निर्णय नं. ७०५६ - जालसाजी

निर्णय नं. ७०५६ ने.का.प.२०५९ अङ्क १/२
पूर्ण इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
संवत २०५७ सालको फौ.पु.ई. नं..... १४
फैसला मितिः २०५८।७।२८।३
मुद्दाः– जालसाजी ।
पुनरावेदक
प्रतिवादीः काठमाडौं जि. काठमाडौं महानगरपालिका वडा नं.२० वस्ने पूर्णमुनि ताम्राकार समेत
विरुद्ध
प्रत्यर्थी
वादीः ऐ. ऐ. वडा नं. १९ यटखा वस्ने रत्न भन्ने रत्नकाजी ताम्राकार
§ विवादित जग्गा प्रतिवादीहरुले दर्ता गराएको जानकारी पाइसकेकोमा नक्कल लिई थाहा पाएको भन्ने अवस्था नहुने ।
§ २०३९ र २०४० सालमा भए गरेको कार्यमा मिति २०४४।१०।११ मा फिराद परेकोलाई हदम्याद भित्रको भन्ने अवस्था नदेखिने ।
(प्र.नं.१४)
पुनरावेदक प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री शंभु थापा
प्रत्यर्थी वादी तर्फबाटः विव्दान अधिवक्ताहरु श्री वद्रिप्रसाद शर्मा, श्री प्रकाश वस्ती र श्री लोकभक्त राणा
अवलम्वित नजिरः ने.का.प. २०५५, अ.क ११, नि.नं. ६६२५, पृष्ठ ६३६
फैसला
न्या.हरिप्रसाद शर्माः यस अदालत संयुक्त इजलासको मिति २०५७।९।३ को फैसलामा माननीय न्यायाधीशहरुको रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः
२. मेरो साख्यै बाजे नन्द तमोटका नाउँमा मौजा लाजिम्पाटको यटखा २२८ नं. पोता २०२२।३।१६।४ मा हा.नं. ४३१ मा हाल मोही नन्द तमोट का.इ यटखा बहाल भन्नेमा पादेपा रो. ६ जनिई दर्ता भएको र सर्भेको नापीमा समेत सोबाट भिडि का.जि.का.न.पं. वडा नं. २२ च.कि.नं. ३२ क्षेत्रफल १–८–०, धनहर सिम मोही रामकृष्ण प्रजापती, ऐ. कि.नं.३४ क्षेत्रफल १५२ धनहर सिम मोही पुनकाजी प्रजापती ऐ. कि.नं. ३५ क्षेत्रफल ०४० ऐ.कि.नं. ३६ क्षेत्रफल १८०, ऐ. कि.नं. ३७ क्षेत्रफल १८१ कि.नं. ४१ को क्षेत्रफल ०६२, ऐ.कि.नं ४२ क्षेत्रफल १११३, ऐ. कि.नं. १४ क्षेत्रफल ०–८–२ थान सिं दश नारायण प्रजापती का.इ टंगाल, ऐ. कि.नं. १५ क्षेत्रफल १–१४–३ धान दोयमको मोहीमा ऐ. कायम भई कित्ता नं. को व्यहोरामा भुलबाट विपक्षी मध्येका पुर्णमणी ताम्राकार तिरो तिरी जोती आएको भनि लेखाएतापनि कैफियत महलमा का. माल दोश्रा हा.नं. ४३१ मौजा लाजिम्पाट पोदेपा ६।४४१४।६४ नन्द तमोडका नाउँको भन्ने र जग्गाधनीको नाम थर वतनको महलमा दर्तावाला नन्द तमोट परलोक भई निजको हक खाने नाति पूर्णमणी ताम्राकार भनि लेखाइएको व्यहोराबाट समेत मेरो बाजे नन्द तमोटका नाउंको दर्ताको खलाबाट भिडी सर्भे नापीमा उल्लेखित कित्ताहरु कायम भएको हो । उक्त कित्ताहरुमा विपक्षीहरुको हक लाग्ने तथा पुग्ने होइन । त्यस्तोमा काठमाडौं नगर पंचायत वडा नं. २० बाट सिफारिश माँग गर्दा नन्द तमोटका हक खाने हामी दुई दाजुभाई मात्र हौं भन्ने व्यहोराको झुठ्ठा निवेदन दिई सोही आधारमा कि.नं. १४ र १५ दर्ता गराई जालसाजी कार्य गरेकोले यो फिराद गर्न आएको छु । तसर्थ मिति २०३९।६।१३ मा सिफारिश लिएको कार्य समेत जालसाजी हुँदा विपक्षीहरुलाई ऐ. को १० नं. बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. जेठा बाजे नन्द तमोटका हामीहरु हक खाने हकदार भएको हुँदा सोही अनुरुपको नाता प्रमाणका जि.का. काठमाडौंबाट प्राप्त गरी रै.प. एवं जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम नाप नक्सा हुँदा प्र. मध्येका पुर्णमुनिको नाममा नापी दर्ता भएको जग्गा ज.प. को २(क) र मालपोत ऐन, २०३४ बमोजिम दा.खा. नामसारीको लागि सम्बन्धित वडा बाट लिएको सिफारिशको आधारमा मा.पो.का. काठमाडौंले आवश्यक कानुनी प्रक्रिया पुरा गरी विभिन्न मितिको निर्णयबाट हामीलाई जग्गाधनी पुर्जा दिइएको कार्य कानून अनुरुप नै भएकोले किर्ते कागजको ३ नं. को परिभाषा भित्र पर्दैन । वादीले हदम्यादको हकमा मद्दत गर्न नसक्ने नजिर र दफाहरु लेखि दिएको फिरादबाट इन्साफ हुन सक्दैन । हामीहरुको कानूनी व्यवहारहरु वादी दावी अनुसार जालसाजी नठहर्ने हुँदा झुठ्ठा दावी खारेज गरी वादीलाई नै सजाय गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर पत्र ।
४. वादी दावी बमोजिम २ भाई हकदार हौं भनि वडा समितिमा दिएको निवेदन र ऐ. को आधारमा २०३९।६।१३ मा सिफारिश लिई दर्ता गराएको कार्य समेत प्रतिवादीहरुले जालसाजी गरेको ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको फैसला ।
५. आफ्नो दावी जिकिर कायम गर्न नाता कायम तर्फ वयान गरी सवुद प्रमाण पेश गर्ने हक अधिकारबाट वंचित राखि पेश गरेको सबुद प्रमाणहरु विरोधाभाषको अवस्था विद्यमान छँदै अ.वं. ७७ र ७८ को कार्यविधि नपुर्याई दर्ता वदर मुद्दा समेत फैसला गर्नुपर्नेमा सो नगरिएको शुरुको फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको तत्कालीन वागमती अंचल अदालतमा परेको पुनरावेदन पत्र ।
६. यसै लगाउको दे.मि.नं. १४९७ को मिसिलमा झगडिया झिकाउने आदेश आजै भएकोले यस मुद्दामा पनि झगडियालाई अ.वं. २०२ नं. बमोजिम झिकाई आएपछि पेश गर्नु भन्ने तत्कालीन बागमती अंचल अदालतको आदेश ।
७. विवादित जग्गामा प्रत्यर्थी वादीको हक पुग्ने भनि यसै इजलासबाट यिनै पक्ष विपक्ष भएको दर्ता वदर हक कायम दर्ता मुद्दामा फैसला भएको समेतबाट नन्द तमोटको हक खाने वादी देखिँदा देखिँदै हामी दुई भाई मात्र हक खाने हौं भनि का.न.पा. वडा नं. २० मा सिफारिशको लागि निवेदन दिई सोही आधारमा ०३९।६।१३ मा सिफारिश लिई दर्ता गराएको कार्य समेत प्रतिवादीहरुले जालसाज गरेको देखिन आएकोले दावी बमोजिम प्रतिवादीहरुले जालसाज गरेको ठहर्याएको शुरु अदालतको फैसला मुनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला ।
८. नापीमा प्रतिवादीका नाउँमा जग्गा नपाउने गरी जालसाज गर्यो भनी सम्बन्धित व्यक्तिको नाउँमा जालसाजमा दावी लिन नसकेको, हकाधिकारमा असर पर्ने कुनै देवानी कार्य रहेछ भने त्यसलाई फौज्दारी कार्य भनि दावा गर्नु विना प्रमाण दावीलाई आधार मानी जालसाज ठहर गर्नु समेत किर्ते कागजको ३ नं. विपरीत भएको, विर्ता रैकरमा हामीले परिणत गराएको जग्गाको बारेमा सार्वजनिक सूचना प्रकाशित हुँदा दावी गर्न नसकेको, नन्द तमोट आफ्नो जेठा बाजे भएको, नाता प्रमाण आफुहरुले अगाडि नै लिइसकेको समेतका आधार प्रमाणलाई विचारै नगरी जालसाज ठहर्याएको शुरु फैसला सदर गर्ने पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेकोले मुद्दा दोहोर्याई पाउँ भन्ने समेत व्यहोराको पूर्णकाजी र पूर्णमुनि ताम्राकारको यस अदालतमा पर्न आएको संयुक्त निवेदन पत्र ।
९. यसमा २०१३ साल चैत्र ७ गतेको पारित राजिनामाबाट नन्दमुनि र नन्द तमोट एउटै व्यक्ति भन्न नहुने हुँदा श्री पुनरावेदन अदालत पाटनको फैसलामा ने.का.प. २०४९, नि.नं. ४५१८, अंक ४ समेतका प्रतिकूल हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (ख) अन्तर्गत दोहोर्याउने निस्सा प्रदान गरिएको भन्ने यस अदालतको आदेश ।
१०. लोकभक्त राणा विरुद्ध रमादेवी राजभण्डारीले नजिरलाई खारेज (Over rule) गरेको नहुँदा २ वर्ष नाघि परेको नालेस खारेज हुनेमा इन्साफ गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण भै वदर हुन्छ । जालसाजी ठहर्याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिव ठहर्याई सदर गर्ने गरेको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) बमोजिम पूर्ण इजलासमा पठाई दिनु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय ।
११. हकै नपुग्ने प्रतिवादीहरुको निवेदनको आधारमा काठमाडौं महानगरपालिकाबाट सिफारिश समेत गराई आफ्नो नाममा गराएको दर्ता सद्दे भन्न नमिलेबाट प्रतिवादीहरुले जालसाज गराएको ठहर्याएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिँदा मुनासिव ठहर्छ । शुरु र पुनरावेदनको इन्साफ खारेज हुने ठहर्याएको माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको रायसँग सहमत हुन नसकेबाट सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम गरी प्रस्तुत मुद्दा लगाउको दर्ता वदर खिचोला हक कायम मुद्दा साथै राखी पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय ।
१२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान अधिवक्ता श्री शंभु थापाले फिराद हदम्याद नाघी परेको छ, २०३९।२०४० साल मा नै विवादित जग्गा मेरो पक्षको नाउँमा दर्ता भएको हुँदा लोकभक्त राणा विरुद्ध रमादेवी भएको जालसाजी मुद्दामा प्रतिपादित सिद्धान्त यस मुद्दामा आकर्षित हुने हुँदा मा. न्या. गोविन्दवहादुर श्रेष्ठको राय सदर हुनुपर्छ भन्ने वहस प्रस्तुत गर्नु भयो भन्ने प्रत्यर्थी वादीका तर्फबाट विद्वान अधिवक्ताहरु श्री वद्रीप्रसाद शर्मा, श्री प्रकाश वस्ती र श्री लोकभक्त राणाले प्रस्तुत मुद्दामा लोकभक्त राणा विरुद्ध रमादेवी भएको जालसाजी मुद्दाको नजिर आकर्षित नहुने हुँदा मा.न्या. श्री केदारनाथ आचार्यको राय सदर हुनुपर्छ भनी प्रस्तुत गर्नु भएको वहस सुनियो ।
१३. आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा विद्वान कानून व्यवसायीहरुले गर्नु भएको वहस जिकिरलाई मनन् गरी मिसिल संलग्न कागजात अध्ययन गरी निर्णय तर्फ विचार गर्दा, नन्द तमोटको हक खाने म निजको नाती रत्नकाजी रहँदारहँदै हकै नपुग्ने पूर्णकाजी र पूर्णमुनीले काठमाडौं नगरपालिका वडा नं. २० मा नन्द तमोटको हक खाने हामी २ जना मात्र दाजुभाई हौ भनि झुठ्ठा निवेदन दिई मिति २०३९।६।१३ मा सिफारिश लिई विवादित जग्गा आफ्नो नाममा दर्ता गराई अंशवण्डा समेत गराई सकेकोले जालसाजीमा कारवाही गरी पाउँ भन्ने वादीको फिराद दावी र जेठा वाजे नन्द तमोटका हामीहरु हक खाने हकदार भएको र दाखा नामसारीका लागि सम्बन्धित वडाबाट लिएको सिफारिशका आधारमा मा.पो.का. काठमाडौंले आवश्यक कानूनी प्रक्रिया पुरा गरी हामीलाई जग्गाधनी पूर्जा दिएको कार्य कानून अनुरुप नै भएकोले शुरु फिराद दावी खारेज गरी पाउं भन्ने प्रतिवादीहरुको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा वादी दावी बमोजिम २ भाई हकदार हौं भनि वडा समितिमा दिएको निवेदन र ऐ. को आधारमा २०३९।६।१३ मा सिफारिश लिई दर्ता गराएको कार्य समेत प्रतिवादीहरुले जालसाजी गरेको ठहर्याई शुरु काठमाडौं जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । शुरु जिल्ला अदालतको फैसला उपर प्रतिवादीहरुका तर्फबाट परेको पुनरावेदनमा पुनरावेदन अदालत पाटनबाट शुरुको फैसलालाई नै सदर गरेको पाइन्छ । पुनरावेदन अदालत पाटनले शुरुको फैसलालाई नै सदर गरेको हुँदा मुद्दा दोहोर्याई हेरी पाउँ भनि प्रतिवादीहरुका तर्फबाट यस अदालतमा परेको निवेदनमा निस्सा प्रदान भई संयुक्त इजलासमा पेश हुँदा माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठबाट इन्साफ गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला वदर गरी फिराद खारेज हुने ठहर्याई राय व्यक्त भएको र माननीय न्यायाधीश श्री केदारनाथ आचार्यबाट प्रतिवादीहरुले जालसाजी गरेको ठहर्याएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिव ठहर्याई राय व्यक्त भएको देखियो । यसरी संयुक्त इजलासका दुई माननीय न्यायाधीशहरुको रायमा मतैक्य हुन नसकी प्रस्तुत मुद्दा यस इजलास समक्ष निर्णयार्थ पेश हुन आएको देखियो ।
१४. यसमा नन्द तमोटको हक खाने हामी २ जना मात्र दाजुभाई हौं भनि वडामा झुठ्ठा निवेदन दिई लिएको सिफारिशबाट वादीको हक लाग्ने विवादित जग्गा प्रतिवादीहरले आफ्नो नाममा दर्ता गराई अंशवण्डा समेत गरेकोले प्रतिवादीहरुलाई जालसाजीमा कारवाही गरी पाउँ भनि वादीको मिति २०४४।११।१० मा फिराद परेको देखिन्छ । पुनरावेदक प्रतिवादीहरुले मिति २०३९।६।१३ को वडाको सिफारिश बमोजिम नन्द तमोटको नाउँको जग्गा मा.पो.का. को मिति २०३९।७।१ र २०४०।५।२ को निर्णय बमोजिम पुनरावेदक प्रतिवादीहरु पूर्णकाजी र पूर्णमुनीको नाँउमा दर्ता भएको देखिन्छ । सो विवादित जग्गा दर्ता गराएको जानकारी लिनका लागि प्रत्यर्थी वादीले मिति २०४१।१०।१२ मा मालपोत कार्यालय काठमाडौंमा निवेदन दिएको देखिन्छ । वादीले २०४१।१०।१२ मा मालपोत कार्यालयमा निवेदन दिंदा नै विवादित जग्गा प्रतिवादीहरुले दर्ता गराएको जानकारी पाइसकेकोमा मिति २०४४।१०।११ मा नक्कल लिई थाहा पाएको भन्ने अवस्था रहेन । पुनरावेदक प्रतिवादी लोकभक्त शम्शेर ज.व.रा. विरुद्ध प्रत्यर्थी रमादेवी राज भण्डारी भएको जालसाजी मुद्दा (ने.का.प. २०५५, अंक ११, नि.नं. ६६२५, पृ. ६३६) मा किर्ते कागजको १८ नं. मा काम भए गरेको मितिले २ वर्ष भित्र नालेस नदिए लाग्न सक्तैन भनि सिद्धान्त समेत प्रतिपादन भइरहेको छ । किर्ते कागजको १८ नं. र उक्त सिद्धान्त समेतको परिप्रेक्षमा २०३९ र २०४० सालमा भए गरेको कार्यमा मिति २०४४।१०।११ मा फिराद परेकोलाई प्रत्यर्थी वादीको फिराद हदम्याद भित्रको भन्ने अवस्था देखिएन । तसर्थ इन्साफ गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला मनासिव ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसलालाई वदर गरी फिराद खारेज गर्ने ठहर्याएको माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय मिलेको देखिँदा मनासिव ठहर्छ । फिराद खारेज हुने ठहरेकोमा वादीलाई सजाय गुर्न पर्दछ कि भन्नलाई अ.वं. १८० नं. ले केही गर्न परेन । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादीको फिराद खारेज हुने ठहरेकाले शुरु काठमाडौं जिल्ला अदालतको फैसला बमोजिम तपसिल खण्डको देहाय १ मा जम्मा विगो रु.१०,९८,७४९।९७ को किर्ते कागजका १० नं. ले २५% प्रतिशतले हुने रु.२,७४,६८७।५० प्रतिवादी पूर्णमुनी ताम्राकार र पूर्णकाजी ताम्राकारसँग बेरुजु हुँदा वरावरीका दरले असुल गर्नु भनि का.जि.अ. तहसिल शाखामा दिएको लगत कायम नरहने हुँदा उक्त लगत कट्टा गरी दिनु भनि शुरुमा लेखि पठाई दिनु ......... १
मिसिल नियमानुसार गरी बुझाई दिनु ... २
उपरोक्त रायमा सहमत छौं ।
न्या.कृष्णजंग रायमाझी
न्या.दिलीपकुमार पौडेल
इति संवत् २०५८ साल कार्तिक २८ गते रोज ३ शुभम् ....... ।