निर्णय नं. ७०४८ - उत्प्रेषण समेत

निर्णय नं. ७०४८ ने.का.प २०५८ अङ्क ११/१२
संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
सम्वत २०५५ सालको रिट नं....३५७३
आदेश मितिः २०५८।१०।२।३
विषयः उत्प्रेषण समेत ।
निवेदक : का.जि. का.म.न.पा. वडा नं. ३२ बस्ने केशव नेपाल
विरुद्ध
विपक्षी : काठमाण्डौं जिल्ला अदालत, तहसिल शाखा समेत
§ निवेदक केशव नेपालको छोरा अनुप नेपाल अंशवण्डा भई छुट्टिई भिन्न भइसकेको र निजले ऋण रकमका सम्बन्धमा निवेदकको कुनै सरोकारै नभएकोमा निवेदकको दर्ता तथा हक भोगको का. जि. का. म. न. पा. वडा नं. ३२ कालिका स्थान स्थित कि. नं. १३४ र १३५ को घरजग्गा खीमा खापुङ वादी अनुप नेपाल प्रतिवादी भएको लेनदेन विगो मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट मिति २०५४।११।८ मा भएको लिलाम वदर गरी पाउँ भन्ने निवेदन जिकिर लिएको देखिन्छ ।
§ विपक्षी खिमा खापुङ वादी र अनुप नेपाल प्रतिवादी भएको लेनदेन मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट मिति २०४९।३।१५ मा वादी दावी बमोजिम साँवा व्याज समेत भराई दिनुपर्ने ठहरी भएको फैसला पुनरावेदन अदालत पाटनबाट मिति २०५३।२।४ मा सदर भएको देखिन्छ । उक्त फैसला अनुसार प्रतिवादी अनुप नेपालबाट भरी पाउने ठहरेको साँवा व्याज समेत भराई पाउन प्रतिवादीका एकाघरका पिता केशव नेपालको नाममा दर्ता भएको का. जि. का. म. न. पा. वडा नं. ३२ कि. नं. १३४ र १३५ को घर जग्गा समेत देखाई विगो भरी पाउन विपक्षी खीमा खापुङको काठमाण्डौं जिल्ला अदालतमा परेको निवेदन अनुसार निज विपक्षीले भरी पाउने ठहर भएको रकम दाखिल गराउन म्याद तामेल भएकोमा प्रतिवादीबाट रकम दाखिल नभएकोले विपक्षीले आफ्नो निवेदनमा देखाएको उल्लेखित कि. नं. १३४ र १३५ को घर जग्गा लिलाम गरी दावी अनुसारको रकम असुल उपर गर्ने कारवाही चलाई मिति २०५४।११।८ मा उक्त घर लिलाम भएको मिसिल संलग्न लिलाम मुचुल्का बाट देखिन्छ । उक्त लिलाम मुचुल्का हेर्दा लिलाम सम्बन्धी कारवाही आफ्नो रोहवरमा भएको हो भनी रोहवरमा प्रतिवादीका एकाघरका पिता भनी निवेदक केशव नेपालले सहिछाप गरेको पाईन्छ । निवेदक केशव नेपालले अफ्नो घर जग्गा लिलाम भएकै मितिमा विपक्षी खिमा खापुङलाई प्रतिवादी अनुप नेपालले फैसला बमोजिम तिर्नु पर्ने साँवा व्याज र कोर्टफि समेतको रकम कट्टागरी वढी भएको रकम फिर्ता पाउन निवेदन दिई उक्त निवेदन बमोजिमको वाँकी रकम काठमाण्डौं जिल्ला अदालतमा आफै उपस्थित भई बुझी भरपाईसमेत गरी दिएको देखिन्छ । यसरी आफू समेत संलग्न भई निवेदकले लिलाम सम्बन्धी काम कारवाही स्वीकार गरेको अवस्थामा कानून बमोजिम भएको उक्त काम कारवाही वदर हुनुपर्ने नदेखिने ।
(प्र. नं. ९)
निवेदकका तर्फबाट : विद्वान अधिवक्ताद्वय श्री बालमुकुन्द श्रेष्ठ तथा श्री मोहन पन्त ।
विपक्षीका तर्फबाट : विद्वान उप न्यायाधिवक्ता श्री अमृत बहादुर वस्नेत, विद्वान अधिवक्ता श्री ओमप्रसाद थपलिया ।
अवलम्वित नजिर :
आदेश
प्र. न्या. केशवप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८ (२) अन्तर्गत अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यस प्रकार छः
२. का. जि. का. म. न. पा. वडा नं. ३२ कालिकास्थान स्थित कि. नं. १३४ को क्षेत्रफल ०—१—०—१ र कि. नं. १३५ को क्षेत्र ०—१२—१—३ र सो मा वनेको ३ तल्ले पक्की घर समेत म निवेदकको दर्ता तथा हकभोगमा छ । वादी खीमा खापुङ प्रतिवादी मेरो छोरा अनुप नेपाल भएको लेनदेन मुद्दामा वादी दावी बमोजिम हुने गरी काठमाण्डौं जिल्ला अदालतबाट मिति २०४९।३।१५ मा भएको फैसला पुनरावेदन अदालत पाटनबाट मिति २०५३।२।४ मा सदर भएकोले सो फैसला बमोजिम भनी मेरो उल्लेखित घर जग्गा मिति २०५४।११।८ मा लिलाम भएको रहेछ । मैले सो कुरा २०५५।३।१६ मा मात्र थाहा पाएँ । अनुप नेपाल र मेरो वीच अगाडी नै अंशवण्डा भइसकेकोले अनुप नेपाल र खीमा खापुङ वीच चलेको मुद्दामा मेरो कुनै संलग्नता छैन । घरको मुख्य व्यक्ति म भएकोले म देखि वाहेक अरुले गरेको कारोवारका सम्बन्धमा मेरो सम्पत्तिबाट असूल उपर गर्न नमिल्ने हुँदाहुँदै मेरो घरजग्गा लिलाम गरीएबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ (१), १२ (१) (घ) तथा धारा १७ द्वारा प्रदत्त निवेदकको मौलिक हक अधिकार हनन् हुन गएकोले उत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरी विपक्षी तहसिल शाखाबाट भएको मिति २०५४।११।८ को लिलाम वदर गरी सो आधारमा विपक्षी इन्दिरा भण्डारीको नाममा भएको दर्ता समेत वदर गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन पत्र ।
३. यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीबाट लिखित जवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको मिति २०५५।४।१५ को आदेश ।
४. खीमा खापुङ वादी अनुप नेपाल प्रतिवादी भएको लेनदेन मुद्दामा वादी दावी बमोजिम सांवा व्याज भरी पाउने ठहरी भएको फैसला अनुसार प्रतिवादीका बाबु केशव नेपालको नाममा दर्ता रहेको निवेदनमा उल्लेखित कि. नं. १३४ र १३५ समेतका घर जग्गाबाट फैसला अनुसार सांवा व्याज समेतको विगो भराई पाउँ भनी वादीको दरखास्त परे अनुसार लिलाम सम्बन्धी कारवाही भएको हो । यसै विषयमा निवेदकले पुनरावेदन अदालत पाटनमा दिएको निषेधाज्ञाको निवेदन समेत खारेज भै सकेको छ । लिलाम सम्बन्धी कारवाहीमा निवेदकलाई यस अदालतमा हाजिर गराईएको छ । निजको घर जग्गा लिलाम गर्न मिति २०५४।११।८ को तारेख तोकिएको र इन्दिरा भण्डारीले विगो रु. २६,९४,००१/— मा लिलाम सकार गरी लिनु भएको हो । वादीले पाउने कोर्टफि सांवा व्याज समेतको जम्मा रु. १६,७४,६४४।५६ कट्टा गरी वाकी रकम फिर्ता पाउँ भनी मिति २०५४।११।८ मा केशव नेपालले निवेदन दिई उक्त निवेदनको पिठमा सनाखत गरी वढी रकम सोही मितिमा लिलाम हुँदा आफै रोहवरमा वसी वढी रकम बुझी लिई भरपाई गरिदिई गरेको व्यवहार थाहा थिएन भनी झुठ्ठा व्यहोरा उल्लेख गरी दिएको निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको काठमाण्डौं जिल्ला अदालतको लिखित जवाफ ।
५. लेनदेन मुद्दामा वादी दावी बमोजिमको सांवा व्याज भरी पाउने ठहरी भएको फैसला अनुसार प्रतिवादीका एकाघर सँगका पिताको नाममा रहेको घर जग्गा देखाई विगो भराई पाउँ भनी निवेदन गरेको हो । उक्त घर जग्गा लिलाम गर्दा अपनाउनु पर्ने सम्पूर्ण कार्यविधि कानून बमोजिम अवलम्वन गरीएको हुँदा उक्त लिलाम कार्य वदर हुनुपर्ने होईन दण्ड सजायको ६१ नं. बमोजिम तहसिलदारको काम कारवाही चित्त नवुझेमा १५ दिन भित्र सोही अड्डका हाकिम समक्ष र त्यस उपर अ. वं. १७ नं. बमोजिम पुनरावेदन अदालतमा निवेदन लाग्ने व्यवस्था छ । मिति २०५४।११।८ मा भएको लिलाम सम्बन्धी काम कारवाहीमा संलग्न निवेदकले समयमा नै वैकल्पिक उपचारको मार्ग अवलम्बन गर्नु पर्नेमा मिति २०५५।३।२२ मा दायर गरेको रिट विनेदन खारजभागी छ । विगो भराई पाउँ भनी मेरो निवेदन परेपछि निवेदक समेतलाई वुझिएको र निजको तहसिलदारले गरेको काम कारवाही वदर गरी पाउँ भनी काठमाण्डौं जिल्ला अदालतमा निवेदन दिएको र लिलाम सम्बन्धी कारवाही रोकी पाउँ भनी पुनरावेदन अदालत पाटनमा निषेधाज्ञाको निवेदन तथा सर्वोच्च अदालतमा रिट निवेदन समेत गरेकोमा उक्त कुराहरु लुकाई २०५४।११।८ को लिलाम सम्बन्धी काम कारवाहीका वारेमा मिति २०५५।३।१६ मा मात्र थाहा पाएको भनी झुठ्ठा व्यहोरा लेखी तथ्य लुकाई परेको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको खीमा खापुङको लिखित जवाफ ।
६. विपक्षी इन्दिरा भण्डारीको नाममा म्याद जारी भएकोमा निजको तर्फबाट लिखित जवाफ पर्न नआएको ।
७. नियम अनुसार पेश भएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री बालमुकुन्द श्रेष्ठ तथा श्री मोहन पन्तले निवेदन केशव नेपाल र निजको छोरा अनुप नेपाल वीच अंशवण्डा भई सकेको छ । छुट्टि भिन्न भई सकेको व्यक्तिले लिएको ऋणको विगो निवेदकको घर जग्गा लिलाम गरी असुल गर्न मिल्ने होईन । अनुप नेपालले ऋण लिंदा निवेदकलाई साक्षी राखेको वा सो ऋण करम निवेदकले पनि खाएको भन्ने समेत स्थापित हुन नआएकोले छुट्टि भिन्न भई वसेको छोराले लिएको ऋणको विगो असूल गर्न बाबुको घर जग्गा लिलाम गर्ने गरी गरिएको कार्य कानून विपरित हुँदा वदर हुनु पर्छ भन्ने समेत विपक्षी काठमाण्डौं जिल्ला अदालतका तर्फबाट प्रतिरक्षार्थ उपस्थित विद्वान उप न्यायाधिवक्ता श्री अमृत बहादुर वस्नेत तथा विपक्षी खिमा खापुङका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ओमप्रसाद थपलियाले निवेदकका छोरा अनुप नेपालले २०४५ सालमा खिमा खापुङसँग ऋण लिंदा निवेदकहरु सगोलमा नै रहेका छन् । सगोलमा रहँदाको ऋणको विगो कानून बमोजिम सगोलको सम्पत्तिबाट असूल उपर हुन सक्ने नै हुन्छ । काठमाण्डौं जिल्ला अदालतबाट कानूनी प्रक्रिया अवलम्बन गरी निवेदकको घर जग्गा लिलाम गरेको छ । लिलाम गरी दाखिला हुन आएको रकममा फैसला बमोजिमको विगो समेत कट्टा गरी वाँकी रकम निवेदक स्वयंको निवेदन अनुसार फिर्ता बुझि सकेको हुनाले लिलाम सम्बन्धी काम कारवाहीलाई निवेदक स्वयंले स्वीकार गरिसकको अवस्था हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो ।
८. विद्वान कानून व्यवसायीहरुको उल्लेखित वहस जिकिर समेत सुनी निर्णय तर्फ विचार गर्दा प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेस जारी हुनु पर्ने हो होईन ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
९. यसमा निवेदक केशव नेपालको छोरा अनुप नेपाल अंशवण्डा भई छुट्टिई भिन्न भर्इसकेको र निजले लिएको ऋण रकमका सम्बन्धमा निवेदकको कुनै सरोकारै नभएकोमा निवेदकको दर्ता तथा हक भोगको का. जि. का. म. न. पा. वडा नं. ३२ कालिकास्था स्थित कि. नं. १३४ र १३५ को घर जग्गा खीमा खापुङ वादी अनुप नेपाल प्रतिवादी भएको लेनदेन विगो मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट मिति २०५४।११।८ मा भएको लिलाम बदर गरी सो आधारमा भएको दर्ता समेत वदर गरी पाउँ भन्ने निवेदन जिकिर लिएको देखिन्छ । विपक्षीहरुको लिखित जवाफमा लेनदेन मुद्दामा वादी दावी बमोजिमको साँवा व्याज भरी पाउने ठहरी भएको फैसला अनुसार एकाघर सँगका बाबुको नाममा रहेको घर जग्गा देखाई निवेदन गरेकोले कानून बमोजिम गरीएको लिलाम सम्बन्धी काम कारवाही वदर हुनु पर्ने होईन भन्ने जिकिर लिएको पाईन्छ । विपक्षी खीमा खापुङ वादी र अनुप नेपाल प्रतिवादी भएको लेनदेन मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट मिति २०४९।३।१५ मा वादी दावी बमोजिम साँवा व्याज समेत भराई दिनुपर्ने ठहरी भएको फैसला पुनरावेदन अदालत पाटनमा मिति २०५३।२।४ मा सदर भएको देखिन्छ । उक्त फैसला अनुसार प्रतिवादी अनुप नेपालबाट भरी पाउने ठहरेको साँवा व्याज समेत भराई पाउन प्रतिवादीका एकाघरमा पिता केशव नेपालको नाममा दर्ता भएको का. जि. का. म. न. पा. नडा नं. ३२ को कि. नं. १३४ र १३५ को घर जग्गा समेत देखाई विगो भरी पाउँन विपक्षी खीमा खापुङको काठमाण्डौं जिल्ला अदालतमा परेको निवेदन अनुसार निज विपक्षीले भरी पाउँने ठहर भएको रकम दाखिल गराउँन म्याद तामेल भएकोमा प्रतिवादीबाट रकम दाखिल नभएकोले विपक्षीले आफ्नो निवेदनमा देखाएको उल्लेखित कि. नं. १३४ र १३५ को घरजग्गा लिलाम गरी दावी अनुसारको रकम असूल उपर गर्ने कारवाही चलाई मिति २०५४।११।८ मा उक्त घरजग्गा लिलाम भएको मिसिल संलग्न लिलाम मुचुल्काबाट देखिन्छ । उक्त लिलाम मुचुल्का हेर्दा लिलाम सम्बन्धी कारवाही आफ्नो रोहवरमा भएको हो भनी रोहवरमा प्रतिवादीका एकाघरका पिता भनी निवेदक केशव नेपालको सही छाप गरेको पाईन्छ । निवेदक केशव नेपालको आफ्नो घरजग्गा लिलाम भएकै मितिमा विपक्षी खीमा खापुङलाई प्रतिवादी अनुप नेपालको फैसला बमोजिम तिर्नु पर्ने साँवा व्याज र कोर्टफि समेतको रकम कट्टा गरी वढी भएको रकम फिर्ता पाउन निवेदन दिई उक्त निवेदन बमोजिमको वांकी रकम काठमाण्डौं जिल्ला अदालतमा आफै उपस्थित भई बुझी भरपाई समेत गरीदिएको देखिन्छ । यसरी आफू समेत संलग्न भई निवेदकले लिलाम सम्बन्धी काम कारवाही स्वीकार गरेको अवस्था कानून बमोजिम भएको उक्त काम कारवाही वदर हुनु पर्ने देखिएन । यसर्थ निवेदन माग बमोजिमको आदेश जारी हुनु पर्ने अवस्था नदेखिंदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियामानुसार बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. कृष्ण कुमार वर्मा ।
इति सम्वत २०५८ साल माघ २ गते रोज शुभम् ...................