शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४९६ - कर्तव्य ज्यान

भाग: २७ साल: २०४२ महिना: पौस अंक:

निर्णय नं. २४९६     ने.का.प. २०४२      अङ्क ९

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको फौ.पु.नं.४६३

फौ.सा.नं.१४७

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी:तनहुं जिल्ला पूर्कोट गा.पं. वडा नं.१ अर्चले घर भै हाल जि.का.कारागार शाखा कास्कीमा थुनामा रहेका दल बहादुर गुरुङ ।

विरुद्ध

विपक्षी/वादी:विष्णुमाया गुरुङको जाहेरीले श्री ५ को सरकार ।

फैसला भएको मिति:२०४२।८।४।६ मा

     मार्नु पर्ने सम्मको इवी लगाव र मनसाय समेत नदेखिएकोले ज्या.सं.का १३(३) बमोजिम हदै सम्म सजायँ गर्दा चर्को हुन जाने देखिएकोले क्षेत्रीय अदालतको राय मुताविक अभियुक्तलाई अ.बं.१८८ नं.बमोजिम तजिवीजी कैद वर्ष १० (दश) हुने ।

(प्रकरण नं. १५)

 

पुनरावेदक,प्रतिवादी तर्फबाटःX

विपक्षी,वादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोलाः पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी यस अदालतमा मिति ०४१।५।५।३ मा दर्ता हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् ।

२.    ०३८।१२।९ गते लोग्ने दलबहादुर बिहान बाहिर घुम्न गई दिनको ५ बजेको समयमा घर आई सुतेको छोरी तुलमायालाई उठाई आमा छोरीलाई काटेर भोग दिन्छु भन्दै खुकुरी देखाउने र लाठी मुड्कीले आमा छोरी दुवैलाई हिर्काई पछार्ने गरेको र नजिक गाउँ पनि नभएकोबाट गुहार पाइन, बच्चीलाई पोल्न थाल्दा मेरो लुंगी पनि पोलियो र दवाई गर्न तुरतुरे जाउँ भनी भनेकोले हिंड्दा छोरीलाई एक्कासी हिर्काए र मलाई पनि हिर्काए, बच्चीलाई भुईमा पछारे म बेहोस् भएको भोलि पल्ट छोरीको मृत लास देखिएकोले जाहेर गरेको छ भन्ने आमा विष्णुमाया गुरुङको जाहेरी दर्खास्त ।

३.    ०३८।१०।९ गते बिहान तुरतुरे बजारमा फुपूको भट्टीमा खाना खाई, रक्सी पिई घरमा जाँदा स्वास्नी विष्णुमायालाई छोरीको औषधी गर्न तुरतुरे जाउँ भनी गएको खूर्पानुङटारमा स्वास्नी छोरीलाई चिया बिस्कूट दिई म रक्सी खाई उठ्दा स्वास्नी छोरीलाई देखिन, घर गई होली भनी घरमा आउँदा घरमा पनि देखिन, म ढिकीमा सुती उठ्दा प्रहरीले पक्राउ गरे मेरा कपडामा रगत कसरी लाग्यो थाहा छैन । टुक्रीएको छोरीको लासलाई मैले टुक्राटुक्रा गरी Çयाँकेको होइन भन्ने समेत दलबहादुर गुरुङले प्रहरीमा गरेको कागज ।

४.    दलबहादुरले छोरी तलमायालाई मारी टुक्रा पारी फालेको हो किन मार्‍यो थाहा छैन भन्ने समेत सरजमीनको मुचुल्का ।

५.    मार्ने अपराधिक मनसाय राखी अपराध गरेको देखिन आएकोले ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम दलबहादुर गुरुङ उपर सजायँ गरिपाउँ भन्ने मिति ०३८।११।३।१ को प्रहरी प्रतिवेदन ।

६.    छोरी तलमायालाई दवाई गर्न स्वास्नी सहित तुरतुरे गएको रामबहादुरको होटलमा चिया बिस्कुट किनी दिएको मैले रक्सी खान लाग्दा स्वास्नी छोरी थिएनन् घर गए होलान् भनी घर गएँ घरमा पनि नहुँदा रामबहादुर कहाँ फर्किंदा रामबहादुरले मलाई बाँधे २ घण्टापछि प्रहरी आई छोरीको लास भएको ठाउँमा लगे छोरीलाई मैले मारेको होइन मेरो स्वास्नीसित मेलमिलाप थिएन । जाहेरी झुठ्ठा हो भन्ने समेत दलबहादुरले अदालतमा गरेको बयान ।

७.    छोरीलाई दवाई गर्न तुरतुरे जाउँ भन्दा गएकी र छोरीलाई पिटे मलाई घुस्सा हानेकोले व्यहोस भएछु, पोलिएको टुक्राटुक्रा भएका छोरीको लास दलबहादुरले नै कर्तव्य गरी मारेको भन्ने जाहेरवाला विष्णुमायाको बकपत्र ।

८.    छोरीलाई मुक्का दिएकोले मार्छ होला भनी गाउँमा गुहार माग्न आउँदा तुलमायालाई मारिसकेछ भन्ने समेत मौका सरजमीनमा लेखिएको व्यहोरा सकार गरी प्र.दलबहादुरले मारे जस्तो लाग्छ भन्ने समेत दिलबहादुर समेतका सरजमीनका व्यक्तिहरूले गरेको बकपत्र ।

९.    प्र.दलबहादुरले कर्तव्य गरी तुलमायालाई मारेकोमा शंका लाग्छ भन्ने भेषबहादुर समेत प्रतिवादीका साक्षीहरूको बकपत्र ।

१०.    रक्सीको नसा लागेको स्थितिमा मर्ने तुलमायालाई प्रतिवादी टाउके भन्ने दलबहादुरले कर्तव्य गरी मारेका हुँदा ज्या.सम्बन्धीको १३(३) बमोजिम सर्वस्व सहित जन्मकैदको सजायँ हुन्छ भन्ने ०३९।८।१५ को तनहुँ जिल्ला अदालतको फैसला ।

११.    शुरु जिल्ला अदालतले गरेको इन्साफमा चित्त नबुझी पश्चिमाञ्चल क्षेत्रीय अदालतमा प्र.दलबहादुर गुरुङले गरेको पुनरावेदन ।

      १२.   रामबहादुरको होटलमा रक्सी खाएको र छोरी स्वास्नी कता गएछन् भेटिएन भन्ने प्र.दलबहादुरले बयान गरेकोमा सरजमीनका रामबहादुर थापा मगरले  अदालतमा आई बकपत्र गर्दा दलबहादुरले आफ्नो छोरी तुलमायालाई कुटी मारेको हो भनी किटानी साथ बकी लेखी दिएको र जर्सी, पेण्ट र कमीज आफूले पक्राउ हुँदा लगाएका भनी लेखिदिएको र सो कपडामा लागेको रगतको दागको परीक्षण गर्दा मनुष्यको रगत जनिएको र घटनास्थलको रगत र अभियुक्तले लगाएको लुगामा भएको रगत एउटै प्रकारको जनिएको देखिन्छ । अभियुक्तका साक्षीहरूले समेत निज अभियुक्तले नै कर्तव्य गरी तुलमायालाई मारेको शंका गरी बकेको हुँदा शुरु अदालतले सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ मनासिव छ । तुलमायालाई मार्नु पर्ने सम्मको रीसइवी भएको भन्ने मिसिलबाट देखिँदैन । दवाई गर्न तुरतुरे लगेकोमा होस नपुर्‍याइएको कारणबाट तुलमायाको मृत्यु हुन गएको दलबहादुरलाई ज्यानसम्बन्धीको १३(३) लगाई सजायँ गर्दा चर्को पर्न जाने हुँदा दश वर्षको कैदका सजायँ दिन चित्तमा लागकोले अ.बं.१८८ नं.अनुसार राय व्यक्त गरी जाहेर गरेको छु भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४१।३।२० को फैसला ।

१३.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ निर्णय दिनु परेको छ।

१४.   यसमा निर्णयतर्फ बिचार गर्दा मेरै लोग्ने दलबहादुरले मिति ०३८।१०।९ मा छोरी तुलमायालाई काटी कर्तव्य गरी मारेको हुँदा निज दलबहादुर गुरुङलाई सजायँ गरिपाउँ भनी निजको श्रीमती विष्णुमायाले जाहेरीमा उल्लेख गरेको र अदालतमा समेत प्र.दलबहादुर गुरुङले नै कर्तव्य गरी मारेको भनी किटानी साथ बकी लेखी दिएकी देखिन्छ । प्र.दलबहादुर अदालतमा इन्कारी छ तापनि बरामद भएका रगत लागेको कपडा मिति ०३८।१०।९ गतेका दिन मैले नै लगाएको हो यो कपडामा रगत कताबाट लाग्यो थाहा छैन भनी प्रहरीमा बयान गरेको देखिएका र कपडामा लागेको रगत र घटनास्थलबाट प्राप्त गरेको पदार्थको परीक्षणबाट मनुष्यको रगत ग्रुप Oभएको भनी परीक्षण रिपोर्टमा लेखिएको साथै छोरी तुलमायालाई समाई झुण्डाई हिर्काई भुँईमा पछारेको देखी छोरीलाई मार्छ होला भनी गाउँ घरका मानिस बोलाउन गई फर्किंदा प्र.दलबहादुरले तुलमायालाई मारी सकेको रहेछ भनी किटानी साथ सरजमीनका रामबहादुर थापाले अदालतमा आई सरजमीनमा लेखाएको कुरालाई समर्थन गरी बकपत्र गरेको समेत देखिन्छ ।

१५.   रक्सीको सेवन गरी नसा लागेको बखत छोरीलाई उपचार गर्ने मनसायले फुक्दै छोरी तुलमायालाई भुँईमा पछारी प्र.दलबहादुरले मारेको हुँदा निज अभियुक्त दलबहादुरलाई ज्या.सं.का १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरी शुरु अदालतले गरेको निर्णयलाई सदर गरी ग्रामीण परम्परा अनुसार छोरी तुलमायाको उपचार गर्दा होस नपुर्‍याएको कारणबाट तुलमाया मृत्यु हुन गएको मिसिलबाट देखिँदा प्रहरीको माग दावी बमोजिम ज्या.सम्बन्धीको १३(३) लगाई अभियुक्त दलबहादुर गुरुङलाई सजायँ गर्दा चर्को पर्न जाने देखिएकोले निज अभियुक्तलाई १० दश वर्षको कैदको सजायँ दिन अ.बं.१८८ नं.बमोजिम राय लगाई पश्चिमाञ्चल क्षेत्रीय अदालतले जाहेरी गरी पठाएको देखियो । प्र.टाउके भन्ने दलबहादुर गुरुङले तुलमायालाई कर्तव्य गरी मारेको ठहर्छ । अपराधको परिस्थिति अर्थात् मार्नु पर्ने सम्मको इवी लगाव र मनसाय समेत नदेखिएकोले ज्या.सं.का १३(३) बमोजिम हदैसम्म सजायँ गर्दा चर्को हुन जाने देखिएकोले क्षेत्रीय अदालतको राय मुताविक अभियुक्त दलबहादुरलाई अ.बं.१८८ नं.बमोजिम तजविजी कैद वर्ष दश १० हुने ठहर्छ । साधकको लगत कट्टी गरी तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.दलबहादुर  गुरुङलाई अ.बं.१८८ नं.बमोजिम राय लगाई १० वर्षको कैदको सजायँ हुने निर्णय भएकोले शुरु अदालतबाट ज्या.सं.को १३(३) अनुसार सर्वस्वसहित जन्मकैद गर्ने गरेको लगत कट्टी गर्नु र मिति ०३८।१०।१२ देखि थुनामा रहेको देखिँदा सो मितिबाट १० वर्षको कैद म्याद ठेकी कैदको सजायँको लगत राख्नु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल मार्ग ४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु