निर्णय नं. २५४४ - उत्प्रेषण

निर्णय नं. २५४४ ने.का.प. २०४२ अङ्क ११
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४१ सालको रि.नं.१३८९
विषय : उत्प्रेषण ।
निवेदक :जि.बर्दिया बनियामार गा.पं.वार्ड नं.७ बस्ने तमूराम थारु ।
विरुद्ध
विपक्षी :भू.सु.का.बर्दिया ।
आदेश भएको मिति:२०४२।१०।१४।२ मा
भू.प्र.का.मा दिएको निवेदनबाट मुचुल्का समेत गरी ३५ दिने म्याद सूचना तामेल गरेपछि नामसारी हुने नहुने सम्बन्धमा निर्णय गर्नु पर्नेमा त्यसतर्फ केही नबोली जग्गा जफत हुने भनी गरेको भू.सु.का.को ०३१।६।२० को निर्णय पर्चा कानुन अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस र विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दाःX
आदेश
न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको रिट निवेदन तथ्य एवं जिकिर निम्न प्रकार छन् ।
२. बर्दिया जिल्लामा भू.सु. लागू भएपछि हदबन्दी भन्दा बढी जग्गा भएका जग्गाधनी विष्णुहरी उपाध्यायको नाउँको जग्गा जफत गरी ०२३ सालमा म निवेदकको बाजे कन्है थारु काका माधवप्रसाद थारु निज माधवको छोरा मेरो दाजु नाता पर्ने मामै थारु र मेरो बाबु बुद्यना भन्ने भोलाराम थारु सुकुम्बासी भएकोले तत्कालीन भू.प्र.का. बर्दियाबाट कन्हैले वानियामार गा.पं.वार्ड नं.७क. को कि.नं.४०, ४६, ५० र ५८ को ३–९–५ माधवले ऐ. गा.पं.वार्ड नं.६ को कि.नं.१७५ र वार्ड नं. ७ क. कि.नं.११६, ११८ को २–१९–० सो मैले, ऐ. गा पं वार्ड नं.७(क) कि.नं.११७ को ४–०–० र मेरो बाबु भोलेरामले पनि ४–०–० जग्गा प्राप्त गरी बुझाउनु पर्ने किस्ता चुक्ता गरी सालसालैको मालपोत बुझाउँदै भोग गरी आएकोमा कन्है माधव तथा सोमै ०२९ सालमा परलोक भई अरु कोही नहुँदा नाउँसारी गरिपाउँ भनी निवेदन गरी बयान समेत गर्नु भएको र सोमैको नाउँको जग्गा जफत गरी हाम्रो नाउँमा नाउँसारी गरिपाउँ भन्ने शोमकान्त लम्साल, प्यारेलाल थारु र चिन्कु थारुको भू.प्र.का.मा छुट्टा छुट्टै निवेदन पर्दा भु.सं.ऐन, ०२१ को दफा ८ बमोजिम मोहीले राख्न पाउने हदसम्मको ४–०–० जग्गा विपक्षीले वि.वि.बाट प्राप्त गरी सकेको परलोक हुनेहरूको हकवाला भएको भए हक दावी गर्नु पर्नेमा सो भए गरेको नदेखिँदा १०–८–५ जग्गा विपक्षीलाई जोतकोड गर्न दिनु कार्यक्रमको दृष्टिकोणले औचित्यपुर्ण नहुँदा जफत गर्नु पर्ने ठहर्छ, भन्ने मुख्य आधार दर्शाई निर्णय पर्चा गरियो । पर्चा हुँदा म नाबालख हुँदा थाहा भएन ०४१।५।२७ मा नक्कल लिई थाहा भयो ।
३. हकवालामा विवाद नभएको अवस्थामा परलोक हुने कन्है समेतले प्राप्त गरेको जग्गामा के कति कारणले बाबा भोलेराम थारुका नाममा नामसारी नहुने हो उक्त पर्चामा उल्लेख छैन । नामसारी गरिपाउँ भन्ने माग दावीमा कुनै निर्णय नै नगरी आधार नदेखाई गरिएको निर्णय ज.प.को २ नं. को साथै ने.का.प.२०३९ नि.नं.१५९७ पृष्ठ १६ को विपरीत भई त्रुटिपूर्ण छ । पर्चामा एकातिर भोलेराम थारु बाहेक अरु कोही हकवाला नभएको स्वीकार गरिएको छ भने परलोक हुनेहरूको हकवाला भए दावी गर्नु भन्ने निर्णय पर्चामा उल्लेख गरी आफैंमा विरोधाभाष भई त्रुटिपूर्ण छ । उक्त जग्गा मोहीको हैसियतले प्राप्त गरेको नभई भूमिहीन (सुकुम्वासी) भएको ले भू.सं.ऐन को दफा २(क) बमोजिम जग्गावाला भएकोमा विवाद हुन सक्तैन ऐ. ऐनको दफा ८ को हदबन्दी कायम गरी जग्गा जफत गरिनु भू.सं.ऐनको मनसाय विपरीत हो । अतः माथि उल्लेख गरे बमोजिम भू.सु.का.को उक्त निर्णय पर्चाबाट कानुनी तथ्य संविधानको धारा १०(१), ११(२)(ङ) तथा १५ द्वारा प्रदत्त मौलिक हकमा आघात परेकोले अन्य उपचारको बाटो नहुँदा धारा १६।७१ अन्तर्गत निवेदन गर्न आएको छु उपयुक्त आदेश जारी गरी भू.सु.का.को ०३१।६।२० को निर्णय पर्चा बदर गरी प्राप्त हकहरू संरक्षण तथा प्रचलन गरिपाउँ भन्ने रिट निवेदन जिकिर ।
४. यसमा के कसो भएको हो विपक्षी कार्यालयबाट लिखिन जवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत सिंगल बेञ्जको मिति ०४१।७।५।१ को आदेश रहेछ ।
५. उक्त जग्गाको हकवालाको हक दावी समेत नभएको भनी भू.सं.ऐन, ०२१ को दफा ८ बमोजिम मोहीले राख्न पाउने हदसम्मको ४–०–० जग्गा विपक्षीले वि.वि.मा प्राप्त गरी सकेको र परलोक हुनेहरूको हकवाला भएको भए हकदावी गर्नु पर्नेमा सो भए गरेको नदेखिँदा १०–८–५ जग्गा विपक्षीलाई नै जोत भोग गर्न दिनु कार्यक्रमको दृष्टिकोणले औचित्यपुर्ण नहुँदा जफत गर्नु पर्ने ठहर्छ भनी यस कार्यालयबाट मिति ०३१।६।२० मा निर्णय भएको मिसिलबाट देखिने हुँदा निज भोलेराम थारुले पाउनु पर्ने ४ विगहा समेत जग्गा प्राप्त गरी सकेको र निजको हक खाने कोही नभएको नदेखिने हुँदा विलम्बको आधारमा निजको रिट निवेदन खारेज हुनुपर्ने देखिने हुँदा सोही बमोजिम अनुरोध भन्ने समेत भु.सु.का.बर्दियाको लिखिन जवाफ रहेछ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदकको तर्फबाट तारेखमा रहेका वा.अरविन्दकुमार वर्मालाई बेञ्चबाट पटक–पटक नाम पुकार गर्दा समेत उपस्थित हुन नआएका र रिट निवेदक तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस तथा विद्वान अधिवक्ता श्री शिवराज अधिकारी तथा प्रत्यर्थी कार्यालयको तर्फबाट बहसको लागि उपस्थित हुनुभएको विद्वान सरकारी सह–न्यायाधीवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
७. प्रस्तुत विषयमा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
८. यसमा रिट निवेदक तेमूराम थारुका बाबु भोलेराम थारुले भू.प्र.का.बर्दियामा बनिया भार गा.पं.वार्ड नं.७ को कि.नं.११७ को ४–०–० जग्गा आफ्नो नाउँमा नामसारी गरिपाउँ भनी उजूरी निवेदन दिएकोमा त्यस सम्बन्धमा केही निर्णय नहुँदै निज भोलेराम थारुको मृत्यु भएको र त्यसपछि निजको नाबालख छोरा निवेदक बालीग भएपछि प्रस्तुत रिट निवेदन दिएको भन्ने रिट निवेदनबाट देखिन्छ । निज भोलेराम थारुको मृत्यु भएको छैन अथवा कहिले भएको भन्ने कुरा प्रत्यर्थीको लिखिन जवाफबाट खुलेको पाइँदैन । विलम्ब गरी रिट निवेदन पर्न आएको भन्ने प्रत्यर्थी तर्फको लिखिन जवाफ तथा विद्वान अधिवक्ताले लिनु भएको जिकिरको सम्बन्धमा हेर्दा निज भोलेराम थारुको मृत्युपछि निजको नाबालख छोरा बालीग भएपछि प्रस्तुत रिट निवेदन पर्न आएको सम्बन्धित फाइल प्रमाणबाट देखिँदा विलम्ब गरी आएको भन्ने जिकिरसँग सहमत हुन सकिएन ।
९. निज भोलेराम थारुको ०३०।५।२८।५ मा निजको बाबु कन्है थारु समेतको मृत्यु भइसकेको हुँदा आफ्नो नाउँमा नामसारी गरिपाउँ भनी भू.प्र.का.वर्दियामा परेको निवेदनमा भू.प्र.का.बाट परलोक हुनेहरूको हकवालाको नाउँमा मिति ०३०।७।१४ मा मुचुल्का समेत गरी ३५ दिने म्याद सूचना तामेल भई अन्य हकवालाको हक दावी समेत नभएको भन्ने भू.प्र.का.बाट भएको मिति ०३१।६।२० को फैसलामा उल्लेख भएको र उक्त मिति ०३०।७।१४ को मुचुल्का मिसिल सामेल रहेको देखिन्छ । त्यस जग्गा सम्बन्धमा सोभाकान्त समेतको निवेदन परेकोमा भू.प्र.का.बर्दियाबाट ०३१।६।२० मा भएको निर्णय हेर्दा शोभाकान्त लम्साल समेत वादी भोलेराम थारु प्रतिवादी भई जग्गा जफत गरिपाउँ भन्ने मुद्दाको नामाकरण गरी विवादको जग्गा जफत गर्ने निर्णय गरेको पाइन्छ । उक्त निर्णयमा भोलेराम थारुले जग्गा नामसारी सम्बन्धमा दिएको निवेदन समेत एकैसाथ राखी उक्त निर्णय भएको तर नामसारी हुने नहुने भन्ने सम्बन्धमा निर्णय भएको पाइँदैन ।
१०. तसर्थ तत्कालीन भू.प्र.का.मा भोलेरामले दिएको निवेदनबाट मुचुल्का समेत गरी ३५ दिने म्याद सूचना तामेल गरेपछि नामसारी हुने नहुने सम्बन्धमा निर्णय गर्नु पर्नेमा त्यसतर्फ केही नबोली जग्गा जफत हुने भनी गरेको भू.सु.का.को ०३१।६।२० को निर्णय पर्चा कानुन अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ । विपक्षी कार्यालयको जानकारीको लागि यो आदेशको एकप्रति साथै राखी म.न्या.का.मा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४२ साल माघ १४ गते रोज २ शुभम् ।