्यस्तो लिखत पारित हुँदा अर्काको हक जान्छ भन्ने आधारमा लिखत पारित नहुने ठहराउन मिल्ने देखिँदैन । सो लिखतबाट कसैको हक हितमा असर पर्ने भए कानुन बमोजिम उजूर गरी बदर गराउन सक्ने नै देखिन्छ । अब प्रतिवादी बक्क लाटो भएकोले कुनै कुराको परिणाम थाहा नपाउने व्यक्ति हुँदा अ.बं. २५ को विपरीत लिखत गराएको हुँदा लिखत पारित हुन नपर्ने भन्ने समेत प्रतिवादीको जिकिरको हकमा सैफु तेलीले बच्चु तेलीसँगको अंश मुद्दामा प्रतिउत्तर दिँदा तथा सोही मुद्दामा तायदाती दिँदा समेत निज बक्क लाटो छ भन्ने खुलाएको पाइँदैन । उक्त तायदातीमा प्र.सैफु तेलीले विवादको जग्गा वादीलाई राजीनामा गरिदिएको कुरा उल्लेख गरेको देखिन्छ । यसको अलावा प्र.सैफु तेलीले ०३२।१।३१ मा राममिलन चिडीमारलाई, त्यस्तै गरी ०२९।६।१६ मा सुन्दर चिडीमारलाई समेत विभिन्न कित्ता जग्गाहरू राजीनामा गरिदिएको देखिन्छ । उक्त लिखतहरूबाट समेत निज बक्क लाटो भएको कुरा खुल्न आउँदैन । यस अदालतको ०४१।९।११ को आदेश बमोजिम विशेषज्ञ जाँच हुँदा समेत निज बोल्न समर्थ देखिएको भन्ने विशेषज्ञको राय भएको वीर अस्पतालको ०४१।१०।१७ को पत्रबाट देखिएकोले अ.बं. २५ को विपरीत कागज भएको भन्न मिल्ने अवस्था नदेखिँदा लिखत पारित हुने ठहराएको डिभिजन बेञ्चको ०३९।८।२७ को इन्साफ मनासिव ठहर्छ । कोर्टफी रहेको हुँदा केही गरी रहन परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हाम्रो सहमति छ ।

 

न्या.पृथ्वी बहादुर सिंह

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल आश्विन २५ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु