शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५४० - जर्वजस्ती करणी

भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११

निर्णय नं. २५४०    ने.का.प. २०४२      अङ्क ११

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४१ सालको फौ.पु.नं. ५२०

मुद्दा : जर्वजस्ती करणी ।

 

निवेदक/प्रतिवादी:जि.कपिलवस्तु सिद्धिपुर गा.पं.वडा नं.४ जितपुर बस्ने सागर प्रसाद श्रेष्ठ ।

ऐ.ऐ वडा नं.२ हरिपुर बस्ने रेशम बम मल्ल ।

ऐ.ऐ बस्ने गणेश उपाध्याय ।

ऐ.ऐ बस्ने वडा नं.४ दुगाह बस्ने कृष्ण बम मल्ल ।

ऐ.ऐ बुची बस्ने दिपन्द्र मल्ल ।

विरुद्ध

विपक्षी/वादी:पूर्ण कुमारी राना मगर्नीको जाहेरीले श्री ५ को सरकार ।

फैसला भएको मिति:२०४२।११।५ मा

     प्रतिवादीहरूको डाक्टरी जाँच गर्दा निजहरूमा कुनै प्रमाणिक चिहृन नपाइएको भन्ने प्रतिवेदन भएकोबाट जाहेरी बमोजिम जबरजस्ती करणी गरेको ठहर गर्न सबूद प्रमाणको आधारमा मिल्ने नदेखिने ।

(प्रकरण नं. २५)

पुनरावेदक, प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

विपक्षी, वादीतर्फबाट:विद्वान सरकारी का.मु.सहन्यायाधीवक्ता श्री राजेन्द्रराज पन्त

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ ।

२.    ०३६।४।७ को रात प्रहरी गस्ती गर्दै जाँदा तौलिहवा बजार स्थित गुल्मेली होटल माथिल्लो तल्लामा गुहार गुहार भनी रोएको शब्द सुनी सो होटेलमा १४ वर्षकी केटी अस्त व्यस्त स्थितिमा ७ जना मानिसहरू नजिकै रहेको सो केटीलाई सोध्दा मलाई यिनीहरूले जबरजस्ती भुई तल्ला देखि माथिल्लो तल्ला बोकी ल्याई जबरजस्ती करणी गरेका हुन् भन्ने कुरा तत्कालै बताएकी हुँदा उक्त मानिसहरूलाई पक्राउ गरी दाखिल गरेको छु भन्ने समेत व्यहोराको ०३६।४।८।३ को प्रहरी मा.नि.मोहन सिं आलेको प्रतिवेदन ।

३.    म कोठामा सुतेको अवस्थामा ७ जना व्यक्तिहरू माथिल्लो तल्लामा सुत्न गएका थिए तिनीहरू मध्ये १ जना राती ११ बजेतिर मलाई जबरजस्ती तल्लो कोठाबाट माथिल्लो कोठामा लगी कसैले हात कसैले खुट्टा समेत समाई पालैपालोसँग मेरो इच्छा विरुद्ध जबरजस्ती करणी गर्दा त्यस्तो व्यक्तिले करणी गर्दाको अवस्थामा म आत्तिई चिच्चाई गुहार गर्दा प्रहरी पुगी जबरजस्ती गर्ने सातै जवानलाई पक्राउ गरी ल्याएकोले मलाई जबरजस्ती करणी गरेकाले निजहरूलाई कानुन बमोजिम कारवाही भई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको पूर्णकुमारी राना मगर्नीको जाहेरी दर्खास्त ।

४.    पूर्णकुमारी राना मगर्नीको र सागरप्रसाद श्रेष्ठ, रेशमबम मल्ल, कृष्णबम मल्ल, दिपेन्द्र मल्ल, गणेश शर्मा, केशवराज अर्याल, दुर्गा सेन, समेतको गुप्ताड्ड जाँच भएको पि.बीर अस्पताल तौलिहवाको ०३६।४।८ को जाँच गरेको प्रतिवेदन ।

५.    २०३६।४।७ गते राती निदाएको अवस्था ढोका घचघच्याएको हेर्दा प्रहरीहरू रहेछन। निज प्रहरीहरू भित्र पसी माथिल्लो तल्लामा गई मैले गाउँ नाउँ नजानेका सातजना र पूर्णमाया समेतलाई लिई मलाई समेत हिंड भनेकोले म समेत प्रहरीकासाथ लागि आएको हुँ भन्ने पदमबहादुर ठकुरीले गरेको प्रहरीको बयान ।

६.    अन्दाजी २ बजे निन्द्राबाट बिउँझी पूर्णकुमारीको कोठामा हेर्दा निजलाई नदेखी माथिल्लो तल्लाबाट रोइरहेको आवाज सुनी ढोका खोली दिएँ प्रहरीहरू माथि कोठामा म समेत गई हेर्दा सातजना पाहुना जागै  थिए र पूर्णकुमारीलाई सोधपुछ गर्दा मलाई तलबाट जबरजस्ती यहाँ ल्याई मेरो इच्छा विरुद्ध सिलभंग गरिदिएका हुन् भन्ने पूर्णकुमारीबाट सुनेकी हुँ भन्ने समेत व्यहोराको मायाकुमारीको प्रहरीमा गरेको बयान ।

७.    ०३६।४।७ गते राती २ अढाई बजेको समयमा गुहार भन्ने आवाज सुनेको हुँ त्यसै अवस्थामा प्रहरीहरू आई केटी र सातैजना समेतलाई पक्री ल्याएको देखेको हुँ भन्ने समेत व्यहोराको ऋषिदास वैरागीले ०३६।४।७ गते प्रहरीमा गरेको बयान कागज ।

८.    सागरप्रसाद श्रेष्ठ, दिपेन्द्र मल्ल, गणेश शर्मा, दुर्गाबहादुर सेन, रेसमबम मल्ल, केशवराज अर्याल, कृष्णबम मल्ल समेतलाई सनाखत गराएको ०३६।४।९ को सनाखत कागज ।

९.    मैले जबरजस्ती करणी गरे गराएको छैन । कसले गरे गराए मलाई थाहा छैन भन्ने समेत व्यहोराको रेसमबम मल्लको प्रहरीमा भएको इन्कारी बयान ।

१०.    मैले जबरजस्ती करणी गरेको छैन भन्ने समेत व्यहोराको सागरप्रसादको ऐ. कागज ऐ. ऐ. व्यहोराको दिपेन्द्र मल्ल र केशवराज अर्याल दुर्गाबहादुर सेनसमेतको इन्कारी कागज । दफा दफाका सरजमीनका व्यक्तिहरूले पृथकपृथक व्यहोराको सरजमीन लेखाई ०३६।४।१२ मा गरेको सरजमीन मुचुल्का ।

११.    अनुसन्धानका सिलसिलामा संलग्न भएको कागजहरूको अध्ययनबाट दुर्गाबहादुर सेनका हकमा सबूद प्रमाण नपुगी मुद्दा चलाउन नसकिने र अरुका हकमा निजहरूले जबरजस्ती करणी गरेको देखिन आएकोले १६ वर्ष मुनिको पूर्णकुमारीलाई करणी गर्ने सागरप्रसाद श्रेष्ठ, रेसमबम मल्ललाई जबरजस्ती करणीको ३ नं.र अरु कृष्णबम मल्ल दिपेन्द्र मल्ल केदारराज अर्याल र गणेश शर्मालाई ऐ. को ४ नं.ले हुने सजायँ हुन र जबरजस्ती करणीको १० नं. अनुसार समेत हुन माग दावी भएको भन्ने समेत व्यहोराको ०३६।४।१५ को प्रहरी प्रतिवेदन ।

१३.   म समेतका साथीहरू तौलिहवाको गुल्मेली होटलमा सुती राखेका थियौं राती हामीहरू निदाई रहेको अवस्थामा प्रहरीहरू आई म समेतका सबैलाई र पूर्णकुमारी समेतलाई प्रहरी थानामा लगी जबरजस्ती करणी गरेको कागज गराएका हुन् । यसमा दिपककुमार डाँका मुद्दामा र रेसमसागर उपरको गाँजा मुद्दामा प्रहरीहरूको केही रीसइवी हुँदा वारदात नभएको कुरा झुठ्ठा दर्खास्त र सनाखत दिलाई यो मुद्दा खडा गरेका हुन् म समेतले पूर्णकुमारीलाई जबरजस्ती करणी गरेको छैन भन्ने समेत व्यहोराको प्र.कृष्णबम मल्लले अदालतमा गरेको बयान ।

१४.   म समेतले पूर्णकुमारीलाई जबरजस्ती करणी गरेको हैन भन्ने प्र.रेसम मल्लको बयान ।

१५.   गाँजा मुद्दाको रीसइवीले हुँदै नभएको वारदात बनाई झुठ्ठा कागज गराएको मात्र हुन झुठ्ठा आरोपबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको केशवराज अर्यालको बयान मैले अपराध नगरेको हुँदा झुठ्ठा आरोपबाट फुर्सद पाउँ भन्ने सागरप्रसाद श्रेष्ठको बयान ऐ. व्यहोराको दिपेन्द्र मल्लको इन्कारी बयान ।

१६.    ऐ. व्यहोरा मिलानकै गणेश शर्माको ऐ. इन्कारी बयान ।

१७.   ०३६।४।७ गते राती म गुल्मेली होटलमा सुतेको थिएँ सोही होटलमा खाना खाई ७ जना व्यक्तिहरू माथिल्लो तलामा सुत्न गएका थिए तिनीहरू मध्ये एकजनाले राती १० बजे तिर मलाई जबरजस्ती तल्लो कोठाबाट माथिल्लो कोठामा लगी पहिलापटक सागरप्रसाद श्रेष्ठले र दोश्रापटक रेसमबम मल्लले जबरजस्ती करणी गरे अरु कसैले हात कसैले खुट्टा समाएका हुन् । पछि म आत्तिई चिच्याई गुहार गर्दा प्रहरीहरू पुगी जबरजस्ती गर्ने ७ जना सातैजना व्यक्तिलाई पक्राउ गरी ल्याए । यसरी मलाई इच्छा विरुद्ध जबरजस्ती करणी गरेकोले निजहरूलाई कानुन बमोजिम कारवाही भई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको पूर्णकुमारीले  अदालतमा गरेको बयान । प्र.साक्षीको बयान मिसिल सामेल रहेछ ।

१८.   जाहेरवालाको भनाई अनुसार यही होटलमा बस्ने पदम ठकुरी र निजको श्रीमतीले समेत कुनै हारगुहार सुनेको भनी भन्न नसकेको समेतबाट यो यसप्रकारको करणी भयो भनी देख्ने र सुन्ने व्यक्तिहरू देखा परेको मिसिल प्रमाणबाट देखिँदैन र होटल बन्द गरी घर गई सकेको यी जाहेरवालालाई के कुन व्यक्तिले बोलाउन पठाएको हो भन्ने कहिं कतैबाट खुलेको देखिँदैन । तसर्थ जबरजस्ती करणी गरेको कुरा कुनै पनि मिसिलमा रहेका प्रमाणबाट समर्थित हुन आएको नदेखिँदा सागर श्रेष्ठ समेतका व्यक्तिहरूले जबरजस्ती करणी गरेको ठहर्दैन भन्ने समेत व्यहोराको शुरु कपिलवस्तु जिल्ला अदालतको ०३८।८।१६ को फैसला । जाहरेवालाको योनीमा पाइएको सेतो पदार्थ चिकित्सकको प्रतिवेदनको समेत यस प्रमाण नहेरी भएको उक्त फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ गरिपाउँ भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतमा दिएको वादी श्री ५ को सरकारको पुनरावेदन ।

१९.    यसमा मौकामा प्रहरीले प्रतिवादीलाई पक्राउ गरेको र घटनाग्रस्त केटीको डाक्टरी जाँचबाट करणीको कुरा स्थापित भएको हुँदा अ.बं.२०२ नं. बमोजिम विपक्षीहरूलाई झिकाई पेश गर्नु भन्ने पश्चिमान्चल क्षेत्रिय अदालतको आदेश ।

२०.   यसमा मिसिल अध्ययन गर्दा घटनाग्रस्त पूर्णकुमारी राना मगरले अदालतमा आई बकपत्र गर्दा प्रतिवादीहरू सागरप्रसाद श्रेष्ठ र रेसमबम मल्लले जबरजस्ती करणी गरेको र अन्य प्रतिवादीहरूले हातगोडा समाएको भनी बयान पत्र गरी दिइएको पाइन्छ । मौकामा बुझिएका ऋषिदास बैरागीले कोही रोएको सुनेको भन्ने देखिन्छ । मायाकुमारी र पदमबहादुरको मौका कागजबाट समेत जबरजस्ती वारदात भएको पुष्ट्याई भएको पाइयो तर मौकामा प्रतिवादीहरूको परीक्षण गराउँदा जबरजस्ती करणी गरेको निस्सा प्रमाण प्राप्त नभएको भन्ने डाक्टरी प्रतिवेदन मिसिल संलग्न छ । घटनाग्रस्त पूर्णकुमारीको शारीरिक परीक्षण गर्दा पनि करणी क्रिया पूरा भएको भन्ने देखिएन । प्रहरीले पक्राउ गरेको अवस्था केटी अस्तव्यस्त स्थितिमा रहेको भन्ने देखिन्छ । यस स्थितिमा जबरजस्ती करणी गरी सकेको ठहर गर्न मिलेन । प्रतिवादीहरूले जबरजस्ती करणीको उद्योग गरेको ठहर्छ । प्रत्यर्थीहरूलाई वर्ष ३ का दरले कैद हुन्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४१।३।१२ गतेको फैसला ।

२१.   सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रत्यवादीहरूले दिएको निवेदनमा यसमा निवेदकहरूलाई जाँच्दा निजहरूमा कुनै प्रमाणिक तत्व चिन्ह नपाइएको भन्ने पि.बीर अस्पताल तौलिहवाको जाँच प्रतिवेदनमा उल्लेख छ । साथै करणी गर्ने उद्योग गरेको कुनै तथ्ययुक्त प्रमाण देखिन आउँदैन । प्रहरी प्रतिवेदन भनी सागरप्रसाद श्रेष्ठ र रेसमबम मल्ललाई बाहेक अरुका हकमा मुलुकी ऐन जबरजस्ती करणीको ४ नं.को दावी लिएकोमा निजहरूलाई जबरजस्ती करणीको उद्योग गरेको ठहराएको पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको डिभिजन बेञ्जको ०४१।७।१५ को आदेश ।

२२.   पुनरावेदक प्रतिवादीहरू तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली र विपक्षी वादी श्री ५ को सरकारतर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी उपन्यायाधीवक्ता श्री राजेन्द्रराज पन्तले गर्नु भएको बहस समेत सुनियो ।

२३.   यसमा मुख्यतः पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको छ छैन सो को निर्णय दिनुपर्ने देखिन्छ ।

२४.   इन्साफतर्फ बिचार गर्दा यसमा ०३६।४।७ गते राती गुल्मी होटेलको तल्लो कोठामा सुतेकोमा राती  ११ बजे म सुतेको ठाउँमा आई एकजनाले मलाई जबरजस्ती माथिल्लो कोठामा लगे त्यस कोठामा अरु मैले नचिनेका ६ जना समेत भई हातखुट्टा समाई दुईजनाले करणी गरेपछि म चिच्याउँदा प्रहरीहरू आई पक्राउ गरी ल्याएको हुँदा कारवाही गरिपाउँ भन्ने पूर्णकुमारी राना मगरनीको जाहेरी दर्खास्त परेको देखियो । मिति ०३६।४।८ मा डाक्टरी जाँचगर्दा निज पूर्णकुमारीको गुप्ताड्डमा लोग्नेमानिसको स्खलित विर्य पाइएकोले निज पूर्ण कुमारीसँग सम्भोग भएको देखिन्छ तर सो बाहेक निजमा अन्य कुनै प्रमाणिक चिन्ह नपाइएको र सागरप्रसाद श्रेष्ठ समेतका ५ जना प्रतिवादीहरूलाई जाँच्दा निजहरूमा कुनै प्रमाणिक चिन्हहरू नपाइएको भन्ने पी.बीर अस्पताल, तौलिहवाको प्रतिवेदनबाट देखिन्छ । प्रतिवादीहरू प्रहरी तथा अदालत समक्ष समेत जबरजस्ती करणी गरेमा इन्कारी रहेको पाइन्छ तापनि गस्ती गर्न गएका प्रहरीहरूले अस्तव्यस्त हालतमा रहेकी पूर्णकुमारी र अन्य सातजना प्रतिवादीहरूलाई एउटै कोठाबाट पक्राउ गरेको देखिन्छ । मौकामा बुझिएका ऋषिदास बैरागीले रातको अन्दाजी २।२½ बजे माथि कोठाबाट रुने कराउने र गुहार भन्ने आवाज आएपछि प्रहरीहरू आए भनी लेखाएको देखिन्छ । मायाकुमारी क्षेत्रीनीले जबरजस्ती करणी गरेमा शंका लाग्छ भनी लेखाएकी छन् भने पदमबहादुरले प्रहरीहरू पुगी पक्राउ गरेपछि पूर्णमायाले मलाई दुईजनाले जबरजस्ती करणी गरे अरुले समाए भनी निजैको मुखबाट सुनेको हुँभनी लेखाएको पाइन्छ ।

२५.   यसप्रकार मिसिल संलग्न कागजातहरूको अध्ययन गर्दा प्रहरीहरूले पूर्णकुमारी समेत ७ जना प्रतिवादीहरूलाई एउटै कोठाबाट पक्राउ गरेकोमा विवाद रहेन । निज पूर्णकुमारी तल्लो तलामा सुतेकीमा आफैं धेरैजना प्रतिवादीहरू रहेको माथिल्लो तलामा जानु पर्ने र स्वेच्छाले गएकी भएपछि रुने कराउने गर्नु पर्ने अवस्था पनि देखिँदैन । तर अस्पताल जाँचको डाक्टरको प्रतिवेदन हेर्दा निज पूर्णकुमारीको गुप्ताड्डमा लोग्ने मानिसको विर्य पाइए तापनि सो बाहेक निजमा अन्य कुनै प्रमाणिक चिन्ह नपाइएको भन्ने उल्लेख भएको देखिन्छ निज पूर्णकुमारीले आफ्नो उमेर १३ वर्ष भनी जाहेरी दर्खास्तमा लेखाए तापनि डाक्टरको प्रतिवेदनमा निजको उमेर १३।१४ वर्ष देखिन्छ । केवल १३।१४ वर्षकी नावालिकालाई निजको भनाई बमोजिम तीनजनाले जबरजस्ती करणी गरेको भए योनीमा कुनै घाउ चोट हुनु पर्ने सो केही देखिएन । प्रतिवादीहरूको डाक्टरी जाँच गर्दा निजहरूमा कुनै प्रमाणिक चिन्ह नपाइएको भन्ने प्रतिवेदन भएकोबाट जाहेरी बमोजिम जबरजस्ती करणी गरेको ठहर गर्न सबूद प्रमाणको आधारमा मिल्ने देखिएन । यस्तो अवस्थामा प्रतिवादीहरूले जबरजस्ती करणी गर्ने उद्योग गरेको ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेकै देखिएकोले सदर हुन्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसीलका कलमहरूमा तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादीहरू देहायका मानिसहरू के माथि इन्साफ खण्डमा लेखिए बमोजिम पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर भएकोले अ.बं.२०३ नं.बमोजिम क्षेत्रीय अदालतले सजायँ गरेको फैसला उपर यो पहिलो तहको पुनरावेदन हुँदा पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको कैद वर्ष ३।को सयकडा १० को दरले जनही ३ महिना १८ दिन थप कैद हुन्छ । लगत कसी असूल गर्नु भनी शुरु कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाउन शुरु का.जि.अ.त.मा लगत दिनु...  .१

प्र.सागरप्रसाद श्रेष्ठके थप कैद तीन महिना अठार दिन ।

प्र.रेशमबम मल्लले ऐ. तीन महिना अठार दिन ।

प्र.गणेश उपाध्यायके ऐ. तीन महिना अठार दिन ।

प्र.कृष्णबम मल्लके तीन महिना अठार दिन ।

प्र.दिपेन्द्र महतके ऐ. तीन महिना अठार दिन ।

मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४२ साल फाल्गुण ५ गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु