शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०४० - हक कायम लेखत बदर दर्ता बदर दर्ता

भाग: ३७ साल: २०५२ महिना: कार्तिक अंक:

निर्णय नं. ६०४०   ने.का.प. २०५२ अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने

सम्वत् २०४८ सालको दे.पु.नं. ४१०

फैसला मिति  : २०५२।२।८।२

मुद्दा : हक कायम लेखत बदर दर्ता बदर दर्ता ।

 

पुनरावेदक/प्रतिवादी: जि.सप्तरी गा.वि.स. हर्दिया वडा नं. ४ बस्ने बच्चेलाल चौधरी ।

विरुद्ध

प्रत्यर्थी/वादी: ऐ.ऐ. बस्ने रविलाल चौधरी ।

 

    अंश मुद्दामा अंशियारका नाउमा कायम रहेको सम्पत्ति मात्र बण्डा लाग्ने हुन्छ र सोही सम्पत्तिको तायदाती दिएको मात्र सदर कायम रहन सक्ने ।

 (प्रकरण नं. १५)

    आफ्नो हक जिम्मामा नरहेको र दर्ता नै राजीनामाबाट अरुको कायम भई आफ्नो हक जिम्मा र दर्ता टुटी सकेपछि त्यस्तो सम्पत्तिलाई तायदातीमा देखाई बण्डा हुने गरी भएको फैसलाले राजीनामा गरी लिने बच्चेलालको हकमा अंश मुद्दाको निर्णयको विषय हुन नसक्ने ।

(प्रकरण नं. १५)

    प्रस्तुत मुद्दाको विषय लिखत बदर रहेको र अंश मुद्दा पर्नु पूर्वको मुद्दा भएको र अंश मुद्दामा पुनरावेदक प्रतिवादी पक्ष नरहेको अवस्थामा निजको हक जान सक्ने अवस्था नदेखिने ।

(प्रकरण नं. १५)

    बकसपत्रबाट पाएको जग्गा सगोलको सम्पत्तिबाट बढे बढाएको हो भन्ने कुराको प्रमाण कुनै गुजार्न सकेको देखिएन । यस अवस्थामा अंशबण्डाको १८ नं. ले बकसपत्र पाएको जग्गा भोली चौधरी र लगत वतियाको निजी आर्जनको सम्पत्ति मान्नु पर्ने र त्यस्तो सम्पत्ति आफूखुश गर्न पाउने ।

 (प्रकरण नं. १५)

पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री सतीशकृष्ण खरेल

प्रत्यर्थी वादी  तर्फबाटःX

अवलम्बित नजिरःX

फैसला

न्या.केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन यसै अदालतको अधिकार क्षेत्र भित्रको भएकाले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.  म वादीले स्वास्नी कालगतिले अघि नै परलोक भएकोले २०४४ साल माघ महिनामा अर्को विवाह गरी एक मात्र भान्सामा नमिल्ने भएकोले अचल सम्पत्ति साफ सगोलमै राखी आयस्ता वाडी खाने गरी २०४४।११।१५ मा भिन्द भाग भै भिन्दै घर बनाई गुजर बसर चलाई आएको छु । छोरा बुहारीले तपाईको हक अंशको जग्गाहरु समेत बिक्री गरी लिएको छ भनी प्रमाणका मानिसहरुले भन्दा मिति २०४५।३।१५ गतेमा र मिति २०४५।३।१९ गतेमा स.मा.पो.का. बाट पारीत राजीनामाहरुको प्रमाणित नक्कल लिई हेर्दा थाहा पाएको छु । एकाघर संगका अंशियार सबै साक्षी बसेको वा निजहरुले मञ्जुरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्छ भनी लेनदेन व्यवहार महलको १० नं. मा कानूनी व्यवस्था रहे भएकोले त्यस अवस्थामा छोराबुहारीले मेरो मञ्जुरी नलिई कानुन विरुद्ध मेरो हक अंशको जग्गा समेत बिक्री गरी दिएकोले अन्याय मर्कामा परी कानुनको शरण लिई लेनदेन व्यवहार महलको १० नं. बमोजिम फिराद गर्न आएको छु । प्रतिवादीहरुलाई यस अदालतबाट झिकाई म सँग जोडी मेरो तपसीलको साक्षी प्रमाणहरु बुझी प्रतिवादी छोरा बुहारीले मेरो हक अंशको जग्गा समेत बिक्री गरी दिएकोले गा.पं. हर्दिया वडा नं. ४ कि.नं. २७५ के ०० जग्गा मध्ये आधी ०१० र ऐ.ऐ. कि.नं. २५५ के ०१० जग्गा मध्ये आधी ०१५ र ऐ.ऐ. वडा नं. ७ख कि.नं. ४४ के ०१०९ मध्ये आधी ०४.१/२ जग्गा र ऐ.ऐ. वडा नं. ४ कित्ता नं. १९२ के. ०१२ जग्गा मध्ये आधी ०१६ र ऐ.ऐ. कि.नं. २३४ के. ०९ मध्ये आधी ०१४.१/२ जग्गा र ऐ.ऐ. कि.नं. २३५ के. ०९ मध्ये आधी ०४.१/२ जग्गा र ऐ.ऐ. कि.नं. २७४ के ०१० मध्ये आधी ०५ जग्गा समेत कित्ता ७ के. ज.वि. ११२१९ मध्ये आधी ०५ जग्गा समेत कित्ता ७ के ज.वि. ११२१९ मध्ये आधी ०१६९.१/२ जग्गामा मेरो हक कायम गरी उक्त लेखत बदर दर्ता बदर गरी मेरो नाउँमा दर्ता समेत गरी पाउँ भन्ने समेत व्यहोराको वादी रविलाल चौधरीको फिराद दावी ।

३.  वादीले फिराद प्रकरण १ मा भिन्द भएको छोरा भोलि र भिन्द भएको बुहारी लगन बतिया भनी प्रष्ट रुपमा उल्लेख गरेका छन्, भिन्द भैसकेका भनी वादीले आफैं स्वीकार गरी सकेपछि सगोलका भनी भन्न मिलेन । दाताहरुले बकसपत्रबाट पाएको योनेकी निजी तवरबाट पाएको जग्गाहरु मात्र बिक्री गरेको हुँदा लेनदेन व्यवहारको १० नं. बाट बदर गर्ने प्रश्न नै आउँदैन। वादी दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको बच्चेलाल चौधरी थारुको प्रतिउत्तर जिकिर ।

४.  कि.नं. २७५ र कि.नं. २५५ को समेत जग्गा भोलि चौधरीले प्र. बच्चेलाल चौधरीलाई राजीनामा पारीत गरी दिएको हो । सो जग्गा पुख्र्यौली आर्जनको नभएको ०३७।८।१८ मा बुद्धिलाल पितीयोता भाइबाट बकसपत्रबाट पाएको जग्गा हो । रिझ बापतमा भाइले खुश भै दिएको सो जग्गाको खुश गर्ने अधिकार म भोलि चौधरीमा निहित रहेको, म भोली चौधरी र यी वादी रविलाल चौधरी २०२२।३।१५ मा नै चुलोसम्म आफ्ना गरी भिन्न भै बसी आएको छु । जि.सप्तरी प.पिप्रा गा.पं. वडा नं. ७ क को कि.नं. १६९,१७१,१०३,१८८ र जि.स. हर्दिया गा.पं. वडा नं. १ ख को कि.नं. ३९,४३,४५,४८ वडा नं. २ क को कि.नं. २३, ऐ. वडा नं. ४ को ३३,७४,२३६, ऐ. वडा नं. २ क को कि.नं. २०९, २३४, २३५, २५६, २७५ को जग्गा वादीको नाउँमा अद्यापी दर्ता नै छ । कि.नं. ४४ को जग्गा म प्र. लगन बेतियाको नाउँमा दर्ता छैन, वादीको दावा सरासर गलत हो । कि.नं. २७४ को जग्गा म.प्र. लगन बतियाको कान्छो ससुराको छोरा जेठाजु सुदीलाल चौ. बाट ०३८।१।४ मा बकसपत्रबाट पाएको छु । कि.नं. १९२,२३४,२३५ समेतको जग्गा कान्छा ससुराको छोरा जेठाजु सुदिलाल चौधरीबाट ०४०।९।२९ मा हालको बकसपत्रबाट पाएको हुँ लेनदेन व्यवहारको १० नं. अनुसार बकसपत्रबाट पाएको जग्गा निजी आर्जनको भएको हुँदा अंशबण्डाको १८ नं. ले बण्डा गर्न कर नलाग्ने आफूखुश गर्न पाउने नै हुँदा ऐन कानुनको विपरीत गएको छैन। वादीको दावी सर्वथा गलत हो । वादीको फजुल दावीबाट फुर्सद गरी वादीको झुठ्ठा मुद्दाबाट अलग गरी पाउँ भन्ने समेत व्यहोराको भोलि चौधरी थारु र लगन वतिया थरुनीको संयुक्त प्रतिउत्तर जिकिर ।

५.  वादी प्रतिवादीका साक्षीहरुको बकपत्र मिसिल संलग्न रहेको ।

६.  कि.नं. २५५ को जग्गा बकसपत्रबाट पाएको नहुँदा सो सम्बन्धमा केही खुलाउनु नपर्ने भन्ने समेत व्यहोराको प्र.वा. युगेश्वर प्रसाद साहको कागज ।

७.  पेश भएको राजीनामा तथा बकसपत्रका नक्कलहरुबाट दाता मध्ये लगत वतिया थरुनीले जि.स. गा.पं. हर्दिया वडा नं. ७(ख) को ४४ नं. कित्ता ऐ. वा.नं. को कि.नं. १९२, २३४, २३५ ऐ. कि.नं. २७४ का जग्गाहरु र दाता प्र. भोलि चौधरीले ऐ. वडा नं. ४ कि.नं. २७५ को जग्गाहरु बकसपत्रबाट प्राप्त गरेको देखियो । त्यस्ता जग्गालाई सगोलको आर्जन भन्न ठहर्‍याउन न्यायोचित नभई वादीले दावी गरेको दाता भोली चौधरी लिने बच्चेलाल चौधरी भई र.नं. ४१८७ मिति ०४५।२।७ मा पास भएको राजीनामा मध्ये जि.स. गा.पं. हर्दिया वडा नं. ४ कि.नं. २५५ को क्षेत्रफल ०१० मध्ये आधीमा वादीको हक कायम भई सो सम्म उक्त लेखत बदर भई प्र. बच्चेलालका नामबाट उक्त कि.नं. २५५ को ०१० मध्ये आधीको दर्ता बदर भई वादीका नाउँमा दर्ता हुने समेत ठहर्छ भन्ने समेत ०४६।२।१९ को सप्तरी जिल्ला अदालतको फैसला ।

८.  उक्त फैसलामा चित्त बुझेन फिराद माग दावी बमोजिमको जग्गामा हक कायम गरी लेखत बदर दर्ता बदर गरी मेरा नाउँमा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको वादी रविलाल चौधरीको तत्कालिन सगरमाथा अञ्चल अदालत राजविराज बेन्चमा परेको पुनरावेदनपत्र ।

९.  वादीको मञ्जुरी नलिई गरेको लिखतहरु बमोजिमको सम्पत्ति लेनदेन व्यवहारको १० नं. बमोजिम प्रतिवादीको निजी आर्जनको सम्पत्ति नभई सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा वादी दावी बमोजिम २ खण्डको १ खण्ड जग्गामा लिखत दर्ता बदर भै वादीको हक कायम हुने र दर्ता समेत हुने ठहर्छ । शुरु स.जि.स. ले कि.नं. २५५ को हकमा मात्र लिखत बदर गरेको फैसला नमिलेकोले केही उल्टी हुन्छ भन्ने समेतको २०४८।११।८ को पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला ।

१०.  उक्त फैसलामा चित्त बुझेन विवादित जग्गामा वादीको हक लाग्ने ठहराउनु कानुन व्यवहार र यस सम्मानीत अदालतबाट प्रतिपादित सिद्धान्त समेत विपरीत छ, पुनरावेदन अदालतको फैसला उल्टाई सप्तरी जिल्ला अदालतले मेरो प्रतिउत्तर जिकिर बमोजिम गरेको फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको बच्चेलाल चौधरीको यस अदालतमा परेको पुनरावेदन ।

११.  अंश मुद्दाको निर्णयबाट निजको हक जान नसक्ने समेत हुँदा भोलि चौधरी र लगत बतियाले बकसपत्रबाट पाएको निजी आर्जनको जग्गा नै यी पुनरावेदकले निजहरुबाट हक हस्तान्तरण गराई लिएको देखिँदा बकसपत्रबाट पाएको जग्गा बिक्री गरेको लिखत बदर नहुनेमा बदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजको मिति २०४८।११।८ को इन्साफ मिलेको नदेखिँदा छलफल निमित्त अ.बं. २०२ नं. तथा स.अ. नियमावली, २०४९ को नियम ५०(२) बमोजिम विपक्षी झिकाई नियमानुसार गरी पेश गर्नु भन्ने समेतको यस अदालतको २०५१।१०।१७ को आदेश ।

१२.  नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सतीशकृष्ण खरेलले भोली चौधरी तथा लगन वतिया थरुनी वादीको छोरा बुहारी हुन, अंश मुद्दाबाट वादी र प्रतिवादी मध्येका भोली चौधरी र लगन वतिया एका सगोलका कायम भई वादीले अंश पाउने ठहरी फैसला भए पनि कि.नं. २७५ कि.नं. २५५ को जग्गा मध्ये कि.नं. २७५ कि.नं. को जग्गा भोली चौधरीले ०३७।८।१८ मा कि.नं. १९२, २३४, २३५ का जग्गाहरु लगनवतिया थरुनीले ०४०,९।२९ मा कि.नं. ४४ को ०३७।१२।२७ मा कैलु चौधरीबाट र कि.नं. २७४ को ०३८।१।४ मा सुदिलालबाट बकसपत्र पाएको जग्गाहरु २०३४।९।२७ पछि बकसपत्रबाट पाएको देखिन्छ । अंशबण्डाको १८ नं. ले निजी तवरले दान बकस पाएका जग्गामा वादीको अंश लाग्ने अवस्था नभएपछि लेनदेन व्यवहारको १० नं. बमोजिम अंश हक नलाग्ने सम्पत्ति हुँदा बकसपत्रबाट पाएको जग्गाको लिखत बदर हुनु पर्ने होइन । पुनरावेदन अदालत राजविराजको फैसला उल्टी गरी मेरो पक्षको प्रतिउत्तर जिकिर बमोजिम गरी पाउँ भनी गर्नु भएको बहस र प्रत्यर्थी वादीको तर्फबाट उपस्थित हुनु भएका वारेस तेज नारायण चौधरीले दावीको सम्पत्ति सगोलको आर्जन हो बकसपत्रको नाउँ भएपनि राजीनामाको रुपको भएको र सगोलको आर्जनबाट बढे बढाएको सम्पत्ति हुँदा पुनरावेदन अदालत राजविराजको फैसला सदर हुनु पर्दछ भनी लिनु भएको जिकिर समेत सुनियो ।

१३.  मिसिल अध्ययन गर्दा पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छ छैन ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।

१४. वादी रविलाल चौधरी र प्रतिवादी मध्येका भोली चौधरी तथा लगन वतिया थरुनी वाबु छोरा, ससुरा बुहारी भएको कुरामा विवाद देखिन आएन । यस मुद्दाको प्रमाण निमित्त आएको अंश दर्ता मुद्दामा दुवै थर सगोलको अंशियार ठहरी ०४५।४।५ मा मानु छुट्टिएको मिति कायम गरी २ खण्डको १ खण्ड अंश पाउने ठहर भएको र सो मुद्दामा वादी दावी नठहरी शुरु सप्तरी जिल्ला अदालतबाट फैसला भएकोमा वादीको पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परी वादीबाट फिराद परेको अघिल्लो दिनसम्मको तायदाती माग गरी प्रस्तुत मुद्दाका वादीलाई भोली चौधरी र लगन वतिया थरुनीले ०४५।२।६ र ०४४।१२।२३ मा बच्चेलाल चौधरीलाई हक छाडी लिखत गरी दिएको जग्गा समेत तायदातीमा उल्लेख गरी सो समेत बण्डा हुने गरी पुनरावेदन अदालत राजविराजबाट फैसला भएको पाइन्छ ।

१५. वादी रविलाल र प्र. भोली चौधरी भएको अंश दर्ता मुद्दामा ०४५।४।५ लाई मानु छुट्टिएको मिति कायम गरिएको र दावीको सम्पत्ति भोली चौधरी र लगन वतिया थरुनीले ०४५।२।६ र २०४४।१२।२३ मा बच्चेलाल चौधरीलाई लिखत गरी दिएको र हक कायम लिखत बदर दर्ता बदर गरी पाउँ भनी रविलाल चौधरीले ०४५।४।२।१ मा नालेश दिएको देखिन्छ । सो नालेश परेको पश्चात ०४५।४।६।५ मा अंश दर्ताको नालेश परेको पाइन्छ । अंश मुद्दामा रविलाल चौधरीबाट ०४६।१०।९।२ मा तायदाती प्रस्तुत गर्दा दावीको सम्पत्ति रविलाल वा भोली चौधरी वा लगनवतिया थरुनी मध्ये अंशियार कसैको नाउँमा दर्ता रहेको र निजहरुको जिम्मामा रहेको देखिँदैन । दावीको सम्पत्ति बच्चेलाल चौधरीलाई बिक्री गरी निजको हकमा गैसकेको देखिन आउँछ । अंश मुद्दामा अंशियारका नाउँमा कायम रहेको सम्पत्ति मात्र बण्डा लाग्ने हुन्छ र सोही सम्पत्तिको तायदाती दिएको मात्र सदर कायम रहन सक्ने हुन्छ । आफ्नो हक जिम्मामा नरहेको र दर्ता नै राजीनामाबाट अरुको कायम भई आफ्नो हक जिम्मा र दर्ता टुटी सकेपछि त्यस्तो सम्पत्तिलाई दायदातीमा देखाई बण्डा हुने गरी भएको फैसलाले राजीनामा गरी लिने बच्चेलालको हकमा अंश मुद्दाको निर्णयको विषय हुन सक्क्तैन । प्रस्तुत मुद्दाको विषय लिखत बदर रहेको र अंश मुद्दा पर्नु पूर्वको मुद्दा भएको र अंश मुद्दामा पुनरावेदक प्रतिवादी पक्ष नरहेको अवस्थामा निजको हक जान सक्ने अवस्था देखिएन । पुनरावेदक प्रतिवादी बच्चेलाल चौधरीले भोली चौधरी र लगन वतिया थरुनीबाट राजीनामा गराई लिएको जग्गा भोली चौधरीले बुद्धिलालबाट ०३७।८।१८ मा र लगन बतियाले ०३८।१।४ र ०४०।९।२९ मा सुद्धिलाल चौधरीबाट बकस पाएको देखिन्छ । बकसपत्रबाट पाएको जग्गा सगोलको सम्पत्तिबाट बढे बढाएको हो भन्ने कुराको प्रमाण कुनै गुजार्न सकेको देखिएन । यस अवस्थामा अंशबण्डाको १८ नं. ले बकसपत्र पाएको जग्गा भोली चौधरी र लगन बतियाको निजी आर्जनको सम्पत्ति मान्नु पर्ने र त्यस्तो सम्पत्ति आफूखुश गर्न पाउने हुन्छ। कि.नं. १९२, २३४, २३५, ४४, २७४, २७५ को जग्गाहरु भोली चौधरी र लगन बतियाको निजी आर्जनको भई आफूखुश गर्न पाउने देखिँदा निजहरुबाट पुनरावेदकले राजीनामा गराई लिएको उक्त जग्गाको लिखत बदर हुने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको देखिन आएन । कि.नं. २५५ को जग्गा सगोलको देखिँदा सा कि.नं. २५५ को जग्गाको आधी लिखत बदर हुने ठहर्‍याई अरुमा वादी दावी नपुग्ने ठहर्‍याएको शुरु सप्तरी जिल्ला अदालतको फैसला मिलेको देखिँदा सदर हुन्छ । पुनरावेदन अदालत राजविराजको मिति २०४८।११।८ को फैसला केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत राजविराजको मिति २०४८।११।८ को फैसला केही उल्टी भई शुरु सप्तरी जिल्ला अदालतको फैसला सदर हुने ठहरेकोले पुनरावेदन अदालत राजविराजको मिति २०४८।११।८ को फैसलाले फिरादपत्रमा उल्लेख गरेको कि.नं. ४४ को ०१०९ कि.नं. १९२ को ०१२ कि.नं. २३४ को ०९ कि.नं. २३५ को ०९ कि.नं. २७४ को ०१० जग्गा कि.नं. २७५ को ०० र कि.नं. २५५ को ०१० जग्गा पुनरावेदनको अवस्था व्यतित भै दण्ड सजायको ४४ नं. का म्यादभित्र दर्ता गरी पाउँ भनी वादीले निवेदन दिन आए आधा जग्गाको लेखत र दर्ता बदर गरी वादीका नाममा दर्ता कायम गरी दिनु मा.पो.का. सप्तरी राजविराजलाई लेखी पठाई दिनु भनी राखेको लगत कट्टा गरी शुरु सप्तरी जिल्ला अदालतको मिति २०४६।२।१९ को फैसलाले कि.नं. २५५ को सम्बन्धमा राखेको लगत अनुसार गर्नु भनी शुरु सप्तरी जिल्ला अदालतमा लेखि पठाउनु ...१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले पुनरावेदन अदालत राजविराजको मिति २०४८।११।८ को फैसलाले वादीले फिराद गर्दा राखेको कोर्टफी रु. ६५० प्रतिवादीबाट भराई पाउने गरी राखेको लगत कट्टा गरी शुरु सप्तरी जिल्ला अदालतको मिति २०४६।२।१९ को फैसलाले कोर्ट फी सम्बन्धमा राखेको लगत बमोजिम गर्नु भनी शुरु सप्तरी जिल्ला अदालतमा लेखि पठाउनु ...२

माथि ईन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले पुनरावेदक प्रतिवादी बच्चेलाल चौधरीले यस अदालतमा पुनरावेदन गर्दा दाखिल गरेको कोर्ट फी रु. ३२।५० वादी रविलाल चौधरीबाट भराई पाउँ भनी निज वादी रविलाल चौधरीको यसै सरहदको जेथा देखाई कानुनको म्यादभित्र दरखास्त गरेमा पु.वे.प्र. बच्चेलाल चौधरीलाई वादी रविलाल चौधरीबाट उक्त कोर्टफी केही दस्तुर नलिई कानुन बमोजिम भराई दिनु भनी र पुनरावेदक प्रतिवादी बच्चेलाल चौधरीले यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत राजविराजको फैसलाले निज प्रतिवादीबाट वादी रविलाल चौधरीलाई भराउने ठहराएको कोर्ट फी रु. २१६।६७ दाखिल गरी काठमाडौं जिल्ला अदालतमा धरौटी रहेको देखिँदा धरौटी रहेको उक्त कोर्ट फी रु. २१६।६७ फिर्ता पाउँ भनी कानुनका म्यादभित्र पुनरावेदक प्रतिवादी बच्चेलाल चौधरीले दरखास्त गरेमा उक्त धरौटी कोर्ट फी रु. २१६।६७ (दुई सय सोह्र रुपैयाँ सतसठ्ठी पैसा) निज पु.वे.प्र. बच्चेलाल चौधरीलाई कानुन बमोजिम फिर्ता दिनु भनी शुरु सप्तरी जिल्ला अदालतमा लेखि पठाउनु ...३

मिसिल नियमानुसार गरी बुझाई दिनु ...४

 

उक्त रायमा म सहमत छु ।

 

न्या.नरेन्द्र बहादुर न्यौपाने

 

इतिसम्वत् २०५२ साल ज्येष्ठ ८ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु