शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५४५ - ज्यान

भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११

निर्णय नं. २५४५    ने.का.प. २०४२      अङ्क ११

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४१ सालको फौ.पु.नं.५८२

मुद्दा : ज्यान ।

 

पुनरावेदक/वादी:बाग्लुङ जिल्ला सर्कुवा गा.पं.को पत्रले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी:बाग्लुङ,जिल्ला सर्कुवा गा.पं.वार्ड.नं.८ विनासारे बस्ने लक्ष्मीदत्त उपाध्याय ।

ऐ. माझा रुम्टा बस्ने पूर्णकला पाध्यनी ।

फैसला भएको मिति  :२०४२।११।१६।५ मा

     अभियुक्तहरूको अदालतको बयान समेतबाट अपराध भएको कुरालाई प्रमाणद्वारा सिद्ध हुन आएको कुरालाई पन्छाई अभियुक्तहरूको अदालतको बयानलाई प्रमाण नलगाई क्षेत्रीय अदालतले निर्णयमा पुग्ने जुन प्रयास यस मुद्दामा गरेको छ, त्यसलाई प्रमाणको मूल्याङ्कन गर्ने सही तरीका हो भन्न नसकिने ।

(प्रकरण नं. २३)

वादी तर्फबाट:विद्वान मुख्य न्यायाधीवक्ता श्री केदार प्रसाद शर्मा

विपक्षी तर्फबाट      :विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोलाः पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन तथा मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् : पूर्णकला र लक्ष्मीदत्त पाध्या बीच अनुचित सम्पर्क रहेछ ०३८।३।३ गते पूर्णकला सुत्केरी भएको थाहा भई लक्ष्मीदत्त समेतलाई जोडी सोधपूछ गर्दा पूर्णकलाले मरेकोबच्चा जन्मेकोछ लगी थन्काउनु पर्‍यो भनेकीले दैलामुनी खाडलखनी गाडी दिएको हुँ भनी लक्ष्मीदत्तले भनेकाले निज जना दुई उपर शंका गरी समाजले मौखिक  उजूर गरेकोले अनुसन्धान गरिदिनु हुन जानकारी गराएको छु भन्ने समेत व्यहोराको सर्कुवा गा.पं.को जानकारी पत्र ।

२.    ०३७।१०।९ गते रजस्वला भएको थियो त्यसको ५ दिन हुँदा लोग्ने मद्रासबाट घर आई सोही रातीदेखि सम्भोग हुँदै आएको सोही समयबाट गर्भ रहन गएछ । ५ महिना पछि मुटु खाने बिमारले ०३८।३।३ बिहान ९ बजे बच्चा पैदा भयो । छोरा घाँस काट्न गएको थियो । लक्ष्मीदत्त घाँस काट्न हिंडेका रहेछन बोलाई खाल्टो खन्न लगाई बच्चा मैले नै गाडेकी हुँ । गाउँलेले शंका गरी उक्त ठाउँमा खनी हेर्दा देखेनछन र उजूर दिएका हुन भन्ने पूर्णकलाको कागज र ततिम्बा गराउँदा मेरो गोकुल र विष्णुले आमाले जिउँदो पाई लक्ष्मीदत्तले माडमुड पारी मारे भनी झुठ्ठा कुरा भनेका हुन भन्ने व्यहोराको ०३८।३।१३ र ०३८।३।३१ गते प्र.पूर्णकलाले प्रहरीमा गरिदिएको ततिम्बा बयान समेत कागज ।

३.    ०३८।३।३ गते बिहान घाँस काट्न हिंडेकोमा पूर्णकलाको छोरा गोकुसले डाकेकोले गएँ । पूर्णकलाले जुठेला मुनि खाल्डो खन्देउ भनी भनेकीले खन्तिले खाल्डो खनी आफ्नो काममा हिडें । २, ३ दिन पछि समाज भेला भई मलाई तेरै गर्भ हो भनी भने मैले होइन भन्ने समेत व्यहोराको बयान ततिम्बा गराउँदा ०३७ साल कार्तिकको अन्त्यतिर गते बार याद छैन निज पूर्णकलासँग करणी लेनदेन भयो । त्यसपछि पनि १०।१२ पटक करणी भयो । गर्भ रहेछ । ०३०।३।३ गते बिहान जुठेल्ना छेउ खाडल खनी दिएको थिएँ । अरु कुरा मलाई थाहा छैन । बच्चा मार्न मेरो सहमति छैन भन्ने समेत व्यहोराको लक्ष्मीदत्तको ०३८।३।१२ र ०३८।३।३० गतेको ततिम्बा समेत बयान ।

४.    आषाढ ३ गते पूर्णकलाले गर्भ पतन गरेको कुरा थाहा पाई ऐ. ४ गते गाउँले समाज जम्मा भई समाज मध्येका एकजना व्यक्तिले लक्ष्मीदत्तलाई एकान्त लाँदा विराएँ चुकियो भन्छ जसको त्यसलाई बनाउने भनी पूर्णकलालाई लक्ष्मीको घरतर्फ लगी लक्ष्मीकै धन्सारमा लगी राखियो बेलुकी खाना खान पूर्णकलालाई निजकै घरमा पठाइयो । भोलिपल्ट ५ गते पनि छलफल गर्ने भन्ने गाउँ समाजको निर्णय भएकोले गाउँ समाज प्रधानपञ्च समेत आई पूर्णकलालाई कुरा के हो भनी सोधनी गर्दा मैले मेरै लोग्नेको ४ महिनाको डाँग्रेको चल्ला जस्तो रातो डल्ला जन्माई खोलामा फ्यांकेको हुँ भनेकी र लक्ष्मीदत्तलाई सोध्दा असार ३ गते घाँस काटी पूर्णकलाको तगारो नजिक आउँदा पूर्णकलाको जेठो छोराले बोलाई जाँदा पूर्णकलाले मरेको बच्चा जन्मेको छ थन्क्याउ भन्दा ५ बजे आई थन्क्याउँछु भनी घर गएँ, बेलुकी ५ बजे आएर केशधारा मुनि खाडल खनी पूर्णकलाले कपडाले छोपी बच्चा बलेनीमा ल्याई दिइन् मैले लगी दबाएको हुँ भनेको हुँदा प्रधानपञ्च समेत ९०।१०० जना आई लक्ष्मीले केराघारी मुनि खोज्दा बच्चा फेला नपरी पूर्णकलाले राती लुकाई छ छैन भनेका र प्रधानपञ्च समेतले फेरी पूर्णकलालाई सोध्दा मैले गण्डकीमा राति लगी बगाई दिएँ भनेकी र त्यसपछि समाजको अगाडि आई गर्भ लक्ष्मीको हो मरेको बच्चा जन्मेको थियो । लक्ष्मीलाई बचाउँछु भनेर गाडेको बच्चा गण्डकीमा लगी फाली दिएको हुँ भनेकीले पञ्चायतद्वारा उजूर भएको हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का दफा १ देखि ४ सम्म जना १५ को एकैमिलानको सरजमीन र आषाढ ५ गतेका दिन घटनास्थल नजिक चौतारामा मानिस जम्मा भई लक्ष्मी र पूर्णकलालाई सोधपुछ हुँदा मारिस भनी सावित नभएका करणी लेनदेनतर्फ लक्ष्मीदत्त सावित पूर्णकलाको अस्पष्ट शब्द लक्ष्मीदत्तले मलाई निर्जिव बच्चा दिएको हुन् सो बच्चा घरकै समिप केरागाज मुनि खाडल खनी गाडेको हुँ भनेकी र सो ठाउँमा गई हेर्दा लाश पत्ता नलागेको हुँदा गा.पं.तर्फबाट रिपोर्ट जाहेर भएको कसैको भनाइमा माघ महिनामा पूर्णकलाको लोग्ने लकुनाथ देश देखि घर आएन कार्तिकको मासिक रोकावटले माघमा ४ महिना गर्भ हुनु पर्ने लोग्नेलाई शंकास्पद हुनु पर्ने खारखेर गर्नु  मर्ने जातक सम्बन्धमा मारेको शंका लाग्दैन किनभने पूर्णकला र लक्ष्मीदत्तको हाडनाता नलाग्ने हुँदा मारेमा शंका लाग्दैन भन्ने समेत सरजमीनका दफा ५ को ललितवीर हमाल समेतको व्यहोरा भएको सरजमीन मुचुल्का ।

५.    जिउंदो जन्मिएको बच्चालाई थिची मार्ने लक्ष्मीदत्तलाई मु.ऐन ज्यानसम्बन्धीको १३ नं.को देहाय ३ र मार्न दिने पूर्णकलालाई सोही १३ नं.को देहाय ४ अनुसार सजायँ हुन दावी माग गरी प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

६.    ०३७।१०।१३ गते लोग्ने परदेशबाट घरमा आउनु भएको मलाई माघ ९ गते रजश्वला भएको थियो लोग्ने आएकै रातदेखि सहबास भयो । फाल्गुण २ गते लोग्ने मद्रास जानु भयो । ०३७ साल माघको रजश्वालापछि गर्भ रहेछ । ०३८।३।३ गते गर्भ पतन भयो । लक्ष्मीदत्तलाई बोलाउन पठाई निजले खाल्टो खनी घर गए । पतन भएको गर्भ उक्त खाल्टोमा गाडी दिएँ । सरजमीनले झुठ्ठा बकेका हुन् भन्ने समेत व्यहोराको ०३८।४।४ मा पूर्णकलाले वा.जि.अ.मा गरेको बयान ।

७.    ०३७ पौषको आखिरमा बेलुका पूर्णकलाको घरमा गई निजको लोग्नेलाई चिठ्ठी लेखिदिए पछि केटाकेटी सुती सकेपछि दुवैको मनसायले करणी भयो । पछि पनि बराबर करणी भइराख्थ्यो । ०३८।३।३ गते पूर्णकलाले एउटा खाल्टो खनीदेउ भनेकोले केराघारीमा खाल्टो खनी दिएर घर गएँ, पछि गोकुल शर्मा समेतले मैले मारेको हुँ भनी किनभने सरजमीनका मानिसले मैले नभनेको कुरा किन लेखिदिए उनै जानून भन्ने समेत व्यहोराको प्र.लक्ष्मीदत्त पाध्याले ०३८।४।४ मा वा.जि.अ.मा गरेको बयान ।

८.    प्रहरी प्रतिवेदन दावी अनुसार अनुचित सम्पर्कबाट गर्भ धारण गरेमा र जिउँदो बालक जन्मेको र कर्तव्य गरी मारेको भन्ने कुरामा पूर्णकला प्रारम्भ देखि नै इन्कार रहेकी साक्षीहरूले सफाई दिएको तथा पूर्णकलाले जिउँदो बालक जन्माएको र आफूले कर्तव्य गरी मारेमा प्र.लक्ष्मीदत्त प्रहरीमा समेत इन्कार रहेको निजहरुको इन्कारी यो यस कुराबाट झुठ्ठा जिकिर हो भन्न सकिने आधारभूत कुराको बिलकूल अभाव देखिन्छ । निर्णय नं. १३०९ इन्द्रबहादुरको जाहेरीले श्री ५ को सरकार वि.गंगादेवी आचार्य भएको बालहत्या मुद्दा समेतमा प्रतिपादित सिद्धान्तसँग मिल्ने वस्तुस्थिति भएको प्रस्तुत मुद्दामा अभियुक्तहरूले सफाई पाउने हुँदा  प्रहरी प्रतिवेदन दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको वा.जि.अ.को ०३८।११।८ को फैसला ।

९.    प्रतिवादीहरूलाई सफाई दिने गरी गरेको बाग्लुड्ड जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकार मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।

१०.    ५ महिनाको गर्भ पतन भएको प्र.लक्ष्मीदत्त र पूर्णकला समेतले स्वीकार गरेको चस्मदिद गवाह विष्णुप्रसाद र गोकुलप्रसादले प्रहरीमा गरेको कागज हेर्दा ०३८।३।३ गते दिउँसो बच्चा रोइरहेको   थियो । आमाले भाइलाई मामा लक्ष्मीदत्तलाइ बोलाई ल्याउ भनेकोले निज लक्ष्मीदत्त आई जातक बच्चा काखमा लिई मुसार पुसार पारी घाँटी अठ्यायो । घाँटी अठ्याउँदा बच्चा सारै चिरियो पछि रुन छोड्यो भनी बकेको पाइन्छ । सो व्यहोरालाई समर्थन गरी अदालतमा पनि बकी दिएको पाइन्छ । यस्तो स्थितिमा शुरुको इन्साफ फरक पर्ने भएबाट विपक्षीहरु झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।१०।२२।१ को आदेश ।

११.    नाबालख गोकुल शर्मा विष्णुप्रसादको बकपत्रको आधारमा ठहर गर्न नमिल्ने लोग्ने लन्कुनाथले मिलापत्र गरी पूर्णकलालाई स्वास्नी कायम गरी सकेको छ । लाश बरामद भएको छैन । डाक्टरहरूको प्रतिवेदनबाट पूर्णकलाको जाँचबाट अप्राकृतिक सुत्केरी भएको छैन । ५ महिनाको जातक जन्मेको हुनसक्ने सम्भावना देखिएको छ । गोकुल शर्मा वर्ष १०  को र विष्णुप्रसाद १३ को नाबालख भन्ने देखिन्छ । नाबालखको कथनलाई खुबै होसियार साथ केलाउनु पर्ने हुन्छ । ति नाबालखका बकपत्र अन्य कागजातबाट समर्थित भएको छैन । प्र.हरू इन्कारी रहेको देखिन्छ । यस स्थितिमा प्र.हरूलाई सफाई दिने गरेको बाग्लुड्ड जि.अ.को इन्साफ मनासिव छ भन्ने समेत पश्चिमान्चल क्षेत्रिय अदालतको मिति ०४०।१०।२२।१ को फैसला ।

१२.   उक्त फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन पत्रमा ५ महिनाको गर्भ पतन भएको गाडेमा प्रतिवादी पूर्णकला सावितै भएको देखिन्छ । पूर्णकलासँग करणी गरेमा र खाडल खनेमा प्र.लक्ष्मीदत्तले स्वीकार गरी बयान गरेको पाइन्छ । चस्मदिद देख्ने ०३८।३।३ गते आमाले बच्चा पैदा गरे आमाले भाइलाई बोलाई पल्लाघरे मामालाई बोलाई ल्याउ भने भाइले लक्ष्मीदत्तलाई बोलाई ल्याए । यो के गर्ने हो भनी आमाले बच्चालाई लक्ष्मीदत्तको हातमा दिइन् लक्ष्मीदत्तले बच्चालाई मुसार पुसार गरी घाँटीमा अठ्यायो । त्यसपछि रुन छाड्यो र राती केराको झाङमुनी खाल्टो खनी पुरेको भनी पूर्णकलाको छोरा विष्णुप्रसाद शर्माले किटानी बकपत्र अदालतमा गरेको देखिन्छ । सो बकाइबाट बच्चा जिउंदो जन्मेको भन्ने समेत देखिन्छ यस्तोमा प्र.हरूलाई सफाईदिने गरेको पश्चिमान्चल क्षेत्रिय अदालतको निर्णय मिलेको नदेखिँदा छलफलको लागि अ.बं.२०२ नं.र स.अ.नियमावली बमोजिम प्रतिवादी पूर्णकला र लक्ष्मीदत्तलाई झिकाई आएपछि नियम बमोजिम पेशगर्नु भन्ने यसअदालत डि.बेञ्चको मिति ०४२।५।२८।६ को आदेश ।

१३.   वादी श्री ५ को सरकार तर्फका विद्वान मुख्य न्यायाधीवक्ता श्री केदार प्रसाद शर्माले सबूद प्रमाणको मिसिल संलग्न छँदाछँंदै प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफ मिलेन उक्त इन्साफ उल्टी हुनुपर्छ भन्ने र विपक्षी प्रतिवादी पूर्णकला तर्फका विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्माको क्षेत्रीय अदालतले कुनै कानुनी त्रुटि गरेको नदेखिँदा उक्त इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

१४.   प्रस्तुत मुद्दामा प.क्षे.अदालतबाट गरेको फैसला मनासिव बेमनासिव के रहेछ निर्णय दिनु परेको छ ।

१५.   यसमा प्रमाणैर्वस्तु परीक्षणं न्यायःअर्थात विभिन्न प्रमाणको सहायताले वस्तुत्व (यहाँ अपराध) परीक्षा गर्नु न्याय हो । यो हाम्रो पूर्वी न्याय प्रणालीको प्रमाण सम्बन्धी मूल सिद्धान्त हो । यस सिद्धान्तलाई प्रमाणको मूल्याङ्कन गरी न्याय गर्ने जुनसुकै पद्धतीले पनि मान्नु पर्दछ । मानेकै पनि छ । तर प्राप्त प्रमाणको मूल्याङ्कन कसरी र कुन तरीकाले गरिन्छ त्यसमा नै सत्य तथ्यमा पुग्ने कुरा भर गर्दछ । प्रमाणको ठीक मूल्याङ्कन भएन भने न्याय यकीन हुन सक्तैन ।

१६.    लास बरामद भएको छैन । ५ महिनाको जातक जन्मेको हुनसक्ने सम्भावना देखिएको छ । गोकुल शर्मा वर्ष १० को र विष्णुप्रसाद १३ को नाबालख भन्ने देखिन्छ । नाबालखको बकपत्र अन्य कागजातबाट समर्थित भएको छैन । यस स्थितिमा प्रतिवादीहरूलाई सफाई दिने गरेको वाग्लुङ जिल्ला अदालतको इन्साफ मनासिव छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतले ठहर गरेको देखिन्छ ।

१७.   प्रतिवादी पूर्णकला र लक्ष्मीदत्तले प्रहरी र अदालतमा के कस्तो बयान गरेका रहेछन भनी हेर्दा जातक जन्मेको र खाडल खनी जातक गाडेको कुरामा दुवै अभियुक्तहरू प्रहरीमा सावित छन् ।

१८.   अदालतमा आई बयान गर्दा पनि पूर्णकला पाध्यानीले सवाल ५ को जवाफमा छोराले लक्ष्मीदत्तलाई खन्ति दिएछ र खाल्टो खनी दिएर घर गएछन । छोराले खन्ति ल्याएपछि मबाट पतन भएको मृतक छोराछोरी केही नछुटिएको हुँदा के हो भनी हेरिन स्यानो जालो  भित्र डल्लो हुँदा सो हातले समाई लगी कान्छो छोराले खाल्टो देखाई दिएर केराको घारी मुनि बारीमा रहेछ र तँही राखी पुरी दिएको हुँभन्ने समेत साविति बयान गरेको (तायदाती फा.नं.२८) र लक्ष्मीदत्त पाध्यायले सवाल ५ को जवाफमा म पूर्णकलाको घरमा जान छाडे पछि पूर्णकलाले पनि बोलाइनन् म पनि गइन एक्कासी ०३८ साल आषाढ ३ गते बिहान घाँस काटी अं.९ बजे तिर घर जाँदा खेतबाट आउँदै थिएँ बाटोबाट पूर्णकलाको कान्छो छोराले बोलाएको हुँदा किन रहेछ भनी जाँदा पूर्णकला घरको सिकुवामा बसेकी रहेछ किन बोलाएको भन्दा एउटा स्यानो खाल्टो खनिदिनु पर्‍यो भनिन् र मैले घरको पश्चिमपट्टि केराको घारीमा केटाले खन्ती दिएको हुँदा खाडल खनी दिएर म घरतिर गएँ भोलिपल्ट मानिस जम्मा भएर मलाई सोधपुछ गरे मैले बच्चा पनि देखिन खाल्टोसम्म खनी दिएको हुँ भनी अदालतमा समेत साविति भई बयान गरेको (तायदाती फा.नं.२९) देखिन्छ ।

१९.    पूर्णकलाको नाबालख छोराहरूले प्रहरी र अदालतमा आई बकपत्र गरेका छन् । वर्ष १३ को विष्णुप्रसादले अदालतमा बकपत्रगर्दा (तायदाती फा.नं.४१ मा) लक्ष्मीदत्तले प्रतिवादीलाई बोलाई ल्यायो । किन हो भन्दै लग्क्ष्मीदत्त घरभित्र पस्यो र भाइ र म समेतले आमा बसेको देखिने ठाउँमा बसेका थिए । बच्चा रोइरहृयो यो के गर्ने हो भनी आमाले बच्चालाई लक्ष्मीदत्तको हातमा दिइन । लक्ष्मीदत्तले हातमा बच्चा लिई मुसुक्क हाँस्यो र बच्चालाई मसार मुसुर गरी घाँटीमा अठ्यायो । त्यसपछी बच्चा रुन छोड्यो । त्यस बच्चालाई भुइँमा राख्यो त्यसपछि आमाले गुन्द्रीमा बेरी जति कुनामा राखिन् र अब के गर्ने भनी आमाले लक्ष्मीदत्तलाई भन्दा अ‍ैले जताततै बारीमा खोलाहरू छन् राती बेलुका आएर गाडौंला भनेर बाहिरतिर निस्केर गयो अनी राती बत्ती बाल्ने बेलामा आयो भनी भाइ गोकुललाई कान्छा खन्ती लेरा भनी भन्यो अनी भाइले खन्ती दियो र घरदेखि पर केराको झाङ मुनि खाल्टो खनी सकेपछि मेरी आमा पूर्णकलाले मारेको बच्चा घरको डिलसम्म निकाली लक्ष्मीदत्तलाई दिइन् र लक्ष्मीदत्तले लिएर गए र खुट्टा उँदो टाउको माथि गरी राख्यो बच्चाको अनुहार राम्रो सेतो थियो बच्चाको रौं उँदो फर्किएको थियो सो बच्चालाई ढुङ्गा माटोले पुर्‍यो । कान्लाको झारले छोप्यो आफू आयो भाइलाई खन्ती राख भनी दिई आफू लक्ष्मीदत्त घरतर्फ गयो । भन्ने र वर्ष ११ को गोकुलप्रसादले पनि दाजु विष्णुप्रसादको माथीको बकपत्र मिलानको बकपत्र गरेको देखिन्छ । निजको बकपत्र दाजु मिलानकै हुँदा दोहोर्‍याई रहनु पर्ने अवस्था छैन । यसरी अभियुक्तहरूले अदालतमा आई गरेको साविति बयानलाई विष्णुप्रसाद र गोकुलप्रसादले पूर्ण समर्थन गरी बकपत्र गरेका छन् ।

२०.   यस प्रकृतिको मुद्दामा क्षेत्रीय अदालतले जम्मा जम्मी २ प्रश्न उठाएको छ । पहिलो प्रश्न हो लास बरामद भएको छैन भन्ने र दोश्रो प्रश्न हो नाबालख विष्णुप्रसाद र गोकुलप्रसादको बकपत्र अन्य कागजातबाट समर्थित भएको छैन ।

२१.   अब यिनै दुवै प्रश्नलाई बिचार गरौं । लास बरामद नहुँदैमा कर्तव्य ठहर गर्न मिल्दैन भन्न मिल्दैन । लासगाडिएको भन्ने कुरामा दुवै प्र.को अदालतकै बयानले पनि पुष्टी गरेकोछ । त्यतिनै तथ्य पर्याप्त छ । त्यसमा पनि नाबालखहरूको बयानले त्यस तथ्यलाई अझ बढी पुष्टी गरेको छ । त्यस कारण लासतर्फ शङ्का गर्ने कुनै ठाउँ नै छैन । तसर्थ लाश बरामद नभएको भन्ने तर्क सरासर भ्रमपूर्ण र गलत छ ।

२२.   दुवै अभियुक्तले जातक जन्मेको र गाडेको भन्ने कुरा स्वीकार गरेको भएपछि र त्यसै तथ्यलाई साक्षीहरूले पुष्टी गरेपछि पर्याप्त हुनु पर्नेमा क्षेत्रीय अदालतले नाबालकका बकपत्र अन्य कागजातबाट समर्थित नभएको भनी प्र.पूर्णकला र लक्ष्मीदत्तले प्रहरी र अदालतमा गरेको बयानलाई मान्यता नदिएबाट निजहरूका साविति बयानलाई पनि क्षेत्रीय अदालतले पन्छाउन खोजेको देखिन्छ । यसरी बयान अथवा बकपत्रलाई  अदालतले पन्छाउन मिल्दैन । माथि उल्लेख गरिएका प्रतिवादीहरुको बयान र साक्षीहरूको बकपत्रले एकअर्कालाई समर्थन गरेको भएपछि कर्तव्य भएको भन्ने कुरामा शङ्का रहेन ।

२३.   अब यो कर्तव्य कसबाट भयो भन्नेतर्फ बिचारगर्दा पूर्णकलाको प्रहरी र अदालतको बयानबाट जातक लक्ष्मी दत्तको हातमा परेको भन्नेकुरामा कुनै शङ्कादेखिँदैन । यसकुरालाई विष्णुप्रसाद र गोकुलप्रसादको बयानले पनि पुष्टी गरेको मात्र होइन कि जातक लक्ष्मीदत्तको हातमा पर्नु भन्दा अघि रुँदै थियो र लक्ष्मीदत्तले घाँटी अठ्याएपछि जातक रुन छोड्यो भन्ने कुरा स्पष्ट रुपले देखिन आएको छ अर्थात जातकको मृत्यु लक्ष्मीदत्तको हातबाट भयो भन्ने कुरा निर्विवाद सिद्ध हुन आएको छ । यसप्रकार अभियुक्तहरूको अदालतको बयान समेतबाट अपराध भएको कुरालाई प्रमाणद्वारा सिद्ध हुन आएको कुरालाई पन्छाई अभियुक्तहरूको अदालतको बयानलाई प्रमाण नलगाई क्षेत्रीय अदालतले निर्णयमा पुग्ने जुन प्रयास यस मुद्दामा गरेको छ । त्यसलाई प्रमाणको मूल्याङ्कन गर्ने सही तरीका हो भन्न सकिन्न तसर्थ प्रमाणको मूल्याङ्कन प्रस्तुत मुद्दामा भएन भन्नु पर्दछ यस किसिमको प्रमाणको मूल्याङ्कनलाई प्रमाणको अनुचित प्रयोग भएको भनी मान्नै पर्दछ छोटकरीमा यसलाई प्रमाणा मैसरपराधावरणं नः न्याय्भनिन्छ ।

२४.   माथि विवेचना गरिएका कुराहरूबाट क्षेत्रीय अदालतले प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफ नमिलेको हुँदा उल्टी हुने ठहर्छ ।

२५.   अब प्रतिवादीहरूलाई के कस्तो सजायँ गर्नु पर्ने हो भन्नेतर्फ बिचार गर्दा प्र.लक्ष्मीदत्तले घाँटी अठ्याई जातकको हत्या गरेको प्रमाणित हुन आएकोले निजलाई प्रहरी माग दावी बमोजिम ज्यानसम्बन्धीको १३ नं.को देहाय ३ नं.बमोजिम जन्मकैदको सजायँ हुने ठहर्छ । प्र.पूर्णकलाले जातक मार्ने कुराको मत सल्लाहमा पसी जातकको हत्या आफ्नो सामुन्नेमा हुन दिएको देखिएबाट निजलाई ज्यान सम्बन्धीको १७ नं.को देहाय ३ नं.बमोजिम ६ महिना कैद सजायँ हुने ठहर्छ । तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु जिल्ला अदालत तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टी भएकोले शुरु वाग्लुङ्ग जि.अ.को मिति ०३८।११।८।६ को फैसलाले र क्षे.अ.को फैसलाले सफाई दिने ठहराएको लगत काटी दिनु भनी बागलुङ जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु........१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी लक्ष्मीदत्त पाध्याके ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद हुने भएकोले जन्मकैदको लगत कसी असूल गर्नु भनी बाग्लुड्ड जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...२

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी पूर्णकला पाध्यानीलाई ज्यानसम्बन्धीको १७ को देहाय ३ बमोजिम ६ महिनाको कैदको सजायँ हुने ठहर भएकोले प्रतिवादी पूर्णकला पाध्यानीके मिति २०३८।३।१२ देखि प्रहरी थाना वलेबामा हिरासतमा रही ०३८।९।१६।५ देखि छुट्कारा भएको भनी वागलुड्ड कारागार शाखाको पत्रबाट देखिनाले निज अभियुक्त पूर्णकला पाध्यायनीले थुनामा बसी ६ महिना भुक्तान गरिसकेको देखिँदा केही गरी रहनु परेन, भनी वागलुड्ड जिल्ला अदालतमा लेखी पठाउनु भनी का.जि.अ.त. मा लगत दिनु.....३

पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी भएकोले मुख्य न्यायाधीश श्री प्रचण्डराज अनिलको र न्यायाधीश श्री मोहनबहादुर श्रेष्ठको उल्टी रिकर्ड राख्न स.अ.प्रशासन शाखालाई जनाउ दिनु.........४

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४२ साल फाल्गुण १६ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु