शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५३५ - उत्प्रेषण

भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११

निर्णय नं. २५३५    ने.का.प. २०४२      अङ्क ११

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४१ सालको रि.नं. १६०१

विषय : उत्प्रेषण ।

 

निवेदक      :मोरङ       विराटनगर नगर पञ्चायत वार्ड नं.१३ बस्ने सैलेष कुमार अर्याल ।

विरुद्ध

विपक्षी :महानिर्देशक कर विभाग लाजिम्पाट काठमाडौं ।

साना करदाता आयकर निर्धारण समिति मार्फत कर कार्यालय विराटनगर मोरङ ।

आदेश भएको मिति:२०४२।१०।२१।२ मा

     अंशबण्डापत्र पास भई अलगअलग बसी आआफ्नो खति उपति व्यहोरी व्यवहार गरी बसेको अकाट्य प्रमाण पेश गर्दागर्दै सगोलमै बसेको मानी एकै इकाईको ठहराई कर कार्यालय विराटनगरले आयकर निर्धारण गरेको सदर गर्ने गरी कर विभागले गरेको निर्णय समेत कानुन विपरीत हुँदा बदर हुने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरि न्यौपाने

विपक्षी तर्फबाट      : विद्वान सरकारी का.मु.सहन्यायाधीवक्ता श्री प्रमोद विजयी

उल्लेखित मुद्दाःX

आदेश

न्या.सुरेन्द्र प्रसाद सिंहः विपक्षीको ०४०।११।२५ को कर निर्धारण आदेश तथा ०४१।५।६ मा गर्नु भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः कानुन बमोजिम अंश लिई छुट्टिएका म निवेदक र मेरो पत्नीको छुट्टा छुट्टै कर निर्धारण गर्नु भन्ने परमादेशको आदेश समेत जारी गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनमा लिएको जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ ।

२.    यसमा निर्णयतर्फ बिचार गर्दा करदाताको मुख्य जिकिर पति पत्नीले छुट्टा छुट्टै आई विवरण पेश गरेकोमा कानुन बमोजिम छुट्टा छुट्टै रुपमा आयकर निर्धारण गर्नु पर्नेमा सो नगरी एकै ठाउँमा गाभी कर निर्धारण गरिदिएको भन्ने नै देखिन आयो । कर निर्धारण सम्बन्धी फाइलसाथ संलग्न कर निर्धारण सम्बन्धी कागजात अध्ययन गरी हेर्दा निवेदक करदाताले आय विवरणमा देखाउनु भएको र भाडा र पारिश्रमिक आय समेत जम्मा रु. १५,४८०।सम्बन्धमा मिति ०४०।११।२५ मा बसेको साना करदाता आयकर निर्धारण समितिले निवेदक सैलेष अर्याल र श्रीमती निर्मला अर्याल पति पत्नी भएको र पति पत्नी बीच अंशबण्डा भई निजहरू छुट्टिएको भन्ने देखिई प्रमाण पेश भएको भए तापनि वास्तवमा निजहरू छुट्टा छुट्टै बसेको कुरा प्रमाणित नभएको हुँदा श्रीमान श्रीमती संयुक्त बहाल आयमा आयकर निर्धारण गर्ने ठहर गरी कर निर्धारण गरिदिएको देखिन आएकोले उक्त कर निर्धारणलाई वेरीतको भन्न मिलेन तसर्थ कर कार्यालय विराटनगरबाट भएको कर निर्धारण बदर गर्नु पर्ने ठहर्दैन भन्ने समेत व्यहोराको कर विभागका महानिर्देशकले गरेको पर्चा ।

३.    कानुनले अंश लिएर छुट्टै बसेका अवस्थामा दम्पत्ति नमानिने तथ्य प्रष्ट छ । मिति ०३६।३।२९ मा पारित बण्डापत्रले पत्नी निर्मला अर्याल र मेरा बीच अंश लिने दिने कुरा सम्पन्न भएको र सो लिखित पारित हुनुभन्दा अगाडिकै ०३३ साल मार्ग महिना देखि अलग रुपमा बस्दै आएको तथ्य पनि प्रमाणित छ । त्यसकारण दम्पत्ति मान्न नहुने स्थिति प्रष्ट भएकोमा प्रत्यर्थी नं.१ ले आफ्नो निर्णयमा एकातिर छुट्टिएको प्रमाण पेश भएको कुरा मान्नु हुन्छ भने अर्कातिर छुट्टा छुट्टै बसेको कुरा प्रमाणित नभएको कुरा ठहर गर्नु भएकोले उक्त आयकर ऐन, ०३१ को दफा २(त) को परिभाषाको विपरीत भएको प्रष्ट छ । छुट्टै बसेको भन्ने प्रमाणित नभएको भन्ने जुन निर्णयाधार अवलम्बन गर्नु भएको छ सो कुन प्रमाण वा तथ्यले स्थापित गरेको छ भन्ने सम्बन्धमा निर्णय विलकुलै मौन रहेको छ । जबकि अंश लिई भिन्न बसेको एकमात्र अकाट्य प्रमाण बण्डापत्र मात्र हुन्छ जुन प्रमाण पेश भएको तथ्यमा विवाद हैन । यसरी म निवेदकले पेश गरेको बण्डापत्रलाई अवलम्बन नगरिएको परिणाम स्वरुप प्रमाण ऐन, ०३१ को दफा ३ र ५४ को प्रत्यक्ष त्रुटि भएको छ । प्रत्यर्थीको आत्मनिष्ट विचारले प्रेरित भई गरेको निर्णय अ.बं.१८४ नं.समेतको विपरीत छ । अतयव उपयुक्त अनुसार संविधानको धारा १०(१) धारा ११(२)(ङ) एवं १५ द्वारा प्रत्याभूत सम्पत्ति विषयक मौलिक हक कुण्ठीत भएको धारा ५८ द्वारा विनिश्चित कानुन बमोजिम बाहेक कुनै कर नलाग्ने लगाउन नपाइने प्रावधान समेतको उल्लंघन भएकोले अन्य उपचारको अभावमा धारा १६ तथा ७१ अन्तर्गत निवेदन गरेको छु । उत्प्रेषणको आदेशद्वारा प्रत्यर्थी कर कार्यालयको ०४०।११।२५ मा गर्नु भएको आ.ब.०३६।०३७ को कर निर्धारण आदेश र प्रत्यर्थी कर विभागको मिति ०४१।५।६ मा गर्नु भएको निर्णय बदर गरी पुनः कानुन बमोजिम अंश लिई छुटिएका म निवेदक र मेरो पत्नीको छुट्टा छुट्टै कर निर्धारण आदेश गर्नु भन्ने आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन ।

४.    विपक्षीबाट लिखिन जवाफ झिकाई पेश गर्नु भन्ने सिंगल बेञ्जको आदेश ।

५.    यसमा निवेदक सैलेषकुमार र निजकी पत्नी निर्मला छुट्टा छुट्टै बसेका हुन् होइनन् बुझ्न पठाउँदा कर निरीक्षकबाट समेत पेश भएको प्रतिवेदनमा वास्तवमा छुट्टा छुट्टै बसेको नभई एकाघरमा रही सामाजिक, धार्मिक परम्परा व्यवहार समेत साथ गरी आएको भन्ने उल्लेख भएकोतर्फ समेत बिचार गरी एकै इकाई कायम गरिएकोले रिट निवेदन खारेज हुन सादर अनुरोध गर्दछु भन्ने समेत व्यहोराको कर कार्यालय विराटनगरको लिखिन जवाफ ।

६.    यसमा कर निरीक्षकका प्रतिवेदन अनुसार एकै इकाईमा रहे बसेको भनी कर निर्धारण भएको कानुनी संगत नै भएको भन्ने ठहर यस विभागबाट भएकोमा कुनै कानुनी त्रुटि नहुँदा रिट निवेदन खारेज हुन विनम्र अनुरोध गर्दछु भन्ने समेत व्यहोराको कर विभागको लिखिन जवाफ ।

७.    निवेदक तर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री हरि न्यौपानेले र विपक्षी कार्यालयतर्फबाट उपस्थित हुनुभएको विद्वान सरकारी का.मु.सहन्यायाधीवक्ता श्री प्रमोद विजयीले गर्नु भएको बहस समेत सुनियो मुख्यतः निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

८.    यसमा आयकर ऐन तथा कानुन बमोजिम छट्टिएकी मेरी पत्नी र मेरो आय गाभी आयकर निर्धारण भएकोलाई सदर मानी कर विभागले गरेको निर्णय समेत उत्प्रेषणको आदेश जारी गरी बदर गरिपाउँ भन्ने समेत मुख्य निवेदकको निवेदन जिकिर भएको पाइन्छ । सो बमोजिम हुने हो होइन भन्नेतर्फ हेर्दा निवेदक सैलेषकुमार र निज विपक्षी निर्मला अर्याल ०३६।३।२९ मा अंशबण्डापत्र रजिष्ट्रेशन पास गरी छुटिई बसेकोमा कुनै विवाद देखिँदैन । त्यस्तोमा सम्बन्धित आयकर ऐन, ०३१ को दफा २(त) मा हेर्दा दम्पत्तिको परिभाषा दिएको र सम्बन्ध विच्छेद भई अंश भई वा अदालतको निर्णयले मानो छुटाई वास्तवमा छुट्टा छुट्टै बसेमा दम्पत्ति मानिने छैन भन्ने समेत किटानी व्यवस्था भइरहेको देखिन्छ । यस्तो स्थितिमा अंशबण्डापत्र पास भई अलगअलग बसी आआफ्नो खति उपति व्यहोरा व्यवहार गरी बसेको अकाट्य प्रमाण पेश गर्दागर्दै सगोलमै बसेको मानी एकै इकाईको ठहराई कर कार्यालय विराटनगरले ०४०।११।२५ मा आयकर निर्धारण गरेको सदर गर्ने गरी कर विभागले गरेको ०४१।५।६ को निर्णय समेत कानुन विपरीत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब कानुन बमोजिम जो बुझ्नु पर्ने प्रमाण बुझी कानुन बमोजिम आयकर निर्धारण गर्नु भनी कर कार्यालय विराटनगरका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । निर्णयको प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४२ साल माघ २१ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु