निर्णय नं. २४३६ - आम्दानी खर्चको हिसाब

निर्णय नं. २४३६ ने.का.प. २०४२ अङ्क ७
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको दे.पु.नं. ४९९
मुद्दा : आम्दानी खर्चको हिसाब ।
पुनरावेदक/वादी:का.प.जि.वनेपा नगर पंचायतवडा नं. १९ बस्ने लीलाभक्त श्रेष्ठ ।
विरुद्ध
विपक्षी/प्रतिवादी:जि. रामेछाप लखनपुर रिष्टे गा.पं.वा.नं. ९ सिलाङटार गाउँ बस्ने मान बहादुर लामा ।
फैसला भएको मिति: २०४२।६।१५।३ मा
ठेक्का पार्टनरले लेखिदिएको मन्जूरनामाबाट अब आएर मेरो ठेक्का पार्टनर होइन भन्नको लागि विवन्धनको सिद्धान्तले नमिल्ने ।
(प्रकरण नं. १०)
पुनरावेदक वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
विपक्षी प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल
उल्लेखित मुद्दाःX
फैसला
न्या.पृथ्वी बहादुर सिंहः मध्यामाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. विपक्षीले गोरखा नारायणगढ राजमार्ग बनाउने काममा ठेक्का लिउँ तपाई पनि पूँजि लगाउनुहोस्, म नाम र बुद्धि लगाउँछु भनी भनेकोले मैले ९५, ३५४ पूँजि हाली बराबर लाभांश बाँड्ने गरी कागज समेत गरी गोर्खा नारायणगढ राजमार्ग अन्तर्गत टोली नं. १ द्वारा ढुङ्गाको काम लिई काम गर्ने कार्यालय राखी ठेक्का सञ्चालन गर्दै आएको र पूँजि बढ्दै जाँदा लाखौं रुपियाँको कारोवार भएको र विपक्षीले ०३४।१२।६ गते लगायतमा मलाई पार्टनर भनी रुपियाँ झिकी ल्याउन मन्जूरनामा लेखिदिएकोबाट म पार्टनर भनी व्यवहार गरी आएको ठेक्काको काम ५०५ समाप्त भएको, यसरी ठेक्काको काम समाप्त हुन थालेकोले मुनाफा बाँड्न पर्यो भनी विपक्षीलाई भन्दा ०३५–१२–१२ मा कागजपत्र दराजमा राखी सकेछन् । सो मलेदारी र अन्य कागज समेत झिकी लिए । रुपैयाँ कागजपत्र समेत केही दिन्न भने । जम्मा रु. ८,३०,२१४।– योजनाबाट लिनु पर्ने र रु. ७,८५,०१४।– जति विपक्षीले झिकी पाइसकेको सोबाट रु. ४,४२,२६१।७० जति खर्च भई बाँकी रु. ३,८७,९५२।– भाग हिस्सा लगाउन पर्ने नलगाएकोले संपूर्ण हिसाब गरी मैले पाउने भाग हिस्साको रकम निश्चित ठहर गरी दिलाई पाउँ भन्ने समेतको वादी दावी ।
३. विपक्षी लिलाभक्त श्रेष्ठसँग मेरो त्यस किसिमको कबूलियत वा कुनै किसिमको कागज भएको छैन, गरेको भए पनि एकप्रति लिनु दिनु गरेको हुनुपर्ने । मैले ठेक्कापट्टाबाट आर्जन गरेको सम्पत्ति दावा गर्न भाग खोज्नु भएको स्पष्ट छ । करार संवन्धी ऐन, २०३३ को दफा १८(२) अन्तर्गत नालेश गर्न वादीले ऐ.ऐनको दफा ४ र ५ बमोजिम रीतपुर्वक करारको लिखत भएको छ भनी भन्न सक्नुभएको छैन । मेरो लेखापाल भएको हुँदा मेरो कारोवारमा जानकारी हुन अस्वाभाविक होइन हाम्रो बीच साझेदारी काम गर्ने कागज पनि भएको छैन । विपक्षी र उहाँहरूको सहयोगी मिति ०३७।१।२४ गते मलाई करकापसँग जबरजस्ती सहिछाप गराएको कागज बदर गराउन रामेछाप जि.अ.मा फिराद दायर गरेको छु । विपक्षी मेरो हिस्सेदार पनि होइन, हिसाब देखाउन पर्ने पनि होइन भन्ने समेतको प्रतिउत्तरपत्र ।
४. विना विस्तृत आय व्ययको फाँटवारी आय निश्चित गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने व्यहोराको का.प.जि.अ.को ०३९।५।२२ को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको वादीको मध्यमाञ्चल क्षेत्रिय अ..मा परेको पुनरावेदनपत्र ।
६. शुरु इन्साफ मनासिव ठहर्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला।
७. उक्त फैसलामा चित्त बुझेन, पुनरावेदनको अनुमति पाउँ भन्ने समेतको वादी लिलाभक्तको यस अदालतमा निवेदन परी डिभिजन बेञ्ज समक्ष पेश हुँदा मिति ०३७।१।२४ गतेमा मिति ०३७।२।३० गते भित्र सक्कल बहीखाता पेश गरी हिसाब किताब फछ््र्यौट गर्नेछु भनी लेखिदिएको कागज र मिति ०३४।१२।६ मा श्री लिलाभक्त मेरो ठेक्का पार्टनर साथी भनी मन्जूरनामाको पत्र लेखिदिएको भन्ने उल्लेख भएबाट पार्टनर देखिएको कागज समेत प्रमाणमा लगाई निर्णय गर्नुपर्नेमा नलगाई निर्णय गरेको प्रमाण ऐन, २०३१ को दफा ५४ र अ.बं. १८४(क) नं.तथा १८५ को त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।
८. नियम बमोजिम पेशी सूचीमा चढी आज निर्णय सुनाउने तारेख तोकिई पेश हुन आएमा प्रस्तुत मुद्दामा पुनरावेदन वादीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले ठेक्का पार्टनर भनी विभिन्न ठाउँमा लिलाभक्तलाई भनेबाट समेत साझेदार रहेछन् भन्ने प्रष्ट छ भन्ने समेत र विपक्षी प्रतिवादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री हरिहर दाहालले हचुवा किसिमले हिसाब किताब दिलाई पाउँ भनेकाले वादी दावी नपुग्ने ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव हुन पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
९. अब प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रिय अ..बाट भएको इन्साफ मनासिव वा बेमनासिव के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।
१०. निणयतर्फ बिचार गर्दा यसमा म ठेक्का पार्टनर भएको र मेरो ठेक्काबाट आउनुपर्ने रकम कलम नदिएकोले हरहिसाब गरी मेरो हक हिस्सा दिलाई पाउँ भन्ने समेतको पुनरावेदक वादी लिलाभक्त श्रेष्ठको फिराद दावी भएकोमा विपक्षी मानबहादुर लामाको, वादी मेरो ठेक्का पार्टनर हैनन् मेरो काम गर्ने लेखापाल हुन्, निजसँग कागज संझौता भएको छैन, भन्ने समेतको प्रतिउत्तर परेको देखिन्छ । प्रस्तुत मुद्दामा सर्वप्रथम वादी र प्रतिवादी ठेक्का पार्टनर हुन् वा होइनन् भन्ने कुराको निर्णय दिनुपरेको छ अब त्यसतर्फ बिचार गर्दा प्रतिवादी मानबहादुर लामाले स्वहस्ताले मिति ०३७।१।१४ गतेमा ०३७।२।३० भित्र सक्कल वहीखाता पेश गरी हिसाब किताब फछ््र्यौट गर्नेछु भनी कागज लेखिदिएको देखिन्छ । त्यस्तै मिति ०३४।१२।६ मा श्री लिलाभक्त श्रेष्ठ मेरो ठेक्का पार्टनर साथी भनी प्र.मानबहादुर लामाले मन्जूरनामाको पत्र लेखी दिएको भन्ने मिसिल संलग्न उक्त पत्रको प्रतिलिपिबाट देखिन आएको छ । यस्तो स्थितिमा आफ्नो ठेक्का पार्टनर नभएका भए त्यसरी लेख्न पर्ने आवश्यकता देखिँदैन । ठेक्का पार्टनर भनेर प्र.मानबहादुरले लेखी दिएको मन्जूरनामाबाट अब आएर मेरो ठेक्का पार्टनर होइन भन्नको लागि विवन्धनको सिद्धान्तले मिल्दैन । अतः पुनरावेदक वादी र प्र.मानबहादुर लामा ठेक्का पार्टनर भएकै सिद्ध हुन आयो ।
११. अब वादी दावीबमोजिमको रकमको हिस्सा वादी लिलाभक्तले पाउने नपाउनेसम्बन्धमा बिचारगर्दा निज हरू दुईजनामात्र ठेक्कापार्टनर देखिएको साथै वादीले आफ्नो हिस्सा रकम लिइसकेको छ भनी प्रतिवादीले लेखाई दिनसकेको पाइँदैन । साथै वादीले खर्चकटाई बाँकी रु. ३,८७,९५२।– को हिस्सामा दावी गरेकोमा वादीले दावी गरे बमोजिमको रकम होइन, यति हो भनेर प्रतिवादीले जिकिर समेत लिन नसकेको हुँदा वादी दावी बमोजिम लिलाभक्त श्रेष्ठले प्र.मानबहादुर लामाबाट रु. ३,८७,९५२।– को आधा रु. १,९३,९७६।– आफ्नो हिस्सा भराई लिन पाउने ठहर्छ वादी दावी नपुग्ने ठहर्याएको शुरु इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रिय अ..बाट भएको फैसला उल्टी हुने ठहर्छ तपसीलका कलममा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी लिलाभक्त श्रेष्ठके माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजले प्र.मानबहादुर लामाबाट रु. १,९३,९७६।– हिस्सा पाउने ठहरी फैसला भएको सो रकम प्रतिवादीबाट भराई पाउँ भनी ऐनको म्यादभित्र निजको दर्खास्त परेको कानुन बमोजिम लाग्ने दस्तुर सयकडा रु. २।५० का दरले लिई भराई दिनु भनी का.प.जि.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.....१
प्र.मानबहादुर लामाके यसमा वादीले शुरु फिराद दायर गर्दा कोर्टफी रु. १०।– मात्र राखेको देखिएको र हिस्सा दिलाई पाउँ भन्नेतर्फ कोर्टफी राखेको नदेखिएकोले र वादीले निजबाट रु. १,९३,९७६।– हिस्सा पाउने ठहरेकोले उक्त रकमको लाग्ने कोर्टफी रु. ५१३९।– निज प्र.बाट जरिवाना सरह असूल गर्नु निजबाट असुल हुन नसके भरीभराउका बखत वादीबाट असूल गर्नु भनी ऐ.मा ऐ.ऐ..................२
मध्यमाञ्चल क्षेत्रीय अदालत इन्साफ उल्टी हुँदा मा.न्या.द्वय श्री जनार्दनलाल मल्लिक एवं श्री गोविन्दबहादुर श्रेष्ठको उल्टीमा रेकर्ड राख्नु.............३
मिसिल नियम बमोजिम बुझाई दिनु......................४
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल आश्विन १५ गते रोज ३ शुभम् ।