निर्णय नं. २४३५ - उत्प्रेषण समेत

निर्णय नं. २४३५ ने.का.प. २०४२ अङ्क ७
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४१ सालको रिट नं. १५३३
विषय : उत्प्रेषण समेत ।
निवेदिका:जि.सप्तरी कोईलाडी गा.पं.वार्ड नं. २ बस्ने कृष्ण कुमारी देवी राजपुतनी ।
विरुद्ध
विपक्षी :भूमि सुधार कार्यालय सप्तरी ।
जि.सप्तरी हनुमान नगर गा.पं.वार्ड नं.७ बस्ने रमानाथ झा मैथिली ब्राम्हण ।
जि.सप्तरी रामपुरा मलहनीया गा.पं.वार्ड नं.५ बस्ने मोतिलाल यादव ।
आदेश भएको मिति:२०४२।६।१४।२ मा
रिट निवेदकले नक्कल सारी लिएपछि मात्र थाहा पाएको भन्ने देखिन आएको र सो थाहा पाएको मितिबाट मौकैमा रिट निवेदन दर्ता भएको देखिएकोले यस्तो अवस्थामा विलम्बको सिद्धान्त आकर्षित हुनसक्ने नदेखिने ।
(प्रकरण नं. १०)
निवेदिका तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री कृष्णलाल देव
उल्लेखित मुद्दाःX
आदेश
न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ ।
२. जि.सप्तरी रामपुरा मलहनीया गा.पं.वार्ड नं. ५(क) कि.नं. २६४ को ०–१३–१४ ऐ. कि.नं. २६५ को ०–२–१९ ऐ. २७४ को १–१४–० ऐ. कि.नं. २९९ को १–३–६ ऐ. कि.नं. ३०० को ०–१९–१४ को समेत जम्मा जग्गा विगहा ४–१३–१३ विपक्षी रमानाथले ०३४।८।१५ मा निवेदकलाई सुक्रिविक्री गरिदिनु भएको हो सो लिखतसाथ मोतिलाल यादवले जो.अ.नि.अनुसारको जग्गा कमाउन नसक्ने भनी छाडेको रामपुरा गा.पं.को २०२५।१।१४ को पत्र समेत संगै दिनुभएको थियो। सो जग्गा मालपोत कार्यालय सप्तरी मार्फत २०३५।९।२६ मा रजिष्ट्रेशन पारित गरिदिनु भई दा.खा.नामसारी गरी ज.ध.द.प्र.पु.समेत दिई भोगचलन गरी आएको छु । २०४१ सालको बाली लगाउँदासम्म कसैको खरखिचोला थिएन । २०४१।५।५ को दिन उक्त जग्गा मध्ये कि.नं. २७४ र कि.नं. २९९ को धानबाली लगाउँदा विपक्षी मोतीलाल यादव आई सो कित्ताको म मोही हुँ । तपाईलाई बाली लगाउन दिन्न भनी ३ नं.स्थायी निस्सा देखाएको र सो निस्सामा विपक्षी नं. २ ज.ध.र विपक्षी नं. ३ मोही भन्ने लेखिएकोले के रहेछ भनी भू.सु.का.सप्तरीमा आई पत्ता लगाउँदा विपक्षी नं. १ ले ०३७।६।१४ मा टिप्पणी सदर गरी मोहियानीको स्थायी निस्सा दिनु भएको भन्ने कुरा २०४१।६।७ मा नक्कल लिंदा थाहा पाएँ ।
३. मैले विपक्षी नं. २ सँग जग्गा खरीद गरी लिए देखि नै जोती कमाई आएको छु मैले पाएको ज.ध.द.प्र.पु.मा मोही लेखिएको छैन । विपक्षी नं. २ ले पाएको प्रमाण पूर्जामा पनि मोही उल्लेख छैन मोहियानीको स्थायी प्रमाणपूर्जा दिने निर्णय गर्नु अघि निवेदकलाई बुझ्नु पर्नेमा नबुझी प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय गरिएको छ । विपक्षी नं. २ ले म्याद गुजार्दैमा मेरो हक हनन् हुने होइन । विपक्षी नं. ३ उक्त जग्गाको मोही हुँदै होइन मोहियानी सम्बन्धी निर्णय प्रशासनिक नभई अर्धन्यायिक भएकोले त्यस्तो निर्णय गर्दा सम्बन्धित कानुनको प्रयोग गरी सबूद प्रमाणको मूल्याङ्कन गरी अधिकारवाला आफैंले निर्णय गर्नु पर्नेमा अनाधिकार व्यक्तिले उठाएको टिप्पणीलाई सदर भनी निर्णय भएको छ । यस्तो निर्णयमा न्यायिक मन प्रयोग नभएकोले कानुन अनुरुप भन्न नमिल्ने भनी सिद्धान्त प्रतिपादित भइसकेको छ साथै अ.बं. १८४ र १८५ नं.को विपरीत भई बदरभागी छ । विपक्षी नं. ३ ले सो जग्गा कमाउन असमर्थता देखाई मोही हक छाडी सकेको छ । त्यसपछि कमाउन लिएको भए कबूलियत हुनु पर्ने सो केही छैन । नापीका बखत विपक्षीले मोही लेखाए पनि कैफियतमा मोही स्थगित भएको भन्ने जनिएको छ । तसर्थ विपक्षी कर कार्यालयको मिति ०३७।६।१४ को उक्त टिप्पणी निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः कानुन बमोजिम निर्णय गर्नु भनी परमादेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन ।
४. विपक्षीहरूबाट लिखिन जवाफ मगाई आएपछि नियमानुसार पेशगर्नु भन्नेसमेत यसअदालत सिं.बे.को आदेश ।
५. मोतिलाल यादवले २ नं. अनुसूची र ४ नं.जो.अ.नि.का आधारमा मोहीको स्थायी प्रमाणपत्र माग गरेको र श्रेस्ता मगाउँदा कि.नं. २७४ र कि.नं. २९९ को जग्गा रमानाथ झाका नाउँमा दर्ता छ भनी जवाफ आएको र ज.ध.रमानाथलाई बुझ्दा म्याद गुजारी बसेको हुँदा मोतिलाललाई मोही कायम हुने ठहराई यस कार्यालयबाट भएको फैसला कानुनसंगत हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.सप्तरीको लिखिन जवाफ ।
६. मैले विपक्षीलाई जग्गा बिक्री गर्दाको लिखतसाथ कि.नं. २७४ र कि.नं. २९९ को जग्गाको साविक मोही मोतिलाल यादवले जग्गा कमाउन छाडेको गा.पं.रामपुरा मलहनीयाको ०२५।१।१४ को पत्र साथै सौंपी दिएको थिएँ । ०३५।९।२६ मा उक्त जग्गाहरूको लिखत पारित समेत गरेको छु । मोहीले छोडेदेखि विपक्षीलाई बिक्री नगरिन्जेल पाँचै कित्ता जग्गा मैले आफैं कमाई आएको थिएँ । मोतिलाल उक्त जग्गाको मोही नहुँदा कसरी मोही कायम भयो मलाई थाहा छैन मोतिलालले म उपर कुनै उजूरी दिएको थाहा छैन । उजूरी दिएको भए मेरा नामको म्याद मलाई थाहा नहुने गरी गुपचुप गरी तामेल भएको हुनुपर्दछ । मैले मोतिलाललाई मोही कायम नगराई दिएकोले मेरो उपरको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत रमानाथ झाको लिखिन जवाफ ।
७. विपक्षीले विवादित जग्गा खरीद गरेको मलाई कुनै जानकारी छैन । जग्गाको स्वामित्व हेरफेर हुँदैमा मोही हक जाने होइन ज.ध.प्र.पूर्जामा मोही नलेखिँंदैमा मेरो हक जाने होइन फिल्डबुकमा मोही जनिएकै छ । मैले उक्त जग्गाको मोहियानी हक छोडपत्र गरेको होइन । भु.सं.ऐन लागू हुनु अगावैदेखि जग्गा कमाई १ नं.भरी २ नं.प्रकाशित भई ४ नं.समेत पाएकोले कबूलियतको आवश्यकता पर्ने होइन । मैले रमानाथ झालाई २०२७ सालको बाली बुझाएकोमा भर्पाई नदिएकोले भर्पाई दिलाई पाउँ भन्ने मुद्दा पर्दा बाली मैले बुझाएको ठहरी भू.सु.का.सप्तरीबाट निर्णय भएको छ । तसर्थ भू.सु.का.सप्तरीको निर्णय कानुनसंगत हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत मोतीलाल यादवको लिखिन जवाफ ।
८. रिट निवेदन तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले अर्धन्यायिक निकायले निर्णय गर्दा सबूद प्रमाणको उल्लेख गरी न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्दछ । प्रस्तुत विवादमा टिप्पणी निर्णय भएकोले न्यायिक मनको प्रयोग भएको नहुँदा रिट जारी हुनुपर्दछ भन्ने समेत र विपक्षी कार्यालयको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विपक्षी मोतीलालको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कृष्णलाल देवले भू.सु.का.को निर्णय कानुनसंगत छ र ०३७।६।१४ को निर्णय बदर गरी माग्न करिव ४ वर्ष भन्दा बढी विलम्ब गरी रिट निवेदन परेकोले खारेज हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
९. प्रस्तुत विवादमा रिट निवेदनका माग बमोजिमको आदेश जारी गर्न पर्ने नपर्ने के रहेछ सो कुरामा निर्णय दिनु परेको छ ।
१०. निर्णयतर्फ बिचार गर्दा प्रस्तुत रिट निवेदनमा विलम्बको सिद्धान्त आकर्षित हुने नहुने के हो ? त्यसतर्फ बिचार गर्दा विपक्षी भूमि सुधार कार्यालय सप्तरीबाट मिति २०३७।६।१४ मा मोही कायम गर्ने गरी निर्णय भएको कुरा मिति २०४१।६।७ मा नक्कल सारी लिंदा थाहा पाएको भन्ने रिट निवेदकको लेखाई देखिन्छ । सो मिति भन्दा अगावै रिट निवेदकले थाहा पाइसकेको थियो भनी विपक्षीहरूले लिखिन जवाफमा तथा बहसको सिलसिलामा समेत लेखाउन देखाउन सकेको छैन । यसरी रिट निवेदकले नक्कल सारी लिएपछि मात्र थाहा पाएको भन्ने देखिन आएको र सो थाहा पाएको मितिबाट मौकैमा रिट निवेदन दर्ता भएको देखिएकोले यस्तो अवस्थामा विलम्बको सिद्धान्त आकर्षित हुनसक्ने देखिएन ।
११. अब विपक्षी भू.सु.का.सप्तरीले मिति ०३७।६।१४ मा टिप्पणी सदर गरी गरेको निर्णय त्रुटिपूर्ण छ छैन ? भनी बिचार गर्दा अर्धन्यायिक निकायले निर्णय गर्दा निर्णय गर्न अधिकार प्राप्त व्यक्तिले सम्बन्धित कानुनको उल्लेख गरी सबूद प्रमाणको मूल्याङ्कन गरी के कुन प्रमाणको आधारमा आफू निष्कर्षमा पुगेको हो ? सो कुरा निर्णयमा स्पष्टसँग खोली न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने हुन्छ । प्रस्तुत विवादमा विपक्षी कार्यालयबाट निर्णय गर्दा सो बमोजिम नगरी अनधिकृत व्यक्तिबाट उठाइएको टिप्पणीमा कुनै आधार प्रमाण नखुलाई ‘सदर’ सम्म लेखी निर्णय भएको देखिन्छ । तसर्थ भूमि सुधार कार्यालय सप्तरीबाट मिति ०३७।६।१४ मा भएको निर्णय न्यायिक मनको प्रयोगको अभावमा त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । अब पुनः कानुन बमोजिम कारवाही निर्णय गर्नु भनी विपक्षी कार्यालयका नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारी निमित्त आदेशको प्रतिलिपि कार्यालयमा पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४२ साल आश्विन १४ गते रोज २ शुभम् ।