शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४१७ - सवारी ज्यान

भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक:

निर्णय नं. २४१७    ने.का.प. २०४२      अङ्क ७

 

डिभिजन बेञ्ज

इजलाश

सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४१ सालको फौ.पु.नं.३९६

मुद्दाः सवारी ज्यान ।

 

पुनरावेदक/वादी:प्र.ह.द्वारिका सिंहको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी:ज.अं.२५ नं.बस चालक अब्दुल मजिद ।

फैसला भएको मिति:२०४२।६।२०।१ मा

     सवारी ऐन, २०२० को दफा ५१ को बर्खिलाफ सवारी हाँकेको भन्ने देखिएकोबाट ज्यानसम्बन्धीको ६ नं.अनुसार कैद महिना दश र जरिवाना रु.२५०।सजायँ हुने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको र मोटरसाइकल क्षती भएबापत क्षतिपूर्ति रु.३,९२२।३१ भरी पाउने ठहराएको सम्म इन्साफ मनासिव ठहर्छ । क्रिया खर्च बापत सवारी ऐन, २०२० को  दफा ५४(१)  (क) बमोजिम दुईहजार रुपैयाँ भराउनु पर्ने ।

(प्रकरण नं. १९)

पुनरावेदक, वादीतर्फबाट: विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठ

विपक्षी प्रतिवादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    २०३५।७।२५ गते बिहान ७.१५ बजे ज.अं. २५ नं.को बस राजमार्ग रोडमा मोटरसाइकलमा धक्का लागी २ जवान सवार घाइते भएको छ भन्ने खबर पाई घटनास्थलमा आई घाइतेहरूलाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको कुरा अनुरोध छ भन्ने समेत प्र.ह.द्वारिका सिंह श्रेष्ठको प्रतिवेदन ।

      ३.    अस्पतालमा भर्ना भएका २ जना मध्ये नाम थाहा नभएको १ जवानको मृत्यु भएको भन्ने बारेको प्र.शेरबहादुर श्रेष्ठको प्रतिवेदन ।

४.    जनकपुरबाट राजविराज जान भनी जाँदा म भन्दा अगाडि एउटा बस जाँदै थियो । मैले साइड मागेँ बसले साइड दियो अगाडि बढ्दै थिएँ मेरो अगाडिबाट मोटरसाइकल आइरहेको देखेँ । अली स्पीडमा थियो । गाडीमा ब्रेकले काम दिएन । देब्रे मोडमा बस भएकोले दाइने मोड्मै लैजाँदा बसको अगाडिको दायाँ पट्टीको बम्पडले मोटरसाइकलमा ठक्कर लाग्न गई मोटरसाइकलमा आएका दुवै व्यक्ति घाइते भए । मेरो बस खेतमा गई रोकियो । सोही चोटबाट अस्पतालमा भर्ना भएका १ जना मंगलमानको मृत्यु भएको हो भन्ने अब्दुल मजीदले प्रहरीमा गरेको कागज ।

५.    ढल्केवरबाट जनकपुर जान भनी साथी मंगलमानलाई राखी मोटरसाइकल हाँकी ल्याएको थिएँ दुइवटा बस सडकबाट पछिल्लो अघिल्लो बसलाई उछिन्ने प्रयास गर्दै आइरहेका थिए । मलाई देखेपछि अघिल्लो बसले साइड दियो पछिल्लो बस एकासी फुत्त निस्क्यो र पूर्वतिर हानियो मोटरसाइकल रोकियो फुत्त निस्केको बस हामीनिर आइरहेको देखेपछि म बेहोस भएँछु अस्पतालमा आई सकेपछि मोटरसाइकल समेत क्षतीग्रस्त भएको थाहा भयो भन्ने समेत व्यहोराको कृष्णबहादुर अधिकारीको बयान ।

६.    जनकपुरबाट वीरगञ्ज जाँदै थिएँ । ज.अं.२५ नं.को बसले मुजेलीया देखि मेरो पिछा गर्दै आइरहेको थियो साइड मागेको थिएन । मेरो अगाडि बयलगाडा बिस्तारै जाँदै र अगाडिबाट एउटा मोटरसाइकल आउँदै थियो । पछिल्लो बसले मलाई ओभरटेक गर्दा बस र मोटरसाइकलको ठक्कर लागेछ । आवाज सुनी मोटर रोकी हेर्दा दुर्घटनामा परेको मोटरसाइकलमा आएका व्यक्तिहरू घाइते भएकोले अस्पतालमा ल्याई प्रहरीलाई खबर गरिदिएको हुँ । मैले निजलाई दिएको थिएन मेरो बस ५०।५५ को रफ्तारमा थियो भन्ने समेत व्यहोराको चालक गोपाल देउजाले गरेको कागज ।

७.    चालक अब्दुल मजीदले हाँकेको ज.अं.२५ नं.को बसले मोटरसाइकलमा ठक्कर दिई मोटरसाइकलमा बसेको मंगलमानको मृत्यु र मोटरसाइकल क्षतिग्रस्त भएको भन्ने देखिन आएकोले बस चालक अब्दुल मजीदलाई सवारी ऐन, २०२० को दफा २८ र ३६ को बर्खिलाफ लापरवाईसँग बस हाँकी दुर्घटना गरी मंगलमानको मृत्यु भएकोले सवारी ऐन, २०२० को दफा ५० को ५१(क), ५३ र ५४(१)(क) अनुसार कारवाई भई क्रिया खर्च र मोटरसाइकलको क्षतिपूर्ति समेत दिलाई  दिनु पर्ने भन्ने प्रहरी र मानिस मर्छ भन्ने जानी जानी लापरवाही गरी हाँकेकोबाट मानिसको मृत्यु भएकोले निज अब्दुल मजीदलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ हुनुपर्ने भन्ने स.स.अ.को राय भई पेश भएको प्रहरी प्रतिवेदन ।

८.    मेरो बसको ब्रेक फेल भएकोले ब्रेक लागेन मोटरसाइकलको गल्तीले मेरो बसको देब्रे बम्पडमा ठोक्किन गएको र दुर्घटना हुन गएको र दुर्घटना भएको हो भन्ने समेत प्र.अब्दुल मजीदले अदालतमा गरेको बयान ।

९.    म २०।२५ गज अगाडि पुगेपछि आवाज आएको सुनेपछि गाडी रोकी हेर्दा दुर्घटना भएको रहेछ मेरो बसमा राखी दुवैजना घाइतेलाई अस्पताल पुर्‍याई दिएको हुँ । २ घण्टा पछि मर्‍यो भन्ने सुनेँ भन्ने समेत गोपाल देउजाले अदालतमा गरेको बयान ।

१०.    बस एकले अर्कालाई उछीन्ने प्रयास गर्दै आइरहेको थियो । मेरो मोटरसाइकल ४० कि.मि.को रफ्तारमा थियो । मैले मोटरसाइकल रोकी सकेपछि मोटरले धक्का दिएको फलस्वरुप मगंलमानको मृत्यु भएको हो भन्ने कृष्णबहादुर अधिकारीको बयान ।

११.    मार्ने र मर्नेका बीच चिनाजानी भएको भन्ने नदेखिनाले मार्नु पर्ने सम्मको इबी भए परेको भन्न मिलेन अगाडिको बसले साइड नदिई उछीनी गएको कारणबाट दुर्घटना घट्न गएको प्रष्ट छ । अतः प्रस्तुत कसूर ज्यानसम्बन्धीको महल भित्र नपर्ने भनी अर्थ गर्न मिलेन मार्ने नियत र मार्नु पर्नेसम्मको इबी अदावत नभएपनि बस हाँक्ने काम कुरा गर्दा त्यसैद्वारा मोटरसाइकलमा धक्का लाग्न गई मंगलमानको मृत्यु हुन गएको हुँदा अब्दुल मजीदलाई ज्यानसम्बन्धीका महलको ६ नं.को देहाय २ ले तजबिजी कैद महिना ।१० दश र जरिवाना रु.२५०।हुने ठहर्छ भन्ने धनुषा जिल्ला अदालतको फैसला ।

१२.   ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ हुनुपर्ने भन्ने समेत जिकिर लिँदै धनुषा जिल्ला अदालतको फैसला उपर श्री ५ को सरकारको तर्फबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

१३.   ज्यानसम्बन्धीको ५।६ नं.लगाएको सुरु धनुषा जिल्ला अदालतको इन्साफ फरक पर्ने नै देखिँदा अ.बं.२०२ नं.बमोजिम विपक्षी अव्दुल मजीदलाई झिकाई पेश गर्नु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको डिभिजन बेञ्जको आदेश ।

१४.   चालक अव्दुल मजीदको मंगलमानलाई मार्नु पर्नेसम्मको कुनै इबी लाग नरहेको अवस्थामा सवारी ऐन, २०२० को दफा ५१ को विरुद्ध सवारी हाँकी ठक्कर लागी मानिस मर्न गएको स्थितिमा चालक अव्दुल मजीदलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजाँय गर्न नमिल्ने हुँदा ज्यानसम्बन्धीको ६ नं.को देहाय २ बमोजिम कैद महिना दश र जरिवाना रु.२५०।गर्ने गरेको शुरु धनुषा जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । मोटरसाइकल समेत क्षतिग्रस्त भएको ठहरेकोले सवारी ऐनको दफा ५४ बमोजिम रु.१,०००।मंगलमानका हकदारले कृया खर्च र मोटरसाइकल धनी भनी चालक कृष्णबहादुर अधिकारीले देखाएका श्री ५ को सरकार जिल्ला कार्यालय, जि. पं.सचिवालय, चितवनले क्षतिपूर्ति रु.३,९२२।३१ समेत अव्दुल मजीदबाट पाउने ठहर्छ भन्नेसमेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१५.   सवारी ऐन, २०२० को दफा ५१ अन्तर्गतको लापरवाही साथ सवारी हाँक्दा मंगलमान प्रधान दुर्घटनामा परी मर्न गएको प्रमाणित हुन आएकोले ज्यानसम्बन्धी १३(३) बमोजिम लिएको दावी ठहर नगरी भवितव्य ठहराएको न्यायसंगत भएन भन्ने समेत श्री ५ को सरकारको सर्वोच्च अदालतमा परेको पुनरावेदन ।

१६.    सवारी ऐन, २०२० को दफा ५४(१) बमोजिम क्रिया खर्च भराउँदा रु.२०००।भराउने कानुनी व्यवस्थामा तजबिजी लगाई क्रिया खर्च रु.  १,०००।भराउने मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको नदेखिँदा अ.बं.२०२ नं. बमोजिम छलफलको निमित अव्दुल मजीदलाई झिकाई पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।

१७.   अव्दुल मजीदका नाउँमा रीतपूर्वक तामेल भएको म्यादमा निज हाजिर हुन नआएको ।

१८.   पुनरावेदकतर्फबाट उपस्थित विद्वान अ.सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठले गरेको बहस समेत सुनियो ।

१९.    यसमा निर्णयतर्फ हेर्दा बस चालक अव्दुल मजीदले चलाएको बसले दिएको ठक्करको कारणबाट मंगलमान प्रधानको मृत्यु भएकोमा विवाद देखिएन । तर बस चालक प्रतिवादी अव्दुल मजीद र मृतक बीच मार्नु पर्ने सम्मको कुनै रीस इवि भई मारौं भन्ने नियतले नै ठक्कर दिई मारेको हो भन्ने कतैबाट प्रमाणित हुन सकेको देखिँदैन । अघिल्लो बसलाई उछिनी अगाडि जान खोजेको अवस्थामा दुर्घटना भएको कुरालाई प्रतिवादी स्वयंले स्वीकार गरेको देखिन्छ । अगाडिको बस चालकले साइडै नदिई निजले अगाडिको बसलाई उछिन्न लाग्दा अगाडिबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएबाट दुर्घटना भएको कुरा अघिल्लो बस, बा.अं.७१४ को ड्राइभर गोपाल देउजाको बयानबाट देखिन्छ । प्रतिवादीले हाँकेको उक्त बस ६०६५ कि.मि.प्रतिघण्टाको रफ्तारमा भएको कुरा मोटरसाइकल चालक कृष्णबहादुर अधिकारीको बयानबाट देखिन्छ । दुर्घटना हुँदाको अवस्थामा गोरु गाडा पनि त्यही बाटो हुँदै गई रहेको भन्ने पनि मिसिलबाट देखिएको हुँदा प्र.अव्दुल मजीदले सवारी ऐन, २०२० को दफा ५१ को बर्खिलाफ सवारी हाँकेको भन्ने देखिएकोबाट ज्यानसम्बन्धीको ६ नं.अनुसार कैद महिना दश र जरिवाना रु.२५०।सजाँय हुने ठहराएको शुरु धनुषा जिल्ला अदालतको इन्साफ सदर गरेको र मोटरसाइकल क्षती भए बापत क्षतिपूर्ति रु.३,९२२।३१ भरी पाउने ठहर्‍याएको सम्म मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । क्रिया खर्च बापत सवारी ऐन, २०२० को दफा ५४(१)(क) बमोजिम दुइहजार रुपैयाँ भराउनु पर्नेमा तजबिजी अधिकार प्रयोग गरी रु.१,०००।भराएको हदसम्म मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाँय हुनु पर्ने भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४०।५।१२ को फैसलाले प्र.अव्दुल मजीदबाट क्रिया खर्च बापत रु.१, ०००।भराउने गरेकोमा अब रु.२, ०००।भराउने ठहर भएको हुँदा रु.१,०००।भराउने मध्यमाञ्चल क्षेत्रीय अदालतको उक्त फैसला बमोजिमको लगत कायम नै हुँदा अब नपुग रु.१,०००।को लगत कायम गर्नु र प्र.अव्दुल मजीदबाट भराइ पाउँ भनी मर्ने मंगलमानको हकदारको दर्खास्त परे ऐनको रीत पुर्‍याई भराई दिनु भनी शुरु धनुषा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु....१

मध्यमाञ्चल क्षेत्रीय अदालतका तत्कालीन माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह तथा श्री रुद्रबहादुर सिंहको इन्साफ केही उल्टी हुने ठहरेकाले रेकर्ड राख्न प्रशासन शाखामा लेखी पठाई दिनु...२ 

मिसिल नियम बमोजिम गरी बुझाई दिनु.......................................३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४२ साल आश्विन २० गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु