शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४०२ - कर्तव्य ज्यान

भाग: २७ साल: २०४२ महिना: असोज अंक:

निर्णय नं. २४०२     ने.का.प. २०४२      अङ्क ६

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

सम्वत् २०४१ सालको फौ.पु.नं. ५५९

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी:डिल्लीराम उपाध्यायको जाहेरीले श्री ५ को सरकार ।

विरूद्ध

विपक्षी/प्रतिवादी: लुम्बिनी अंचल गुल्मी जिल्ला कुरकोट बग्ला गा.पं.वा.नं. ४ बस्ने मनी कुमारी पन्थी ।

फैसला भएको मिति: २०४२।४।१८।६ मा

     आफूले जिउँदो बच्चा मार्नमा संयोग पारिदिएको मृतकको जिउमा हात हालेको जस्ता कार्य गरेको  देखिँदैन । यस्तो अवस्थामा निजलाई ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैद गर्ने गरेको इन्साफ केही उल्टी गरी प्र.लाई आफूले जन्माएको बच्चा ज्यान मार्नमा मतलबमा पसेको ठहर्‍याई ज्यानसम्बन्धी महलको १७(३) अन्तर्गत ३ वर्षको कैदको सजायँ गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव नै देखिने ।

(प्रकरण नं.१३)

पुनरावेदक/वादी तर्फबाट: विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा

प्रत्यर्थि प्रतिवादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंहः पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला उपर चित्त बुझेन भनी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ।

२.    मेरी भाइ बुहारी मनी कुमारीले भाइ विदेश भारतमा गएको अवस्थामा गाउँकै दुर्गाप्रसाद पन्थीको करणीबाट रहन गएको गर्भ ०३७।२।२७ मा गतेको दिन निज दुर्गाप्रसादले दिएको औषधी खाई पतन   गराइछन् । सो कुरा मनि कुमारीबाट सोधपुछ गर्दा थाहा पाएकोले पतन गराइएको लाश निज मनिकुमारीलाई यसै दर्खास्त साथ दाखिल गरेको छु भन्ने समेत डिल्लीराम उपाध्यायको जाहेरी दर्खास्त ।

३.    ०३५ सालको फाल्गुण महिनामा मेरो लोग्ने रामलाल भारत जानु भएकोले म घरमा नाबालक छोराछोरीसँग बसी आएकी थिएँ । त्यस्तैमा गाउँका दुर्गाप्रसादसँग प्रेम बसी करणी लेनदेन भइरहेको गर्भ पतन गराउने उद्देश्यले दुर्गाप्रसादले दिएको औषधी खाई मैले ज्यूँदै जातक छोरा पैदा गरेको हुँ । निज दुर्गाप्रसादले सो छोरालाई घाँटीमा च्यापी मारेका हुन् मैले मन्जूरी दिएकी हुँ । जाहेरवालाले पेश गरेको लाश मैले पैदा गरेको कर्तव्य गरी मारेको लाश हो भन्ने समेत व्यहोराको मनीकुमारी पन्थीको ततिम्बा सहितको बयान ।

४.    मनीकुमारीको पोल बमोजिम मैले निजको गर्भ पतन गराउन कुनै औषधी मनीकुमारीलाई खुवाउन भनी दिए दिलाएको छैन र मैले दुर्गाप्रसादलाई लुकाए मराएको पनि छैन भन्ने व्यहोराको चसु गिरीको प्रहरीमा भएको बयान कागज ।

५.    दुर्गाप्रसाद र मनीकुमारीले ज्यूँदो जन्मेको बच्चा कर्तव्य गरी मारेमा शंका लाग्दछ भन्ने समेत अधिकांश सरजमीनको लेखाई भएको सरजमीन मुचुल्का ।

६.    मनिकुमारीको बयानबाट पोलिएको चेतु गिरीलाई यस ज्यानसम्बन्धीको कुनै पनि अपराध ठहरिने काम कुरो गरे गराएको नदेखिँदा निजलाई हाजिर जमानीमा छाडिएको र दुर्गाप्रसादले ज्यूँदो जन्मेको बच्चालाई घाँटी च्यापी मारेको समेत हुँदा ज्यानसम्बन्धीको १३(३) बमोजिम र मनिकुमारीले मार्नमा मन्जूर भई बच्चा समेत दिएको हुँदा ज्यानसम्बन्धीको १३(४) बमोजिम सजायँ हुन तथा पक्राउ नभएका दुर्गाप्रसादलाई अदालतबाट कानुन बमोजिम हुन समेत अनुरोध छ भन्ने प्रहरी प्रतिवेदन ।

७.    ०३५ सालदेखि लोग्ने भारत सिलाङमा नोकरी गरेको हुँदा छोराछोरी सहित बसिरहेको अवस्थामा ०३६ साल असोजमा दुर्गाप्रसादसँग करणी लिनु दिनु भएको र गर्भ रहेकोमा ०३७।२।२५ गते दुर्गाप्रसाद मेरो घरमा आएका थिए । मैले सन्चो छैन पेट दुखेको छ भन्दा पेट दुखेको सन्चो हुन्छ भनी ४ वटा औषधीको चक्की दिए ऐ. २७ गते राति मलाई पेट दुखेको थियो दुर्गाप्रसाद पनि १२.३० बजेको समयमा मेरो घरमा आएका थिए । सोही रात जातक जन्मियो र जन्मने वित्तिकै रोएको थियो । बच्चालाई नुहाउन विस्तारै अलि अगाडि आउँदा निज दुर्गाप्रसादले मरेको बच्चा मेरै घरको पछाडिपट्टि मकै बारीमा गाड्न लगेका हुन् भन्ने समेत प्र.मनिकुमारी पन्थीले अदालतमा गरेको बयान ।

८.    दुर्गाप्रसादका हकमा अ.बं. १९ नं. बमोजिम मुलतवी राख्ने र वारदात भएको ठाउँमा सहयोगी भई कर्तव्य गर्नमा सहयोग पुर्‍याएको देखिँदा ज्यानसम्बन्धी महलको १३(४) अनुसार प्र.मनिकुमारीलाई जन्मकैदको सजायँ हुन्छ भन्ने समेत व्यहोराको शुरू गुल्मी जिल्ला अदालतको फैसला ।

९.    गर्भपतन भएको जिउँदो बच्चा नजन्मी मरेको बच्चा जन्मेको हुँदा गर्भपतन गराएमा ज्यानसम्बन्धीको ३१ अनुसार सजायँ हुनुपर्ने भन्ने समेत प्र.मनिकुमारी पन्थीको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

१०.    प्र.मनिकुमारीले मार्नेलाई संयोग पारी भाग्न उम्कन नदिने अवस्था पारी हात हाली पक्रेको देखिँदैन । तर गर्भ तुहाउन औषधी खाँदा पनि जिउँदो बच्चा जन्मेको अवस्था प्र.मनिकुमारीले आफूले जन्माएको बच्चालाई मार्न मतलबमा पसेको देखिन्छ । अतः निजलाई ज्यानसम्बन्धीको १७(३) अन्तर्गत ३ वर्ष कैदको सजायँ हुने ठहर्छ भन्ने समेत पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला ।

११.    उक्त फैसलामा न्यायसंगत भएका प्रतिवादीलाई शुरू प्रहरी प्रतिवेदन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन ।

१२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकार तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्माले गुर्न भएको बहस जिकिर समेत सुनियो । मुख्यतया पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ ? सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।

१३.   निर्णयतर्फ बिचार गर्दा यसमा प्र.मनीकुमारी पन्थीले प्रहरीमा आफूले जन्माएको बच्चा मार्नमा सहयोग स्वीकृति दिएको भनी स्वीकार गरेकी छिन् तापनि अदालत समक्ष बयान गर्दा दुर्गाप्रसादसँग ०३६ साल असोजदेखि भएको करणी विर्यबाट गर्भ रहेको र मिति ०३७।२।२७ मा निज दुर्गाप्रसाद समेत आफ्नो घरमा रहेको अवस्थामा जिउँदो बच्चा जन्मिएको थियो र सो जिउँदो बच्चालाई दुर्गाप्रसादले समाती घाँटी थिची मारेको र मेरो घरको मकै बारीमा गाड्न लगेको हो भनी आफूले जिउँदो बच्चा जन्माएका र सो बच्चालाई दुर्गाप्रसादले मारेको हो भनी आफूले आफ्नो जिउँदो बच्चा मारेकोमा इन्कार रहेको देखिन्छ । मिसिल संलग्न कागजात हेर्दा निजले आफूले जिउँदो बच्चा मार्नलाई संयोग पारिदिएको मृतकको जिउमा हात हालेको जस्ता कार्य प्र.मनिकुमारीले गरेको देखिँदैन । यस्तो अवस्थामा निज प्र.मनिकुमारीलाई ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैद गर्ने गरेको शुरू जि.अ.को इन्साफ केही उल्टी गरी प्र.मनिकुमारीलाई आफूले जन्माएको बच्चा ज्यान मार्नमा मतलबमा पसेको ठहर्‍याई ज्यानसम्बन्धी महलको १७(३) अन्तर्गत ३ वर्षको कैदको सजायँ गर्ने गरेको पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ मनासिव नै देखिँदा सदर हुने ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.पृथ्वी बहादुर सिंह

 

इतिसम्वत् २०४२ साल साउन १८ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु