शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०६५ - वाली भराई मोही निष्काशन

भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक:

निर्णय नं. ७०६५   ने.का.प.२०५९             अङ्क १/२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी

सम्वत् २०५५ सालको दे.पु.नं. ... ४७२३

फैसला मितिः २०५८।९।४।४

 

मुद्दा :वाली भराई मोही निष्काशन ।

 

पुनरावेदक

वादीः काभ्रेपलान्चोक जिल्ला वालुवा गा.वि.स.वडा नं. ९ वस्ने विमला सेढाई

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स.वडा नं. ५ वस्ने धन कुमारी आचार्यको मु.स. गर्ने         छोरा वासुदेव आचार्य

 

§  मोही हक नामसारी गरी सुरक्षित गर्न पाउने अधिकार राख्ने मोही विपक्षीलाई आफूले कमाएको जग्गाको कुत वुझाई जग्गाधनी प्रति निर्वहन गर्नुपर्ने दायित्वको वोध हुनु पर्दैन भन्न  नसकिने ।

§  दर्तावाला मोहीको मृत्यु र एकमात्र हकवाला रहेको अवस्थामा दर्तावाला मोहीको सम्पूर्ण दायित्व सो जग्गा कमाउने हकवालामा निहित रहने ।

§  प्रत्यर्थीले जग्गाधनीलाई कुतवाली वुझाई मोहीको कानूनी कर्तव्य पुरा गरेको नदेखिएको अवस्थामा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम कुत नवुझाउने मोहीको मोही हक संरक्षण हुन नसक्ने ।          

(प्र.नं. ११)

 

पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ता श्री लभकुमार मैनाली

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्वित नजिरः

 

फैसला

          न्या.मीनबहादुर रायमाझीः पुनरावेदन अदालत, पाटनको मिति २०५५।३।१९ को निर्णय उपर यस अदालतमा पर्न आएको पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने भै प्रस्तुत विवादको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:

          २.  मेरा नाम दर्ताको जिल्ला भक्तपुर दिव्यश्वरी गाउं विकास समिति वडा नं. ५(ख) कि.नं. ४०१ को क्षेत्रफल ०० रोपनी जग्गाको विपक्षी मोही हुन । निजले २०५२ सालको कुतवाली नवुझाएको र धरौटी समेत नराखेकोले मोहीवाट निष्काशन गरी वाली भराई पाउं भन्ने समेत व्यहोराको फिराद ।

          ३.  दावीको जग्गा फिरादीले को कसवाट कसरी प्राप्त गरे मलाई थाहा छैन । जग्गाधनी हरिप्रसाद उपाध्याय र मोही मेरी आमा धनकुमारी भएकोमा विवाद छैन । आमाको मृत्यु पश्चात मोही नामसारी गराउने मेरो हक सुरक्षित नै छ । कित्ता नम्वर १३७ को जग्गा       मध्ये ०० जग्गाको स्वामित्व फिरादीमा आएको कुरा मलाई जानकारी थिएन । विपक्षीले मसंग वाली मांग गरेको छैन । मोहीको कर्तव्य कुत वुझाउने हो । जग्गाधनी पत्ता लगाउन शक्ति खर्चनु पर्ने होइन । कुत वुझाउन तयार नै छु मोही निष्काशन हुनुपर्ने होइन भन्ने समेत व्यहोराको वासुदेव आचार्यको प्रतिउत्तर ।

          ४.  जग्गाधनी परिवर्तन भएको जानकारी मोहीले नपाएकोले वादीले उक्त जानकारी प्रतिवादीलाई दिन लगाउने, साथै कुत नतिर्ने उद्देश्यले वाली नतिरेको भन्ने समेत देखिन नआएकोले मोहियानी हक यथावत कायम राखी वादीले वालीसम्म भरी लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भूमिसुधार कार्यालय भक्तपुरको फैसला ।

          ५.  विपक्षीलाई मोही हकवाट निष्काशन नगर्ने केवल वालीमात्र भरी लिन पाउने ठहर गरेको शुरुको त्रुटिपूर्ण निर्णय वदर गरी विपक्षीलाई मोहियानी हकवाट समेत वंचित गरी पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन ।

          ६.  कुतवाली नवुझाएको र धरौट समेत नराखेको अवस्थामा मोही निष्काशन नहुने ठहर गरेको शुरुको निर्णय फरक पर्न सक्ने देखिंदा विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५४।१०।३० को पुनरावेदन अदालत, पाटनको आदेश ।

          ७.  दर्तावाला मोही धनकुमारी आचार्यलाई विपक्षी वनाई प्रस्तुत मुद्दाको फिराद मिति २०५२।११।३० मा दायर  भएको देखिन्छ । तर नीज मोहीको मृत्यु २०२७ सालमै भइसकेको भन्ने मिसिलवाट देखिएको र दर्तावाला मोहीको भूमि  सम्वन्धी ऐन, २०२१ को दफा २६(१) अनुसारको व्यक्तिलाई मोहीमा पत्याई नामसारी भई मोही कायम गरी दावी लिन नसकेको अवस्थामा प्रस्तुत मुद्दाको फिराद दावीनै खारेज गर्नुपर्नेमा नगरी इन्साफ गरेको शुरु भूमिसुधार कार्यालय भक्तपुरको मिति २०५३।१०।२२ को फैसला कानूनसंगत नहुंदा सो इन्साफ उल्टी भै प्रस्तुत मुद्दाको फिराद दावी र पुनरावेदनपत्र समेत खारेज हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०५५।३।१९ को फैसला ।

          ८.  पुनरावेदन अदालत पाटनको मिति २०५५।३।१९ मा शुरु फिराद तथा पुनरावेदन खारेज गर्ने गरेको निर्णयमा चित्त वुझेन । पुनरावेदन अदालत पाटनमा भु.सु.अ. भक्तपुरले मलाई आंशिक रुपमा हराई भएको फैसला विरुद्ध मेरो पुनरावेदन परी सो ठीक वा बेठीक के हो सो को सुनुवाई भएको हो । विपक्षी समेतको  दोहोरो पुनरावेदन वारे पुनरावेदन अदालत पाटनवाट फैसला भएको होइन । शुरु फैसला सदर वा मेरो पुनरावेदन  जिकिर वमोजिम फैसला गर्नुपर्ने त्यसैमा सिमित रहनु पर्नेमा त्यस्तो स्थिति नभै विवादै नभएको विषयमा शुरु फिरादै    खारेज गर्ने गरेको निर्णय त्रुटिपूर्ण छ,   फिराद पत्रमा विपक्षी वनाइएकी मोही धनकुमारी आचार्यको मृत्यु २०२७ सालमै भएपछि मोही नरोजेसम्म मोही निष्काशन गर्न नमिल्ने भनि भएको निर्णयाधार त्रुटिपूर्ण छ । दर्तावाला वादीको मृत्यु पश्चात भु.सु ऐन, २०२१ को दफा २६(१) को मोही सम्वन्धी हक प्राप्त हुने कानूनी व्यवस्थाको पालना गराउने दायित्व जग्गावालाको होइन । मोही नामसारीको प्रक्रिया अवलम्वन गर्ने दायित्व मोहीकै भएको हुंदा सम्वन्धित हकवालाले २६(१) को व्यवस्था पालना गराउने कर्तव्य हुन आउंछ । यस्तो दायित्व जग्गावालाको रहने गरी पु.वे.अ. पाटनले गरेको फैसला वदरभागी छ । वाली नवुझाउने मोहीलाई जहिलेसुकै निष्काशन गर्न मिल्छ। २०२७ सालमै निजको आमाको मृत्यु भएको थियो भने निजले मलाई कुत वुझाउन कुनै छेकवार थिएन । २५ वर्षसम्म वाली पनि नवुझाउने र आमाको मृत्यु वारे जानकारी सम्म नदिने व्यक्ति मोही हुन सक्दैन । मोहीको मृत्यु पश्चात दर्तावाला मोहीको हकवालाले या त मलाई वाली वुझाउन पर्दछ या त सम्वन्धित कार्यालयमा वाली धरौटी राख्नु पर्दछ । दर्तावाला मोहीको मुद्दा सकार गरी मृत्युको कुरा गर्ने स्वीकार गरी मोही हक कायम हुन पर्ने भन्नेले त्यस्ता मोही मरे पश्चात मोही हक मात्र प्राप्तिका कुरा गर्न मिल्दैन । दायित्व तथा कर्तव्यको पनि ख्याल गर्नु पर्दछ । शुरु भूमीसुधार कार्यालय भक्तपुरले मोही निष्काशन गर्न नमिल्ने वाली भराउने गरी भएको निर्णयमा विपक्षीको पुनरावेदन नपरेवाट निजले कुतवाली नवुझाई वसेको स्पष्ट हुन्छ, यस्तो अवस्थामा मेरो  पुनरावेदन परेकोमा भूमी सुधार ऐन, २०२१ को दफा २९(१) वमोजिम मोही निष्काशन गर्नुपर्नेमा मेरो शुरु फिराद दावी र पुनरावेदन नै खारेज गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला न्यायको रोहमा त्रुटिपूर्ण छ । तसर्थः माथि उल्लेखित आधारमा पु.वे.अ. पाटनले ग्रहण गर्न नहुने प्रमाण ग्रहण गरी आत्मनिष्ट तवरवाट गरेको फैसला अ.वं. १८४(क), १८५, १८९ तथा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको विपरीत भएको हुंदा उक्त फैसला वदर गरी शुरु फिराद दावी   वमोजिम मोही निष्काशन गरी पाउं भन्ने पुनरावेदन ।

          ९.  वाली भराई मोही निष्काशन गरीपाउं भनी मोही धनकुमारी उपर परेको उजुरीमा धनकुमारी परलोक भैसकेकोले जारी भएको म्यादमा निज मोहीको छोरा वासुदेव आचार्यले सकार गरेको देखिन्छ । शुरु भु.सु.का. वाट वादीले प्रतिवादीवाट वाली भराउने गरेको निर्णय उपर प्रतिवादीले पुनरावेदन नगरी चित्त वुझाई वसेको अवस्था समेत देखिन आएको स्थितिमा   मोही भई यि प्रतिवादीले जग्गा कमाइ   वाली खाई आएको कुरा मान्नु पर्ने भई   मृत्यु भएको मोही उपर परेको मुद्दा सकार गरेको समेत अवस्थामा मृत्यु नै भैसकेको मोही उपर उजुर परेको भनि फिराद र पुनरावेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम छलफलको निम्ति विपक्षी झिकाई आएपछि वा गुजारी अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०५७।५।२८ को आदेश ।

          १०.  नियम वमोजिम दैनिक पेशी सूचिमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न प्रमाण कागज अध्ययन गरी पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री लभकुमार मैनालीको वहस समेत सुनी पुनरावेदन अदालत पाटनले मिति २०५५।३।१९ मा शुरु फिराद र पुनरावेदन खारेज गर्ने गरेको फैसला मिले नमिलेको के रहेछ भनि निर्णय गर्नुपर्ने देखिन आयो ।

          ११.  मेरा नाम दर्ताको जिल्ला भक्तपुर दिव्यश्वरी गा.वि.स.वडा नं. ५(ख) कि.नं. ४०१ को क्षेत्रफल ०० रोपनी जग्गाको मोही विपक्षी भएको र २०५२ सालको कुतवाली नवुझाएको र धरौटी समेत नराखेकोले मोहीवाट निष्काशन गरी वाली भराई पाउं भन्ने व्यहोराको फिराद दावी भएकोमा दावीको जग्गा फिरादीले को कसवाट कसरी प्राप्त गरे थाहा छैन । जग्गाधनी हरिप्रसाद र मोही मेरी आमा धनकुमारी भएकोमा विवाद छैन । आमाको मृत्यु पश्चात मोही हक नामसारी गर्न पाउने मेरो हक सुरक्षित भएको, कि.नं. १३७ को जग्गा मध्ये ०० जग्गाको स्वामित्व फिरादीमा आएको कुराको जानकारी पनि नभएको र फिरादीले मसंग कुतवाली पनि नमागेकोले जग्गाधनी खोज्दै जाने दायित्व मोहीको नहुंदा मोही निष्काशन हुनुपर्ने होइन भन्ने प्रतिउत्तर देखिन्छ । मोहियानी हक यथावत कायम राखी कुतवाली भरि पाउने निर्णय भएको शुरु भु.सु.का. भक्तपुरको निर्णय उपर वादी विमला सेढाईको पुनरावेदन परी पुनरावेदन अदालत पाटनले दर्तावाला मोही २०२७ सालमै मृत्यु भैसकेको अवस्था देखिंदा भुमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) वमोजिम दर्तावाला मोहीको मृत्यु पश्चात मोही रोजी पत्याई मोही कायम गरी दावी लिन नसकेको अवस्थामा शुरु फिराद दावी नै खारेज गर्नुपर्नेमा नगरी कुतवाली भरि पाउने ठहर्याई गरेको शुरु भु.सु.का. भक्तपुरको निर्णय उल्टी भै शुरु फिराद पुनरावेदन जिकिर खारेज हुने ठहर्‍याई निर्णय भएको देखियो । उक्त निर्णयमा चित्त नवुझी यस अदालत समक्ष पुनरावेदन परेको प्रस्तुत मुद्दामा जग्गाधनी विमला सेढाइ र मोही धनकुमारी आचार्य भएको कुरामा विवाद देखिंदैन । २०५२ सालको कुतवाली नवुझाएको तथा धरौट नराखेको अवस्थामा मोही निष्काशन गरी कुतवाली भराई पाउं भनी लिएको दावीमा वाली भराई पाउने ठहरी निर्णय भएको अवस्थामा मोहीले चित्त वुझाई वसेको पाइयो । दर्तावाला मोहीको २७ वर्ष अगाडि मृत्यु भए पश्चात आफु एकलौटी हक खाने एकमात्र छोरा भएकोले विवादित जग्गाको उपभोग प्रतिवादीले नै गर्दै आएको स्थितिमा जग्गाधनीलाई हरेक सालको कुतवाली वुझाउनु पर्ने दायित्व कानूनले तोकेको अवस्थामा जग्गाधनी परिवर्तन भएको कुरा आफूलाई थाहा नभएकोले मोहीको स्तरवाट जग्गाधनी परिचय गर्न शक्ति खर्च गर्नुपर्ने होइन भन्ने प्रतिवादीको जिकिर रहेको छ । सम्वत् २०५७ सालको दे.पु.नं. ८५ , नारायण देवी कायस्थ वादी, प्रतिवादी वादुली भुजुको वाली दिलाई मोही निष्काशन मुद्दामा यस अदालतको पूर्ण इजलासले गरेको निर्णय वमोजिम भूमी सम्वन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीमा कमाई आएको जग्गामा मोही सम्वन्धी निजको हक निजपछि निजका पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तीलाई प्राप्त हुन सक्ने व्यवस्था रहेको पाइन्छ । उक्त व्यवस्था मोहीको शेषपछि निजको हक खाने हकवालाहरु एकभन्दा वढी भएको अवस्थामा आकर्षित हुने देखिन्छ । मोहीको शेषपछि निजको हक खाने एकमात्र हकवाला भएको अवस्थामा भूमी सम्वन्धी ऐनको दफा २६(१) अनुसार पत्याउने कार्य निमित्त जग्गावालालाई सोही व्यक्तिलाई पत्याउनु सिवाय अन्य विकल्प रहेको अवस्था देखिंदैन । हक खाने एक मात्र हकवाला भएको स्थितिमा अन्य विकल्पको अभावमा निज हकवालाका नाममा नामसारी हुने भएवाट भु.सु. ऐन. को दफा २६(१) अनुसार नपत्याएको भन्ने जिकिर मुनासिव देखिंदैन । विवादको जग्गा दर्तावाला मोही धनकुमारीको मृत्यु पश्चात निजको एकमात्र हकवाला छोरा प्रत्यर्थी वासुदेव आचार्यले जग्गा कमौद नगरेको भनि जिकिर लिन सकेको अवस्था छैन । दर्तावाला मोहीको मृत्यु पश्चात निजको हक खाने एकमात्र हकदारले मोही नामसारी नगरेको आधारले मात्र मोहीको जग्गावालालाई कुत वुझाउने कर्तव्यवाट उन्मुक्ति प्राप्त हुन्छ भनि तर्क गर्नु कानून र न्यायसंगत हुने देखिंदैन । जग्गाधनीलाई जग्गा कमाउने मोहीवाट कुत प्राप्त गर्ने अधिकार भूमि सम्वन्धी ऐनले सुनिश्चित गरेको छ । मोही हकको नामसारी कहिले गर्ने भन्ने कुरा मोहीको तजविजको कुरा हो । आफू दर्तावाला मोहीको हक खाने एकमात्र छोरा भएको र आमा २७ वर्ष अगाडि नै मृत्यु भएको अवस्थामा आफ्नी आमा मोही भएको जग्गाको आमाको मृत्यु पश्चात मोही हक नामसारी गरी सुरक्षित गर्न पाउने अधिकार राख्ने मोही विपक्षीलाई आफूले कमाएको जग्गाको कुत वुझाई जग्गाधनी प्रति निर्वहन गर्नुपर्ने दायित्वको वोध हुनु पर्दैन भन्न सकिने अवस्था रहंदैन । यसरी दर्तावाला मोहीको मृत्यु र एकमात्र हकवाला रहेको अवस्थामा दर्तावाला मोहीको सम्पूर्ण दायित्व सो जग्गा कमाउने हकवालामा निहित रहने हुंदा दावी लिएको जग्गाको २०५२ सालको कुतवाली प्रत्यर्थीले जग्गाधनीलाई वुझाई मोहीको कानूनी कर्तव्य पुरा गरेको नदेखिएको अवस्थामा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम कुत नवुझाउने मोहीको मोही हक संरक्षण हुन सक्दैन । २०५२ सालको कुतवाली भरी पाउने मोहीहक यथावत रहने गरी शुरु भु.सु. कार्यालय भक्तपुरले गरेको फैसला केही उल्टी हुने भई मोहीवाट निष्काशन समेत हुने ठहर्छ । पुनरावेदन अदालत पाटनले फिराद दावी र पुनरावेदन समेत खारेज गर्ने गरेको फैसला उल्टी हुन्छ ।  अरु तपसील वमोजिम गर्नु ।

 

तपसील

                  

माथी इन्साफ खण्डमा लेखिए वमोजिम वादी दावी वमोजिम मोही निष्काशन हुने ठहरेकाले मोही लगत कटृा गरी पाउन वादीको निवेदन परे भु.सु.का. भक्तपुरलाई मोही लगत कटृा गरी दिन लेखी पठाई दिनु भनी शुरु भक्तपुर जिल्ला अदालतलाई लेखी पठाई दिनु ........... १

दायरीको लगत कटृा गरी मिसिल नियमानुसार वुझाई दिनु .......२

 

उक्त रायमा सहमत छु ।

 

न्या.केदारनाथ आचार्य

 

इति सम्वत् २०५८ साल पौष ४ गते रोज ४ शुभम् .......................................।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु