शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१७० - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

फैसला मिति : २०७१।३।११

२०६७–CR–०६९१

 

मुद्दा : कर्तव्य ज्यान

 

पुनरावेदक/प्रतिवादी : जिल्ला बैतडी, दशरथचन्द नगरपालिका वडा नं. ९ घर भई हाल केन्द्रीय कारागार, जगन्नाथ देवल, काठमाडौंमा थुनामा रहेका नरेन्द्रसिंह धामी

विरूद्ध

प्रत्यर्थी/वादी : सुदर्शनसिंह धामीको जाहेरीले नेपाल सरकार

 

  • अ.बं. १८८ नं. अनुरूप सजाय घटाउन पाउने न्यायाधीशको स्वविवेकय अधिकार हो, पक्षको अधिकारको कुरा होइन । अ.बं. १८८ नं. अनुरूप सजाय घटाउनुपर्ने माग पक्षको कानूनी अधिकारभित्रको कुरा नभए पनि मुद्दाको फैसला गर्दा निर्णयकर्ताको चित्तमा सजाय चर्को भएको लागेमा कारण खोली सजाय घटाउन सक्ने नै हुँदा त्यसतर्फ पनि विचार गर्नुपर्ने देखिन आउने ।
  • उल्लिखित कानूनी व्यवस्था अनुसार अभियुक्तलाई कानूनले तोकेको भन्दा कम सजाय गर्नलाई घटिवारदातमा इन्साफ गर्ने हाकिमको चित्तमा भवितव्यको आशङ्‍का वा अपराध गरेको अवस्था यी दुई तत्त्वमध्ये कुनै एकको विद्यमानता अनिवार्यरूपमा देखिएको हुनुपर्ने

(प्रकरण नं.५)

  • फौजदारी अपराध पूर्ण हुन अभियुक्तको आपराधिक मनसाय (Mens Rea) र आपराधिक कार्य (Actus Reus) दोषयुक्त हुनुपर्ने  हुन्छ । अर्थात कुनै पनि वारदातका लागि अभियुक्तले मनसाय प्रेरित भई वारदात घटाउने योजना, षडयन्त्र, तयारीका चरणहरू पारगरी आपराधिक कार्यको चरणमा पुगेको हुनुपर्ने
  • बासुलो जस्तो धारिलो जोखिमी हतियारले प्रहार गर्दा मानिस मर्न सक्छ भन्‍ने पूर्वानुमान (fore see) गर्न सकिने नै कुरा हो । सोविपरीत प्रतिवादीबाट भए गरेको कार्यलाई दुर्भावनायुक्त (Malicious) कार्य नै मान्‍नुपर्ने
  • प्रतिवादीले मनसाय प्रेरित भई पूर्व योजना बनाई निर्मलाको हत्या गरेको हुन् भन्ने जाहेरवालालगायतका बुझिएका मानिसहरूसमेतबाट कहीँ कतै खुलिआएको अवस्था देखिएको छैन । प्रस्तुत वारदातका अन्य प्रत्यक्षदर्श साक्षीहरूसमेत नहुँदा प्रतिवादीले आफ्नो बयानमा लेखाएको घटनाक्रम अनुसारको कार्यलाई विश्‍वास मान्‍नुपर्ने नै देखियो । घटनाक्रमबाट प्रतिवादीले मृतकलाई बासुलोले प्रहार गरेको कार्यमा आत्मरक्षा (Self defense) को परिवेश पनि हुन सक्छ कि भनी विचार गर्दा आत्मरक्षाका लागि मृतक निर्मलाउपर हतियार प्रहार गरेको हुँ भनी प्रतिवादीले स्वयमले भन्‍न सकेको अवस्था देखिँदैन । आफ्नो बचाउका लागि भाउजूलाई घचेटी ढोका खोली भाग्न सक्ने स्थिति थिएन भनी भन्‍न सक्ने अवस्था पनि छैन । अ.बं. १८८ नं. अनुरूप सजाय घटाउदा आत्मरक्षाको हदबाट सोच्न मिल्ने अवस्था रहन

(प्रकरण नं.६)

  • प्रतिवादीमा आफूले गरेको कार्यका सम्बन्धमा उत्पन्न भएको पश्चातापको भाव हो । मृतकउपर चोट प्रहार गरी निज लडेपछि हुने बेइज्जति सोची आफू बाँच्नुको सार नरहने ठानी आफैले आत्महत्या गर्ने निर्णयमा पुगी बासुलोले आफ्नो टाउकामा हानेको र बेहो भएको भन्ने निजको भनाई रहेको र अपराधबाट बच्न भाग्ने उम्कने प्रयत्‍न नगरी स्वयम् आत्महत्या गर्न प्रयत्‍न गर्ने व्यक्तिले नियोजितरूपमा भाउजूको हत्यागर्ने कार्य गरेको होला भनी अनुमान गर्न सहज नहुने

(प्रकरण नं.७)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता श्री वविता उप्रेती र विद्वान वैतनिक अधिवक्ता श्री हरिशंकर कर्ण

प्रत्यर्थी/वादीका तर्फबाट :

अवलम्बित नजीर :

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने :

                                मा.जि.न्या.श्री रामेश्वरनाथ अमात्य

पुनरावेदन तहमा फैसला गर्ने :

                                मा.न्या.श्री हरिराम कोइराला

                                मा.न्या.श्री रत्नबहादुर वागचन

                                पुनरावेदन अदालत नेपालगन्ज

 

फैसला

न्या.बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, नेपालगन्जबाट भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :

                बाँके जिल्ला, नेपालगन्ज नगरपालिका वडा नं. १२ बाँके गाउँस्थित पूर्व हेमन्त रावलको घर, पश्चिम बाटो, उत्तर नारायण गौतमको जग्गा, दक्षिण शमशेरबहादुर रावलको घर यति चार किल्लाभित्र पश्चिम मोहडा भएको दुई तले कृष्णप्रसाद भट्टराईको घरको माथिल्लो तलामा ४ कोठा भएको पश्चिम उत्तर साडको १३ फिट चौडा १४ फिट ६ ञ्च लम्बा भएको कोठा सोही कोठामा सुदर्शनसिंह धामीले भाडामा लिई बसेको । सो कोठामा रगत लतपत भएको पूर्व खुट्टा पश्चिम शिर भई निर्मला धामीको घाँटी काटिएको अवस्थाको ला । मृतक लासको घाँटीमा ६ ञ्च लामो २ ञ्च चौडाई भएको धारिलो हतियारले काटिएको घाउ सो घाउबाट रगत बगेको भन्नेसमेत व्यहोराको घटनास्थल ला प्रकृति मुचुल्का ।

                म जाहेरवाला २ नं. नापी गोश्वारामा कार्यरत्‍ कर्मचारी भएकोले नेपालगन्ज नगरपालिका वडा नं. १२ स्थित कोठा भाडामा लिई श्रीमती निर्मला, भा नरेन्द्र, साला टेकराज खत्रीसमेत बस्दै आएकोमा मिति २०६५।४।८ गते म कार्यालय गएको समयमा भा नरेन्द्रसिंह धामीले मेरी श्रीमती निर्मला धामीलाई धारिलो हतियार प्रहार गरी कोठाभित्र कर्तव्य गरी मारेकोले कानूनबमोजिम गरी पाउँ भन्ने जाहेरी दरखास्त ।

                मृतक भाउज निर्मला धामीलाई मैले कर्तव्य गरी मारेको नभई भाउज आफैले मलाई विभिन्न आरोप लगाई कोठामा बोलाई भित्र पस्नासाथ मेरो घाँटीमा छुरा प्रहार गरी घाँटी रेट्न थालेपछि आफ्नो जीउको रक्षा गर्न प्रतिकार गर्दा निजको मृत्यु भएको हो भन्ने व्यहोराको नरेन्द्रसिंह धामीको बयान कागज ।

                मृतकको मृत्यु टाउकोको चोट र काटेको चोटबाट भएको हो भन्‍ने शव परीक्षण रिपोर्ट ।

                ढोका फोडी भित्र पसी हेर्दा जाहेरवालाको श्रीमती घाँटी काटिएको मृत अवस्थामा र भा घाँटी रेटी घाइते अवस्थामा थिए । घाइते पनि सोही कोठामा घाइतेअवस्थामा  भित्रबाट ढोका बन्द गरी बसेबाट निज नरेन्द्रसिंह धामीले नै धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेका हुन् भन्नेसमेत व्यहोराको घरधनी कृष्णप्रसाद भट्टराईको कागज ।

                वारदात मितिमा जाहेरवालाको भा नरेन्द्रसिंह धामीले आफ्नो भाउजूलाई कोठा बन्द गरी धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेका हुन् भन्ने नारायणप्रसाद श्रेष्ठको घटना विवरण कागज ।

                नरेन्द्रसिंह धामीले आफ्नो भाउजूलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेका हुन् भन्ने थाहा पाएको हुँ भन्ने शमशेरबहादुर रावल, हर्कबहादुर कुँवर, श्रीमती कमला आचार्यसमेतको घटना विवरण कागज ।

                निर्मला धामी घाँटीमा धारिलो हतियारले काटिएको मृत अवस्थामा भएको र नरेन्द्रसिंह धामी कोठाभित्र घाँटी काटी घाइते अवस्थामा भएका कारण यी नरेन्द्रसिंह धामीले धारिलो हतियार प्रहार गरी कर्तव्य गरी निर्मलालाई मारेका हुन्‍ भन्‍नेसमेत मृतकको सहोदर भाइ टेकराज खत्री तथा मृतकका बाबु कमलबहादुर खत्रीको घटना विवरण कागज ।

                पूर्व बयान गर्दा मैले इन्कारी बयान दिए तापनि भाउजू निर्मला धामीको मैले नै धारिलो हतियार बसुलो प्रहार गरी भुइँमा लडाई सकेपछि उत्तानो भई बेहो भएका अवस्थामा बसुलाको धारले काटी कर्तव्य गरी मारेको हुँ भन्ने नरेन्द्रसिंह धामीको ततिम्बा बयान ।

                प्रतिवादी नरेन्द्रसिंह धामीले वारदात मिति २०६५।४।८ गते १ बजेको समयमा डेरा कोठामा कोही नभएको मौका पारी भाउजू निर्मलालाई चक्कु तथा काठ काट्ने बसुलो प्रहार गरी घाँटी रेटी मारेको तथा आफ्नो घाटी आफैले रेटी घाइते भएको तथ्य सप्रमाण पुष्टि हुन आएको हुँदा निज प्रतिवादी नरेन्द्रसिंह धामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. बर्खिलाप कसुर अपराधमा ऐ. महलको १३(१) नं. बमोजिम सजाय गरी पाउँ भन्ने अभियोग माग दावी ।

                मृतक भाउजू निर्मलालाई मैले कर्तव्य गरी मारेको भए पनि उक्त कसुर अपराध गर्ने उद्देश्य मेरो थिएन भन्नेसमेत व्यहोराको प्रतिवादी नरेन्द्रसिंह धामीले सुरू अदालतमा गरेको बयान ।

                मेरो पत्नी निर्मला धामीलाई प्रतिवादी नरेन्द्र धामीले नै बसुला र चक्कुले घाँटी काटी कर्तव्य गरी हत्या गरेका हुन् भन्नेसमेत व्यहोराको जाहेरवाला सुदर्शन धामीले गरेको बकपत्र ।

                घटना विवरणका मानिस तथा जाहेरवालासमेत यस अदालतमा उपस्थित भै यी अभियुक्तले नै मृतकलाई कर्तव्य गरी मारेको भनी बकपत्र गरी दिएको पाइन्छ । निज प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष तथा यस अदालतमा समेत कसुरमा साबित रही बयान गरेको देखिन्छ । निजको बयानलाई मिसिल संलग्न लास जाँच मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का तथा मौकामा बुझिएका मानिसहरूले गरी दिएको बकपत्रसमेतबाट पुष्टि भएको देखिन्छ । यसरी अभियुक्तले कसुर स्वीकार गरी बयान गरेको र लास प्रकृति मुचुल्का तथा लास जाँच प्रतिवेदनबाट सोको पुष्टि हुन आएकोले निजले कसुर गरेको   ठहर्छ । सो ठहर्नाले निजलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. अनुसार सर्वस्वसहित जन्म कैद हुने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू बाँके जिल्ला अदालतको फैसला ।

                मुलुकी ऐन, अ.बं. १८८ नं., नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३(१)(२)(३) र धारा ११६(२) तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तको विपरीत गई तथा कानूनको समानता अवलम्बनलाई उपेक्षा गरी, परिस्थितिव अपराधिक मनसायबिना घट्न गएको उक्त घटनामा मलाई कम सजायका लागि राय अभिव्यक्त गर्नुपर्नेमा नगरी सर्वस्वसहित जन्म कैदको सजाय हुने भनी ठहर्‍याएको सम्मानित बाँके जिल्ला अदालतको सजाय चर्को र भेदभावयुक्त फैसला बदर गरी न्याय इन्साफ दिलाई पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक नरेन्द्रसिंह धामीले पुनरावेदन अदालत, नेपालगन्जमा दायर गरेको पुनरावेदनपत्र ।

                मृतक निर्मला धामी यौन उत्तेजनामा आई देवर नरेन्द्रसिंह धामीको कपाल घाँटी मुसार्ने, म्वा खाने, निजको हात आफ्नो स्तनमा लगाउने, टाउको समातेर योनीमा लगाउने जस्ता यौन उत्तेजना बढाउने क्रियाकलाप गरेकी र त्यस्तो कार्य गर्न आफले नमानेपछि पोल खुल्ने डरले मेरो हत्याको प्रयास गर्दा प्रतिरक्षा गर्ने क्रममा निज मृतकको मृत्यु हुन गएको हो भनी प्रतिवादी नरेन्द्रसिंह धामीले गरेको साबिती बयान मिसिल सामेल रहेको देखिन्छ । यसबाट मृतक निर्मला धामीको मृत्यु प्रतिवादी नरेन्द्रसिंह धामीको कर्तव्यबाट नै भएकोमा विवाद नरहे तापनि अपराध घट्दाको परिस्थिति, अपराधिक मनसाय, पूर्वरिसईबि पूर्वतयारी मृत्युको जरिया तथा निज प्रतिवादीको उमेरसमेतको अवस्था विचार गर्दा प्रतिवादीलाई सर्वस्वसहित जन्म कैदको सजाय चर्को पर्न जाने देखिन्छ । उल्लिखित आधार, प्रमाण परिबन्दबाट प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर गरी भएको सुरू बाँके जिल्ला अदालतको मिति २०६६।१।३० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अपराध गरेको अवस्था विचार गर्दा प्रतिवादीलाई अ.बं.१८८ नं. बमोजिम १२ वर्ष मात्र कैद गर्नु मनासिब देखिँदा सोहीबमोजिम गर्न जाहेरी फैसला गरिदियौं भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६६।१२।२२ को फैसला ।

      मैले सफाइ पाउनुपर्छ भन्ने जिकीर यस पूर्वसमेत नलिई बरू मलाई न्यूनतम भन्दा न्यूनतम मात्र कैद सजाय गरिनुपर्ने अवस्था मिसिलमा विद्यमान हुँदा मलाई म थुनामा रहेको अविधमात्र कैद सजाय गर्दा नै ऐनको मनसाय पूरा हुन्छ भन्ने मात्र मेरो पुनरावेदन जिकीर हुँदा यसपूर्वका फैसलाहरूलाई खण्डन गरेको छैन । सुरू बाँके जिल्ला अदालतको फैसलाको तुलनामा पुनरावेदन अदालत, नेपालगन्जको फैसला न्यूनरूपमा मात्र न्यायिक एवम् अल्प मात्रामा मात्र सद्‌विवेकी भई पूर्णरूपमा समन्यायिक हुन नसकेको हुँदा यो पुनरावेदनपत्र पेश गरेको छु । प्रस्तुत वारदातका सम्बन्धमा मैले अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गर्दा आफूले गरेका सम्पूर्ण तथ्यहरूलाई स्वीकार गरी साबिती यान गरेको छु । यसरी आफूउपरको कसुरलाई स्वकार गरी न्यायिक प्रक्रियामा सहयोग पुर्‍याउने र अदालतको अमूल्य समय बचाउन मद्दत गर्ने अभियुक्तउपर मुलुकी ऐन, अ‍.ब. १८८ नं. बमोजिम सजाय घटाइदिने अभ्यास विभिन्न मुद्दाम सर्वोच्च अदालतले प्रतिपादन गरेका सिद्धान्तहरूमासमेत उल्लेख भएको पाइन्छ । मैले गरेको साबि बयानलाई सजाय घटाउने आधारको रूपमा ग्रहण नै नगरी पुनरावेदन अदालत, नेपालगन्जबाट मलाई १२ वर्ष कैद सजाय गर्ने गरी राय व्यक्त गरेको फैसलामा सर्वोच्च अदालतबाट प्रतिपादित न्यायिक सिद्धान्तहरूको समचित मूल्याङ्कन नगरी भएको देखिन्छ । मैलै भाउजू निर्मलाको कर्तव्य गरी मार्नुको कारण र उद्देश्यतर्फ अभियोजन पक्ष मौन रहेको छ,  कुनै उद्देश्य र कारण बेगर स्वयम् भाउजूको ज्यान लिने कार्य स्वभाविकरूपमा हुनै सक्तैन, मैले भाउजूको हत्या गरेबाट कुनै चस्तु प्राप्त गर्ने वा कुनै हक अधिकार र प्रतिष्ठा प्राप्त हुने भन्ने अवस्था मिसिलबाट कहीँ कतै देखिँदैन । न त भाउजूको हत्या गर्नुपर्नेसम्मको कुनै अदृश्य स्वार्थ नै देखिन्छ । कर्तव्यज्यान जस्तो गम्भीर सङ्गीन अपराधमा अपराध गर्ने व्यक्तिको उद्देश्यलाईसमेत प्रमुखरूपमा विचार गरी ठहरेको कैदलाई अ.बं. १८८ नं. बमोजिम घटाउने प्रचलन रही आएको छ । यसका अलावा अभियुक्तको चरित्र, विगतको आपराधिक प्रवृत्ति, सामाजिक पृष्ठभूमि, पारिवारिक स्थिति, अपराधबाट समाजमा हुन गएको हानि नोक्सानी, कसुर गरेमा पश्‍चातापको भाव आए नआएको अवस्था, अभियुक्तको उमेरलगायतका तथ्यहरूको शुक्ष्म विश्‍लेषण गरी अ.बं. १८८ नं. को प्रयोग गर्नुपर्नेमा प्रस्तुत वारदातका सम्बन्धमा माथि उल्लेख गरेका सम्पूर्ण आधारहरूको गम्भीर विवेचना नगरी मलाई १२ वर्षको कैद गर्ने पुनरावेदन अदालतको राय बदर गरी मलाई न्यून भन्दा न्यून सजाय हुनुपर्ने भन्नेसमेत व्यहोराको प्रतिवादी नरेन्द्र सिंह धामीको पुनरावेदनपत्र ।

                नियमबमोजिम पेशीमा चढी निर्णयार्थ इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वविता उप्रेती र विद्वान वैतनिक अधिवक्ता श्री हरिशंकर कर्णले प्रतिवादी नरेन्द्र सिंह धामीले आफ्नै भाउजू निर्मला धामीको कर्तव्य गरी हत्या गर्नुपर्नेसम्मको पूर्वरिसइबि नरहेको, मृतक निर्मलाले नै देवर नाताका प्रतिवादीलाई आफूसँग अनैतिक सम्बन्ध राख्‍न यौन उत्तेजक कार्यहरू गर्ने गरेकी र प्रतिवादीले निजको इच्छाबमोजिमको कार्य गर्न इन्कार गरी दाजुलाई भनी दिन्छु भन्दा आफ्नो प्रतिष्ठामा आँच आउन सक्ने र दाजुबाट अपहेलित हुनुपर्ने आशङ्‍काको कारण पुनरावेदक प्रतिवादीको हत्या गर्ने मनसायले निजउपर जोखिमी हतियार प्रहार गरी भूइमा डाई चक्कुले घाँटी रेटन लागेको अवस्थामा प्रतिवादीले नजिकको बासुलो टिपी मृतकउपर प्रहार गरेको, सोही बासुलोले आफ्नै टाउकामा प्रहार गरी आत्महत्या गर्ने प्रयास गरेको मिसिल संलग्न तथ्यहरूबाट देखिएको छ । अपराधिक मनसायविहीन कार्यका सम्बन्धमा कसुरमा संलग्न अभियुक्तउपर कानूनले निर्धारण गरेकैबमोजिम सजाय गर्दा फौजदारी न्यायको मनसाय र भावनाविपरीत हुन जान्छ । प्रतिवादी नरेन्द्रसिंह धामीको उमेर, निजको कसुरमा भएको संलग्नता, परिस्थिति र निजले गरेको पश्चात्तापको भावनासमेतका विपरीत पुनरावेदन अदालत, नेपालगन्जबाट अ.बं. १८८ नं. बमोजिम निजलाई १२ वर्ष कैद गर्ने रायसहित गरेको फैसला मनासिब नहुँदा निज प्रतिवादीको अपराधमा संलग्नता रहेको परिस्थिति र अपराधको जरियासमेतको गम्भीर विश्लेषण गरी निजउपर न्यून भन्दा न्यून सजाय होस्‍ भन्नेसमेत गर्नु भएको बहस जिकीर सुनी मिसिल संलग्न पुनरावेदनपत्रलगायतका कागजातहरू अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत, नेपालगन्जबाट भएको फैसला मिलेको छ छैन र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।

2. निर्णयतर्फ विचार गर्दा मिति २०६५।४।८ गते दिनको १:०० बजेको समयमा जिल्ला बाँके, नेपालगन्ज नगरपालिका वडा नं. १२ बाँके गाउँस्थित आफ्नै डेरा कोठामा प्रतिवादी नरेन्द्र सिंह धामीले आफ्नै भाउजू निर्मला धामीको धारिलो हतियार चक्‍कु तथा बासुलो प्रहार गरी कर्तव्यबाट हत्या गरेको हुँदा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. को कसुरमा ऐ. महलको १३(१) नं. बमोजिम सजाय हुन माग दावी लिई अभियोगपत्र दायर भएकोमा प्रतिवादी नरेन्द्र सिंह धामीले आरोपित कसुर गरेकोमा मौकामा अनुसन्धान अधिकारीसमक्ष र अदालतमा बयान गर्दासमेत स्वकार गरेको देखिन्छ । प्रतिवादीले धारिलो हतियार चक्‍कु तथा बासुलो प्रहार गरेको चोटबाटै मृतक निर्मलाको मृत्यु भएको भन्ने मौकाको जाहेरी दरखास्त र सोही मिलानको जाहेरवालालगायतका मानिसहरूको बकपत्र, प्रतिवादीको साबिती बयान, मौकाको घटनास्थल तथा लास प्रकृति मुचुल्का, बरामदी मुचुल्का, शव परिक्षण प्रतिवेदनसमेतबाट समर्थित भएको देखिँदा प्रतिवादी नरेन्द्रसिंह धामीउपर अभियोग मागदावी बमोजिमको कसुर गरेको प्रमाणित भई निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर गरी बाँके जिल्ला अदालतबाट मिति २०६६।१।३० मा भएको सुरू फैसला सदर गर्दै अपराध घटनाको परिस्थिति, आपराधिक मनसाय, पूर्वरिसईबि, पूर्वतयारी, मृत्युको जरिया तथा प्रतिवादीको उमेरसमेतका आधारमा प्रतिवादीलाई सर्वस्वसहित जन्म कैदको सजाय चर्को पर्ने भई अ.बं. १८८ नं. बमोजिम १२ वर्ष कैद गर्ने रायसहित पुनरावेदन अदालत नेपालगन्जबाट मिति २०६६।१२।२२ मा भएको फैसलाउपर चित्त नबुझी प्रतिवादी नरेन्द्र सिंह धामीको प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।

                3. वारदातस्थलमा भुइमा रगत लतपतिएको, मृतक निर्मला धामीको घाँटीमा ६ इन्च लामो २ इन्च चौडाइको धारीलो हतियारले काटिएको घाउबाट रगत बगिरहेको भन्ने मौकाको घटनास्थल तथा लास प्रकृति मुचुल्का, मिति २०६५।४।८ गते अं. दिनको १:०० बजेको समयमा आफ्नो सहोदर भाइ नरेन्द्र सिंह धामीले मेरो श्रीमती निर्मला धामीलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी हत्या गरेको भन्ने किटानी जाहेरी दरखास्त, मृतक निर्मला धामीको काटिएको घाउबाट अत्यधिक रक्तश्राव भई मृत्यु भएको (Cause of death is shock due to excessive hemorrhage from cut injury.) भन्‍ने शव परिक्षण प्रतिवेदन, प्रतिवादीको साबि बयान, वारदातमा प्रयोग भएका हतियार बरामद भएको अवस्था, मौकामा कागज गर्ने कृष्णप्रसाद भट्टराईलगायतका मानिसहरूको भनाईसमेतका तथ्य प्रमाणहरूबाट निर्मला धामीको मिति २०६५।४।८ गते कर्तव्यबाट मृत्यु भएको तथ्य स्थापित भएको छ ।

                4. उक्त वारदातमा प्रतिवादी नरेन्द्र सिंह धामीको संलग्नता समबन्धमा हेर्दा वारदात मिति र समयमा म भाउजूको कोठामा जाँदा भाउजूले चुकुल लगाएर तिम्रो दासँग के के भन्यौ भनेर सिधै बासुलोले टाउँकोमा हान्नुभयो र म लडें, भाउजूले चक्‍कुले मेरो घाँटी रेट्न थाल्नुभयो, मैले त्यो पडा सहन नसकी छटपटाउँदै यताि हेर्दा बासुलो भेट्टाएर प्रतिकार गर्दा बासुलोले भाउजूको टाउकोमा लाग्यो र भाउजू लड्नुभयो । मैले घाँटीको पडा सहन नसक र बाँचेर पनि अब बेइज्जत हुने भयो भनेर त्यही बासुलोले दुईचोटी आफ्नो टाउँकोमा हाने र त्यसपछि म बेहो भए भन्नेसमेत व्यहोराले प्रतिवादी नरेन्द्र सिंहले मौकामा बयान गरेका र सो बयानलाई अदालतसमक्ष गरेको बयानमा समेत स्वकार रहेको देखिन्छ । मृतक निर्मला धामीको घाँटीमा धारीलो हतियारबाट लागेको ६ इन्च लम्बा २ इन्च चौडाइको घाउ देखिएको र काटिएको घाउबाट अत्यधिक रक्तश्राव भई मृत्यु भएको भन्‍ने परक्षण प्रतिवेदन (Autopsy Report) बाट देखिएको छ । मौकाको जाहेरी दरखास्त, बुझिएका कृष्णप्रसाद भट्टराई, टेकराज खत्री, नारायणप्रसाद श्रेष्ठसमेतका मानिसहरूको कागज वारदातमा प्रयोग भएका हतियारको बरामदी र प्रतिवादीबाट तिनको सनाखत गरिएको अवस्था तथा स्वयम् प्रतिवादीको बयान व्यहोराबाट मृतक निर्मला धामीको कर्तव्य गरी हत्या गर्ने कार्यमा य प्रतिवादी नरेन्द्र सिंह धामी बाहेक अन्य तेस्रो पक्षको संलग्नता रहेको भन्ने देखिएको छैन । सो वारदतामा प्रतिवादीको साबिती बयानलाई मिसिल संलग्न माथि प्रकरणमा विवेचना गरेका तथ्य प्रमाणहरूबाट निर्विवादरूपमा समर्थित गरेको हुँदा यी प्रतिवादी नरेन्द्र सिंह धामीले आरोपित कसुर गरेको पुष्टि हुन आएको छ ।

                5. पुनरावेदन अदालत, नेपालगन्जबाट प्रतिवादी नरेन्द्र सि‌ह धामीउपर मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम १२ वर्ष कैद सजाय गर्ने राय व्यक्त गरेको हकमा सम्म प्रतिवादी नरेन्द्र सिंह धामीको पुनरावेदन परेको सम्बन्धमा हेर्दा यिनै प्रतिवादी नरेन्द्र सिंह धामीले प्रहार गरेको चोटकै कारण निर्मला धामीको मृत्यु भएको भन्ने तथ्यमा विवाद नरहे तापनि सो कसुरमा निजलाई कानूनले निर्धारण गरेबमोजिमको सजाय गर्दा मर्का पर्न जाने भई कम सजाय गर्न पर्ने हो होइन भन्नेतर्फ विचार गर्दा सो सम्बद्ध कानूनी व्यवस्था मुलुकी ऐन, अ.बं. १८८ नं. ले न्यायकर्तालाई केही स्वविवेकय अधिकार प्रदान गरेको देखिन्छ । जसानुसार सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्ने हुनेसम्मको शङ्काले वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्नो चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नु हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ भनी उल्लेख भएको देखिन्छ । यस प्रकार अ.बं. १८८ नं. अनुरूप सजाय घटाउन इन्साफ गर्नेको चित्तमा सजाय चर्को हुने लाग्नुपर्ने र त्यसको कारणसम्म बोल्न पर्ने हुन्छ । तसर्थ अ.बं. १८८ नं. अनुरूप सजाय घटाउन पाउने न्यायाधीशको स्वविवेकय अधिकार हो, पक्षको अधिकारको कुरा होइन । अ.बं. १८८ नं. अनुरूप सजाय घटाउनुपर्ने माग पक्षको कानूनी अधिकारभित्रको कुरा नभए पनि मुद्दाको फैसला गर्दा निर्णयकर्ताको चित्तमा सजाय चर्को भएको लागेमा कारण खोली सजाय घटाउन सक्ने नै हुँदा त्यसतर्फ पनि विचार गर्नुपर्ने देखिन आयो । उल्लिखित कानूनी व्यवस्था अनुसार अभियुक्तलाई कानूनले तोकेको भन्दा कम सजाय गर्नलाई घटिवारदातमा इन्साफ गर्ने हाकिमको चित्तमा भवितव्यको आशङ्‍का वा अपराध गरेको अवस्था यी दुई तत्त्वमध्ये कुनै एकको विद्यमानता अनिवार्यरूपमा देखिएको हुनुपर्ने हुन्छ ।

                6. प्रतिवादी नरेन्द्र सिंह धामीले एकासगोलकी सहोदर भाउजूको के कुन अवस्था परिस्थितिमा हत्या गरेका हुन् भन्‍ने मिसिल संलग्न तथ्यहरूको सूक्ष्मरूपमा विश्लेषण गरी निर्णयमा पुग्नु न्यायोचित हुने छ । फौजदारी अपराध पूर्ण हुन अभियुक्तको आपराधिक मनसाय (Mens Rea) र आपराधिक कार्य (Actus Reus) दोषयुक्त हुनुपर्ने  हुन्छ । अर्थात कुनै पनि वारदातका लागि अभियुक्तले मनसाय प्रेरित भई वारदात घटाउने योजना, षडयन्त्र, तयारीका चरणहरू पारगरी आपराधिक कार्यको चरणमा पुगेको हुनुपर्छ । प्रस्तुत वारदातका सन्दर्भमा प्रतिवादी नरेन्द्र सिंह धामीले निर्मला धामीलाई मार्नुपर्ने सम्मको पूर्वरिसईबि मनसाय वा कारण स्पष्टरूपमा खुल्न सकेको देखिएको छैन । तापनि बासुलो जस्तो धारिलो जोखिमी हतियारले प्रहार गर्दा मानिस मर्न सक्छ भन्‍ने पूर्वानुमान (fore see) गर्न सकिने नै कुरा हो । सोविपरीत प्रतिवादीबाट भए गरेको कार्यलाई दुर्भावनायुक्त (Malicious) कार्य नै मान्‍नुपर्ने हुन्छ । दुर्भावनायुक्त कार्य भए पनि अ.बं. १८८ नं.को रोहबाट विचार गर्दा भाउजूले अचानक बासुलोले मेरो टाउकामा हिर्काई म भुइँमा लडेपछि चक्कुले मेरो घाटी रेट्न थालेपछि नजिकै रहेको बासुलोले प्रतिकार गर्दा भाउजूलाई चोट लागेको हो भनी प्रतिवादीको बयानमा उल्लेख भएको र भेरी अञ्चल अस्पतालले गरिदिएको प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदनमा  टाउकामा ६x२ सी.एम.को चोट लागेको, घाँटीमा काटिएको घाउ रहेको भन्ने देखिँदा निजको भनाइलाई अन्यथा भन्नुपर्ने देखिँदैन । प्रतिवादीले मनसाय प्रेरित भई पूर्व योजना बनाई निर्मलाको हत्या गरेको हुन् भन्ने जाहेरवालालगायतका बुझिएका मानिसहरूसमेतबाट कहीँ कतै खुलिआएको अवस्था देखिएको छैन । प्रस्तुत वारदातका अन्य प्रत्यक्षदर्श साक्षीहरूसमेत नहुँदा प्रतिवादीले आफ्नो बयानमा लेखाएको घटनाक्रम अनुसारको कार्यलाई विश्‍वास मान्‍नुपर्ने नै देखियो । घटनाक्रमबाट प्रतिवादीले मृतकलाई बासुलोले प्रहार गरेको कार्यमा आत्मरक्षा (Self defense) को परिवेश पनि हुन सक्छ कि भनी विचार गर्दा आत्मरक्षाका लागि मृतक निर्मलाउपर हतियार प्रहार गरेको हुँ भनी प्रतिवादीले स्वयमले भन्‍न सकेको अवस्था देखिँदैन । आफ्नो बचाउका लागि भाउजूलाई घचेटी ढोका खोली भाग्न सक्ने स्थिति थिएन भनी भन्‍न सक्ने अवस्था पनि छैन । अ.बं. १८८ नं. अनुरूप सजाय घटाउदा आत्मरक्षाको हदबाट सोच्न मिल्ने अवस्था रहेन ।

      7. "अपराध गरेको अवस्था" चित्रित गर्ने आधार भनेको अभियुक्तको उद्देश्य र निजको सामाजिक पृष्ठभूमिलाई पनि हेर्नुपर्ने हुन्छ । प्रतिवादीले निर्मला धामीको हत्या गरेबाट कुनै लाभ प्राप्त गर्ने वा कुनै हानि पुर्‍याउने उद्देश्य लिएको भन्ने तथ्य मिसिल संलग्न आधार प्रमाणहरूबाट कही कतै खुलिआएको देखिदैन । मृतक निर्मला धामीले आफ्नो यौनिक इच्छा पूर्ति गर्न प्रतिवादीलाई विभिन्न यौनजन्य क्रियाकलाप गरी उत्तेजित पार्ने प्रयत्न गर्ने गरेकी र सो उद्देश्य पूर्ति गर्न आफूले इन्कार गरेको, दाजुलाई निजको व्यवहारको जानकारी गराइदिन्छ भन्ने भयत्रासले मेरो ज्यानैसम्म लिने मनसायले आक्रमण गरेकी हुँदा निजैले प्रयोग गरेको हतियारले आफूले मृतकलाई हानेको हो भन्ने प्रतिवादीको भनाई रहेको र सो भनाइलाई अन्य प्रमाणहरूले खण्डित गरेको अवस्था नदेखिँदा प्रस्तुत वारदातको जरिया स्वयम् मृतकलाई नै देखाइएको अवस्था छ । प्रतिवादी नरेन्द्र सिंह धामी जाहेरवाला दाजु र मृतक भाउजूसँगै सगोलामा डेरा कोठामा बस्ने गरेका र बी.एड. प्रथम वर्षमा अध्ययनरत १९ वर्षका विद्यार्थी हुन् र निजको विगतको चालचलनसमेत आपराधिक प्रवृत्तिको थियो भनी कतै खुल्न आएको देखिदैन । अर्को मत्त्वपूर्ण पक्ष यी प्रतिवादीमा आफूले गरेको कार्यका सम्बन्धमा उत्पन्न भएको पश्चातापको भाव हो । मृतक निर्मलाउपर चोट प्रहार गरी निज लडेपछि हुने बेइज्जति सोची आफू बाँच्नुको सार नरहने ठानी आफैले आत्महत्या गर्ने निर्णयमा पुगी बासुलोले आफ्नो टाउकामा हानेको र बेहो भएको भन्ने निजको भनाई रहेको र अपराधबाट बच्न भाग्ने उम्कने प्रयत्‍न नगरी स्वयम् आत्महत्या गर्न प्रयत्‍न गर्ने व्यक्तिले नियोजितरूपमा भाउजूको हत्यागर्ने कार्य गरेको होला भनी अनुमान गर्न सहज हुँदैन । प्रतिवादीले प्रस्तुत वारदातका सम्बन्धमा भएका सम्पूर्ण घटनाक्रमहरूलाई अनुसन्धान अधिकारी र अदालतसमक्ष गरेको बयानमा सविस्तार उल्लेख गर्दै आरोपित कसुर गरेकोमा साबित हुँदै न्यायिक प्रक्रियामा सहयोगसमेत पुर्‍याएको देखिन्छ । यसरी अदालती काम कारवाहीका सम्बन्धमा सहयोग गर्ने अभियुक्तलाई ऐनबमोजिमको सजायमा कमी गर्नुपर्ने यस अदालतबाट भएका विभिन्न फैसलामा व्याख्या भएको समेत देखिन्छ (ने.का.प. २०६१, अङ्क ६, पृष्ठ ७६९, नि.नं. ७३९९, ने.का.प. २०५९, अङ्क ५,, पृष्ठ ३११, स.अ. बुलेटीन २०६३, वर्ष १५, अङ्क ४, पूर्णाङ्क ३३४, पृष्ठ १३)

                8. अतः माथि प्रकरणमा विवेचना गरिएको आधार प्रमाणहरूबाट प्रतिवादी नरेन्द्र सिंह धामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीतको कसुरमा ऐ महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने सुरू बाँके जिल्ला अदालतको मिति २०६६।१।३० को फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६६।१२।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अब प्रतिवादीलाई अ.बं. १८८ नं. अनुरूप के कति सजाय गर्दा न्यायोचित हुन्छ भनी विचार गर्दा यहाँ अपरझट घटना घटी सोच विचार नगरी झ्याट्ट बासुलोले हान्दा मृतकको मृत्यु भएको देखिन्छ । यस्तो तत्काल घटना घटेकोमा रिसको झोकमा लाठा, ढुङ्गाले हानेको अवस्थामा ज्यानसम्बन्धीको महलको १४ नं. ले १० वर्ष कैद हुने व्यवस्था गरेको देखिन्छ । तर यहाँ बासुलो जस्तो जोखिमी हतियारको प्रयोग भएको कारणले ज्यान सम्बन्धी महलको १४ नं. लाग्ने स्थिति नरहे पनि सोही १० वर्ष कैदको लगभगमा कैद सजाय हुन न्यायोचित  देखिन्छ । वारदातको रोहबाट प्रतिवादीलाई तत्काल रिस उठेको स्थिति पनि नरहेको र प्रतिवादी स्वयम्‌लाई समेत चोटपटक लागेको स्थिति रहेको तथा अपराधगर्दाको अवस्था, परिस्थिति, मनसाय, तयारी, उद्देश्य, अपराधप्रतिको पश्चातापभाव, प्रतिवादीको उमेर र निजले न्यायिक प्रक्रियामा पुर्‍याएको सहयोग जस्ता माथि उल्लिखित आधार कारणहरूसमेतलाई मध्यनजर राखी निजलाई १० वर्ष भन्दा कम कैद वर्ष ८ (आठ) हुनु उपयुक्त देखिन  आयो । पुनरावेदन अदालत, नेपालगन्जबाट व्यक्त भएको राय नमिली निज प्रतिवादी नरेन्द्र सिंह धामीलाई कैद वर्ष ८ (आठ) हुने ठहर्छ । अरूमा तपसिल बमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएअनुसार प्रतिवादी नरेन्द्र सिंह धामीलाई मुलुकी ऐन, ज्यानसम्बनधीको महलको १ नं. विपरीतको कसुरमा ऐ. महलको १३(१) नं. अनुसार सजाय भई कैदको हकमा अ.बं. १८८ नं. अनुसार ८ (आठ) वर्ष कैद हुने ठहर भई निज प्रतिवादी मिति २०६५।४।१९ देखि थुनामा रहेको देखिँदा निजलाई मिति २०७३।४।१८ सम्म थुनामा राखी मिति २०७३।४।१९ मा थुनाबाट मुक्त गरी दिनु भनी निज हाल थुनामा रहेको कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा लेखी पठाई दिनु भनी बाँके जिल्ला अदालतमा लेखी पठाई दिनू –––

माथि ठहर खण्डमा लेखिएअनुसार प्रतिवादी नरेन्द्र सिंह धामीलाई कैद वर्ष ८ (आठ) हुने ठहर भएकोले सुरू जिल्ला अदालतको फैसलाको तपसिल खण्ड २ मा उल्लेख भएअनुसारको सर्वस्व गरिरहनु नपरेकोले सर्वस्वको लगत कट्टा गरी दिनु भनी सुरू बाँके जिल्ला अदालतलाई लेखी पठाउनू –––

प्रस्तुत पुनरावेदन दर्ताको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू –––

 

उक्त रायमा सहमत छु ।

न्या. ओमप्रकाश मिश्र

 

इति संवत् २०७१ साल असार ११ गते रोज ४ शुभम् ................................।  ‌‍

 

इजलास अधिकृत : केशवप्रसाद घिमिरे

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु