निर्णय नं. २३९० - ज्यान

निर्णय नं. २३९० ने.का.प. २०४२ अङ्क ६
फुल बेञ्च
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४२ सालको फु.बे.नं. ३२
सम्वत् २०४२ सालको फौ.सा.नं. १४
मुद्दा : ज्यान ।
पुनरावेदक/प्रतिवादी: महाकाली अंचल,कन्चनपुर जिल्ला महेन्द्रनगर नगर पञ्चायत वा.नं. ७ बस्ने गोपाल जाग्री ।
विरूद्ध
प्रत्यर्थी/वादी:जयमल जाग्रीको जाहेरीले श्री ५ को सरकार ।
वादी/पक्ष:जयमल जाग्रीको जाहेरीले श्री ५ को सरकार ।
विरूद्ध
विपक्षी/प्रतिवादी : जि.कन्चनपुर महेन्द्रनगर न.पं.वा.नं. ७ बस्ने मानसिंह जाग्री ।
ऐ.ऐ बस्ने गोपाल जाग्री ।
ऐ.ऐ बस्ने मानसिंहको घरमा डेरा गरी बस्ने प्यारु धामी ।
ऐ.ऐ बस्ने बहादुर महता ।
ऐ.ऐ बस्ने पिरीलाल धामी ।
ऐ.ऐ बस्ने बुदे भन्ने राम बहादुर जाग्री ।
फैसला भएको मिति:२०४२।६।१८।६ मा
ज्यान सम्बन्धीको १३(३) बमोजिम यसको चोटबाट मरेको भन्ने नदेखिँदा सबैलाई जन्मकैदको सजायँ हुन्छ भनी गरेको इन्साफ नमिल्ने ।
(प्रकरण नं.४०)
पुनरावेदक/प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त र विद्वान अधिवक्ताहरु श्री शम्भु थापा र श्री बालकृष्ण न्यौपाने
प्रत्यर्थी/वादी तर्फवाट :विद्वान सरकारी अधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठ
उल्लेखित मुद्दाःX
फैसला
न्या.पृथ्वी बहादुर सिंहः प्रस्तुत मुद्दा मिति ०४२।१।१२।४ को डिभिजन बेञ्चबाट निर्णय हुँदा माननीय न्यायाधीशहरूको रायमा मतैक्य हुन नसकी राय बाझी निर्णयार्थ यस फुल बेञ्चमा पेश हुन आएको प्रस्तुत ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. ०३७।२।७ गते अन्दाजी राति १०।११ बजेको समयमा प्यारु धामी, पिरीलाल धामी, मानसिंह जाग्री, बुधे जाग्री, बहादुर महता, गोपाल जाग्री समेत ६ जना नभएको अवस्थामा मेरो घरमा आई छोरा रणबहादुर जाग्रीलाई बाबु खोज्न साथै लगेको भन्ने कुरा श्रीमतीले बताउँदा थाहा पाई खोज तलास गर्दा नभेटिएकोले भारत तर्फ खोज्न जाँदा वनवासा पुल पारी जान लाग्दा नहरकै आसपासमा मानिसहरूको भिड देखि हेर्न जाँदा छोराको लासलाई चिनी कञ्चनपुर अस्पतालमा ल्याएको छु मेरो श्रीमतीलाई पहिले तिनै व्यक्तिहरूले भगाई लगेको रिसइवीबाट कुटपीट गरी मुद्दा समेत चलिरहेको हुँदा तिनीहरूले नै मेरो छोरालाई मारी महाकाली नदीमा लाश फालेको पूर्ण शंका लागेकोले कारवाही गरिपाउँ भन्ने व्यहोराको जयमल जाग्रीको जाहेरी दर्खास्त ।
३. जिब्रो बाहिर निस्की ओठले च्यापेको, निधारको हड्डी कच्चाक कुचुक भएको, पेट थिच्दा पानी ननिस्केको लाश पुरै सुनिएको भन्ने समेत व्यहोराको ०३७।२।१३ को लाश प्रकृति मुचुल्का ।
४. टनकपुरबाट फर्की घर आउँदा महाकाली नदी तर्न लाग्दा मनजित तरेको र रणबहादुर डुबी मरेको कुरा सुनेको हुँ । म समेत भई रणबहादुरलाई मारी फालेको हैन भन्ने समेत गोपाल जाग्रीले प्रहरीमा गरेको कागज ।
५. रण बहादुरलाई घर गई बोलाई कर्तव्य गरी मारेको समेत कुनै कुरा होइन भन्ने प्यारु धामीको प्रहरीमा भएको कागज ।
६. टनकपुरबाट घर फर्कदा महाकाली नदीमा म तरी भाइ डुबी मरेको भन्ने कुरा झुठ्ठा हो प्यारु समेतका व्यक्तिहरूले भाइ रणबहादुरलाई मारेको हुनुपर्छ भन्ने व्यहोराको मनजीत जाग्रीको प्रहरीमा भएको कागज ।
७. मिति ०३७।२।७ गते राति १०।११ बजे प्यारु धामी, गोपाल जाग्री समेतका मानिस मेरो घरमा आई छोरा रणबहादुरसँग मुद्दा मिलापत्र गर्न पर्यो तिम्रो बाबुलाई खोज्न जाऔं भनी साथमा लिई गएकोमा गाउँघरमा फेला नपर्दा हुलाकद्वारा उजूरी दिएको र छोराको लाश महाकाली नदीमा भारततिर जाने नहरमा छ भनी सुनेको हुँ उक्त इवीवाला व्यक्तिहरूले बोलाई लगी मारी फालेका हुन् । यिनीहरू उपर पूरा शंका लाग्छ भन्ने समेत व्यहोराको ०३७।२।२४ मा मनुरीको प्रहरीमा बयान भएको कागज ।
८. भारतबाट फर्की घर आउँदा मनजीत महाकाली नदी तरी वारी आएका र रणबहादुर तर्न नसकी डुबी मरेको भन्ने कुरा मनजीतले गरेको दुकानमा भनेको थिए भन्ने कुरा सुनेको हौं रणबहादुरलाई कहाँ कसरी मार्यो थाहा छैन प्यारु धामी समेत उपर शंका लाग्दैन भन्ने समेत व्यहोराको अधिकांश सरजमीनहरूको एकैमिलानको मिति ०३७।३।२ मा भएको सरजमीन मुचुल्का । “The young adult male died of injury abour Lt.eye and strangulation.The dead body was thrown on the river after death.There was no water or fluid in the lungs” भनी कञ्चनपुर अस्पतालका सिनियर मेडिकल अधिकृतबाट लाश जाँचको रिपोर्टमा राय व्यक्त गरेको रहेछ ।
९. म र काकाको छोरा रणबहादुर टनकपुर आउँदा महाकाली नदीमा जँगार तर्न लाग्दा म पौडी खेली तरी आएँ र भाइ रणबहादुर बगी मरे हाले भनी मनजीत जाग्री तल्ला झाङमा हाफपेन्ट मात्र लगाई कुरा गरेको सुनेको हुँ भन्ने समेत व्यहोराको गोरे जाग्रीले प्रहरीमा गरेको कागज ।
१०. रन बहादुरलाई घरबाट बोलाई लगी मारी महाकाली नदीमा फालेको कुरा प्रष्ट देखिन आउने हुँदा कसको चोटबाट मर्न गएको भन्ने कुरा कतै खुल्न नआएकोले अभियुक्त प्यारु धामी समेत ६ जनालाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजायँको माग दावी लिई पर्न आएको मिति ०३७।३।५।४ को प्रहरी प्रतिवेदन ।
११. ०३६।११।२० वा २२ गते तिर जग्गा किन्न हल्दु खाल आई मिति ०३७।२।६ गते गाउँ गई ८ गते बेलुकी हल्दु खाल पुगेको हुँदा मैले रनबहादुरलाई घरबाट बोलाई लगी मारेको समेत कुनै होइन भन्ने समेत प्र.प्यारु धामीको बयान ।
१२. म ७ गते भारत मरेठ भएको व्यक्तिले म उपरको अभियोग झुठ्ठा हो रनबहादुर महाकाली नदी तर्दा डुबी मरेको भन्ने कुरा घर आएपछि सुनेको हुँ भन्ने समेत व्यहोराको मिति ०३७।३।७ मा भएको प्र.गोपाल जाग्रीको बयान ।
१३. उजेलीको कारणबाट प्यारुलाई कुटपीट गरेकोमा उजूर पर्दा पक्राउ पर्ने डरले भागी गएकोमा मनजीत र रनबहादुर टनकपुरबाट घर फर्कन महाकाली नदी तर्दा रनबहादुर डुबी मरेको सुनेको हुँ । मैले रनबहादुरलाई मारेको होइन भन्ने प्र.मानसिंह जाग्रीको बयान ।
१४. गोरु बिरामी भएर खबरले औषधी गर्न तिलचौर बस्ने मोती कार्कीलाई साथमा लिई ०३७।२।४ का दिन गई ०३७।२।११ गते घर आएको हुँदा रनबहादुरलाई ७ गते घरबाट बोलाई लगी मारेको समेत कुनै होइन भन्ने समेत व्यहोराको ०३७।४।१७ को प्र.राम बहादुरको बयान ।
१५. म हरिभक्त रानाको साथमा ०३७।१।३० गते गई ०३७।२।१५ गते बझाङबाट हिँडी ०३७।२।२१ मा तिलाचौर पुगेको हुँदा रनबहादुरलाई मारेको समेत छैन भन्ने व्यहोराको प्र.पिरीलालको बयान ।
१६. मिति ०३७।२।३ मा खसी खोज्न भनी मलासको लेकमा बास बसी डडेलधुरा तातापानी पुगी ज्येष्ठ ७ गते त्यही बसी खसी किनी ०३७।२।११ गते तिलाचौर घरमा पुगेको हुँदा रणबहादुरलाई बोलाई लगी मारी फालेको होइन जाहेरवालाको र मेरो झैझगडा भइरहने भएकोले म उपर झुठ्ठा उजूर गरेको हो भन्ने समेत व्यहोराको बहादुर महताको बयान ।
१७. ०३७।२।३ गते खसी किन्न भनी डडेलधुरा जिल्लाको तातापानीमा गएकोमा ११ गते तिलाचौर पुगेको हो बहादुर महता उपर लगाइएको आरोप झुठ्ठा हो भन्ने समेत प्र.बहादुरको साक्षी पुने गिरीको बकपत्र ।
१८. ०३७।२।७ गते करे धामी र मानसिंह जाग्री आफ्नो गाउँ जान आएकोमा रात परी सो रात मेरै घरमा बास बसी भोलिपल्ट बझाङतर्फ गएका ७ गते मेरो घरमा भएको हुँदा निज मानसिंहले ज्यान मारेको होइनन् भन्ने समेत व्यहोराको प्र.मानसिंहको साक्षी पद्म बोहराको बन्द सवाल ।
१९. जयमलको जाहेरी र निजका श्रीमती मनुरीको बयान एक मिलान नभई फरक–फरक देखिने सरजमीनका व्यक्तिहरूले प्रतिवादीहरूलाई पूर्ण सफाई दिई लेखी ( साविक पेज नं. ५५०) दिएका समेतबाट सबूद बेगर प्रतिवादीहरूले नै रणबहादुरलाई कर्तव्य गरी मारेको ठहर्याउन न्यायोचित नदेखिँदा प्रहरी प्रतिवेदन झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको ०३७।१०।९ को कञ्चनपुर जिल्ला अदालतको फैसला ।
२०. शुरू अदालतले गरेको इन्साफमा चित्तनबुझी वादी श्री ५ को सरकारले सु.पश्चिमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।
२१. जाहेरीमा देखाइएको रिसइवीका कुरा सम्म फरक परेको कारणबाट वारदात नै झुठ्ठा देखाएको भनी भन्नु कानुनसंगत नहुँदा र अभियुक्तहरूको बयान तथा निजका साक्षीहरूको बकपत्र समेत आपसमा मिले भिडेको नदेखिएकोले जिल्ला अदालतले सोही बयान तथा साक्षीको बकाईको आधार लिई अभियुक्तहरूलाई सफाई दिएको मनासिव देखिन आएन । यसैको चोटबाट मरेको भन्ने नदेखिँदा गोपाल जाग्री समेत ६ जनालाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सबैलाई जन्मकैदको सजायँ हुन्छ भनी सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको मिति ०४०।२।३१।३ को फैसला ।
२२. सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझी प्र.गोपाल जाग्रीको पुनरावेदन परेको र अन्य प्रतिवादीहरूको हकमा साधक सदरको लागि यस अदालतमा पेश हुन आएको रहेछ ।
२३. अ.बं. २०२ नं. तथा सर्वोच्च अदालतनियमावली, २०२१ बमोजिम छलफलमा उपस्थित हुन आउनु भनी म.न्या.को कार्यालयलाई सूचना दिनु भन्ने यस अदालत डिभिजन बेञ्चको मिति ०४१।४।२६ को आदेश ।
२४. मृतक रण बहादुरको मृत्यु यो यसको यस्तो परिबन्धबाट भएको भन्ने कुनै ठोस प्रमाण वादी पक्षले गुजार्न नसकेको र सबूद प्रमाणको अभावमा पुनरावेदक प्रतिवादीलाई शंकाको भरमा मात्र सजायँ गर्नु न्यायोचित नदेखिँदा पुनरावेदक प्रतिवादी गोपाल जाग्रीलाई सफाई दिने गरी गरेको कञ्चनपुर जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद गर्ने गरी गरेको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ बदर हुने ठहर्छ। पुनरावेदन परे बाहेकका अन्य प्रतिवादीहरूको हकमा अ.बं. २०५ नं. बमोजिम पुनरावेदन नपरे पनि पुनरावेदन तहबाट हेर्न मिल्ने नै हुँदा उल्लिखित बुँदा प्रमाणको आधारमा प्रतिवादी मानसिंह जाग्री, प्र.बुधे भन्ने राजबहादुर जाग्री, बहादुर महता, पिरीलाल धामी, प्यारु धामी समेतमा प्रतिवादीहरूलाई समेत शुरू जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठहरी ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ गर्ने गरेको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ बदर हुने ठहर्छ भनी माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंहको रायमा उल्लेख भएको पाइन्छ ।
२५. घटना भएको आँखाले नदेखिए तापनि वारदात हुनु अगाडि मृतकलाई लगेको देख्ने मुनरीको लेखाई भनाईको साथै परिस्थिति अन्य प्रमाण परिबन्धबाट प्रतिवादीहरूले कर्तव्य गरी मारेको परी पुष्टी हुन आएकोले अभियुक्तहरूको इन्कारी बयान साँचो रहेछ भन्न मिलेन । मर्ने रणबहादुर कर्तव्यमा परी मरेको होइन, पानीमा डुबी मरेको हो भन्ने अधिकांश सरजमीनका मानिसको बकाई लेखाइको हकमा प्रतिवादीहरूले मारी फालेकोमा शंका लाग्दैन भन्ने कुनै व्यक्तिको भनाई, मृतक रणबहादुर डुबी मरेको हो वा मारी फालेको हो जान्दिन भन्ने कुनै व्यक्तिले भनेको, कुनैले मलाई केही थाहा छैन भन्ने उल्लेख गरेकोले कुन आधारबाट शंका गरेको हो त्यो प्रष्ट बकेको पाइँदैन । यस्तो स्थितिमा डुबी मरेको भन्ने सरजमीनको बकाई कुरालाई तथ्य रूपबाट पुष्टी भएको भन्न मिल्दैन ।
२६. तसर्थ प्र.मानसिंह जाग्री, बुधे भन्ने राम बहादुर जाग्री, बहादुर महता, पिरीलाल धामी, प्यारु धामी, गोपाल जाग्री समेत ६ जनालाई प्राप्त बुँदा प्रमाणको आधारमा मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद गर्ने गरी गरेको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । प्रतिवादी गोपाल जाग्रीको पुनरावेदन जिकिर पुग्न सक्दैन भनी माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय रहेछ ।
२७. सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३(क) बमोजिम डिभिजन बेञ्चको लगत कट्टी भई फुल बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा प्र.गोपाल जाग्रीतर्फबाट विद्वान विरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्तले मृतक रणबहादुरलाई प्र.गोपाल जाग्रीले मारी फालेको भन्ने सम्बन्धमा मुनरी देवीको कथन देखि बाहेक मेरो पक्षलाई कसूरदार ठहर्याउन अरु कुनै सबूद प्रमाण छैन । जयमल र मनजीत अदालतमा उपस्थित भई बयान भएको छैन । प्र.हरूको मार्ने मनसाय रहेकोमा रातको ११।१२ बजेतिर छोरा रणबहादुरलाई बोलाएर लैजान दियो भन्न सकिन्न मेरो पक्षलाई ज्या.सं.को १३(३) बमोजिम सजायँ हुनको लागि हातहतियार छाडेको हुनुपर्छ । ज्या.सं.को १३(३) को सजायँ पाउनु पर्ने कसूर देखा पर्दैन । अतः सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ बदर गरी मेरो पक्षले सफाई पाउनु पर्छ भनी बहस गर्नुभयो ।
२८. पोष्टमार्टम रिपोर्टमा स्पेशल एक्जामिनेसन (Special Examination) मा नट डन (Not Done) लेखिएको छ, Rigor mortis र Decomposition लासमा देखा पर्दछ । दाबेर मारेको र लिगाचर मार्क, (Lagature Mark) not seen भनी लेखिएको छ । लाश Decomposition भएको अवस्थामा पानी रहँदैन । पोष्टमार्टमको रिपोर्टलाई आधार लिई प्रस्तुत ज्यान मुद्दा उठाइएको हो । मृतक रण बहादुरलाई मारेको ठाउँसम्म कतै कहीं उल्लेख भएको नभएबाट मेरो पक्षले रण बहादुरलाई कर्तव्य गरी मारी नदीमा फालेको भन्ने कुरा कुनै सबूद प्रमाण समेत वादी पक्षबाट गुजार्न नसकेकोबाट मेरो पक्षले सफाई पाउनु पर्छ भनी प्र.गोपाल जाग्रीको तर्फबाट विद्वान अधिवक्ता श्री शम्भु थापाले बहस गर्नु भयो ।
२९. मृतक रण बहादुरको घाँटीमा जुत्ता झुण्ड्याएको देखिएबाट निज रण बहादुर महाकाली नदी तर्दा मर्न गएको देखिन गई मेरो पक्ष ज्यानसम्बन्धीको १३(३) को सजायँ पाउनु पर्ने नभई सफाई पाउनु पर्छ भनी प्र.गोपाल जाग्रीको तर्फबाट विद्वान अधिवक्ता बालकृष्ण न्यौपानेले बहस गर्नुभयो ।
३०. मनजितले रण बहादुर नदीमा मरेको कुरा झुठ्ठा हो भनी बयान गरेको र प्र.गोपाल जाग्रीको साक्षी धनबहादुर र नारायण नेगीको बयान गोपाल जाग्रीको बयान मेल खाँदैन। यदि रण बहादुर डुबेर मरेको भए हार गुहार हुनुपर्ने सो केही भएको देखिँदैन । पोष्टमार्टम रिपोर्टमा मृतकको फोक्सोमा पानी अथवा तरल पदार्थ छैन भनी उल्लेख गरेबाट डुबेर मरेको भन्न सकिने स्थिति देखा नपरेकोले कर्तव्य गरी मारी फालेको कुरा परिस्थति जन्य प्रमाणहरूबाट देखिन आउँदा प्र.हरूलाई ज्या.सं.को १३(३) बमोजिमको सजायँ गर्ने गरेको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालत को इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय मनासिव छ भनी वादी श्री ५ को सरकारको तर्फबाट विद्वान अधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठले गर्नु भएको बहस समेत सुनियो ।
३१. प्रस्तुत ज्यान मुद्दामा दुबै पक्षका कानुन व्यवसायीहरूले मिति ०४२।५।११।३ मा गर्नु भएको बहसहरू समेत सुनी आज निर्णय गर्नु पर्ने तारिख तोकिएको हुँदा यसमा डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूबाट भएको राय मनासिव छ छैन भन्ने निर्णय दिनु परेको छ ।
३२. यसमा म घरमा ०३७।२।२८ गते आउँदा छोरा रण बहादुरलाई घरमा नदेख्दा ०३७।२।७ गते प्यार धामी, बहादुर महता, राम बहादुर जाग्री, मानसिंह जाग्री समेतले छोरा रण बहादुरलाई कुट्दै महाकाली किनारमा लगेको भन्ने कुरा सुनेकोले अन्यायीहरूले मारे वा कहीं बाँधी राखेका छन् पत्ता लगाई पाउँ भनी मृतकको बाबु जयमलले मिति ०३७।२।१० मा गरेको जाहेरी दर्खास्तमा उल्लेख गरेको छ । मानसिंह जाग्री १, पिरीलाल धामी १, बुधे जाग्री १, बहादुर महता १, गोपाल जाग्री १ समेत ६ जनाले मिति ०३७।२।७ गते राति अन्दाजी १०।११ बजेको समयमा म घरमा नभएको अवस्थामा छोरा रण बहादुरलाई लगी गएका छन् भनी श्रीमतीले मलाई ०३७।२।८ मा भनेकोले थाहा पाई घरमा छोरा नदेख्दा बनबासाको पुलमा खोज्न जाँदा नहरमा छोराको लाश चिनी कञ्चनपुर अस्पतालमा राखेको छु उपरोक्त अभियुक्तले मारी महाकाली नदीमा फालेकोमा पूर्ण शङ्का लागेकोले अन्यायी उपर कानुनी कारवाही गरिपाउँ भन्ने निजै मृतक रण बहादुरको बाबु जयमल जाग्रीको मिति ०३७।२।१२ को दोश्रो जाहेरी दर्खास्तमा उल्लेख गरेको छ । अघिल्लो जाहेरी दर्खास्तमा ४ जना अभियुक्तको नाम उल्लेख गरेकोमा गोपाल जाग्रीको नाम छैन ।
३३. सरजमीनमा किसने बोहरासमेतका अधिकांश सरजमीनका व्यक्तिहरूले मृतक रण बहादुर महाकाली नदी तर्दा बगेर मृत्यु भएको होला भनी मिति ०३७।३।२ को सरजमीन मुचुल्कामा उल्लेख गरेको पाइन्छ ।
३४. प्यारु धामी समेत ६ जना मध्ये यसैको चोट पीरबाट रण बहादुर जाग्री मरेको भन्ने खुल्न नआएकोले ज्यानसम्बन्धीको १३ नं. बमोजिम कसूरदार देखिएका प्यारु धामी समेत ६ जनालाई सोही ऐनको १३(३) बमोजिम सजायँको माग दावी प्रहरीको प्रतिवेदनबाट देखिए तापनि यस व्यक्तिले यस ठाउँमा हानी मारी फालेको भन्ने कुरा देखिन आउँदैन ।
३५. छोरालाई जाहेरीमा लेखिएका व्यक्तिहरूले घरबाट बोलाई लगी मारी महाकाली नदीमा फालेका हुन् यिनीहरू उपर मेरो पूर्ण विश्वास लाग्छ भनी प्रहरीमा बयान गरेको र मिति ०३७।२।१२ गते महाकाली नदीको पुलको छेउमा छोराको लाश पाएको, छोरालाई क–कसले हिर्कायो मलाई थाहा छैन भनी अदालतमा श्रीमती मुनरीले बयान गरेको देखिन्छ ।
३६. प्र.गोपाल जाग्रीको साक्षी नारायण नेगी र धनबहादुरले समेत मृतक रण बहादुर महाकाली नदीमा बगेको भनी सुनेको भनी जिल्ला अदालतमा बयान गरेको देखिन्छ ।
३७. भारत टनकपुरबाट फर्कदा महाकाली नदीमा तरी आउन लाग्दा आउन नसकी डुबेर मरेको भन्ने कुरा नारायण नेगी र धनबहादुर सिंबाट सुनेको हुँ जोहरवालाको छोरालाई कर्तव्य गरी मारेको हैन भनी गोपाल जाग्रीले अदालतमा इन्कारी बयान गरेको र प्र.मानसिं जाग्री, प्र.बुधे भन्ने राम बहादुर जाग्री, प्र.पिरीलाल धामी, प्र.बहादुर महता र प्यारु धामीले समेत अदालतमा इन्कारी बयान गरेको पाइन्छ ।
३८. जाहेरवाला जयमल जाग्री अदालतमा उपस्थित भई जाहेरवाला जयमल जाग्रीले जाहेरी दर्खास्तलाई पुष्ट्याई हुने गरी बकपत्र समेत गरेको छैन । आरोपित प्रतिवादीहरू वारदात मिति समयमा वारदात स्थलमा नभई अन्यत्र भएको कुरा प्र.हरूले अदालतमा बयान गरेको देखिन्छ । मृतक रण बहादुरको मृत्यु यो यस्तो परिबन्धबाट भएको भन्ने कुनै ठोस प्रमाण वादीले गुजार्न सकेको देखिँदैन ।
३९. घरबाट बोलाई लगी गोपाल जाग्री समेतका ६ जनाले छोरा रण बहादुरलाई मारी महाकाली नदीमा फालेकोमा पूर्ण विश्वास लाग्छ भनी प्रहरीमा जाहेरवालाको श्रीमती मनुरीले बयान गरेको छ भने कस कसले हिर्काई मारेको हो मलाई थाहा छैन भनी अदालतमा मनुरीले बयान गरेकोबाट पनि मृतक रण बहादुरको मृत्यु गोपाल जाग्री समेतको ६ जनाबाट नै भएको भनी यकीन गर्न कुनै कतैबाट पनि वादी पक्षले प्रमाण गुजार्न सकेको नदेखिएको हुँदा सबूद प्रमाणको अभावमा पु.प्र.वादीलाई शंकाको भरमा मात्र सजायँ गर्दा उचित न्याय पर्न गएको देखिँदैन शंकाको सुविधा प्रतिवादीहरूले पाउने देखिन्छ ।
४०. पोष्टमार्टम रिपोर्ट, लाश प्रकृति मुचुल्काबाट मृतक रण बहादुरको मृत्यु कर्तव्यबाट भएको देखिन्छ, तर प्र.हरू समेतले यो यस ठाउँमा यो यो हतियार प्रयोग गरी मारेको भन्ने कुरा कतैबाट खुल्न नआएबाट ज्यानसम्बन्धीको १३(३) बमोजिम यसको चोटबाट मरेको भन्ने नदेखिँदा सबैलाई जन्मकैदको सजायँ हुन्छ भनी सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ नमिलेकोले उल्लिखित बुँदा प्रमाणको आधारमा प्र.मानसिंह जाग्री, बुधे भन्ने राम बहादुर जाग्री, बहादुर महता, पिरीलाल धामी, प्यारु धामी समेतका प्रतिवादीहरूलाई शुरू जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठहराई गरेको माननीय न्यायाधीश बब्बर प्रसाद सिंहको राय सदर हुने ठहर्छ । साधकको लगत कट्टा गरी तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम सुदूर पश्चिमाञ्चलक्षे.अ.ले गरेको इन्साफ मिलेको नदेखिँदा यस अदालतका माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंहको राय मनासिव ठहर प्रतिवादी मानसिंह जाग्री, प्र.बुधे भन्ने राम बहादुर जाग्री, प्र.बहादुर महता, प्र.पिरीलाल धामी, प्र.प्यास धामी, प्र.गोपाल जाग्रीले सफाई पाउने निर्णय भएको हुँदा यस मुद्दा बाहेक अन्य मुद्दामा निज प्र.हरूलाई थुनामा राख्न नपरे अविलम्ब कारगारबाट मुक्त गरिदिनु भनी सम्बन्धित कारागारमा सूचना गइसकेकोले ज्यानसम्बन्धीको १३(३) बमोजिम यसको चोटबाट मरेको भन्ने नदेखिँदा सबैलाई जन्मकैदको सजायँ हुन्छ भनी कञ्चनपुर जि.अ.तमा लगत कस्न सुदूर पश्चिमाञ्चलक्षे.अ.ले मिति ०४०।२।३१ मा लेखी पठाउने गरेको देहायका प्र.हरूको लगत कट्टी गरिदिनु भनी शुरू कञ्चनपुर जि.अ.तलाई लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु
प्र.मानसिंह जाग्री जन्मकैद १
प्र.बुधे भन्ने राम बहादुर जाग्री जन्मकैद १
प्र.बहादुर महता जन्मकैद १
प्र.पिरीलाल धामी जन्मकैद १
प्र.प्यास धामी जन्मकैद १
प्र.गोपाल जाग्री जन्मकैद १
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.हरगोविन्द सिंह प्रधान
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल आश्विन १८ गते रोज ६ शुभम् ।