शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०७३ - उत्प्रेषण समेत

भाग: ४४ साल: २०५९ महिना: असार अंक:

निर्णय न. ७०७३    ने.का.प.२०५९       अङ्क ३/४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

सम्वत् २०५६ सालको रिट.नं..... ४१९८

आदेश मितिः २०५८।२।१६।३

 

विषयःउत्प्रेषण समेत ।

 

निवेदकः का.जि.का.म.न.पा वडानं. १६ वस्ने कुमार श्रेष्ठ

विरुद्व

विपक्षीः काठमाडौं जिल्ला का.म.न.पा. ठमेलस्थित अल्टीमेट डिसेन्ट प्रा.लि. समेत

 

§  ऐनको कुनै दफाले कुनै खास शव्द वा शव्दावलीको परिभाषा गर्दछ भने त्यहि अर्थमा प्रयोग गर्नुपर्ने ।

§  श्रम ऐनको दफा १४ एकवर्षको अविच्छिन्न सेवाको परिभाषा गर्ने दफा भएको र दफा ५३ को व्यवस्था कार्यविधि व्यवस्थित गर्ने सिलसिलामा स्थायी वा एकवर्ष अविच्छिन्न सेवा गरेको भन्ने सामान्य अर्थवोधक दफा भएकोले दफा १४ ले गरेको विशेष परिभाषालाई अन्यथा अर्थ गर्न नमिल्ने ।

§  सामान्य व्यवस्थाले विशेष व्यवस्थालाई Override गर्ने नभई विशेष व्यवस्थाले सामान्य अर्थलाई Override गर्दछ भन्ने कानून व्याख्याको सिद्धान्त हो ।

(प्र.नं.११)

 

निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री रमेश वडाल

विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री जनक अधिकारी, विद्वान अधिवक्ता श्री शेरबहादुर के.सी.

अवलम्वित नजिरः

 

आदेश

          न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) वमोजिम यस अदालतमा दायर भै पेश भएको प्रस्तुत रिट निवेदन समेतको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :

          २.   विपक्षी प्रतिष्ठान (कम्पनी) मा निवेदकलाई २०५३।११।१ मा नियुक्ति दिएपछि आफ्नो दायित्व निर्वाह गर्दै आएकोमा विपक्षी व्यवस्थापकले २०५४।९।१० मा सेवावाट हटाएको पत्र दिएको हुनाले सो निर्णय उपर मैले श्रम अदालत समक्ष पुनरावेदन दर्ता गराएको थिएं । श्रम अदालतले मलाई पुनर्वहाली नगरी पुनरावेदन नै खारेज गरियो । निवेदक २०५३।११।१ देखि अस्थायी सेवामा नियुक्ति भई २०५४।९।१० बाट अवकाश पाएको देखिई स्थायी भइसकेको नदेखिंदा एकवर्षको अवछिन्न सेवा पूरा गरेको भए मात्र निजले श्रम ऐन, २०४८ को दफा ५३ को संरक्षण पाउने, एक वर्ष अविच्छिन्न सेवा गरेको मान्न नमिल्ने भन्ने आधारमा पुनरावेदन खारेज गरिएको रहेछ ।

          ३.   कुनै पनि कामदार वा श्रमिकलाई सेवावाटमुक्त गर्दा कानूनसंगत तरिकाले मात्र गर्न सकिन्छ । मलाई स्पष्टिकरण समेत माग नगरी सेवावाट अन्त गरिएको श्रम ऐन, २०४८ को दफा ५३ विपरीत भएको छ । मलाई आरोप लगाई पदवाट निष्काशन गर्दा आफ्नो भनाई राख्न पाउने अधिकारवाट वंचित गरी प्राकृतिक न्यायको उल्लंघन भएको छ । मलाई सेवावाट हटाउँदा दिएको पत्रमा कुन ऐनको कुन दफा विपरीत काम भएको हो ? प्रष्ट देखाउन सकेको छैन । विपक्षी प्रतिष्ठानको कामदार तथा कर्मचारीहरुको सेवाशर्त र सुविधा सम्वन्धी विनियम, २०५३ को नियम ५.२ (क) र ५.२ (ग) मा श्रम ऐन वा नियमावलीमा उल्लेख भए वमोजिम खराव आचरण मानिने कुनै काम गरेमा र कुनै खराव आचरण गरे वापत दुईपटक सजाय पाइसकेपछि पुनः  त्यस्तो खराव आचरण गर्ने कामदार वा कर्मचारीलाई मात्र सेवावाट हटाउन सकिने प्रावधान छ । श्रम ऐन २०४८ को दफा ५१ को खण्ड (क) वा (ङ) को आचरण गरेको भनि आरोप नलागेको अवस्थामा अन्य नयाँ सिर्जित आरोप लगाइएको र त्यसको सुनवाईको मौका समेत प्रदान नगरी गरिएको निर्णय गैरकानूनी छ । श्रम ऐन, २०४८ को दफा ४(२) मा कुनै कामदार वा कर्मचारीले कुनै प्रतिष्ठानमा वाह्र महिनाको अवधि भएमा वा २४० दिन काम गरेको भएमा एकवर्ष अविच्छिन्न सेवा गरेको मानिने छ भन्ने उल्लेख भएकोमा निवेदक २४० दिन भन्दा वढि समय सम्म काम गरी सकेको छु । यदि २४० दिन पनि पुरागरेको छ र त्यो १२ महिना भित्रै परेको छ भने त्यो स्थायी हुन्छ । वढिमा एक वर्षसम्म भई २४० दिन मात्र पनि पूरा गरेको छ भने त्यो पनि स्थायी हुन्छ । यस्तो अवस्थामा प्रतिष्ठानको व्यवस्थापनकले स्वतः त्यस्तो कामदार वा कर्मचारीलाई स्थायी भएको नियुक्तिपत्र दिनु पर्छ । यदि प्रतिष्ठानले स्थायी भएको नियुक्ति पत्र दिएनभने त्यो कामदार वा कर्मचारी स्वत्तः स्थायी भएको मानिने कानूनको मनसाय हो । यसर्थ, प्रतिष्ठानमा काम गरेको अवधि स्थायी सेवा अवधिका लागि नपुगको भनि गलत व्याख्या गरी गरेको फैसला त्रुटीपूर्ण छ ।

          ४.   अतः विपक्षी प्रतिष्ठानले मलाई सेवावाट हटाउने गरेको निर्णयलाई सदर गरेको श्रम अदालतको २०५५।१२।१८ को निर्णयवाट मेरो नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२ , १७ द्वारा प्रत्याभूत हकमा आघात परेको र अन्य वैकल्पिक उपचारको व्यवस्थाको अभाव भएकोले विपक्षी श्रम अदालतको मिति २०५५।१२।१८ को पुनरावेदन खारेज गर्ने गरेको निर्णय समेत उत्प्रेषणको आदेशद्वारा वदर गरी मलाई आफ्नो पदमा पुनरवहाली गरी पाउं साथै कानून वमोजिमको तलव भक्ता एवं सुविधा समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।

          ५.  यसमा विपक्षीहरुवाट १५ दिन भित्र लिखित जवाफ मगाई आए वा सो अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको २०५६।३।३० को  आदेश ।

          ६.   विपक्षी रिट निवेदक पुनरावेदक विरुद्व अल्टिमेन्ट डिसेन्ट प्रा.लि. समेत प्रत्यर्थी भएको अवकास वदर मुद्दामा पुनरावेदनको रोहमा इन्साफ जाँच गर्दा श्रम ऐन, २०४८ को दफा ५३ अनुसार निजले संरक्षण प्राप्त गर्ने अवस्था नदेखिएकोले निजलाई सोही ऐनको दफा ६०(ग) वमोजिम पुनरावेदन गर्न दफा ५३ ले सुविधा प्रदान नगरेको हुँदा निजको पुनरावेदन खारेज गरिएको सम्म हो । कुनै कामदार कर्मचारीले कुनै प्रतिष्ठानमा १२ महिनाको अवधि भरमा २४० दिन काम गरेको  भएमा १ वर्ष सेवा अवधि मानिने व्यवस्था भएको ।तर रिट निवेदकको सेवा  अवधि १० महिना ९ दिन मात्र देखिएको २४० दिन हाजिर हुने वित्तिकै १ वर्ष सेवा अवधि पुगेको मान्नुपर्ने भए १ वर्ष, १२ महिनाको अवधि भएमा भन्ने जस्ता शव्द ऐनमा उल्लेख गरिरहनु पर्ने थिएन । अतः १० महिना ९ दिनको अवधिमा निवदकको २४० दिन काम गरेको भएता पनि १ वर्ष सेवा अवधि पुगेको भन्न नमिल्ने भएको कारण पुनरावेदन खारेज गरिएको हो । कानून वमोजिम भएको फैसलावाट निवेदकको कुनै पनि कानूनी तथा संवैधानिक हकमा आघात नपुगेको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी श्रम अदालतका तर्फवाट मुद्दा हेर्ने अधिकारीको पेश भएको लिखित जवाफ ।

          ७.  रिट निवेदक कम्पनीमा प्रशिक्षार्थी नदिई पथ प्रदर्शकको पदमा काम गर्ने गरी २०५३।११।१ देखि अस्थायी सेवामा नियुक्त भई २०५४।९।१० सम्म १० महिना ९ दिन काम गरी आएको अवस्थामा कम्पनीको विनियमको पालना नगरी कम्पनीलाई हानी नोक्सानी भएकोले निजलाई त्यस्तो अस्थायी सेवावाट हटाइएको हो । अस्थायी सेवाको कामदार कर्मचारीलाई श्रम ऐन, २०४८ वमोजिम स्पष्टीकरण सोधी सफाइको मौका प्रदान गर्नु पर्ने अवस्था छैन । निवेदक अस्थायी कर्मचारी भई श्रम ऐन, २०४८ को दफा ४ वमोजिम १ वर्षको अविच्छिन सेवा अवधि पूरा नगरेको र सो अवधिमा निज अस्थायी कामदारको कार्य दक्षता, इमान्दारीता, अनुशासन, कामप्रति लगनशीलता, रुजु हाजिरी नरहेको र अस्थायी नियुक्ति पत्रको शर्तहरु समेत उल्लंघन गरेकोले निजलाई सेवावाट हटाइएको समेत हुँदा उक्त दफाको गलत अर्थ लगाई  दिएको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी अल्टिमेट डिसेन्ट प्रा.लि.को तर्फवाट र आफ्ना हकमा समेत ऐ.को व्यवस्थापक वाङसान लामाले पेश गरेको लिखित जवाफ ।

          ८.   प्रस्तुत विवादमा श्रम अदालत समेतवाट भएको पुनरावेदन सहितको निर्णय फाइल महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाई आएपछि नियानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५७।८।१३ को आदेश ।

          ९.   नियम वमोजिम दैनिक पेशिसूचीमा चढी पेश भएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फवाट विद्वान अधिवक्ता रमेश वडालले निवदकले प्रत्यर्थी कम्पनीमा १२ महिनाको अवधि भर २४० दिन भन्दा बढि काम गरी सकेको कुरा विपक्षीका लिखित जवाफ समेतवाट स्वीकारिएकोवाट एक वर्ष अविच्छिन्न सेवा गरेको मान्नु पर्ने भई स्थायी नियुक्ति पाउने अवधि पुगिसकेको छ । यस्तो अवस्थाको कर्मचारीले श्रम ऐन, २०४८ को दफा ५३ ले निवेदकलाई संरक्षण प्रदान गर्न  नसक्ने भन्नु त्रुटिपूर्ण हुन जान्छ भनि वहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी श्रम अदालतका तर्फवाट उपस्थित विद्वान उप न्यायाधिवक्ता जनक अधिकारीले १० महिना ९ दिन भित्र २४० दिन रुजु हाजिर भएका निवदकले एक वर्ष अविच्छिन्न सेवा गरेको भनी मान्नु श्रम ऐन, २०४८ को दफा १४ को मनसाय विपरीत हुन जाने र एकवर्ष अविच्छिन्न  सेवावधि नपुगेका कामदार वा कर्मचारीले दफा ५३ को संरक्षण नपाउने स्पष्ट हुँदा रिट निवेदन वमोजिम आदेश जारी हुने अवस्था छैन भनी र प्रत्यर्थी अल्टिमेट डिसेन्ट प्रा.लि.का. तर्फवाट विद्वान अधिवक्ता श्री शेरवहादुर के.सी.ले श्रम ऐन, २०४८ को दफा ४(२) मा एकवर्षको अविच्छिन्न सेवा पुरा गरेपछि कार्य दक्षता, अनुशासन, लगनशीलता, रुजुहाजिरी, इमान्दारीता आदि कुराको आधारमा स्थायी नियुक्ति गर्न सकिनेमा निवदकलाई पदीय अनुशासन उत्तरदायित्वको पालना नगरेको आधारमा सेवावाट हटाएको कानूनसम्मत निर्णय हुँदा सो निर्णयलाई कायम राख्ने पुनरावेदन खारेज गरेको श्रम अदालतको कानुन सम्मत निर्णयलाई अन्यथा गर्न पर्ने अवस्था नहुँदा रिट निवेदन खारेज होस भनी वहस गर्नु  भयो ।

          १०.  निर्णयतर्फ विचार गर्दा, निवेदकवाट व्यवस्थापनले नियुक्तिका शर्तहरु तथा विनियमको पालन गरेको पाउन नसकेको र आफ्नो पदीय दायित्वको पालना नगरेको भनि प्रत्यर्थी अल्टिमेट डिसेन्ट प्रा.लि.को. प्रशिक्षार्थी नदिई पथ प्रदर्शकको पदवाट हटाए उपर श्रम अदालतमा पुनरावेदन गरेकोमा निवेदकको नोकरी अवधि १२ महिना पुगेको नदेखिएकोले श्रम ऐन, २०४८ को दफा ५३ मा उल्लेखित स्थायी वा एकपर्ष अविच्छिन्न सेवा गरेको कामदार वा कर्मचारीलाई भन्ने शव्दावलीको आधारमा निवेदकको पुनरावेदन खारेज गर्ने गरेको रहेछ । यसै सम्वन्धमा २०५५ सालको रिट नं. ३५०२ निवेदक लक्ष्मीवहादुर श्रेष्ठ (प्रवन्धक संचालक) विपक्षी श्रम अदालत समेत भएको उत्प्रेषण मिश्रित परमादेशको रिट निवेदनमा यस अदालतको संयुक्त इजलासले २०५७।५।३० मा निर्णय गर्दा श्रम ऐन, २०४८ को दफा १४ अनुसार कुनै कामदार वा कर्मचारीले कुनै प्रतिष्ठानमा वाह्र महिनाको अवधि भरमा दुईसयम चालीस दिन काम गरेको भए एकवर्ष अविच्छिन्न सेवा गरेको मानिने छ भन्ने व्यवस्था भए अनुरुप निवदकले वाह्र महिनाको अवधि भरमा २४० दिन अविच्छिन्न सेवा गरेको भन्ने कुरा हाजिरकपिवाट प्रमाणित भएको पाइन्छ । ऐनको दफा ४(२) अनुसार स्थायी नियुक्ति दिनु पर्ने होइन भन्ने रिट निवदक    (संचालक) को भनार्ई कानूनसंगत मान्न मिलेन, भन्ने उल्लेख गरेको पाइन्छ । यस फैसलाले दुईसय चालीस दिन अविच्छिन्न सेवामा गरेमा स्थायी नियुक्ति पाउने भन्ने व्याख्या गरेको देखिन्छ ।

          ११.  श्रम ऐन, २०४८ को दफा १४ ले एक वर्ष अविच्छिन्न सेवा गरेको अवधि गणनाका सम्वन्धमा व्यवस्था गरेको छ । जसअनुसार वाह्र महिनाको अवधि भरमा २४० दिन अविच्छिन्न सेवा गरेकोलाई एकवर्ष अविच्छिन्न सेवा गरेको मानिने छ, भनी एक वर्ष अविच्छिन्न सेवाको परिभाषा गरेको देखिन आउँदछ । उक्त दुईसय चालीस दिन एकवर्ष भित्रकै अवधि भित्र पर्नुपर्ने हुन्छ । अन्यथा वाह्र महिनाको अवधि भरमा भन्ने शव्दावली उक्त दफा १४ मा उल्लेख गर्नु पर्ने आवश्यकता पर्दैनथ्यो । यसवाट एकवर्ष भन्दा वढी अवधिमा २४० दिन पुर्‍याएर नहुने कुरा प्रष्ट हुन आउँदछ ।

          १२.  ऐनको कुनै दफाले कुनै खास शव्द वा शव्दावलीको परिभाषा गर्दछ भने त्यहि अर्थमा प्रयोग गर्नुपर्ने हुन्छ । श्रम ऐनको दफा १४ एकवर्षको अविच्छिन्न सेवाको परिभाषा गर्ने दफा भएको र दफा ५३ को व्यवस्था कार्यविधि व्यवस्थित गर्ने सिलसिलामा स्थायी वा एकवर्ष अविच्छिन्न सेवा गरेको भन्ने सामान्य अर्थवोधक दफा भएकोले दफा १४ ले गरेको विशेष परिभाषालाई अन्यथा अर्थ गर्न मिल्दैन । सामान्य व्यवस्थाले विशेष व्यवस्थालाई Override गर्ने नभई विशेष व्यवस्थाले सामान्य अर्थलाई Override गर्दछ भन्ने कानून व्याख्याको सिद्वान्त हो । अतः श्रम ऐन, २०४८ को दफा १४ मा व्यवस्था भए वमोजिम वाह्र महिनाको अवधि भरमा दुईसय चालीस दिन काम गरेकोलाई एकवर्ष अविच्छिन्न सेवा गरेको मानी उक्त ऐनको दफा ४(२) वमोजिम स्थायी नियुक्ति दिनु पर्ने अवस्था हुँदा दफा ६० को खण्ड (ग) वमोजिम व्यवस्थापकले दिएको सजाय उपर निवेदकको पुनरावेदन लाग्न सक्ने नै देखिंदा दफा ५३ ले एकवर्ष सेवा अवधि नपुगेको भनि पुरनवोदन खारेज गर्ने गरेको त्रुटिपूर्ण हुँदा विपक्षी श्रम अदालतको मिति २०५५।१२।१८ को निर्णय उत्प्रेषणको आदेशद्वारा वदर गरि दिएको छ । अव कानून वमोजिम निवेदकको पुनरावेदनमा निर्णय गरिदिनु भनि प्रत्यर्थी श्रम अदालतका नाउँमा परमादेश समेत जारी हुने ठहर्छ । आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालय मार्फत प्रत्यर्थी श्रम अदालतलाई दिई मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

                                     

न्या.हरिप्रसाद शर्मा

 

इति संवत् २०५८ साल जेष्ठ १६ गते रोज ३ शुभम्................................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु