शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५०३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २७ साल: २०४२ महिना: माघ अंक: १०

निर्णय नं. २५०३    ने.का.प. २०४२      अङ्क १०

 

फुल बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४२ सालको रिट नं. २८

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ ।

 

निवेदिका/विपक्षी:जि.काठमाडौं जिल्ला का.नगर पंचायतवडा नं. ३२ डिल्लीबजार घट्टेकुला बस्ने दिर्घ कुमारी पन्त ।

विरुद्ध

विपक्षी/रिटनिवेदक:जि.लमजुङ सुन्दर बजार गा.पं.वडा नं.९ तार्कुटार घर भै का.जि.का.नगर पंचायतवडा नं. ९ बत्तिसपुतली बस्ने गोपाल प्रसाद पन्त ।

आदेश भएको मिति:२०४२।१०।४।६ मा

     निवृत्तिभरण लगायतका सुविधाहरू कसले पाउने भन्ने विषयमा रिट क्षेत्रबाट निर्णय गर्न नमिल्ने ।

(प्रकरण नं. १२)

निवेदिका तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान सहन्यायाधीवक्ता श्री वलिराम कुमार

विपक्षी तर्फबाटःX

उल्लेखित मुद्दाःX

आदेश

न्या.सुरेन्द्र प्रसाद सिंह: सर्वोच्च अदालत डिभिजन बेञ्जको निर्णय उपर निवेदिकाको न्यायिक समिति मार्फत् श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्‍याई दिनु भन्ने समेत हुकुम प्रमाङ्गी बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यसबेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    मेरा स्वर्गीय पिताजी श्री घनानाथ पन्त यसै अदालतको न्यायाधीश पदमा रहनु भएको अवस्थामा ०३७।२।१३ गते परलोक हुनु भयो । पिताजीले निजामती कर्मचारीले भर्नु पर्ने सिटरोल फाराम समेत भर्दा उहाँले आफ्नो शेषपछि प्राप्त गर्ने निवृत्तिभरण समेतको लागि इच्छाइएको व्यक्तिमा मेरो नाम उल्लेख गर्नु भएको थियो । निजामती सेवा नियमावली, २०२१ को परिच्छेद ११ को नियम ७(१) र नियम ८(१) बमोजिम राख्नु, रहनु पर्ने रेकर्डहरूमा इच्छाइएको व्यक्तिमा मेरो नाम नै उल्लेख हुँदा सर्वोच्च अदालतका न्यायाधीशहरूको पारिश्रमिक सेवा सर्त र सुविधा सम्बन्धी ऐन, २०२६ को दफा ७ अनुसार पारिवारिक निवृत्तिभरण र उपदान मैले नै पाउनु पर्ने कानुनी व्यवस्था भएकोमा मेरो सौतेनी आमा विपक्षी दीर्घकुमारी पन्तले नजाने के कस्तो, व्यहोराको निवेदन दिएर हो विपक्षी सामान्य प्रशासन मन्त्रालयले विपक्षी दीर्घकुमारीलाई स्वर्गीय पिताजीले पाउनु पर्ने निवृत्तिभरण र अन्य सुविधाहरू समेतको रकम समेत दिने भन्ने निर्णय गरी र अन्य विपक्षीहरूले समेत दिने दिलाउने निवृत्तिभरणको पट्टा विपक्षीका नाउँमा गराइ दिने लिने गर्न लाग्नु भएको यथार्थ व्यहोरा थाहा पाएँ । विपक्षी र मेरो आमा बालकुमारीको परेको अंश मुद्दा हाल मध्यमाञ्चल क्षेत्रीय अदालतमा दायर छ ।

३.    स्वर्गीय पिताजी घनानाथ पन्तले आफूले प्राप्त  गर्ने रकम आफ्ना शेषपछि पाउने व्यक्तिमा मलाई इच्छाउनु भएको यथार्थता विपक्षी निजामती किताबखानामा रहने सिटरोल फाराममा यसै अदालतमा रहेको व्यक्तिगत फाइल हेरिएमा प्रष्ट हुन्छ । पिताजीले आफ्नो जीवनकालमा म बाहेक अरुलाई इच्छाउनु भएको कुनै सबूद विपक्षीहरूले छ भन्न, दिन गुजार्न सक्नु हुने छैन । पिताजी स्वयंले पनि निजामती सेवा नियमावली, २०२१ को नियम ७(१) अनुसार फाराम भर्नु पर्ने अवस्था समेत नभएकै समयमा परलोक हुनुभएको हुनाले ऐ.को उपनियम (२) र सर्वोच्च अदालतका न्यायाधीशहरूको पारिश्रमिक सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०२६ को दफा ७ अनुसार स्वर्गीय पिताजी स्वयंले इच्छाएको छोरा मैले नै पाउनु पर्नेमा विपक्षीलाई दिलाउने गरेको त्रुटिपूर्ण छ । विपक्षीहरूको कारवाइबाट नेपालको संविधानको धारा ११(२)(ङ) ऐ. धारा १५ ले प्रदान गरेका हकहरू हनन् गरिएकोले विपक्ष सामान्य प्रशासन मन्त्रालयको ०३९।११।२।२ को निर्णय र त्यस सम्बन्धमा भएका सम्पूर्ण कारवाइहरू उत्प्रेषणको आदेश जारी गरी बदर गरी विपक्षीलाई नदिनु नदिलाउनु भन्ने प्रतिषेधको आदेश समेत जारी गरिपाउँ भन्ने समेत निवेदन जिकिर ।

४.    यस अदालतको सिंगल बेञ्जको ०३९।११।१२ को आदेश अनुसार देहाय बमोजिमका लिखिन जवाफहरू प्राप्त हुन आएका रहेछन् ।

५.    निवेदकले निजको पिता घनानाथ पन्तले शेषपछि पाउने भनी इच्छाइएको व्यक्तिमा आफ्नो नाम लेखी दिएको भन्ने दावी लिएकोमा स्वर्गीय घनानाथ पन्तले १९९१।७।३० मा भर्ना हुँदा भरी पेश गरेको सीटरोलमा जिन्दगी बितेपछि बाँकी रहेको खान्गी दिने भनी लेखी दिएको नाम, थर, घर, छोरो तारानाथ पन्त पश्चिम ३ नं.इलाका लम्जुङलाई दिने भनी लेखी दिएको देखिन्छ । श्री स्वर्गीय घनानाथ पन्तको मिति ०३७।२।१३ मा मृत्यु भएपछि जिल्ला कार्यालय, काठमाडौंले मिति ०३७।३।७ मा गरिदिएको नाता प्रमाणितमा तारानाथ भन्ने कुनै छोरा नदेखिएकोले निवृत्तिभरणको रकम दिन द्विविधा परेकोमा सर्वोच्च अदालतको ०३८।६।७ को पत्रसाथ प्राप्त स्वर्गीय श्री घनानाथ पन्तको वैयत्तिक नोकरी विवरण फाराममा इच्छाइएको व्यक्तिको नाम थर मा श्री दीर्घकुमारी पन्त ठेगाना तार्कुटार जि.लमजुङ लेखिएको र निजले निवृत्तिभरण पाउँ भनी निवेदन दिएको आधारमा श्री दीर्घकुमारी पन्तलाई निवृत्तिभरणको अधिकार पत्र प्रदान गर्ने मिति ०३९।११।२ मा निर्णय भएको हुँदा रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने समेत सामान्य प्रशासन मन्त्रालयको लिखिन जवाफ ।

६.    दीर्घकुमारी पन्तलाई निवृत्तिभरणको अधिकार पत्र प्रदान गर्न मिति ०३९।११।२ मा निर्णय भई आएको आधारमा निवृत्तिभरणको अधिकार पत्र प्रदान गरिएको हुँदा रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने समेत निजामती किताबखानाको लिखिन जवाफ ।

७.    प्रस्तुत विषयमा स्व.घनानाथ पन्तको निवृत्तिभरण श्रीमती दीर्घकुमारी पन्तले पाउने गरी निवृत्तिभरण अधिकार पत्र निजामती किताबखानाबाट प्राप्त भइसकेको छ । निजामती किताबखानाले पठाएको निवृत्तिभरणको अधिकार पत्रमा यस कार्यालयको श्रेस्तामा चढाई पाउने रकम भुक्तानी दिने दिलाउने कामसम्म यस कार्यालयको भएकोले विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत कौषी तोषाखानाको लिखिन जवाफ ।

८.    विवाह योग्य छोरी सीता पन्तको सुयोग्य वर मिलेमा यथासक्य चाँडो विवाह गर्नु पर्ने अध्यात्मिक आवश्यकता भएकोले निवृत्तिभरण झिक्न खोज्दा विपक्षीतर्फको व्यक्तिहरू समेत अनेक झै झमेला समेत उठाई मलाई अप्ठेरो स्थितिमा पारी दिनु भएको कुरा परिरहेको मुद्दा र अन्य प्रकारको उजूरीहरूबाट समेत प्रष्ट हुन आउँछ । उपरोक्त लेखिएको आधार परिबन्द परिस्थितबाट रिट जारी गर्नु पर्ने कुनै पनि आधार, औचित्य  नभएको, त्यसको ठीक विपरीत रिट जारी भएमा मलाई ठूलो मर्का, गम्भीर अन्याय ठाडै पर्न जाने समेत भएको हुनाले रिट निवेदन खारेज गरी पाउन सनम्र अनुरोध गर्दछु भन्ने समेत दीर्घकुमारी पन्तको लिखिन जवाफ ।

९.    निर्णयार्थ डिभिजन बेञ्ज समक्ष पेश हुँदा सामान्य प्रशासन मन्त्रालयबाट मिति ०३९।११।२ मा स्व.घनानाथ पन्तको श्रीमती दीर्घकुमारी पन्तले निवृत्तिभरण पाउने गरी निर्णय भएको पाइन्छ । निवृत्तिभरण समेतको सम्बन्धमा विवाद उठी उक्त विषयमा समेत अन्तिम रुपले निर्णय निरोपण हुनुभन्दा अगावै मुद्दा चल्दा चल्दैका अवस्थामा बागमती अञ्चल अदालतले संचय कोषको रकम निवृत्तिभरण र अन्य सुविधाको रकम स्व.घनानाथ पन्तले जसलाई आखिरमा इच्छाएको छ उसले पाउने भई यी कुराहरूको हकमा वादीले अंशबण्डाको महल आकृष्ट नहुने भएकोले बक्स भई आएको हुकूम प्रमाङ्गी बमोजिम बागमती अञ्चल अदालतले यी कुरामा उजूरी लिई कारवाई तथा किनारा गर्न मिल्ने भएन भन्ने मिति ०३९।९।१२।२ मा फैसला भई सो फैसला उपर मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परिरहेको मिसिल झिकाई आएको हेर्दा कारवाई चलिरहेको पाइन्छ । यस्तो अवस्थामा मुद्दा पर्दा पर्दै उक्त मुद्दामा हुने निर्णयमा असर पर्ने गरी कुनै निर्णय गर्न नहुनेमा निवृत्तिभरण दीर्घकुमारी पन्तले पाउने गरी भएको सामान्य प्रशासन मन्त्रालयको मिति ०३९।११।२ को निर्णय त्रुटिपूर्ण देखिँदा उक्त निर्णय र तत्सम्बन्धमा भएको निवृत्तिभरण अधिकार पत्र समेतको सम्पूर्ण अन्य कारवाही समेत उत्पे्रषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने समेत ०४१।४।१५।२ को निर्णय ।

१०.    मिसिल झिकाई हेर्दा बागमती अञ्चल अदालतको फैसलाको कुरालाई मनासिव ठराउँदै कर्मचारी सन्चय कोषको रकम निवृत्तिभरण र अन्य सुविधाको हकमा जसलाई आखिरमा इच्छाएको छ उसैले पाउने कुरा मनासिव देखिँदा त्यसतर्फ वादी दावी कायम नगरेको शुरु बागमती अञ्चल अदालतको निर्णय मिलेकै देिखन्छ । भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भइसकेको देखिन्छ । प्रचलित ऐन नियम अनुसार कर्मचारीको मृत्यु भएमा निवृत्तिभरण रकम समेत निजले आखिरमा इच्छाएको व्यक्तिले पाउने कुरा स्पष्ट रुपमा व्यवस्था भएको र सोही कानुनी व्यवस्था अनुसार श्री घनानाथ पन्तको निवृत्तिभरण निजले इच्छाएको व्यक्ति श्रीमती दीर्घकुमारी पन्तलाई दिने गरी निर्णय गरेकोमा कुनै त्रुटि देखिँदैन । निवृत्तिभरणका सम्बन्धमा कानुनमा छुट्टै विशेष व्यवस्था भएकोले निवृत्तिभरण अंशबण्डाको विषय बन्न नसकेमा निवृत्तिभरणबाट समेत अंश पाउँ भनी जेठी श्रीमतीले दावी लिँदैमा अदालतबाट न्याय निरोपण हुने विषय नहुँदा सो अंश मुद्दामा असर पर्ने गरी कुनै निर्णय गर्न नहुने भन्ने आधारमा दीर्घकुमारी पन्तले निवृत्तिभरण पाउने गरी भएको निर्णय बदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्जको निर्णय मिलेको देखिँदैन भन्ने समेत न्यायिक समितिको पर्चा ।

११.    निवेदिकाको वारेस तथा विपक्षीलाई रोहवरमा राखी ०४२।८।२८।६ मा पेश हुँदा निवेदिका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल तथा सामान्य प्रशासन मन्त्रालय तर्फबाट उपस्थित विद्वान सहन्यायाधीवक्ता श्री वलिराम कुमारको बहस समेत सुनियो ।

१२.   यसमा निर्णयतर्फ हेर्दा सर्वोच्च अदालतका भूतपूर्व न्यायाधीश स्वर्गीय श्री घनानाथ पन्तले पाउने निवृत्तिभरण र अन्य सुविधाहरू समेतको रकम समेतलाई लिएर स्व.श्री घनानाथ पन्तका दुई श्रीमतीहरू बालकुमारी तथा दीर्घकुमारी बीच अंश मुद्दा चलेको र सो मुद्दा अन्तिम टुङ्गो नलाग्दैको अवस्थामा दीर्घकुमारी पन्तले स्व.श्री घनानाथ पन्तको निवृत्तिभरण तथा अन्य सुविधाहरू समेत पाउँ भन्ने समेत निवेदन परेबाट उक्त सामान्य प्रशासन मन्त्रालयबाट ०३९।११।२ मा दीर्घकुमारी पन्तलाई निवृत्तिभरणको अधिकार पत्र प्रदान  गर्ने निर्णय गरेको देखिन्छ । सो निर्णयलाई लिएर उक्त सुविधा आफूले पाउनु पर्ने भन्दैै विपक्षी दीर्घकुमारीलाई निवृत्तिभरणको अधिकार प्रदान गर्ने गरेको सम्पूर्ण कारवाई बदर गरी विपक्षीलाई नदिनु नदिलाउनु भन्ने प्रतिषेधको आदेश समेत जारी गरिपाउँ भन्ने जिकिर लिई तारानाथ भन्ने गोपालप्रसाद पन्तको यस अदालतमा रिट निवेदन परेको र डिभिजन बेञ्जबाट मुद्दा पर्दा पर्दै उक्त मुद्दामा हुने निर्णयमा असर पर्ने गरी कुनै निर्णय गर्न नहुनेमा निवृत्तिभरण दीर्घकुमारी पन्तले पाउने गरी भएको सामान्य प्रशासन मन्त्रालयको मिति ०३९।११।२ को निर्णय त्रुटिपूर्ण देखिएको हुँदा उक्त निर्णय र तत्सम्बन्धमा भएको निवृत्तिभरणको अधिकारपत्र समेतको सम्पूर्ण कारवाई समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने समेत निर्णय भएको देखिन्छ । स्व.श्री घनानाथ पन्तको निवृत्तिभरण लगायतका सुविधाहरू कसले पाउने भन्ने विषयमा रिट क्षेत्रबाट निर्णय गर्न मिल्ने विषय होइन । यस विषयमा डिभिजन बेञ्जबाट यसले पाउने भनी निर्णय पनि भएको छैन । निवृत्तिभरण समेतका अन्य सुविधाहरूलाई लिएर श्री घनानाथ पन्तका श्रीमतीहरू बीच मुद्दा चली उक्त मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतमा विचाराधीन रहँदाको अवस्थामा उक्त मुद्दामा असर पर्ने गरी सामान्य प्रशासन मन्त्रालयबाट ०३९।११।२ मा निवृत्तिभरण लगायतका सुविधा दीर्घकुमारीले पाउने निर्णय भएको र त्यसरी निर्णय गर्न नमिल्ने हुँदा डिभिजन बेञ्जबाट उक्त ०३९।११।२ को निर्णय लगायतका निवृत्तिभरण सम्बन्धी कारवाइहरू बदर गरेकोलाई अन्यथा गर्न मिल्ने अवस्था नहुँदा डिभिजन बेञ्जको ०४१।४।१५ को निर्णय मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल माघ ४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु