निर्णय नं. २५५० - अंश दपोट

निर्णय नं. २५५० ने.का.प. २०४२ अङ्क ११
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४१ सालको दे.पु.नं.७८४
मुद्दा : अंश दपोट ।
पुनरावेदक/वादी:जि.बारा प्र.खे.बुहनपुरी गा.पं.वार्ड नं.१ बस्ने महन्त प्रसाद तेली ।
विरुद्ध
विपक्षी/प्रतिवादी:ऐ.ऐ.कलैया आ.गा.पं. वार्ड नं. ५ हाल कलैया नगर पंचायतवडा नं.५ बस्ने रामलखन शाहको मुद्दा सकार गर्ने सुगिया तेलीन ।
फैसला भएको मिति:२०४२।१०।१८।६ मा
अंश मुद्दा परी कारवाहीको सिलसिलामा फाँटवारी पेश गर्दा फाँटवारीमा नखुलाई दबाए छपाएको भन्ने वादी दावी जिकिर भएपछि सो सम्बन्धमा आवश्यक सबूद प्रमाण बुझी निर्णय गर्नु पर्नेमा सो नगरी अंश दपोट परिभाषा भित्र नपरेको भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको देखिएन ।
(प्रकरण नं. ११)
प्रमाण बुझी फाँटवारी पेश गर्दा दबाएको देखिन आएमा दपोट ठहर्ने र दबाएको देखिन नआएमा दपोट नठहर्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक, वादीतर्फबाट:विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री पिताम्बर प्रसाद सिलवाल
उल्लेखित मुद्दाःX
फैसला
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ ।
२. रामलखन बुढाबाबु र बाबुलाल जेठा बाबु हुनुहुन्छ उहाँहरू र कान्छा बाबु रामबाबु, श्यामबाबु, राधेबाबु, बद्रिबाबुको अंश हुने कुरा भई २०२०।१।१ मा घरसारमा बण्डा गरी उक्त बण्डापत्र २०२०।३।२७ मा पारित भएको २०२०।१।१ गते सम्मको नगद जिन्सी भोगबन्धकी लगानीको तायदाती लिई ७ भागको १ भाग दिलाई पाउँ भनी मुद्दा दिई विपक्षी रामलखनले २०२८।१।२३ मा र बाबुलालले २०२८ आषाढ महिनामा भोगबन्धकी नगदी जिन्सीको लगानी भनी दिएको फाँटवारीमा भएको यथार्थ फाँटवारी नदिएको र फाँटवारीमा नलेखाइएको कपाली थैलीहरू समेत रु.१,७७,१४९।२० दबाए छपाएकोमा विपक्षीलाई कानुन बमोजिम गरी दबाए छपाएको भोगबन्धकी कपालीको सम्पत्ति रु.१,७७,१४९।२० एकलौटी खान पाउने गरी दिलाई पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र ।
३. कुन कलम भोगबन्धकी र कुन कलम कपाली थैली हो सो खुलाई यकीन दावी गर्न नसकेको र बण्डा भएको २०२०।१।१ गते भन्दा अघिको देखिएको २, ३ कलम बाहेक अरुको १० वर्ष हदम्याद पनि नाघिसकेको र दिनुपर्ने हक हिस्सा नदिएको भए के कति नदिएको नपाएको हो त्यसतर्फ ऐन बमोजिम नालेश गर्नु पर्ने र विपक्षी समेतको मूल बण्डापत्र नै बदर गराई पाउँ भनी यो फिराद दावीबाट ठहर गर्न समेत नमिल्ने हुँदा कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको प्र.रामलखनको प्रतिउत्तर जिकिर ।
४. वादी लेखबाटै बण्डा हुँदा रहेकै शर्त तमसूकी नगदी जिन्सी भोगबन्धकीको जग्गामा परेको थैली समेत असामीले बुझाउन ल्याएको बखत दामासाहीले सबै अंशियारलाई बुझाउने शर्त भएको भन्ने देखिएकै छ भन्ने समेत व्यहोराको प्र.बाबुलालको प्रतिउत्तरपत्र ।
५. तायदातीमा उल्लेख नभएका लिखतहरू प्रतिवादीले दबाएछपाएको देखिँदा फिराद दावी बमोजिम वादीले एकलौटी खान पाउने ठहर्छ भन्ने समेत शुरु बारा जि.अ.को ०३९।१।२० को फैसला ।
६. उक्त इन्साफ उल्टाई बदर गरी सुफत न्याय पाउँ भन्ने समेत जिकिरको प्र.बाबुलालको र प्र.सुगिया तेलिनसमेतको बेग्लाबैग्लै मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्नआएको पुनरावेदन पत्र ।
७. बण्डापत्रले हक प्रदान गरी भाग पाए बमोजिम असामीबाट भरी पाउने कलममा कानुनको म्यादभित्र दावी गरी नालिश दिए ठहरे बमोजिम हुने नै हुँदा अंश दपोटको परिभाषा भित्र पर्न नआएको प्रस्तुत नालेसबाट भरी भराउ गर्न नमिल्ने हुँदा वादी दावी नपुग्ने ठहर्छ । फिराद दावीबमोजिम वादीले एकलौटी खान पाउने ठहर्याएको शुरु बारा जि.अ. को इन्साफ उल्टी हुन्छ भन्ने म.क्षेत्रीय अदालतको मिति २०४०।१०।१९ को फैसला ।
८. उक्त फैसलामा चित्त बुझेन भनी वादी महन्तप्रसाद तेलीको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा वादीको फिराद दवाए छपाएको भनी परेकोमा त्यसतर्फ सबूद प्रमाण बुझी निर्णय गर्नु पर्नेमा क्षे.अ.ले गरेको देखिएन । अतः क्षे.अ.को निर्णयमा अंशबण्डाको २७ नं.को त्रुटि देखिएको र त्यस्ता त्रुटि सार्वजनिक महत्वको समेत देखिँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत डिभिजन बेञ्जको मिति २०४०।११।२४ को आदेश ।
९. पुनरावेदक वादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले अंश मुद्दामा रामलखन र बाबुलालले २०२८ सालमा पेश गरेको फाँटवारीमा नदेखाएको नगदी, जिन्सी, भोगबन्धकी कपाली थैलीहरू समेत रु.१,७७,१४९।२० विपक्षीले दबाए छपाएको हुँदा वादीले एकलौटी खान पाउने गरी निर्णय हुनु पर्दछ क्षेत्रीय अदालतको अंश दपोटको परिभाषा भित्र नपरेको भन्ने निर्णय मिलेको छैन भन्ने र प्रत्यर्थी तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवालले भोगबन्धकी, कपाली थैली कुन कति भनी स्पष्ट खुलाउन नसकेको र बण्डापत्र हुँदा कपाली थैलीहरू धेरैजसो १० वर्षे हदम्याद नाघी सकेको २०२०।३।२७ को बण्डापत्रले नै असामीले बुझाउन ल्याउँदा ७ भागको १ भाग पाउने हुँदा र फाँटवारी पेश गर्दा दवाए छपाएको नहुँदा वादी दावी खारेज हुनु पर्दछ भन्ने बहस गर्नु भयो ।
१०. यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिले नमिलेको के रहेछ भन्नेतर्फ निर्णय दिनुपर्ने हुन आएको छ ।
११. यसमा निर्णयतर्फ हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदक वादी महन्तप्रसाद तेली र विपक्षी प्रतिवादी बाबुलाल शाह तेली बीच यसै अदालतबाट मिलापत्र भएको हुँदा सोतर्फ बिचार गर्नु परेन । यीनै वादी प्रतिवादी बीच २०२०।३।२७ मा पारित भएको बण्डापत्र अनुसार अबण्डा रहेका नगदी जिन्सी ७ भागको एक भाग दिलाई पाउँ भन्ने अंश मुद्दा चली लिइएको फाँटवारीमा विपक्षी प्रतिवादीहरूले भोगबन्धकी, कपाली थैलीहरू दबाए छपाएको भन्ने वादी दावी जिकिर पाइन्छ मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा बण्डापत्रले हक प्रदान गरी भाग पाए बमोजिम असामीबाट भरी पाउने कलममा कानुनको म्यादभित्र दावी गरी नालेश दिए ठहरे बमोजिम हुने नै हुँदा अंश दपोटको परिभाषा भित्र पर्न नआएको भन्ने उल्लेख भएको पाइन्छ । अंश मुद्दा परी कारवाहीको सिलसिलामा फाँटवारी पेश गर्दा फाँटवारीमा नखुलाई दबाए छपाएको भन्ने वादी दावी जिकिर भएपछि सो सम्बन्धमा आवश्यक सबूद प्रमाण बुझी निर्णय गर्नु पर्नेमा सो नगरी अंश दपोट परिभाषा भित्र नपरेको भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको देखिएन । प्रमाण बुझी फाँटवारी पेश गर्दा दवाएको देखिन आएमा दपोट ठहर्ने र फाँटवारी पेश गर्दा दबाएको देखिन नआएमा दपोट नठहर्ने स्थिति हुन्छ । अतः मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय कानुन अनुरुप नहुँदा बदर गरिदिएको छ । प्रमाण बुझी ऐन बमोजिम इन्साफ गर्नु भनी हाजिर रहेका पक्षहरूलाई तारेख तोकी मिसिल मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४२ साल माघ १८ गते रोज ६ शुभम् ।