निर्णय नं. ७०७८ - कुत दिलाई मोही निष्कासन

निर्णय नं.७०७८ ने.का.प.२०५९ अङ्क ३/४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री रामनगिना सिह
सम्वत् २०५७ सालको दे.पु.नं ६६२७
फैसला मितिः २०५८।१२।१।५
मुद्दाः–कुत दिलाई मोही निष्कासन ।
पुनरावेदक/प्रतिवादीः सर्लाही जिल्ला सिसौटिया गा.वि.स वडा नं ९ वस्ने लालधारी राउतको नावालक छोरा वर्ष १२ को राम विश्वास राउत कुर्मी समेत
विरुद्व
विपक्षी/वादीः सर्लाही जिल्ला लक्ष्मीपुर सुखचैना गा.वि.स. वडा नं १ वस्ने राम सेवक साह कलवार
§ २०५४ सालको कुतवाली मोहीले जग्गाधनीलाई नवुझाएको देखिइरहेको अवस्थामा विवाद परेको २०५४ साल भन्दा पछिका सालहरुको वाली वुझाई जग्गाधनीले वुझिलिएको भन्ने आधारमा मात्र जग्गा कमाउने मोहीको साल सालकै वाली जग्गाधनीलाई वुझाउनुपर्ने आफ्नु दायित्व पुरा गर्नु पर्दैन भन्न नमिल्ने ।
(प्र.नं. ९)
पुनरावेदक प्रतिवादी तर्फबाटः
विपक्षी वादी तर्फबाटः
अवलम्वित नजिरः ने.का.प. २०५५, अंक ११, पृ. ६५६ र २०५१ सालको दे.पु.न.. २५९५
फैसला
न्या.कृष्णजंग रायमाझीः न्याय प्रशासन ऐन २०४८ को दफा ९ वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यसप्रकार छ :-
२. मेरा नाम दर्ताको जि.स. गा.वि.स सिसौटीया वडा नं ९ कि.न ५८१ (ख) को ०–६–१ धन्हर दोयम जग्गाको मोही विपक्षीका स्व .पिता तथा दाजु रहेकोमा निज तथा निजको पत्नीको समेत मृत्यु भई विपक्षीले कमाई आउनु भएकोमा २०५४ सालको मैले पाउने कुतवाली नवुझाएको र धरौट समेत नराखेकोले उक्त सालको हुने कुतको जम्मा मोल रु.९०३।८७ विपक्षीवाट दिलाई भराई मोही लगत कट्टा गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. वादी दावीको कुत वादीकै गा.वि.स.का समाजसेवी श्री लक्ष्मीप्रसाद साह कलवारको रोहवरमा विपक्षीका छोरा प्रेम नारायण साहलाई वुझाई विश्वासका आधारमा भरपाइ लिन वाँकी रहेकै अवस्थामा यो नालिस दिएको हुदा विपक्षीले दावी गरे अनुसार दोहोरो कुत वुझाउनु पर्ने र मोही निष्कासन समेत हुने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. वादीले प्रतिवादीवाट उक्त कि.न ५८१ को जग्गाको नियमानुसार पाउनु पर्ने तोकिएको दर भाउमा कुत वाली रु.९०३। ८७ भरी पाउने र मोही हक यथावत कायम राख्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भू.सु.का सर्लाहीको मिति २०५५।९।२३।५ को फैसला ।
५. कुतवाली समयमा नवुझाई सम्वन्धित नियकामा धरौट समेत नराखी आफ्नो दायित्व समेत पूरा नगर्ने मोहीलाई कुनै कारण र आधार समेत निर्णयमा नखोली मोही हक यथावत राख्ने ठहर्याई भू.सु.का सर्लाहीवाट भएको निर्णय त्रुटीपूर्ण र प्रतिपादित नजिर समेत प्रतिकूल भएको हुंदा सो हदसम्म वदर गरी पाउँ भन्ने समेत व्यहोराको पु.वे.अ. जनकपुरमा वादीले दिएको पुनरावेदन पत्र ।
६. कुनै कारण आधार नै नखुलाई मोही हक यथावत राख्ने भनी शुरु भू.सु.का सर्लाहीले गरेको निर्णय स्थापित नजिरहरुको विपरीत भई फरक पर्न सक्ने देखिएकोले छलफलको लागि अ.व. २०२ नं तथा पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको आदेश।
७. पुनरावेदक वादी उक्त कि.न ५८१को जग्गाको जग्गाधनी भएकोमा विवाद भएन त्यस्तै प्रत्यर्थी प्रतिवादी उक्त जग्गाको मोही भएको सम्वन्धमा पनि विवाद भएन । मिति २०५४सालको कुतवाली भराई मोही हकवाट निष्कासन गराई पाउँ भन्ने फिराद दावी भएकोमा कुतवाली सम्म भराई दिने मोही हकवाट निष्कासन नहुने गरी शुरुले गरेको फैसलामा प्रत्यर्थी प्रतिवादीले पुनरावेदन नगरी वाली भराई दिने फैसला लाई स्वीकार गरी वसेको देखिदा त्यस तर्फ विचार गरी रहनु परेन । यी प्रत्यर्थी प्रतिवादीले वाली वुझाई सकेको भनी जिकिर लिए पनि त्यस्को भरपाई पेश गरेको देखिन आएन । आफुले जोतेको जग्गाको कुतवाली कानून वमोजिम वुझाउने कर्तव्य मोहीमा हुनेमा यी प्रत्यर्थीले सो कानूनी कर्तव्य पालन गरेको देखिएन । कुतवाली वुझाउनु पर्ने कानूनी कर्तव्यपालन नगर्ने मोहीलाई भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम मोही हकवाट समेत निष्कासन गर्नु पर्दछ भनी सर्वोच्च अदालत पूर्ण इजलासवाट समेत सिद्धान्त प्रतिपादन भइरहेको देखिन्छ । वाली वुझाउने कानूनी कर्तव्यपालन नगर्ने मोहीलाई पहिलो पटकको भनी वा स्वविवेक प्रयोग गरी मोही हक कायम राख्न नमिल्ने भनी श्री सर्वोच्च अदालतवाट पटक पटक सिद्वान्त प्रतिपादन भइरहेको अवस्थामा यस मुद्दामा पनि श्री सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्तको अनुशरण गर्नुपर्ने हुन आयो । तसर्थ जग्गाधनीलाई वाली वुझाउने कानूनी कर्तव्य पालन नगर्ने प्रत्यर्थी प्रतिवादी मोही मोही हकवाट समेत निष्कासन हुने ठहर्छ । भूमिसुधार कार्यालय सर्लाहीको वाली मात्र भराई दिने गरेको मिति २०५५।९।२३ को फैसला केही उल्टी हुन्छ भन्ने पु.वे.अ. को फैसला ।
८. २०५४ सालको वाली मैले नवुझाएको भनी मलाई मोही हकवाट समेत निष्काशन गर्ने गरी पु.वे.अ.वाट फैसला भएको छ । २०५४ सालको वाली मैले वुझाई सकेको छु । भपाई माग्दा जग्गाधनीले नदिएको अवस्था छ । २०५५ सालको वाली मैले धरौट राखेकोमा जग्गाधनीले वुझि लिएका छन् । २०५४ सालको वालीमा विवाद भएपनि त्यसपछि २०५५ सालको वाली वुझि लिइ सकेको अवस्थामा मोही हकवाट निष्कासन गर्न मिल्दैन । तसर्थ पुनरावेदन अदालतको मलाई मोही हकवाट निष्कासन गर्ने गरी भएको फैसलालाई वदर गरी इन्साफ पाउ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
९. यसमा सर्लाही जिल्ला सिसौटीया गा.वि.स. वडा नं ९ को कि.न ५८१ को ०–६–१ जग्गाको मोही पुनरावेदक प्रतिवादीहरु र विपक्षी वादी जग्गाधनी भएको कुरामा विवाद देखिदैन । २०५४ सालको हुने कुतवाली मोहीले नवुझाएको र कतै धरौट समेत नराखेको हुंदा कुत दिलाई मोही हकबाट समेत निष्काशन गरी पाउं भन्ने वादी दावी भएकोमा २०५४ सालको कुतवाली वादीको छोरा प्रेमनारायण साहले वुझी लिएकोले २०५४ सालको वाली वुझाउनु पर्ने र मोही हकबाट समेत निष्काशन हुनुपर्ने होइन भन्ने प्रतिवादी मोहीको भनाई रहेको देखिन्छ । तर त्यसको कुनै लिखित प्रमाण आउन सकेको पाइदैन । शुरु भूमिसुधार कार्यालयले २०५४ सालको वाली मोहीले जग्गाधनीलाई नवुझाएको भनी वाली भराई पाउने गरी फैसला गरेको देखिन्छ । त्यस उपर त्यसलाई मोहीले स्वीकार गरी पुनरावेदन परेको देखिदैन । यसरी २०५४ सालको कुतवाली मोहीले जग्गाधनीलाई नवुझाएको देखिइरहेको अवस्थामा विवाद परेको २०५४ साल भन्दा पछिका सालहरुको वाली वुझाई जग्गाधनीले वुझिलिएको भन्ने आधारमा मात्र जग्गा कमाउने मोहीको साल सालकै वाली जग्गाधनीलाई वुझाउनुपर्ने आफ्नु दायित्व पुरा गर्नु पर्दैन भन्न मिल्ने भएन । २०५४ सालको वाली जग्गाधनीलाई वुझाउन नसकिएको भन्ने उचित र मनासिव जिकिर लिन सकेको र त्यसको कुनै प्रमाण समेत आउन सकेको पनि पाइदैन । साथै २०५४ सालको वाली जग्गाधनीलाई वुझाएको भन्ने कुनै लिखित प्रमाण आउन सकेको पनि पाइदैन । यस्तो अवस्थामा जग्गाधनीलाई कुतवाली नवुझाउने मोहीको मोही हक यथावत कायम राख्नु पर्छ भन्न मिलेन । ने.का.प. २०५५ अंक ११ पृष्ट ६५६ मा प्रकाशित महमुद मिया विरुद्ध सविक मिया भएको दे.पु.नं २३८९ को कुत दिलाई मोही निष्कासन मुद्दामा र २०५१ सालको दे.पु.नं २५९५ को चेथरु मण्डल विरुद्व रानी दिलकुमारी राणा भएको कुत दिलाई मोही निष्कासन मुद्दामा प्रतिपादित सिद्वान्तले पनि वाली नवुझाउने मोहीको मोही हक यथावत राख्नु पर्छ भन्न मिल्ने भएन । तसर्थ वादी दावी वमोजिम भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम उक्त विवादको कि.न ५८१ को जग्गाको मोही हकवाट समेत विपक्षी मोही निष्कासन हुने गरी गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको देखिदा सदर हुन्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रामनगिना सिंह
इति सम्वत २०५८ साल चैत्र १ गते रोज ५ शुभम् .....................