शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५६९ - कर्तव्य ज्यान

भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२

निर्णय नं. २५६९     ने.का.प. २०४२      अङ्क १२

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४२ सालको फौ.पु.नं. ६५६, ६४५, ४०६

सम्वत् २०४२ सालको फौ.सा.नं. ८२

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी:जि.ताप्लेजुङ सुलुम्फी गा.पं. वार्ड नं. ९ घर भै हाल जि.का.कारागार शाखा पाल्पामा थुनामा बस्ने पूर्णहाङ्ग लिम्बू ।

ऐ.घर भै हाल जि.का.कारागार शाखा ताप्लेजुङमा बस्ने आशवीर लिम्बू ।

विरुद्ध

विपक्षी/ वादी  :ऐ. बस्ने डम्बर ध्वजको जाहेरीले श्री ५ को सरकार ।

फैसला भएको मिति:२०४२।११।२३।५ मा

     तत्काल उठेको रिसबाट मृतकलाई चोट पुर्‍याएकोले ज्यानसम्बन्धीको १३(३) नं.अनुसारको सजायँ गर्दा चर्को पर्न जाने हुँदा अ.बं.१८८ नं.बमोजिम प्रतिवादीलाई कैद वर्ष १० (दश) सजायँ हुने ।

(प्रकरण नं. ३८)

पुनरावेदक, वादी तर्फबाट: विद्वान उपन्यायाधीवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ

पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा

उल्लेखित मुद्दाःX

फैसला

न्या.पृथ्वी बहादुर सिंहः पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटाबाट मिति २०४१।९।२४ मा भएको फैसला उपर पर्न आएको पुनरावेदनको संक्षिप्त तथ्य निम्नानुसार छ ।

२.    २०३८।४।५ गते दिनको २।३० बजे पानी कूलाको इविबाट मेवा खोला सुलम्झी गा.पं.वार्ड नं.५ बस्ने आशवीर लिम्बू, निजको काईला छोरा पूर्णहाङ्ग लिम्बू, कान्छा छोरा लोकबहादुर लिम्बू, निज आशवीरकै श्रीमती नाम नजानेकी लिम्बूनी, निजकै बुहारी पूर्णहाङकी श्रीमती नाउँ नजानेकी, लिम्बूनी, निजको बुहारी लोकबहादुरकी श्रीमती नाउँ नजानेकी लिम्बूनी १ समेत ६ जनाले मेरो काकाको छोरा बखतबहादुर लिम्बूलाई साम्राङ थुंग कूलाको मुहानमा हतियार खुकुरी र ढुङ्गा, लौरो समेतले काटी कुटपीट गरी बेहोस पारेकोले निल घा जचाँउन दर्खास्त साथ दाखिल गरेको छु ऐनको म्यादभित्र मर्न गएमा यही जाहेरीबाट कानुन बमोजिम गरिपाउँ भन्ने मिति ०३८।४।६ को डम्बरध्वज लिम्बूको जाहेरी दर्खास्त र ०३८।४।६ को दर्खास्त अनुसार आशवीर लिम्बू समेतको कुटपीटको  पीरबाट ०३८।४।१३ गते बखतबहादुर लिम्बूको मृत्यु खून गएकोले लाश जाँच समेत गरी पूर्व जाहेरी अनुसार गरिपाउँ भन्ने ०३८।४।१३ को ऐ. को दर्खास्त।

३.    ०३८।४।५ गते दिनको २।३० बजे मृतक बखतबहादुर र निजको छोरा थाकचिकपाले पानी कुलोको विषयमा मेरो पिता आशवीरलाई कुटी चुपी समेतले काटेको र म र भाइ लोकबहादुर घटनास्थलमा जाँदा बुबा आशवीरको टाउकोमा रगतपच्छे देखी रीस थाम्न नसकी भाइ लोकबहादुरले मृतकको पछाडिपट्टी टाउकोमा खुकुरीले हिर्काएको र मैले पनि लाठी ढुङ्गाले हिर्काएँ, मृतक बखतबहादुर बुबा आशवीर म र भाइ लोकबहादुरको कुटपीटबाट मर्न गएका हुन् । त्यस अवस्थामा घटनास्थलमा आमा, मेरो श्रीमती भाइ बुहारी आएका थिएनन् निजहरूले कुटपीट पनि गरेको होइन भन्ने समेत व्यहोराको मिति ०३८।४।१७ मा पूर्णहाङ्ग लिम्बूले प्रहरी समक्ष गरेको बयान कागज ।

४.    ०३८।४।५ गते म आफ्नो घरमा छु । लोग्ने आशवीर छोरा पूर्णहाङ्ग, लोकबहादुर र बुहारीहरू समेत खेतमा गएका थिए । पानी कुलोको विषयमा मर्ने बखतबहादुर र लोग्ने आशवीरको कुटपीट, झगडा भएको कुरा गाउँलेहरूबाट थाहा पाई घटनास्थलमा जाँदा झगडा छुटी सकेको र मर्ने बखतबहादुर र मेरो लोग्ने आशवीर बेहोसभएको देखें । बुहारीहरू घटनास्थलमा थिएनन् । लोग्ने छोराहरूकै कुटपीटबाट बखतबहादुर मर्न गएका हुन् जस्तो लाग्छ भन्ने मनजिती लिम्बूनीको मिति ०३८।४।१७ मा प्रहरीमा भएको कागज ।

५.    ०३८।४।५ गते सामार्थु भन्ने खेतमा छोरा लोकबहादुरको रोपाई भएको र खेतमा पानी लिन छोरा जाँदा कूलो मुहानमा मृतक बखतबहादुर र निजको छोरा थाकचिकपा समेतसँग झगडा भई थाकचिकपाले मलाई चुपी समेतले टाउकोमा काटेबाट मैले पनि कोदालोको पासाले २ चोटी मृतक बखतबहादुरको टाउकोमा हिर्काएँ सोही अवस्था छोरा लोकबहादुर, पूर्णहाङ्ग पनि त्यहाँ आई मर्ने बखतबहादुरलाई के कस्तो हतियारले कुटपीट गरे याद भएन । त्यसबखत श्रीमती बुहारीहरू थिएनन्, मैले र छोराहरूले हिर्काएको चोटपीरबाट बखतबहादुरको मृत्यु हुन गएको हो, निजसँग रिसइवि थिएन भन्ने व्यहोराका आशवीर लिम्बूले ०३८।४।१७ मा प्रहरीमा गरेको कागज।

६.    ०३८।४।५ गते दिनको २।३० समयमा पानी कूलाको इवीबाट मृतक बखतबहादुर र आशवीरको झगडा भई आशवीरको टाउकोमा चोट लागेबाट निजले पनि कोदालोले मृतकलाई हानी कराएको आवाज सुन्नासाथ पूर्णहाङ्ग लोकबहादुर आई मृतकको टाउकोमा लोकबहादुरले खुकरीले र पूर्णहाङले लाठीले हिर्काउन लागे, आशवीरको श्रीमती र लोकबहादुर पूर्णहाङ्गका श्रीमतीहरूले समेत मार मार भन्दै ढुंगाले हिर्काउन लागेकोले ज्यान मर्ला भनी कराउँदा बखतबहादुर बेहोस भइसकेको हुँदा म पृथीबहादुर हर्कजङ्ग समेत भई घटनास्थलबाट बोकी घरमा लगी ०३८।४।६ गते ताप्लेजुड्ड ल्याई उपचार हुँदाहुँदै निज बखतबहादुर मर्न गएका हुन् भन्ने व्यहोराको वारदातमा देख्ने भनेका कर्म शम्सेर लिम्बूले प्रहरी समक्ष ०३८।४।२८ गते गरेको कागज ।

७.    ०३८।४।५ गते दिनको २।३० समय म ससुरालतर्फ जाँदै थिएँ मानिस झगडा गरेको आवाज सुनी जाँदा आशवीर निजको छोरा लोकबहादुर, पूर्णहाङ्ग समेतले लाठी ढुंगा कोदालो समेतले बखतबहादुरलाई कुटपीट गर्दै गरेको र आशवीरको श्रीमती र बुहारीहरू समेतले कुट मार भनी लाठी ढुंगाले कुट्न लागेकोले ज्यान मर्ला भनी जाँदा बखतबहादुर बेहोस भइसकेकाले कर्म शम्सेर, पृथ्वी बहादुर बलबहादुर म समेत भई बोकी घरमा लगी भोलिपल्ट उपचारको लागि ताप्लेजुड्ड ल्याई उपचार हुँदाहुँदै ०३८।४।१३ गते मृत्यु भएको भन्ने वारदातमा देख्ने भनेका पूर्णबहादुर लिम्बूले मिति  ०३८।८।२९ मा प्रहरी समक्ष गरेको कागज ।

८.    ०३८।४।५ गते घटनास्थलदेखि अंदाजी १०० गज पश्चिम आफ्नै खेतमा थिएँ, सो दिन २।३० समयमा गुहार भन्ने आवाज सुनी जाँदा मृतक बखतबहादुर र आशवीरको बीच पानीकुलो विषयमा झगडा चली आशवीरको छोरा पूर्णहाङ र लोकबहादुर घटनास्थलमा आई कोदालोको पासोले पूर्णहाङ्गले मृतकको टाउकोमा र लोकबहादुरले खुकुरीले काटी बेहोस पारेका र आशवीरकी श्रीमती निजको बुहारीहरू समेतले लाठी ढुंगाले कुट्न लागेबाट कर्म शम्शेर, पूर्णबहादुर चन्द्रध्वज समेतले बखतबहादुरलाई बोकी लगी भोलिपल्ट ताप्लेजुङ ल्याई उपचार हुँदाहुँदै निज बखतबहादुरको मृत्यु भएको हो भन्ने वारदातमा देख्ने भनेका पृथ्वी बहादुर लिम्बूले ०३८।४।२९ मा प्रहरी समक्ष गरेको कागज ।

९.    ०३८।४।५ गते म आफ्नै खेतमा थिएँ । दिनको २।३० समयमा आशवीर र मर्ने बखतबहादुरको पानी कुलो सम्बन्धमा झगडा चलेको र निजको छोरा पूर्णहाङ, लोकबहादुर त्यहाँ आई पूर्णहाङले कोदालोको पासोले र लोकबहादुरले खुकुरीले मृतकको टाउकोमा हिर्काइ काटेको र आशवीरका श्रीमती बुहारीहरु समेत आई लाठी ढुंगाले हिर्काउन लागेकोले ज्यान मर्ला भनी म समेतले कराई म कर्म समशेर, पूर्णबहादुर समेत भई बखतबहादुरलाई बोकी घरमा ल्याई इलाजको लागि भोलीपल्ट ताप्लेजुङ ल्याई उपचार हुँदाहुँदै ०३८।४।१३ गते बखतबहादुरको मृत्यु भएको हो भन्ने वारदातमा देख्ने भनेका चन्द्रध्वज लिम्बूले ०३८।४।३९ मा प्रहरी समक्ष गरेको कागज ।

१०.    घटनास्थल देखि २०० गज दक्षिणतर्फ आफ्नो खेतमा काम गरिरहेका बखत गुहार भन्ने आवाज सुनी जाँदा आशवीर र निजका छोरा पूर्णहाङ, लोकबहादुर आशावीरको श्रीमती बुहारी समेत भई पूर्णहाङले कोदालोको पासोले र लोकबहादुरले खुकुरीले काटी कुटपीट गरेकोले ज्यान मर्ला भनी कराउँदै गई हेर्दा बखतबहादुर बेहोस अवस्थामा देखी म र कर्म शम्सेर, पूर्णबहादुर समेत भई बोकी घरमा पुर्‍याई भोलिपल्ट उपचारको लागि ताप्लेजुङ ल्याई उपचार गराउँदा गराउँदै बखतबहादुरको मृत्यु हुन गएको हो भन्ने वारदातमा देख्ने भनेका काजीमान लिम्बूले ०३८।४।२९ म प्रहरी समक्ष गरेको कागज ।

११.    २०३८।४।५ गते घटनास्थलको २५ गज फरक पूर्व बाटो गरी घर फर्कंदै गरेको अवस्था गुहार भन्ने आवाज सुनी घटनास्थलमा जाँदा मर्ने बखतबहादुरलाई आशवीर, निजको छोरा पूर्णहाङले कोदालोको पासोले र लोकबहादुरले खुकुरीले काटी कुटपीट गर्दै गरेको र आशवीरकी श्रीमती निजको बुहारी २ जना समेतले ढुंगाले हिर्काएको देखी ज्यान मर्छ भनी कराई बेहोस भई राखेको बखतबहादुरलाई म समेतले बोकी घरमा लगी भोलिपल्ट उपचारको लागि ताप्लेजुङ ल्याई उपचार हुँदाहुँदै निजको मृत्यु भएको हो भन्ने वारदातमा देख्ने भनेका बलबहादुर लिम्बूले ०३८।४।२९ मा प्रहरीसमक्ष गरेको कागज ।

१२.   ०३८।४।५ गते म धनराजको बारीमा घाँसकाट्दै गरेको अवस्था आशवीर मृतक बखतबहादुरको कुलो पानी सम्बन्धमा झगडा भएको आशवीरको घर घटनास्थल नजिकै भएकोले निजको छोरा पूर्णहाङ लोकबहादुर, श्रीमती र बुहारीसमेत त्यहाँ आएको र म पुग्दा पूर्णहाङले कोदालोको पासोले लोकबहादुरले खुकरीले आशवीरको श्रीमती बुहारीले लाठी ढुंगाले हिर्काएको देखी मसमेतले छुट्याई म र कर्मशम्सेर समेतले बेहोस अवस्थामा बखतबहादुरलाई उठाई घरमा लगी भोलिपल्ट उपचारको लागि ताप्लेजुङ ल्याई उपचार हुँदाहुँदै निजको मृत्युभएको हो भन्ने वारदातमा देख्नेभनेको धोजवीरले ०३८।४।२९ मा प्रहरी समक्ष गरेको कागज ।

१३.   मिति ०३८।४।२९ मा सरजमीन भएको,  सरजमीन मुचुल्का मिसिल सामेल रहेको।

१४.   प्र.आशवीर पूर्णहाङ मृतक बखतबहादुरलाई कुटपीट गरेमा सावित भएको र प्र.मनजीती इन्कार रहे पनि बखतबहादुरलाई ६ जना प्रतिवादीहरूले कुटपीट गरेको प्रत्यक्षदर्शि कर्म शम्सेर लिम्बू र अधिकांश सरजमीन समर्थित भएको र लाश जाँच, पोष्टमार्टम समेतबाट मृतकको शरीरमा निल घाउ देखिएकोले प्रतिवादी ६ जनाकै कुटपीट चोट पीरबाट बखतबहादुरको मृत्यु हुन गएको प्रमाणित हुन आएकोले निजहरू उपर ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी र स.स.अ.को ०३८।५।९ को संयुक्त प्रहरी प्रतिवेदन ।

१५.   ०३८।४।५ गते म आफ्नो घरमा छु, सो दिन छोरा लोकबहादुर, पूर्णहाङ बुहारीहरू र लोग्ने आशवीर समेत खेतमा रोपाई गर्न गएका थिए, पानी कुलो सम्बन्धमा बखतबहादुरसँग झगडा कुटपीट भयो भन्ने कुरा बेलुकी लोग्नेलाई घरमा बोकी ल्याउँदा मात्र थाहा पाएँ । मेरो लोग्ने आशवीर पनि रगतपच्छे भएका थिए । म घटनास्थलमा नहुँदा को को भई कुटपीट गरे थाहा छैन । दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको मनजिती लिम्बूनीले ०३८।५।१० मा अदालतमा गरेको बयान ।

१६.    ०३८।४।५ गते म र मेरी श्रीमती खेतमा रोपाई गर्न गएका थियौं । भाइ लोकबहादुर, बुहारी रनमाया समाथुंभन्ने खेतमा रोपाई गर्न गएका र बाबु आशवीर पानी लिन भनी सोदिन अं.२ बजे झगडे भन्ने खेतमा जाँदा मृतक बखतबहादुर निजको छोरा थाकचिकपासँग झगडा कुटाकुट भएछ हल्ला खल्ला सुनी म पहिला र एकछिनपछि भाइ लोकबहादुर घटनास्थलमा पुग्यौं, हामी पुग्दा गाउँको मकरबहादुर, राजेन्द्र, नरेशकुमार, आशध्वज, राजमान समेत भेला भएका थिए । मृतक बखतबहादुर र बाबु आशवीर भुईमा लडी राखेको थिए । त्यसबखत मेरो श्रीमती धनमाया र बुहारी रणमाया खेतमा काम गर्दै थिए । आमा मन्जिनी घरमै थिइन । हामीसँग केही हतियार थिएन । बाबुलाई ताप्लेजुङ अस्पतालमा घा जाँच गराएको हो, जाहेरी तथा प्रहरी प्रतिवेदन अनुसार कुटपीट गरेको हैन प्रहरीमा जबरजस्ती सहिछाप गर्न लागाएको हुँदा प्रतिवेदन दावीबाट सफाई पाउँ भन्ने समेत प्र.पूर्णहाङ लिम्बूले मिति ०३८।५।१० मा अदालतमा गरेको बयान ।

१७.   ०३८।४।५ गते सामाथुं भन्ने खेतमा छोरा लोकबहादुरको रोपाई भएको र खेतमा पानी अपुग भएकोले पानी कुलो फर्काउन भनी सो दिन अन्दाजी २ बजे जाँदा मर्ने बखतबहादुर र निजको छोरा थाकचिकपासँग झगडा भई मलाई कुटी चुपी समेतले काटेबाट मैले पनि कोदालोको पासोले बखतबहादुरको टाउकोमा दुईपटक हिर्काएको कुटाइको पीरबाट त्यतिकैमा म बेहोस भई लडेकोले को को भेला जम्मा भई कुटाकुट गरे थाहा भएन झगडा हुँदा म, मृतक बखतबहादुर, निजको छोरा थाकचिकपा मात्र थियौं । छोराहरूले मर्नेलाई कुटपीट गरे गरेनन् थाहा छैन, मेरो श्रीमती र बुहारीहरू घटनास्थलमा थिएनन् । पानी कुलोको इवीबाट तत्काल उठेको रिसले मैले हानेको चोटबाट बखतबहादुरको मृत्यु हुन गएको हो भन्ने व्यहोराको प्र.आशवीर लिम्बूले मिति ०३८।५।१० मा अदातलमा गरेको बयान ।

१८.   ०३८।४।५ गते म र मेरो लोग्ने पूर्णबहादुर समाथुं बखौटे खेतमा रोपाई गर्दै गरेको र देवर लोकबहादुर र देउरानी पनि नजिकै रोपाई गर्दै थिए, म देउरानी दिनको १ बजे नै घरमा आयौं, सासु दिनभर घरमा बसेकी थिइन सोही दिनको ३ बजे समय ससुरा आशवीरलाई मेरो लोग्ने पूर्णहाङ्ग, देवर लोकबहादुरले समाई घर ल्याएबाट सोधनी गर्दा मर्ने बखतबहादुरको छोरा चाकचिकपासँग झगडा भयो भन्दथे झगडा कुटपीट भएको मैले देखिन इवीबाट जाहेरवालाले पोल गराएका हुन् भन्ने ०३८।८।११ मा गौमती लिम्बूनीले  अदालतमा गरेको बयान ।

१९.    ०३८।४।५ गते सामाथुं वरबोटे भन्ने खेतमा खेताला सहित रोपाई गरिरहेका र मेरो र २ महिनाको नानी हुँदा दुध खुवाउन र खेतालालाई खाजा बनाउन २ बजेतिर घर गएँ, दिनको ३ बजेतिर ससुरालाई लोग्ने लोकबहादुर र जेठाजु पूर्णहाङले समाई घर ल्याएबाट सोधनी गर्दा मर्ने बखतबहादुर निजको छोरा थाकचिकपाले खुकुरीले काटी कुटपीट गरे भन्थे । म घटनास्थलमा नभएको हुँदाका बखतबहादुरलाई कुटपीट गरेको होइन जाहेरवालासँग जग्गा साँध सीमानामा गालमुखाल भई रहेको इवीबाट निजैले पोल गरेका हुन् भन्ने रणमाया लिम्बूनीको ०३८।८।११ गते अदालतमा भएको बयान ।

२०.   ०३८।४।५ गते सामाथुं भन्ने खेतमा म र मेरी श्रीमती रोपाई गरिरहेका अवस्थामा हल्ला खल्ला सुनी दाजु पूर्णबहादुर पनि नजिकै भएकोले घटनास्थलमा हामी पुग्न अगावै बखतबहादुर निजको छोरा थाकचिकपा र बाबु आशवीर बीच झगडा भई छुटी सकेका रहेछन्, बाबु आशवीर बेहोस रुपमा लडी रहेकोले घरमा लग्यौं । घटनास्थलमा आमा, श्रीमती भाउजू थिएनन् । इविबाट झुठ्ठा जाहेरी दिई पोल गरेको हो भन्ने समेत व्यहोराको लोकबहादुर लिम्बूले ०३८।८।११ मा अदालत समक्ष गरेको बयान ।

२१.   ०३८।५।१० र ०३८।८।११ को आदेश बमोजिम जाहेरवाला सरजमीनका मानिस र प्रतिवादीहरूका साक्षी समेत बुझिएको बकपत्र मिसिल संलग्न रहेको ।

२२.   प्र.आशवीर, प्र.पूर्णहाङ्ग, प्र.लोकबहादुरले अभियोग बमोजिम बखतबहादुरलाई कुटपीट गरी मारेको ठहर्छ, ज्यानसम्बन्धी १३(३) बमोजिम जन्मकैद हुन्छ । प्र.मनजिती, रणमाया गौतमीले सफाई पाउने ठहर्छ प्र.आशवीर पूर्णहाङ्ग, लोकबहादुरले अपराध गर्दाको अवस्था बिचार गर्दा मार्ने मनसायलाई पुरानो रीसइवी साध्नको लागि कुटपीट गरेको नदेखिई पानी कुलो सम्बन्धमा तत्काल उठेको रीस थाम्न नसकी दोहोरो कुटपीट हुन गई बखतबहादुर मरेको, यी प्र.आशवीर, पूर्णहाङ्गको शरीरमा समेत मिसिलबाट घाउ लागेको देखिँदा ज्यान मार्ने नियत थियो भन्न नसकिने भएबाट ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद गर्दा चर्को हुन जाने मलाई लागेकोले मुलुकी ऐन अ.बं.१८८ नं.बमोजिम अपराध गर्दाको अवस्थालाई बिचार गर्दा कैद वर्ष १० मात्र सजायँ गर्नु पर्ने मेरो चित्तमा लागेकोले यो छुट्टै राय समेत राखी जाहेर गरेको भन्ने समेत व्यहोराको शुरु ताप्लेजुड्ड जिल्ला अदालतको मिति ०३९।६।२४ को जाहेरी फैसला ।

२३.   शुरु इन्साफमा चित्त बुझेन, शुरु फैसला बदर गरी रिहाई पाउँ भन्ने समेत व्यहोराको प्र.आशवीर लिम्बू, पूर्णहाङ्ग लिम्बूले मिति ०३९।९।८ मा पूर्वाञ्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदनपत्र ।

२४.   शुरु इन्साफमा चित्त नबुझेको हुँदा उक्तफैसला बदर गरी प्र.हरूलाई प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ गरिपाउँ भन्नेसमेत व्यहोराको श्री ५ को सरकारकोतर्फबाट मिति २०३९।१०।११ मा पूर्वाञ्चल क्षेत्रिय अदालतमा परेको पुनरावेदनपत्र ।

२५.   प्र.लोकबहादुरकै चोटबाट ज्यान मरेको प्रमाणबाट देखिँदा सर्वस्वसहित जन्मकैदको सजायँ हुनु पर्नेमा निज प्र.लोकबहादुर लिम्बूलाई जन्मकैद मात्र गर्ने गरेको समेत शुरुको ठहर फैसला फरक पर्ने देखिएकोले अ.बं.२०२ नं.बमोजिम प्र.लोकबहादुर लिम्बूका नाउँमा म्याद पठाई तामेल भई आएपछि पेश गर्नु भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्जबाट मिति ०४१।७।२१ मा भएको आदेश ।

२६.   प्रतिवादी आशवीर पूर्णहाङ्ग लिम्बू लोकबहादुर समेतलाई ज्यानसम्बन्धी १३(३) नं.बमोजिम जन्मकैद गर्ने ठहराएको शुरु ताप्लेजुड्ड जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । मनजिती समेतलाई आरोपित  कसूर गरेमा सजायँ हुनु पर्ने भन्ने वादी श्री ५ को सरकारको समेत पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको मिति २०४१।९।२४ मा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला ।

२७.   पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलामा चित्त बुझेन, उक्त फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको आशवीर लिम्बूको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२८.   पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला बदर गरी आरोपित ज्यान मुद्दाबाट पूर्ण रुपमा सफाई पाउँ भन्ने समेत व्यहोराको पूर्णहाङ्ग लिम्बूको यस अदालतमा परेको पुनरावेदन ।

२९.   प्रतिवादीहरूलाई शुरुले सफाई दिएको मनासिव ठहराएको हदसम्मको पूर्वाञ्चल क्षेत्रिय अदालतको फैसला न्यायसंगत नभएकोले उल्लिखित प्रतिवादीहरू मनजिती लिम्बूनी, रणमाया लिम्बूनी तथा धनमाया भनेकी गौमतीलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ हुन अनुरोध छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन ।

३०.   प्रस्तुत मुद्दा साधको लगतमा समेत दर्ता हुन आएको रहेछ ।

३१.   नियमानुसार पेशीसूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारकातर्फबाट उपस्थित विद्वान उपन्यायाधीवक्ता श्री कृष्णप्रसाद श्रेष्ठले लाश प्रकृति मुचुल्का घा जाँचकेश फारामबाट मृतक बखतबहादुरको शरीरका विभिन्न भागमा घा चोट देखिएको छ । जुन कुटाई २।३ जना व्यक्तिबाट मात्र सम्भव छैन प्रतिवादी मनजिती लिम्बूनी, रणमाया लिम्बूनी तथा धनमाया भनेकी गौमती लिम्बूनी समेतको कुटाइबाट मृतक बखतबहादुरको मृत्यु भएको देखिँदा निजहरूलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । त्यस्तै प्रतिवादी पूर्णहाङ्ग लिम्बूको तर्फबाट बहस गर्न उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले बखतबहादुरलाई मार्नु पर्ने कुनै नियत नभएको मेरो पक्षलाई केवल प्रहरीमा गराइएको कष्टपूर्ण बयानको आधारमा अदालत समक्ष बखतबहादुरको ज्यान मारेमा इन्कारी हुँदाहुँदै तथ्ययुक्त प्रमाणकोअभावमा शंकाकोभरमा अपराधी सिद्ध गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला बदरभागी  छ । अ.बं.१८८ नं.को प्रयोग हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

३२.   प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रिय अदालतबाट भएको फैसला मनासिव वा बेमनासिव केरहेछ सोकुराको निर्णय दिनु परेको छ ।

३३.   निर्णयार्थ बिचार गर्दा प्रतिवादी मनजिति लिम्बूनी, गोमती लिम्बूनी, रणमाया लिम्बूनी समेतलाई विवादित विषयमा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट सफाई दिएको हकमा वादी श्री ५ को सरकारको पुनरावेदन परेको देखिन आयो । त्यसतर्फ बिचार गर्दा प्रतिवादी मनजीति लिम्बूनीले घटना घटेको दिन म आफ्नै घरमा छु मेरो कुनै कसूर नहुँदा सफाई पाउँ भनी अधिकार प्राप्त अधिकारी र अदालत समक्ष समेत इन्कारी बयान गरेको मिसिलबाट देखिन्छ, त्यस्तै प्रतिवादी गोमती लिम्बूनीले म घटनास्थलमा थिइन, इवीबाट जाहेरवालाले पोल गरेका, गराएका हुन् भनी अदालत समक्ष बयान गरेकी छन् । त्यस्तै प्रतिवादी रणमाया लिम्बूनीले म घटनास्थलमा नहुँदा बखतबहादुरलाई कुटपीट गरेको हैन जाहेरवालासँग साँध सीमानामा गाल मुखाल भई रहेको इविबाट निजले म समेतलाई पोल गरेका हुन् भनी अदालत समक्ष बयान गरेकी छन् । यसरी आरोपित कसूरमा यी तीनैजना प्रतिवादीहरू इन्कार छन् । निजहरूले कसूर गरेको शंकारहित एवं ठोस तथ्ययुक्त सबूतबाट प्रमाणित भएको देखिन आउँदैन । तथ्यगत प्रमाणको अभाव र शंकाको भरमा निज प्रतिवादी मनजीति लिम्बूनी समेतका ३ जनालाई सजायँ गर्नु फौज्दारी न्यायको सिद्धान्त विपरीत हुन जान्छ अतः विद्वान उपन्यायाधीवक्ताको  बहससँग सहमत हुन सकिएन । निज मनजीति लिम्बूनीसमेत ३ जनाको हकमा पूर्वाञ्चल क्षे.अ. बाट भएको इन्साफ सदर हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन ।

३४.   प्रतिवादी आशवीर लिम्बूको पुनरावेदनतर्फ बिचार गर्दा कोदालोको पासोले २ चोटी मृतक बखतबहादुरको टाउकोमा हिर्काए पनि, कूलोको इवीबाट तत्काल उठेको रीसले मैले हानेको चोटबाट बखतबहादुरको मृत्यु हुन गएको हो भनी अधिकार प्राप्त अधिकारी र अदालतमा समेत आरोपित कसूरमा सावित भई निज आशवीर लिम्बूले बयान गरेको पाइन्छ । निजले गरेको साविती कागज वारदातमा देख्ने भनेका कर्म सम्शेर लिम्बू र लाश जाँच प्रकृति मुचुल्का समेतबाट समर्थित भएको हुँदा निजलाई ज्यानसम्बन्धीको १३(३) को कसूरमा सजायँ गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिव हुँदा निजको पुनरावेदन जिकिर पुग्न सक्तैन ।

३५.   प्रतिवादी लोकबहादुर लिम्बूको हकमा निजको पुनरावेदन नपरेकोमा साधकतर्फबाट बिचार गर्नु पर्ने हुँदा निजले आरोपित कसूरमा अदालत समक्ष इन्कार रही बयान गरेको भए तापनि अन्य सरजमीन समेतका प्रमाणको मूल्यांकन गर्दा जाहेरी दर्खास्तमा निजलाई किटानी गरेको पाइन्छ । निज लोकबहादुर वारदात स्थलमा उपस्थित भई मर्ने बखतबहादुरलाई कुटपीट गरेको कारणबाट मृत्यु भएको हो भनी निजको बाबु आशवीरको बयानबाट पनि देखिन्छ । बुझिएका चस्मदिद गवाह कर्म शम्सेरले बकपत्र गर्दा लोकबहादुरले मृतक बखतबहादुरलाई टाउकाको पछाडि खुकुरीले हानेको भनी किटानी गरेको पाइन्छ । यसका अतिरिक्त लाश जाँच प्रकुति मुचुल्का समेत हेर्दा मृतकको टाउको पछाडि घा खत समेत देखिन आएकोले निज लोकबहादुरले अदालत समक्ष गरेको बयान ठोस र तथ्ययुक्त आधारमा आधारित रहेको देखिन नआएकोले निज वारदातमा सामेल रही मृतकलाई खुकुरीको प्रहार गरेको समर्थित हुन आएबाट निजलाई ज्यानसम्बन्धीको १३(३) अनुसार जन्मकैद गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ ।

३६.   प्रतिवादी पूर्णहाङ्ग लिम्बूको पुनरावेदनतर्फ बिचार गर्दा काटेकुटेको चोटबाट मृतक बखतबहादुरको मृत्यु भएको हो भनी अधिकार प्राप्त अधिकारी समक्ष साविती भई अदालतमा बयान गर्दा आरोपित कसूरमा इन्कारी भई बयान गरेको पाइन्छ । निजको नाउँ व्यहोरा जाहेरी दर्खास्तमा उल्लेख भएको देखिन्छ ।

३७.   बुझिएका चस्मदीद गवाह कर्म शम्सेर समेतले कोदालोको पासोबाट हिर्काएको भनी बकपत्र गरेको पाइन्छ । मृतक बखतबहादुरलाई पार्नु पर्ने मनसाय निज प्रतिवादी पूर्णहाङ्ग लिम्बूमा देखिन आएको  छैन । तत्काल उठेको रीस थाम्न नसकी मृतकलाई काटेकुटेको देखिन्छ। निज समेत वारदात स्थलमा सम्मिलित रही मृतक बखतबहादुरलाई निज समेतले काटेकुटेको चोटबाट मृत्यु हुन गएको प्रमाणित हुन आएकोले निजलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ, निजको पुनरावेदन जिकिर पुग्न सक्तैन ।

३८.   मृतक बखतबहादुरलाई मार्नु पर्ने मनसाय नभई आफ्नो जन्म दिने बाबुलाई कुटपीट गरेको देखी उक्त वेदना खप्न नसकी तत्काल उठेको रिसबाट मृतकलाई चोट पुर्‍याएकोले ज्यानसम्बन्धीको १३(३) नं.अनुसारको सजायँ गर्दा चर्को पर्र्न जाने हुँदा अ.बं.१८८ नं.बमोजिम निज प्रतिवादी पूर्णहाङ्ग लिम्बूलाई कैद वर्ष १० (दश) सजायँ हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी पूर्णहाङ लिम्बूलाई १० (दश) वर्ष मात्र कैदको सजायँ लाग्ने ठहरेकोले निजको सम्बन्धमा जन्मकैदको लगत कायम राख्नु नपर्ने हुँदा १० (दश) वर्षको लगत कायम  गर्न शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...१

अन्य प्रतिवादीको हकमा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहरेकोले मिसिल नियम बमोजिम गरी बुझाई दिनु................२

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४२ साल फाल्गुण २३ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु