शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३९५ - लेनदेन

भाग: २७ साल: २०४२ महिना: असोज अंक:

निर्णय नं. २३९५    ने.का.प. २०४२      अङ्क ६

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४० सालको दे.पु.नं. ६१०

मुद्दा : लेनदेन ।

 

पुनरावेदक/वादी:जिल्ला सप्तरी गा.पं.मारदह वडा नं. ४ बस्ने सतनी यादवनी मरी मु.स.गर्ने ऐ. बस्ने मुगा लाल यादव ।

विरूद्ध

विपक्षी/प्रतिवादी:जिल्ला सप्तरी राजविराज न.पं.वडा नं. १ बस्ने मानमल कावरा ।

फैसला भएको मिति:२०४२।६।१०।५ मा

     आधारभूत सबूद प्रमाणको अभावमा लिखत सद्दे भन्न नमिल्ने ।

(प्रकरण नं.१७)

पुनरावेदक वादी तर्फबाटःX

विपक्षी प्रतिवादी तर्फबाट:विद्वान विरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त

उल्लेखित मुद्दाःX

फैसला

न्या.धनेन्द्र बहादुर सिंहः पूर्वान्चल क्षेत्रीय अदालतको मिति २०४०।३।१२ को निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    विपक्षीले मसँग रु. ५१,०००। बुझी सो वापत आफ्ना नाममा दर्ता रहेको जिल्ला सप्तरी राजविराज न.पं.वडा नं. १ को प्लट नं. ७ को ०७ मध्ये पश्चिम तर्फबाट ज.वि. ०१० र सो जग्गामा भएको मकान समेत मलाई बिक्री गरी २०३४ सालमा राजीनामा लेखिदिएकोमा म्यादभित्र पारित नगरिदिएकोमा लिखत कपाली हुन गएबाट साँवा ब्याज माग्दा नदिएकाले प्रतिवादीसँग मेरो हुने सावाँ रु. ५१,०००। र लिखत मिति देखि आजसम्म वर्ष २।५।१० को १० का दरले हुने ब्याज रु. १२,४६६।६६ समेत जम्मा  रु. ६३,४६६।६६ समेत दिलाई भराई पाउँ भन्ने फिरादपत्र ।

३.    वादीसँग मेरो कुनै लेनदेन कारोबार भएकै छैन । वादीसँग भएको दुबै प्रति लिखत झिकाई मलाई देखाए सुनाएका बखत नामाकरण गरी यकीन गर्नेछु भन्ने समेत प्रतिउत्तरपत्र ।

४.    वादीबाट दाखिल भएको मिति २०३४।९।२६ को रु. ५१,०००। को लिखत देखे यसमा लागेको लेखात्मक सहिछाप समेत मेरो होइन । दुबै प्रति मैले गरिदिएको होइन लिखत कीर्ते हो भन्ने समेत प्रतिवादी मानमल कावराको मिति २०३७।८।४ को बयान ।

५.    प्रतिवादीले गरेको बयान झुठ्ठा हो । लिखतमा लागेको सहिछाप प्रतिवादीकै हो निजले नै गरिदिएको हुँदा लिखत सद्दे हो कीर्ते होइन, भन्ने समेत वादी वा.हरि बहादुर पाण्डेको बयान ।

६.    धनी सतनी यादवनी ऋणी मानमल कावरा भएको मिति २०३४।९।२६ रु. ५१,०००। को सक्कल लिखत देखे यसमा लागेको छापहरू हाम्रो हो । ऋणीले हामीहरूको सामुन्नेमा रूपैयाँ लिई राजीखुशीबाट लिखत गरिदिएका र साक्षी बस्न भनेबाट बसेको हो, भन्ने समेत सुविलाल यादव, प्रतिवादी सुरेतलाल प्रतिवादी उचितनारायण समेतको वा.हरि बहादुरको मिति २०३७।१०।२१ को बयान ।

७.    विवादास्पद लिखतको दस्तखतको तुलनामा प्रतिवादीले अदालतको रोहवरमा गरेको दस्तखतसँग मिल्न नआएको देखिएको र विशेषज्ञले राय गरेको राय मनासिव देखिएकोले प्रस्तुत दावी लिखत सद्दे नभई कीर्ते लिखत ठहर्छ भन्ने समेत सप्तरी जिल्ला अदालतको मिति ०३८।११।२५ को फैसला ।

८.    सप्तरी जिल्ला अदालतको इन्साफमा चित्त बुझेन इन्साफ पाउँ भन्ने समेत मुगालाल यादवको पूर्वान्चल क्षेत्रीय अदालतमा पुनरावेदन ।

९.    विशेषज्ञको राय लिएकोमा विवादास्पद ल्याप्चे सहिछाप रेखा प्रष्ट नभएकोले जाँच गर्न नमिल्ने विवादास्पद दस्तखत सही मानमल कावराका होइनन् भन्ने राय दिएको र लिखत सद्दे साँचो नै हो भन्ने भरपर्दो प्रमाण नहुँदा लिखत कीर्ते ठहराएको शुरू इन्साफ मनासिव ठहर्छ भन्ने समेत पूर्वान्चल क्षेत्रीय अदालतको मिति २०४०।३।१२ को फैसला ।

१०.    विवादको लिखत सद्दे साँचो हो लिखतका साक्षीहरूको किटानीसाथ बकपत्रबाट पनि लिखत सद्दे भएको प्रमाणित भएकै छ । विशेषज्ञको रायलाई जबसम्म विशेषज्ञलाई अदालतमा उपस्थित गराई बकपत्र र जिरह गर्ने मौका दिइन्न तबसम्म प्रमाणमा लिन मिल्ने होइन । देखि जान्ने साक्षीको बकपत्र लिखत प्रमाणलाई मूल्याङ्कन नै नगरी ध्यानै नदिई विवादित लिखत कीर्ते ठहराएको पूर्वान्चल क्षेत्रीय अदालतको मिति २०४०।३।१२ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, , ५४ लगायत अ.बं. १८४(क) १८५ र १८९ नं. को समेत प्रत्यक्ष त्रुटि हुन गएकाले पुनरावेदन अनुमति प्रदान गरी इन्साफ पाउँ भन्ने मुगालाल यादवको मिति २०४०।६।२ को निवेदन ।

११.    लिखतका साक्षीहरूको बकपत्रको मूल्याङ्कन नै नगरी गरेको पूर्वान्चल क्षेत्रीय अदालतको मिति २०४०।३।१२ को निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ५४ तथा अ.बं. १८५ नं. को त्रुटि विद्यमान देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ, भन्ने यस अदालत डिभिजन बेञ्चको मिति २०४०।११।२६ को आदेश ।

१२.   पुनरावेदकको वा.भागवत यादव पुकार गर्दा उपस्थित नभएको र प्रत्यर्थीतर्फबाट रहनुभएका विद्वान विरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्तले विवादित लिखत मेरो पक्ष प्रतिवादीले गरिदिनु भएको होइन । लिखतमा लागेका ल्याप्चे सहिछापहरू प्रतिवादी मानमलका होइनन् सहिछाप लिखत कीर्ते हो जुन कुरा साक्षी प्रमाण तथा विशेषज्ञलाई जाँच गराउँदा समेत  कीर्ते प्रमाणित आएको हुँदा विवादित लिखत कीर्ते ठहराएको शुरू इन्साफ सदर गरेको पूर्वान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको हुँदा सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

१३.   पूर्वान्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के छ ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

१४.   यसमा निर्णयतर्फ हेर्दा वादी दावीको विवादित लिखत सद्दे कीर्तेमा सुनाउँदा प्रतिवादीले उक्त लिखतमा लागेको दस्तखत सहिछाप मेरो होइन लिखत मैले गरिदिएको होइन छाप दस्तखत लिखत कीर्ते हो भनी बयान गरेको पाइन्छ ।

१५.   विवादित लिखतको छाप दस्तखत सही र अदालतबाट लिइएको प्रतिवादी मानमल कावराको दस्तखत सही विशेषज्ञ कहाँ जाँच गर्न पठाएकोमा विवादित लिखतको सहिछाप रेखाहरू प्रष्ट नभएको हुँदा जाँच गर्न नमिल्ने र विवादास्पद दस्तखत सहीहरू निज मानमल कावराद्वारा लेखिएको सद्दे दस्तखत सहीछापहरू होइनन् भनी विशेषज्ञबाट मिति २०३९।९।१० मा राय व्यक्त गरी पठाएको देखिन्छ ।

१६.    रेखा तथा लेखा विशेषज्ञलाई यस अदालतबाट उपस्थित गराई जिरह समेत गरी बकपत्र गराउँदा पनि आफूले लिखतको सहीछापहरू जाँची मिति २०३८।९।१० मा दिएको रायलाई समर्थन गरी सनाखत बकपत्र गरेको पाइन्छ ।

१७.   विवादित राजीनामा लिखतमा लागेका सहीछापहरू र लिखत सद्दे नै हो भन्ने भरपर्दो आधारभूत अन्य सबूद प्रमाण वादीबाट पेश दाखिल हुन सकेको छैन । यस स्थितिमा आधारभूत सबूद प्रमाणको अभावमा लिखत सद्दे भन्न मिलेन । अतः लिखत कीर्ते ठहराएको शुरू सप्तरी जिल्ला अदालतको इन्साफ सदर गरेको पूर्वान्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको पूर्वान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४२ साल आश्विन १० गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु