शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४२१ - अंश

भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक:

निर्णय नं. २४२१     ने.का.प. २०४२      अङ्क  ७

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

२०४१ सालको दे.पु.नं. ६४८

मुद्दा : अंश ।

 

पुनरावेदक/वादी: तनहुँ जिल्ला बन्दीपुर गा.पं. वार्ड नं. ३ घर भई हाल चितवन जिल्ला भरतपुर नगर पञ्चायत वार्ड नं.३ बस्ने रवि कुमार प्रधान ।

विरुद्ध

विपक्षी/प्रतिवादी:ऐ. ऐ. बस्ने केदारकुमार प्रधान ।

फैसला भएको मिति: २०४२।७।१६।६ मा

     घर जग्गाहरू आफ्नोआफ्नो नाममा ७ नं.लगत भरेको बिक्री व्यबहार गरेको नापीमा दर्ता गरेको समेत प्रमाणहरूबाट वादीका बाबु छँदै अघि नै अंशबण्डाको ३० नं.बमोजिम अंशबण्डा भई छुट्टा छुट्टै भोग दर्ता व्यवहार गरेको भन्ने देखिन आयो । यस स्थितिमा अंश पाउनु पर्छ भन्ने वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

(प्रकरण नं. १२)

पुनरावेदक वादी तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

विपक्षी प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

उल्लेखित मुद्दाः

फैसला

न्या.धनेन्द्र बहादुरसिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।५।२१।५ को निर्णय उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अन्तर्गत पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ :

२.    विष्णु कुमारका २ श्रीमती मध्ये जेठी मानकुमारी तर्फबाट २ छोरा जन्म भएकोमा जेठा मेरा बाबु उत्तरकुमार कान्छा विपक्ष केदारकुमार, कान्छी पुतलीदेवी तर्फका श्यामकुमार, यमुनाकुमार, उज्जैनकुमार र मणीकुमार समेत ४ भाइ छोरा जायजन्म भएको सोही बमोजिम बण्डा लगाई २०१२ सालमा बन्दीपुर मालबाट बण्डा पारित भएको छ भन्ने सुनेको छु । बाबा २०२२ सालमा परलोक हुनुभयो विपक्ष कान्छा बाबुले पालन पोषण गरी हुर्काउनु भयो । यही २०४० साल भाद्र २२ गते मेरा बाबु तर्फको अंश दिनु होस भन्दा नदिएकोले फिराद दर्ता हुँदाका अघिल्ला दिनसम्मको चल अचल श्रीसम्पत्ति फाँटवारी लिई २ भागको १ भाग  मेरो तर्फको अंश दिलाई पाउँ भन्ने फिराद दावी ।

३.    मैले विपक्षीलाई अंश दिनु पर्ने होइन । वादीका पिताजी तथा मेरा दाजु उत्तमकुमार जीवित छँदाकै अवस्था २०१६ साल फाल्गुण १५ गते घरसारमा नरम गरम मिलाई चल अचल बण्डा गरी आफ्नुआफ्नु भाग भोगचलन तिरो गरी आएको हो । २०२९ सालमा सर्वे नापजाँच हुँदा विपक्ष वादी रवीकुमारका नाउँमा बन्दीपुर आदर्श गा.पं.वार्ड नं. ३ (क) कि.नं.२३२, २३४ वार्ड नं.३ (ग) कि.नं.४१, ४३ मा दर्ता गरी स्वयं विपक्षीले ज.ध.प्र.पूर्जा लिई भोगचलन गरी आएका छन् । अंश छुट्टी सकेको दाजुको छोरा यो वादीलाई मैले अंश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.    वादीले बाबु उत्तमकुमार निजको आमा र केदारकुमार २०१६ सालमा भिन्न भएका हुन् भनी प्रतिवादीका साक्षीहरूले बकी लेखाई दिएको समेतबाट अंशबण्डाको ३० नं.अनुसार अघि नै अंश भइसकेको प्रमाणित भइसकेको देखिँदा अंश पाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने मिति ०४०।१२।१७ को चितवन जिल्ला अदालतको फैसला ।

५.    अ.बं.१३९ नं.बमोजिम दिलकुमारीलाई बुझी इन्साफ गर्नु पर्नेमा सो समेत नबुझी अंश छुट्टिएको ठहर गरी गरेको फैसला बदर गरी फिराद दावी बमोजिम अंश दिलाई पाउँ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको रहेछ ।

६.    भूमिसम्बन्धी ऐनमा व्यवस्था भएबमोजिम १, , ४ नं.बमोजिमका फारामहरू भरी दाखिल गरेको भनी नक्कल समेत पेश गरेकोमा वादीले सो कुरालाई इन्कार नगरी खाली सौतेनी आमालाई हात लिई केही जग्गासम्म देखाएको भनी सम्म जिकिर लिएकोबाट दिलकुमारीलाई झिकाई रहनु पर्ने अवस्था नरहेको ०२२।९।२० मा वादीको सौतेनी आमा दिलकुमारीले वादीकी बज्यै मानकुमारी र प्रतिवादीले आफ्नोआफ्नो जग्गाको फाँटवारी भरी पेश गरी १ नं.फाराममा आफ्ना परिवारका व्यक्तिहरू देखाएकोबाट वादी निजकी सौतेनी आमापट्टी छुट्टै परिवारमा रहेको देखिएको ७ नं.फाराम भर्दाको अवस्था वादीको बाबु जीवित थियो भन्ने वादीबाट कुनै सबूद आउन नसकेको यस्तो स्थितिमा घरसारमा बण्डा गरी बण्डा बमोजिम आफ्नो जग्गा आफ्ना नाउँमा दर्ता गरी व्यवहार समेत मिलाई सकेको देखिएकोले शुरु जि.अ.ले दावी बमोजिम अंश नपाउने ठहर्‍याएको इन्साफ मनासिव ठहर्छ भन्ने मिति ०४१।५।२१ गतेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

७.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको वादीको निवेदनमा प्रतिवादीबाट दुई भागको एक भाग दिलाई पाउँ भन्ने वादी दावी ०१६ साल फाल्गुण १५ गते बण्डापत्र भइसकेको भन्ने प्रतिवादी भएको ०१६ सालको बण्डापत्र भएको लिखत प्रतिवादीबाट पेश भएको देखिन नआएको र ०१६ सालमा भिन्न भएको भनिएको पनि सो अवस्थामा दर्ता तिरो फुटेको दाखिल खारेज भएको भन्ने प्रतिवादीले देखाउन नसकेको ०४०।४।१५ को मिलापत्रबाट प्रतिवादी र निवेदकको पिताको संयुक्त नाममा घर रहेको समेतबाट मध्यमाञ्चल क्षेत्रीय अदालतबाट वादीले अंश नपाउने ठहर्‍याएको अंशबण्डाको ३० नं.को त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजन बेञ्जको मिति ०४१।९।५ को आदेश ।

८.    पुनरावेदक तर्फबाट विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले ०१६ साल फाल्गुण १५ गतेमा बण्डा भइसकेको भन्ने प्रतिवादीको जिकिर समर्थन गर्न लिखत पेश गर्न सकेको छैन । प्रतिवादी र निजको श्रीमती बीचको अंश मुद्दामा प्रतिवादीको व्यहोरामा ०१६।२।१६ मा पत्नीलाई अंश छुट्याई दिएको भनेकोबाट ०१६।११।१५ मा अंश भइसकेको भन्ने प्र.को भनाई विश्वास लाग्दो छैन । वादीका नाउँमा जग्गा दर्ता हुँदैमा अंश भएको भन्न मिल्दैन । तसर्थ अघि नै अंश भइसकेको  भनी शुरुले गरेको फैसलालाई सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर भई वादीले अंश पाउनु पर्छ भन्ने समेत र विपक्षी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादीका नाउँमा जग्गा नापीमा दर्ता भई प्रमाणपूर्जा पाइसकेको छ । ७ नं.फाराम छुट्टा छुट्टै भरेको छ प्र.ले घडेरी आधा उत्तमको भनी वादीको सौतेनी आमा दिलकुमारीले घर घडेरी केदारको आधा भनी भरेको छ । प्रतिवादीका आमा वादीका बजै मानकुमारीको जग्गामा दावी छैन । मानकुमारीले आफ्नो अंश बिक्री गरेको समेतबाट घर सारमा अंश भइसकेको भन्ने प्रष्ट देखिएको छ । तसर्थ वादीले अंश नपाउने भन्ने गरेको शुरु इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा कुनै त्रुटि नहुँदा सोही इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

९.    प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१०.    यसमा निर्णयतर्फ हेर्दा ०१६ सालको बण्डापत्र लिखत प्रतिवादीबाट पेश भएको देखिन नआएको, सो अवस्थामा दर्ता तिरो फुटेको दाखिल खारेज भएको भन्ने प्रतिवादीले देखाउन नसकेको ०४०।४।१५ को मिलापत्रबाट प्रतिवादी र निवेदकका पिताको संयुक्त नाममा घर रहेकोबाट वादीले अंश नपाउने ठहराएको अंशबण्डाको ३० नं.को त्रुटि देखिएको भन्दै पुनरावेदनको अनुमति प्रदान भएको देखिन्छ ।

११.    अंशबण्डाको ३० नं.मा अंशबण्डा गर्दा साक्षी राखी कानुन बमोजिम बण्डा छुट्याई बण्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहिछाप गरी रजिष्टे«शन गर्नु पर्नेमा सो गरी राख्नु पर्छ । सो बमोजिम नभएको बण्डा सदर हुँदैन । तर यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नोआफ्नो हिसाब भागशान्ति बमोजिम लिइपाई दाखिल खारेज समेत गराइसकेको वा बण्डा बमोजिम आफ्नोआफ्नो भागको अचल छुट्टा छुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा घटी बढी असल कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ भन्ने लेखिएको पाइन्छ ।

१२.   प्रस्तुत मुद्दामा अंश दिलाई पाउँ भन्ने वादी दावी ०१६ सालमा अंश भइसकेको हुँदा वादी दावी झुठ्ठा हो भन्ने प्रतिवादी जिकिर देखिन्छ । प्रतिवादी र निजको श्रीमती टीकाकुमारी प्रधानको बीच चलेको अंश मुद्दामा ०४०।४।१५ मा मध्यमाञ्चल क्षेत्रीय अदालतमा भएको मिलापत्र हेर्दा घर १७ हात मध्येको पनि पूर्वपट्टी आधी दाजु उत्तमकुमार परलोक भई हक खाने छोरा रवीकुमारको अंश भाग कटाई बाँकीमा मिलापत्र भएको देखिन्छ । यसबाट घर सगोल कायम गरी मिलापत्र भएको देखिँदैन । प्रतिवादीले अंश भइसकेको भनी पेश गरेको १ नं.लगत र ७ नं.अनुसूची हेर्दा वादीका सौतेनी आमा दिलकुमारीले १ नं.लगतमा वादीलाई आफ्नो परिवारमा भरेको ७ नं.फाराममा घर र पछुवार समेत आधा केदार कटाई आधा भनी भरेको पाइन्छ । प्रतिवादीले भरेको १ नं.लगतमा प्रतिवादीका परिवारको मात्र नाम उल्लेख भएको वादीलाई सगोलमा देखाएको छैन । ७ नं.फाराममा घर पछुवार आधा भनी देखाएको छ । त्यस्तै वादीका बजै प्रतिवादीका आमा मानकुमारीले १ नं.लगतमा आफ्नो मात्र नाम उल्लेख गरेको छ । अरु परिवारको नाम उल्लेख गरेको देखिँदैन साथै ७ नं.फाराममा आफ्नो जग्गाको फाँटवारी भरेको देखिन्छ । निज मानकुमारीका नाउँमा दर्ता भएको जग्गा ०४०।७।८ मा रजिष्ट्रेशन पास गरी मणीकुमार प्रधानलाई बिक्री गरेको पाइन्छ । ०३९ सालको सर्भे नापीमा जग्गा वादीका नाउँमा नाप नक्शा भएको क्षेत्रीय किताब उतारबाट देखिन्छ । यसबाट घर जग्गाहरू  आफ्नोआफ्नो नाममा ७ नं.लगत भरेको बिक्री व्यवहार गरेको नापीमा दर्ता गरेको समेत प्रमाणहरूबाट वादीका बाबु छँदै अघि नै अंशबण्डाको ३० नं.बमोजिम अंशबण्डा भई छुट्टा छुट्टै भोग दर्ता व्यवहार गरेको भन्ने देखिन आयो । यस स्थितिमा अंश पाउनु पर्छ भन्ने वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । शुरु जि.अ.ले दावी बमोजिम अंश नपाउने ठहराएको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको निर्णयलाई अन्यथा गर्नु पर्ने स्थिति नहुँदा इन्साफ मध्यमाञ्चल क्षेत्रीय अदालतको मनासिव ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गर्न परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४२ साल कार्तिक १६ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु