शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४१९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक:

निर्णय नं. २४१९     ने.का.प. २०४२      अङ्क ७

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

सम्वत् २०४१ सालको रिट नं. १७८५

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ ।

 

निवेदक      :जि.सर्लाही जव्दी गा.पं.वा.नं. ५ बस्ने मान बहादुर कार्की ।

विरुद्ध

विपक्षी :भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय, सर्लाही ।

जि.स.जब्दी गा.पं. वा.नं.५ बस्ने मुखलाल खां थारु ।

आदेश भएको मिति:२०४२।७।१५।५ मा

     दावी नै नभएको कुरामा प्रत्यर्र्थी भू.सु.का.सर्लाही आफैंले मोहीको उजूरीबाट मोहियानी हक समाप्त हुने भनी गरेको प्रत्यर्थि भूमि सुधार कार्यालय सर्लाहीको निर्णय प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भन्नु पर्ने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विष्णु राउत

विपक्षी तर्फबाट :विद्वान सहन्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

उल्लेखित मुद्दाःX

आदेश

 न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय सर्लाहीको मिति ०४१।७।२६ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ ।

२.    जि.स.जब्दी गा.पं.वा.नं.६(क) कि.नं.२६ को ज.वि.१८ को म निवेदक मोही हुँ जग्गाधनी मुखलाल खाँ थारु हुनुहुन्छ । २०३९ सालको बालीमा विपक्षीले बेदखली गरेकोले निवेदन गरेकोमा ०३९।११।१२ का दिन बेदखली नठहर्ने भनी निर्णय भयो ०४० सालको बाली म आफैं लगाई भोगेको थिएँ । ०४१ सालको धानबाली लगाउने बेलामा विपक्षीले पुनः बेदखली गरेको हुँदा उजूर गरेको थिएँ । विपक्षीले ०२७ सालदेखि म आफैंले कमोद गरी आएको छु भन्ने प्रत्युत्तर दिनु भएकोमा प्रत्यर्थी कार्यालयबाट सरजमीनले जग्गाधनीले खरीद गरेदेखि कमोद गरी आएको बाली बुझाएको भर्पाई नभएको यस अघि पनि बेदखली ठहर नभएको भन्दै बेदखली नठहर्ने र मोहियानी हक समेत समाप्त हुने भनी ०४१।७।२६ मा निर्णय गरेको छ ।

३.    मोही बेदखलको उजूरमा मोही बेदखली कै विषयमा सीमित रहेर निर्णय हुनुपर्नेमा विवाद भन्दा पर गएर मोही हक समाप्त हुने गरी गरेको निर्णय न्यायिक परिपाटी एवं प्रतिपादित सिद्धान्त विपरीत छ । कानुनले तोकेबमोजिम बाहेक जवरजस्ती मोहीलाई निष्कासन गर्न मिल्दैन। मेरो मोही हक जग्गामा विपक्षीले बेदखल गरेमा सावितै रहेको अवस्थामा विपक्षीलाई सजाँय मलाई क्षतिपूर्ति नदिने गरेको भू.सं.ऐन, ०२१  को दफा ३२१(क)(ख) को प्रत्यक्ष त्रुटि भएको छ। सरजमीनको आधारमा मेरो मोही हक जान सक्दैन कुत बुझाएको भर्पाई यस मुद्दाको आधार बन्न सक्तैन । अतः उत्प्रेषणको आदेश जारी गरी निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

४.    विपक्षीसँग लिखिन जवाफ लिई पेशगर्नु भन्ने सर्वोच्च अदालत सिंगल बेञ्जको ०४१।१०।१२ को आदेश ।

५.    उक्त जग्गा ०२७ सालमा मेरो हकमा आएको देखि अवछिन्न मैले जोत भोग गर्दै आएको छु । ०२७ सालमा विपक्षी स्वयं भू.सु.का.समक्ष गई छोडपत्रको निवेदन दिएका हुन् । बेदखलीको दावी झुठ्ठा हो । मोही हक छोडपत्र गर्न निवेदन दिएको हैन भनी रिट निवेदनमा जिकिर लिन नसकेबाट स्पष्ट छ । कार्यालयको कारणले लगतकट्टा नहुँदैमा मेरो हकमा प्रतिकूल असर पर्ने होइन बेदखल नठहराउने र मोही लगत कट्टा गर्ने भू.सु. का.को निर्णय कानुन अनुकूल छ रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत मुखलाल खाँको लिखिन जवाफ ।

६.    मोहीबेदखली नठहराई निवेदकलाई मोहियानी हकबाट निष्कासन गरी गरेको यस कार्यालयको निर्णयबाट निवेदकको हक हनन् नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.सर्लाहीको लिखिन जवाफ ।

७.    निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री बिष्णु राउतले रिट निवेदकको मोही बेदखलीमा उजूरी परेको छ । सरजमीनको आधार र बाली बुझाएको भर्पाई पेश गर्न नसकेको आधारमा मोही बेदखल नठहराएको त्रुटिपूर्ण छ । साथै बेदखली मुद्दामा मोहियानी हक समाप्त गरेको निर्णय समेत त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने समेत र विपक्षी कार्यालय तर्फबाट बहस गर्न उपस्थित सहन्यायाधीवक्ता श्री प्रेमबहादुर विष्टले सरजमीन समेतको आधारमा मोही बेदखली नठहर्ने र मोहियानी हक समाप्त गरिदिने गरेको भू.सु.का.को निर्णय कानुन  अनुकूल छ भन्ने र प्रत्यर्थी मुखलाल खाँ थारु तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले मेरो पक्षले जग्गा खरीद गरेदेखि आफैंले जोतेको छ । रिट निवेदकले मोही छोडपत्र गरेको छ । तसर्थ मोही बेदखल नठहराएको र मोहियानी हक समाप्त गरेको निर्णयमा त्रुटि छैन भन्ने समेत बहस गर्नु भयो ।

८.    प्रस्तुत मुद्दामा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

९.    यस्मा निर्णयतर्फ हेर्दा रिट निवेदक कानुन बमोजिमको मोही हो भन्ने कुरामा विवाद छैन । त्यसरी मोही भइरहेको व्यक्तिले मोहीको दायित्व पुरा नगरेकोमा त्यस्तो मोहिलाई मोहियानी हकबाट वञ्चित गर्न भूमिसम्बन्धी ऐनमा विभिन्न व्यवस्था गरेको पाइन्छ । तर सो व्यवस्था बमोजिम रिट निवेदकलाई मोही हकबाट वञ्चित गरी पाउन वा मोहियानीको लगत कट्टा गरिपाउँ भनी प्रत्यर्थी जग्गाधनीले उजूर निवेदन दिई त्यस्मा कारवाही निर्णय गराउन सकेको देखिँदैन । यसको विपरीत प्रस्तुत मुद्दामा रिट निवेदक मोही आफैंले मोहियानी हक बेदखल गरे भनी दिएको उजूरीबाट मोही बेदखल ठहर्दैन । निवेदक मानबहादुर कार्कीलाई उक्त जग्गाको मोहियानी हकबाट समाप्त गरिदिने ठहर्छ भनी प्रत्यर्थी भू.सु.का.सर्लाहीबाट ०४१।७।२६ मा निर्णय गरेको देखिन्छ ।

१०.    उपरोक्त उल्लेख भएबमोजिम रिट निवेदकको मोहियानी हक समाप्त गरिपाउँ भन्ने उजूर नपरेकोमा वादीदावी नै नभएको कुरामा प्रत्यर्थी भू.सु.का.सर्लाही आफैंले मोहीको उजूरीबाट मोहियानी हक समाप्त हुने भनी गरेको प्रत्यर्थी भूमि सुधार कार्यालय सर्लाहीको निर्णय प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भन्नु पर्ने हुन्छ ।

११.    अतः उपरोक्त उल्लेख भए अनुसार प्रत्यर्थी  भूमि सुधार कार्यालय सर्लाहीको मिति ०४१।७।२६ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयको नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारीको लागि आदेशको प्रतिलिपि प्रत्यर्थीकार्यालयमा पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.सुरेन्द्र प्रसाद सिंह

 

इतिसम्वत् २०४२ साल कार्तिक १५ गते रोज ५ शुभम् ।

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु