शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०५५ - उत्प्रेषण

भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक:

निर्णय नं. ७०५५          ने.का.प. २०५९                  अङ्क १/२

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री टोपवहादुर सिंह

माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु

सम्वत् २०५८ सालको रि.पु.ई.नं. ........२४

आदेश मितिः २०५८।१०।४।५

 

विषय :उत्प्रेषण ।

 

रिट निवेदकः कोमल ऊनी धागो उद्योग गोकर्णको प्रोप्राइटर का.जि.का. म.न.पा. वडा नं ३३ वस्ने              वर्ष ४५ को कमलप्रसाद दाहाल

विरुद्ध

विपक्षीः श्री ५ को सरकार , अर्थ मन्त्रालय राजश्व महाशाखा वागदरवार काठमाडौं समेत

 

§  औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा (३)(क) र दफा ५ अनुसार ५ वर्षको लागि आयकर छुट पाउने  उद्योगले आयात गरेको कच्चा पदार्थ ऊनमा आयकर छुट दिन नमिल्ने भन्न नसकिने ।

(प्र.नं.१३)

 

निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने

विपक्षी तर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

अवलम्वित नजिरः

 

आदेश

          न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्ने आएको रिट निवेदन संयुक्त इजलास समक्ष पेश हुँदा उक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य नभई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यसप्रकार   छ ।

          २.   निवेदक कोमल ऊनी धागो उद्योग, श्री ५ को सरकार, घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं २०५२।१।८ मा प्राइभेट फर्मको रुपमा वार्षिक १,०००। मेट्रिकटन ऊनी धागो उत्पादन गर्ने लक्ष्य लिई दर्ता भै स्थापना भएकोमा उत्पादन कार्य प्रारम्भ गर्नको लागी २०५२।३।२७ देखि २०५२।५।२७ सम्म विभिन्न मितिहरुमा विभिन्न प्रतित पत्रहरुबाट कूल २४३.६७ मे.टन कच्चा पदार्थ आयात गरी २०५२।५।१० मा प्रारम्भिक उत्पादन र २०५२।५।३० देखि व्यवसायिक उत्पादन शुरु भयो । औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा (३)(क) र दफा ५ अनुसार उत्पादनमुलक साना उद्योग वर्गमा रहने गरी दर्ता भएकोले व्यापारिक उत्पादन शुरु गरेको मितिले ५ वर्षको लागि आयकर छुट पाउने कानूनी व्यवस्था अनुसार निवेदक उद्योगले आयात गरेका कच्चा पदार्थमा आयकर छुट गरी पाउन श्री कर विभाग तथा श्री सह सचिव राजश्व महाशाखा अर्थ मन्त्रालयमा निवेदन दिंदा विपक्षी राजश्व महाशाखाले उद्योग सञ्चालन मिति अगाडि गरेको कारोवारमा आयकर छुट दिन नमिल्ने भनि ०५५।६।७ मा निर्णय भएको व्यहोरा निर्णयानुसार अनुरोध छ भनि मिति २०५५।६।९ को प.सं. रा.टी.फा. ८५­०५५।५६ च.नं. ३९८ को पत्रवाट गराएको जानकारी २०५५।८।११ मा प्राप्त भयो र सो निर्णयले म निवेदक उद्योगले औद्योगिक व्यवसाय ऐन, २०४९ द्वारा प्रत्याभूत गरेको सुविधा सहुलियत र छुट उपभोग गर्न नपाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११।१२ द्वारा प्रदत मौलिक हक तथा औधोगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ख) द्वारा प्रत्याभूत आयकर छुटको सुविधावाट वञ्चित भएको हुँदा विपक्षी श्री ५ को सरकार, अर्थ मन्त्रालय, राजश्व महाशाखाको मिति २०५५।६।७ को निर्णय उत्प्रेषणद्वारा वदर गरी विपक्षी श्री कर विभाग लाजिम्पाट तथा १ नं. कर कार्यालय काठमाडौंका नाउँमा म निवेदकले २०५२।३।२७ देखि आयात गरेको कच्चा पदार्थमा औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ख) अनुसार आयकर छुट दिनु भन्ने परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जि समेत जारी गरी पाउँ भन्ने समेतको व्यहोराको निवेदन पत्र ।

          ३.   यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखित जवाफ मगाई प्राप्त भएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको एक न्यायाधीशको इजलासको आदेश ।

          ४.   प्रत्यर्थी उद्योगले पैठारी गरेको भनि दावीमा उल्लेख गरेको कच्चा पदार्थ उद्योग सञ्चालन मिति भन्दा अगाडिको भएको र यस्तो अवस्थामा आयकर छुट नपाउने जानकारी दिएको हो । औद्योगिक व्यवसाय ऐन बमोजिम पाउने सुविधा व्यापारिक उत्पादन शुरु गरिएको मिति देखि मात्र लागु हुने र सो भन्दा अगाडी भए गरेको काम कारवाहीमा पश्चातदर्शी असर हुने गरी ऐनलाई आकर्षित गर्न नसिकिने भएकोले निजले आयकर छुट नपाउने हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको अर्थ मन्त्रालयको लिखित जवाफ ।

          ५.  आयकर ऐन अनुसार कर निर्धारण गर्ने अधिकार कर अधिकृतलाई छ । कर अधिकृतले प्राप्त आय विवरणको आधारमा खुद आय निश्चित गर्ने कानूनी प्रावधान रहेको छ । आयकर ऐनको दफा ४२(२) वमोजिम कर निर्धारण गरी छुट कर अधिकृतले छुट दिन सक्ने कानूनी प्रावधान रहेको हुँदा यस विभागको नाउँमा औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ख) वमोजिमको आयकरको छुट सुविधा पाउँ भनि परमादेशको आदेश जारी हुन निवेदन माग गर्नु कानून विपरीत छ । कर अधिकृतको निर्णयमा चित्त नबुझे पुनरावेदन गर्न पाउने कानूनी अधिकारको बाटो अवलम्वन नगरी छुट कार्यान्वयन गरी पाउन राजश्व महाशाखा अर्थ मन्त्रालयमा निवेदन गर्नु तथा उक्त निकायबाट छुट दिन नमिल्ने गरी भएको निर्णयलाई हेरी रिट निवेदन गर्नु कानूनसम्मत नभएकोले प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको कर विभागको लिखित जवाफ ।

          ६.   रिट निवेदकले आफ्नो उद्योग सञ्चालनको क्रममा उद्योगको उत्पादन कार्य प्रारम्भ गर्नको लागि मिति २०५२।३।२७ देखि २०५२।५।२७ सम्म विभिन्न मितिमा आयात गरेको कच्चा पदार्थमा आयकर छुट गरी पाउन श्री कर विभाग तथा मिति २०५५।५।१८ मा श्री सह सचिव राजश्व महाशाखा अर्थ मन्त्रालयमा निवेदन दिएको सन्दर्भमा राजश्व महाशाखाले उद्योग सञ्चालन मिति अगाडि गरेको कारोवारमा आयकर छुट दिन नमिल्ने भनि विपक्षी रिट निवेदकलाई मिति २०५५।६।९ को प.सं. रा.टी.फा. ८५।०५५।५६, च.नं. ३९८ को पत्रवाट जानकारी गराएको हो । यस कार्यालयले विपक्षी रिट निवेदकले यस कार्यालयमा पेश गरेको आय विवरण उपर छानवीन गरी हाल सम्म कर निर्धारण गरी नसकेको अवस्थामा यस कार्यालयलाई विपक्षी वनाई दिएको उत्प्रेषण रिट निवेदन उपर कुनै प्रतिवाद गर्नुपर्ने अवस्था देखिदैन । अतः  उक्त उद्योगको आयकर निर्धारण गर्ने सम्वन्धी सिलसिला अगाडि वढिरहेको अवस्था हुँदा रिट निवेदकले अर्थ मन्त्रालय राजश्व महाशाखाको उक्त पत्र जिकिर लिएको सम्वन्धमा सम्मानित अदालतबाट निर्णय भए पश्चात प्रस्तुत उद्योगको आयकर निर्धारण गरिने हुँदा यस कार्यालयलाई विपक्षी वनाइदिएको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको १ नं. क्षेत्र कर कार्यालय गौशालाका प्रमुख कर अधिकृतको तर्फबाट यस अदालत समक्ष प्राप्त हुन आएको लिखित जवाफ ।

          ७.  दर्ता भएको मितिवाट ६ महिना भित्र उत्पादन शुरु गर्नुपर्ने र कच्चा पदार्थ आफैले व्यवस्था गर्नुपर्ने गरी दायित्व तोकिएको निवेदक उद्योगले त्यस्तो तोकिए वमोजिमको कार्य गर्न अग्रिम रुपमा पूर्वाधार तयार पार्नको लागि आयात गरेको कच्चा मालमा आयकर छुट नपाउने भन्न औद्योगिक व्यवासाय ऐन, २०४९ को दफा १५ (ख) ले मिल्ने नदेखिनुका साथै कच्चा पदार्थ वेगर निवेदक उद्योग संचालन गरी व्यवसायिक उत्पादनको कार्यं गनं सक्ने समेत नदेखिएको र आयात गरेको कच्चा पदार्थवाटै उत्पादन गरको भन्ने निवेदन दावीलाई प्रत्यर्थीहरुबाट खण्डन नभएको अवस्थामा प्रष्ट आधार कारण समेत उल्लेख नगरी निवेदक उद्योगलाई आयकर छुट नदिने गरेको अर्थ मन्त्रालय राजश्व महाशाखाको मिति २०५५।६।७ को निर्णय त्रुटीपुर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहर्छ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय ।

          ८.   औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ को देहाय (ख) ले व्यापारिक उत्पादन शुरु गरेको मितिले आयकर छुट पाउने प्रष्ट किटानी कानुनी व्यवस्था गरेकोले सो भन्दा अगाडिको अवधिको आयकर छुट नपाउने हुँदा प्रस्तुत रिट जारी गर्नुपर्ने अवस्था देखिन नआएकोले प्रस्तुत रिट निवेदन खोरज हुने ठहर्छ । रिट जारी गर्ने गरेको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको रायसंग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) वमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५८।१।१८ को आदेश ।

          ९.   नियमानुसार पेश भएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले निवेदक उद्योग ऊनी धागो उत्पादन गर्ने उद्देश्यले मिति २०५२।१।८ मा दर्ता भएको हो । उद्योग संचालन गर्न आवश्यक पर्ने कच्चा पदार्थ उद्योग आफैले व्यवस्था गर्नुपर्ने भए अनुसार उद्योगले विदेशवाट कच्चा उन आयात गरेको हो । निवेदक उद्योगले मिति २०५२।५।१० वाट व्यवसायिक उत्पादन शुरु गरेकोले औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ख) अनुसार निवेदक उद्योगले व्यावसायिक उत्पादन शुरु गरेको पाँच वर्ष सम्म आयकर छुट पाउनु पर्ने हुँदा उत्पादन शुरु गर्नका लागि झिकाइएका कच्चा पदार्थमा आयकर समेत छुट हुनपर्ने हुँदा निवेदन माग बमोजिमकै आदेश जारी हुनुपर्छ भन्ने समेत र विपक्षी तर्फबाट प्रतिरक्षार्थ उपस्थित विद्वान नायव महान्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ख) ले प्रदान गर्ने सुविधा व्यवसायिक उत्पादन शुरु भएपछि मात्र उपभोग गर्न सकिने हुन्छ । निवेदक उद्योगको व्यवसायिक उत्पादन शुरु गर्नु पूर्व आयात गरको ऊनी धागोमा  कानून बमोजिम कर लाग्न सक्ने नै हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नुभयो ।

          १०.  आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत रिट निवेदनमा निवेदन पत्र सहितको मिसिल संलग्न कागजात तथा निवेदक तर्फबाट पेश हुन आएको वहस नोट समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा प्रस्तुत रिट निवेदनमा निवेदन माग बमोजिमको आदेश जारी हुनपर्ने हो होइन ? भन्ने सम्वन्धमा निर्णय दिनुपर्ने देखियो ।

११.  यस्मा घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंमा मिति २०५२।१।८ मा उत्पादन मुलक साना उद्योगको रुपमा दर्ता भएको कोमल ऊनी धागो उद्योगले मिति २०५२।५।१० मा प्रारम्भिक उत्पादन र मिति २०५२।५।३० मा व्यवसायिक उत्पादन शुरु गर्नुपुर्व मिति २०५२।३।२७ देखि २०५२।५।२७ सम्म आयात गरेको  कूल २४३.६७५ मेट्रिकटन कच्चा पदार्थको कारोवारमा आयकर छुट दिन नमिल्ने गरी भएको अर्थ मन्त्रालय राजश्व महाशाखाको मिति २०५५।६।७ को निर्णय तथा काम कारवाहीले  औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ख) द्वारा निवेदक उद्योगलाई प्रदान गरिएको आयकर छुटको सुविधा उपभोग गर्नबाट बन्चित गरेको हुँदा उक्त निर्णय समेतका काम कारवाही वदर हुनुपर्छ भन्ने निवेदन जिकिर रहेको देखिन्छ । विपक्षी अर्थ मन्त्रालयको लिखित जवाफमा निवेदक उद्योगले  संचालन मिति भन्दा अगाडि नै पैठारी उद्योग गरेको कच्चा पदार्थमा आयकर छुट पाउने कुनै कानूनी आधार नभएको र औद्योगिक व्यवसाय ऐन, २०४९ बमोजिम पाउने सुविधा व्यापारिक उत्पादन शुरु भएको मितिदेखि लागु हुने हुँदा सो भन्दा अगाडि भए गरेका काम कारवाहीमा आयकर छुट दिन मिल्ने होइन भन्ने उल्लेख गरिएको पाइन्छ ।

          १२.  निवेदक कोमल ऊनी धागो उद्योगको दर्ता प्रमाणपत्र हेर्दा ऊनी धागो उत्पादन गर्ने उद्देश्य भएको उक्त उद्योग औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा  (३) (क) र ५ अनुसार उत्पादनमूलक साना उद्योगको रुपमा दर्ता भएको देखिन्छ । निवेदक उद्योगलाई औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५,१६ अनुसार पाउने सुविधा तथा सहुलियत उपलव्ध   हुने भन्ने कुरा उक्त उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख भएको पाइन्छ । ओद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ मा आयकर, विक्रीकर, अन्तशुल्क, भन्सार सम्वन्धी कानूनहरु एवं अन्य प्रचलित कानूनमा .जुनसुकै कुरा लेखिएको भएतापनि उद्योगले देहाय बमोजिम   सुविधा तथा सहुलियत पाउने उल्लेख भएको र देहाय खण्ड (ख) मा चुरोट, विंडी, मदिरा, वियर, वनस्पतिहरु, प्लास्टिक, इलेक्ट्रोनिक जडान उद्योग वाहेक अन्य उत्पादनमूलक, उर्जामूलक, कृषि तथा वनजन्य तथा खनिज उद्योगले व्यापारिक उत्पादन शुरु गरेको मितिले पाँच वर्षको लागि आयकर छुट पाउनेछ भन्ने उल्लेख भएको देखिन्छ ।

          १३.  ऊनी धागो उत्पादन गर्ने उद्देश्यले स्थापित उद्योग संचालन गर्न आवश्यक पर्ने कच्चा उन मिति २०५२।३।२७ देखि २०५२।५।२७ सम्म प्रतितपत्र खोली विदेशवाट झिकाएको भन्ने कुरामा विवाद देखिँदैन । निवेदक उद्योगले विदेशबाट पैठारी गरेको कच्चा उनको विक्री कारोवार गर्नु उद्योग स्थापनाको उद्देश्य अनुकूल नहुनुका साथै त्यसरी आयात गरेको उन निवेदक उद्योगले विक्री कारोवार गरेको भन्ने जिकिर विपक्षीहरुले लिन सकेको समेत पाइदैन । निवेदक उद्योगको स्थापना भइसकेपछि ऊनी धागोको व्यापारिक उत्पादन गर्ने उद्देश्यले  उद्योगले कच्चा ऊनको आयात गरेकोमा ऊन आयात गर्ने व्यापारीको आयसंग तुलना गरी सोही सरह कच्चा उनको आयातमा छुट्टै आयकर लिन मिल्ने कुनै वस्तुनिष्ट आधार विपक्षीहरुले खुलाउन सकेको समेत देखिदैन । निवेदक उद्योगले आर्जन गर्ने आय उद्योग स्थापनाको उद्देश्य अनुकूल कच्चा उनको व्यापारवाट नभइ सो को औद्योगिक प्रशोधनपछि तयार हुने ऊनी धागोको उत्पादन एवं सो को कारोवारबाट स्वभाविक रुपमा हुने हुंदा निवेदक उधोगले आयात गरेको कच्चा पदार्थ उनमा आयकर छुट दिन नमिल्ने भन्ने अर्थ मन्त्रालय राजश्व महाशाखाको मिति २०५५।६।७ को निर्णय कानून अनुरुपको मान्न मिल्ने देखिएन । यसर्थः अर्थ मन्त्रालय राजश्व महाशाखाको मिति २०५५।६।७ को निर्णय उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहराएको हदसम्म माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय मनासिव देखिँदा सदर  हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा  सहमत छु ।

 

न्या.टोपबहादुर सिंह

न्या.सुशिलासिंह सिलु

 

इति संवत २०५८ साल माघ ४ गते रोज ५ शुभम्...................................... ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु