निर्णय नं. २५४७ - जग्गा हक कायम

निर्णय नं. २५४७ ने.का.प. २०४२ अङ्क ११
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४१ सालको दे.पु.नं.६५२
मुद्दा : जग्गा हक कायम ।
पुनरावेदक/वादी:जि.काठमाडौं नगर पंचायतवडा नं.१७ ठहिटी बस्ने लक्ष्मी दास मानन्धर ।
विरुद्ध
विपक्षी/प्रतिवादी:ऐ. ऐ. बस्ने जनक राज मानन्धर ।
फैसला भएको मिति:२०४२।९।२५।५ मा
तथ्ययुक्त सबूद प्रमाणको अभावमा विवादित जग्गामा हक कायम हुन नसक्ने ।
(प्रकरण नं. १२)
पुनरावेदक, वादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल
विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दाःX
फैसला
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्राप्त भई पेश भएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. पूर्व म आफ्नै घर पश्चिम हाल शान्ति शिक्षामन्दिर जानेबाटो उत्तर विपक्षीको चोक दक्षिण सडक यति ४ किल्ला भित्रको जग्गामा घर बनाउन पाउँ भनी विपक्षीले का.नगर पंचायतमा दर्खास्त दिंदा सो जग्गा विपक्षीहरूको होइन मेरो भोगचलन भित्रको जग्गा हो भन्ने समेत मैले प्रतिवाद गरेपछि नगर पंचायतबाट ०३७।११।१४ मा हक बेहकमा अदालतमा जानु भनी सुनाएकोले सुनाएको म्यादसम्म विपक्षीले फिराद नगर्नु भएकोले आफ्नो ठहराउन फिराद दिएको छु विपक्षीले उक्त जग्गामा हक पुगेको प्रमाण दिन नसकेको घर र जग्गाको भौतिक स्थितिबाट स्वबासी घर लिग लगापातको रुपमा भोग गरी आएको भन्न नमिल्ने हुँदा मेरो घरसंगै जोडिएको मुख्य पाखा फर्केको बलेनी खस्ने ठाउँ भएको त्यसतर्फ झ्याल समेत भएको कारणले मेरो घरको लिग लगापात जग्गा भन्ने कुरा प्रष्ट हुन आउँछ । १९९९ मा म्युनिसिपल्टीमा घर बनाउन नक्शा दर्खास्त गर्दा नारायण मानन्धरले पश्चिम किल्ला न्हुछेनारायणको भनी लेखेकोमा अष्टमायाको उजूरी परी झुठ्ठा नक्शा दिएको ठहरी जरिवाना समेत भई बदर भइसकेकोलाई आधार बनाई आफ्नो घर अगाडिको जग्गालाई मात्र आफ्नो भन्नु पर्नेमा सोदेखि दक्षिणपट्टिको मेरो घरसँग जोडिएको मेरो जग्गालाई समेत आफ्नोमा समावेश गर्ने दुष्प्रयास गरेको प्रष्ट हुन आउँछ । उल्लिखित का.नगर पंचायतवार्ड नं.१७ कि.नं. ६४१ को ०–०–१–२ जग्गामा विपक्षीले जबरजस्ती नक्शा पास बेगर घर बनाएको नगर पंचायत बाट भत्काउने नै हुँदा जग्गामा मेरो हक कायम गरी विपक्षीलाई कानुन बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको लक्ष्मणदास मानन्धरको फिरादपत्र।
३. वादी दावीको जग्ग परापूर्वदेखि मेरो हक भोगको स्वबासी जग्गा हो । घर पसल बनाउन पाउँ भनी ०३२।५।४ मा का.नगर पंचायतमा दर्खास्त गरेको छु । त्यसमा विपक्षीले ०३२।५।१६ मा उजूर पनि दिनु भएको छ । विपक्षीको जग्गा खिचोला गरेको भए कानुनका म्यादभित्र अदालतमा उजूर गर्न सक्नु पर्ने सो गरेको छैन । कि.नं.७४१ को उक्त जग्गामा ०३३।१२।२३ गते नक्शा बमोजिम मेरो टहरा घर बनी सकेको कुरा न.प.का.इन्जीनियरको प्रतिवेदनबाट पनि देखिन्छ विपक्षीको पिता नारायण मानन्धरले १९९९।१२।१७।३ मा ब्लक नं.१२/५७३ को घर जमीनसम्म भत्काई घर बनाउन म्यूनिसिपल्टीमा दिएको नक्शा दर्खास्तमा छिडी तल्लामा पश्चिम न्हुछेनारायणको घर जाने बाटो र पश्चिम किल्ला न्हुछेनारायणका जग्गा भनी उल्लेख गर्नु भएको छ । पैतृक परम्परागत हकबाट उक्त जग्गा मेरो भएको र आफ्नो बाबुले नक्सापास दर्खास्त गर्दा विवादित जग्गालाई मेरो बाजे न्हुछेनारायणको जग्गा भनी उल्लेख गरेको हुँदा अब विपक्षीले अन्यथा भन्न मिल्दैन । ०२७।६।२७ को गोरखापत्रमा अधिग्रहण हुने उक्त जग्गा उल्लेख गर्दा पूर्व साँध मेरो चोक भनी उल्लेख गरेको छ फिराद लाग्न नसक्ने हुनाले खारेज गरी विपक्षीका दावीबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको जनकराजको प्रतिउत्तरपत्र ।
४. १९९९ सालमा नारायणमानन्धरले म्यूनिसिपल्टीमा दिएको दर्खास्तमा पश्चिमकिल्ला न्हुछेनारायण मानन्धरको जग्गा भन्ने उल्लेख भएकोले वादी पक्षले प्रतिवादी भएको हकको कुरालाई स्वीकार गरेको पाइन्छ, वादी दावीको न.नं.७ कि.नं.६४१ को जग्गामा वादीको भोग पुग्न सक्ने नदेखिएकोले हक कायम गरिपाउँ भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट ०३७।११।१५ मा भएको फैसला ।
५. सो फैसलामा चित्त बुझेन बदर गरी दावी बमोजिम हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको वादीले बा.अं.अ.मा दिएको पुनरावेदन पत्र ।
६. न.नं.४ को लक्ष्मीदासको घरदेखि पश्चिम उत्तर न्हुछेनारायणको घर जग्गा देखिएको हाल झगडा जनिएको न.नं.७ को जग्गा १९९९ सालमा म्यूनिसिपल्टीमा वादीका बाबु नारायणदासले दिएको दर्खास्तबाट पश्चिम उत्तर किल्ला न्हुछेनारायणको रहेछ भन्ने प्रष्ट देखिएको विवादित न.नं.७ को जग्गा वादीको साँध मिलेको भन्ने हकमा वादीको न.नं.४ को घरको पश्चिम पट्टिबाट आवत जावत गर्ने बाटो ढोका समेत छेकिने भएको र सो जग्गामा बनेको धारो प्र.ले नै उपभोग गरेको भन्ने कुरामा वादी सावितै देखिँदासमेत शुरु इन्साफ मनासिव ठहर्छ भन्नेसमेत बा.अं.अ.बाट ०३९।५।७ मा भएको फैसला ।
७. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदनमा अनुमति प्रदान गरिएको छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्जबाट भएको ०४१।१।११ को आदेश ।
८. वादी लक्ष्मीदासले आफ्नु हकभोगको भन्नु र सो को कुनै प्रामाणिक सबूद देखाउन नसक्दा विवादग्रस्त न.नं.७ को जग्गा वादी कायम हुन नसक्ने हुँदा वादी दावी झुठ्ठा ठहराएको काठमाडौं जिल्ला अदालतको इन्साफलाई सदर गरी निर्णय गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिव देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।।२४ को फैसला ।
९. उक्त फैसलामा चित्त बुझेन भनी वादीको यस अदालतमा परेको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४२।१०।२ को आदेश ।
१०. पुनरावेदक वादी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालले वादीको घरको पश्चिमतर्फ घरसँग जोडिएर रहेको विवादित जग्गा न.नं.७ को जग्गातर्फ झ्याल समेत भएको स्वबासी वादीको भागमा रहेको सो नं.नं. ७ को जग्गा वादीको नै हुँदा प्रतिवादीको ठहराई गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको छैन सो निर्णय बदर हुनु पर्दछ भन्ने र विपक्षी तर्फबाट रहनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले १९९९।१२।१७ गते वादीको बाबु नारायण मानन्धरले घर बनाउन नक्शा पासको दर्खास्त दिंदा पश्चिम किल्ला न्हुछेनारायण लेखेको छ न्हुच्छेनारायण भनेको प्रतिवादीको बाजे हो । १९९९ सालमा नै प्रतिवादीको बाजेको जनिएको जग्गा वादीको हुन नसक्ने हुँदा क्षेत्रीय अदालतको इन्साफ सदर हुन पर्दछ भन्ने बहस गर्नु भयो ।
११. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रिय अ.दालतको निर्णय मिले नमिलेको के हो सोतर्फ निर्णय दिनुपर्ने हुन आएको छ ।
१२. यसमा निर्णयतर्फ हेर्दा मिति २०३८।९।२२ मा जिल्ला अदालतबाट भएको नक्सामा पूर्व न.नं.४ वादी लक्ष्मीदास मानन्धरको घर पश्चिम न.नं.६ शान्ति शिक्षा मन्दिर जाने बाटो उत्तर न.नं.२ प्रतिवादी जनकराजको घर नं.न.३ प्रतिवादीकै जग्गा भएको र झगडा जनिएको न.नं.७ कि.नं.६४१ को जग्गा वादीले मेरो घरसँग जोडिएको बलेनी खस्ने त्यसतर्फ झ्याल समेत भएको जग्गामा हक कायम गरिपाउँ भन्ने वादी दावी देखिन्छ तर वादीका पिता नारायण मानन्धरले मिति १९९९।१२।१७।३ मा न.नं.४ मा घर बनाउन नक्शा पासको लागि म्यूनिसिपल्टीमा दर्खास्त दिंदा पश्चिम न्हुच्छेनारायण प्रतिवादीको बाजेको जग्गा भनी उल्लेख गर्नु भएको देखिन्छ । यसरी हाल विवादित न.नं. ७ को जग्गा १९९९ सालमा नै वादीको बाबुले प्रतिवादीको बाजेको जग्गा भनी स्वीकार गरेको पाइन्छ । वादीले उक्त विवादित न.नं.७ को जग्गा आफ्नै स्वबासी भोगको हो भन्ने सबूद प्रमाण पेश गर्न सकेको पनि देखिँदैन । अतः १९९९ सालमा नै प्रतिवादीको बाजे न्हुच्छेनारायणको जग्गा भनी वादीको बाबुले स्वीकार गरेकोलाई हाल वादीको हो भन्ने तथ्ययुक्त सबूद प्रमाण देखिँदैन भौतिक स्थितिबाट पनि वादीको न.नं.४ घरको पश्चिमतर्फ विवादित न.नं.७ को जग्गातर्फ डण्डी भएको झ्याल मात्र भएको । तर प्रतिवादीको घर जग्गासँग जोडिएको उक्त विवादित न.नं.७ को जग्गामा आउने बाटो समेत भएको देखिन्छ । उक्त विवादित जग्गामा भएको धारा प्रतिवादीले प्रयोग गरेको भनी वादी सावित भएको पाइन्छ । अतः वादीको तथ्ययुक्त सबूद प्रमाणको अभावमा विवादित न.नं.७ को जग्गामा हक कायम हुन नसक्ने वादी दावी झुठ्ठा ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको इन्साफलाई सदर गरी निर्णय गरेको बागमती अञ्चल अदातलको इन्साफलाई सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिव देखिन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी राखी पुनरावेदन दर्ता भएको देखिँदा पुनरावेदक वादीलाई केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४२ साल पौष २५ गते रोज ५ शुभम् ।