शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०८५ - लिलाम बदर दर्ता बदर दर्ता कायम ।

भाग: ४४ साल: २०५९ महिना: असार अंक:

निर्णय नं. ७०८५       ने.का.प. २०५९    अङ्क ३/४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु

संवत् २०५५ सालको दे.पु.नं. ५०१३

फैसला मिति : २०५९।३।१२।४

 

मुद्दाः लिलाम बदर दर्ता बदर दर्ता कायम ।

 

पुनरावेदन/प्रतिवादी : जिल्ला सप्तरी गा.वि.स. सिस्वावेल्ही वार्ड नं. ८ बस्ने पवित्रादेवी तेलिन

विरुद्ध

विपक्षी /वादी : ऐ ऐ बस्ने महिनारायण साह तेली

 

§  दण्ड सजायको २६ नं. मा विगो वापत जायजात गर्दा त्यो धन खाने १२ वर्ष माथिका ऐन बमोजिम मानो नछुट्टी संग बसेका वा त्यो धन खाँदा संग बसेका पछि भिन्न हुनेको अंश समेत जायजात गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको देखिएबाट ऋण खाँदा संग बसेको वादीको नामको जग्गा जायजात हुन नसक्ने भन्न नमिल्ने ।

(प्र.नं. १५)

 

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिबक्ता श्री सुरेन्द्र खड्का

विपक्षी वादी तर्फबाट :

अवलम्बित नजिर :

 

फैसला

          न्या. चन्द्रप्रसाद पराजुलीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ ।

          २. मेरो पिता मधु साहुका ४ छोरा जेठा लखन साह माहिला राम साह, साहिला राज नारायण साह, कान्छ म महिनारायण साह भएकोले लखन साह परलोक भै निजका छोरा रामचन्द्र र स्वास्नी सजनवति हुन मेरो आमा बुलन्ती देवी हुन् । वाबुले हामी सवै जनालाई २०४६।७।३ गते अंश बण्डाको लिखत पारित गरी दिएकोले मेरा अंश भागको जि.स. बेल्ही गा.वि.स.वार्ड नं. ४(क) कि.नं. १२४ को ०१४ जग्गा मेरा नाउामा दा.खा. दर्ता भएकोमा २०४४।१२।१४ मा विपक्षीलाई पिताले राजिनामा लिखत कपाली सरह हुन आएको सावँ ब्याज समेतको रुपैया भरी पाउँ भनि दे.नं २७०२ को लेनदेन मुद्दा दिएकोमा विगो रु ७५९४।९० पितावाट भरी पाउने भै पुनरावेदन अदालत राजविराजबाट समेत फैसला भै मेरो अंशको सा.कि.नं. १२४ को ०१४ जग्गा समेत जायजाती दरखास्तमा देखाई विगोमा कार्यवाही हुँदा सो जग्गा २०५०।११।१० गते प्रतिावदीले लिलाम गराई डांक सरकार गरी आना नाउँ दर्ता समेत गराएकोले मेरो अंशको जग्गा पिताका नाउँको तमसुकमा भिन्न भएको अंशियारको जग्गा लिलाम गराई विगो असुल गर्न नपाउनेमा सो को विपरित प्रतिवादीले मेरो जग्गा लिलाम गराएकोले बदर गरी मेरो अंशको जग्गा मेरै नाउँमा दर्ता कायम समेत गरी पाउँ भन्ने समेत ब्यहोराको फिराद दावी ।

    ३. वादीको बाबु मधु साहले मलाई मिति २०४४।१२।१४ गते कागज बनाई दिँदाको अवस्थामा वादी समेत संगै रहेको अवस्थामा खाएको ऋण हुँदा सगोलको व्यवहारमा खर्च गरेकोमा मैले लेनदेन मुद्दा दायर गरी तत् समय संगोलमा रहेका समपत्ति यी वादीको नाउँमा नामसारी भई आएकोमा लिलाम भएको हो । तसर्थ हकदैया विहिन नालेस खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

    ४. यसमा लिलाम दर्ता बदर गरी मेरो नाउँमा दर्ता कायम गरी पाउँ भन्ने समेतको वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु सप्तरी जिल्ला अदालतको मिति २०५३।३।१।२ को फैसला ।

    ५. बण्डा पारीत भएको मिति भन्दा अघि भएको लेनदेन व्यवहारबाट मेरा बाबुले दिनु पर्ने अण नदिएकोले मेरो नाउँको जग्गा नै लिलाम हुनुपर्ने होइन अतः शुरुको फैसला उल्टी गरी शुपथ न्याय पाउँ भन्ने वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।

    ६. यसमा आसमी मधु साहको जग्गा सम्पत्ति हुँदा हुँदै निजको सम्पत्ति जेथा नदेखाई छुट्टी बसेको वादीको सम्पत्ति जेथा देखाई दिएको दरखास्तबाट लिलाम गरेको देखिँदा शुरुको इन्साफ फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि पेश गर्नु भन्ने पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०५४।५।१०।३ को आदेश ।

    ७. मधु साहको प्रत्यर्थी पवित्रा देवीबाट खाएको ऋण विगो वापत यी वादी महिनारायणको अंश हकको जग्गाबाट विगो भराउने गरी भएको लिलामी कारवाही दण्ड सजायको २६ नं. लेनदेन व्यवहारको ८ नं. तथा प्राकृतिक न्यायको सिद्धान्त समेतको १९(१) समेतलाई उदृत गरी मिति २०५०।११।१० को डाँक लिलाम र सो बमोजिम भएको दर्तालाई कायमै राखी दावी पुग्न नसक्ने ठहराएको सप्तरी जिल्ला अदालतको इन्साफ नमिलेको देखिँदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत सप्तरीको फैसला ।

    ८. फिरादमा वादीले २०४५।१०।१५ मा मानो छुटेको र २०४६।७।३ मा अंश बण्डा भएको उल्लेख गरेको छ भने मेरो राजिनामा २०४४।१२।१४ मा भएको कुरालाई वादीले स्विकार गरेको सो राजिनामा लिखत बदर गराउन सकेको छैन । मानु छुट्टिनु वा अंश बण्डा हुनु भन्दा अगी राजिनामा भै रहेको उक्त जग्गा राजिनामा पारित नभएपछि कपालीमा परिणत भै सो कपालीको रकम भरी पाउने ठहरे पछि सो जग्गा अंश बण्डामा उल्लेख गरि वादीको अंश भागमा परेको, अंश बण्डा गर्दा ६ वर्षका यी वादी महिनारायणको संरक्षक भै ऋणी मधु शाहले नै फिराद दावी गरेको, राजिनामा गर्दा सो जग्गा मधु शाहकै रहेको स्थितिमा मेरो लेनदेनको रकम असुल गराउन लिलाम गरी मैले सकारेको लिलाम समेतका कार्यहरु कानून सम्मत हुँदा लिलाम दर्ता बदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरुको फैसला उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

    ९. यसमा ऋण खाँदा सगोलमा बस्नेहरुको दायित्व कानूनले निर्धारण गरि दिएको र मुद्दा चल्दा चल्दै नावालक छोराहरुलाई बण्डा गर्नु पर्ने कारणको औचित्य समेत नदेखिँदा साहुले ऋण दिँदाको अवस्थाको सम्पत्तिकाट विगो भराउन पाउने हुँदा वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत राजविराजको निर्णय फरक पर्ने देखिँदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५८।१०।१ को आदेश ।

    १०. वादीको लिखत मिति २०४४।१२।१४ को छ, हाम्रो अंश बण्डा २०४६।७।३ गतेमा भएको तथा वादीको फिराद बण्डापत्र भै सकपछि परेको छ । बाबु मधु शाहले म मात्रलाई बण्डापत्र नगरी ६ जनालाई बण्डापत्र गरी दिएको, सबै अंशियारहरुबाट दामासाहीले असुल उपर गर्नुपर्नेमा मेरो अंशको जग्गा मात्र लिलाम गरी सगोलको अण रकम असुल उपर गरेको दण्ड सजायको २६ नं. को विपरित हुँदा मेरो जग्गा लिलाम गरेको र दर्ता गरेको समेत कार्यलाई बदर गरेकोमा पुनरावेदन अदालतको फैसला कानून सम्मत हुँदा सदर गरी पाउँ भन्ने वादीको लिखित प्रतिवाद ।

    ११. नियमा बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिबक्ता श्री सुरेन्द्र खडकाले लिलाम गरी मेरो पक्षले सकारेको जग्गा समेत वादीका बाबु मधु साहले मेरो पक्षबाट रुपैया लिई मिति २०४४।१२।१४ गते राजिनामा गरि दिएको जग्गा हो सो राजिनामा समय भित्र पारित हुन नसकी कपालीमा परिणत भै मेरो पक्षले वादीका बाबु उपर लेनदेन मुद्दा दायर गरी लेनदेनको सावाँ ब्याज भरि पाउने ठहरे पछि दावीको जग्गा कानून बमोजिम लिलाम भएपछि मेरो पक्षले लिलाम सकारेको हो । ऋण खाँदा वादी समेत एका सगोलमा रहेको, मेरो पक्षको ऋण नतिर्ने पचाउने उद्देश्य लिई निज मधु शाहले २०४६।७।३ मा ६ वर्षका यी वादी महिनारायण समेतको उक्त जग्गा समेत एका सगोल देखाई बण्डापत्र गरि दिएको छ । मेरो पक्ष संग ऋण लिने मधु शाह नै संरक्षक वनी प्रस्तुत पुनरावेदनपत्र दायर गरेको अवस्था छ । निज मधु शाहले मेरो पक्षको रकम नतिर्ने मनसाय लिई रचेका विभिनन किसिमका जालप्रपन्च मध्य यो पनि एक हो भनने स्पष्ट देखिएको अवस्थामा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु सप्तरी जिल्ला अदालतको इन्साफ उल्टी हुने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी पाउँ भनि गर्नु भउको बहस समेत सुनी पुनरावेदन जिकिर र बहस समेत तर्फ दृष्टिगत गर्दा यसमा पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? र पुनरावेदकको पुनरावेदन जिकिर पुग्छ, पुग्दैन ? भन्ने विषयमा नै निर्णय दिनु पर्ने देखियो ।

    १२. निर्णय तर्फ विचार गर्दा यसमा बाबुले लिएको ऋण मेरो अंश हकको जग्गा लिलाम गराई विगो असुल गरेको गैर कानूनी हुादा मेरो जग्गा लिलाम गराएको कार्य बदर गरि पाउँ भन्ने वादी दावी नै ऋण खाँदा वादी एकासगोलमा रहेको, सगोलको व्यवहारमा खर्च गरेको, लेनदेन मुद्दा दायर गर्दा समेत एका सगोलमा रहेको सम्पत्ति वादीको नाउँमा सारेको र लेनदेनको रकम असुल उपर गर्न वादीको नाममा ऋण खाई सकेपछि सारेको सम्पत्ति लिलाम भएको हुँदा विपक्षीको नालेस खारेज गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला उल्टी हुने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला उपर प्रतिवादीको प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।

    १३. यसमा वादी महिनारायण साहको बाबु मधु शाहले पुनरावेदक प्र.संग २०४४।१२।१४ मा रु ६,०००। बुझि लिई निजको नाम दर्ताको सिस्वा वेल्ही गा.वि.स. वार्ड नं. ४(क) कि.नं. १२४ को ०१४ मध्ये ०१४  ऐ. वार्ड नं. ८ (क) कि.नं. ५ को ०१३ मधये ०० र कि.नं. ३७ को ०छ समेत ०१९  जग्गा विक्रीगर्न मति २०४४।१२।१४ मा राजिनामा गरि दिई सो राजिनामा म्याद भित्र पारित हुन नसकी कपाली भएकोले सो को सावाँ व्याज समेत भराई पाउँ भनि यि पुनरावेदक प्रतिवादी पवित्रादेवीले मधु शाह उपर दायर गरेको लेनदेन मुद्दामा निज मधु शाहबाट यी पुनरावेदक प्रतिवादीले साँवा व्याज भरि पाउने ठहरी भएको शुरु सप्तरी जिल्ला अदालतको फैसला सदर भै पुनरावेदन अदालत राजविराजबाट २०४९।४।१९ मा भएको फैसला अन्तिम रहेको देखिन्छ । सो फैसला अनुसार भराई पाउने साँवा व्याज भराई पाउँ भनि सप्तरी जिल्ला अदालतमा परेको यि पुनरावेदक प्रतिवादीको निवेदनमा कारवाही भै दावीको कि.नं. १२४ को ०१४ जग्गा लिलाम गरी यी पुनरावेदक प्रतिवादीले लिलाम सकारे पश्चात मिति २०४६।७।३ को अंश बण्डाबाट आनो हक हुन आएको सो जग्गाबाट पिताले लिएको ऋण असुल उपर गर्न नमिल्ने भन्ने दावी जिकिर लिदै २०५०।१२।१४ मा प्रस्तुत मुद्दाको फिराद परेको देखिन्छ ।

    १४. विपक्षी वादीको बाबु मधु शाहले २०४४।१२।१४ मा यी पुनरावेदक प्रतिवादी संग रकम लिएको कुरामा विवाद नरहेको र सो ऋण लिदाको अवस्थामा नीज वादी निजको बाबु मधु शाह संग एकासगोलमा रहेको भन्नेमा समेत विवाद देखिँदैन । मिसिल संलग्न दावीको मिति २०४६।७।३ को अंश बण्डाको लिखत हेर्दा सो बेला वादीको उमेर ५ बर्ष रहेको देखिएबाट वादीको बाबुले पुनरावेदक प्रतिवादीबाट ऋण लिँदा निजको उमेर केबल ३ वर्षको देखिन्छ । वादी समेत एका सगोलमा रहे बसेको अवस्थामा निजको बाबु मधु शाह घरको मुख्य भै यी पुनरावेदक प्रतिवादीबाट रकम लिएको स्थिति समेत देखिन्छ । वादीको बाबुले जुन जग्गा पारित गरि दिने भनि राजीनामा लिखत गरि दिएको हो सो लिखत पारित नभए पछि सो जग्गा समेत नावालक यी वादीको अंश भागमा पारी उक्त बण्डापत्र पारित गराएको देखिन्छ । यी पुनरावेदक प्रतिवादीले वादीको बाबु मधु शाहबाट उक्त रकम भरी पाउने ठहरी पुनरावेदन अदालतबाट समेत फैसला भै अन्तिम रहेपछि वादीका बाबुले पारित गरि दिने भनि राजीनामा गरि दिएको जग्गा मध्येबाटै जायजात तायदात लिलाम गरी पुनरावेदक प्रतिवादीले लिलाम डाँक स्वीकारेको देखिन्छ ।

    १५. विपक्षी वादीका बाबु मधु शाहले लिए खाएको ऋण निजले नतिरेको कारण यी पुनरावेदक प्रतिवादीले लेनदेन मुद्दा दायर गरेको सो मुद्दाबाट यी प्रतिवादीले रकम भरि पाउने ठहरेको, सो रकम उठाउने प्रकृयामा दावीको सम्पत्ति लिलाम भएको देखिन्छ । लिलाम बदर सम्बन्धमा वादीका बाबु ऋणी नै नावालक वादीको संरक्षक भै प्रस्तुत मुद्दाको कारवाही चलाएको देखिन्छ । निज मधु शाहले रकम लिई राजिनामा लिखत गरि दिने हदम्याद भित्र सो राजीनामा पारित नभएपछि सो राजीनामाको जग्गा नावालक छोराको भागमा पारी बण्डापत्र गर्ने गराउने ऋणको रकम भराई दिने ठहरी फैसला भए पश्चात सो ऋण असुल उपरका लागि राजीनामा गरेकै जग्गा समेत मध्येबाट लिलाम गरे उपर संरक्षक भै मुद्दाको कारवाही चलाउने लगायतका काम कारवाही गरे गराएको देखिएको स्थितिमा निज मधु शाहको पुनरावेदक प्रतिवादीको ऋण तिर्ने बुझाउने सदासयता रहेको समेत देखिएन । यसरी राजीनामा गरी दिने भनि ऋण लिएको जग्गा राजीनामा हदम्याद भित्र पारीत नभई कपालीमा परिणत भै मुद्दा चल्दा चल्दैको स्थितिमा यी नावालक वादी समेतको अंशबण्डा गर्नुपर्ने औचित्य समेत विपक्षी वादीले देखाउन सकेको पाइएन । दण्ड सजायको २६ नं. मा विगो वापत जायजात गर्दा त्यो धन खाने १२ वर्ष माथिका ऐन बमोजिम मानो नछुट्टी संग बसेका वा त्यो धन खाँदा संग बसेका पछि भिन्न हुनेको अंश समेत जायजात गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको देखिएबाट ऋण खाँदा संग बसेको वादीको नामको जग्गा जायजात हुन नसक्ने भन्न मिल्ने नदेखिँदा प्रतिवादी पवित्रा देवीले लिलाम बढावढ गरी लिएको दावीको जग्गाको लिलाम सदरै राखी लिलाम दर्ता बदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको फैसला उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको नदेखिँदा उल्टी भै वादी दावी पुग्न नसक्ने ठहराएको शुरु सप्तरी जिल्ला अदालतको फैसला सदर कायम ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरुको फैसला उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला नमिली उल्टी भै शुरु फैसला सदर हुने ठहरेकाले पुनरावेदन अदालतको तपसिल को देहाय १ कायम नरहने हुँदा सो को आधारमा केही गरी रहनु परेन भनी शुरुलाई लेखि पठाउनु  .......... १

प्रतिवादी पवित्रा देवी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकाले निजले यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत राजविराजमा राखेको धरौटी कोर्टफि रु ३००। र थप रु ४५। मधय धरौटी कोर्टफि वापतको रकम रु ३००। फिर्ता पाउँ भनी कानूनका म्याद भित्र निवेदन पर्न आए कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनि पुनरावेदन अदालत राजविराजमा लेखि पठाउनु र थप कोर्टफि रु ४५। को हकमा वादीको जायजेथा देखाई भराई पाउँ भनि प्रतिवादीको निवेदन पर्न आए कानूनको रीत पुर्‍याई वादीवाट भराई दिनु भनि शुरुमा लेखि पठाई दिनु ............ २

मिसिल नियमानुसार गरी बुझाई दिनु ........... ३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुशिला सिंह सिलु

 

इति सम्बत् २०५९ साल असार १२ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु