निर्णय नं. २३९१ - क्षतिपूर्ति

निर्णय नं. २३९१ ने.का.प. २०४२ अङ्क ६
डिभिजन बेञ्च
सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४१ सालको दे.पु.नं. ७१६
मुद्दा : क्षतिपूर्ति ।
पुनरावेदक/वादी:का.जि.का.न.पं.वडा नं. ९ बत्तिसपुतली बस्ने रामहरि शर्मा ।
ऐ. वडा नं. ३१ लगनटोल बस्ने कृष्ण प्रसाद रिमाल ।
विरूद्ध
विपक्षी/प्रतिवादी: का.जि.का.न.पं.वडा नं.९ वत्तिसपुतली बस्ने टेक बहादुर रायमाझी ।
ऐ.वडा नं. ३२ डिल्लीवजार बस्ने टंकनाथ उप्रेती ।
जि.मोरङ विराटनगर घर भै हाल का.जि.का.न.पं. वडा नं. २० वानेश्वर बस्ने मदन बहादुर कार्की।
फैसला भएको मिति:२०४२।५।९।१ मा
स्थापित भएको मिल प्रा.लि.बन्द भई क्षतिभएकोमा मिलकै क्षति भएको भन्नु पर्ने ।
(प्रकरण नं.१४)
मैदा मिल प्रा.लि.बन्द हुँदा भएको क्षतिमा मिलले नै उजूर गर्नु पर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा कम्पनी ऐन, २०२१ को दफा ७ को उपदफा (२) अनुसार मिल प्रा.लि.तर्फबाट क्षतिपूर्तिमा दावी गरी नालिश परेको देखिँदैन, मैदा मिल प्रा.लि.तर्फबाट दावी गरी फिराद नपरेकोमा वादीहरूको फिराद दावी अ.बं. ८२ नं. ले हकदैया पुग्ने देखिएन ।
(प्रकरण नं.१४)
पुनरावेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली
विपक्षी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त
उल्लेखित मुद्दाःX
फैसला
का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :
२. विपक्षीहरूले ०३०।३।२२ मा देखि मिल कब्जा गरी ०३४।८।९ मा मात्र साँचो दिएबाट ४ वर्ष ४ महिना ८ दिन सो मिलबाट उपार्जन गर्ने आयस्ता क्षति भएकोले ०३०।३।२२ को सूचना बमोजिमको माल सामानहरू हिनामिना गरी साँचो बुझाई दिएका हुँदा म समेतको निम्न माल सामान विपक्षीहरूले खाई खर्च गरी क्षति पुर्याई दिनु भएकोले जम्मा रु. ८०५९०२। मध्ये ४ खण्डको १ खण्ड हाम्रो हिस्सामा पर्न आउने रु. २०१४७५।५० विपक्षीहरू जवान ७ बाट दामासाहीले क्षतिपूर्ति दिलाई पाउँ भन्ने समेत फिरादपत्र ।
३. एउटै कम्पनीको प्रत्येक शेयर होल्डरले कम्पनीका सम्बन्धमा आफ्नो हक देखाई पटक–पटक क्षतिपूर्ति दावी गर्न पाउने कानुनी आधार छैन । फिराद दावा खारेज हुनु पर्दछ भन्ने समेत प्र.बालकृष्ण श्रेष्ठ समेत जवान ५ को संयुक्त प्रतिउत्तरपत्र ।
४. वादीले जुन ऐनअन्तर्गत फिराद दावी गरेको हो सो ऐनअन्तर्गत मुद्दा दायर रहनसक्ने र म्याद नाघी सकेको हुँदा फिराददावी खारेज गरिपाउँ भन्नेसमेत टेकनाथ उप्रेती र मदनबहादुर कार्कीसमेतको छुट्टाछुट्टै प्रतिउत्तर ।
५. नागरिक अधिकार ऐन संशोधन सहित, ०१२ को दफा १७ को उपदफा ३ ले क्षतिपूर्ति बारे नालेश गर्ने अधिकारक्षेत्र सम्बन्धित अदालत तोकी दिएबाट ऐनले यो मुद्दा हेर्ने अधिकार र तोकेका शुरू जि.अ.मा पठाई दिन पर्ने ठहर्छ भन्ने बा.अं.अ.का ०३७।२।२७ को फैसला ।
६. दे.मि.नं.१४०४ को क्षतिपूर्ति दिलाइपाउँ भन्नेमुद्दामा आजैभएको निर्णयकोआधारमा दावीबमोजिम प्रतिवादी हरूबाट क्षतिपूर्तिको रकम दिलाई भराई पाउने ठहर्छ भन्ने समेत का.जि.अ.को ०३७।९।३० को फैसला ।
७. सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी टेक बहादुर रायमाझी समेत र टंकनाथ उप्रेतीको मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
८. बा.अं.अ.ले आफ्नो क्षेत्राधिकार भित्रको मुद्दा जि.अ.को अधिकारक्षेत्र भित्रको सारेको आधारमा जि.अ.ले अधिकारक्षेत्र ग्रहण गरी गरेको फैसला कानुन विपरीत देखिँदा बदर हुन्छ । बा.अं.अ.ले नै क्षेत्राधिकार ग्रहण गरी इन्साफ गर्न बा.अं.अ.मा पठाउने भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको ०३८।१२।१५ को फैसला ।
९. ४ खण्डको १ खण्ड रु. १७०८५०।५० वादीले प्रतिवादीबाट दामासाहीले भरी पाउने ठहर्छ भन्ने समेत बा.अं.अ.को ०३९।४।२५ को फैसला ।
१०. सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी टेक बहादुर रायमाझी समेतको पुनरावेदन पत्र ।
११. कम्पनी ऐन, २०२१ को दफा ७(२) को रीत पुगी दुर्गा मैदा मिल प्रा.लि.तर्फबाट फिराद दायर भएको नदेखिँदा अ.बं.८२ नं. बमोजिम हकदैया नभएका व्यक्ति रामहरि शर्मा र कृष्ण प्रसाद रिमालको फिराद दावी खारेज हुने ठहर्छ । इन्साफ गरेको बा.अं.अ.को फैसला बदर हुनेठहर्छ भन्नेसमेत मध्यमान्चल क्षेत्रीय अदालतको ०४०।७।२५।६ को फैसला ।
१२. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा नागरिक ऐन, २०१२ को दफा १७ अन्तर्गत परेकोमा खारेज गरेकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४०।११।१८ को आदेश ।
१३. पुनरावेदक तर्फबाट रहनुभएका विरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवालीले विपक्षीहरूले मिल कब्जा गरी पुनरावेदकलाई क्षति पुर्याएको छ । यस्तोमा कम्पनी तर्फबाट नालिश नपरेको भन्न मिल्दैन । कम्पनीको शेर होल्डहरूले दावी गरी नालेश गरेको हो । यस्तोमा खारेज गरेको मिलेको छैन । मध्यमान्चल क्षेत्रीय अदालतको फैसला बदर हुनुपर्छ भन्ने र विपक्षी तर्फबाट रहनुभएका विद्वान विरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्तले दुर्गा मैदा मिल कम्पनी ऐन अन्तर्गत स्थापित मिल हो । मिल बन्द भई क्षति हुन गएकोमा मिल तर्फबाट वादी दावी गरी फिराद परेको छैन । मिलको क्षति भएकोमा शेयर होल्डरको नालिशबाट इन्साफ गर्न मिल्दैन । खारेज गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
१४. यसमा निर्णयतर्फ हेर्दा दुर्गा मैदा मिल प्रा.लि.कम्पनी ऐन, २०२१ अन्तर्गत स्थापित सोही कम्पनी ऐन, ०२१ को दफा ७ अनुसार एक संगठित संस्था भन्ने कुरामा विवाद देखिँदैन । त्यसरी स्थापित भएको दुर्गा मैदा मिल प्रा.लि.बन्द भई क्षति भएको मिलकै क्षति भन्नु पर्ने हुन्छ । दुर्गा मैदा मिलमा विपक्षीहरूले जबरजस्ती कब्जा गरी क्षति पुर्याई दिएकोले क्षतिपूर्ति दिलाई पाउँ भन्ने मुख्य वादी दावी देखिन्छ । दुर्गा मैदा मिल प्रा.लि.बन्द हुँदा भएको क्षतिमा मिलले नै उजूर गर्नुपर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा कम्पनी ऐन, २०२१ को दफा ७ को उपदफा (२) अनुसार मिल प्रा.लि.तर्फबाट क्षतिपूर्तिमा दावी गरी नालिश परेको देखिँदैन । दुर्गा मैदा मिल प्रा.लि.तर्फबाट दावी गरी फिराद नपरेकोमा वादीहरूको फिराद दावी अ.बं. ८२ नं. ले हकदैया पुग्ने देखिएन । तसर्थ वादीको फिराद दावी खारेज गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४२ साल भाद्र ९ गते रोज १ शुभम् ।