निर्णय नं. २४३३ - उत्प्रेषण

निर्णय नं. २४३३ ने.का.प. २०४२ अङ्क ७
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको रि.नं. १६४३
विषय : उत्प्रेषण ।
निवेदक :बुलालको छोरा ल.पु.जि.ठेचो गा.पं.वा.नं.३ खाचाटोल बस्ने लोकचा ज्यापू ।
विरुद्ध
विपक्षी :भूमि सुधार कार्यालय ललितपुर ।
ल.पु.जि. झरुवारासी गा.पं.वा.नं.४ बस्ने मैया खत्रीनी ।
आदेश भएको मिति:२०४२।६।१३ मा
अधिकार प्राप्त भू.सु.अधिकारीले गरेको निर्णयमा कुनै पनि कानुनी त्रुटि देखिन नआएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री प्रकाश बस्ती
विपक्षी तर्फबाट :विद्वान स.अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का
उल्लिखित मुद्दा :निवेदक, योगेन्द्र झा महापात्र ब्राहृमण विपक्ष, भू.सु.का.सर्लाहीसमेत भएको रि.नं. १२१५ ने.का.प. ०३९ भाग २४ अंक ८ मिति ०३९।८।१३ मा सिद्धान्त प्रतिपादित ।
आदेश
न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ ।
२. ल.पु.जि.झरुवारासी गा.पं.वडा नं. ५(ख) कि.नं. २२० को ०–८–० जग्गा र ऐजन वार्ड नं. ५(ग) कि.नं. ३८ को ०–९–० र ऐ.वा.नं.को १३१ को २–१–२ कित्ता जग्गाहरूको गहुँ बाली वरिपरीको घाँस झिक्दै गरेबाट मोही हटक गर्यो भन्ने वादी दावी भएको र प्र.ले निज वादी साविक ज.ध.को एकासगोलको छोरा भएकोले विवादित जग्गाको वादी मोही हुन नसक्ने र विवादित जग्गा खरीद गरी लिएदेखि नै आफैंले जोतभोग गर्दै आएको छु । बेदखल गरेको छैन भन्ने प्रतिउत्तर गरेकोमा विवादित जग्गाको मोही महलमा भू.सु. लागू हुँदा वादीको नाम देखिने र निज एकासगोलको भन्ने देखिन आउँदछ । यस स्थितिमा भू.सं.ऐन, ०२१ को परिच्छेद १ मा २(ख) को परिभाषा भित्रको मोही भन्न नसकिने र ज.ध.ले मोहीलाई मुख्य बाली लगाउँदा हटक गरेको भए वादीले माग गर्नु पर्नेमा सो नगरी प्रतिवादीले गहुँ बाली वरिपरीको घाँस झिकेको कारण देखाई सोही आधारमा बेदखल गर्यो भन्ने वादी दावी खारेज हुने ठहर्छ भन्ने निर्णय गर्नु भयो जुन निर्णय निम्न लेखिएको जिकिर अनुसार कानुनी त्रुटि छ भनी उल्लेख गरेको छु :
३. जिकिर : विपक्षी भू.सु.अधिकारीज्यूबाट गर्नु भएको सो निर्णय पर्चाले संविधानको भाग ३ धारा ११ को र सोही धारा ११ को उपधारा (२) को खण्ड (ङ) मा लेखिएको समेतबाट पाएको भोगचलन गर्न पाउनेमा र संविधानको धारा १५ ले कानुनबेगर सम्पत्ति अपहरण नहुनेमा समेत अपहरण हुन गएको सो संवैधानिक हक प्रचलनको लागि भू.सं.ऐनको दफा २ को खण्ड (ग) र त्यसको उपदफा १ र २ ले परिवार भन्ने स्वास्नी, लोग्ने, नाबालक छोरा, ३५ वर्ष पुगेको अविवाहित छोरी परिवार हुन् म मेरा बाबु, आमा र भाइको म परिवार भित्र नपर्ने भन्ने सो ऐनले प्रष्ट गरेको र सो ऐनले म अलग परिवार भएको र सोही अलग परिवारले कमाएको जग्गाको जोतहक निज मरेपछि निजको पत्नी छोरामा जग्गावालाले पत्याएकोलाई हुने भू.सं.ऐनको दफा २६ को उपदफा (१) भएको र बाबुको नाउँमा जग्गावालामा दर्ता भएको जग्गा सबैको बाबु पछिको जग्गावाला हुने अथवा बाबाले अंश दिएकोमा जग्गावाला हुने भन्नेतर्फ अंशबण्डाको १ नं.ले जिए जिएको म १ आमा १ भाइ १ र जीवित भएमा बाबु १ समेत हुने भएबाट सो सम्पूर्ण जग्गाको म जग्गावाला नहुने भन्ने प्रष्ट भएकोले सो ऐनले पनि अरु जग्गावाला भएको जग्गा कमाउने मोही किसान भू.सं.ऐनको दफा २ को (ख) मा लेखिएको बमोजिमको अरुको जग्गा कमाउने किसान नभएको भन्ने उपरोक्त ऐनहरूले प्रष्ट गरेको छँदाछँदै सो उक्त ऐनहरूतर्फ बिचार नगरी म, आमा, बाबु, भाइको सगोलको छोरा भाइ भनी सो निर्णय पर्चामा लेख्नु भएको सो निर्णय उपरोक्त ऐन र मुलुकी ऐन प्रारम्भिक कथनको ४ नं.ले निर्दिष्ट गरेको अरु ऐन नियममा लेखिएको सोही बमोजिम हुने र अरु ऐन नियममा नलेखिएकोमा मुलुकी ऐन बमोजिम हुने भन्ने कुरालाई याद नगरी गरेको सो निर्णय पर्चाले उपरोक्त ऐनले प्राप्त भएको सो हक प्रचलन र नागरिक अधिकार ऐनको दफा ६ को उपदफा (६) ले भोगचलन गर्न समेत हक अधिकारको हक प्रचलन गर्नमा समेत उक्त भू.सु.अ.को पर्चा निर्णयले बाधा पुगेको हुँदा र मेरो संवैधानिक हक हितमा समेत आघात पुगेकोले संविधानको धारा १६।७१ बमोजिम उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी बदर गरिपाउँ भन्ने रिट निवेदन जिकिर ।
४. विपक्षीहरूबाट लिखिन जवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्जको आदेश ।
५. जग्गाधनी र मोही आफैं हुनसक्ने व्यवस्था भू.सं.ऐनमा पाइँदैन । आफैं जग्गाधनी महलमा उल्लेख हुँदैमा सो मोही हुन सक्दैन, विवादको जग्गा विपक्षी रिट निवेदकको पूर्खाैली पैत्रिक सम्पत्ति हो । जग्गाधनी हक बिक्री भएपछि मोहियानी हक रहिरहन सक्दैन । भू.सं.ऐन, ३४(२) अनुसारको कबूलियत समेत विपक्षीले देखाउन सक्नुभएको छैन, साथै विपक्षी सगोलमा रहेको भन्ने समेत प्रष्ट देखाउन सक्नु भएको छैन र विवादित जग्गाको जोतपोत समेत मेरो नाउँमा कायम भइसकेको छ । अतः ऐन नियमको विवेचना गरी भू.सु.का.ललितपुरले गरेको निर्णयले निवेदकको कुनै पनि कानुनी हक हितमा आघात पुगेको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने मैया खत्रीनीको लिखिन जवाफ ।
६. भू.सं. ऐन, ०२१ को परिच्छेद १ को २(ख) को परिभाषा भित्रको मोही समेत रिट निवेदक नदेखिएको र यस्तो स्थितिमा मोही बेदखलको प्रश्न नै उपस्थित हुन नआउने हुँदा भू.सं.ऐन, ०२१ को दफा ३२ मुताविकको कारवाही गर्न कानुनसंगत नदेखिने भई यस कार्यालयमा मिति ०४१।७।१९ को मुद्दा खारेज सम्म गरिएको हो । अतः यस कार्यालयको निर्णय न्यायसंगत भएको र रिट निवेदकको कुनै पनि कानुनी हक हितमा असर परेको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.ललितपुरको लिखिन जवाफ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत विषयमा रिट निवेदक लोकचाज्यापू तथा विपक्षी मैयाखत्रीनीको वा. दिलबहादुर खत्रीलाई समेत रोहवरमा राखी रिट निवेदकको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री प्रकाश वस्ती र विपक्षी भू.सु.का.तर्फ बाट बहसको लागि उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विपक्षी मैया खत्रीनीको तर्फबाट विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्काले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
८. प्रस्ुतत विषयमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
९. यस्मा निवेदक आसामी लामा थकुनको छोरा भएकोमा विवाद छैन । निवेदकका बाबुको नाउँको जग्गा निजको मृत्युपछि नापी हुँदा निवेदकले जग्गा आफ्नो नाममा नपाई जग्गाधनी र मोही निज भनी ज.ध.प्रमाणपूर्जामा जनिएको छ, निवेदकको निवेदन जिकिरमा पनि विवादको जग्गा ३ भागको १ भाग निजको हकको भन्ने कुरा पनि निजले स्वीकार गरेको देखिन्छ । भू.सु.ऐन, ०२१ को दफा २(क) मा जग्गावाला भन्नाले प्रचलित नेपाल कानुन बमोजिम श्री ५ को सरकारमा मालपोत तिर्नु पर्ने गरी आफ्नो नाममा जग्गा दर्ता गरी सो दर्ताको नाताले जग्गामा हक पुग्ने व्यक्ति सम्झनु पर्दछ र सो शब्दले देहायको जग्गाको सम्बन्धमा देहायको व्यक्तिलाई समेत जनाउँछ भनी (३) मा त्यस्तो जग्गावालाको हकवाला वा अंशियार भएको नाताले वा त्यस्तो जग्गावालाले कानुन बमोजिम आफ्नो हक छोडी दिएकोले सो जग्गा आफ्नो नाममा दर्ता गराउने हक पुगेको व्यक्ति भन्ने उल्लेख भएको पाइन्छ । त्यस अनुसार विवादको जग्गा निवेदकको पूख्र्याैली जग्गा भई विवादित जग्गामा निवेदकको पनि हक भएको देखिन्छ । निवेदकले लिखत बदर र निखनाई पाउँ भन्ने मुद्दा समेत जि.अ.मा दायर गरेकोबाट निज एकासगोलका व्यक्ति हुन् भन्ने प्रत्यर्थीको वकिलले बहसमा जिकिर लिनुभएको साथै एकासगोल रहेकै बखत फिल्डबुकमा मोही जनाएकोलाई कानुन बमोजिम नै मानी मोहीको लगत कट्टा गर्न नमिल्ने ठहराएको भू.सु.अ.को निर्णय त्रुटिपूर्ण हुने भनी निवेदक योगेन्द्र झा महापात्र ब्राहृमण विपक्ष भु.सु.का.सर्लाही समेत भएको रि.नं. १२१५ ने.का.प. ०३९ भाग २४ अंक ८ मिति ०३९।८।१३।१ मा सिद्धान्त समेत प्रतिपादन भएकोले निवेदक लोकचा ज्यापू आसामी लामा थकुनको छोरा भएको, विवादको जग्गामा निवेदक लोकचा ज्यापूको मोहियानी हक लाग्ने भई वादी दावी खारेज हुने ठहर्छ भनी अधिकार प्राप्त भु.सु.अधिकारीले मिति ०४१।९।१९ मा गरेको निर्णयमा कुनै पनि कानुनी त्रुटि देखिन नआएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल आश्विन १३ गते शुभम् ।