शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४१२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २७ साल: २०४२ महिना: असोज अंक:

निर्णय नं. २४१२     ने.का.प. २०४२      अङ्क ६

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४१ सालको रिट नं. १५६२

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ ।

 

निवेदक      :जि.पर्सा वसडिलवा गा.पं.वडा नं. ८ रत्नपुर बस्ने हुकुम मियाँ ।

विरूद्ध

विपक्षी :भू.सु.का. पर्साका भू.सु.अ. ।

पर्सा जि.वि.नगर पंचायत वडा नं.१० बसने नुर कुमारी पाण्डे ।

आदेश भएको मिति:२०४२।६।१६।४ मा

     मोही सम्बन्धी हक भू.सं.ऐन, २०२१ को दफा २६(१) ले व्यवस्था गरे बमोजिमको शर्तको अधीनमा रही प्राप्त हुने भोगाधिकार हो । मोहीको मृत्युपछि निजको मोही सम्बन्धी हक समाप्त हुन्छ र  दफा २६ (१) ले गरे मुताविकको प्रकृया पूरा गरेपछि यो हक निजको पति, पत्नी वा छोराहरूमा पुनः स्थापना हुने हो । यस्तो हकलाई स्वतः पति, पत्नी वा छोराहरू मध्येमा सर्ने हक हो भन्न मिल्दैन ।

(प्रकरण नं.११)

निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री विष्णु राउत

विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री बलि राम कुमार र विद्वान अधिवक्ता श्री शम्भु थापा ।

उल्लेखित मुद्दाःX

आदेश

न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भनी रिट निवेदन मिति ०४१।७।२८ मा दर्ता भएको रहेछ ।

२.    संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : मेरा नामको गा.पं.बसडिलवा वार्ड नं. ८ कि.नं. १८३ ज.वि. २१० र ऐ. कि.नं. ३१ ज.वि. ०१११० समेतको मोहीमा प्रतिवादी लालुमियाँ अन्सारी भएको निज लालुमियाँ परलोक भइसकेको निजको स्वास्नी छोरा धुमन मियाँ समेत परलोक भई निजको अरु छोरा छोरी सन्तान नहुँदा धुमन मियाँले हुकम मियाँ अरुको छोरालाई गोद लिएको थिए, निज हुकुम मियाँले स्व. मोही लालुमियाँको नाति हुँ । मोही हक मलाई प्राप्त हुनुपर्छ भनी मैले लगाएको बालीमा खिचोला समेत गरिरहेको हुँदा यो निवेदन गरेको छु । स्व. मोहीको नातिको नाममा मोही नामसारी हुन सक्ने व्यवस्था नभएको र स्व.लालुमियाँका पत्नी र छोराहरू नभएबाट मरुवा मोहीको लगत कट्टा गरिपाउँ भन्ने नुरकुमारी पाण्डेको भू.सु.का.मा परेको निवेदन ।

३.    मेरो बाजे लालुमियाँ ०३० सालमा स्वर्गीय हुनु भयो निज लालुमियाँको छोरा धुमन मियाँको हक हुन गई पिता धुमन मियाँले उक्त जग्गा जोत कोड गरिआएकोमा निज धुमन मियाँ पनि ०३७।४।१५ मा स्वर्गीय भएपछि म धुमन मियाँले उक्त जग्गा कमाई वादी नुरकुमारीले मलाई भर्पाई दिनु भएको छ । लालुमियाँ स्व.भई निजको परिवारमा एक मात्र छोरा धुमन मियाँ हुनुभएकोमा उहाँ पनि स्वर्गीय भई उहाँको म एक मात्र छोरा परिवारमा भएबाट मेरो उक्त जग्गामा पूरा हक लाग्दछ । म मोही लालुमियाँको नाति हुँदा मलाई भर्पाई दिनु होस् भन्दा निज वादी नुरकुमारीले यो खिचोला गर्‍यो भनी गरेको उजूरी झुठ्ठा हुँदा उजूरी खारेज गरिपाउँ । भूमिसम्बन्धी ऐन, २०२१ मा भएको व्यवस्थाले मोहीको छोराहरूमा मोहियानी क्रमशः सर्ने कानुनी व्यवस्था भएको र ०३८ सालको भर्पाई पनि मसँग भएकोले मेरा नाममा मोही कायम हुने हुँदा र यो भन्दा पहिले वादीले गरेको उजूरी डिसमिस गराएको समेत हुँदा यो उजूरी खारेज गरिपाउँ भन्ने हुकुम मियाँको भू.सु.का. मा परेको प्रतिउत्तरपत्र । वादीको नामको गा.पं.वसडिलवा वार्ड नं. ८ कि.नं. १८३ ज.वि २१० र कि.नं. ३१ ज.वि ०१११० को मोहीमा लालुमियाँ अन्सारी भएकोमा निज स्वर्गीय भई पत्नी र छोराहरू नभएको र नातिको नाममा मोहीको नामसारी हुने व्यवस्था नभएकोले लगत कट्टा गरिपाउँ भन्ने वादीको उजूरीमा म स्व. मोहीको नाति हुँदा भनी मोहीकायम रहनु पर्ने भनी हुकुममियाँले प्रतिवाद गरे पनि नातिका नाममा मोही नाम सारी गर्ने भू.सु.ऐन, २०२१ को दफा २६(१) मा व्यवस्था नभएबाट वादीको माग बमोजिम मरुवा मोहीको लगत कट्टा हुने ठहर्छ भन्ने समेत भूमि सुधार कार्यालय पर्साले २०४१।६।५ मा निर्णय गरेको रहेछ । मुलुकी ऐन प्रारम्भिक कथनको ३ नं. को (ङ) मा नालिश भन्नाले उजूर समेत सम्झनु पर्दछ भन्ने परिभाषा गरिएको छ र अ.बं.१७९ नं.मा (साविक पेज नं.६१३) मुद्दा डिसमिस भइसकेपछि त्यस्तो वादी वा पुनरावेदकको त्यसै प्र. वा विपक्षी उपर त्यसै कुरामा अर्को नालिश वा पुनरावेदन लाग्न सक्तैन भन्ने कानुनी व्यवस्था छ । विपक्षी नुरकुमारीले सोही विषयमा पहिले उजूर गरी ०४१।३।२० मा डिसमिस भएको कुरालाई नदेखाई एकपटक डिसमिस भइसकेको उही विषयमा उही व्यक्ति उपर विपक्षीको भू.सु.कार्यालयमा ०४१।५।६ मा पुनः दोश्रो उजूरी दर्ता गर्नु भएको रहेछ र मैले पहिले डिसमिस भइसकेको कुरा समेत देखाई प्रतिवाद गरेकोमा एकपटक मुद्दा परी डिसमिस भई सकिएको कुरामा पुनः उजूरी लिएर हेर्न, निर्णय गर्न नमिल्ने कानुनी व्यवस्था छँदाछँदै अगाडि डिसमिस भएको कुरालाई मतलवै नराखी नातिका नाममा मोही नामसारी गर्न भू.सं.ऐनमा व्यवस्था नभएकोबाट वादीको माग बमोजिम मरुवा मोहीको लगत कट्टा हुने ठहर्छ भनी ०४१।६।५ मा गरिएको विपक्षी भू.सु.अधिकारीको सो दोश्रो निर्णय अ.बं. १७९ नं. को प्रत्यक्षतः कानुनी त्रुटि हुन गएको छ ।

४.    अर्को कुरा भू.सं.ऐन, २०२१ को दफा २६(१) अनुरूप बाजे लालु पछि बाबु धुमन मियाँको र बाबु धुमन मियाँ पछि मेरो मोहियानी हक हुँदै आएकोमा बाजे पछि नातिको मोहियानी हक नहुने भनी गरिएको निर्णयबाट उक्त दफा २६(१) को पनि त्रुटि हुन गएको छ । साथै सो निर्णयको तपसील खण्डमा भू.सं.ऐनको दफा ३४ बमोजिम कबुलियत भर्पाई राखी छुट्टै निवेदन गरेकोमा कारवाई हुने भन्ने पनि उल्लेख भएको पाइयो, भू.सं.ऐनको दफा २६(१) अनुसार मेरो हक प्राप्त हुन आएको मोहियानी हकमा भू.सं.ऐनको दफा ३४ बमोजिम आउनु परेन भनी विपक्षी भू.सु.अधिकारीले भन्न पाउने अधिकार पनि विपक्षीलाई छैन भन्ने रिट निवेदन जिकिर रहेछ ।

५.    विपक्षीहरूद्वारा लिखित जवाफ मगाई पेश गर्नु भन्ने सिंगल बेञ्जको मिति २०३१।८।१५।६ को आदेशानुसार प्राप्त हुन आएको लिखिन जवाफ निम्न प्रकार छन् :

६.    कानुन बमोजिम माग गर्ने कुनै अधिकार नभएको व्यक्तिले यस कार्यालयको ०४१।६।५ मा न्यायपूर्ण रूपबाट भएको निर्णय बदर गरिपाउँ भनी गरेको रिट निवेदनपत्र खारेज गरिपाउँ भूमि सुधार कार्यालय पर्सा वीरगञ्जको लिखिन जवाफ ।

७.    दोश्रो उजूरी दर्ता गर्न नमिल्ने र भूमि सुधार अधिकारीले हेर्न नमिल्ने भन्ने प्रश्न नै आउँदैन कारण दुवै निवेदनको विषय वस्तु फरक छन् । यसमा प्राकृतिक न्याय सिद्धान्त आकर्षित हुँदैन भन्ने नुरकुमारी पाण्डे ।

८.    निवेदकतर्फको विद्वान अधिवक्ता श्री विष्णु राउतले भूमि सुधार कार्यालय पर्साले गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने र विपक्षी भू.सु.का.पर्सा तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार तथा विपक्षी नुरकुमारी पाण्डे तर्फका विद्वान अधिवक्ता श्री शम्भु थापाले भूमि सुधार कार्यालयले गरेको निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

९.    प्रस्तुत केशमा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।

१०.    यसमा विपक्षी मध्येको नुरकुमारी पाण्डेका नाउँमा दर्ता भएको जि.पर्सा वसडिलवा गा.पं.वार्ड नं. ८ कि.नं. १८३, को ज.वि. २१० ऐ. कि.नं. ३१ को ज.वि ०१११० समेत दुई कित्ता जग्गाहरू मेरो बाजे (बाबुको बाबु) लालुमियाँ अन्सारी मोही भई मोहियानीमा कमाई आएको हुँदा सो जग्गा समेतको मोहियानी हकको प्रमाणपत्र समेत बाजे लालुमियाँ अन्सारीको नाममा महजूद छ । बाजे लालुमियाके ०३० सालमा देहावसान भई बाजे लालुमियाँको एकमात्र छोरो मेरो बाबा धुमन मियाँ हुनुभएको र लालुमियाँको श्रीमती मेरो बज्यैको पनि अघि नै देहावसान भइसकेको  हुनाले भू.सु.ऐन, २०२१ (संशोधनसहितको) दफा २६(१) ले बाजे लालुमियाँको नाउँको मोहियानी हक बाबु धुमन मियाँका हक प्राप्त हुन आई बाजे लालुमियाँको देहावसान पछि उक्त जग्गाहरू बाबा धुमन मियाँले मोहीको हैसियतले कमाई भोगचलन गर्दै आउनु भएको र बाबा धुमन मियाँको पनि ०३७ साल श्रावण १५ गते देहावसान भई बाबा धुमन मियाँको पनि म बाहेक अरु छोरा नभएकोले उक्त मोहियानी जग्गा बाबा धुमनको देहावसान भए देखि म निवेदकले मोहीको हैसियतले कमाई आजसम्म भोगचलन गर्दै आएको छु । यस्तोमा बाजे लालुमियाँको मोही लगत कट्टा गर्ने गरेको ०४१।६।५ को भू.सु.का.को निर्णय बदर गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर देखिन आयो ।

११.    लालुमियाँ मरेपछि निवेदकको बाबु धुमन मियाँको नाउँमा भू.सं.ऐन, २०२१ को दफा २६(१) बमोजिम मोहियानी दर्ता भएको भन्ने कुराको जिकिर निवेदकले लिन सकेको छैन । मोही सम्बन्धी हक भू.सं.ऐन, २०२१ को दफा २६(१) ले व्यवस्था गरे बमोजिमको शर्तको अधीनमा रही प्राप्त हुने भोगाधिकार हो । मोहीको मृत्युपछि निजको मोही सम्बन्धी हक समाप्त हुन्छ र दफा २६(१) ले गरे मुताविकको प्रकृया पूरा गरेपछि यो हक निजको पति, पत्नी वा छोराहरूमा पुनः स्थापना हुने हो । यस्तो हकलाई स्वतः पति, पत्नी वा छोराहरू मध्येमा सर्ने हक हो भन्न मिल्दैन। त्यसकारण मोहियानी हकलाई जग्गाधनीको जग्गाधिकारको हक समान एक पछि अर्कोमा (हकदार वा अपुतालीको हिसाबले) सर्छ भनी मान्न र सम्झन मिलेन । प्रस्तुत केशमा मोही लालुमियाँ मरेपछि निजको मोहियानी हक निजको नाति निवेदक हुकुम मियाँले दावी गर्न आएको देखिन्छ । यस स्थितिमा माथि भनिए बमोजिम भू.सं.ऐन, २०२१ को दफा २६(१) ले व्यवस्था गरे अनुसारको पुनः मोही सम्बन्धी हक कायम गराई माग्न सक्ने नाताभित्र मोही लालुमियाँको नाति निवेदक पर्न नसक्ने हुँदा भू.सु.का.ले मोही लगत कट्टा गर्ने गरेको निर्णयमा कुनै कानुनी त्रुटि देखिन आएन त्यसकारण रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

 

इतिसम्वत् २०४२ साल आश्विन १६ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु