शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४८९ - बन्दी–प्रत्यक्षीकरण

भाग: २७ साल: २०४२ महिना: पौस अंक:

निर्णय नं. २४८९     ने.का.प. २०४२      अङ्क ९

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४२ सालको रिट नं. २४२४

विषय : बन्दीप्रत्यक्षीकरण ।

 

निवेदक      : गोर्खा जिल्ला पालुङटार गा.पं.वार्ड नं. ९ रानीटार घर भै हाल जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेको कृष्ण बहादुर रानाभाट ।

विरुद्ध

विपक्षी :पश्चिमाञ्चल क्षेत्रीय अदालत ।

जिल्ला कार्यालय कारागार शाखा काठमाडौं ।

आदेश भएको मिति:२०४२।९।२४ मा

     फैसलाको औचित्यतर्फ बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाट बिचार गर्न मिल्ने नदेखिने।

(प्रकरण नं. ९)

निवेदक तर्फबाटःX

विपक्षी तर्फबाट      : विद्वान सहन्यायाधीवक्ता श्री वलिराम कुमार

उल्लेखित मुद्दाःX

आदेश

न्या.पृथ्वी बहादुर सिंह: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ ।

२.    भिम कुमारीको जारेहीले वादी श्री ५ को सरकार भएको हाडनाता करणी मुद्दामा गोर्खा जि.अ.बाट ०३३।९।२९ मा फैसला हुँदा जबरजस्ती करणीको ३ नं.ले ३ वर्ष १ महिना कैद गर्ने गरेको थियो । स.स. अ.को पुनरावेदन पर्दा विपक्षी नं. १ बाट ०३५।१।२४ मा फैसला भएको हुँदा उक्त कैदमा थप हाडनाता करणीको २।३ नं.बमोजिम १० वर्ष कैद गरी जम्मा १३ वर्ष १ महिना गर्ने गरी लगत दिएको छ ।

३.    हाडनाता करणी मुद्दा स.मु.स.ऐनको अनुसूचीमा नपरेकोले सरकार वादी भएर चलाउन मिल्दैन । जबरजस्ती करणीमा मात्र सरकार वादी हुने हो । त्यसमा पनि दुवै सजायँ जोडी सजायँ गर्न मिल्दैन । प्रहरीमा भएको साविती मात्र अकाट्य प्रमाण होइन । उद्योग मात्र गरेको भन्ने भएकाले जबरजस्ती करणीको ५ नं.ले आधा सजायँ भई ०३५।७।१२ मा छुटकारा पाउनु पर्ने थियो । जि.अ.कै फैसला बमोजिम गरेमा पनि ०३६।६।२८ मा छुटकारा पाउनु पर्ने हो। तसर्थ विपक्षी नं.१ बाट भएको फैसला आधारहिन भएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी थुनाबाट मुक्त गराई पाउँ भन्ने समेत रिट निवेदन ।

            ४.    विपक्षीहरूबाट लिखिन जवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालत सिंगल बेञ्जको आदेश ।

५.    उपरोक्त हाडनाता मुद्दामा कृष्णबहादुर रानाभाट र भिमकुमारी दाजु बैनी भएकोमा विवाद छैन । जबरजस्ती करणी भएको भन्ने स्थापित भएकै छ । जबरजस्ती करणीको २ नं.मा हाडनाता पर्ने स्वास्नी मानिसलाई करणी गरेमा हाडनातामा हुने सजायँ थपी कैद गर्नु पर्दछ भन्ने व्यवस्था छ । हाडनाता करणीको १ नं.बमोजिम कैद वर्ष १०। थप गरी यस अदालतबाट भएको निर्णय कानुनसंगत हुँदा रिट निवेदन खारेज होस भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको लिखिन जवाफ ।

६.    विपक्षी कारागार शाखाले रीतपूर्वक म्याद सूचना बुझी लिई लिखिन जवाफ पेश नगरेको ।

७.    नियमानुसार पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट निवेदन सहितको फाइल अध्ययन गरी विपक्षी अदालतको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधीवक्ता श्री वलिराम कुमारले गर्नु भएको बहस समेत सुनियो ।

            ८.    प्रस्तुत विवादमा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुरामा निर्णय दिनु परेको छ ।

९.    निर्णयतर्फ बिचार गर्दा यसमा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट रिट निवेदकलाई १३ वर्ष १ महिना कैद गर्ने गरी फैसला भएको भन्ने कुरामा विवाद छैन । सो फैसला अन्तिम भएर रहेको पाइन्छ । उक्त फैसलाको औचित्यतर्फ बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाट बिचार गर्न मिल्ने देखिँदैन । यसरी पश्चिमान्चल क्षेत्रिय अदालतको उक्त फैसला अन्तिम भएर रहेको र सो फैसला बमोजिम नै रिट निवेदकलाई थुनामा राखेको देखिएको हुनाले गैरकानुनी थुनामा राखेको भन्न मिल्ने स्थिति देखिएन । यस्तो अवस्थामा रिट निवेदकका माग बमोजिम  बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल पौष २४ गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु