निर्णय नं. ७०६३ - आगलागी

निर्णय नं. ७०६३ ने.का.प.२०५९ अङ्क १/२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
संवत् २०५३ सालको फौ.पु.नं......१४०५
फैसला मितिः २०५८।३।४।२
मुद्दाः–आगलागी ।
पुनरावेदक
वादीः धनवहादुर दमाईको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः जिल्ला गुल्मी विखासा गा.वि.स. वडा नं. ५ वस्ने वलवहादुर दमाई
§ वादी श्री ५ को सरकार तर्फवाट प्रतिवादीले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउने मगज नविग्रेको व्यक्ति हो र निज वारदात घट्दाको अवस्थामा सामान्य अवस्थामा नै आइ सकेको थियो भनि प्रमाणित गर्न सकेको नदेखिदा प्रतिवादी पहिले देखिनै मानसिक अवस्था ठीक नभई असन्तुलन भएको र आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज विग्रेको व्यक्ति मान्नु पर्ने ।
(प्र.नं. १६)
पुनरावेदक वादी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.मीनबहादुर रायमाझीः पुनरावेदन अदालत, वुटवलको मिति २०५३।३।२४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. २०५१ साल कार्तिक ९ गतेका दिन अं ४ वजे रातीको समयमा म र मेरा घर परिवार र नावालख नातिनीहरु सुतिरहेको अवस्थामा निज प्रतिवादीले मेरो १ तले खरको छानो भएको घरको पश्चिम तर्फवाट आगो लागाई दिई हामीलाई मार्ने नियत गरेको हुँदा गुहार गरी सो आगो नियन्त्रणमा ल्याई हामीहरु वसेको हुँदा आगलागीवाट क्षति भएको जम्मा रु.२६,५००। क्षतिपूर्ति वापत दिलाई निजलाई आगो लगाउनेको महल बमोजिम सजाय समेत गरी पाउँ भन्ने धनवहादुर दमाईको जाहेरी दरखास्त ।
३. मैले यस भन्दा अघि पनि गाउँमा अशान्ति सिर्जना गरेकाले जिल्ला प्रशासन कार्यालय गुल्मीवाट स्थानीय प्रशासन ऐन अन्तरगत कारवाही गरी करागार शाखा गुल्मीमा थुनामा परी २०५१।७।८ गतेका दिन छुटकारा पाई म आफ्नो वावु तथा जाहेरवालाको जिम्मा लागी घर जान गएको थिए । सो दिन जोर्ते भन्ने ठाउँमा वसवाट झर्दा छुट्न गई म सोही ठाउँमा वसे र सोही राती विरवासमा जनमोर्चाको सांस्कृतिक कार्यक्रम हेरी २ वजे तिर घरमा गएको हुँ । सोही रातको अन्दाजी ४ बजे तिर चुरोट सल्काई जलिरहेको सलाई घरको पश्चिम तर्फको छानोमा फालेकोमा उक्त आगलागी भएको हुँदा सो घरमा सुतेका मेरा परिवारले थाहा पाई आफ्नो ज्यान जोगाउन घरवाट वाहिर निस्केका हुन । स्थानीय व्यक्तिहरुले सो आगो नियन्त्रणमा ल्याएका हुन । सो आगो लगाउनेमा म वाहेक अन्य मतियार व्यक्ति कोही छैन । मवाट नै गल्ती भएको हो भन्ने समेतका व्यहोराको वलवहादुर दमाईले प्रहरीमा गरेको बयान ।
४. २०५१।७।९ गते का दिन जाहेरवालाको घरमा राती अं ४ वजेको समयमा आगो लागेको हो, सो आगो लगाउने व्यक्ति उनैको छोरा वलवहादुर हुन भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्का ।
५. आगो छोरा वलवहादुरले नै लगाई दिएको पूर्ण विश्वास लाग्छ र सो आगलागीवाट रु.२६५००। को क्षति भएको हुनु पर्छ भन्ने समेत प्रहरीमा कागज गर्ने पविकला दमेनी समेतको कागज ।
६. प्रतिवादीले ज्यान मार्ने उद्योगले रातको समयमा जानीजानी पूर्ण वदनियतपूर्वक आगो लगाएको र सो कार्य मुलुकी ऐन आगो लगाउनेको महलको १ र २ नं. तथा सोही ऐनको ज्यान सम्वन्धी महलको १ नं. अनुसारको कसुर गरेको र ज्यान सम्म मर्न नपाएको भै निजको कार्य ज्यान मार्ने उद्योगको अपराध हुन गएको हुँदा त्यस्तो पूर्ण मनसाय भै घरमा आगो लगाउने यि प्रतिवादीलाई ज्यान सम्वन्धी महलको १५ नं. र आगो लगाउनेको ५ नं. अनुसार हदै सम्म सजाय गरी आगलागीवाट क्षति भएको घर समेतको विगो रु २६५००। सोही आगो लगाउनेको महलको १० नं. अनुसार जाहेरवालालाई भराई दिन समेत माग दावी लिएको अभियोगपत्र दावी भएको ।
७. २०५१ साल कार्तिक ९ गते वेलुका म हाम्रै गाउँको विरवास वजारमा भैरहेको मसाल पार्टीको नाटक हेर्न गएको छु । म र फोटो ग्राफर समेतले टिका लम्सालको घरमा वसी रक्सी खाएको हो । पहिला पनि खाएका थियौ । रक्सी खाएर म घरमा आएर सुते, रक्सीको नसा लागेको थियो । सुतिसकेपछि चुरोट खान सलाई कोरी फाले सोवाट आगो सल्कन गएछ र चुरोट पनि हातमा समाई राखेकोमा सिरक पनि पोलिएछ र घरमा आगलागी भएछ । करिव १२.३० वजे तथा १ वजे तिर घरमा आएको हुँ । विहानपख आगलागी भएको हो र रक्सी खाई बेहोसमा आगलागी हुन गएको हो । जाना जानी आफ्नो घरमा आगो लगाएको हैन । मैले रक्सी खाई आगो लगाएकोले कानूनले जो ठहर्छ भन्ने समेतको व्यहोराको वलवहादुर दमाईले अदालतमा गरेको वयान ।
८. अदालतका आदेशानुसार जाहेरवाला र प्रहरीमा कागज गर्ने मानिस तथा वस्तुस्थिति मुचुल्काका मानिसहरुको वकपत्र भई मिसिल सामेल रहेको ।
९. प्रतिवादी वादी दावी वमोजिम मुलुकी ऐन आगो लगाउनेको महलको २ नं. वमोजिम घर भित्र मानिस भएको जानी जानी आगो लगाएको देखिनाले ज्यान मार्ने नियतले नै आगो लगाएको ठहर्छ । सो ठहर्नाले ज्यान सम्वन्धीको महलको १५ नं. वमोजिम ८ वर्ष कैद प्र. वलवहादुरलाई हुने ठहर्छ । एकै कसुरमा दुई ऐन लगाई सजाय गर्न नमिल्ने भएकोले आगो लगाउनेको ५ नं. बमोजिम सजाय गरिरहनु परेन । वादी दावी बमोजिम विगो पनि भराई दिन पाउने ठहर्छ । प्रतिवादी जिकिर पुग्न सक्दैन भन्ने शुरु गुल्मी जिल्ला अदालतको फैसला ।
१०. मेरो मानसिक अवस्था कमजोर रहेको भन्ने वयानमा समेत उल्लेख भएको, मैले मानिस मार्न जानी जानी अर्काको घरमा आगो लागाएको नहुँदा आगो लगाउनेको १, २ नं. तथा ज्यान सम्वन्धी महलको १५ नं. समेत आकर्षित हुने अवस्थाको उजुरी दावी नै नभएको कुरामा शुरुवाट मलाई कर्तव्यवाला दोषी ठहराई सजाय गरी आगलागीको नोक्सानी विगो समेत तिर्न वुझाउन पर्ने ठहराई गरको शुरुको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी आरोपित कसुरवाट सफाइ पाउँ भन्ने प्रतिवादी वलवहादुर दमाईको पुनरावेदन जिकिर ।
११. प्रमाण साथ पेश हुन आएको पुनरावेदकको पागल सम्वन्धी फाइलवाट पुनरावेदकको मानसिक स्थिति ठिक नभएको भन्ने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको स्वास्थ्य परीक्षण सम्वन्धी प्रतिवेदन भै र पुनरावेदकवाट आगलागी भएको घर अर्काको नभै पुनरावेदक समेतकै देखिंदा शुरु फैसला फरक पर्न जाने हुँदा छलफलको निमित्त अ.वं. २०२ नं. पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय वुटवललाई पेशीको जानकारी दिई नियमानुसार पेश गर्नु भन्ने मिति २०५२।१०।२९ गतेको पुनरावेदन अदालतको आदेश ।
१२. प्रतिवादीले आफुले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज विग्रेको मान्नु पर्ने भै मुलुकी ऐन, दण्ड सजायको १ नं. को व्यवस्था अनुसार खत वात लाग्न वा सजाय हुन नसक्ने हुँदा समेत प्र. वलवहादुर लाई प्रस्तुत मुद्दावाट सफाइ दिनु पर्नेमा ८ वर्ष कैद गर्ने गरेको गुल्मी जिल्ला अदालतको फैसला उल्टी हुन्छ भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०५३।३।२४ को फैसला ।
१३. पुनरावेदन अदालतको फैसलामा चित्त वुझेन । मादक पदार्थ सेवन गरेको अवस्थामा गरेको अपराधको सन्दर्भमा कानूनमा छुट दिने वा त्यस्तो व्यक्तिलाई आफ्नो कामको परिणाम थाहा नपाउने व्यक्ति मानी अपराधिक दायित्ववाट उन्मुक्ति दिन मिल्दैन । प्रतिवादीले अदालतमा आफुले सलाई कोरेको भनि सावित रहेको तथा प्रतिवादीले कामको प्रकृति परिणाम थाहा पाउन मानसिक असन्तुलन भएको व्यक्ति हो भनी जिकिर नै नलिएको अवस्थामा र निजको वयानवाट कसुर अपराध स्वीकार गरेको अवस्थामा प्रतिवादी जिकिर नै नभएको विषयमा प्रवेश गरी शुरु जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी शुरु जिल्ला अदालतको इन्साफ सदर गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।
१४. नियम वमोजिम दैनिक मुद्धा पेशी सुचिमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फवाट उपस्थित विद्वान सह न्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठकले प्रतिवादीले आफुले चुरोट खान सलाई कोरेकोवाट आगो लाग्न गएको भनि स्वीकार गरेको अवस्थामा रक्सी आएको कारणले होसमा नभएको अवस्थामा आगो लाग्न गै दण्ड सजायको १ नं. वमोजिम अपराधिक दायित्वबाट छुट दिने गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी शुरु जिल्ला अदालतको फैसला सदर हुनु पर्छ भनि वहस प्रस्तुत गर्नु भयो । विद्वान सहन्यायाधिवक्ताको वहस जिकिर सुनि शुरु गुल्मी जिल्ला अदालतको इन्साफ उल्टी गरी प्र.वलवहादुरलाई अभियोग दावीवाट सफाई दिने गरेको पुनरावेदन अदालत वुटवलको फैसला मिलेको छ छैन भनि निर्णय दिनु पर्ने देखियो ।
१५. निर्णयतर्फ विचार गर्दा, यसमा प्रतिवादी वलवहादुर दमाई उपर मु.ऐ. आगो लगाउनेको महलको १ र २ नं. तथा ज्यान सम्वन्धी महलको १ नं. को कसुर गरेको, ज्यान सम्म मर्न नपाएकोले ज्यान मार्ने उद्योगको अपराधमा ऐ.को १५ नं. र आगो लगाउनेको ५ नं. वमोजिम सजाय हुन र क्षती भएको विगो रु २६,५००। जाहेरवालालाई भराई दिने समेतको अभियोग दावी भएको प्रतिवादीलाई ज्यान सम्वन्धीको १५ नं. बमोजिम ८ वर्ष कैद हुने र वादी दावी वमोजिमको विगो प्रतिवादीवाट वादीलाई भराई दिन पाउने समेत ठहर्याई भएको शुरु गुल्मी जिल्ला अदालतको फैसला उपर प्रतिवादीको पुनरावेदन अदालत वुटवलमा पुनरावेदन परेकोमा शुरु जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीलाई सफाइ दिए उपर वादी श्री ५ को सरकारको प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ ।
१६. यस्मा प्रतिवादी वलवहादुरले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा आगो लगाएको कुरालाई स्वीकार गरी वयान गरेतापनि अदालतमा आई वयान गर्दा आरोपित कसुरमा इन्कार रही आफुले जाना जानी आगो नलगाएको रक्सी खाएको अवस्थामा सुति सकेपछि चुरोट खान सलाई कोरी फालेकोमा आगो लाग्न गएछ । चुरोट पनि हातमा समाई राखेकोमा सिरक पोलिएछ भन्ने समेतको वयान गरेको देखिन्छ । निजले अदालतमा वयान गर्दा आफ्नो मानसिक अवस्था पनि केही कमजोर रहेको भनि वयान गरेकोमा सो तर्फ हेर्दा प्रमाणमा रहेको जिल्ला प्रशासन कार्यालयवाट प्राप्त अशान्ति गर्यो भन्ने प्रमाण मिसिलमा निजलाई मानसिक असन्तुलन भै शान्ति सुरक्षाको लागि मिति २०५१।६।९।१ को निर्णयानुसार थुनामा राखि मिति २०५१।७।८ मा जाहेरवाला प्रतिवादीकै वावु धनवहादुरलाई जिम्मा लगाएको भन्ने देखिई त्यसको भोलिपल्ट नै मिति २०५१।७।९ मा आफ्नै घरमा आगो लगाएको देखिन्छ । यसरी उक्त जिल्ला प्रशासन कार्यालयको प्रमाण मिसिलवाट प्रतिवादी वलवहादुर दमाईको मानसिक असन्तुलन भै निज उक्त अपराध गर्दाको अवस्थामा ठीक भैसकेको भन्ने देखन नआई निजको रक्सी खाएको कारणले होसमा नआएको अवस्थामा चुरोट सल्काउन लाग्दा नै आगो लाग्न गएको समेत मिसिल संलग्न प्रमाणवाट देखिन आउँछ । यस्तो अवस्थामा वादी श्री ५ को सरकार तर्फवाट प्रतिवादीले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउने मगज नविग्रेको व्यक्ति हो र निज वारदात घट्दाको अवस्थामा सामान्य अवस्थामा नै आइसकेको थियो भनि प्रमाणित गर्न सकेको देखिन आउदैन । अतः यस्तो अवस्थामा प्रतिवादी पहिले देखिनै मानसिक अवस्था ठिक नभई असन्तुलन भएको र आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज विग्रेको व्यक्ति मान्नु पर्ने हुँदा मुलुकी ऐन दण्ड सजायको १ नं. अनुसार खतवात लाग्न वा सजाय हुन नसक्ने व्यक्ति हुंदा समेत शुरु गुल्मी जिल्ला अदालतले प्रतिवादीलाई कसूरदार ठहर गरी सजायँ गरको इन्साफ उल्टी गरी प्रतिवादी वलवहादुर दमाईलाई अभियोग दावीवाट सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत वुटवलको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सकदैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गोविन्दबहादुर श्रेष्ठ
संवत २०५८ साल आषाढ ४ गते राजे २ शुभम्..................................