शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०३५ - दर्ता बदर हक कायम

भाग: ३७ साल: २०५२ महिना: कार्तिक अंक:

निर्णय नं. ६०३५   ने.का.प. २०५२ अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने

सम्वत् २०४९ सालको दे.पु.नं. ८१२

फैसला मिति  : २०५१।१०।६।६ मा

मुद्दा : दर्ता बदर हक कायम ।

 

पुनरावेदक/वादी: ओखलढुंगा जिल्ला अधेरी नारायण स्थान गा.वि.स. वडा नं. ७ बस्ने मैयाशोभा राई ।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी: ऐ.ऐ. बस्ने गणेशबहादुर राई ।

ऐ.ऐ बस्ने भीम बहादुर  राई ।

 

    जुन बकसपत्रको आधारमा वादी हक स्थापित गर्न नापीमा जानु भएको छ सो बकसपत्र कानून बमोजिम पास भएको नदेखिदा त्यस्तोले कानुनी मान्यता पाउने स्थिति नदेखिने ।

(प्रकरण नं. १६)

    अघि बकसपत्रलाई आफ्नो अधिकारको श्रोत बनाउने वादीले हाल फिराद दिदा मूलरुपमा सो स्रोतलाई आफैंले अंगिकर नगरी अपुतालीको ६ नं. र ९ नं. लाई आधार लिई दावी गरेकोले यो वादी साँचो कुरामा चलेको रहेछ भन्ने स्थिति नदेखिने ।

(प्र.नं. १७)

पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सानुबाबु पोखरेल

विपक्षी प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री बोधरी राज पाण्डे

अवलम्बित नजिरःX

फैसला

न्या.त्रिलोकप्रताप राणाः पुनरावेदन अदालत राजविराज मुकाम ओखलढुंगाबाट मिति २०४९।३।१।३ को फैसला उपर यस अदालतमा पुनरावेदन परेको मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यस प्रकार छ ।

२.  ससुरा मानबहादुरका ४ भाइ छोरामा जेठा विपक्षी रद्रबहादुरको पिता स्वर्गीय ललितबहादुर माइला गणेश बहादुर, साइला भीमबहादुर, कान्छा मेरा पति देवीबहादुर हुनुहुन्छ उहाँहरुको अंश बण्डा २०४४ सालमा नै ससुरा मानबहादुरबाटै अंश बुझी लिनु भएको र ससुरा मानबहादुरको निमित्त अंश भन्दा धेरै घटि आफ्नो खुश गर्न पाउने गरी केही जग्गा जिउनी राखी कान्छो छोरा मेरा पति देवी बहादुर समेत त्यस अवस्थामा विदेशमा रहनु भएकोले म कान्छी बुहारी मेरा साथमा बस्नु भएको थियो यसरी अंश आफू आफूले खाने भोग्ने दर्ता नामसारी गर्ने समेत गरी सकेको र अंश बण्डा ज्यूनीमा कसैको पनि दावी विरोध नभएकोले ससुरा मानबहादुरको निमित्त ज्यूनी रहेको ता.मु. इमानसिंह राई जिम्मा तालुक भित्रको अदिमान बस्नेत दर्ता बिजन माना ।।१ को जग्गा राजीनामाबाट हक भएको पधेरो डाँडो पूर्व लालबहादुर, गणेशबहादुरका साँध उत्तर लाल बहादुर गणेशबहादुरको साँध पश्चिम भीमबहादुर समेतको खेत साँध र बाटो दक्षिण यति ४ किल्ला भित्रको डण्डेवारी भन्नेको नापीको कि.नं. ७२३ मा नाप नक्सा भएको र जितन सिंग दर्ता बिजन माना ।।१ को खेतमा सावित माटो मुरी ।४ को लालबहादुरको खेत साँध ठाडो बाटो पश्चिम मेरो पूर्व, डिल्लीरामका साँध तेर्छो बाटो दक्षिण महलीसँग जगतबहादुरका साँध उत्तर यति ४ किल्ला भित्रको सर्भे नापी कि.नं. ७६७,७६८,७६९,७७० मा नाप जाँच भएको रातमाटे खेत बारी ज्यूनी रहेको सो जग्गा हुन । ससुरा मानबहादुर म सँग बस्नु भएको र निज ससुरा जीवित रहँदा समेत पालन पोषण मैले नै गरी २०३४ सालमा कार्तिक महिनामा परलोक हुँदा समेत काज कृया सम्पूर्ण खर्च समेत मैले नै लगाई पूरान आदि दान धर्म गर्नु भएको र परलोक भएपछि पनि आफ्नो रीत अनुसार काज कृया समेत गरेको हुँदा उक्त ज्यूनीको कुनै पनि लिखत पत्र नभएकोले मुलुकी ऐन अपुतालीको ६।९ नं. को ऐन बमोजिम ज्यूनी जग्गासँग बसी पालन पोषण गरी काज कृयामा खर्च लगाउने छोरा बुहारी मेरो हक भै ०३५ साल देखि उक्त जिउनी जग्गाको मालपोत मेरै नाउँबाट चलाई तालुकदारबाट नामसारी रसिद लिई भोगी आएकोमा अपुतालीको म्यादभित्र कसैको दावी विरोध नभएबाट जग्गा निर्विवाद मेरो हक भै खाई भोगी आएको र गत २०४४ सालमा सर्भेनापी हुँदा माथि उल्लेखित ४ किल्लाभित्रको खेतवारी जग्गा मेरा नाउँमा दर्ता नाप जाँच गराई सकेपछि ७ दिने सूचनामा विपक्षीहरुले उक्त जग्गामा झगडा जनाई १ नं. नापी गोश्वाराबाट विपक्षीहरुका नाउँमा कि.नं. ७२३, ७६७।७६८,७६९ र ७७० समेत ५ कित्ता जग्गा मध्येको ३ भाग विपक्षीहरुको नाउँमा र १ भाग दर्ता गरी दिने निर्णय भएको हुँदा उक्त १ नं. नापी गोश्वाराबाट विपक्षीहरुका नाउँमा भएको अस्थायी बदर गरी पाउँ भन्ने समेत व्यहोराको ओखलढुंगा जि.अ. मा मिति २०४५।७।१६ मा मैया शोभा राइले दिएको फिरादपत्र ।

३.  प्रतिवादी मध्येका रुद्रबहादुर राई नापीमा विपक्षी मैया शोभासँग विवाद परेका भए तापनि हाल प्रतिउत्तर फिराउछन् वा म्यादै गुजारछन् प्र.मध्ये गणेशबहादुर, भीमबहादुर राई समेत हामी २ जनाको व्यहोरा यो छ कि हामी ४ भाइ छोरा मध्ये जेठा ललितबहादुर, माइला गणेशबहादुर, साइला म भीमबहादुर कान्छा विपक्षी पति देवीबहादुरको जाय जन्म भएको र पिता मानबहादुर जीवितै रहेकै अवस्थामा २०२० सालमा छुटि भएको चल अचल श्रीसम्पत्ति बराबर बण्डा लगाई घरसारी बण्डा बमोजिम आआफ्नो भागको जग्गा आआफूले भोगी चलनी लागेको मालपोत जि.मु.ता.मु. मार्फत बुझाई ०२३ सालमा भु.सु. लागू हुँदा आआफ्नो नाउँमा ७ नं. फाराम भरी पिताजीको ज्यूनी जग्गा बाहेक आआफूले भरी आएको र घरसारी बण्डापत्र गर्दा अघि अडि मान बस्नेतको नाउँमा विजन माना ।१।५ दर्ता भएको अडि मानबाट निरुद्र पोखरेलको हक भएको निजबाट डण्ड मणि पोखरेलको हक भै कर्ण बहादुर बस्नेतका साँध पूर्व, निजका साँध दक्षिण कवेले पानी उत्तर साहुकै साँध भनेको पिताजी मान बहादुरकै साँध पश्चिम ४ किल्लाभित्रको असार घरवारी र खेत पिता मानबहादुरले ओखलढुंगाबाट राजीनामा पारीत गराई लिएको जग्गा मध्येका मधेरो ठाडो बाटो पूर्वलाल बहादुर, गणेशबहादुरका साँध पश्चिम म भीमबहादुर समेतको खेत साँध र बाटो दक्षिण गणेशबहादुर लालबहादुरका साँध उत्तर यति भित्रको नापीको कि.नं. ७२३ को कित्ता १, जित्ना सिंग दर्ता भएको जाँच मायाबाट मिति २०५१।३।१२।३ मा रुम्जाटार जाने मूल बाटो मु.केशरीप्रसाद समेतका साँध पश्चिम मानविर जिमीको खेत साँध पूर्व मेरा डिल सिधा दक्षिण ठाडो गल्ली उत्तर यति ४ किल्ला भित्रको माटो मुरी ।४ तिनमहले मेठा दर्ता भएको समुच्चा कित्ता भित्रको जग्गा मानबहादुरले राजीनामा लिएको हालको कित्ता लालबहादुरको खेत साँध ठाडो बाटो पश्चिम म मेरो पूर्व डिल्ली रामका साँध तेर्छो बाटो दक्षिण, महलसिं जगतबहादुरका साँध उत्तर यति भित्रको नापीको कि.नं. ७६७,७६८ र ७७० को जग्गा कित्ता १ समेत २ कित्ता जग्गा पिताजीको ज्यूनी रहेको पिताजी बाचुन्जेल हामी दाजू भाइले पालन पोषण गरी मरी परलोक भएपछि सबैले बराबरी खर्च लगाई काजकृया गरेका हौं विपक्षी मैयासोभाले मात्र काज कृयामा खर्च लगाएको होइन, विपक्षीले अपुताली पाएको भनी ०३६।०३८।०४३ सालका रसिद पेश गरेको छन् ती रसिदहरु कीर्ते जाले रसिद पेश गरेका छन् विवादका कि.नं. ७२३, ७६८, ७६९, ७७० को जग्गा पिताको ज्यूनी रही हामीहरुले बराबरी खर्च लगाई काज कृया गरेको हुँदा उक्त विवादित जग्गा सबैको हक लाग्ने हुँदा १ नं. नापी गोश्वाराबाट भएको निर्णय सदर कायम राखी पाउँ भन्ने समेत व्यहोराको ओखलढुंगा जि.अ.मा मिति ०४५।७।१६ मा प्र.गणेशबहादुर र भीमबहादुर राई समेत २ जनाले दिएको संयुक्त प्रतिउत्तरपत्र ।

४.  शुरु जिल्ला अदालतको मिति ०४५।११।३० का आदेश बमोजिम तिरो, तिरेका रसिद वादीबाट दाखेल गर्न लगाई प्रतिवादीलाई दाखेल गर्न लगाई वादी प्रतिवादीलाई सुनाउँदा दर्ता उतार ७ नं. फारम १ नं. नापी गोश्वाराबाट मिसिल झिकाउने साक्षी बुझ्ने समेत आदेश भै बुझिएको रहेछ ।

५.  प्रतिवादीले पेश गरेका रसिदहरु देखे हेरे सो रसिदहरु जि.मु. इमान सिंह राइले प्रतिवादीलाई के कसरी दिए जिम्मावाल नै जानुन भन्ने समेत व्यहोराको वादी मैया शोभा राईले शुरु जिल्ला अदालतमा गरेको बयान ।

६.  वादीले पेश गरेको ०४४।१।११ को सक्कल रसिद सुने देखे हेरे सो रसिद कीर्ते जालसाजी के हुन निज जिम्मावाल बुझे थाह हुनेछ म जान्दिन भन्ने प्र.वा. स. भीमबहादुरले शुरु जि.अ. मा गरेको बयान ।

७.  विवादित जग्गा बाबु मानबहादुरको जिउनी रहेकोमा प्रतिवादीले पनि समर्थन गरेको र साक्षी प्रमाणबाट बाबु मानबहादुरको रेखदेख क्रिया श्राद्ध वादीले गरेको देखिएको र १ नं. नापी गोश्वाराबाट प्राप्त मिसिल साथै रहेको फारामबाट पनि फिरादीको पति देवी बहादुरको हकभोग देखिएको भनी जनि आएकोले सो जग्गामा प्रतिवादीहरुको हक भोग देखिन नआउँदा वादी दावी अनुसार ४ खण्डको १ खण्ड मात्र वादीका नाउँमा दर्ता गरी दिने भनेको नापी गोश्वाराको निर्णय मिलेको नहुँदा प्रतिवादीहरुको नाउँको दर्ता बदर गरी वादीका नाउँमा दर्ता हुने ठहर्छ भन्ने समेत शुरु ओखलढुंगा जिल्ला अदालतको मिति ०४६।८।१५ को फैसला ।

८.  शुरु इन्साफ त्रुटिपूर्ण हुँदा चित्त बुझेन विवादमा आएका जग्गाहरु वादीले मात्र एक्लौटी खान पाउने हैन, वादीले मात्र एक्लौटी खान पाउने गरी बाबुले निजलाई कुनै रजिष्टे«शन गरी बकसपत्र वा लिखत गरी दिएको नहुँदा समेत शुरुले वादीको एक्लौटी हक हुने ठहर्‍याएको निर्णय बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गणेशबहादुर राईको वारेशसमेत भै आफ्ना हकमा समेत प्रतिवादी भीमबहादुर राईले, तत्कालिन सगरमाथा अञ्चल अदालत ओखलढुंगा बेञ्चमा मिति २०४६।९।१२ मा दिएको पुनरावेदन । (साविक पेज नं. ५८०)

९.  तत्कालिन सगरमाथा अञ्चल ओखलढुंगा बेञ्चबाट शुरु इन्साफ विचारणीय हुँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाउनु भन्ने मिति ०४६।११।२२ मा भएको आदेश ।

१०.  वादी प्रतिवादीका साक्षीहरुको बकपत्रबाट मर्ने मानबहादुर वादीसँग साथमा रहेको र निजले नै काजक्रिया गरे गराएको भन्ने निर्विवाद रुपले प्रमाणित भई रहेको छैन । अपुतलीको सम्बन्धी अंश सरह स्वतः प्राप्त हुने कुरा नभई खास खास अवस्थामा मात्र प्राप्त हुने कुरा भएकोले अपुतालीको ६ नं. र ९ नं. मा व्यवस्था भए अनुरुप वादी दावी साक्षी प्रमाणबाट समर्थन हुन नआएको मान बहादुरको जिउनीको सम्पतिमा वादीको एक्लौटी हक पुग्न भन्न मिलेन । चार जना अंशियारका नाउँमा नापी दर्ता गर्ने गरेको नापीको निर्णय मिलेकै देखिँदा शुरु जिल्ला अदालतले वादीको नाउँमा मात्र दर्ता गर्ने गरी निर्णय गरेको फैसला बदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत राजविराज मुकाम ओखलढुंगाबाट मिति २०४९।३।१ मा भएको फैसला ।

११.  विपक्षीहरु र मेरा पति तथा ससुरा बीच २०२४ सालमा अंशबण्डा भै ससुरा मानबहादुरले जिउनी राखेको डण्डेवारी भन्ने सर्भे नापीको कि.नं. ७२३ मा नाप नक्सा भएको र सर्भे नापी कि.नं. ७६७, ७६८, ७६९, ७७० मा नाप जाँच भएको रातमाटे खेत वारी समेत हुन ससुरा मानबहादुर मसंग बस्नु भएको र उहाँ जीवित रहँदा मैले पालन पोषण समेत गरेको तथा २०३४ साल कार्तिकमा परलोक हुँदा सम्पूर्ण खर्च मैले लगाई काज क्रिया समेत गरेकी हुँदा उक्त जिउनी अरुलाई दिने लिखत नभएको हुँदा मु. ऐ. अपुतालीको ६ र ९ नं. बमोजिम मेरो हक भै २०३५ साल देखि उक्त जिउनी जग्गाको मालपोत मेरै नाउँबाट चलाई तालुकदारबाट जग्गा निर्वावाद मेरो हक भै भोगी आएको र २०४४ सालमा सर्भेनापी हुँदा मेरो नाउँमा दर्ता नाप जाँच गराई सकेपछि ७ दिने सूचनामा विपक्षीहरुले उक्त जग्गामा झगडा जनाई १ नं. नापी गोश्वाराबाट विपक्षीहरुका नाउँमा ५ कित्ता जग्गा मध्येको ३ भाग र मेरो नाउँमा १ भाग दर्ता गरी दिने निर्णय भएकोले विपक्षीहरुको नाउँमा भएको उक्त अस्थायी दर्ता बदर गरी मेरो नाउँमा उक्त जग्गा दर्ता हुन पर्नेमा पुनरावेदन अदालत राजविराज ओखलढुंगा मुकामबाट मलाई हराई चारै जना अंशियारका नाउँमा नापी दर्ता गर्ने गरी निर्णय भएकोले उक्त फैसला अपुतालीको ६ र ९ नं. तथा सर्वोच्च अदालतको फुलबेञ्चबाट २०३० साल नि.नं. ७४७ (ने.का.प. २०३० पृ. १७५) मा प्रतिपादित नजीर सिद्धान्त समेतको त्रुटि भएको छ । ससुरा मानबहादुर शुरु देखि अन्त्य सम्म मेरा साथ संगोलमा आफ्नो जिउनी मेरा अंशमा मिलाई बस्नु भएको र उहाँ जीवित रहे सम्म स्याहा सुसार दान धर्म पुरा लगाई दिने कार्य समेत मैले नै गरी दिएको र उहाँको अन्त्य पछि काज क्रिया गराई दिएको तथ्य हुँदा हुँदै पनि मलाई हराई भएको फैसला त्रुटिपूर्ण हुँदा मेरो वादी दावी बमोजिम ओखलढुंगा जिल्ला अदालतबाट भएको निर्णय सदर गरी पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा वादी मैयाशोभा राईले दिएको पुनरावेदन ।

१२.  जि.म.हमानसिंहले २०३६ सालको मालपोत बुझी २०३७।११।२२ मा गरी दिएको रसिदबाट जिउनी जग्गामा मैयाशोभा राईलाई जग्गाधनी देखाई निजको नाउँमा नामसारी दर्ता भएको र सो रसिदलाई अन्यथा भन्न मिल्ने देखिएन । २०३७ सालमा श्रीमती मैया शोभा राईका नाउँमा नामसारी भई सकेपछि त्यस्तो अपुताली सम्पत्तिमा अरु हामी हकवाला हो भनी ३ वर्ष नघाई २०४४ सालको नापीमा विवाद उठाएकोले ऐनले निर्धारित गरेको म्याद ३ वर्ष भित्र आफ्नो हक कायम गराएको नदेखिँदा पुनरावेदन अदालत राजविराज मुकाम ओखलढुंगाको फैसला ने.का.प. २०३० नि.नं. ७४७ पृ.सं. १७५ मा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भई इन्साफ फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउने यस अदालतको आदेश ।

१३.  नियम बमोजिम दैनिक पेशीसूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी मैया शोभा राईका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सानुबाबु पोखरेलले २०४४ सालमा छुटि भिन्न भएपछि ससुरा मानबहादुरलाई मेरो पक्षले पालन पोषण गरी आएकी हुँदा रिझाए बापत ससुराबाट रातो बारी भन्ने खेत समेत बकस पाएकी छिन्, मेरो पक्षले हक भोग गरी बाली बुझाई आएको जग्गा विपक्षी प्रतिवादीहरु समेतका नाउँमा अस्थाई दर्ता गर्ने गरी १ नं. नापी गोश्वाराबाट भएको निर्णयलाई पुनरावेदन अदालत राजविराज ओखलढुंगा मुकामबाट सदर भएको निर्णय त्रुटिपूर्ण छ । ऐनले निर्धारित गरेको म्याद भित्र अपुतालीमा आफ्नो हक कायम गराउन विपक्षी प्रतिवादीहरु नगएकोले उक्त फैसला ने.का.प. २०३० नि.नं. ७४७ पृ.सं. १७५ मा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको त्रुटि हुँदा पुनरावेदन अदालतबाट भएको फैसला बदर गरी जिल्ला अदालत ओखलढुंगाको फैसला बमोजिम गरी पाउँ भन्ने बहस प्रस्तुत गर्नु भयो । प्रतिवादीहरु गणेशबहादुर र भीमबहादुर राई तर्फबाट विद्वान अधिवक्ताहरु श्री बोधरीराज पाण्डे र श्री बाबुराम पौडेलले मेरोपक्ष समेतको बराबर भाग लाग्ने गरी २०४५ सालमा दर्ता गर्ने गरी १ नं. नापी गोश्वाराको निर्णयबाट दर्ता भएको सो दर्ता गर्ने आदि सिलसिलामा जिम्मावालालाई समेत बुझिँदा मेरा पक्षलाई निज जिम्मावाल इमानसिंहले रसिद दिएको र वादी मैया शोभालाई कसले रसिद दिएको थाह छैन भनी लेखी दिएको भएपनि वादीको समेत नाउँमा विवादित जग्गा दर्ता हुने गरी १ नं. नापी गोश्वाराबाट निर्णय भएको छ । वादीले मानबहादुरबाट लिएको भनिएको बकसपत्र कानुनी मान्यता प्राप्त छैन र सो बकसपत्रमा रहेको ल्याप्चे मानबहादुरको होइन भनी मेरो पक्षले जिल्ला अदालतमा भनेकोमा सो बुझ्ने काम पनि भएको छैन । वादीले बकसपत्र पाएको हुँदा सो अनुसार हुनु पर्दछ भनी फिराद दावी गरी अदालत प्रवेश गर्नु भएको पनि नहुँदा ओखलढुंगा जिल्ला अदालतको निर्णय बदर गरी पुनरावेदन अदालत राजविराज ओखलढुंगा मुकामबाट भएको निर्णय कानूनतः मिलेको हुँदा सदर हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१४. पुनरावेदक र प्रत्यर्थी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता कानून व्यवसायीहरुको बहस जिकिर सुनी इजलास समक्ष प्रस्तुत हुन आएको मिसिलहरु अध्ययन गरी वादी दावी पुग्ने ठहरी ओखलढुंगा जि.अ.बाट भएको निर्णय बदर गरी पुनरावेदक प्रतिवादीको माग बमोजिम हुने ठहराई पुनरावेदन अदालत राजविराज ओखलढुंगा मुकामबाट भएको इन्साफ मिले नमिलेको निर्णय दिनु पर्ने हुन आयो । यसमा ससुरा मानबहादुरको जिउनीको सम्बन्धित विवादको कि.नं. ७२३, ७६७, ७६८, ७६९, ७७० कित्ता जग्गाहरु ससुराको पालनपोषण मैले गरेको र ससुरा मरेपछि काजक्रिया समेत मैले गरेकोले अपुतालीको ६ नं. र ८ नं. बमोजिम मेरो हक भई भोगी खाई आएकोमा विपक्षी उक्त कि.नं. ७२३, ७६७, ७६८, ७६९, ७७० समेतका जग्गा मध्येको ३ भाग विपक्षीहरुको नाउँमा १ भाग मेरो नाउँमा दर्ता गरी दिने १ नं. नापी गोश्वाराले निर्णयले गरेकोले विपक्षीहरुका नाउँमा भएको अस्थायी दर्ता बदर गरी पाउँ भन्ने वादीको फिरादको मूल भनाई भएको पाइन्छ ।

१५. पिताजी मानबहादुरका हामी चार छोरा बीच अंशबण्डा भै पिताजीको जिउनीमा नापीको कि.नं. ७२३ मा नाप नक्सा भएको खेत र सर्भे नापीको कि.नं. ७६७, ७६८, ७६९ र ७७० मा नाप नक्सा भएको समेत जम्मा ५ कित्ता रहेको हो । पिताजी परलोक भएपछि विपक्षी वादीले अपुताली पाएको भनी २०३६, २०३८ र २०४३ सालको कीर्तेजाले रसिद पेश गरी सम्पूर्ण कित्ता जग्गा एकलौटी हक भन्नु भएको छ । पिताजी जीवित रहने हुँदा हामी सबैले पालनपोषण गरेको र परलोक भएपछि बराबरी खर्च लगाई काज क्रिया गरेको हुँदा विवादित जग्गा सबैको हक लाग्ने भएकोले १ नं. नापी गोश्वाराबाट भएको निर्णय सदर कायम राखी पाउ भन्ने समेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर जिकिर रहेको पाइन्छ ।

१६.  वादी मैया शोभाले १ नं. नापी गोश्वारामा निवेदन दिँदा विवादका कित्ता समेतको जग्गा ससुरा मानबहादुरले २०३२ सालको बकसपत्रबाट मलाई दिएको भनेको पाइन्छ । उस बखत नापी गोश्वारामा उजूर गर्दा अपुतालीबाट पाएको भनेको पाइन्छ । २०३२ सालको बकसपत्र हेर्दा उक्त बकस २०३२।२।१४।२ को बकसपत्रबाट दाखिल रातोवारी भन्ने खेत माटो मुरी ।४ पाएको देखिन्छ । हाल वादीले फिराद दिंदा बकसपत्र देखि बढी कित्ता जग्गाहरुलाई समेत समेटी अपुतालीबाट पाएको भन्नु हुन्छ । जुन नापी गोश्वारामा सो बमोजिम भएको पाइन्न । वादीले फिराद दिंदा आफ्नो हकको समेत नापीमा भनेको बकसलाई आधार लिएको पाइन्न । बकसपत्रको आधारमा वादी हक स्थापित गर्न नापीमा जुन भएको छ सो बकसपत्र कानून बमोजिम पास समेत भएको नदेखिँदा त्यस्तोले कानुनी मान्यता पाउने समेत स्थिति देखिन्न ।

१७. अघि बकसपत्रलाई आफ्नो अधिकारको श्रोत बनाउने वादीले हाल फिराद दिंदा मूलरुपमा सो श्रोतलाई आफैंले अंगिकार नगरी अपुतालीको ६ नं. र ९ नं. लाई आधार लिई दावी गरेकोले यो वादी साँचो कुरामा चलेको रहेछ भन्ने स्थिति देखिन्न । नापी गोश्वारामा जिम्मावाल इमान सिंह बुझिँदा वादीलाई गरी दिएको कूत बुझेको भर्पाई मैले गरी दिएको होइन । प्रतिवादीहरुलाई गरी दिएको कूत बालीको भर्पाई मैले गरिदिएको भनेको पाइन्छ । प्रतिवादीलाई गरिदिएको भर्पाई हेर्दा दामासाहीले १।१ मुरीको भर्पाई इमान सिंहले गरेको पाइन्छ । जिम्मावाल इमान सिंहले वादीको विरुद्धमा गरेको बयानलाई लिएर यी वादीले कतै उजूरबाजूर नगरी चूप लागी बसेको समेत पाइन्छ ।

१८.  वादीले अपुतालीबाट आफ्नो ससुरा मानबहादुरको जग्गा भोगी आएको सबूद प्रमाणबाट समर्थित हुन नआएको र वादी दावी प्रमाणित गर्ने भार वादीको समेत भएकोमा सो तर्फ कुनै तथ्य सबूद आउन नसकेकोले चार जना अंशियारको नाउँमा नापी दर्ता गर्ने गरेको नापीको निर्णय मिलेकै देखिँदा जिल्ला अदालत ओखलढुंगाले वादीको नाउँमा मात्र दर्ता गर्ने गरी निर्णय गरेको फैसला बदर गरेको पुनरावेदन अदालत राजविराज ओखलढुंगा मुकामको इन्साफ मुनासिब ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. नरेन्द्र बहादुर न्यौपाने

 

इतिसम्वत् २०५१ साल माघ ६ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु