निर्णय नं. २४२० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २४२० ने.का.प. २०४२ अङ्क ७
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
सम्वत् २०४१ सालको रिट नं. १७८४
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ ।
निवेदक : जि.सर्लाही जब्दी गा.पं.वार्ड नं.५ बस्ने मान बहादुर कार्की ।
विरुद्ध
विपक्षी : भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय,सर्लाही ।
जि.सं.जब्दी गा.पं. वा.नं.५ बस्ने मुखलाल खाँ थारु ।
आदेश भएको मिति : २०४२।७।१५।५ मा
मोही बेदखली गरे भन्ने मोहीको उजूरीबाट मोहियानी हक समाप्त हुने ठहर्छ भनी गरेको निर्णय प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भन्नु पर्ने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत
विपक्ष तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमार र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
उल्लेखित मुद्दाःX
आदेश
न्या.धनेन्द्र बहादुर सिंहः भू.सु.का.सर्लाहीको ०४१।७।२० को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ :
२. जि.सर्लाही जव्दी गा.पं.वार्ड नं. ६ (ख) कि.नं.४५ को ज.वि.०–१०–८ को म मोही हुँ। विपक्षी चन्द्र प्रसाद जग्गाधनी हुनुहुन्छ । ०३९ सालको बालीमा विपक्षीले बेदखली गरेकोले निवेदन गरेकोमा ०३९।११।१२ का दिन सजाँय नपर्ने निर्णय गरे पनि ०४० सालको बाली लगाई भोगेको ०४१ सालको धान लगाउने बेला बेदखल गरेको हुँदा विपक्षी कार्यालय समक्ष उजूर गरेको थिएँ । विपक्षीले ०२९ सालमा भैरवप्रसादसँग खरीद गरी लिएपछि म आफैंले कमोद गरी आएको छु भन्ने प्रतिउत्तर दिनु भएकोमा प्रत्यर्र्थी कार्यालयले बेदखली नठहर्ने र मोहियानी हक समेत समाप्त हुने निर्णय गरेको छ ।
३. मोही बेदखलीको उजूर परेकोमा त्यसमा सीमित रही निर्णय हुनुपर्नेमा दावी भन्दा पर गएर मोही हक समाप्त हुने गरी गरेको विपक्षी कार्यालयको निर्णय न्यायिक परिपाटी एवं प्रतिपादित सिद्धान्त विपरीत छ । कानुनले तोकेबमोजिम बाहेक जबरजस्ती निष्कासन गर्न मिल्दैन । मेरो मोही हकको जग्गामा विपक्षीले बेदखल गरेमा सावितै रहेको अवस्थामा विपक्षीलाई सजाँय एवं मलाई क्षतिपूर्ति नदिने गरेको भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३२–१ (क) र (ख) को प्रत्यक्ष त्रुटि छ । सरजमीनको आधारमा मेरो मोही हक जान सक्दैन । यस मुद्दामा कुत बुझाएको भर्पाई नभएको भन्ने असान्दर्भिक छ । पहिला बेदखली नठहरेको अर्को सालको बेदखलीको लागि आधार बन्न सक्दैन । उत्प्रेषण वा आज्ञा, आदेश जारी गरी ०४१।७।२० को निर्णय बदर गरिपाउँ भन्ने निवेदन जिकिर ।
४. विपक्षीसँग लिखिन जवाफ लिने भन्ने समेत सर्वोच्च अदालत सिंगल बेञ्जको ०४१।१०।१२ को आदेश ।
५. जग्गा खरीद गरेदेखि हालसम्म जग्गाधनीले नै जोतकोड गरेको सबूद प्रमाणबाट ठहरिन आएकोले यति लामो अवधिसम्म जग्गाको कमोद नगर्ने मोहीलाई मोही कायम राखी रहन समेत नमिल्ने हुँदा मोही बेदखली नठहराई मोही निष्कासन गरेको यस कार्यालयको निर्णयबाट निवेदकको हक हनन् नभएकोले रिट खारेज गरिपाउँ भन्ने समेत भू.सु.का. सर्लाहीको लिखिन जवाफ ।
६. भू.सु.का.सर्लाहीको निर्णय कानुन अनुकूल छ । विपक्षीले जग्गा कहिल्यै कमाएको छैन । विवादको जग्गामा प्रत्यर्र्थीले घडेरीको रुपमा प्रयोग गरी आएको छ । कानुन बमोजिम गरिएको सरजमीन बदर गराउन सकिएको छैन । ०३९ सालको मोही बेदखली गरेको नदेखिएको ठहर गरेको निर्णय अन्तिम रहेको छ । तसर्थ रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत चन्द्रप्रसाद बरालको लिखिन जवाफ ।
७. निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री विष्णु राउतले रिट निवेदक दर्तावाला मोही हो । मोही बेदखलीमा निवेदकको उजूर परेको बेदखली नठहर्ने मोही निष्कासन गर्ने निर्णय गरेको छ । दावी नै नभएको कुरामा मोही निष्कासन गर्ने निर्णय गरेको छ । दावी नै नभएको कुरामा मोही निष्कासन गर्ने गरेको भू.सु.का.को निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने समेत र प्रत्यर्र्थी कार्यालय तर्फबाट बहस गर्न उपस्थित विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमारले मोहीले जग्गा नजोतेको हुँदा मोही बेदखली नठहर्ने र मोही निष्कासन गर्ने गरेको निर्णयमा त्रुटि नहुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने र प्रत्यर्र्थी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले प्रत्यर्थी जग्गा खरीद गरेदेखि आफैंले जोतेको छ । निवेदकले जोतेको छैन । सो कुरा सरजमीनबाट प्रमाणित छ । तसर्थ भू.सु.का.ले गरेको निर्णय कानुन अनुकूल छ भन्ने समेत बहस गर्नु भयो ।
८. प्रस्तुत मुद्दामा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. यस्मा निर्णयतर्फ हेर्दा रिट निवेदक कानुन बमोजिम मोही हो भन्ने कुरामा विवाद देखिँदैन । त्यसरी मोही भइरहेको व्यक्तिले मोहीको दायित्व पूरा नगरेमा त्यस्ता मोहिलाई मोहियानी हकबाट वञ्चित गर्न प्रचलित भूमिसम्बन्धी ऐनमा विभिन्न व्यवस्था गरेको पाइन्छ । तर सो बमोजिम रिट निवेदकलाई मोही हकबाट वञ्चित गरिपाउँ वा मोहियानी लगत कट्टा गरिपाउँ भनी जग्गाधनीले उजूर निवेदन दिई कारवाई निर्णय गराउन सकेको देखिँदैन । यसको विपरीत रिट निवेदक मोही स्वयं आफैंले मोहियानी हक बेदखल गरे भनी दिएको उजूरीबाट मोही बेदखली ठहराउन सबूद प्रमाण नभएको यस्तो लामो अवधिसम्म मोही कायम राखी रहन नमिल्ने हुँदा उल्लिखित जग्गाबाट निवेदकको मोहियानी हक समाप्त हुने ठहर्छ भनी भू.सु.का.सर्लाहीले ०४१।७।२० मा निर्णय गरेको देखिन्छ ।
१०. उपरोक्त उल्लेख भए अनुसार मोहियानी हक समाप्त गरिपाउँ भनी जग्गाधनीको उजूरै नपरेको अवस्था वादी दावी नै नभएको कुरामा प्रत्यर्र्थी भू.सु.का.सर्लाही आफैंले मोही बेदखली गरे भन्ने मोहीको उजूरीबाट मोहियानी हक समाप्त हुने ठहर्छ भनी गरेको प्रत्यर्र्थी भूमि सुधार कार्यालय सर्लाहीको मिति ०४१।७।२० को निर्णय प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भन्नु पर्ने हुन्छ ।
११. अतः उपरोक्त उल्लेख भएअनुसार प्रत्यर्र्थी भूमि सुधार कार्यालय सर्लाहीको मिति ०४१।७।२० को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्र्थी कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । यो आदेशको प्रतिलिपि जानकारीको लागि प्रत्यर्र्थी कार्यालयमा पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्र प्रसाद सिंह
इतिसम्वत् २०४२ साल कार्तिक १५ गते रोज ५ शुभम् ।