निर्णय नं. २४२२ - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. २४२२ ने.का.प. २०४२ अङ्क ७
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
सम्वत् २०४१ सालको रिट नं. २२६५
विषय : उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ ।
निवेदक :सप्तरी जिल्ला धनगढी गा.पं.वडा नं.२ बस्ने शंकर शाह ।
विरुद्ध
विपक्षी :भूमि सुधार कार्यालय सप्तरी ।
जिल्ला सप्तरी धनगढी गा.पं.वडा नं.२ बस्ने भूल कुनवती शाह ।
फैसला भएको मिति:२०४२।७।१६।६ मा
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को (१) मा ससुराको मोहियानी हक बुहारीमा नामसारी हुनसक्ने भन्ने व्यवस्था गरेको नपाइने ।
(प्रकरण नं. १२ र १३)
निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी
विपक्षी तर्फबाट :विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी
उल्लेखित मुद्दाःX
आदेश
न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय सप्तरीको मिति २०४१।१।१३ को निर्णय बदर गरिपाउँ भनी संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ ।
२. निवेदकको नाममा दर्ता रहेको जिल्ला सप्तरी धनगढी गा.पं.वडा नं.२ अन्तर्गतको कि.नं.१४२ के जग्गा विगहा ०–५–१।२ विगहा उत्तरतर्फबाट कमाई मोहीको ४ नं.जो.अ.नि.समेत मेरा पतिले प्राप्त गर्नु भई मेरो पतिले कुत बुझाई आउनु भएकोमा सर्वेमा मोही दर्ता गराउन निजबाट छुट भएको र पति स्वर्गवास भएको हुँदा विपक्षी नं.२ ले म जग्गाधनीलाई कुत बुझाई भर्पाई समेत गरिदिनु भएको २०३९ सालको कुत गा.पं.कार्यालयमा छ उक्त जग्गाको मोही भएकोले मोही नामसारी गरी मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने विपक्षी नं.२ को विपक्षी नं.१ को कार्यालयमा परेको दावीको निवेदनपत्र ।
३. विपक्षी नं.२ र निजको पति उक्त कि.नं.१४२ को जग्गा विगहा ०–५–१।२ को साविक जग्गाधनीहरू मुसहरू चौधरी त्यसपछि निजको छोरा अनिरुद्धको पालादेखि मोही होइन । वादी लेखमा उल्लेख गरेको क्षेत्रफलको जग्गा अर्को कि.नं.को हो कि.नं.१४२ को जग्गा म स्वयंले जोतकोड गरेकाले सो जग्गामा विपक्षी मोही नभएकोले वादी दावी खारेज गरिपाउँ भन्ने प्रतिउत्तरपत्र ।
४. २ नं.अनुसूचीबाट मृतक कंचनशाह तेली मुसहरी चौधरीको ०–१०–० मोही देखिएको। निवेदिकाको भागबाट कि.नं.१४२ को पश्चिम उत्तरबाट ०–५–१।२ मोहियानी हकको दावी गरेको र कागजात तथा प्रतिवादीको बयानबाट कि.नं.१४२ मुसहरको छोरा अनिरुद्रबाट विपक्षीले २०३७।३।२० मा पारीत गरी लिएको र कि.नं.२५० को ०–५–७ निवेदिकाले कमाएको भन्ने कुरा विपक्षीले समेत मन्जूर गरेको देखिएको हुँदा नामसारी हुन नपर्ने वा वादी मोही होइन भन्ने प्रमाण जिकिर लिन नसकेको । २०३५ सालको कुत बुझाएको भर्पाई २०३५।९।९।२ मा सनाखतबाट समेत विपक्षीले मलाई होइन भन्न नसकेबाट उक्त कित्ताको निवेदिका मोही हुँदा दर्ता नामसारी गरिदिने निर्णय मिति २०४१।१।१३ मा भूमि सुधार कार्यालय सप्तरीबाट भयो । उक्त विवादित जग्गा कि.नं.१४२ मा विपक्षीका पतिले मोहियानी कमाएको छैन । भू.सु.का.बाट विपक्षीलाई दिइएको २०४०।२।२५ को मोहियानी हकको प्रमाणपत्र कि.नं.१४२ को कतै उल्लेख छैन। प्रत्यर्थी उक्त जग्गाको मोही भएको भए सर्भे नापी हुँदा जग्गा नाप जाँच ऐन, २०१९ दफा ६ बमोजिम मोहियानी भएको कुरा प्रमाणित भएको लेखाउनु पर्नेमा सो समेत लेखाउन सकेको छैन। विपक्षी नं.२ को पति मोही नै नभएकोले दफा ८(३) र नियम ७(५) ले तत्कालिन अवस्था बमोजिम दर्ता पूर्जा पाएको नै छैन । अतः उत्प्रेषणको आदेशले उक्त त्रुटिपूर्ण निर्णय बदर गराई पाउँ भन्ने समेत रिट निवेदन ।
५. सर्वोच्च अदालत सिंगल बेञ्जबाट विपक्षीहरूबाट लिखिन जवाफ झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने मिति २०४१।२।२४ को आदेश ।
६. सा.ज.ध.मुसहरू चौधरीबाट ०३७।३।२४ मा खरीद गर्ने रिट निवेदकको जिकिर बमोजिम ४ नं.जो.अ.नि. समेतमा कित्ताको ०३५।९।९ को जोत भर्पाई र मिति ०४०।७।२७ को प्रतिउत्तरपत्रबाट मुख मिल्न २०४०।७।२८ मा निवेदन झुलकुनवतीले जग्गाको धानवाली शान्ति सुरक्षासाथ कटाइपाउँ भन्ने निवेदन समेतबाट रिट निवेदकले साही समयमा धानबाली समयमा दावी कित्ताको विवाद नगरी बसेको समेत सो जग्गा भुलकुनवतीको मोही हक देखिने हुँदा रिट निवेदकले लिएको प्रकरण नं. ४ को जिकिर बमोजिम ४ नं.को जो.अ.नि.प्राप्त गर्दा निवेदिकाको ससुराले प्राप्त गरेको ४ नं.जो.अ.नि.बमोजिम ४ किल्ला समेत खुल्न जाने निवेदिकाको जिकिर र भू.सु.ऐनको दफा २५(१) बमोजिम मोही हुन जाने हुँदा २०४१।१।१३ मा भएको निर्णय न्यायसंगत छ अतः रिट निवेदन खारेज गरी पाउन अनुरोध छ भन्ने भू.सु.का.सप्तरीको लिखिन जवाफ ।
७. हाल विवादित जग्गा कि.नं.१४२ को सा.ज.ध.मुसहरू चौधरीकै पालादेखि मेरा ससुरा कंचन साहूले उक्त जग्गा कमाई आएको हो २०२२ सालमा भूमि सुधार लागू हुँदा कित्ताकाट नभई कि.नं. को व्यवस्था थिएन ससुरा कंचन साहूको नाममा भरिएको ४ नं.जो.अ.नि.मा ४ किल्ला भित्रको १० कठ्ठा उल्लेख गरिएको छ । सोही जग्गा नाप जाँच भई कि.नं.१४२ नै ९ कठ्ठा १६ धुर क्षेत्रफल भएको ससुरा परलोक भएपछि पति जिवछ साहूले कमोद गरी आएको साल सालैको बाली बुझाई साविक ज.ध.अनिरुद्रप्रसाद चौधरी मेरा पति मार्फत स्व.ससुरा कंचन साहूकै नामबाट कुत बुझाएको भर्पाई प्राप्त गरेको छु उक्त जग्गाको नामसारी मेरो नाममा नामसारी गरिदिने मिति २०४१।१।१३ को निर्णय भएको कानुन अनुरुप हुँदा निवेदन खारेज गरिपाउँ भन्ने झुलकुनवति शाहूको लिखिन जवाफ ।
८. निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरीले ससुराको नामको मोहियानी हक बुहारीको नाममा नामसारी गरिदिने ठहर गरेको भू.सु.का.सप्तरीको निर्णय भू.सु.ऐनको दफा २६(१) बमोजिम त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशले बदर गराई पाउँ भनि र प्रत्यर्थी तर्फबाट उपस्थित हुनुभएका विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयीले भू.सु.का.को निर्णय कानुन एवं सबूद प्रमाणको आधारमा भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने बहस गर्नु भयो ।
९. प्रस्तुत मुद्दामा निवेदकका माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन भन्नेतर्फ निर्णय दिनु पर्ने हुन आएको छ ।
१०. यसमा निर्णयतर्फ हेर्दा कि.नं.१४२ को ज.वि.०–५–१–२ मा ससुरा कंचन साहूले साविक जग्गाधनी मुसहरूको पालादेखि जोत कमोद गर्दै आएकोमा निज ससुरा परलोक हुनु भई पतिले उक्त जग्गा कमोद गर्दै आउनु भएको निजको पति परलोक भएको हुँदा मोहियानी हक नामसारी गरिपाउँ भनी झुलकुनवती शाहले भूमि सुधार कार्यालय सप्तरीमा निवेदनपत्र दिएको देखिन्छ ।
११. उल्लिखित कि.नं.को जग्गामा २ नं.अनुसूचीबाट मृतक कंचन साहू तेली मुसहरी चौधरीको मोही देखिएको उक्त जग्गा मुसहरूको छोरा अनिरुद्धबाट विपक्षीहरूले मिति २०३७।३।२० मा राजीनामा गरी लिएको र २०३५ सालको कुत बुझाएको भर्पाई मिति २०३५।९।९।२ मा सनाखत समेतले निवेदिकाले उक्त जग्गा कमाएको देखिएको हुँदा मोहियानी हक नामसारी हुने ठहर्छ भनी भू.सु.का.बाट मिति २०४१।१।१३ मा निर्णय भएको पाइन्छ ।
१२. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को (१) मा मोहीको हक र दायित्व सम्बन्धमा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पति पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्ने उल्लेख भएको देखिन्छ ।
१३. उक्त दफामा ससुराको मोहियानी हक बुहारीमा नामसारी हुनसक्ने भन्ने व्यवस्था गरेको पाइँदैन । सावित मोही कंचने साहू पछि निजको छोराले मोही नामसारी गरेको छ भनी प्रत्यर्थी झुलकुनवती शाहले भन्न सकेको पनि देखिँदैन । यस्तोमा ससुरा कंचन साहू तेलीको नामको मोहियानी हक बुहारी झुलकुनवती शाहका नाममा नामसारी गर्ने गरेको प्रत्यर्थी भूमि सुधार कार्यालय सप्तरीको निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को प्रत्यक्ष त्रुटि गरी निर्णय गरेको देखिन आयो । अतः सो त्रुटिपूर्ण मिति २०४१।१।१३ को प्रत्यर्थी भू.सु.का.सप्तरीको निर्णय उत्प्रेषणको आदेशबाट बदर हुने ठहर्छ । जानकारीको निमित्त यो आदेशको नक्कल प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधीवक्ताको कार्यालयमा फाइल पठाई नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४२ साल कार्तिक १६ गते रोज ६ शुभम् ।