निर्णय नं. २५०५ - करकाप

निर्णय नं. २५०५ ने.का.प. २०४२ अङ्क १०
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४१ सालको फौ.पु.नं. ९
मुद्दा : करकाप ।
निवेदिका/वादी : काठमाडौं जिल्ला काठमाडौं नगर पञ्चायत वडा नं.७ बस्ने रेणु कनौडिया ।
विरुद्ध
विपक्षी/प्रतिवादी : जि. कपिलवस्तु कृष्णनगर आर्दश गा.पं.घर भै हाल काठमाडौं खिचापोखरी बस्ने रतनलाल कनौडिया ।
फैसला भएको मिति:२०४२।९।२६।६ मा
मुद्दा हेर्ने अड्डाबाट वादी प्रतिवादीसँग जो खुलाउनु पर्ने कुरा सोधी जवाफ लिई बयान गराउँदा बिन्तिपत्रमा माग भएको कुराभन्दा अरु खुलाई त्यस्तो खुलाइएको कुराबाट छुट्टै मुद्दा कायम गर्न मिल्ने देखिँदैन पक्षले स्पष्टरुपले माग दावी गरेको विषयभन्दा बाहिर गई छुट्टै मुद्दा सिर्जना गर्ने अधिकार अदालतलाई दिने हो भन्ने अदालतले अदालतको स्थानमात्र नभई पक्षको स्थानसमेत ग्रहण गर्न पुग्छ, जुन कानुन एवं न्यायका सर्वमान्य सिद्धान्तहरूको समेत प्रतिकूल हुन जान्छ ।
(प्रकरण नं. २१)
निवेदिका, वादी तर्फबाट:विद्वान अधिवक्ता श्री गोविन्द कुमार उपाध्याय
विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
उल्लिखित मुद्दा: इश्वर बहादुर बस्ताकोटी क्षेत्री समेत विरुद्ध केशवमाया बस्ताकोटीनी समेत भएको जग्गा आयस्ता दिलाई पाउँ भन्ने मुद्दामा नि.नं. ४८१, ने.का.प. २०२६, पृष्ठ २६१ मा सर्वोच्च अदालत फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित भएको ।
फैसला
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः सर्वोच्च अदालत डिभिजन बेञ्जको निर्णय उपर निवेदिकाको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र गर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्याई दिनु भन्ने बक्स भई आएका हुकूम प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. मलाई महान्यायाधीवक्ताको कार्यालयका का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री रतनलाल कनौडियाले आफ्नो कोठामा टाइप गर्न बोलाई मैले इन्कार गर्दा गर्दै जबरजस्ती समाई करणी गरेकोबाट गर्भ रहन गई सो कुरा निजलाई भन्दा गर्भ Çयाक्न औषधी दिएको तर गर्भ नगई सो कुरा गुपचुप राख्नलाई सुत्केरी बिदा लिन नदिई १७।२।०३३ देखि १५ दिनको घर विदा लिई प्रसूति गृहमा भर्ना भई छोरी पैदा भएपछि न्वारान पनि निजले गराउनु भएको हो, सो कुरा वि.प्र.वि.ले थाहा पाई बयान गराएको कुरा रत्नलाल कनौडियाले थाहा पाई ०३३।३।२१ का दिन दिउँसो अफिसबाट मलाई दिउँसो निजको घरमा लगी वि.प्र.मा मैले गरेको बयान झुठ्ठा हो, मेरो लोग्ने रत्नलाल कनौडिया होइन, अर्कै छ भनी ३ थान कागजमा मैले इन्कार गर्दा पनि सहिछाप गराउनु भएको कुरा वि.प्र.वि.मा ०३३।३।२३ गते बयान दिई आएपछि महान्यायाधीवक्ताज्यूलाई मौखिक अनुरोध गरी कुनै कारवाही नभएको र वि.प्र.वि.बाट समेत निज रत्नलाल कनौडियालाई बचाउने प्रयास भएकोले निज रत्नलाल कनौडिया उपर कानुनी कारवाही भई मलाई माना चामल तथा अंश दिलाई दिनु भन्ने समेत सम्बन्धित अदालत तथा मन्त्रालय समेतका नाउँमा हुकूम प्रमांगी पाउँ भनी रेणुका कनौडियाले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विशेष जाहेरी विभाग मार्फत विन्तिपत्र चढाएकोमा व्यहोरा साँचो भए त्यस अञ्चल अदालतबाट ठाडै बुझी कानुन बमोजिम गरी मुद्दा चाँडो छिनी नतीजा जाहेर गर्नु भनी हुकूम प्रमांगी बक्स भई बागमती अञ्चल अदालतमा मुद्दा पठाइएको रहेछ ।
३. विशेष प्रहरीमा बयान गरी सकेपछि पर्सिपल्ट तिमीलाई घर र बच्चा हेर्ने मानिस बन्दोवस्त गरिदिएको छ, मेरो घर खिचापोखरीमा आउ सबै देखाई दिन्छु भनी निजको घरमा जाँदा निजको घरमा २ तल्ला माथि कोठामा लगी तँलाई ज्यान र जागिरको आशा भए कागज गर भनी निजले पहिले नै तयार पारेको कागज मलाई लेखाई लिएपछि म आफ्नो कार्यालयमा फर्कि आएँ । विपक्षीले गराएको कागजमा बच्चा विपक्षीको होइन, अरुकै बच्चा हो लोग्ने ६ महिना अघि भारततर्फ गएको हो भन्ने समेत उल्लेख गरेको सबै व्यहोरा राम्रो याद भएन सो कागज निजले महान्यायाधीवक्ताको कार्यालयमा दर्ता गराएछन् । मैले भोलिपल्ट नै विशेष प्रहरीमा उक्त बमोजिम कागज गराएको कुराको प्रतिवेदन दिएँ । सुत्केरी हुँदासम्म विपक्षीले मलाई पटक–पटक गरी रु. २००।– सम्म दिएको थियो । विशेष प्रहरीमा बयान भएपछि निजले दिन छोड्यो । मैले सं.प्रधान मन्त्री र माननीय मन्त्रीज्यू कहाँ छुट्टा छुट्टै निवेदन दिएकी छु । अंश माना चामल मुद्दा देवानी हुँदा करकाप गरी कागज गराएतर्फ यसैबाट दावी लिन नमिल्ने भनी अदालतबाट भनिएको हुँदा त्यसतर्फ छुट्टै आजै बयान गराई बक्स भई आएको हुकूम प्रमांगी बमोजिम कारवाही गरी सो कागज बदर गरिपाउँ भन्ने समेत रेणु कनौडियाको बयान ।
४. विपक्षीले करकाप गरी कागज गराएको कुरा माना चामल तर्फको बयानमा खुलाई दिई सकेको छु । विपक्षीले ०३३।३।२१ का दिनको अन्दाजी १२.३० बजे तिर डर धाक देखाई लेख्न लगाई गराएको एकै व्यहोराको ३ थान फुलिस्केप साइजको देशी सेतो कागज थियो । सो कागजहरूमा मलाई शिर पुच्छरमा पानामा र कोरिएको ठाउँमा समेत सही गराएको थियो । सो ठाउँमा म र विपक्षी मात्र थियौं । जो बुझ्नु पर्ने बुझी मलाई करकापसित गराएको कागज बदर गरिपाउँ भन्ने समेत ०३३।४।१३।४ मा करकापतर्फ रेणु कनौडियाले गरेको बयान ।
५. निवेदकको सनाखत बयानबाट करकाप भनी दावी लिई बयान गरेकोले बक्स भएको बिन्तिपत्रको प्रतिलिपि र आजै अंश माना चामलमा दिएको बयानको प्रतिलिपि समेत राखी छुट्टै मिसिल खडा गरी दायरीमा दर्ता गर्नु र निवेदनलाई यो मुद्दामा पनि तारिखमा राखी विपक्षी बनाएको प्रतिवादीलाई म्याद दिई झिकाउनु भन्ने समेत ०३३।४।१३।४ को बा.अं.अ.को आदेश ।
६. वादीले एउटै विन्तिपत्र दिएको र त्यसमा एकै व्यहोराको हु.प्र.बक्स भई आएकोमा फरक व्यहोरा पारी पठाएको म्यादको आधारबाट करकापतर्फ कारवाही चलाउन यस अदालतको अधिकारक्षेत्र प्राप्त हुन आएको भन्न मिल्दैन । बिन्तिपत्रमा करकापसँग गराएको कागज बदर गरिपाउँ भन्ने दावा नभएकोले बक्स भई आएको हु.प्र.बर्खिलाप हुँदा यो नालेश खारेज गरिपाउँ । बिन्तिपत्रमा व्यहोरा साँचो भए भन्ने शर्त राखी हु.प्र.बक्स भई आएकोले सो ३ थान कागज निज वादीले आफ्नै हस्ताक्षरले नै लेखी कार्यालयमा दिएको अदालतले कानुनी व्यवस्था बमोजिम वादीलाई श्री ५ को सरकारको मुद्दा चलाउन स्वीकृति दिएको वादीबाट दाखिल गराई हेरी करकापतर्फ कारवाही चलाउनु पर्नेमा त्यसतर्फ केही नगरेकोले भइरहेको कानुनी व्यवस्था विपरीत करकापतर्फ बयान गराई कारवाही चलाएकोले नालेश खारेज गरिपाउँ भन्ने समेत ०३३।७।२०।६ मा रत्नलाल कनौडियाले गरेको बयान ।
७. करकाप सँग कागज गराए भन्ने वादी दावी हुँदा प्रतिवादी सँग कुनै कागज भए दाखिल गर्नु भनी तारेख तोक्ने र वादी बयानमा महान्यायाधीवक्ता कार्यालयमा दर्ता गरेको छ भनेको कागज झिकाई दाखिल गराई वादीलाई सनाखत गराउने भन्ने बागमती अञ्चल अदालतको आदेश ।
८. वादीलाई करकापसँग कागज गराएको छैन । वादीले भनेको कागज म सँग रहने प्रश्नै नआउनेमा यस्तो व्यहोरा लेखाई मलाई तारिख तोकिएको मिलेन । आवश्यक परे उक्त कागज महान्यायाधीवक्ताको कार्यालयबाट झिकी बुझी पाउँ भन्ने समेत रत्नलाल कनौडियाको निवेदन ।
९. पत्रमा उल्लेख भएबमोजिम ०३३।७।२१ मा दर्ता नभई ०३३।३।२१ मा द.नं. १८६६८ मा दर्ता भएको सक्कल पत्र सिलबन्दी गरी महान्यायाधीवक्ताको कार्यालयबाट पठाएको रहेछ ।
१०. मलाई भारतीय केटाले स्वास्नी राखी निजको करणी विर्यबाट एक छोरी पाएको छ। श्रीमान भारत जानु भएको छ । विदामा बसेको बेला नचिनेको पुलिस डेरामा आई जबरजस्ती डर त्रास देखाई छोरी, रत्नलालको करणी विर्यबाट जन्मेको निजले मलाई स्वास्नी बनाई राखेको इत्यादि गलत कुराको कागज गराए । रतनलालसँग मेरो अनुचित सम्बन्ध छैन । उक्त कारवाही बदर गर्न सबै सम्बन्धित ठाउँमा लेखी पठाउन अनुरोध छ भनी महान्यायाधीवक्ताज्यूलाई सम्बोधन गरी लेखिएको वादीलाई करकापसँग गराइएको भनेको कागज ।
११. करकापबाट गराएको कागज बदर गरी रतनलाललाई सजायँ गरिपाउँ भन्ने समेत वादी रेणुको ०३३।८।२९ को बयान ।
१२. वादीको व्यहोरा झुठ्ठा छ अरु कुरा बयानमा खुलाई सकेको छु भन्ने समेत प्र.रतनलालको ०३४।२।२१ मा भएको बयान ।
१३. वादीले दिएको बिन्तिपत्रमा माना चामल अंश दिलाई दिनु भन्ने हु.प्र.पाउँ भन्ने मुख्य दावी लिई पेटबोलीमा करकापसँग कागज गराएको भन्ने सम्म उल्लेख भएको देखिन्छ । करकापतर्फ किटानी दावी नभएको र अन्य माना चामल तथा अंश मुद्दामा ठहरे बमोजिम हुने नै हुँदा अधिकारक्षेत्र नभएको कार्यालयमा दिएको निवेदन निष्प्रयोजन तथा प्रभाव शून्य हुँदा वादी दावी खारेज हुने ठहर्छ र उक्त कागज प्रमाण शून्य घोषित गरिन्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।
१४. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी प्रतिवादी दुवैले गरेको पुनरावेदन ।
१५. वादीले श्री ५ महाराजाधिराजमा दिएको बिन्तिपत्रमा करकापतर्फ किटानी दावी नलिएको र हुकूम प्रमाङ्गीमा पनि करकापतर्फ कारवाही गर्नु भन्ने उल्लेख नभएको हु.प्र.को आधार लिई करकापतर्फ ठाडो कारवाही गरी करकाप भनेको निवेदन प्रभाव शून्य घोषित गरेको हुँदा बा.अं.अ.को निर्णय मिलेको नदेखिँदा प्रस्तुत मुद्दा डिभिजन बेञ्जमा पेश गर्नु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्जको ०३४।९।१२ को आदेश ।
१६. वादीले महान्यायाधीवक्ताको कार्यालयमा चढाएको निवेदन करकापसँग गराइएको हो भन्ने दावीमा सो लिखत विवादको विषय हो । कार्यालय विवादको विषय होइन बिन्तिपत्रमा मूल दावी अंश माना चामलको छ । अञ्चल अदालतबाट करकापतर्फ छुट्टै बयान गराइएको छ । अंश माना चामल र करकाप मुद्दा संगै चलेकोमा साथै किनारा गर्नु पर्नेमा अरु मुद्दा कायमै राखी करकाप मुद्दा मात्र किनारा गरेको मिलेन । खारेजी निर्णय गरी सकेपछि विवादित लिखतलाई निष्प्रयोजन, प्रभाव शून्य भनेको बा.अं.अ.को निर्णय नमिलेको हुँदा बदर गरिएको छ । अब कानुन बमोजिम कारवाही र किनारा गर्नु भनी मिसिल बागमती अञ्चल अदालतमा पठाई दिनु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्जको ०३५।५।७।४ को फैसला ।
१७. उक्त फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भिर कानुनी त्रुटि भएकोले न्याय प्रशान सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी रतनलाल कनौडियाको निवेदन परेकोमा बक्स भई आएको हु.प्र.बमोजिम अंश माना चामल मुद्दामा बयान गर्दा करकापतर्फ पनि दावी लिइएकोले छुट्टै मिसिल खडा गरी कारवाही गरेको देखिन्छ । बिन्तिपत्रमा करकापतर्फ किटानी दावी नभएकोमा बयानबाट दावी लिएको भनी छुट्टै मुद्दा खडा गरी कारवाही गरेको त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको ०३८।१।७ को आदेश ।
१८. निर्णयार्थ डिभिजन बेञ्ज समक्ष पेश हुँदा रेणू अधिकारीले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्रको व्यहोरा हेर्दा अंश माना चामल दिलाई पाउँ भन्ने उल्लेख गरी पेटबोलीमा मिति ०३३।३।२१ मा प्र.रतनलाल कनौडियाले जबरजस्ती करकापसँग कागज गराएको भन्ने सम्म उल्लेख गरी निष्कर्षमा अंश माना चामल दिलाई दिनु भन्ने हु.प्र.बक्स पाउँ भन्ने उल्लेख भएको पाइन्छ । वादी रेणू अधिकारीले ०३३।४।१३ मा अञ्चल अदालतमा बयान गर्दा करकापसँग गरिएको भनी दावी लिएकोमा ०३३।३।२१ को महान्यायाधीवक्तालाई सम्बोधन गरी लेखेको निवेदन प्रमाणमा लिन मिल्ने हो होइन भन्ने सम्बन्धमा अंश माना चामल मुद्दाबाट नै बिचार हुने हुँदा त्यसतर्फ बोली रहनु परेन । वादी रेणू अधिकारीले दिएको बिन्तिपत्रमा करकापतर्फ कारवाही गरिपाउँ भनी किटानी साथ दावी लिएको देखिँदैन । यसरी बिन्तिपत्रमा दावी नै नलिएको कुरालाई अंश माना चामल मुद्दामा बयान गर्दा करकापतर्फ पनि दावी लिएको भनी करकाप मुद्दाको छुट्टै मिसिल खडा गरी कारवाही गरेको कानुन अनुरुप भनी भन्न मिलेन । बिन्तिपत्रमा दावी नभएको कुरामा अदालतबाटै विवाद सिर्जना गरी कारवाई गर्ने अधिकार अञ्चल अदालतलाई नहुँदा नभएको अधिकारक्षेत्र ग्रहण गरी दावी नभएको कुरामा कारवाही नै चल्न नसक्नेमा करकापतर्फ कारवाही उठाई बा.अं.अ.र मध्यमाञ्चल क्षेत्रिय अ..बाट भएको दुबै फैसलाहरू गल्ती हुँदा बदर भई प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने डिभिजन बेञ्जको ०४०।१०।१८ को फैसला ।
१९. हुकूम प्रमाङ्गी बमोजिम मुद्दाको कारवाही ठाडै हेरी दिनु पर्नेमा अ.बं. १३२ नं.बमोजिम मुद्दा हेर्ने अड्डाबाट वादी प्रतिवादीसँग जो खुलाउनु पर्ने कुरा सोधी जवाफ लिई प्रमाण समेत खुलाई लिई कारवाही किनारा गर्नुपर्ने भएकोले बिन्तिपत्रमा करकापसँग कागज गराएको भन्ने कुरा र कानुनी कारवाई गरिपाउँ भन्ने पनि उल्लेख भएकै र सोही बिन्तिपत्रमा ठाडै बुझ्ने हुकूम प्रमाङ्गी बक्सेको हुँदा निवेदिका वादीसँग खुलाउनु पर्ने कुरा सोधी जवाफ लिई प्रमाण समेत खुलाउनु पर्ने उपरोक्त ऐनको व्यवस्था अनुसार बा.अं.अ.मा निवेदिकाले दावी लिई बयान गरेको कानुन अनुसार भएको देखिएको छ । ठाडै कारवाई गरी गरिन पर्ने मुद्दामा वादीको बयानबाटै मुद्दाको कारवाई शुरु हुने हुँदा निवेदिकाको बयानबाट यो करकाप मुद्दा खडा भएकोमा कुनै कानुनको त्रुटि भएको देखिँदैन । अंश माना चामल मुद्दामा निवेदिकाले विपक्षी प्रतिवादीको करणी विर्यबाट छोरी जन्मेको छ अंश माना चामल पाउँ भनी दावी लिई निवेदिकाको बयानबाट चलेको मुद्दामा बागमती अञ्चल अदालतबाट निर्णय नभई अद्यापि सोही अदालतका विचाराधीन राखिएको छ । लगाउका दुइवटा मुद्दाहरूमध्ये यो करकाप मुद्दा मात्र अगाडि छिनी आउँदा ०३३ सालमा चाँडो छिनी नतिजा जाहेर गर्नु भनी हुकूम प्रमाङ्गी भएकोमा मूल मुद्दा यथावतै रही करकाप मुद्दालाई मात्र अहिले सम्म ८ वर्ष लागेको छ यसरी एकै लगाउका मुद्दाहरू अघी पछि छिनिने परम्परा बस्न गएमा न्याय दिने काम माथि लेखिए बमोजिम ढिलो हुन जाने हुन्छ भन्ने समेत न्यायिक समितिको पर्चा ।
२०. निवेदिका वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्यायले बिन्तिपत्रमा विपक्षी रतनलाल कनौडियाले करकापसँग कागज गराए भन्ने कुरा लेखिएको छ र श्री ५ बाट ठाडो बुझी इन्साफ गरिदिनु भन्ने हुकूम प्रमाङ्गी बक्स भएबमोजिम अदालतबाट निवेदिकाको बयान गराई करकापतर्फ मुद्दा चलाइएको छ । अ.बं. १३२ नं.मा खुलाउनु पर्ने कुरा सोधी जवाफ लिई खुलाई बयान लिई कारवाई किनारा गर्नु पर्छ भन्ने व्यवस्था भए अनुरुप करकापतर्फ मुद्दा चलाइएकोमा मुद्दा चल्न नसक्ने भनी खारेज गर्ने गरेको डिभिजन बेञ्जको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता द्वय श्री शम्भुप्रसाद ज्ञवाली तथा श्री कुसुम श्रेष्ठले दावीको कुरा बाहेक अरु कुरामा निर्णय गर्न मिल्दैन । बिन्तिपत्रमा करकापतर्फ कागज गराए भने पनि करकापतर्फ कारवाई गरिपाउँ भन्ने दावी छैन । माना चामल अंश दिलाई पाउँ भन्ने मात्र दावी छ । अ.बं. १३२ नं.बमोजिम खुलाउनु पर्ने कुरा खुलाउनको लागि निवेदिकाले विन्तिपत्रमा माग दावी गरेको कुरामा सीमित रहेर खुलाउनु पर्ने हुन्छ । तसर्थ मुद्दा खारेज गर्ने गरेको डिभिजन बेञ्जको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
२१. मिति ०४२।९।१९ गते यस बेञ्च समक्ष पेश भई आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादी दावी खारेज गर्ने गरेको डिभिजन बेञ्जको इन्साफ मनासिव बेमनासिव के हो भन्ने विषयमा निर्णय दिनु परेको छ । प्रस्तुत मुद्दा श्री ५ बाट बक्स भई आएको हुकूम प्रमाङ्गी बमोजिम बागमती अञ्चल अदालतबाट ठाडो बुझी कारवाई गर्ने सन्दर्भमा करकापतर्फ बयान गराई छुट्टै मुद्दा कायम गरी कारवाई चलाइएको र त्यसरी कारवाई चलाउन मिल्छ वा मिल्दैन भन्ने प्रश्न प्रस्तुत मुद्दामा विद्यमान भएकोले सो तर्फ हेर्दा सर्वप्रथम निवेदिकाले श्री ५ महाराजाधिराजका जुनाफमा कस्तो व्यहोरा बिन्तिपत्र चढाएको छ र के व्यहोराको हुकूम प्रमाङ्गी बक्स भएको छ भन्ने नै हेर्नु पर्ने हुन आएको छ । निवेदिका रेणू कनौडियाले श्री ५ महाराजाधिराजका जुनाफमा चढाएको ०३३।४।४ को बिन्तिपत्रमा का.सु.वरिष्ठ सरकारी अधिवक्ता रतनलाल कनौडियाले आफ्नो कोठामा टाइप गर्न बोलाई करणी गरी सो करणीबाट गर्भ रहन गई छोरी समेत जन्मेकोमा ०३३।३।२१ का दिन दिउँसो अफिसबाट आफ्नो कोठामा लगी डर धाक देखाई ३ थान कागजमा सहिछाप गराए भन्ने समेत कुरा पेटबोलीमा उल्लेख गरी निज रतनलाल कनौडिया उपर कानुनी कारवाई भई मलाई माना चामल तथा अंश दिलाई दिनु भन्ने सम्बन्धित अदालत तथा मन्त्रालय समेतका नाउँमा हुकूम प्रमाङ्गी पाउँ भन्ने समेत उल्लेख भएको देखिन्छ । उक्त बिन्तिपत्रमा “यो बिन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए त्यस अदालतबाट ठाडै बुझी कानुन बमोजिम गरी मुद्दा चाँडो छिनी नतिजा जाहेर गर्नु भनी तहाँ पठाउनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ” भन्ने बागमती अञ्चल अदालतका नाउँमा विशेष जाहेरी विभागमा लेखी आएको देखिन्छ । उक्त बिन्तिपत्रमा मिति ०३३।३।२१ का दिन डर धाक देखाई ३ थान कागजमा सहिछाप गराएको कुरा उल्लेख गरेको तर कागज नै आफूले लेखेको भन्ने कुरा कतै उल्लेख छैन । बिन्तिपत्रको लेखाइबाट निवेदिकालाई सिर्फ ३ थान कागजमा सहिछाप गराएको भन्ने उल्लेख भएबाट त्यस्तो कागज निजले नलेखेको भन्ने स्पष्ट हुन आयो । तर मिसिल सामेल रहेको महान्यायाधीवक्तालाई सम्बोधन गरी लेखेको करकापसँग गराएको भन्ने कागज निवेदिकाको स्वहस्ताबाट लेखिएको कुरा निजले बयानमा समेत स्वीकार गरेको देखिन्छ । अर्को तर्फ त्यसरी कागज गराएमा कारवाई गरिपाउँ भन्ने तर्फ माग दावी नलिई माना चामल तथा अंश दिलाई दिनुभन्ने हुकूम प्रमाङ्गी पाउँ भन्ने माग दावी निवेदिकाले लिएको देखिन्छ । हुकूम प्रमाङ्गी बमोजिम बागमती अञ्चल अदालतबाट ठाडो बुझी कारवाई गर्दा निवेदिकाको करकापतर्फ छुट्टै बयान गराई निवेदिकालाई वादी कायम गरी करकाप मुद्दा चलाएकोमा त्यसरी चलाउन मिल्ने हो होइन भन्ने तर्फ हेर्दा हुकूम प्रमाङ्गी बमोजिम ठाडो कारवाई गर्दा अदालतले बिन्तिपत्रमा माग दावी के विषयमा लिएको छ र कस्तो व्यहोराको हुकूम प्रमाङ्गी भएको छ भन्ने कुरालाई ध्यानमा राख्नु पर्ने हुन्छ । न्यायिक समितिले करकापतर्फ छुट्टै बयान गराई मुद्दा चलाइएको कानुन अनुरुप छ भन्ने आफ्नो तर्कको पुष्टिमा अ.बं. १३२ तथा अ.बं. १०४ नं.का व्यवस्थाहरू उद्धृत गरेको छ । अ.बं. १०४ नं.पक्षलाई जाने समाव्हान इतलायनामासँग सम्बन्धित छ । त्यसमा बिन्तिपत्रमा स्पष्ट माग दावी नभएको विषयमा पनि बयानबाट मुद्दा खडा गर्न सकिने कुरालाई स्पष्ट्याउने कुनै शब्दावली छैन । “ऐनले फिरादपत्र प्रतिउत्तरपत्र लिई हेर्नु पर्ने मुद्दा बाहेक अरु ठाडै कारवाही गरी हेर्नु पर्ने मुद्दामा मुद्दा हेर्ने अड्डाबाट वादी प्रतिवादीसँग जो खुलाउनु पर्ने सोधी जवाफ लिई प्रमाण समेत खुलाई कारवाही किनारा गर्नुपर्छ” भन्ने व्यवस्था अ.बं. १३२ नं.मा रहेको पाइन्छ । उक्त व्यवस्थाबाट मुद्दा हेर्ने अड्डाबाट वादी प्रतिवादीसँग जो खुलाउनु पर्ने कुरा सोधी जवाफ लिई बयान गराउँदा बिन्तिपत्रमा माग भएको कुरा भन्दा अरु कुरा खुलाई त्यस्तो खुलाइएको कुराबाट छुट्टै मुद्दा कायम गर्न मिल्ने देखिँदैन । पक्षले स्पष्ट रुपले माग दावी गरेको विषय भन्दा बाहिर गई छुट्टै मुद्दा सिर्जना गर्ने अधिकार अदालतलाई दिने हो भने अदालतले अदालतको स्थान मात्र नभई पक्षको स्थान समेत ग्रहण गर्न पुग्छ, जुन कानुन एवं न्यायिक सर्वमान्य सिद्धान्तहरूको समेत प्रतिकूल हुन जान्छ । यस सम्बन्धमा निवेदक इश्वरबहादुर वास्ताकोटी क्षेत्री समेत विरुद्ध केशवमाया वास्ताकोटीनी समेत भएको जग्गा आयस्ता दिलाई पाउँ भन्ने मुद्दामा (नि.नं. ४८१ ने.का.प. २०२६–पृ. १६१) सर्वोच्च अदालत फुल बेञ्चबाट सिद्धान्त कायम भएको समेत देखिन्छ ।
२२. रेणू कनौडियालाई गराएको मिसिल सामेल रहेको महान्यायाधीवक्तालाई सम्बोधन गरी लेखेको भन्ने ०३३।३।२१ को कागज प्रमाणमा लिन मिल्ने हो होइन भन्ने सम्बन्धमा निवेदिकाको अंश माना चामल मुद्दा बागमती अञ्चल अदालतमा विचाराधीन रहेको र उक्त मुद्दाबाट नै बिचार हुने हुँदा त्यसतर्फ प्रस्तुत मुद्दाबाट बोली रहनु पर्ने अवस्था रहेन ।
२३. अतः उपर्युक्त कारणहरूबाट वादीले बिन्तिपत्रमा किटानीसाथ दावी नलिएको कुरामा अदालतबाटै विवाद सिर्जना गराई कारवाई गर्ने अधिकार अञ्चल अदालतलाई नहुँदा प्रस्तुत मुद्दा खारेज गर्ने गरेको डिभिजन बेञ्जको ०४०।१०।१८ को इन्साफ मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.गजेन्द्रकेशरी बास्तोला
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल पौष २६ गते रोज ६ शुभम् ।