शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५०८ - दाइजो पेवा

भाग: २७ साल: २०४२ महिना: माघ अंक: १०

निर्णय नं. २५०८    ने.का.प. २०४२            अङ्क १०

 

डिभिजन बेञ्ज

इजलाश

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४१ सालको दे.वि.नं. ११३

मुद्दा : दाइजो पेवा ।

 

निवेदक/वादी:का.जि.का.जि.का.नगर पंचायतवडा नं.१३ कालिमाटी घर भई ऐ. वडा नं.१३ छाउनी बस्ने पंच नारायण महर्जन ।

विरुद्ध

विपक्षी :ऐ. कालिमाटी बस्ने जितनारायण महर्जन ।

फैसला भएको मिति:२०४२।१०।४।६ मा

     अंशतर्फ वादीको माग दावी नभएको स्थितिमा अंशबण्डामा जस्तो गरी विपक्षीबाट फाँटवारी मागी वादी दावी बमोजिम बण्डा छुट्याई दिन नमिल्ने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती

विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

उल्लेखित मुद्दाःX

फैसला

प्र.न्या.धनेन्द्र बहादुर सिंह: मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए मध्यमाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको दाइजो भए मध्यमाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको दाइजो पेवा मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम डिभिजन बेञ्जको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    विपक्षीको र मेरो आमा हिरामाया परलोक भएपछि स्त्री अंश धनको ५ नं.ऐनले निज आमाको दाइजो विपक्षीलाई चलन हक हुन आएको विपक्षीको र मेरो नाममा अ.त.गु.खर्च कार्यालय अड्डामा सगोल दर्ता भइसकेको र केही दर्ता गर्न बाँकी नै छ । विपक्षी र म कालिमाटी गा.पं.वडा नं.४ कि.नं.११२ मा बसेका र बाबु जीतबहादुर का.नगर पंचायतअन्तर्गत नरदेवी नेटपाचोको पुख्र्यौली घरमा बस्ने गरी आएको आमाको दाइजो विपक्षी र मलाई मात्र हक लाग्ने जग्गाका रसिद लगायत कागज र सोबाट बढे बढाएको नगदी गहना समेत कालीमाटीको आफैं बसेको घरमा विपक्षीले भण्डार गरी ताला साँचो मारी आफैंले राख्नु  भएको र बाँडौं भनी अनुरोध गर्दा नमानी २०३६।८।२५ गतेका दिन घरबाट निकाली दिनु भयो । विपक्षी दाजुसँग मेरो माना छुट्टेको मिति २०३६।८।२५ कायम गरी स्वर्गीय आमाको दाइजो स्त्री अंश धनको ५ नं.ऐनले विपक्षी र म दुईजनालाई आएको हुँदा हामी दुबैको सगोल दर्ता भई रहेको जग्गा र सो जग्गामा बनेको पक्की घर अरु जग्गाहरू कागजात नगद सुन चाँदी गहना समेत विपक्षीबाट लिई दुई भाग गरी एक भाग विपक्षीको कटाई बाँकी एक भाग मलाई बण्डा छुट्याई दिलाई पाउँ भन्ने समेत पंचनारायण महर्जनको २०३६।९।३।३ को फिराद ।

३.    म विपक्षी र बाबु जीतनारायण सगोल नै छौं अंश नै छुट्टिएको छैन अंशमा नालिश नै नहुँदा विपक्षी र म मात्रै कसरी माना छुट्टिने जबसम्म बाबुसँग सगोलमै रहीन्छ तबसम्म आमाको दाइजो मात्र भाग मानो नछुट्टि बण्डा लाग्न र गर्न सक्ने अवस्था नै नआउने र घरको मुख्य भई बुबाले काम गरे रहेको अवस्थामा बुबा उपर नालिश नै दिन नसकेको र बाबुसँग सगोलमै बसी भाइ भाइ मात्र मानो छुट्टीन सक्ने कानुनी व्यवस्था नै नहुँदा फिराद खारेज गरिपाउँ भन्ने समेत जीतनारायण महर्जनको २०३६।११।३ को प्रतिउत्तर ।

४.    अंशबण्डाको रोहबाट प्रतिवादीसँग तायदाती माग्न र वादी प्रतिवादीका बीच मानो छुट्टिएको मिति कायम गर्न मिल्ने अवस्था देखिएन वादीले आफ्नो माग दावीको सम्पत्तिको विवरण खुलाउन सकेको नदेखिएको समेतबाट वादी दावी बमोजिम गर्न बाँडी दिन मिल्ने देखिएन भन्ने समेत काठमााडौं जिल्ला अदालतको २०३७।७।२१ को फैसला ।

५.    उक्त इन्साफमा चित्तबुझेन भन्ने वादी पंचनारायणको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।

६.    वादीको शुरु फिरादमा आमाको दाइजो पेवा आधा दिलाई पाउँ भन्ने भएको र पुनरावेदनमा वादीले सो आमाको दाइजो पेवा घर रु. १,५०,०००।मोलिनेमा मेरो भागको आधा रु. ७५,०००।मोलिने घर जग्गा दिलाई पाउँ भन्ने हुँदा प्रस्तुत मुद्दा विगोको हिसाबबाट मध्यमाञ्चल क्षेत्रीय अदालतको अधिकारक्षेत्र भित्रको देखिँदा मध्यमाञ्चल क्षेत्रिय अ..मा पठाई दिनु भन्ने समेत बागमती अञ्चल अदालतको २०३८।९।१० को आदेश ।

७.    स्त्री अंश धनको ५ नं.को दावी भएको सो दावी अनुसार आमाको नामको दाइजो पेवा के कति छ बुझी इन्साफ गर्नु पर्नेमा सो बमोजिम नगरेको शुरुको फैसला मिलेको नदेखिँदा अ.बं.२०२ नं.बमोजिम विपक्षी झिकाउनु दुबै थर हाजिर रहेकोले परेन प्रतिवादी पेटबोलीबाट देखिएका जीतनारायणलाई अ.बं.१३९ नं.बमोजिम बुझी पेश गर्नु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको २०३९।१०।३ को आदेश ।

८.    प्रस्तुत मुद्दामा शुद्ध दाइजो पेवा दिलाई पाउँ भन्ने भएको त्यस्मा पनि कति जति सम्पत्ति दाइजो पेवाको भनी वादीलाई कागज गर्न लगाउँदा पनि निजले नसकेको यस्तो अवस्थामा अंशतर्फको उजूरी दावी नभई शुद्ध आमाको दाइजो पेवा बण्डा गरी दिन ऐन अनुकूल नभएकाले वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४०।२।१६ को फैसला ।

९.    उक्त निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र इन्साफ जाँची दिनु भन्ने समेत सर्वोच्च अदालतका नाममा हुकूम प्रमांगी बक्स भई आए अनुरुप डिभिजन बेञ्ज समक्ष पेश हुँदा वादीले फिराद दावी गर्दा स्त्री अंश धनको ५ नं.लाई आधार बनाई दावी गरेको पाइन्छ । विवादको सम्पत्ति घर जग्गा आमाको दाइजो पेवा भएमा र आमा मरेकोमा समेत विवाद देखिन्न । स्त्री अंश धनको ५ नं.बमोजिम आमा मरेपछि छोरामा अपुताली खाने र यी वादी प्रतिवादी छोरा भएमा मुख मिलेकोले आमाको दाइजो पेवा अपुताली परेकोमा अंश मानी दावी गर्नु पर्ने कानुनी प्रावधानको अभावमा वादी दावी नपुग्ने ठहराइएको  मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको नदेखिँदा अ.बं.२०२ नं.समेत बमोजिम विपक्षीलाई झिकाई आएपछि पेश गर्नु भन्ने समेत डिभिजन बेञ्जको २०४२।१।३१ को आदेश ।

१०.    निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले विवादित जग्गा आमाको दाइजो पेवा भएमा विवाद छैन र वादीको आधा हक लाग्ने हो भन्ने पनि निश्चित छ यस्तामा वादी दावी नपुग्ने ठहराइएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले वादीको अंशमा दावी नै छैन अंशमा दावी नभएको र दाइजो पेवाको सम्पत्ति यो यो हो भनी वादीले नै खुलाउन नसकेको समेत स्थितिमा वादी दावी नपुग्ने ठहराइएको क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

११.    यसमा निर्णयतर्फ हेर्दा आमा हिरामायाको दाइजो पेवाको सम्पत्तिमा स्त्री अंश धनको ५ नं.बमोजिम मेरो समेत हक हुनेमा विपक्षीले जग्गाको रसिद लगायत कागजात र सोबाट बढे बढाएको नगदी गहना समेत कालिमाटीको आफैं बसेको घरमा भण्डार गरी ताला सांचो मारी राखेकोले २०३६।८।२५ गते मानो छुट्टिएको मिति कायम गरी हामी दुबैको सगोल दर्ता भइरहेको जग्गा र सो जग्गामा बनेको पक्की घर अरु जग्गाहरू नगदसुनको गहना समेत विपक्षीबाट लिई दुई भागको एक भाग मलाई बण्डा छुटाई दिलाई पाउँ भन्ने समेत वादीको मुख्य निवेदन जिकिर देखिन्छ । अंशमा नालिश नै नहुँदा दाइजो मात्र बण्डा लाग्न सक्ने नहुँदा वादी दावी खारेज गरिपाउँ भन्ने समेत विपक्षीहरूको प्रतिउत्तर देखिन्छ । आमाको दाइजो पेवाको कुन कुन सम्पत्ति सगोल दर्ता रहेको र दर्ता हुन बाँकी रहेको तथा आमाको दाइजो पेवाको हो भन्ने के सबूद छ भन्ने सम्बन्धमा अ.बं.१३३ अनुसार कागज गराउने भन्ने जिल्ला अदालतको २०३७।३।२८ को आदेश अनुरुप कागज गराउँदा वादीले खुवाउन सकेको पाइँदैन । स्त्री अंश धनको ५ नं.बमोजिम आफ्नो भाग बण्डा लाग्नु पर्ने सम्पत्ति यो यो यति छ, भनी वादीले स्पष्ट रुपले खुलाउन नसकेको र अंशमा दावी गर्न वादीको हक सुरक्षित नै हुँदा अंशतर्फ वादीको माग दावी नभएको स्थितिमा अंशबण्डामा जस्तो गरी विपक्षीबाट फांटवारी मागी वादी दावी बमोजिम बण्डा छुट्याइ दिन नमिल्ने हुँदा वादी दावी नपुग्ने ठहराएको शुरु इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४२ साल माघ ४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु