शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५५२ - प्राचिन मूर्ति स्थानान्तरण

भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११

निर्णय नं. २५५२    ने.का.प. २०४२      अङ्क ११

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४१ सालको फौ.पु.नं.५७४

मुद्दा : प्राचिन मूर्ति स्थानान्तरण ।

 

पुनरावेदक/प्रतिवादी:भ.पु.नगर पंचायतवडा नं. १३ बस्ने चाँगुनारायण स्थानको पुजारी कृष्ण धरानन्द राजोपाध्याय ।

विरुद्ध

विपक्षी :श्री ५ को सरकार, जि.प्र.का.भक्तपुर ।

फैसला भएको मिति:२०४२।११।८।४ मा

      बस्तु रहेको ठाउँमा एकजना मात्रको पहुँच नभई पुजारीलाई मद्दत गर्ने व्यक्ति पनि जान आउन सक्ने र राखिएको माल माटाको भाँडामा रहेको हुँदा पुनरावेदकलाई त्यत्तिकै आधारमा मात्र अभियोग बमोजिमको कसूर गरेको ठहर्‍याउन नमिल्ने ।

(प्रकरण नं. २४)

पुनरावेदक/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल

विपक्षी/वादी तर्फबाट :विद्वान सहन्यायाधीवक्ता श्री प्रेमबहादुर विष्ट

उल्लेखित मुद्दाःX

फैसला

न्या.हरगोविन्द सिंह प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् : ०३८।१।२४।२ गते श्री चाँगुनारायण स्थानमा भडेलको पालो फेराउन गएकोमा पुजारीको पनि पालो फेरिने दिन परेको र साविक पालोवाला पुजारीले श्री नारायणका स्थान भित्रको घ्याम्पा भित्र रही राखेको नवरत्न जडान भएको मुकुट थान २ नभएको भनी खलवल गर्न लागेकोले गई कुरा सुनेपछि मुचुल्का उठाई यसै रिपोर्टसाथ दाखिलगर्न ल्याएको छु । नियम बमोजिम कारवाही हुन अनुरोध गर्दछु भन्ने रामचन्द्र फुयाँलले गुठी लगत तथा तहविल कार्यालयमा चढाएको रिपोर्ट।

२.    चाँगुनारायण स्थानमा रहेको नवरत्न, हिराजडित अं.२४।२५ तोला सुनको मुकुट सहित मुहार २ मध्ये १ जिर्ण भएको र १ तयारी अवस्थाको समेत त्यस स्थानमा नभएको भन्ने पुजारी वंशीधरानन्दको जाहेरी पर्न आएकोले पुरातात्विक कलात्मक वस्तु बदनियतमा त्यहाँबाट हटाई कसूर गरेको देखिन आएको र कसूर गरेमा सम्बन्धित पुजारीहरू र पालो बस्ने भडेलहरूकै गफलत देखिने हुँदा आवश्यक कारवाही गरिदिन अनुरोध गरिन्छ भन्ने समेतको गुठी लगत तथा तहविल कार्यालयको पत्र ।

३.    पुजाहारीले पालो फेर्दा कुनै लिखित रुपमा बुझारथ हुने गरेको छैन । तर मौखिक रुपमा भने मन्दिर भित्र के कस्ता चिज वस्तु छन् भन्ने कुरा बुझाउनेले  बुझ्नेलाई १।१ गरी बुझाई देखाई दिने चलनबाट त्यसप्रति पुजारीको पनि जवाफदेही भएको मान्नु पर्ने र मन्दिरको मूल ढोकाको ताला र साँचो भडेल जिम्मा हुने भएकोले भडेलहरूको पनि जवाफदेही हुने भन्ने मलाई लाग्छ । मैले ०३७ साल बैशाखमा पालो बुझ्दा श्री नारायणका मुहार सहितको मुकुटहरू मौजूद थिए । हाल आएर उल्लिखित मुहारहरू के कारणले त्यहाँ पाइएनन् र नयाँ मूर्ति कसले कसरी ल्याएर राखिदियो । म भन्न सक्दिन अपराध पत्ता लाग्न नआएसम्म मेरो जवाफदेही हुने कुरामा म सहमत छु भन्ने व्यहोराको कृष्णधरानन्द राजोपाध्यायको कागज ।

४.    यही गएको बैशाख सुदि २ का दिन पालो फेरिने दिन परेकोले श्री चाँगुनारायणको मुकुट थान २ हराएको भनी पुजारी कृष्णधरानन्द र पुजारी वंशीधरानन्दको छोरा चक्रधरानन्द समेत भई हामीको सामुन्ने तपाइले देखाउन ल्याई मुचुल्का गराएको श्री नारायणको मुकुट कस्ले लगेको हो भन्ने कुरा मलाई थाहा छैन । पुजारी, भडेल बाहेक अरुद्वारा घटना हुन सक्दैन भन्ने समेत व्यहोराको कृष्ण कुमार भडेलको कागज ।

५.    मैले श्री चाँगुनारायण मन्दिरको ढोकाको साँचो ताल्चाको पालो अनुसार जिम्मा लिई खोल्न लगाउन र ढुकुटी बाहिरको लगतमा लेखिएको माल वस्तुहरूको जिम्मा समेत लिई काम गर्नु पर्छ । पुजारीले पालो बदल्दा श्री नारायणको हिरारत्न जडित मुकुट सहितको सुनको मुहार तयारी एक र सुनको जिर्ण मुहार एक समेत थान २ हराएको भनी पालो बुझ्ने पुजारीले भनेका र त्यस ठाउँमा अर्को श्री नारायणको सानो मूर्ति राखी दिएको रहेछ भनी कृष्णधरानन्दले हातमा ल्याई देखाएका थिए । मुहारहरू को कसले के कसरी लगे वा ठाउँमा नै गरेको कारण निज पुजारीहरू नै जान्लान मलाई थाहा छैन भन्ने समेत व्यहोराको कान्छा भडेल भन्ने असलबहादुर भडेलको कागज ।

६.    भडेल नाइके कृष्ण कुमार भडेलको घर खानतलासी गर्दा मुकुटहरू फेला नपरेको भन्ने पुजारी कृष्णधरानन्द राजोपाध्याय बसेको सतल घरमा खानतलासी गर्दा मुकुटहरू फेला नपरेको धरानन्दको आमाको भ.पु.नगर पंचायतवा.नं.१३ मा भएको घर खानतलासी गर्दा मुहारहरू फेला नपरेको भन्ने समेतको मिति ०३८।२।९ मा भएको भिन्दा भिन्दै खानतलासी मुचुल्का ।

७.    पुजारी कृष्ण धरानन्द बस्ने गरेको सतल घरको टुडालमा भएको पोका माथि सबले शंका गरी हेर्नु पर्छ भनेकोले सल्लाह अनुसार लक्ष्मीभक्त श्रेष्ठले टुडालमा भएको पोका काटी ल्याई फुकाई हेर्दा सुनको मुहार देखिएकोले मुहारलाई सुरक्षासाथ राखी पुजारी समेत जि.प्र.का.भ.पु.जि.मा खबर गर्न गएका हुन् भन्ने समेत व्यहोराको ०३८।२।१९ को घटनास्थल प्रकृति मुचुल्का तथा बरामदी मुचुल्का ।

८.    घ्याम्पा भित्रको मुहार कसले सट्टापट्टा गर्‍यो को कसको पालामा यस्तो काम भयो सो मलाई थाहा छैन हाल फेला पर्न आएको मुहार को कसले राख्न ल्याएको हो सो पनि मलाई थाहा छैन भन्ने समेत व्यहोराको चक्रधरानन्द राजोपाध्यायको कागज ।

९.    चाँगुनारायण मन्दिरमा बाजा बजाएर आआफ्नो घर जाने हुनाले देउता हराए सम्बन्धमा कसले कसरी लग्यो मलाई थाहा छैन, पुजारी भडेलको पालो फेर्दा देव देउता हराए भनी पालो नफेरेकोले देउता हराए भन्ने सम्म थाहा पाएको हुँ अरु थाहा छैन भन्ने समेत व्यहोराको ०३८।२।२६।२ को सरजमीन मुचुल्का ।

१०.    कृष्ण कुमार भडेलले बाहुन बाहुन मिले झमेला नहुने लगतमा नभएको भनी भनेको पुजारीकै घरमा बिना बहाल डेरा गरी बसेकोले निज तिनैजनाले यो घटना गरेको होइन भन्न नमिल्ने भई पुजारी कृष्णधरानन्द राजोपाध्याय, नाइके कृष्ण कुमारभडेल र साँचो पालो असलबहादुर भडेल समेतले प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा १३ को उपदफा १ अनुसार पुरातत्व सम्बन्धमा कलात्मक वस्तु राखिएको  स्थानबाट सारी अपराध गरेकोले सोही ऐनको उपदफा ५ बमोजिम सजायँ होस भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

११.    जि.प्र.का.भ.पु.मा ०३८।२।५ गते भएको कागज बयान व्यहोराको हकमा मेरो राजिखुसीबाट भने अनुसार लेखिएको ठीक छ । आरोप अनुसारको कुनै कसूर मैले गरेको छैन । मूर्ति मैले झिकी हराएको समेत होइन । कसले हराई ल्याई झुण्ड्याई राखे मलाई थाहा छैन । पालो फेर्दा हामी दुईजना पुजारीमा साविकवालाले हालवालालाई पालो बुझाउँदा मन्दिरको दक्षिण पूर्व कुनामा रहेको तामाको ढकनी भएको माटाको घ्याम्पो भित्र रहेको सानो तामाको कन्तुरमा दुइटा सुनको मुकुट सहितको मुहार बुझाउने गर्नु पर्छ र साथै पूजा गर्ने नारायणको मूर्ति एक र दश अवतार देखाउने गरेको थान दश सामान तथा सत्यनाग भन्ने नाग एक समेत देखाई पालो लिने दिने गर्नु पर्छ । मेरो यस विषयमा कुनै जवाफदेही छैन । दाखिल हुन आएको मुकुटको कुनै लगत छैन । भडेलले मुकुट रहेको घ्याम्पो चाँही छुन्छ, त्यसकारण छुन हुने हो कि नहुने हो म केही भन्न सक्दिन भन्ने समेत व्यहोराको ०३८।३।१।२ को बा.वि.अ.मा कृष्णधरानन्द राजोपाध्यायको ततिम्बा बयान ।

१२.   २०३८ साल बैशाख २४ गते भडेलको पालो फेर्ने दिन थियो सो दिनमा म नाइके भएकोले उपस्थित भएको थिएँ उस दिन चलनी गहना, भाँडाहरू साविकवाला भडेल कान्छा भन्ने असलबहादुरले हाल पालोवाला भडेल पूर्णनारायण भडेललाई लगत बमोजिम मालसामान रुजु भएपछि पुजारी कृष्णधरानन्द र वंशी धरानन्दको पनि पुजारी पालो फेर्ने दिन उस दिन परेको थियो चलनी गहनाहरु रुजु भइसकेपछि पुजारी बंशीधरानन्दका छोरा चक्रधरानन्द राजोपाध्याय र कृष्णधरानन्द राजोपाध्याय दुवैजना भित्र गए र केही छिन पछि घ्याम्पामा रहेको मुकुट दुइटा छैन र त्यस ठाउँमा अङ्क चार वाहु भएको सुन मोलम्वा नारायणको मूर्ति राखी छाडेको भनी देखाउन ल्याए यो यस्तो चीज मुकुट यहीँ छ भन्ने कुरा हामी चार नाइके रत्नभक्त भडेल, पञ्चबहादुर भडेल, बद्रीनारायण भडेल र म समेतलाई उक्त मितिसम्म थाहा जानकारी समेत छैन र यो लगाएको झुठ्ठा हो । चाँगुनारायणबाट हराएको भनिएको मुकुट कसरी हरायो मलाई थाहा छैन भन्ने समेत व्यहोराको मिति ०३८।३।२।३ मा बा.वि.अ.मा प्र.भडेल नाइके कृष्ण कुमारभडेलको बयान ।

१३.   जुन मुहार मूर्ति रहेको भनिएको स्थान घ्याम्पा भित्रको तामाको बुट्टामा रहेको भन्ने कुरा मलाई थाहाजनक छैन र यस्तो थाहा नभएको मूर्ति म समेत मिली बदनियत साथ राखिएको ठाउँबाट हराए भन्ने कुरा झुठ्ठा हो । मुहार मूर्ति मैले हटाई दिने काम केही नगरेको हुँदा म उपर लागेको आरोप अनुसारको कसूर गरेको छैन । घ्याम्पो राखिएको सम्म थाहा छ सो घ्याम्पोको ढकनी के कस्तो अवस्थामा छ मलाई थाहा छैन । हाम्रो पालो फेर्ने काममा जे जस्तो माल सामानहरू बुझिलिने गरिन्छ सोही मालसामानहरू पछि बुझाउँदा लगतमा रुजु गरी बुझाइन्छ। सोदेखि बाहेकमा हाम्रो जिम्मेवार हुँदैन भन्ने समेत व्यहोराको ०३८।३।३।४ मा बा.वि.अ.मा प्र.कान्छा भन्ने असलबहादुर भडेलको बयान रहेछ ।

१४.   प्र.कृष्ण कुमारभडेल कसूर गर्न मत सहमतमा सम्मिलित भएको रहेनछ भन्ने आधार नदेखिंदा वादी दावी अनुसार कसूर गरेको ठहर्छ, सो ठहर्नाले प्राचिन स्माकर संरक्षण ऐन, ०१३ को दफा १३(५) अनुसार १ महिना कैद र रु.१०००।जरिवाना समेत हुने ठहर्छ । प्र.कृष्णधरानन्द राजोपाध्यायले आफ्नो जिम्माको उक्त मुहार सहितको मुकुटको सुरक्षा गर्न सकेको नदेखिँदा वादी दावी अनुसार कसूर गरेको रहेनछ भन्ने प्रमाण नदेखिंदा दावी अनुसार कसूर गरेको ठहर्छ । सो ठहर्नाले प्राचिन स्मारक संरक्षण ऐन, ०१३ को दफा १३(५) अनुसार १ वर्ष कैद हुने ठहर्छ । दावी अनुसार  को कसूर प्रमाणित हुन आएको समेत नदेखिँदा प्र.असलबहादुरले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको ०३९।१०।६।५ को बागमती विशेष अदालतको फैसला ।

१५.   बा.वि.अ.को फैसला उल्टाई सफाई पाउँ भन्ने समेत व्यहोराको पुजारी कृष्णधरानन्द राजोपाध्यायको प्र.कृष्णधरानन्द र कृष्ण कुमारभडेलको हकमा सजायँमा कम गरी अर्का प्र.असल बहादुर भडेललाई सफाई दिएको हदसम्म बा.वि.अ.को फैसला कानुनसंगत भएन प्रतिवादीहरूलाई दावी अनुसार हदैसम्म सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।

१६.    बा.वि.अ.को ठहर मिलेको नदेखिई इन्साफ फरक पर्ने देखिन आएकोले श्री ५ को सरकारलाई अ.बं.२०२ नं.बमोजिम झिकाउनु पर्छ कि भन्नलाई श्री ५ को सरकार तर्फबाट पनि पुनरावेदन परी रहेकै हुँदा यो आदेशको सूचना दिई पेश गर्नु भन्ने समेतको ०४१।२।२९।२ को मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।

१७.   कसूरदार ठहराएका व्यक्तिलाई भएको सजायँ पनि पर्याप्त भन्न नसकिने हुँदा बा.वि.अ.को इन्साफ सजायँ फरक पर्ने भएकोले प्र.कृष्णधरानन्द र प्र.कृष्णकुमारको पुनरावेदन परिरहेकोले सफाई पाएका प्र.असल बहादुरलाई अ.बं.२०२ नं. र क्षे.अ.नियमावली बमोजिम झिकाउने भन्ने ०४१।४।२९।२ को मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।

१८.   आरोप पत्रमा उल्लेख भए अनुरुप भक्तपुर जिल्ला अवस्थित चांगुनारायणस्थानको पुजारीको पालो फेरिंदा मन्दिरभित्र रहेको माटोको घ्याम्पो भित्रको मुकुट मुहार नभेटिएकोबाट प्रस्तुत मुद्दामा कारवाही प्रारम्भ भएको देखिन्छ । उक्त मुकुट मुहार मन्दिरको सत्तलको टुडालबाट बरामद भएको र विशेषज्ञबाट जाँच हुँदा पुरातत्व सम्बन्धी प्राचिन वस्तु देखिन आएकोले समेत प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को क्षेत्रभित्र पर्न आउने कुरामा शंका भएन, उक्त ऐनको दफा १३ ले पुरातत्व सम्बन्धी वस्तु सार्ने कृया समेत निषेघ एवं दण्डनिय हुँदा उक्त मुकुट मुहारको स्थानान्तरण गर्ने कृया अपराधीक कृया हो भन्ने कुरामा पनि शंका रहेन । मन्दिरभित्रको मुकुट मुहार बाहिर फेला परेकोले स्थानान्तरण गर्ने अपराधीक कृयामा कसैको हात रहेछ भन्ने स्पष्ट छ। सो कृया कसले गर्‍यो भन्ने नै निश्चय गर्नुपर्ने भएको छ । अनुसन्धान कारवाही पश्चात् सो मन्दिरको नाइके साँचो पालो र पुजारी उपर वादी पक्षबाट आरोप लगाइएको देखिन्छ साँचोपाले भनेको असलबहादुर भडेलले आरोपित कसूर गर्नुपर्ने कारण अवस्था केही देखिँदैन । त्यस्तै कृष्ण कुमारभडेलको पनि अपराधीक कृया गर्नमा कुनै संलग्नता रहेको देखिन प्रमाणित हुन आएको छैन । निजहरू भडेल भएको र भडेलहरूले मूर्ति हेर्न छुनसम्म पनि नहुने धार्मिक परम्परा रहेको मिसिल प्रमाणबाट देखिन आउँछ । उक्त ऐनबाट कसूर गरेमा र कसूर गर्ने उद्योग गरेमा समेत सजायँ हुने व्यवस्था भएको देखिन्छ, तर सो बमोजिम जवाफदेही हुनुपर्ने गरी निज कृष्ण कुमारतथा प्र.असलबहादुरले दोषपूर्ण कृया गरेको देखिने भरपर्दो एवं विश्वसनीय केही छैन । निजहरूको कसूरसिद्ध हुन परिस्थितिजन्य प्रमाण पनि केही देखिँदैन । पुजारी भनेका कृष्णधरानन्दको हकमा हेर्दा ०३७ साल बैशाखमा उक्त वस्तु बुझेको र ०३७ साल आषाढमा पवित्रारोहण गरेको कुरालाई समेत निजले स्वीकारै गरेको देखिन्छ । ०३८ साल बैशाखमा पुजारीको पालो बुझाउँदा सो वस्तु नभेटिएको भनी प्रकाश गरिएको देखिन्छ । मिसिल सामेल रहेको ०३८।१।२४ एवं ०३८।२।१९ को बरामदी मुचुल्काबाट अं.२ इञ्ची गोलाइको मुकुट मुहार र ४ इञ्च चौडाई ६ इञ्च लम्वाइको मूर्ति फेला परेको देखिन्छ । उक्त ६ इञ्चीको मूर्ति नक्कली भनिएको छ । मुचुल्काबाट सोही ६ इञ्चीको मूर्तिमा पवित्रारोहण भएको समेत देखिन्छ । पवित्रा कार्य पुजारीको हुने हुनाले अन्यथा भए पवित्रारोहण गर्दाकै अवस्था पुजारीलाई थाहा भई जाहेर प्रकाश गर्नु  पर्दथ्यो, सो नभई नक्कली मूर्तिमा पवित्रारोहण भएको हुनु र सो मूर्ति सक्कली मूर्ति राखिने ठाउँ घ्याम्पाबाट निस्कनुले नै पुजारी कृष्णधरानन्दको हात रहेछ भन्ने स्पष्ट गर्दछ । यसरी आरोपित अपराधिक कृया गर्दा कृष्णधरानन्दले अन्य प्रतिवादीहरूको सहयोग लिएको र लिनु पर्ने प्रमाणिक आधार केही नदेखिँदा निज पुजारी कृष्णधरानन्दले मात्र आरोपित कसूर गरेको स्पष्ट छ । तसर्थ प्र.कृष्णधरानन्दले कसूर गरेको एवं असलबहादुर भडेलले सफाई पाउने ठहर्‍याएको बागमती विशेष अदालतको इन्साफ मनासिव ठहर्छ । प्र.कृष्ण कुमारभडेलले पनि सफाई पाउने ठहर्छ । वादी श्री ५ को सरकारतर्फको तथा कृष्णधरानन्दको पुनरावेदन जिकिर पुग्न सक्दैन । शुरु बागमती विशेष अदालतको केही उल्टी हुन्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।९।६।२ को फैसला ।

१९.    मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा सार्वजनिक महत्वको विषय हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा मिति ०३८।२।९ मा कृष्णधरानन्द बसेको घरमा खानतलासी गर्दा मुकुटहरू फेला नपरेको देखिन्छ । उक्त मितिदेखि निज कृष्णधरानन्दलाई हिरासतमा लिएकोमा पुनः मिति ०३८।२।१९ मा खानतालसी गरी मुकुट फेला परेको भनी मुद्दा दायर गरेको र सोही प्रमाणलाई समेत आधार बनाई गरेको शुरु इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरिएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छभन्ने मिति २०४१।१०।१६।३ को आदेश ।

२०.   पुनरावेदक प्रतिवादी पुजारी कृष्णधरानन्द राजोपाध्यातर्फका विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्लले ०३८।२।१९ को बरामदी मुचुल्कामा फेला परेको मुकुट धागो रहेको उल्लेख नभएकोमा ०३८।२।२६ को सरजमीन मुचुल्कामा ०३८।१।२४ मा मुचुल्का लेख्न लागेको भन्दै ०३८।२।१९ मा नक्कली नारायणको मूर्तिमा ८१ डोराको करिव ५ इञ्चका काँचो धागोको हुनु पर्ने भन्दै नक्कली नारायणको मूर्तिमा पवित्रारोहण गरेको भनी जि.पं.स.विर्खबहादुर के.सी.ले बयान गरेको गलतपूर्ण त्रुटि छ । त्यस्तो बाझिएको मिसिलबाट देखिएको तथ्यसँग नमिलेको सरजमीन मुचुल्का व्यहोरालाई आधार मानी निर्णय भएको प्रमाण ऐनको दफा ५४ को त्रुटिपूर्ण छ। क्षेत्रीय अदालतले मेरो पक्षलाई दोषी ठहराएको इन्साफ उल्टी हुनुपर्छ भन्ने समेत र विपक्षी श्री ५ को सरकार जि.प्र.का.भक्तपुर तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधीवक्ता श्री प्रेमबहादुर विष्टले अभियुक्त मिसिल कागजातबाट कृष्णधरानन्द राजोपाध्यायबाट ०३७ साल बैशाखमा उक्त बस्तु बुझेको र ०३७ साल आषाढमा पवित्रारोहण गरेको कुरालाई समेत निजले स्वीकारै गरेको कुरा मिसिल कागजबाट देखिँदा विपक्षी प्रतिवादी कृष्णधरानन्द राजोपाध्यायलाई दोषी ठहर्‍याई गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा उक्त इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

२१.   प्रस्तुत मुद्दामा प्राप्त हुन आएको मिसिल कागजात सबै केलाई हेर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादी कृष्णधरानन्द राजोपाध्यायलाई कसूरदार ठहराएको इन्साफ मनासिव या बेमनासिव के रहेछ त्यसतर्फ दृष्टिगत दिनु पर्ने देखियो ।

२२.   यसमा तीनजना प्रतिवादी कृष्णधरानन्द राजोपाध्याय, भडेल नाइके कृष्ण कुमारभडेल तथा भडेल कान्छा भन्ने असलबहादुर भडेल भएकोमा अन्य दुइजना प्रतिवादी भडेल नाइके कृष्ण कुमारभडेल तथा कान्छा भन्ने असलबहादुर भडेल समेतले सफाई पाएकोमा त्यसमा श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन परेको देखिँदैन ।

२३.   अब प्रतिवादी कृष्णधरानन्द राजोपध्यायको हकमा बिचार गर्दा निजको प्रहरीमा कागज हुँदा सम्म सो मुकुट सहितको मुहारहरू बरामद भएको देखिँदैन र निज सो मितिदेखि नै प्रहरी हिरासतमा  रहेको र अदालतमा ०३८।३।१ मा बयान गरी सकेपछी थुनामा नै रहेको देखिन आउँछ । खानतलासी हुँदा बरामद भएको मुहार फेला परेन, प्रतिवादी कृष्णधरानन्द राजोपाध्याय बसेको घर बाहिरको टुंडालमा रातो पोकामा झुण्डा्याइएको फेला परेको छ । घर भित्रबाट नभई सार्वजनिक स्थानमा सबैले देख्नेठाउँबाट बरामदभएको पाइन्छ ।

२४.   त्यो पनि पुनरावेदक प्रतिवादीलाई पक्राउ भएपछि उक्त मुहार फेला परेको छ । पुनरावेदकको विरुद्धका साक्षीको हकमा पनि पुनरावेदकसँग रीसइवीवाला भएको कुरा मिसिलबाट देखिन्छ । जहाँसम्म आफ्नो जिम्मा रहेको बस्तु बरबुझारथ गर्दाको अवस्थासम्म पनि मुहार हराएको कुराको जानकारी नहुने अवस्था अस्वाभाविक छ कि भन्नलाई उक्त बस्तु रहेको ठाउँमा एकजनामात्रको पहुँच नभई पुजारीलाई मद्दत गर्ने व्यक्ति कान्छा भन्ने असलबहादुर भडेल पनि जान आउन सक्ने र राखिएको माल माटाको भाँडामा रहेको हुँदा पुनरावेदकलाई त्यतिकै आधारमा मात्र अभियोग बमोजिमको कसूर गरेको  ठहर्‍याउन मिल्दैन ।

२५.   तसर्थ यस्तो अवस्थामा प्रतिवादी कृष्णधरानन्द राजोपाध्यायलाई मध्यमाञ्चल क्षेत्रीय अदालतले दोषी ठहर्‍याई गरेको इन्साफ मिलेन । उक्त पुनरावेदक प्रतिवादी कृष्णधरानन्द राजोपध्यायले सफाई पाउने ठहर्छ । निजको हकमा क्षेत्रीय अदालतको इन्साफ उल्टी हुन्छ । तपसील बमोजिम गरी नियम बमोजिम मिसिल बुझाई दिनु ।

तपसील

पुनरावेदक प्रतिवादी कृष्णधरानन्द राजोपाध्याय के माथि इन्साफ खण्डमा लेखिए बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी भएकोले निज प्रतिवादी कृष्णधरानन्द राजोपाध्यायलाई कैद गर्ने गरेको सो गर्न पर्दैन, सो को लगत काटी दिनु भनी सम्बन्धित का.जि.अ.मा लगत दिनु........................................................१

इन्साफ उल्टीमा न्या.श्री गोविन्दबहादुर श्रेष्ठ तथा न्या.उदयराजको उल्टी रिकर्ड राख्न स.अ.प्रशासनलाई जनाउ दिनु...................................................२

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४२ साल फाल्गुण ८ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु